चाँगुनारायण गाविस

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चाँगुनारायण
—  गाउँ विकास समिति  —
चाँगुनारायणको एक दृश्य
चाँगुनारायण is located in Nepal
चाँगुनारायण
चाँगुनारायण
नेपालमा चाँगुनारायणको अवस्थिति
निर्देशाङ्क: २७°४२′५९.३६″ उत्तर ८५°२५′३९.७७″ पूर्व / २७.७१६४८८९° उत्तर ८५.४२७७१३९° पूर्व / 27.7164889; 85.4277139निर्देशाङ्क: २७°४२′५९.३६″ उत्तर ८५°२५′३९.७७″ पूर्व / २७.७१६४८८९° उत्तर ८५.४२७७१३९° पूर्व / 27.7164889; 85.4277139
देश  नेपाल
अञ्चल बागमती
जिल्ला भक्तपुर
जनसङ्ख्या (1991)
 - जम्मा ४,९०९
 - धर्म हिन्दु, बौद्ध
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+5:45)

चाँगुनारायण नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, भक्तपुर जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो। यो ठाउँमा ११०४ वटा घर छन। प्रसिद्ध चाँगुनारायण मन्दिर यस गाविसमा पर्छ।

ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्ने]

चाँगुनारायण गाविसको नामाकरण उपत्यकाको सबैभन्दा पुरानो प्यागोडा शैलीको चाँगुनारायण मन्दिरको नामबाट रहन गएको हो। हालको चाँगुनारायण क्षेत्र परापूर्वकालमा घना जङ्गलको रूपमा रहेको चम्पाकारण्य वन अर्थात चाँपको वन थियो। नेपाल भाषामा चाँपलाई "चू" र वनलाई "गु" भनिन्छ। यही शब्द अपभ्रंस भई चाँगुनारायण रहन गएको हो भन्ने भनाई छ। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर राजा हरिदत्त बर्माले इसं ३२३मा बनाएका हुन् भन्ने भनाई छ। कान्तिपुरका राजा भुपालेन्द्र मल्लले नेपाल सम्बत् १८१४मा त्यस मन्दिरको जिर्णोद्दार गराएका थिए। राजा मानदेवले गरुडध्वजा चढाएका र गुठीकोलागि खेत दान दिएको उल्लेख विसं ५२१को अभिलेखमा पाइएको छ। यस चाँगुनारायण परिसर भित्र छिन्नमस्ता माई, किलेश्वर महादेवको मन्दिर, गरुड नारायण विश्वस्वरूपा आदि। देवदेवीका मुर्तीहरू छन्। यहाँ नागपञ्चमी, तीज, कृष्णाष्टमी, कुष्माण्ड नवमी, हरिबोधनी एकादशी र माघशुक्ल द्वादशीमा मेला लाग्दछ। यी दिनहरूमा टाढा टाढाका मानिसहरूको ठूलो भीड लाग्दछ। बैशाख कृष्ण औंसीमा मुख्य जात्रा, श्रावण द्वादशी तथा पौष पूर्णिमामा कलश यात्रा फागूपूर्णिमामा वंशगोपाल रथ यात्रा गर्ने चलन छ। उक्त रथलाई विश्वकै सबभन्दा सानो रथ मानिन्छ। जसको उचाई ८ फीट मात्र छ। चैत्र पूर्णिमामा लक्ष्मीनारायण जात्रा हुन्छ। प्रत्येक बुधवार खीरको भोज लगाइन्छ। यही खीरबाट यहाँका र वरपरका बासिन्दाहरूले बच्चालाई भात खुवाउने प्रचलन छ। बैशाखमा ध्वजा चढाउने आषाढ शुक्ल अष्टमीमा चाँपको फूल चढाउने र द्वादशीमा धागो चढाउने गरिन्छ। कार्तिक शुक्ल द्वादशीमा अखण्ड दीप बाल्ने मार्ग शुक्ल महास्नान माघ १ गते नारायणलाई घ्यूले छोप्ने र माघ शुक्ल दशमीमा माघेध्वजा पर्व मनाइन्छ। दशैं पर्व लगायतका १४ वटा पर्व पूजा गरिन्छ। शुक्ल पक्षको द्वादशी बुधवार परेको दिन चाँगुनारायणलाई भारतको बद्रीनारायणको रूपमा पूजा गरिन्छ।

चाँगुनारायण गाविसमा ऐतिहासिक धार्मिक पर्यटकीय सांस्कृतिक र भौगोलिक महवका स्थलहरू भएकोले स्वदेशी तथा विदेशीहरू भ्रमण पदयात्रा पूजा आराधना दृष्यावलोकन र वनभोजका लागि यहाँ आउने गर्दछन। चाँगुनारायण मन्दिर समुद्र सतहबाट करिब १५४१ मीटर उचाईमा रहेको छ। यस मन्दिरबाट पूर्वमा नगरकोट पश्चिममा थानकोट उत्तरमा शिवपुरी र दक्षिणमा फुल्चोकी डाडाँ एवम् काठमाडौं उपत्यकाको प्रायः सम्पूर्ण भागको मनोरम दृष्यावलोकन गर्न सकिन्छ। यसरी चाँगुनारायण मन्दिरको ऐतिहासिक सांस्कृतिक धार्मिक तथा पर्यटकीय विशिष्टता अत्यन्त महवपूर्ण रहेकोले यस गा।वि।स। नामाकरण यसै मन्दिरको नामबाट गरिएको छ।

भौगोलिक अवस्था[सम्पादन गर्ने]

भक्तपुर जिल्लाको उत्तरमा अवस्थित चाँगुनारायण गाविस कुल क्षेत्रफल ६.१० वर्ग किलोमिटर छ। गाविस पूर्वमा छालिङ गाविस पश्चिममा काठमाडौं जिल्लाको मुलपानी गाविस उत्तरमा काठमाडौं जिल्लाको डाँछीइन्द्रायणी गाविस र दक्षिणमा भक्तपुर जिल्लाको झौखेलदुवाकोट गाविस पर्दछ। यस गाविस भित्र पहाडी र उपत्यका क्षेत्र रहेका छन। मुख्य पर्वतको रूपमा चाँगु र प्रमुख नदीको रूपमा मनोहरा र भुई खहरे रहेका छन।

हावापानी[सम्पादन गर्ने]

यस गाविस औसत तापक्रम २० देखि २५ डिग्री सेल्सियस रहेको छ। प्रायः समशितोष्ण हावापानी रहेको यस गाविसमा चैत्र महिना देखि असोज महिनाको प्रारम्भसम्म गर्मी र असोज देखि फाल्गुणसम्म धेरै जाडो हुने गर्दछ।

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार चाँगुनारायणको जनसङ्ख्या ५८५८ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन।

वन-जङ्गल तथा वन्यजन्तु[सम्पादन गर्ने]

यस गाविसमा प्रायः जङ्गल पतझर प्रकृतिका छन्। यस गा।वि।स।मा सल्लो चिलाउने उत्तिस र मौवा आदि प्रजातिका वनस्पति पाइन्छन्। त्यस्तै मृग, स्याल, न्याउरी, दुम्सी आदि वन्यजन्तुहरू यस गाविस जङ्गलमा पाइन्छन्।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१". http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf. अन्तिम पहुँच मिति: अप्रिल २९ २००७. 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]