सामग्रीमा जानुहोस्

हनुमाननगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हनुमाननगर
पूर्व गाविस
हनुमाननगर मा पर्दछ मधेश प्रदेश
हनुमाननगर
नेपालको नक्सामा हनुमाननगरको अवस्थिति
हनुमाननगर मा पर्दछ नेपाल
हनुमाननगर
हनुमाननगर (नेपाल)
निर्देशाङ्क: २६°३०′N ८६°३८′E / 26.50°N 86.63°E / 26.50; 86.63
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी जिल्ला
क्षेत्रफल
  जम्मा३.६८ किमी (१.४२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६,२७५
  घनत्व१७००/किमी (४४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

हनुमाननगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। हनुमाननगर प्राचिन सप्तरीको (हालको सिरहा, सप्तरी र सुनसरीको पूर्वी भाग) को पुरानो सदरमुकामको थियो। । हाल यो सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रशासनिक केन्द्रका रूपमा रहेको छ । []

ऐतिहासिक रूपमा सप्तरी जिल्लाको सदरमुकाम र तराईको प्रमुख व्यापारिक नाकाका रूपमा परिचित थियो । कोशी नदीको किनारमा अवस्थित हुनुका कारण यस क्षेत्रको भूगोल र जनजीवनमा कोशीको प्रभाव गहिरो रहेको देखिन्छ । वि.सं. १९२८ मा औपचारिक रुपमा हनुमाननगर बजारको रूपमा स्थापना भएको थियो ।

यो हाल हनुमाननगर कङ्कालिनी नगरपालिकामा पर्दछ। यसको साविकका १,४,७ नम्बर वडाहरू हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर ७ हो भने २,३,५ वडाहरू वडा नम्बर ९ र ६,८,९ वडाहरू वडा नम्बर १२ हो।

हनुमाननगरको नामाकरण यहाँ अवस्थित कालो मूर्ति भएको हनुमान मन्दिरको नामबाट भएको हो। हनुमाननगरकै अर्को नाम हनुमानगढ़ी पनि हो।[3] हनुमाननगर भन्दा पहिले यस क्षेत्रको प्रमुख बजार र प्रशासनिक केन्द्र 'नरहा' भन्ने स्थानमा थियो । यो स्थान हालको हनुमाननगरबाट करिब ३ देखि ४ माइल पूर्वमा, वर्तमान भारतीय सीमा नजिक पर्दथ्यो । तत्कालीन समयमा नरहा बजार थियो जहाँ सरकारी अड्डा, गोश्वारा र जेलसमेत थियो । कोशी नदीको विनाशकारी बाढी र कटानका कारण नरहा बजारको अस्तित्व संकटमा परेपछि तत्कालीन प्रशासनले यसलाई सुरक्षित स्थानमा सार्ने निर्णय गर्‍यो ।[]

पुरातत्त्व विभागको प्रतिवेदन र ऐतिहासिक प्रमाणहरूका अनुसार, नरहाबाट विस्थापित भएको यो प्रशासनिक केन्द्रलाई वि.सं. १९२८ मा हालको 'हनुमानगढी' क्षेत्रमा सारिएको हो । सुरुवाती समयमा यो क्षेत्र घना जङ्गल र झाडीले भरिएको थियो । मानिसहरूले जङ्गल फँडानी गरेर यहाँ बसोबास सुरु गरेका थिए । सोही समयमा यहाँ रहेको प्राचीन हनुमानको मन्दिर र ऐतिहासिक गढीका कारण यस ठाउँको नाम 'हनुमाननगर' रहन गएको हो ।[]

राणाकालीन प्रशासनिक केन्द्र

[सम्पादन गर्नुहोस्]

राणा शासनको समयमा हनुमाननगर पूर्वीय क्षेत्रको एक शक्तिशाली सदरमुकामको रूपमा स्थापित भयो । विशेष गरी श्री ३ जुद्धशमशेरको प्रधानमन्त्रीत्व कालमा (वि.सं. १९८९-२००२) यस सहरले उल्लेखनीय भौतिक र प्रशासनिक विकास हासिल पाइन्छ । राणाकालिन समयमा हनुमाननगरमा बडाहाकिमको कार्यालय, मालपोत अड्डा, अदालत र सुरक्षाका लागि 'गारद' (जेल) को व्यवस्था थियो ।[]

प्रशासनिक सुगमताका लागि वीरगञ्जबाट हनुमाननगरसम्म टेलिफोन सेवा विस्तार गरिएको थियो, जसले यस क्षेत्रलाई तत्कालीन समयको सञ्चार सञ्जालसँग जोडेको थियो । बजार अड्डाले क्षेत्रीय स्तरमा वस्तुहरूको मूल्य निर्धारण गर्ने र ती विवरणहरू केन्द्र सरकारमा पठाउने गर्दथ्यो । भारतीय रेल सेवा (भापतियाही रेलवे) सँग नजिक रहेको कारणले गर्दा यहाँबाट धान, जुट र अन्य कृषि उत्पादनहरू ठूलो मात्रामा निर्यात हुने गर्दथ्यो, जसले यसलाई आर्थिक रूपमा निकै सम्पन्न बनाएको थियो ।[]

कालो हनुमान मूर्ति

[सम्पादन गर्नुहोस्]
हनुमाननगरमा भएको कालो हनुमानको मूर्ती (डिजिटल कलात्मक चित्र)।

हनुमान मन्दिरमा शालिग्राम शिलाबाट निर्मित हनुमानको 'बाल रूप' को मूर्ति छ । हनुमानको दुवै हात आशीर्वादी मुद्रामा भएको र विश्वमा दूर्लभ मानिएको हनुमान पाइन्छ । त्यसैले यसलाई विश्वकै एकमात्र 'कालो हनुमान' को मूर्तिका रूपमा पुज्ने गरिन्छ । यो मूर्ति दशौं देखि चौधौं शताब्दीको सेनपाल शैलीको हो। []

वि.सं. २०४७ मा स्थानीय दाता सीताराम गनपतलाल कावराले आफ्ना परिवारको स्मृतिमा यस मन्दिरको कलात्मक पुनर्निर्माण गराएका थिए । मन्दिर परिसरमा नारायणेश्वर महादेवको मन्दिर र धर्मशाला छ। रामनवमी र हनुमान जयन्तीका अवसरमा यहाँ भव्य मेला लाग्ने गर्दछ ।[]

हनुमाननगर जेल काण्ड

[सम्पादन गर्नुहोस्]

वि.सं. २००० जेठ ९ गते (सन् १९४३ मे २३) मा भारतीय स्वतन्त्रता सेनानीहरुलाई जेल तोडेर मुक्त गराइएको घटना थियो। 'हनुमाननगर जेल काण्ड' ले दुवै देशको राजनीतिमा गहिरो प्रभाव पारेको थियो ।[]

सन् १९४२ मा भारतमा महात्मा गान्धीले सुरु गरेको 'भारत छोडो आन्दोलन' का क्रममा ब्रिटिश सरकारले क्रान्तिकारी नेताहरूलाई व्यापक धरपकड गर्न थाल्यो । हजारीबाग जेलबाट सुरुङ खनेर भागेका जयप्रकाश नारायणडा. राममनोहर लोहिया जस्ता प्रभावशाली समाजवादी नेताहरू अङ्ग्रेजको आँखा छलेर नेपालको तराई भेगमा शरण लिन आइपुगेका थिए ।[]

उनीहरूले सप्तरीको कोशी तटबन्ध नजिकका हर्दिबारी र सुरुङ्गा जस्ता स्थानहरूलाई आफ्नो आश्रयस्थल बनाएका थिए । त्यहाँ उनीहरूले 'आजाद दस्ता' (छापामार फौज) नामक एक विद्रोही संगठन गठन गरे र सशस्त्र तालिम सुरु गरे । यो संगठनको मुख्य उद्देश्य भारतबाट ब्रिटिश शासन हटाउन सशस्त्र सङ्घर्ष गर्नु थियो । यस कार्यमा नेपालका क्रान्तिकारीहरू रमेशश्वर प्रसाद सिंह, चतुरानन सिंह र जयमंगल प्रसाद सिंहले सहयोग पुर्‍याएका थिए ।[]

जेल विद्रोह र नेताहरूको मुक्ति

[सम्पादन गर्नुहोस्]

ब्रिटिश सरकारको विशेष अनुरोध र दबाबमा तत्कालीन राणा शासनले भारतीय नेताहरूलाई पक्राउ गर्न निर्देशन जारी गर्‍यो । फलस्वरूप, जयप्रकाश नारायण, डा. रामनारायण लोहिया, कार्तिक प्रसाद सिंह, डा. बैजनाथ झा, ब्रजकिशोर शास्त्री र बाबा श्याम नन्दनलाई हर्दिबारी क्याम्पबाट गिरफ्तार गरी हनुमाननगरको गारदमा राखियो ।[]

उनीहरूलाई ब्रिटिश अधिकारीहरूको जिम्मा लगाउने तयारी भइरहेका बेला आजाद दस्ताका करिब ५० जना लडाकुहरू र स्थानीय नेपाली सहयोगीहरूले जेलमा आक्रमण गर्ने योजना बनाए । वि.सं. २००० जेठ ९ गते राति १२ बजे क्रान्तिकारीहरूले जेल घेराउ गरे । सैनिकहरूको ध्यान भटकाउन उनीहरूले नजिकैको परालको ठूलो कुन्युमा आगो लगाइदिए । जब सुरक्षाकर्मीहरू आगो निभाउन दौडिए, त्यही मौकामा क्रान्तिकारीहरूले झ्याल-ढोका फोडेर आफ्ना नेताहरूलाई सफलतापूर्वक मुक्त गराए र कोशीको बाटो हुँदै भारततर्फ लगे ।[]

जेल काण्डमा संलग्न प्रमुख व्यक्तिहरू भूमिका/पद
जयप्रकाश नारायण भारतीय क्रान्तिकारी नेता
डा. राममनोहर लोहिया भारतीय समाजवादी नेता
रमेशश्वर प्रसाद सिंह नेपाली सहयोगी नेता
जयमंगल प्रसाद सिंह स्थानीय क्रान्तिकारी नेता
चतुरानन सिंह स्थानीय राजनीतिकर्मी

घटनाको प्रतिशोध

[सम्पादन गर्नुहोस्]

हनुमाननगर जेल काण्डले राणा दरबार र ब्रिटिश साम्राज्य दुवैलाई स्तब्ध बनायो । यसको प्रतिशोध स्वरूप राणाहरूले सप्तरीका करिब २०० जना स्थानीय बासिन्दाहरूलाई पक्राउ गरी काठमाडौँको सदर जेल पुर्‍याए । हिरासतमा दिइएको चरम यातनाका कारण हनुमाननगरका अब्दुल मिया र कृष्णवीर कामीको जेलमै मृत्यु भयो, जसलाई हनुमाननगरको इतिहासमा पहिलो राजनीतिक सहिद मानिन्छ । पक्राउ परेका जयमंगल प्रसाद सिंहलाई भेट्न गएका उनका ९ वर्षीय छोरा रामराजा प्रसाद सिंहलाई समेत राणाहरूले थुनेका थिए।[]

सदरमुकामको स्थानान्तरण

[सम्पादन गर्नुहोस्]

हनुमाननगरको प्रशासनिक गिरावटको प्रमुख कारण कोशी नदीको अनियन्त्रित स्वभाव र प्राकृतिक विपत्तिलाई मानिन्छ । वि.सं. १९९० को महाभूकम्पले यस क्षेत्रको भू-बनोटमा परिवर्तन ल्याएपछि कोशी नदीको बहावमा पनि फेरबदल आयो । वि.सं. २००१ को भीषण बाढीले हनुमाननगर बजार र सरकारी अड्डाहरूलाई ठूलो क्षति पुर्‍यायो । पटक-पटकको कटान र डुबानका कारण वि.सं. २००६ सालतिर हनुमाननगरबाट सप्तरीको सदरमुकाम औपचारिक रूपमा राजविराजमा सारियो । राजविराजमा नयाँ सदरमुकाम स्थापना भएपछि यहाँका व्यापारी र कर्मचारीहरू पनि सरे।[]

जनसङ्ख्याको वितरण

[सम्पादन गर्नुहोस्]

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६२७५ रहेको थियो जसमध्ये ३१८५ पुरुष र ३०९० महिला रहेका थिए भने यहाँ ९५७ घरधुरी रहेको थियो।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. मेचीदेखि महाकाली, भाग १, पूर्वाञ्चल विकास क्षेत्र। श्री ५ को सरकार । सञ्चार मन्त्रालय, सूचना विभाग। २०३१ ।
  2. 1 2 झा, अजय कुमार (२०७७ असार ९ गते), "हनुमाननगरको ऐतिहासिक नाम हनुमानगढी", अनलाइनखबर
  3. 1 2 अर्याल, दीपक (६ कार्तिक २०८२), "बिर्सिइएको हनुमाननगर", नेपाल न्यूज
  4. झा, अजय कुमार (२०७८ असार २४ गते), "हनुमाननगरका मूर्तिहरू घर फर्किन्छन् !", अनलाइनखबर
  5. श्रेष्ठ, सबिना (कात्तिक २६, २०७६), "कहीँ नभएको हनुमान सप्तरीमा", सेतोपाटी अभिलेखिकरण २०२५-०८-१९ वेब्याक मेसिन
  6. 1 2 गजुर, गजेन्द्र (मइ २३, २०२५), "हनुमाननगर जेल काण्ड: गणतन्त्रके ऐतिहासिक संघर्ष", आइ लभ मिथिला डटकम (मैथिलीमा)।
  7. झा, अबधेश कुमार (जेष्ठ ८, २०८२), "हनुमाननगर जेल काण्डको ८२ वर्ष : नाम न अवशेष", कान्तिपूर
  8. 1 2 3 यादव, डा. पिताम्बरलाल। प्रजातान्त्रिक आन्दोलन र सप्तरी। प्रकाशित मिति: वि.सं २०७०।
  9. भादगाउँले, अमृत (२९ पुस २०७५), "गन्तव्य : हनुमाननगर", नागरिक दैनिक
  10. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन नेपाल न्यूज (२०२५ अक्टोबर), "बिर्सिएको हनुमाननगर र ऐतिहासिक महत्त्व"।