सामग्रीमा जानुहोस्

शेरबहादुर शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शेरबहादुर शाहीबाट अनुप्रेषित)
श्री चौतरा
शेरबहादुर शाह
चौतरा
व्यक्तिगत विवरण
मृत्युवि.सं. १८६३ वैशाख १४
अभिभावकs
सैन्य सेवा
निष्ठा नेपाल

शेरबहादुर शाह राजा प्रतापसिंह शाह र मैजुकन्याका पुत्र थिए। उनी राजा रणबहादुर शाहका भाइ थिए। वि.सं. १८६३ बैशाख १४ गते राती त्रिभुवन खवासको घरमा भारदारी कचहरी बसेको बेलामा मुख्तियार रणबहादुर शाहले शेरबहादुर शाहका आँखा फोर्ने आदेश दिएका थिए। शेरबहादुर शाहले रिसको झोकमा रणबहादुर शाहलाई तरबार प्रहार गरे। रणबहादुरका अंगरक्षक बम शाहबालनरसिंह कुँवरले शेरबहादुर शाहलाई ढाले र घिच्रो रेटे।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

राजा प्रतापसिंह शाहको मृत्यु हुँदा उनी गर्भमा थिए। उनको जन्म पछि उनकी आमा मैजुकन्यालाई राजेन्द्रलक्ष्मीले सति पठाइ दिइन्।

रणबहादुर शाहको भारदारीसभा

[सम्पादन गर्नुहोस्]

राजकुमार बहादुर शाहलाई मुख्तियार पदबाट पदच्युत गरि राजा रणबहादुर शाहका तर्फबाट नयाँ भारदारी गठन भयो। यस स्थितिमा राजा रणबहादुर शाहद्वारा आफ्ना अनौरस राजु विदुर शाह र भाइ शेरबहादुर शाहलाई संयुक्त रुपमा प्रमुख चौतारा पद प्रदान गरिए।

चौतारा -काजी परिषद्

[सम्पादन गर्नुहोस्]

रणबहादुर शाहले नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहको शासन सञ्चालनको निमित्त आफ्नै सुविधा अनुसारको काजी परिषद्को गठन गरेका थिए। उक्त काजी परिषद्मा ३ वर्षका जेठा छोरा रणोद्योत शाहलाई मुख्य चौतरा पदमा नियुक्त गरेर अर्को छोरा शम्शेर शाह, सौताने भाइहरू- विदुर शाही र शेरबहादुर शाहीलाई पनि सामान्य चौतरामा उनले नियुक्त गरेका थिए। श्री कृष्ण शाह, बलभद्र शाह, बम शाह, ज्यान शाहहरूलाई पनि चौतरियामा नियुक्त गरेका थिए। कीर्तिमानसिंह, दामोदर पाँडे, रणजीत पाँडे, रणवम पाँडे, नरसिंह गुरुङ, त्रिभुवन प्रधान (खवास) आदि ठूला जमातलाई नाबालक राजाको शासन संचालनमा सहयोग रहोस् भनेर काजी परिषद्मा सामेल गराएका थिए।[]

१८६३ बैशाख १४ गतेको भारदारी कचहरी

[सम्पादन गर्नुहोस्]

वि.सं. १८६३ वैशाख १४ गते बेलुका काजी त्रिभुवन प्रधानको घरमा कचहरी बोलाइयो। त्यसमा चौतारिया शेरबहादुर शाह तथा काजी नरसिंह गुरुङ आदिलाई अनिवार्य उपस्थित गराउन भीमसेन थापाले आफ्नो मातहतका सेनालाई आदेश दिएका थिए। शाही र अरू भारदार सहजै उक्त कचहरीमा उपस्थित भए। सबैको उपस्थितिमा कचहरी सुरु हुने बेला भीमसेन थापा भने बहाना गरेर बाहिरिएको बाबुराम आचार्यको पुस्तक 'अब यस्तो कहिल्यै नहोस्‌'मा उल्लेख छ।

जुन बेला स्वामी महाराज (रणबहादुर) को उपस्थितिमा कचहरी प्रारम्भ भइरहेको थियो, ठिक त्यसै समयमा काजी भीमसेन थापा 'खाना खान जान्छु' भनी सभास्थलबाट खुरुक्क बाहिरतिर निस्किएका थिए।[] कचहरीमा रणबहादुरले काजी त्रिभुवन प्रधानले १८ हजार रुपैयाँ राज्यकोषबाट झिकेर मासेकोमा चौतारिया शेरबहादुर शाही लगायत त्यहाँ उपस्थित भारदारहरूको पनि संलग्नता रहेको आरोप लगाए। उक्त आरोप आफूमाथि पनि लागेपछि रिसाएका शेरबहादुर शाहीले रणबहादुर शाहलाई आफ्नै तरबार निकालेर प्रहार गरेको इतिहासकारहरूले लेखेका छन्। त्यसपछि तत्कालै शेरबहादुर शाहीलाई पनि त्यही स्थानमा मारियो।

अन्य केही भारदार र शेरबहादुर शाहीका अङ्गरक्षक तथा नातेदारहरूको पनि हत्या भयो। त्यसको भोलिपल्ट अन्य भारदारको पनि कुनै पुर्पक्ष नगरी विभिन्न आरोप लगाएर हत्या भयो। शेरबहादुर शाहीको सहयोगी ठानिएका र भीमसेन थापाले रणबहादुर शाहको हत्यामा संलग्न भनी आरोप लगाएका राजा पृथ्वीपाल सेन लगायतका व्यक्तिका शाखासन्तान समाप्त हुनेगरी साना बालकहरूलाई समेत काटेर मारेको इतिहासकार आचार्यले लेखेका छन्। उनका अनुसार हत्याको क्रम झन्डै दुई सातासम्म चल्यो। त्यसमा १६ महिलालाई सती पठाइएको र झन्डै ७७ पुरूषको हत्या भएको आचार्यले लेखेका छन्।[]

यो हत्याकाण्डले शक्तिशाली बनेका भीमसेन थापाले राजाभन्दा बलियो बनेर झन्डै ३१ वर्ष नेपालको सत्ता सञ्चालन गरे।

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. नेपालको तथ्य इतिहास पृष्ठ १९४, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१
  2. ओझेलमा परेका काजी दामोदर पाँडे
  3. बाबुराम आचार्यको पुस्तक 'अब यस्तो कहिल्यै नहोस्‌'
  4. दरबार हत्याकाण्ड: यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटना