हनुमाननगर
हनुमाननगर | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २६°३०′N ८६°३८′E / 26.50°N 86.63°E | |
| देश | |
| प्रदेश | मधेश प्रदेश |
| जिल्ला | सप्तरी जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ३.६८ किमी२ (१.४२ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ६,२७५ |
| • घनत्व | १७००/किमी२ (४४००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हनुमाननगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। हनुमाननगर प्राचिन सप्तरीको (हालको सिरहा, सप्तरी र सुनसरीको पूर्वी भाग) को पुरानो सदरमुकामको थियो। । हाल यो सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रशासनिक केन्द्रका रूपमा रहेको छ । [१]
ऐतिहासिक रूपमा सप्तरी जिल्लाको सदरमुकाम र तराईको प्रमुख व्यापारिक नाकाका रूपमा परिचित थियो । कोशी नदीको किनारमा अवस्थित हुनुका कारण यस क्षेत्रको भूगोल र जनजीवनमा कोशीको प्रभाव गहिरो रहेको देखिन्छ । वि.सं. १९२८ मा औपचारिक रुपमा हनुमाननगर बजारको रूपमा स्थापना भएको थियो ।
यो हाल हनुमाननगर कङ्कालिनी नगरपालिकामा पर्दछ। यसको साविकका १,४,७ नम्बर वडाहरू हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर ७ हो भने २,३,५ वडाहरू वडा नम्बर ९ र ६,८,९ वडाहरू वडा नम्बर १२ हो।
उत्पत्ति
[सम्पादन गर्नुहोस्]हनुमाननगरको नामाकरण यहाँ अवस्थित कालो मूर्ति भएको हनुमान मन्दिरको नामबाट भएको हो। हनुमाननगरकै अर्को नाम हनुमानगढ़ी पनि हो।[3] हनुमाननगर भन्दा पहिले यस क्षेत्रको प्रमुख बजार र प्रशासनिक केन्द्र 'नरहा' भन्ने स्थानमा थियो । यो स्थान हालको हनुमाननगरबाट करिब ३ देखि ४ माइल पूर्वमा, वर्तमान भारतीय सीमा नजिक पर्दथ्यो । तत्कालीन समयमा नरहा बजार थियो जहाँ सरकारी अड्डा, गोश्वारा र जेलसमेत थियो । कोशी नदीको विनाशकारी बाढी र कटानका कारण नरहा बजारको अस्तित्व संकटमा परेपछि तत्कालीन प्रशासनले यसलाई सुरक्षित स्थानमा सार्ने निर्णय गर्यो ।[२]
पुरातत्त्व विभागको प्रतिवेदन र ऐतिहासिक प्रमाणहरूका अनुसार, नरहाबाट विस्थापित भएको यो प्रशासनिक केन्द्रलाई वि.सं. १९२८ मा हालको 'हनुमानगढी' क्षेत्रमा सारिएको हो । सुरुवाती समयमा यो क्षेत्र घना जङ्गल र झाडीले भरिएको थियो । मानिसहरूले जङ्गल फँडानी गरेर यहाँ बसोबास सुरु गरेका थिए । सोही समयमा यहाँ रहेको प्राचीन हनुमानको मन्दिर र ऐतिहासिक गढीका कारण यस ठाउँको नाम 'हनुमाननगर' रहन गएको हो ।[२]
राणाकालीन प्रशासनिक केन्द्र
[सम्पादन गर्नुहोस्]राणा शासनको समयमा हनुमाननगर पूर्वीय क्षेत्रको एक शक्तिशाली सदरमुकामको रूपमा स्थापित भयो । विशेष गरी श्री ३ जुद्धशमशेरको प्रधानमन्त्रीत्व कालमा (वि.सं. १९८९-२००२) यस सहरले उल्लेखनीय भौतिक र प्रशासनिक विकास हासिल पाइन्छ । राणाकालिन समयमा हनुमाननगरमा बडाहाकिमको कार्यालय, मालपोत अड्डा, अदालत र सुरक्षाका लागि 'गारद' (जेल) को व्यवस्था थियो ।[३]
प्रशासनिक सुगमताका लागि वीरगञ्जबाट हनुमाननगरसम्म टेलिफोन सेवा विस्तार गरिएको थियो, जसले यस क्षेत्रलाई तत्कालीन समयको सञ्चार सञ्जालसँग जोडेको थियो । बजार अड्डाले क्षेत्रीय स्तरमा वस्तुहरूको मूल्य निर्धारण गर्ने र ती विवरणहरू केन्द्र सरकारमा पठाउने गर्दथ्यो । भारतीय रेल सेवा (भापतियाही रेलवे) सँग नजिक रहेको कारणले गर्दा यहाँबाट धान, जुट र अन्य कृषि उत्पादनहरू ठूलो मात्रामा निर्यात हुने गर्दथ्यो, जसले यसलाई आर्थिक रूपमा निकै सम्पन्न बनाएको थियो ।[३]
कालो हनुमान मूर्ति
[सम्पादन गर्नुहोस्]
हनुमान मन्दिरमा शालिग्राम शिलाबाट निर्मित हनुमानको 'बाल रूप' को मूर्ति छ । हनुमानको दुवै हात आशीर्वादी मुद्रामा भएको र विश्वमा दूर्लभ मानिएको हनुमान पाइन्छ । त्यसैले यसलाई विश्वकै एकमात्र 'कालो हनुमान' को मूर्तिका रूपमा पुज्ने गरिन्छ । यो मूर्ति दशौं देखि चौधौं शताब्दीको सेनपाल शैलीको हो। [४]
वि.सं. २०४७ मा स्थानीय दाता सीताराम गनपतलाल कावराले आफ्ना परिवारको स्मृतिमा यस मन्दिरको कलात्मक पुनर्निर्माण गराएका थिए । मन्दिर परिसरमा नारायणेश्वर महादेवको मन्दिर र धर्मशाला छ। रामनवमी र हनुमान जयन्तीका अवसरमा यहाँ भव्य मेला लाग्ने गर्दछ ।[५]
हनुमाननगर जेल काण्ड
[सम्पादन गर्नुहोस्]वि.सं. २००० जेठ ९ गते (सन् १९४३ मे २३) मा भारतीय स्वतन्त्रता सेनानीहरुलाई जेल तोडेर मुक्त गराइएको घटना थियो। 'हनुमाननगर जेल काण्ड' ले दुवै देशको राजनीतिमा गहिरो प्रभाव पारेको थियो ।[६]
सन् १९४२ मा भारतमा महात्मा गान्धीले सुरु गरेको 'भारत छोडो आन्दोलन' का क्रममा ब्रिटिश सरकारले क्रान्तिकारी नेताहरूलाई व्यापक धरपकड गर्न थाल्यो । हजारीबाग जेलबाट सुरुङ खनेर भागेका जयप्रकाश नारायण र डा. राममनोहर लोहिया जस्ता प्रभावशाली समाजवादी नेताहरू अङ्ग्रेजको आँखा छलेर नेपालको तराई भेगमा शरण लिन आइपुगेका थिए ।[७]
उनीहरूले सप्तरीको कोशी तटबन्ध नजिकका हर्दिबारी र सुरुङ्गा जस्ता स्थानहरूलाई आफ्नो आश्रयस्थल बनाएका थिए । त्यहाँ उनीहरूले 'आजाद दस्ता' (छापामार फौज) नामक एक विद्रोही संगठन गठन गरे र सशस्त्र तालिम सुरु गरे । यो संगठनको मुख्य उद्देश्य भारतबाट ब्रिटिश शासन हटाउन सशस्त्र सङ्घर्ष गर्नु थियो । यस कार्यमा नेपालका क्रान्तिकारीहरू रमेशश्वर प्रसाद सिंह, चतुरानन सिंह र जयमंगल प्रसाद सिंहले सहयोग पुर्याएका थिए ।[८]
जेल विद्रोह र नेताहरूको मुक्ति
[सम्पादन गर्नुहोस्]ब्रिटिश सरकारको विशेष अनुरोध र दबाबमा तत्कालीन राणा शासनले भारतीय नेताहरूलाई पक्राउ गर्न निर्देशन जारी गर्यो । फलस्वरूप, जयप्रकाश नारायण, डा. रामनारायण लोहिया, कार्तिक प्रसाद सिंह, डा. बैजनाथ झा, ब्रजकिशोर शास्त्री र बाबा श्याम नन्दनलाई हर्दिबारी क्याम्पबाट गिरफ्तार गरी हनुमाननगरको गारदमा राखियो ।[८]
उनीहरूलाई ब्रिटिश अधिकारीहरूको जिम्मा लगाउने तयारी भइरहेका बेला आजाद दस्ताका करिब ५० जना लडाकुहरू र स्थानीय नेपाली सहयोगीहरूले जेलमा आक्रमण गर्ने योजना बनाए । वि.सं. २००० जेठ ९ गते राति १२ बजे क्रान्तिकारीहरूले जेल घेराउ गरे । सैनिकहरूको ध्यान भटकाउन उनीहरूले नजिकैको परालको ठूलो कुन्युमा आगो लगाइदिए । जब सुरक्षाकर्मीहरू आगो निभाउन दौडिए, त्यही मौकामा क्रान्तिकारीहरूले झ्याल-ढोका फोडेर आफ्ना नेताहरूलाई सफलतापूर्वक मुक्त गराए र कोशीको बाटो हुँदै भारततर्फ लगे ।[६]
| जेल काण्डमा संलग्न प्रमुख व्यक्तिहरू | भूमिका/पद |
| जयप्रकाश नारायण | भारतीय क्रान्तिकारी नेता |
| डा. राममनोहर लोहिया | भारतीय समाजवादी नेता |
| रमेशश्वर प्रसाद सिंह | नेपाली सहयोगी नेता |
| जयमंगल प्रसाद सिंह | स्थानीय क्रान्तिकारी नेता |
| चतुरानन सिंह | स्थानीय राजनीतिकर्मी |
घटनाको प्रतिशोध
[सम्पादन गर्नुहोस्]हनुमाननगर जेल काण्डले राणा दरबार र ब्रिटिश साम्राज्य दुवैलाई स्तब्ध बनायो । यसको प्रतिशोध स्वरूप राणाहरूले सप्तरीका करिब २०० जना स्थानीय बासिन्दाहरूलाई पक्राउ गरी काठमाडौँको सदर जेल पुर्याए । हिरासतमा दिइएको चरम यातनाका कारण हनुमाननगरका अब्दुल मिया र कृष्णवीर कामीको जेलमै मृत्यु भयो, जसलाई हनुमाननगरको इतिहासमा पहिलो राजनीतिक सहिद मानिन्छ । पक्राउ परेका जयमंगल प्रसाद सिंहलाई भेट्न गएका उनका ९ वर्षीय छोरा रामराजा प्रसाद सिंहलाई समेत राणाहरूले थुनेका थिए।[८]
सदरमुकामको स्थानान्तरण
[सम्पादन गर्नुहोस्]हनुमाननगरको प्रशासनिक गिरावटको प्रमुख कारण कोशी नदीको अनियन्त्रित स्वभाव र प्राकृतिक विपत्तिलाई मानिन्छ । वि.सं. १९९० को महाभूकम्पले यस क्षेत्रको भू-बनोटमा परिवर्तन ल्याएपछि कोशी नदीको बहावमा पनि फेरबदल आयो । वि.सं. २००१ को भीषण बाढीले हनुमाननगर बजार र सरकारी अड्डाहरूलाई ठूलो क्षति पुर्यायो । पटक-पटकको कटान र डुबानका कारण वि.सं. २००६ सालतिर हनुमाननगरबाट सप्तरीको सदरमुकाम औपचारिक रूपमा राजविराजमा सारियो । राजविराजमा नयाँ सदरमुकाम स्थापना भएपछि यहाँका व्यापारी र कर्मचारीहरू पनि सरे।[९]
जनसङ्ख्याको वितरण
[सम्पादन गर्नुहोस्]एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६२७५ रहेको थियो जसमध्ये ३१८५ पुरुष र ३०९० महिला रहेका थिए भने यहाँ ९५७ घरधुरी रहेको थियो।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ मेचीदेखि महाकाली, भाग १, पूर्वाञ्चल विकास क्षेत्र। श्री ५ को सरकार । सञ्चार मन्त्रालय, सूचना विभाग। २०३१ ।
- 1 2 झा, अजय कुमार (२०७७ असार ९ गते), "हनुमाननगरको ऐतिहासिक नाम हनुमानगढी", अनलाइनखबर।
- 1 2 अर्याल, दीपक (६ कार्तिक २०८२), "बिर्सिइएको हनुमाननगर", नेपाल न्यूज।
- ↑ झा, अजय कुमार (२०७८ असार २४ गते), "हनुमाननगरका मूर्तिहरू घर फर्किन्छन् !", अनलाइनखबर।
- ↑ श्रेष्ठ, सबिना (कात्तिक २६, २०७६), "कहीँ नभएको हनुमान सप्तरीमा", सेतोपाटी। अभिलेखिकरण २०२५-०८-१९ वेब्याक मेसिन
- 1 2 गजुर, गजेन्द्र (मइ २३, २०२५), "हनुमाननगर जेल काण्ड: गणतन्त्रके ऐतिहासिक संघर्ष", आइ लभ मिथिला डटकम (मैथिलीमा)।
- ↑ झा, अबधेश कुमार (जेष्ठ ८, २०८२), "हनुमाननगर जेल काण्डको ८२ वर्ष : नाम न अवशेष", कान्तिपूर।
- 1 2 3 यादव, डा. पिताम्बरलाल। प्रजातान्त्रिक आन्दोलन र सप्तरी। प्रकाशित मिति: वि.सं २०७०।
- ↑ भादगाउँले, अमृत (२९ पुस २०७५), "गन्तव्य : हनुमाननगर", नागरिक दैनिक।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन नेपाल न्यूज (२०२५ अक्टोबर), "बिर्सिएको हनुमाननगर र ऐतिहासिक महत्त्व"।