विलासपुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विलापुर स्थित विलासपुर वटुकभैरवको मन्दिर

बेलास पुर अथवा विलासपुर दैलेख जिल्लाको एक प्रशिद्ध ठाउँ हो यहाँ एक बेलास पुर मन्दिर रहेको छ। बेलास पुर दैलेख सदर मुकाम नजीकै पर्दछ। विलासपुर बाइसे राज्य कालको समयमा एक बलियो राज्य थियो। प्रख्यात खस राजा संसारी वर्माका छोरा श्री वम्मले वि.सं. १७७५ मा दुल्लु राज्यबाट टुक्य्राएर विलासपुर राज्य को स्थापना गरेका थिए। विलासपुर राज्यको सिमाना पूर्वमा जाजरकोट राज्य, पश्चिममा छामगाड खोला उत्तरमा साततला र जुम्ला राज्य तथा दक्षिणमा भेरीनदीसम्म रहेको थियो। संसारी वर्माले वि.सं. १४५३ मा दुल्लु राज्यको स्थापना गर्दा दुल्लु, दैलेख र अछाम एउटै राज्यमा पर्ने भएकोले धेरै जसो विद्वानका मत अनुसार विलापुर राज्यका संस्थाप पनि संसारी वर्मा नै थिए। संसारी वर्मापछी उनका छोरा श्री वम्म र भतिजा पर्वता वम्मले दुल्लु राज्यलाई आपसमा बाँडेर साँधसिमाना सहित छुट्याएकाले विलासपुर राज्यको स्थापना हुन गएको थियो। त्यसैले संसारी वर्माका छोरा श्री बम्मलाई नै विलासपुर राज्यका संस्थापक मानिन्छ। [१]

विलासपुर राज्यको इतिहास[सम्पादन गर्ने]

श्री बम्म पछी जितारी बम्म, शक्ति बम्म, बजुर बम्म, विक्रम बम्म, सुपी बम्म र सुधर शाही क्रमैसँग राजा हुँदै आए। वि.सं. १६२५ मा राजा प्रताप शाहीको पालामा दुल्लु र विलासपुर राज्य केही समयका लागी पुनः एकिकरण भएको थियो। दुइवटा राज्य एकिकृत भएकोमा राज्यको क्षमतामा वृद्धी त भयो तर दुई अलग अलग राज्यमा राखिएका उत्तराधिकारीहरूको अधिकारमा कटौती हुने भएकोले दुवै राज्यलाई अलग अलग रहन दिनकोलागी राजा प्रताप शाहीमाथी दवाब बढ्न थाल्यो। यसरी आफूमाथी दवाब परेकोले बुढा राजा प्रताप शाहीले राजपाठ छोडी सन्यास लिएर खलेटाकुरा भन्ने स्थानमा गएर बस्न थाले। प्रताप शाही खले टाकुरा हिंडेपछि दुल्लु राज्य राजा विहिन भएकाले दुल्लुका जनताले प्रताप शाहीका माइला भाई छडुङ्का राजा जसराजलाई ल्याएर केही समयको लागी दुल्लुको राजगद्दीमा बसालेका थिए। त्यसपछि दुल्लु राज्यमा प्रताप शाहीका जेठा छोरा मान शाही बसे भने विलासपुर राज्यमा संग्राम शाही बसे। यसरी फेरी दुल्लु र विलासपुर राज्य छुट्टिन पुगे। त्यसपछि कर्ण शाही, तीलमान शाही, सुर्तान शाही, माद् शाही, भान शाही, रुद्र शाही, प्रताप शाही, हरिनारायण शाही, सङ्ग्राम शाही द्वितिय र वि.सं. १८४६ कात्तिकसम्म कर्ण शाही द्वितिय क्रमैसँग विलासपुर राज्यका राजा बने। विलासपुर राज्यका अन्तिम शासक कर्ण शाही घमण्डी पाराका भएकाले तिनको राज्यकालमा छिमेकी राज्य दुल्लु, जाजरकोट र सल्यानसँग राम्रो सम्बन्ध रहेको थिएन। त्यसका साथै उनले जुम्ला राज्य र डोटी राज्यसँग मिलेर नेपाली सेनाको पश्चिम विजय अभियानमा गोर्खाली सेनालाई आफ्नो राज्यबाट जुम्ला जाने बाटो नदिएका हुनाले पनि गोर्खाली सेना उनबाट क्रुद्ध थियो। [१]

गोर्खाली सेनाको आक्रमण[सम्पादन गर्ने]

गोर्खाली सेनाले १८४६ आश्विन ३ गतेका दिन जुम्ला राज्य जितीसकेपछि सरदार कालु पाँडे (काजी कालु पाँडे अर्कै व्यक्ति हुन) र शत्रुसाधन शाहीको नेतृत्वमा २ कम्पनी सैन्य टोली सुर्खेतको बाटो विलासपुर पुगेर ठुलो मारकाट, लुटपात, भीषण आगजनी र आतंक मच्चाएक थियो। विलासपुर राज्यमा विजय प्राप्त गर्नकोलागि गोर्खाली सेनाले दैलेख सदरमुकामको पुरानो बजार स्थित कोत गढी जस्तो बलियो किल्ला निर्माण गरेको थिए। गोर्खाली सेना विलासपुर पुग्दा राजा कर्ण शाही त्यहाँबाट भागीसकेका थिए। कर्ण शाहीकी गर्भवती रानीलाई बिजौराका चौतरिया सिंहहरूले बडाभैरवको जंगलमा रहेको ओढारमा लुकाएका थिए। पछी यिनै रानीको गर्भबाट कर्ण शाहीका छोरा पर्मान शाहीको जन्म भयो। कर्ण शाहीलाई फेला नपारेको रीसमा राजपरिवारका भाग्न न सकेका सदस्य तथा भारदारहरू गोर्खाली सेनाद्वारा काटिएका थिए। राज दरबार र शहरभरी आगो लगाइयो। त्यहाँ भएका हात हतियार तथा बहुमुल्य वस्तुहरू लुटिए। गोर्काली सेनाको आधिपत्य स्विकार गरेकाले दुल्लु राज्यले २०१९ सम्म दुल्लु राज्यको मान्यता र नेपाल सरकारको खान्गी। उपभोग गरिरह्यो भने कर्ण शाहीका कारण विलासपुर राज्यले धनजनको ठुलो क्षेती व्यहोर्दै वि.सं. १८४६ कर्तिक महिना मै आफ्नो अस्तित्व गुमाउन पुग्यो। यही विवत्स घटका कारण विलासपुर राज्यसँग सम्बद्ध जम्मा चारवटा मात्र ऐतिहासिक अभिलेखहरू प्राप्त भएका छन्।[१]

राज्य पतन पश्चात[सम्पादन गर्ने]

विलासपुर राज्यको पतन भएपछि पुनः दैलेखका विभिन्न मठमन्दिरहरूको निर्माण तथा जिर्णोद्धारको क्रम चल्यो। दैलेखको सांस्कृतिक विकासमा काजी जसपाउ थापा तथा कर्णेल जयमान सिंह बस्नेतका परिवारहरूको ठुलो योगदान रहन गयो। यिनीहरूले दैलेख बजारमा नारायण मन्दिर सस्थापना गरे। पञ्चकोशी तिर्थस्थलका शिरस्थान, नाभिस्थान, धुलेश्वरपादुकास्थानमा मन्दिरहरूको जिर्णोद्धार गरी गुठी तथा अभिलेखहरू राख्न लगाए। दुल्लुमा धर्मशाला तथा पौवा निर्माण गरे। [१]

विलासपुरका राजाहरू[सम्पादन गर्ने]

विलासपुर राज्य संसारी वर्माका छोरा श्री वर्माले स्थापना गरे देखी यो राज्यमा श्री वर्माका १९ औं पुस्ता कर्ण शाही सम्मका राजाहरूले राज्य गरेको थिए। ति राजाहरूको विवरण निम्न प्रकार रहेको छ।[१]

क्र.सं. राजाको नाम ज्ञात कार्यकाल प्रमाण
श्री वर्मा वि.सं. १४७५ --
जितारी बम्म -- --
शक्ति बम्म -- --
वजुर बम्म -- --
विक्रम बम्म -- --
सुपी बम्म -- --
शक्तिधुर शाही -- --
प्रताप शाही -- --
सङ्ग्राम शाही वि.सं. १६२५ शिरस्थान ज्वाला मन्दिर अभिलेख
१० कर्ण शाही (प्रथम) -- --
११ त्रिलोक शाही -- --
१२ सुर्तान शाही वि.सं. १६९१ दैलेख खुर्सानीबारीको धारा अभिलेख
१३ मान शाही -- --
१४ भान शाही -- --
१५ रुद्र शाही -- --
१६ प्रताप शाही -- --
१७ हरिनारायण शाही -- --
१८ सङ्ग्राम शाही (द्वितिय) -- --
१९ कर्ण शाही (द्वितिय) वि.सं. १८४६ कार्तिक --

कर्ण शाहीको राज्यकालमा विलासपुर राज्यमा गोर्खाली सेनाले आक्रमण गरेका बेला बिजौराका चौतरिया सिंहरूले कर्णशाहीकी गर्भवती रानीलाई ओडारमा लुकाएकोले विलासपुरे राजाको वंश अवरुद्ध हुनबाट जोगिएको देखिन्छ। युद्धसमाप्तिपश्चात कर्ण शाहीका संतानहरू दैलेखको भुर्तिनजिक धारागाड भन्ने ठाउँमा बस्न थाले। उपलब्ध वंशक्रमको अनुशार कर्ण शाहीका छोरा प्रमान शाहीपछि भान शाही, भान शाही पछी लाला शाही भए। लाला शाहीको अर्काकी पत्नीसँग अनुचित सम्बन्ध भएकोले बिहानै धारामा नुहाउन गएको समयमा लाला शाही काटिएका थिए। त्यसपछि त्यो ठाउँको नाम "जारकाट" हुँदै "जारकोट" हुन गयो। धारामा लाला शाही काटिएकाले त्यो धारको पानी खान पनि बन्ध भयो। लाला शाहीपछी मान शाही भए। मान शाहीले जुम्लाको सिञ्जाबाट र डोटीबाट बिवाह गरेका थिए। दुईवटी पत्नीबाट मान शाहीका छ वटा छोराहरू जन्मिएपनि जेठा रत्नध्वज शाही, काँहिला अमरध्वज शाही र कान्छा गोराबहादुर शाहीको नाम मात्र ज्ञान हुन आएको छ।अमरध्वज शाहीका छोरा र गोराबहादुर शाहीका छोराका सन्तानका ६/७ वटा घरहरू अहिले पनि दैलेखको धारागाड भन्ने ठाउँमा रहेका छन्।[१] दैलेख जिल्लाको प्रसिद्ध मानिने विलासपुर मन्दिर यसै विलासपुर राज्यका प्रथम राजा श्री वर्माले आफ्नो कुल देवताको रुपमा स्थापना गरेका थिए भन्ने स्थानिय जन श्रुती रहेको छ। विलास पुर राज्यका अन्तिम राजा कर्ण शाही पछि यो राज्यको पतन भएकोले यो राज्यको अधिकांश भु-भाग हाल दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ। वि.सं. २०१८ साल देखी वि.सं. २०५३ सम्म विलासपुरे राजाको राजधानी रहेको आसपासका गाउँहरूलाई जोडेर "बेलासपुर" नामको गा.वि.स. बनाएको थियो। पछी गएर वि.सं. २०५३ मा यो गा.वि.स.लाई नारायण नगरपालिकामा जोडेर नारायण नगपालिका स्थापना गरियो। गोर्खाली सेनाले आगजनी गरेर भत्काएको विलासपुरे राजाको दरबार अहिले पनि भग्नावशेषको रूपमा विलासपुर मन्दिर नजिकै देख्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ कीर्ति खम्ब पहिलो संस्करण पृष्ठ ४० - ४२ लेखक विश्व के.सी. (पोखरेल)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]