काजी नजरुल इसलाम
काजी नजरुल इसलाम | |
---|---|
जन्म | काजी नजरुल इसलाम मे २५, १८९९ चुरुलिया, बङ्गाल राज्य, बेलायती भारत (हाल पश्चिम बर्धमान जिल्ला, पश्चिम बङ्गाल, भारत) |
मृत्यु | २७ अगस्ट १९७६ ढाका, बङ्गलादेश | (उमेर ७७)
निवास | ढाका विश्वविद्यालय केन्द्रीय जामे।मस्जिद |
राष्ट्रियता | बेलायती भारत (सन् १८९९-१९४७) भारतीय (सन् १९४७-१९७६) बङ्गलादेशी (सन् १९७६) |
अन्य नाम | दुखु मियाँ |
जातीयता | बङ्गाली |
नागरिकता |
|
पेशा |
|
उल्लेखनीय कार्य |
|
प्रभाव | इसलाम; हाफिज; रुमी; रवीन्द्रनाथ ठाकुर |
प्रभाव | बङ्गलादेशी संस्कृति; भारतीय स्वतन्त्रता आन्दोलन; भारतीय संस्कृति; ; विश्वव्यापी नागरिकत्व |
राजनीतिक कृयाकलाप | बङ्गालको नवजागरण |
धर्म | इस्लाम |
जीवनसाथी | |
पुरस्कार | स्वाधीनता पुरस्कार (सन् १९७७) एकुशे पदक (सन् १९७६) पद्मभूषण |
सैन्य कार्यजीवन | |
निष्ठा | ब्रिटिस साम्राज्य |
सेवा/ | ब्रिटिस भारतीय सेना |
सक्रिय सेवा अवधि | सन् १९१७–१९२० |
सैन्य क्रम | हवल्दार |
एकाइ | ४९औँ बङ्गाली सैन्यसमूह |
युद्ध | प्रथम विश्वयुद्ध |
हस्ताक्षर | |
वेबसाइट | nazrul-rachanabali |
काजी नजरुल इसलाम (बङ्गाली: কাজী নজরুল ইসলাম, (२५ मे १८९९ – २९ अगस्ट १९७६; ११ जेष्ठ १३०६ – १२ भाद्र १३८३ बङ्गाब्दो) भारतको पश्चिम बङ्गालमा जन्मिएका एक बङ्गाली कवि र थिए जो बङ्गलादेशका राष्ट्रकवि हुन्।[१][२] उनी बीसौँ शताब्दीका अग्रणी बङ्गाली कवि, उपन्यासकार, नाटककार, सङ्गीतकार र दार्शनिकहरू मध्ये एक थिए जो बङ्गाली कवितामा अग्रगामी भूमिकाका साथै आफ्नो प्रगतिशील प्रेरणाका लागि परिचित बनेका थिए।[३] उनी बङ्गाली साहित्य, समाज र संस्कृतिको क्षेत्रमा एक उत्कृष्ट व्यक्तित्वको रूपमा परिचित छन् र उनी बङ्गाली प्रतिभाको एक उत्कृष्ट नमुना हुन्। उनका कविता र गीतहरू पश्चिम बङ्गाल र बङ्गलादेशमा समान रूपले प्रशंसा गरिन्छ। उनको कविताहरूमा विद्रोही दृष्टिकोणको कारण उनलाई विद्रोही कवि भनिएको छ।[४][५] उनका कविताहरूको मूल विषय मानव उत्पीडन र सामाजिक अन्याय र शोषणको विरुद्धको विरोध थियो।
बीसौँ शताब्दीमा काजी नजरुल इसलामको मर्यादा र महत्त्वलाई अपार ठानिएको छ।[६] कवि, लेखक, सङ्गीतकार, पत्रकार, सम्पादक, राजनीतिज्ञ र सैनिक भएर नजरुलले सधैँ अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउँथे भने यस्तो खालको मनोवृत्ति उसको कविता र गीतहरूमा झल्किने गरेका छन्।[७] इसलाम एक विद्रोही कवि थिए। इसलामको जन्मदिन प्रत्येक वर्ष बङ्गलादेशमा विशेष सम्मानका साथ मनाइन्छ भने उनको मृत्युको दिन उनको सम्झना गरिन्छ। [८]
नजरुलको जन्म एक गरीब मुसलमान परिवारमा भएको थियो। उनको प्राथमिक शिक्षा पूर्णरूपले धार्मिक थियो। उनले स्थानीय मस्जिदमा एक सम्मानित मुयाजजिनको रूपमा पनि काम गरेका थिए।[९] सानो उमेरमानै नजरुलले नाटक दलहरूको साथ काम गर्न सुरु गर्दै कविता, नाटक तथा साहित्यको गहन ज्ञान हासिल गरेका थिए। केही समय भारतीय सेनामा सेवा गरिसकेपछि उनले पत्रकारितालाई आफ्नो पेशाको रूपमा रोजेका थिए भने त्यसबेला उनी कलकत्तामा बस्ने गरेका थिए।[१०] यस समयमा उनले बेलायती राज विरुद्ध प्रत्यक्ष सङ्घर्षमा सामेल भएका थिए भने उनले त्यबेला विद्रोही (बङ्गाली: বিদ্রোহী) र भाङेर गान (बङ्गाली: ভাঙের গান) जस्ता विद्रोही भावका गीतहरूको रचना गरेका थिए। बेलायती शासनको विरोध गरेपछि उनलाई कारागारमा कैद गरी राखिएको थियो भने उनले यस समय राजबोन्दीर जवानबोन्दी जस्ता केही विद्रोही कविताको रचना गरेका थिए जसले त्यसबेलाको साम्राज्यवादको विपक्षलाई प्रष्ट पारेको थियो। उनको धर्मनिष्ठ मुस्लिम समुदाय र उपेक्षित भारतीय जनतासँग विशेष सम्बन्ध थियो। उनको साहित्यिक कार्यहरूले प्रेम, मुक्ति र विद्रोहको प्रभुत्व जमाउन सफल भएको छ।[११][१२][१३] उनले धार्मिक लिङ्गभेदको विरुद्धमा पनि कृतिहरू प्रकाशन गरेका थिए। छोटो कथाहरू, उपन्यास र नाटक र कविताहरूका लागि नजरुल निकै परिचित छन्। उनले बङ्गाली कविताको एक नयाँ धारालाई जन्म दिएका थिए जुन इस्लामिक सङ्गीत वा गजल हो थियो। यसका साथसाथै उनले थुप्रै उत्कृष्ट श्यामा सङ्गीत र हिन्दु भक्ति गीतहरूको पनि रचना गरेका थिए। उनी आफ्नो कृति तथा कार्यहरूमा अत्याधिक मात्रामा अरबी र फारसी शब्दको प्रयोगका कारण पनि परिचित बनेका थिए।[१४][१५][१६] उनका केही कविताहरू हिन्दी भाषामा पनि अनुवाद गरिएको छ। नजरुल इसलाम धूमकेतु नामक एक पत्रिकाका प्रमुख सम्पादक थिए भने उनका कृतिहरूको सोही पत्रिकाका मार्फत प्रकाशन हुने गरेका थिए। [१७]
नजरुलले करीव ४,००० गीतहरूको रचना गरेका छन् जस मध्ये धेरै जसो हाल नजरुल सङ्गीत वा "नजरुल गीती" नामले विशेष रूपमा लोकप्रिय छन्।[१८]सन् १९४३ मा नजरुल ४३ वर्षको छँदा मस्तिष्क सम्बन्धित एक घातक रोगको सिकार हुन पुगेका थिए जसकारण उनले आफ्नो स्वर र मानसिक सन्तुलन गुमाएका थिए भने उनले बीचमै साहित्यबाट बञ्चित हुन पुगेका थिए।[१९] उनी बङ्गलादेश सरकारको आमन्त्रणमा सन् १९७२ मा आफ्नो परिवारको साथ ढाका आएका थिए भने यससमय उनलाई बङ्गलादेशको राष्ट्रियता प्रदान गरिएको थियो। त्यसको ४ वर्ष पश्चात् नजरुलको मृत्यु सन् १९७६ अगस्ट २९ का दिन बङ्गलादेशको राजधानी ढाकामा भएको थियो।
जन्म तथा बाल्यकाल
[सम्पादन गर्नुहोस्]काजी नजरुल इसलामको जन्म सन् १८९९ मे २४ (११ जेष्ठ १३०६ बङ्गाब्दो) का दिन भारतको पश्चिम बङ्गालको बर्धमान जिल्लाको आसनसोल उपखण्ड अन्तर्गत पर्ने चुरुलिया गाउँमा भएको थियो। चुरुलिया गाउँ आसनसोल उपखण्डको जमुरिया खण्डमा अवस्थित छ। उनी उनका हजुरबुबा काजी आमिन उल्लाहका छोरा काजी फकीर आहमेदकी दोस्रो श्रीमती जाहेदा खातुनको छैठौँ सन्तान थिए। उनका बुबा फकिर आहमद स्थानीय मस्जिदका इमाम थिए।[२०] नजरुलका तीन भाइ मध्ये कान्छा काजी आली होसेन र दुई दिदीहरूमध्ये काजी साहेबजान र उम्मे कुलसुम थिए। काजी नजरुल इसलामको उपनाम वा परिवारका सदस्यहरूले बोलाउने गरेको नाम "दुखु मियाँ" थियो। रूपमा नजरुलले गाउँको स्थानीय मस्जिदमा मुयाज्जिनको काम गरेका थिए। पछि नजरुलले कुरान, इस्लाम, दर्शन र इस्लाम धर्मशास्त्रीय आख्यानहरू मुसलमानहरूले चलाएको धार्मिक विद्यालय पढ्न सुरु गरेका थिए। सन् १९०८ मा नजरुल मात्र ९ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको थियो। बुबाको मृत्यु पछि पारिवारिक कठिनाइको कारण उनको शिक्षा अवरुद्ध हुँदै, मात्र १० वर्षको उमेरमा जीविका चलाउन उनी काममा जानु परेको थियो।[२१] केही वर्ष पछि उनले मक्तबबाट निम्न माध्यमिक परीक्षा उत्तीर्ण गर्दै सोही शिक्षण संस्थामा पठाउन सुरु गरेका थिए। त्यसको साथसाथै नजरुलले हाजी पालोवा चिहानको नोकरको र मस्जिदको मुयाज्जिनको रूपमा काम गर्न सुरु गरेका थिए।[२०] यी कार्यहरूको माध्यमबाट उनले सानो उमेरमा इस्लामको आधारभूत रीतिथितिहरूसँग परिचित हुने अवसर प्राप्त गरेका थिए जसले पछि उसको साहित्यिक कार्यमा गहिरो प्रभाव पारेको थियो। नजरुलले बङ्गाली साहित्यमा इस्लामी चेतनाको अभ्यास सुरु गरेका थिए।[२०]
नजरुलले सानै उमेरदेखि मस्जिदमा काम गर्न सुरु गरेतापनि उनले त्यहाँ लामो समय बिताएका भने थिएनन्। सानैदेखि लोक कलामा आकर्षित भएका नजरुल लेटो (बङ्गालको राधा क्षेत्रमा मिश्रित कविता, गीत र नृत्यको नाट्यदल) मा सामेल भएका थिए। नजरुलका काका काजी बजले करिम चुलुलिया अञ्चलको लेटो नाट्यदलका विशिष्ट शिक्षक थिए भने उनी अरबी, फारसी र उर्दु भाषाका ज्ञाता थिए। नजरुल पनि बजले करिमको प्रभावले गर्दा लेटो नाट्यदलमा सामेल भएका थिए।[२२] यसबाहेक करिमले विभिन्न भाषाहरूका गीतहरू रचना गर्ने गरेका थिए। यस बाहेक नजरुलल लोकप्रिय लेटो कवि शेख चकोर (गोदा कवि) र कवि बासुदेवको लेटो तथा कविगान भेलामा नियमित रूपमा भाग लिने गरेका थिए। लेटो समूहमा साहित्य अभ्यास सुरु भएपछि उनले यस समूहको साथ विभिन्न स्थानको भ्रमण गर्ने मौका प्राप्त गरेका थिए भने उनले यस समूहमा रहेर अभिनय गर्न र नाटकका लागि गीत र कविताहरूको रचना गर्न सुरुवात गरेका थिए। आफ्नै काम र अनुभवको आधारमा उनले बङ्गाली र संस्कृत साहित्यको अध्ययन गर्न सुरु गरेका थिए भने उनले सोही समयमा हिन्दु धर्मशास्त्र अर्थात् पुराणहरूको अध्ययन थालेका थिए। निकै सानो उमेरमा नजरेलले नाटणयदलका लागि धेरै गीतहरू रचना गरेका थिए। जसमा चाषार सङ, शकुनीबध, राजा जुधिष्ठिरेर सङ, दाता कर्न, आकबर बादशाह, कवि कालिदास, विद्याभूतुम, राजापुत्रेर गान, बुडो शालिकेर घाडे रोँ र मेघनाद बध आदि सामेल छन्। एकातिर मस्जिद, मठ र मक्तबको जीवन र अर्कोतिर लेटो नाट्यदलको विविध अनुभवले नजरुलको साहित्यिक जीवनका धेरै तत्वहरू प्रदान गरेको थियो। कालीदेवीको बारेमा नजरुलले धेरै श्यामा सङ्गीतहरूको रचना गरेका थिए।[२०] सन् १९१० मा नजरुलले लेटो समूह छाड्दै पुनः विद्यार्थी जीवनमा प्रवेश गरेका थिए। माथरुन विद्यालयकम तत्कालीन प्रधानाध्यापक कुमुदरञ्जन मल्लिक त्यतिबेलाका प्रसिद्ध कविको रूपमा परिचित थिए। उसको निकटता नजरुलका लागि प्रेरणाको स्रोत बन्न पुगेको थियो।
ছোট সুন্দর ছনমনে ছেলেটি, আমি ক্লাশ পরিদর্শন করিতে গেলে সে আগেই প্রণাম করিত। আমি হাসিয়া তাহাকে আদর করিতাম। সে বড় লাজুক ছিল।
यद्यपि आर्थिक समस्याले उनलाई लामो समयसम्म यहाँ अध्ययन गर्नबाट रोकेको थियो। छैठौं कक्षा पूरा गरेपछि उनी फेरि काममा फर्किनु परेको थियो। उनी त्यसपछि बासुदेबको कविदलमा सम्मिलित भएका थिए। त्यसपछि उनले एक रेल्वे स्टेसनमा सुरक्षाकर्मीको काम गरेका थिए भने पछि उनले आसानसोलमा चिया र पाउरोटीको दोकान लिएका थिए। यी सबै कठिनाइहरूले गर्ला उनको बाल्यकालको जीवन निकै कष्टका बीचमा बितेको थियो। यस पसलमा काम गर्दा गर्दा उसले आसनसोलका प्रहरी जवान रफिजउल्लाहका साथ परिचित हुन पुगेका थिए। नजरुल पसलमा एक्लै बसिरहेको बेला उनीद्वारा रचिएका कविता र छोटा कथाहरू पढेपछि रफिजउल्लाहले नजरुलको प्रतीभा पहिचान गरेका थिए। पछि रफिजउल्लाहले सन् १९१४ मा नजरुललाई मयमनसिङ्ह जिल्लाको त्रिशाल अवस्थित दरिरामपुर विद्यालयमा ७ कक्षामा भर्ना गरिदिएका थिए। सन् १९१५ मा उनी पुनः रानीगञ्जको सियारसोल राज विद्यालयमा अध्ययनका लागि फर्किएका थिए भने उनले त्यहाँ ८ कक्षाबाट पढ्न सुरु गरेका थिए। सन् १९१७ सम्म उनी सोही विद्यालयमा अध्ययन गरेका थिए। सन् १९१७ को अन्त्यतिर माध्यमिक परीक्षाको अग्रीम जाँच नदिइकन उनी सैन्य दलमा एक सैनिकको रूपमा जोडिएका थिए। उक्त विद्यालयमा अध्ययन गरिरहँदा उनी त्यहाँमा ४ जना शिक्षकहरूबाट प्रभावित हुन पुगेका थिए जसमा सङ्गीत शिक्षक सतीशचन्द्र काञ्जिलाल, विप्लवी चेतनाविशिष्ट निवारणचन्द्र घटक, फारसी साहित्यका हाफिज नुरुन्नबी र साहित्यकार नगेन्द्रनाथ बन्धोपाध्याय थिए।[२०]
सैन्य जीवन
[सम्पादन गर्नुहोस्]सन् १९१७ को अन्त्य तिर नजरुल सेनामा भर्ती भएका थिए। सेनामा भर्ती भएपछि उनी पहिहोपटक विलियम सैनिक किल्लामा गएका थिए भने पछि उनी थप प्रशिक्षणका लागि सीमान्त प्रान्तको नौशेरा गएका थिए। प्रशिक्षणको अन्तमा सिपाहीहरू कराचीको एक सैनिक किल्लामा बस्न थालेका थिए। नजरुलले सन् १९१७ को अन्त्यदेखि सन् २०२० को मार्च-अप्रिलको बीचको समयमा सैनिक जीवन बिताएका थिए। यस अवधिमा उनी ४९ बङ्गाल सैन्य किल्लाका सिपाहीबाट उच्च स्तरका हवल्दार बनेका थिए। उनले सोही सैनिक किल्लामा कार्यरत एक पञ्जाबी पादरीबाट फारसी भाषा सिकेका थिए। यस बाहेक उनले आफ्ना साथीहरूसँग हतियारसहित विभिन्न सङ्गीत वाद्ययन्त्रका साथ, स्थानीय र विदेशी दुवै सङ्गीतको अभ्यास गर्न जारी राख्दै एकै साथ गद्य र कविता अभ्यास गर्न पनि सुरु गरेका थिए। कराची सैनिक किल्लामा छँदा नजरुलको बाउन्डलेर आत्मोकाहिनी, (पहिलो गद्य), मुक्ति (प्रथम प्रकाशित कविता); कथाहरूमा हेना, व्याथार दान, मेहेर नेगार, घुमेर घोरे आदि साहित्यिक रचना गरेका थिए। कराची सैनिक किल्लामा कार्यरत भएपनि उनी कलकत्ताका विभिन्न साहित्यिक पत्रिकाहरूको ग्राहक थिए जसमा प्रवासी, भारतवर्ष, भारती, मानसी, मर्मवाणी, सबुजपत्र, सौगत र बङ्गीय मुस्लिम साहित्य पत्रिका आदि समावेश छन्। यस समयमा उनीसँग रवीन्द्रनाथ ठाकुर, शरतचन्द्र चट्टोपाध्याय र फारसी कवि हाफिजका केही पुस्तकहरू रहेका थिए। यस स्रोतका अनुसार नजरुलको साहित्यिक अभ्यासको कराची यस सैन्य शिविरबाट सुरु भएको थियो। उनले प्रथम विश्वयुद्धमा एक सैनिकको रूपमा भाग लिएका थिए। त्यस समयमा नजरुलको फौज इराक जाने तरखरमा रहेको थियो तर पछि युद्ध रोकिएकाले उनी लढाईमा जानबाट जोगिएका थिए।[२३] सन् १९२० मा प्रथम विश्वयुद्ध समाप्त भएपछि उनी सैन्य जीवन त्यागेर कलकत्ता फर्किएका थिए।
पत्रकारिता
[सम्पादन गर्नुहोस्]प्रथम विश्वयुद्ध पश्चात् नजरुलल कलकत्ता फर्किँदै ३२ कलेज स्ट्रिटको बङ्गाल मुस्लिम साहित्यिक समाजको कार्यालयमा बस्न थालेका थिए। उनको साथमा यस सङ्घका एक अधिकारी मुजफ्फर अहमद पनि बसेका थिए। यहाँ बस्न थालेपछि उनको साहित्यिक-पत्रकारिता जीवनको मुख्य गतिविधिहरू सुरु भएको थियो। उनका केही प्रारम्भिक कृतिहरू मोसलेम भारत, बङ्गीय मुसलमान साहित्य पत्रिका, उपासना जस्ता पत्रिकाहरूमा प्रकाशित भएका थिए।यस मध्य उपन्यास बाँधन हारा र कविता बोधन, शात-इल-आरब, बादल प्रातेर शराब, आगमनी, खेया-परेर तरानी, कोरबानी, मोहर्रम, फातेहा-ए-दोवाज्दम केही उल्लेखनीय कृतिहरू हुन्। यस सन्दर्भमा कवि तथा समालोचक मोहितलाल मजुमदारले मोसलेम भारत पत्रिकामा प्रकाशित उनको खेया-परेर तरानी र बादल प्रातेर शराब कविताको प्रशंसा गर्दै एक महत्त्वपूर्ण निबन्ध लेखेका थिए। उक्त निबन्ध प्रकाशित भएपछि देशका प्रख्यात लेखक तथा समालोचकहरूसँग नजरुलको परिचय भएको थियो। बङ्गीय मुस्लिम साहित्य समितिको कार्यालयमा काजी मोताहार होसेन, मोजाम्मेल हक, काजी आब्दुल ओदुद, मुहम्मद शाहिदुल्लाह, अफजालुल हक र नजरुल बीच परिचय भएको थियो। तत्कालीन कलकत्ताका दुई लोकप्रिय साहित्यिक कार्यक्रमहरूमा भाग लिएका थिए जहाँ उनी अतुलप्रसाद सेन, अबनीन्द्रनाथ ठाकुर, सत्येन्द्रनाथ दत्त, प्रेमङ्कुर आतर्थी, शिशिरकुमार भादुडी, शरतचन्द्र चट्टोपाध्याय, निर्मेलन्दु लाहिडी, धुर्जटिप्रसाद मुखर्जी, हेमेन्द्रकुमार राय, दिनेन्द्रनाथ ठाकुर, चारुचन्द्र बन्दोपाध्याय, उस्ताद करमतुल्लाह खाँसँग परिचित भएका थिए। सन् १९२१ को अक्टोबर महिनामा नजरुल रवीन्द्रनाथ ठाकुरलाई भेट्नका लागि शान्तिनिकेतन गएका थिए। त्यसबेलादेखि रवीन्द्रनाथको मृत्युसम्म पनि उनीहरूबीच राम्रो सम्बन्ध कायमै रहेको थियो। नजरुलले काजी मोताहार होसेनसँग पनि विशेष मित्रताको विकास गरेका थिए।
सन् १९२० जुलाई १२ का दिनबाट नबोजुग नामक एक पत्रिका दैनिक रूपमा प्रकाशित हुन सुरु भएको थियो। असहयोग र खिलाफत आन्दोलनको परिप्रेक्षमा प्रकाशित भएको पत्रिकाका सम्पादक शेरे बाङ्ला आबुल काशेम फजलुल हकको सहायतामा मार्फत नजरुलले आफ्नो नियमित पत्रकारिताको सुरुवात गरेका थिए। सोही वर्ष उनले "मुहाजिरीन होत्तार जन्नो दायी के" नामक पत्रिकामा एउटा लेख लेखेका थिए जसका लागि उक्त पत्रिकाको जमानत कब्जा गरी उनलाई प्रहरी हिरासतमा राखिएको थियो। नजरुलले पत्रकारिता मार्फत त्यसबेलाको राजनीतिक र सामाजिक अवस्थालाई प्रत्यक्ष रूपमा चित्रण गरिदिएका थिए। त्यस्तैगरी मुजफ्फर आहमदको साथमा उनले विभिन्न राजनीतिक सभा र समितिमा सामेल भई राजनीतिमा प्रत्यक्ष अनुभव प्राप्त गर्ने अवसर प्राप्त गरेका थिए। नजरुलले कविता र सङ्गीत एकैसाथ विभिन्न साना कार्यक्रमहरू मार्फत अभ्यास गरेका थिए। यसकफ बाबजुद उनी आफैले गीत रचना सुरु गरेका भने थिएनन् यद्यपि ब्राह्मो समाजका सङ्गीतकार मोहिनी सेनगुप्ताले आफ्ना केही कविताहरू पत्रिकामा प्रकाशित गर्दै आएका थिए। जसमा हयेछे तोमार पाबो देखा, ओरे ए कोन स्नेहो-सुरधुनी नामक गीतहरू सओगात नामक पत्रिकामा बङ्गाब्दो १३२७ को वैशाखमा प्रकाशित भएका थिए।
पारिवारिक जीवन
[सम्पादन गर्नुहोस्]सन् १९२१ अप्रिल देखि जुन महिनाको बीचमा नजरुलले मुस्लिम साहित्य समितिको कार्यालयमा ग्रन्थ प्रकाशक आली अकबर खानको साथ परिचय गरेका थिए। उनको साथ नजरुल पहिलोपटक विरजासुन्दरी देवीको घरमा आएका थिए जहाँ उनी प्रमिला देवीसँथ पनि परिचित भएका थिए जोसँग उनले पछि विवहा गरेका थिए। प्रमिला देवीसँग विवहा गर्नु पूर्व नजरुलले आली अकबर खानकी बहिनी नरगिस आसार खानमसँग विवाह गरेका थिए।[२४] विवहा भैसकेपछि नजरुललाई घरज्वाँई बस्न आग्रह गरिएको थियो जुन उनले अस्वीकार गरेका थिए। विवहा सम्बन्ध तोड्नु पूर्व नजरुलले नरगिसलाई छाडेर कुमिल्ला सहरको विरजासुन्दरी देवीको घर गएका थिए। त्यससमय नजरुल अस्वस्थ भएकाले उनको ख्याल प्रमिला देवीले राखेकी थिएन् जो एक प्रकारले विवहा बन्धनमा बाँधिएका थिए। नजरुल साम्यवादका अग्रगामी थिए। यद्यपि उनी एक मुसलमान भएतापनि उनले आफ्ना ४ सन्तानहरूको नाम बङ्गाली, अरबी र फारसी भाषा अनुसार नामकरण गरेका थिए। नजरुलका ४ सन्तानहरूको नाम कृष्ण मुहाम्मद, अरिन्दम खालेद (बुलबुल), काजी सब्यसाची र काजी अनिरुद्ध थियो। [२५]
विद्रोही नजरुल
[सम्पादन गर्नुहोस्]तत्कालीन समय असहयोग आन्दोलनले देशभरी ठूलो हलचल मचाउन सुरु गरेको थियो। नजरुल त्यससयय केही बेरका लागि दौलतपुरमा आली अकबर खानको घरबाट पुनः कुमिल्ला पुगेका थिए। २१ जुनका दिन कुमिल्ला पुग्नासाथ उनी एक सक्रिय राजनीतिक कार्यकर्ताको रूपमा जुलुस र सभामा गीत गाएका थिए। यस समय उनीद्वारा रचना गरिएका गीतहरू मध्ये "ए कोन पागोल पथिक छुटे एलो बन्दिनी मार आङ्गिनाय, आजि रक्त-निशि भोरे/ एकि ए शुनि ओरे/ मुक्ति-कोलाहल बन्दी-शृङ्खले" आदि उल्लेखनीय छन्। उनी उक्त ठाउँ १७ दिन बसेपेछि उनले स्थान परिवर्तन गरेका थिए। सन् १९२१ को नोभेम्बर महिनामा उनी पुनः कुमिल्लामा आइपुगेका थिए। २१ नोभेम्बरको अखिल भारतीय हडतालमा नजरुलले सडक उत्रिएका थिए। उनले असहयोग जुलुसमा सहर वरिपरिको यात्रा गरेका थिए। नजरुलका यस समयका कविता, गीत र निबन्धहरूले विद्रोहको भावनालाई व्यक्त गर्दछन्। यसको उत्कृष्ट उदाहरण विद्रोही नामक ए कविता हो। विद्रोही कविता सन् १९२२ मा प्रकाशित भएपछि यसले भारतीय साहित्यिक समुदायमा ख्याति कमाएको थियो।
আমি বঞ্চিত ব্যথা পথবাসী চির গৃহহারা যত পথিকের,
আমি অবমানিতের মরম বেদনা, বিষ জ্বালা, চির লাঞ্ছিত বুকে গতি ফের
আমি অভিমানী চির ক্ষুব্ধ হিয়ার কাতরতা, ব্যথা সুনিবিড়,
চিত চুম্বন-চোর-কম্পন আমি থর-থর-থর প্রথম প্রকাশ কুমারীর!
আমি গোপন প্রিয়ার চকিত চাহনি, ছল করে দেখা অনুখন,
আমি চপল মেয়ের ভালবাসা তার কাকন চুড়ির কন-কন।
...
মহা-বিদ্রোহী রণক্লান্ত
আমি সেই দিন হব শান্ত।
যবে উৎপীড়িতের ক্রন্দন-রোল আকাশে-বাতাসে ধ্বনিবে না,
অত্যাচারীর খড়ুগ কৃপাণ ভীম রণ, ভূমে রণিবে না-
বিদ্রোহী রণক্লান্ত
আমি সেই দিন হব শান্ত।
..........................
আমি চির বিদ্রোহী বীর –
বিশ্ব ছাড়ায়ে উঠিয়াছি একা চির উন্নত শির!
अस्वस्थता
[सम्पादन गर्नुहोस्]नबोजुग नामक एक पत्रिका मार्फत पत्रकारिता गरिरहेका नजरुलले त्यसको साथसाथै रेडियोहरूमा पनि काम गर्ने गरेका थिए। सन् १९४२ मा उनी अस्वस्थ बनेका थिए जसकारण उनको बोली हराएको थियो। सोही वर्षको जुलाई महिनामा उनी एक गम्भीर रोगबाट ग्रसित हुन पुगेको कुराको पुष्टि भएको थियो। त्यसपछि उनलाई होमियोप्याथी र आयुर्वैदिक चिकित्सक पद्धति मार्फत उपचार गरिएको भएतापनि उनको स्वस्थ्यमा कुनै प्रकारको सुधार देखिएको थिएन। त्यससमय यदि उनलाई उपचारका लागि युरोप पठाइएको भए उनको न्युरो सर्जरी गरिन्थ्यो तर द्वितीय विश्वयुद्धले गर्दा उनलाई युरोप पठाउन असम्भव बनेको थियो। सन् १९४२ को अन्त्यतिर उनले मानसिक सन्तुलन पनि गुमाएका थिए। त्यससयम नजरुलको परिवारले भारतमा एकान्तमा समय बिताइरहेका थिए। सन् १९५२ सम्म पनि उनी एकान्तमै रहेका थिए भने सोही वर्ष कवि र उनकी श्रीमतीलाई राँचीको मानसिक अस्पताल पठाइएको थियो। यस पहलमा प्रमुख भूमिका तत्कालीन प्रख्यात भारतीय राजनीतिज्ञ श्यामाप्रसाद मुखर्जीको सहयोगमा नजरुल मेडिकल समिति नामक नजरुललाई निको पार्ने एक संस्था खेलिएको थियो। कविले पछिका चार महिनाहरू भारतको राँचीमा बिताएका थिए।
त्यसपछि सन् १९५३ को मे महिनामा नजरुल र प्रमीला देवीलाई नजरुलको थप उपचारका लागि लन्डन पठाइएको थियो। १० मे का दिन नजरुलले प्रमीला देवीले लन्डनका लागि रेल्वे स्टेसन छाडेका थिए। उनी लन्डन पुगेपछि विभिन्न प्रख्यात चिकित्सका विशेषज्ञहरूले नजरुलको रोग पत्ता लागाउन भरपुर मेहनत गरेका थिए भने उनको उपचारमा रसेल ब्रेइन, विलियम सेजियन्ट र म्याककिस्कले नजरुलसँग तीनपटक भेट गरेका थिए। नजरुलको उपचार गरेबापत त्यससमय चिकित्सकहरूलाई २५० पाउन्ड पारिश्रमिक दिइएको थियो। नजरुलको उपचारमा खटिएका चिकित्सक रसेल ब्रेइनका अनुसार नजरुलको रोग निको नहुने भनिएको थियो। नजरुलको उपचारमा खटिएको एक समूहले नजरुल अनैच्छिक साइकोसिस नामक रोगबाट ग्रसित बनेको पत्ता लागाएको थियो। यसका साथै कलकत्तामा बस्ने भारतीय चिकित्सकहरूले पनि छुट्टै चिकित्सक समूह गठन गरेका थिए। दुवै समूह सहमतीका अनुसार रोगको सुरुवाती चरणको उपचार एकदम कठिन रहेको कुरा सार्वजनिक गरिएको थियो। नजरुलको कबिर एअर एन्सेफ्लोग्राफी नामक एक्स-रे लन्डनको लन्डन क्लिनिकमा सम्पन्न भएको थियो जसले नजरुलको मस्तिष्कको फ्रन्टल लोब सङ्कुचित भएको देखाएको थियो। चिकित्सक म्याककिस्क जस्ता अन्य चिकित्सकहरूले यसलाई म्याककिस्क अपरेसन भन्ने प्रक्रिया लागू गर्न उचित ठानेतापनि चिकित्सक ब्रेइनले यसको विरोध गरेका थिए।
यस समयमा नजरुलको मेडिकल प्रतिवेदन भियनाका प्रसिद्ध चिकित्सकहरूलाई पठाइएको थियो भने यसलाई युरोपमा अन्य महत्वपूर्ण स्थानहरूमा पनि पठाइएको थियो। जर्मनीको वन विश्वविद्यालयका न्युरोसर्जन प्रोफेसर रोएन्टेन म्याकिस्कले उक्त अपरेसनको विरोध गरेका थिए।भियनाका अन्य चिकित्सकहरूले पनि यस अपरेसनलाई लिएर आपत्ति जनाएका थिए। कविका शुभचिन्तकहरूको निर्णय अनुसार उनलाई भियनाका चिकित्सक ह्यान्स हफको निरीक्षणमा भर्ना गरिएको थियो जो नोबेल पुरस्कार विजेता चिकित्सक जुलियस वेगनर-जाउरेगेरको एक विद्यार्थी थिए। कविको सन् १९५३ डिसेम्बर ९ का दिन पुनः परिक्षण गरिएको थियो। परीक्षणको प्रतिवेदन आएपछि कवि पिक्स रोग नामक एक स्नायु सम्बन्धित रोगबाट ग्रसित बनेको कुरा चिकित्सक हफले सार्वजनिक गरेका थिए। यस रोगबाट प्रभावित व्यक्तिहरूको दिमागको अगाडिको र पछाडिको भाग सङ्कुचित हुन्छन्। उनका अनुसार कविलाई उनको वर्तमान अवस्थाबाट निको पार्नु असम्भव रहेको कुरा उनले बयानमा भनेका थिए। सन् १९५३ डिसेम्बर २७ का दिन कलकत्ताको दैनिक जुगान्तोर नामक एक पत्रिकाले भियनामा नजरुल नामक एक लेख प्रकाशित गरेको थियो जसका लेखक अशोक बागची थिए जो उनी उच्च शिक्षाका लागि भियनामा रहेका थिए। बेलायती चिकित्सकहरूले नजरुलको उपचारको लागि ठूलो शुल्कको माग गरेका थिए युरोपका अन्य भागमा कुनै चिकित्सकको शुल्क माग गरेका थिएनन्। त्यसलगत्तै नजरुल युरोपबाट देश फर्किएका थिए। त्यसको लगत्तै पश्चिम बङ्गालका मुख्यमन्त्री विधानचन्द्र राय भियना प्रस्थान गर्दै चिकित्सक हफसँग विस्तृत छलफल गरेका थिए। नजरुलसँग युरोप गएका सबै जना सन् १९६३ डिसेम्बर १४ का दिन रोमबाट देश फर्किएका थिए। [२६]
बङ्गलादेशमा आगमन
[सम्पादन गर्नुहोस्]सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा बङ्गलादेशको जित पश्चात् एक नयाँ राष्ट्रको रूपमा बङ्गलादेशको उदय भएको थियो। सन् १९७२ मे २४ का दिन भारत सरकारको अनुमतिमा काजी नजरुल इसलाम आफ्नो स परिवार सहित बङ्गलादेश गएका थिए। बङ्गलादेशका तत्कालीन राष्ट्रपति शेख मुजिबुर रहमानले यस सम्बन्धमा विशेष पहल गरेका थिए। कविले बाँकी जीवन बङ्गलादेशमा विताएका थिए। सन् १९७६ मा नजरुललाई स्वतन्त्र बङ्गलादेशको नागरिकता प्रदान गर्न आधिकारिक आदेश जारी गरिएको थियो। त्यसपश्चात् पर्याप्त उपचारको बाबजुद पनि नजरुलको स्वास्थ्यमा सुधार आएको थिएन। सन् १९७४ मा कविका सबैधन्दा कान्छा छोरा काजी अनिरुद्धको मृत्यु भएको थियो। आफ्नो जीवनको अन्तिम क्षणहरू ढाकाको पिजी अस्पतालमा बिताइरहेका कजरुलको सन् १९७६ अगस्ट २९ का दिन सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
नजरुलले आफ्नो एउटा गीतमा, "मलाई मस्जिदको छेउमा गाडिदेऊ, भाइ ताकि म मुइजिनको आवाज सुन्न सकूँ" भनि एक गीतको रचना गरेका थिए। कविको यस इच्छालाई ध्यानमा राख्दै ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदको छेउमा कविको इस्लामी संस्कार अनुसार गाड्ने निर्णय गरी सोही अनुसार उनको चिहान निर्माण गरिएको थियो। कविको मृत्यु पश्चात् १० हजार भन्दा बढी व्यक्तिले उसको जानाजामा भाग लिएका थिए। जानाजाको प्रार्थनापछि राष्ट्रपति आबु सादात मोहाम्मद साइम, सेनापति जियाउर रहमान, रियल एडमिरल एमएच खान, मार्सल एजी माहमुद, सेनापति दस्तगीरले नजरुलको शव सोहारावार्दी मैदानबाट विश्वविद्यालयको मस्जिद परिसरमा लगिएको थियो। [२७]बङ्गलादेशमा उनको मृत्यु पछिका दुई दिनसम्म पनि शोक व्यक्त गरिएको थियो भने भारतीय संसदमा कविको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो।
साहित्यकर्म
[सम्पादन गर्नुहोस्]कविता
[सम्पादन गर्नुहोस्]सन् १९२१ को डिसेम्बर महिनामा कुमिल्लाबाट कलकत्ता फर्किँदै गर्दा नजरुलले दुई क्रान्तिकारी साहित्यकर्मलाई जन्म दिएका थिए। यी दुई साहित्यकार्यहरू "विद्रोही" नामक एक कविता र "भाङेर गान" नामक एक गीत थियो जसले बङ्गाली कविता र गीतको विधालाई पूर्ण रूपमा परिवर्तन गरेको थियो। विद्रोही कविताबाट नजरुलले सबैभन्दा अधिक लोकप्रियता आर्जन गर्न सफल भएका थिए। तत्कालीन समय लेखिएको अर्को प्रसिद्ध कविता कामाल पाशा थियो जसले भारतीय मुसलमानहरूको खिलाफत आन्दोलनको निरर्थकता माथि नजरुलको विचारहरूलाई प्रकट गर्दछ भने यसले समकालीन अन्तर्राष्ट्रिय इतिहास-चेतनाको परिचय दिन्छ। सन् १९२२ मा नजरुलले अग्निवीना नामक एक कविता सङ्ग्रह प्रकाशन गरेका थिए। यो काव्यग्रन्थले बङ्गाली कवितामा एक नवीनता सृजना गर्न सक्षम भएको थियो भने यसको मार्फतबाट बङ्गाली कविताको पुरै जगतै परिवर्तन भएको थियो। प्रकाशनको साथसाथै यसको प्रथम संस्करण समाप्त भएको थियो। पछि अन्य थुप्रै नयाँ संस्करणहरू क्रमिक रूपमा प्रकाशन गरिएको थियो।
यस कविता सङ्ग्रहका सबैभन्दा उल्लेखनीय कविताहरू: "प्रलयोल्लास, अगामणि, खेयापारेर तरनी, शात-उल-आरब, विद्रोही, कामाल पाशा" आदि हुन्। यी कविताहरूले बङ्गाली कविताको मोडलाई परिवर्तन गरेको थियो। नजरुलले काली देविका लागि श्यामा सङ्गीतहरूको पनि रचना गर्ने गरेका थिए भने उनले इस्लामी गजलहरूको पनि रचना गरेका थिए।
পূজিছে গ্রন্থ ভণ্ডের দল মূর্খরা সব শোন/ মানুষ এনেছে গ্রন্থ, গ্রন্থ আনেনি মানুষ কোন
सङ्गीत
[सम्पादन गर्नुहोस्]नजरुलको गीतहरूको सङ्ख्या ४ हजारभन्दा बढी छन्। नजरुलद्वार रचित गीतहरू नजरुल सङ्गीतका नामले परिचित छन्। सन् १९३८ मा काजी नजरुल इसलाम कलकत्ता स्थित कलकत्ता रेडियो केन्द्रको साथ आधिकारिक रूपमा सामेल भएका थिए जहाँ उनले "हारामनि", "नबरागमालिका" र "गीतिविचित्रा" नामक तीन कार्यक्रमहरूका लागि थुप्रै गीतहरूको रचना गर्नु परेको थियो। कार्यक्रम "हरमनि" कलकत्ता रेडियो स्टेसनबाट महिनामा एक पटक प्रसारित गरिने व्यवस्था मिलाइएको थियो जहाँ उनले कम परिचित र लगभग विलुप्त रागहरूको साथ गीतहरू गाउने गरेका थिए। उल्लेखनीय रूपमा नजरुलले कार्यक्रमको सुरुवातमा एक लुप्तप्राय रागको माधुर्यमा स्वत लिखित गीतहरू गाउने गरेका थिए। यस्तै कार्यहरूमा संलग्न भएका नजरुलले नवाब आली चौधुरीको रचना 'म आरिफुन नागमतो' र फारसी भाषामा लेखिएका आमीर खसरूको विभिन्न पुस्तकहरू पढ्ने गरेका थिए यी पुस्तकहरूको सहायतामा उनले विभिन्न प्रकारको रागहरूमा दक्षता हासिल गर्न सफल भएका थिए। यी हराएका रागहरूमा उनले लगभग ४० भन्दा बढी गीतहरूको रचना गरेका थिए। नजरुलले सबै गीतहरूलाई कागजमा लेख्ने गरेका थिए भने भारतको मासिक सङ्गीत विभागका कार्यवाहक सम्पादक जगत घटकले यी सबै लिखित गीतहरूलाई ठूलो ढड्डामा बाँधेर राख्ने गरेका थिए। पछि नजरुलद्वारा रचित गीतहरूको ढड्डा हराएको थियो जुन बङ्गाली सङ्गीतका लागि निकै दुर्भाग्य घटना बनेको थियो। हराएको ढड्डालाई खोज्नका लागि विभिन्न पत्रपत्रिकाहरूमा समाचार प्रकाशन गरिएतापनि उक्त ढड्डा फेला परेको थिएन। [२८]
गद्य, निबन्ध, कथा तथा उपन्यासहरू
[सम्पादन गर्नुहोस्]नजरुलको पहिलो गद्य रचना बाउन्डुलेर आल्मकाहिनी हो। सन् १९१९ को मे महिनामा यो गद्यलाई सओगात पत्रिका मार्फत सार्वजनिक गरिएको थियो। उनले यस गद्य कराची सेनानिवासमा बसिरहेको बेला रचना गरेका थिए जब उनी एक सिपाही थिए भने यस गद्यका साथ नजरुलको साहित्यिक जीवन सुरु भएको थियो। उनले उक्त सेनानिवसामा बसिरहेका बेला अन्य थुप्रै कथाहरू लेखेका छन् जसमध्ये हेना, व्याथार दान, मेहेर नेगार, घुमेर घोरे आदि केही उल्लेखनीय कथाहरू हुन्। सन् १९२२ मा नजरुलद्वारा लेखिएका कथाहरूलाई कथा सङ्ग्रहको रूपमा सार्वजनिक गरिएका थिए भने उक्त कथा सङ्ग्रहको नाम व्याथार दान राखिएको थियो र सोही वर्ष उनका निबन्ध सङ्ग्रहहरूको पनि प्रकाशन गरिएको थियो।
चलचित्र
[सम्पादन गर्नुहोस्]नजरुलले ‘धूपछाया’ नामक एक चलचित्रको निर्देशन गरेका थिए भने उक्त चलचित्रमा नजरुलले पनि एक भूमिका निर्वाह गरेका लिए। सन् १९३१ मा निर्माण गरिएको बङ्गला भाषाको छोटो चलचित्र ‘जामाई षष्ठीा’ र शरतचन्द्र चट्६पाध्यायको कहानीमा निर्माण गरिएको ‘गृहदारा’ चलचित्रमा नजरुलले गीतको रचना गरेका थिए। सन् १९३५ मा सार्वजनिक गरिएको ‘पातालपुरी’ चलचित्र र रवीन्द्रनाथ ठाकुरको एक उपन्यासको आधारमा निर्माण गरिएको गोरा चलचित्रका सङ्गीत निर्देशक नजरुल इसलाम थिए भने सन् १९३९ मा सार्वजनिक गरिएको सापुडे’ चलचित्रका पटकथा लेखक तथा सङ्गीतकार पनि नजरुल इसलाम थिए। नजरुलले ‘रजत जयन्ती’, ‘नन्दिनी’, ‘अभिनय’, ‘दिकशूल’ जस्ता चलचित्रहरुमा समावेश गीतका गीतकार नजरुल थिए भने ‘चौरङ्गी’ नामक एक हिन्दी भाषाको चलचित्रका गीतकार तथा रचनाकार पनि नजरुल थिए। चौरङ्गी एक हिन्दी भाषाको चलचित्र भएतापनि नजरुलले यस चलचित्रमा समावेश ७ गीतहरुको रचना गरेका थिए। [२९][३०]
राजनैतिक दर्शन
[सम्पादन गर्नुहोस्]आफ्नो सैन्य कार्यजीवन त्याग गर्दै नजरुल बङ्गाल मुस्लिम साहित्यिक समाजको कार्यालयमा मुजफ्फर आहमेदसँग बस्दै आएका थिए। मुजफ्फर आहमेद देशमा समाजवादी आन्दोलनका अग्रगामी थिए।यहाँबाट नजरुलको राजनैतिक चेतना विकास हुन भएको थियो। नजरुलले मुजफ्फर आहमेदसँग विभिन्न राजनैतिक सभा र व्याख्यानमा भाग लिने गरेका थिए। यस समयदेखि उनी समाजवादी विचारधारासँग परिचित भएका थिए। सन् १९१७ को रूसी समाजवादी क्रान्तिले उनलाई निकै प्रभावित बनाएको थियो। पछि उनले आफ्नो लाङ्गाल र गणवाणी पत्रिकाहरूमा कम्युनिस्ट र सर्वहारा कविताहरूको सङ्ग्रह प्रकाशित गरेका थिए। सोही समय उनले कम्युनिस्ट अन्तर्राष्ट्रियको अनुवाद जग अनशन बन्दी ओठ रे जतोको अनुवाद प्रकाशन गरेका थिए।
त्यसबेला महात्मा गान्धीको नेतृत्वमा असहयोग आन्दोलन र मओलाना मुहाम्मद आली र शओकत आलीको नेतृत्वमा खिलाफत आन्दोलन गरिएको थियो जसको मुख्य उद्देश्य बेलायतीहरूलाई भारतबाट शान्तिपूर्ण रूपमा वितरण गर्नु थियो। एकीकृत सुलतानी शासन प्रणालीको प्रमुख तुर्कीका सुल्तानलाई लगभग सबै मुसलमानहरूले खलिफाको रूपमा लिने गरेकाले खिलाफत आन्दोलनको मुख्य उद्देश्य तुर्की मध्ययुगीन सामन्ती व्यवस्थालाई स्थायी बनाउनु रहेको थियो। नजरुल यी दुई आन्दोलनको विचारधारामा विश्वासी थिएनन। उनी सशस्त्र क्रान्तिमार्फत स्वतन्त्रता प्राप्त गर्नमा विश्वास गर्दथे जुन महात्मा गान्धीको दर्शनको विपरित हो। पुनः मोस्तफा कामाल पाशाको नेतृत्वमा रहेको तुर्की सलतनतको पतनबाट नजरुलले नयाँ तुर्की निर्माणको आन्दोलनलाई समर्थन गरेका थिए। पछि उनी असहयोग र खिलाफत आन्दोलनमा सामेल हुन पुगेका थिए। यस कारणले यी सङ्घर्षहरूलाई साम्राज्यवादको विरुद्ध दुई भारतीय हिन्दु र मुसलमानहरूको संयुक्त सङ्घर्षको अभिन्न अङ्गका रूपमा लिइन्थ्यो।
सबै तिरबाट नजरुल राज्य ध्यानको अवधारणामा कामाल पाशाबाट सबैभन्दा बढी प्रभावित बनेका थिए।तुर्कीका मुसलमानहरूले उनीहरूको देशमा के गर्न सक्छन् तर भारतीय उपमहाद्वीपमा यो किन सम्भव नहुने भनेर नजरुल चिन्तित भएका थिए। कट्टरपन्थी, रुढीबादी र अन्धविश्वासका विषयहरूमा नजरुल निकै कठोर थिए भने उनको यस अडान पछिको महत्त्वपूर्ण व्यक्ति कामाल पाशा थिए। नजरुलले आफ्नो विद्रोही जीवनको भूमिका निभाउने भरपुर कोशिश गरेका थिए। सन् १९१७ को रूसी समाजवादी क्रान्तिबाट नजरुल प्रभावित थिए। उनी यस समूहको सदस्य नबनेतापनि कमरेड मुजफ्फर उनको सबैभन्दा मिल्ने साथी थिए।
नजरुलले सन् १९२० को दशकमा राष्ट्रिय परिषद्को निर्वाचनमा भाग लिने प्रयास गरेका थिए। उनी काङ्ग्रेसमा समर्थन प्राप्त गर्नका लागि पहिलोपटक कलकत्ता गएका थिए तर काङ्ग्रेसबाट खासै प्रतिक्रिया नपाएपछि उनले एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेका थिए भने उनले निर्वाचनमा सोचेजस्तो प्राप्त गर्न असमर्थ भएका थिए। उनका राजनीतिक विचारहरू साहित्यका माध्यमबाट अभिव्यक्त हुने गरेतापनि राजनीतिमा उनको सक्रिय सहभागिता घटेको भने थिएन।[३१]
सम्मान
[सम्पादन गर्नुहोस्]भारत
[सम्पादन गर्नुहोस्]भारतको पश्चिम बङ्गाल राज्यको चुरुलियामा "नजरुल एकेडेमी" नामक एक गैरसरकारी नजरुल-चर्चा केन्द्र रहेको छ। सन् २०१२ मा चुरुलियाको आसानसोल महानगरमा काजी नजरुल विश्वविद्यालयको स्थापना गरिएको थियो।[३२][३३] आसानसोलको नजिक रहेको दुर्गापुर महानगर स्थित लागोया अन्तर्राष्ट्रिय विमानस्थलको नाम इसलामको नामका अनुसार परिवर्तन गरी काजी नजरुल इसलाम अन्तर्राष्ट्रिय विमानस्थल राखिएको थियो। उत्तर २४ परगना जिल्लामा अवस्थित नेताजी सुवासचन्द्र बसु अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानी कलकत्ता जोड्ने प्रधान सडक खण्डको नाम इसलामको नाम अनुसार काजी नजरुल इसलाम सडक खण्ड राखिएको थियो।[३४] कलकत्ताको गडिया बजारमा रहेको रेल्वे स्टेसनको नाम कवि नजरुल राखिएको छ। सन् १९४५ मा नजरुललाई कलकत्ता विश्वविद्यालय बङ्गाली साहित्यको सर्वोच्च पुरस्कार जगत्तारिणी स्वर्ण पदकबाट सम्मानित गरेको थियो। सन् १९६० मा उनलाई भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषणबाट सम्मानित गरिएको थियो।[३५]
बङ्गलादेश
[सम्पादन गर्नुहोस्]काजी नजरुल इसलामलाई बङ्गलादेशको राष्ट्रकविको दर्जा दिइएको थियो। उनको रचना "चल चल चल" गीतलाई बङ्गलादेशको रणसङ्गीतको रूपमा ग्रहण गरिएको छ। नजरुलको जन्म र मृत्युका दिन प्रत्येक वर्ष विशेष कार्यक्रम गरी उनलाई सम्मान व्यक्त गरिन्छ। सन् २००५ मा नजरुलको स्मृतिमा मयमनसिङ्ह जिल्लाको त्रिशालमा जातीयो कोवि काजी नजरुल इसलाम विश्वविद्यालयको नामक एक सरकारी विश्वविद्यालयको स्थापना गरिएको थियोे। नजरुल एकेडेमी, बुलबुल ललित कला एकेडेमी र बाल सङ्गठन राजधानी ढाकामा कविको स्मृतिमा स्थापना गरिएको थियो। यसबाहेक नजरुल सङ्घ नामक एक सरकारी संस्थाको पनि स्थापित गरिएको थियो। ढाका सहरको मुख्य सडकलाई काजी नजरुल इसलाम एभिन्यु नाम दिइएको छ।[३६][३७]
बङ्गाली साहित्य र संस्कृतिमा नजरुलको विशेष योगदानको सम्मानमा ढाका विश्वविद्यालयले उनलाई सन् १९७४ डिसेम्बर ९ का दिन डि.लिटको उपाधिका साथ सम्मान गरिएको थियो भने उक्त उपाधिलाई विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रदान गरिएको थियो। सन् १९७६ जनवरीमा बङ्गलादेश सरकारले उनलाई बङ्गलादेशको नागरिकत्व प्रदान गरेको थियो। सोही वर्ष २१ फेब्रुअरीका दिन उनलाई एकुशे पदकबाट सम्मानित गरिएको थियो जुन बङ्गलादेशको सबैभन्दा सम्मानित पदक मानिन्छ।[२३]
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]-
नजरुल नजरुलगीति सिकाउँदै।
-
बङ्गलादेश चलचित्र विकास सङ्घमा अवस्थित नजरुलको स्मारक।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Langley, Winston (२००७)। "Kazi Nazrul Islam: The Voice of Poetry and the Struggle for Human Wholeness" (अङ्ग्रेजी भाषा)। Nazrul Institute।
- ↑ Talukdar, Rezaul Karim (१९९४)। "Nazrul, the Gift of the Century" (अङ्ग्रेजी भाषा)। Manan। पृष्ठ ১২১।
- ↑ আমিন, এস. এন. (१ जनवरी १९९६)। "ঔপনিবেশিক বাংলার মুসলিম নারীদের বিশ্ব, ১৮৭৬-১৯৩৯"। ব্রিল পাবলিশার। पृष्ठ ১৫৯।
- ↑ "নজরুলের মানবতাবাদী দর্শন"। ঢাকা কুরিয়ার (ইংরেজি भाषा)। মাহমুদুল হাসান হিমেল। २८ मे २०१५। सङ्ग्रह मिति २० नोभेम्बर २०१६।
- ↑ মিত্র, প্রীতি কুমার (२००९)। "The Dissent of Nazrul Islam"। দিল্লি: অক্সফোর্ড ইউনিভার্সিটি প্রেস। पृष्ठ ১১০।
- ↑ Bhattacharya, Ashutosh (१९७७), Bangiya Lok-Sangeet Ratnakar, Vol. 4 (An Encyclopaedia of Bengali Folk-song), Calcutta: A. Mukherjee & Co. Pvt. Ltd., पृ: १८०२, "পশ্চিম বাংলার এক শ্রেণীর জনপ্রিয় লোক-সঙ্গীত লেটো গান, ইহাকে লাটু গান, লোট্যার গানও বলে৷"
- ↑ "Influence of Nazrul's soldier life on his works", New Age (अङ्ग्रेजीमा), २६ अगस्ट २०१७, मूलबाट ४ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१८।
- ↑ Alam, Abu Yusuf (२००५), Muslims and Bengal Politics (1912–24) (अङ्ग्रेजीमा), Raktakarabee, पृ: 256।
- ↑ Hāldār, Gopāl (१९७३), Kazi Nazrul Islam (अङ्ग्रेजीमा), Sahitya Akademi, पृ: 41।
- ↑ Kazi, Ankan (१४ जुन २०१७), "Diminishing A Poet", The Indian Express, अन्तिम पहुँच २८ जुन २०१८।
- ↑ Hussain, Azfar, "Rereading Kazi Nazrul Islam" (Video lecture), अन्तिम पहुँच १५ जुलाई २०१६।
- ↑ Ali, Sarwat (२१ सेप्टेम्बर २०१४), "A taste of Bengal", The News International, The News on Sunday, मूलबाट २८ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण २८ जुन २०१८ मिति
- ↑ Islam, Mohammad Shafiqul (२५ मे २००७), "Nazrul: An ardent lover of humanity", The Daily Star, मूलबाट ४ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१८, "उनी आफ्नो गीतहरूका लागि परिचित थिए भने उनले बङ्गाली गजलको सुरुवात गरेका थिए।" वेब्याक मेसिन अभिलेखिकरण ४ फेब्रुअरी २०१८ मिति
- ↑ Shams, Ahmed Tahsin (२४ मे २०१८), "The rebel icon of Bengal: Kazi Nazrul Islam", The Bangladesh Post, मूलबाट २८ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०१७। वेब्याक मेसिन अभिलेखिकरण २८ मे २०१८ मिति
- ↑ Rashid, Md Mumit Al; Nur, Tanjina Binte (२४ नोभेम्बर २०१७), "Persian Words Used in Kazi Nazrul Islam's Poetry", Language Art 2 (4): 117–128, आइएसएसएन 2538-2713, डिओआई:10.22046/LA.2017.23।
- ↑ Ahmed, Dr. Forqan Uddin (२७ अगस्ट २०१८), "Kazi Nazrul Islam : Classic and romantic", The New Nation, अन्तिम पहुँच २०२०-०५-२५। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-३० मिति
- ↑ होसेन, कुजी मोताहार (२०००), "काजी नजरुल इसलाम", in मुहम्मद नुरुल हुडा, नजरुल, ढाका: नजरुल संस्थान, पृ: ५५, आइएसबिएन 978-984-555-167-0।
- ↑ Farooq, Mohammad Omar, "Kazi Nazrul Islam: Illness and Treatment", nazrul.org, मूलबाट २९ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०१६।
- ↑ Farooq, Dr. Mohammad Omar (२००७-०३-१०)। "Nazrul's Illness and Treatment"। Nazrul.org (March 2007)। सङ्ग्रह मिति २०१५-०५-२९।
- ↑ २०.० २०.१ २०.२ २०.३ २०.४ রফিকুল ইসলাম (१० जनवरी २००३)। সিরাজুল ইসলাম, सम्पादक। "ইসলাম,_কাজী_নজরুল" (बङ्गाली भाषा) (অনলাইন संस्करण)। এশিয়াটিক সোসাইটি বাংলাদেশ। सङ्ग्रह मिति १३ जुलाई २०१५।
- ↑ চৌধুরী, দিলিপ (२००६-०९-२२)। "Nazrul Islam: The unparalleled lyricist and composer of Bengal"। প্রেস ইনফরমেশন ব্যুরো, ভারত সরকার। सङ्ग्रह मिति २००६-०९-२२।
- ↑ কাজী নজরুল ইসলাম (১৮৯৯-১৯৭৬) - রফিকুল ইসলাম; কলকাতার সাহিত্যম্ প্রকাশনী থেকে প্রকাশিত নজরুল শ্রেষ্ঠ সংকলনে এই প্রবন্ধটি সংযুক্ত আছে।
- ↑ २३.० २३.१ "Nazrul's death anniversary today"। দ্য ডেইলি স্টার (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ५ मार्च २०१६।
- ↑ নজরুল জীবনে নারী ও প্রেম; ড. আবুল আজাদ
- ↑ হুদা, মোহাম্মদ নুরুল (२०००)। মোহাম্মদ নুরুল হুদা, सम्पादक। "নজরুল: একটি মূল্যায়ন"। ঢাকা: নজরুল ইনস্টিটিউট। पृष्ठ ৩০৬-৩০৭।
- ↑ ১. মুজাফফর আহমদ, কাজী নজরুল ইসলাম স্মৃতিকথা [কলকাতা, ভারত: ন্যাশনাল বুক এজেন্সি, ১০ম মুদ্রণ, ১৯৯৮] ২. রফিকুল ইসলাম, নজরুল জীবনী [বাংলা বিভাগ, ঢাকা বিশ্ববিদ্যালয়, মে ১৯৭২]; ৩. সুশীলকুমার গুপ্ত, নজরুল চরিত-মানুষ [কলকাতা, ভারত: ডে'স পাবলিশিং, ১৯৯০]
- ↑ ঢাকা বিশ্ববিদ্যালয়ের ৮০ বছর, রফিকুল ইসলাম (অধ্যাপক); পৃষ্ঠা: ২৭১
- ↑ দাস, অভিজিৎ (नोभेम्बर २०१८)। "নজরুলের হারামণি"। শিক্ষা পাতা।
- ↑ যুগান্তর, ২৩ মে ২০১৯
- ↑ মানব জমিন, ২৫ মে ২০১৯
- ↑ "::: Star Weekend Magazine :::"। www.thedailystar.net।
- ↑ "বিরোধীদের ওয়াকআউটের মধ্যে বেসরকারী শিক্ষা বিল পাস" (अङ्ग्रेजी भाषा)। দ্য স্টেটসম্যান। ६ जुलाई २०१२। सङ्ग्रह मिति ७ जुलाई २०१२।
- ↑ "Bill passed to set up private varsity" (अङ्ग्रेजी भाषा)। এশিয়ান এজ। ७ जुलाई २०१२। सङ्ग्रह मिति ७ जुलाई २०१२।
- ↑ "মমতা নতুন বিমানবন্দরের নাম হিসেবে কাজী নজরুল ইসলাম আন্তর্জাতিক বিমানবন্দর করার প্রস্তাব করেন"। টাইমস অব ইন্ডিয়া। २०१३-०५-२५। सङ्ग्रह मिति २०१३-०९-२०।
- ↑ কামাল, সাজীদ (२०००)। মোহাম্মদ নুরুল হুদা, सम्पादक। "নজরুল: একটি মূল্যায়ন"। নজরুল ইনস্টিটিউট। पृष्ठ ३२६।
- ↑ "Nazrul . . . in the eyes of Benoykumar"। The Daily Star। सङ्ग्रह मिति २६ फेब्रुअरी २०१६।
- ↑ "Kazi Nazrul Islam: Rebel and Lover"। Kazi Nazrul Islam: Rebel and Lover। सङ्ग्रह मिति २७ फेब्रुअरी २०१६।