यौन हिंसा
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
यौन हिंसा भनेको स्त्रीहरू माथि गरिने यौनजन्य अवैध, अनैतिक, अनुचित र नाजायज व्यवहार हो, अर्थात् उनीहरूलाई भोग विलासको साधन सम्झेर कुनैपनि प्रकारको यौनजन्य हिंसा गरिनुलाई यौनहिंसा भनिन्छ । महिलाको विना इच्छा कुनै व्यक्तिले कुनै अङ्ग वा कुनै वस्तु महिलाको यौनाङ्गमा प्रवेश गराउँछ भने त्यसलाई बलात्कार भनिन्छ र उही स्त्रीलाई नराम्रो दृष्टिले जिस्काउनु, अश्लिल व्यवहार गर्नु, छूने प्रयास गर्नु, अश्लिल वा अनैतिक टिप्पणी गर्नु आदि पनि यौन हिंसाको श्रेणीमा पर्दछन्।
यौन हिंसा एउटा गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो। यसले अल्पकालिन र दीर्घकालिन दुवै किसिमका शारीरिक तथा मानसिक समस्या निम्त्याउन सक्छ जसअन्तर्गत यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी खतरा, आत्महत्या एवं एचआईभी सङ्क्रमण पनि पर्दछन्। कतिपय अवस्थामा यौन हिंसा यौन दुर्व्यवहारको कारण हत्यामा पनि परिणत हुन सक्छ। महिलाहरू यौन हिंसाबाट बढी पीडित हुने गरेका छन्, यद्यपि यौन हिंसाको खतराबाट जुनसुकै लिङ्गको वा उमेरको व्यक्ति पनि सुरक्षित छैनन्। आफ्नै अभिभावक, सुसारे, साथीभाई, पराइ वा लोग्नेस्वास्नीद्वारा पनि यौन हिंसा हुन सक्छ। यो सामान्यतया जुनूनमा गरिएको अपराध होइन बरू एक किसिमको आक्रामक कृत्य हो, जसको उद्देश्य पीडित माथी आफ्नो शक्ति र नियन्त्रण देखाउनु हुन्छ।
यौन हिंसालाई प्रत्येक समाजमा सामाजिक कलङ्कको रूपमा हेर्ने र अक्सर नारी सम्बन्धी मुद्दाको रूपमा अर्थ्याउने चलन छ। यसै कारण पीडितले यौन हिंसाको बारेमा फुक्काफाल बोल्न हिच्किचाउँछन्। फलस्वरूप यससम्बन्धी उजुरीहरू ठाउँ अनुसार कम वा बढी हुन्छन्। साधारणतया यौन हिंसा सम्बन्धी उजुरीको दर न्यून हुने भएकोले यसको वास्तविक मात्रा तथ्याङ्कमा उल्लेख गरिएभन्दा बढी हुन्छ। यस सम्बन्धमा भएका अध्ययन अनुसन्धान पनि सिमित छन्, जसको फलस्वरूप यौन हिंसालाई पूर्ण रूपमा बुझ्न र यस विरुद्ध लड्न सकसपूर्ण बनेको छ। घरायसी यौन हिंसा द्वन्द्व-सम्बन्धित यौन हिंसा भन्दा फरक छ।[१] कतिपय व्यक्तिहरू विवाह गरेकै कारणले उसले आफ्नो पत्नीमाथी जतिसुकै बेलापनि यौनसम्बन्ध राख्न पाउनु आफ्नो अधिकार भएको सम्झन्छन्। युद्ध र द्वन्द्वमा, यौन हिंसा अक्सर हिंसा चक्रको एउटा पाटो बन्ने गर्छ।[२] महिला र पुरुषहरूको बलात्कार गर्नुलाई युद्धको हतियारको रूपमा प्रयोग गरिन्छ। दुस्मनलाई आक्रमण गर्न, अपमान गर्न, पुरूष र महिला दुवै वा पक्राउ परेका लडाकुहरूमाथी हैकम जमाउन पनि यौन हिंसा गरिन्छ।[३] अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानून, देशको प्रचलित कानून र लोककल्याणकारी कानूनहरूले वर्जित गरेपनि विश्वका धेरै स्थानहरूमा ती कानूनको प्रचलन, कार्यान्वयनमा उदासिनता देखिनुका साथै दण्डहिनताको अवस्था कायम छ।[४][५]
ऐतिहासिक रूपमा, यौन हिंसालाई पुरूष द्वारा महिलामाथी हुने दुर्व्यवहार वा आक्रमणको रूपमा लिने गरिन्थ्यो र युद्ध तथा शान्ति जस्तो सुकै अवस्थामा पनि सामान्य रूपमा लिइन्थ्यो। यौन हिंसा सम्बन्धी यो विचारधारा २० औँ शताब्दी सम्म थियो। यही कारणले यौन हिंसाको वास्तविक तात्पर्य र तथ्याङ्कलाई बेवास्ता गरिन्थ्यो। २० औँ शताब्दीको अन्त्यतिर मात्र यसलाई गम्भीर रूपमा लिइ अपराधको संज्ञा दिन सुरू गरिएको हो। वर्तमान समयमा पनि, युद्धहरूमा यौन हिंसालाई बढावा दिइएको पाइन्छ। रुवान्डा नरसंहार होस् वा गाजा युद्ध, यी सबैमा यौन हिंसालाई प्रश्रय दिइएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ मानव सुरक्षा प्रतिवेदन (२०१२), यौन हिंसा, शिक्षा र युद्ध: Beyond the mainstream narrative, Human Security Research Group, Simon Fraser University, Canada, Human Security Press
- ↑ International Committee of the Red Cross (२००८), Women and War, Geneva: ICRC, पृ: १२।
- ↑ Swiss S et al. Violence against women during the Liberian civil conflict. Journal of the American Medical Association, 1998, 279:625–629.
- ↑ Physicians for Human Rights (२००२), War-related sexual violence in Sierra Leone : a population-based assessment : a report, Boston, MA: Physicians for Human Rights, आइएसबिएन 978-1-879707-37-5।
- ↑ OCHA (2007)
बाह्य लिङ्क
[सम्पादन गर्नुहोस्]- महिला माथि बढ्दो हिंसा वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०३ मिति