शिवशङ्कर मानन्धर
शिवशङ्कर मानन्धर | |
---|---|
जन्म | वि.सं. १९८८ साल फागुन ११ गते नयाँ सडक, काठमाडौँ, नेपाल |
मृत्यु | वि.सं. २०६१ साल कार्तिक २१ गते (७२ वर्ष) कालिमाटी, काठमाडौँ, नेपाल |
पेशा |
|
सक्रिय वर्ष | वि.सं. २००७ - वि.सं. २०५७ |
शिवशङ्कर मानन्धर (वि.सं. १९८८ साल फागुन ११ गते - वि.सं. २०६१ साल कार्तिक २१ गते) एक नेपाली गायक, सङ्गीतकार र प्रथम नेपाली चलचित्र आमाको प्रमुख भूमिका निर्वाह गर्ने अभिनेता थिए ।[१] ५० वर्ष भन्दा बढी आफ्नो कार्यमा सक्रियता देखाएका शिवशङ्कर नेपाली सङ्गीतको क्षेत्रमा एक प्रसिद्ध नाम बनेका छन् ।
प्रेम प्रसङ्गयुक्त गीत, भजन, वियोगान्त गीत तथा देशभक्त झल्काउने गीतहरू लेखी उनले आधुनिक नेपाली सङ्गीतमा लोकप्रिय विभिन्न किसिमका गीतहरूलाई प्रख्यात बनाउने काम गरेका थिए । उनले सरदार १,२०० गीतहरू रचना गरेका थिए जसमध्ये उनले आफैँ ३०० जति गाएका थिए । नेपाली सङ्गीतमा पुर्याएका योगदानका लागि मानन्धरलाई थुप्रै प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरूबाट पुरस्कृत गरिएको थियो ।
वि.सं. २००७ मा मानन्धरलाई नेपाल सरकारको स्वामित्वमा सञ्चालित रेडियो नेपालमा प्रसिद्ध नाट्यकर बालकृष्ण समद्वारा नयाँ गायकहरूलाई प्रशिक्षण दिने र रेडियोमा प्रसारण हुने गीतहरूको निरीक्षण गर्ने काममा नियुक्त गरिएको थियो । सहकर्मी नातिकाजीसँग मिलेर उनले रेडियो नेपाललाई आधुनिक नेपाली सङ्गीतको रचानास्थल बनाए । बीसौँ शताब्दीको दोस्रो भागमा लोकप्रिय बनेका धेरैजसो गायक तथा सङ्गीतकारहरू यही संस्थानबाट चर्चामा आएका थिए ।[२] दार्जिलिङका सङ्गीतकारलाई पनि प्रख्यात बनाउनमा ठूलो भूमिका निर्वाह गरेको थियो ।
रेडियो नेपालको कार्यकालमा मानन्धरले तारादेवी, मीरा राणा, निर्मला श्रेष्ठ, ज्ञानु राणा, अरुणा लामा, कुन्ती मोक्तान, गङ्गा मल्ल, पुष्प नेपाली, नारायणगोपाल, प्रेमध्वज प्रधान, योगेश वैद्य, उदित नारायण, ध्रुव केसी, मनिक रत्न, दीप श्रेष्ठ, भक्तराज आचार्य, बच्चु कैलाश, रुबी जोशी र दीपक बज्राचार्य लगायत कयौँ लोकप्रिय नेपाली गायकका लागि गीत रचना गरेका थिए । उनले राममान तृषित, किरण खरेल, भावुक, यादव खरेल, लक्ष्मण लोहनी र एमबीबी शाहका लागि पनि सङ्गीतको रचना गरेका थिए । आफ्नो ५० वर्षको कार्यकालमा उनले नेपाली सङ्गीतलाई "स्वर्ण युग" मा पुर्याउन सहयोग पुर्याएका थिए ।
लोकप्रिय धुनको रचनाका साथै मानन्धरले सङ्गीतमा नयाँ परिवर्तनहरू ल्याउनमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । वाद्ययन्त्रको अभावमा पनि कसरी लोकगीतको रचना गर्ने भन्ने पहिलो पटक पटक गर्ने मानन्धरले प्राचीन नेपाली साङ्गीतिक शैलीमा पप सङ्गीतको मिश्रण गर्ने शैलीको परिचय दिएर नेपाली सङ्गीतको आधुनिकीकरण गरेका थिए । यद्यपि, उनले आधुनिकीकरणको क्रममा नेपाली सङ्गीतको मौलिकतालाई चाहिँ बिर्सनुहुँदैन भन्ने मान्यता राख्थे ।
मानन्धरले वि.सं. २०२१ मा नेपाल सरकारद्वारा निर्मित प्रथम नेपाली चलचित्र आमामा "लाहुरे दाइ" को भूमिका निर्वाह गरेका थिए । यद्यपि, उनले अभिनयमा भन्दा पनि गीत रचनालाई नै प्राथमिकता दिए । दुई-तीन वटा वृत्तचित्रमा उनको विशेष उपस्थिति रहेको छ । नेपाली चलचित्रको प्रारम्भिक कालमा उनले चलचित्रका लागि टन्नै गीतहरूको रचना गरेका थिए ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]शिवशङ्कर मानन्धरको जन्म वि.सं. १९८८ साल फागुन ११ गते आमा राम माया र पिता मानबहादुरका छोराको रूपमा काठमाडौँको नयाँ सडकमा बसोबास गर्ने नेवार समुदायको मानन्धर परिवारमा भएको थियो । उनका पिता मानबहादुर मानन्धर स्थानीय समुदायमा स्वयमसेवी सङ्गीत प्रशिक्षक थिए र युवाहरूलाई नेवाः सङ्गीत सिकाउँथे । यसले गर्दा नै शिवशङ्करको सङ्गीतमा रुचि बढेको हुन सक्छ । दुर्भाग्यवश, उनका पिताको उनी सानो छदा नै मृत्यु भयो । माध्यमिक शिक्षा पूरा गरेका मानन्धरले प्रतिष्ठित गायकको रूपमा स्थापित भएपछि मात्रै साङ्गीतिक शिक्षा प्राप्त गरेका थिए । वि.सं. २०३१ मा उनले काठमाडौँमा अवस्थित कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयमा भारतीय शास्त्रीय सङ्गीतमा स्नातक तह उत्तीर्ण गरे ।
कार्य जीवन
[सम्पादन गर्नुहोस्]मानन्धरले वि.सं. २००७ सालमा रेडियो नेपालमा काम पाएपछि त्यहाँ ४२ वर्ष सम्म काम गरे । यी चार दशकको समयावधिमा उनले कयौँ लोकप्रिय गीतहरू रचना गरे र गाए । वि.सं. २०४३ देखि वि.सं. २०४७ सम्म उनले रत्न रेकर्डिङ कर्पोरेशनको कार्यकारी निर्देशकको पदमा काम गरे । वि.सं. २०५१ सालमा उनले रेडियो नेपालबाट अवकाश पाए ।
उनको अवकाश पछि सङ्गीतको व्यावसायीकरण गर्ने चलन चल्तीमा आयो जुन उनलाई खासै मन पर्दैनथ्यो । त्यसकारण, उनले व्यवसायको रूपमा सङ्गीत रचना गर्न छोडे । उनका समकालीन मित्रहरूसँग पनि उनी बोल्न छोडे । वि.सं. २०६१ मा उनलाई कलेजोको क्यान्सर देखा पर्यो र त्यही साल कार्तिक २१ गते उनको ७२ वर्षको उमेरमा मृत्यु भयो ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]मानन्धरले २४ वर्षको उमेरमा बद्री कुमारी मानन्धरसँग विवाह गरी गौरीशङ्कर, रविशङ्कर र शशिशङ्कर गरी तीन जना छोरालाई जन्म दिएका थिए जसमध्ये कोही पनि सङ्गीतमा लागेनन् । पारिवारिक व्यवसायमा लागेर घर चलाउने बद्री कुमारीको वि.सं. २०५५ साल भाद्र महिनामा मृत्यु भयो ।
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]राष्ट्रिय पुरस्कार
[सम्पादन गर्नुहोस्]- अल नेपाल सङ्गीत प्रतियोगितामा प्रथम स्थान (वि.सं. २०१९)
- सर्वश्रेष्ठ सङ्गीत रचना पुरस्कार (वि.सं. २०२०, वि.सं. २०२१, वि.सं. २०२५ र वि.सं. २०२७)
- महेन्द्ररत्न आभूषण (वि.सं. २०२२)
- गोरखा दक्षिण बाहु (वि.सं. २०३५)
- छिन्नलता पुरस्कार (वि.सं. २०४३)
- गुणराज सङ्गीत पुरस्कार (वि.सं. २०४३)
- त्रिशक्ति पट्टा (वि.सं. २०५३)
- नेपाल चलचित्र पुरस्कार (वि.सं. २०५६)
- इमेज लाइफटाइम अचिभमेन्ट पुरस्कार (वि.सं. २०५८)
- सुप्रदिप्ता वीरेन्द्र प्रजातन्त्र भास्कर (वि.सं. २०६०)
- नातिकाजी स्मृति पुरस्कार (वि.सं. २०६१)
सम्मान
[सम्पादन गर्नुहोस्]- नेपाल चलचित्र कलाकार सङ्घ (वि.सं. २०५०)
- साधना सम्मान, साधना कला केन्द्र (वि.सं. २०५४)
- रेडियो नेपाल (वि.सं. २०५५)
- रेडियो नेपालको स्वर्ण जयन्ती सम्मान (वि.सं. २०५६)
- नेपाल सम्मान, सगरमाथा एकेडमी (वि.सं. २०५७)
- काठमाडौँ महानगरपालिका वडा १३ (वि.सं. २०५७)
- आह्वान संस्थान (वि.सं. २०५७)
- महादेव सम्मान, केशव-सुष्मा भजन गुठी (वि.सं. २०५८)
चलचित्रका लागि गीत रचना
[सम्पादन गर्नुहोस्]- आमा (नातिकाजीको साथ)
- मनको बाँध (नातिकाजीको साथ)
- कुमारी (चन्द्र राजको साथ)
- पच्चीस वसन्त (नातिकाजीको साथ)
- शान्तिदीप (नातिकाजीको साथ)
गीति नाटक
[सम्पादन गर्नुहोस्]नाम | गीतकार |
---|---|
आशीर्वाद | लक्ष्मण लोहनी |
नालापानीमा | बालकृष्ण सम |
परीक्षा | तुलसी दिवस |
स्वोंगु नगु | दुर्गालाल श्रेष्ठ |
सुलोचना | श्याम दास वैष्णव |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "History of Cinema in Nepal" [नेपाली चलचित्रको इतिहास], चलचित्र विकास बोर्ड, नेपाल, अन्तिम पहुँच वि.सं. २०६६ साल असार ३० गते।
- ↑ वन्त, प्रत्यूष; पराजुली, शेखर; हुमागाईँ, देवराज; अधिकारी, कृष्ण; भट्ट, कोमल, सम्पादकहरू (वि.सं. २०६१), रेडियो नेपालको सामाजिक इतिहास, चौतारी पुस्तक, आइएसबिएन 99933-812-8-4।