मल्ल
मल्ल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ऐतिहासिक कालमा कुस्तीयुद्द लाई मल्ल युद्ध भनिन्थ्यो । मल्ल युद्ध गरेर राज्य जित्नेहरु मल्ल राजा बने । मल्ल राजाका सूर्यवंशी /रघुवंशी भनेर लेखिएका अभिलेख भेटिन्छन । प्राचीन जछ्देव मल्ल को अभिलेख सुर्खेतमा भेटिएको छ । काठमाडौँ को भक्तपुर, ललितपुर र काठमाडौँ मा राज्य गर्ने मल्ल राजा प्राचीन काल खण्डमा चर्चित थिए । जुम्ला सिंजा का मल्ल राजाहरू आफ्नो राज्यकालमा शक्तिशाली राजा थिए । सिम्रौनगढका कर्णाटवंशीले नेपाल मण्डलमा राज्य गरेको इतिहास छ । पछि पृथ्वीनारायण शाहले नेपालको एकीकरण पछि उपत्यका मा रहेका मल्ल जाति नेवार जाति मा सम्मीलित भए । जुम्ला सिंजाबाट डोटी आएपछि यी मल्ल राजा डोटी आएको केहि कालखण्ड को अन्तमा शाही थर का बनेका थिए । डोटी पचनाली र बझांग का मल्ल जुम्लाबाट डोटी आएका चल्ल/मल्ल राजाका वंशज हुन् । डडेलधुरा पस्से गर्खाका चम्साली मल्ल र डोटी धुरकोटका मल्लहरु एकै वंशज हुन । यी मात्रै नभएर भिभिन्न कुल खान्दानकाहरूले पनि मल्ल लेखेको देखिएको र सुनिएको छ ।
देखिएका र जानिएका फरक-फरक कुल खान्दानका मल्ल
[सम्पादन गर्नुहोस्]- १) मानव/मानव्य गोत्रीय नेवार मल्ल काठमाडौँ, भक्तपुर, ललितपुर, किर्तिपुरमा बस्छन |
- शौनक गोत्रीय मल्ल डोटी डडेल्धुरा र बझांगमा क्षेत्रमा बस्छन ।
- २) अत्रि गोत्रीय पौडेल/पोउडि मल्ल हरु कर्णाली, बागलुङ, प्युठान क्षेत्रमा बस्छन ।
- ३) कश्यप गोत्रीय मल्लहरु गण्डकी गुल्मी क्षेत्रमा बस्छन |
- ४) वैश्य जातिबाट मल्ल लेख्नेहरू देशका विभिन्न स्थानहरूमा बस्छन ।
खोज अनुसन्धान अनुसार तालिकामा राखेर विश्लेषण गर्दा
पुर्खा | थर | गोत्र | भन्नेगरेको वंश | कुलदेवता | बसोबास | बैबाहिक सम्बन्ध | सामाजिक मान्यता पुष्टिको आधार | |
---|---|---|---|---|---|---|---|---|
मल्ल र कर्णाट | मल्ल, प्रधानांग, प्रधान | मानव/मानव्य | सूर्यवंशी | तलेजु भवानी, दुमाजु भवानी | काठमाडौँ भक्तपुर ललितपुर | नेवार थकुजुजु र छथरी/क्षत्रीय श्रेष्ठ - जोशी, कर्माचार्य, राजभण्डारी, रघुवंशी, राजवंशी, पात्रवंशी, हाडा-चौहान, अमात्य, मास्के, राजवैद्य, कायस्थ, राठौर र अन्य छथरी कूल | थकुजुजु (ठाकुरराजा), थकुलानी (ठाकुररानी) | |
चल्ल | मल्ल | शौनक | सूर्यवंशी | मष्टो (टेडी, कैलाश, भुमिदेउली, जठे -----) | डोटी, बझांग | ठकुरीजाति पाल, चन्द, बम, शाह, सिंह----- | ठकुरी /सम्बन्धित समाज बाट | |
पाल | मल्ल | शौनक | सूर्यवंशी | मोहन्याल, कैलपाल | डोटी, डडेल्धुरा र कैलाली | ठकुरीजाति पाल, चन्द, बम, सिंह, शाह, शाही | ठकुरी सम्बन्धित समाजबाट | |
कोर, कुँवर | मल्ल | शौनक | सूर्यवंशी | कैलपाल, समैजी | डोटी, डडेल्धुरा र कैलाली | ठकुरी र खस जाति पाल चन्द, बम, सिंह, शाह, शाही | ठकुरी सम्बन्धित समाजबाट | |
मल्ल, रावल | मल्ल | शौनक | सूर्यवंशी | लाटा कलारी, भगवती | डोटी, डडेल्धुरा र कैलाली | ठकुरी र खस जाति पाल, चन्द, बम, सिंह, शाह, शाही | ठकुरी सम्बन्धित समाजबाट | |
काली/कालो पौडेल | मल्ल | अत्रि | ----- ? | मष्ट (बारहभाई मष्ट ) | बागलुङ, कालिकोट | ठकुरी जाति, खस छेत्री र मगर जाति सङ | पौडेल खस र मगर सम्बन्धित समाजबाट | |
----- ? | मल्ल | कश्यप | ----- ? | मष्ट (बारहभाई मष्ट ) | गुल्मी | ठकुरी जाति------ | ----------? | |
बोहरा (कुकुडे) | मल्ल | कौसिक | ---- ? | बासुदेबी | डोटी, कैलाली | वैश्य जाति कुन्जडा, खडायत, राना, धामी | वैश्य जाति सम्बन्धित समाजबाट | |
देउका / देउको | मल्ल | गर्ग | ----- ? | निग्लाशैनी | बैतडी देहिमंडू/ कंचनपुर बजार | वैश्य जाति -------- | वैश्य सम्बन्धित समाजबाट |
पूर्वज
[सम्पादन गर्नुहोस्]कार्तिकेय(मोहन्याल), केदार, कैलपाल, समैजी अन्तर्गतका देवता भएका मल्ल कत्युरी राजवंश का मल्ल हुन् । डोटी बोगटानका रजवारहरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।
शौनक गोत्रीय मल्ल पनि दुई कुल/खान्दानका
[सम्पादन गर्नुहोस्]- शैव सम्प्रदायका केदार गण कुलदेवता भएका कत्युरी राजवंश को शाखाका सनातनी मल्ल
डोटी वोगटान क्षेत्रमा रहेका मल्लहरूको वंशावली अनुसार डोटी जोरायलबाट वोगटान गएको र समैजी कुलदेवता भनिएको छ ।[१] हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली अनुसार सूर्यवंशी सवनय गोत्री डोटी बोगटान घाँगलका मल्लहरूको कुलदेवता समैजी हुन् । जसलाई घण्टेश्वर समैजी पनि भन्दछन् ।[२] घाँगल बुढाकोटको डाँडामा स्थापित सिकारी समैजी पनि यिनै मल्लका कुलदेवता मानिन्छन् । बर्तमानमा पनि जोरायलमा शौनक गोत्रका मल्ल धेरै छन् । जोरायलमा बसोबास गर्ने सबै मल्लहरुका कुलदेवता समैजी छन् । डोटी जोरायल खार, सेकुनीका मल्लका कुलदेवता भाडिको समैजी, खैगाड़को समैजी, भेटा समैजी छन् । डडेल्धुराको, कोटकाँडे, पिल्कोट, गुनपालक्षेत्रमा बसोबास गर्ने मल्लका कुलदेवता पनि समैजी छन् । यी जोरायलका मल्लहरु आफू नागी मल्ल वंशज भएको र डोटी पचनालीबाट आएको दावी गर्दछन् । यिनले जे भने पनि जोरायलका समैजी कुलदेवता भएका शौनक गोत्रीय, सूर्यवंशी मल्ल कत्युरी राजाका वंशज हुन् । यिनलाई कोर/रावलका मल्ल भने पनि जुम्लाका बलिराज लाई पनि रावल पद दिएको[३] इतिहास छ । बलि राजका वंशजका कल्याल शाही ठकुरी मानिन्छन । रावल राज्पुत्रको प्रयाबाची शब्द हो। डडेल्धुरा कोर गाउँ र गुनपालको धामी गाउँ का मल्ल कैलपाल र जगन्नाथ देवतासँग सम्बन्धित छन् । डडेल्धुरा को लम्कंडे भन्ने स्थानमा रहेका मल्ल पनि कैलपाल देवतासँग सम्बन्धित छन् र डडेलधुरा पश्यगर्खा तर्फका मल्ल हरु को देवता लाटो र भवानी सँग सम्बन्धित छन । शौनक गोत्रीय समैजी कुलदेवता भएका घाङलीमल्ल निमुवावोझी, मुडामा बस्छन् । चवालाका मल्ल दोधारा, वरहडिया, मुडा, वौनिया, हरिनगरमा बस्छन् । विठाडावाला मल्ल वौनिया, सरैया, देउकलिया क्षेत्रमा बस्छन् । कार्तिकेय (मोहन्याल) देवतासँग सम्बन्धित शौनक गोत्रीय मल्लको वंशज पण्डौनका मल्लहरु कैलालीको भजनी, निम्दी, मुनुवा क्षेत्रमा छन् । यी पण्डौन का मल्ल कार्तिकेय (मोहन्याल) लाई कुलदेवता मान्दछन । पण्डौन मल्ल खान्दानका मोहनराज मल्ल ७ नं. प्रदेशका प्रमुख छन् । यस परिवारमा चिनिएका मोहनराज मल्ल पंचायत कालमा पनि चर्चित व्यक्तित्व हुन् । सुर्खेतको मल्लकाँडामा भेटिएको अक्षदेव मल्लको वि.स. १३७२ को स्तम्भ लेख निकै खण्डित रहेको छ । तापनि यसको सम्वत शाके १२३७ र राजाको नाम अक्षदेव मल्ल लेखिएको हुँदा हालसम्म देखापरेका मल्लहरु मध्ये सबैभन्दा जेठो मल्ल जक्षदेव मल्ल (अक्षदेवमल्ल) ठहरिएकाले मानदेवको अभिलेखमा बर्णित मल्लपुर सुर्खेतलाई मान्न सकिन्छ ।
- अभिलेखको पाठ
- ॐ स्वस्ति श्री शाके १२३७ (वि.स.१३७२) वैशा
- खेमासि ८ तिथौ विविध ...स्वस्ति...जयु
- त्र वक्षराज ..वक्ष.. पुत्रजजक्ष रा
- जाधिराज जक्षदेवमल्ल श्री..
- राज्ञि सत्यरुपादेइ सपत्निकस्य
- श्रीविष्णुज पुत्रस्य महाराज..
- ज शुभमस्तु ।।
- मष्टो गण कुलदेवता भएका रैका राजवंशका मल्ल
- शौनक गोत्रीय तेडी मष्टो अन्तर्गतका कुलदेवता भएका डोटी, बझांग क्षेत्रमा बसोबास गर्ने जुम्ला रैका (नागिमल्ल/अभयमल्ल जुम्लीराजा)को वंशज हुन् । यिनका देवताहरु तेडी मष्टो, निमौने, लुहाखडी, कैलाश, जठे, जिम्दार सहितका मष्टो अन्तरगतका देवता कुलदेवता छन् । यसै कारण डोटी क्षेत्रमा कत्युरी र सिंजा जुम्लाका रैका गरेर दुई कुलका मल्लहरु शौनक गोत्रीय भेटिन्छन ।
मल्ल को वैवाहिक सम्बन्ध
[सम्पादन गर्नुहोस्]नेपाली समाजको मान्यता अनुसार मल्ल ठकुरी को थर हो । ठकुरी भएकै नाताले मल्ल को बैबाहिक सम्बन्ध पनि समान स्तरका अन्य ठकुरीसँग हुने गर्दछ । डोटी बोगटान का मल्लको उपल्लो वोगटानका बोगटी / बम सँग वैवाहिक सम्बन्ध पहिले देखि नै थियो । अझै पनि छ, तर डोटी तल्लो बोगटानमा बसोबास भएका कार्तिकेय (मोहन्याल) कुलदेवता मान्ने बम रजवार हरूको बोगटान क्षेत्रका मल्लसँग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । तर तल्लो वोगटानका बम ठकुरीहरूको वैवाहिक सम्बन्ध डोटीका शाही/शाह र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । डोटी रैका राजवंश नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली, दियाली र तिछाडाका मल्लसँग डोटी बोगटान का ठकुरी रजवार हरूको र देउवा हरूको बिबाह पुरानै दिन देखि भएको पाईन्छ । बोगटान क्षेत्रका मल्लसँग देउवा हरूको पनि बिबाह थिएन । बर्तमानमा थाक्य-गल्या देउवाले समैजी कुलदेवता मान्ने मल्ल (रावल)संग बिबाह गरेपनि पुराना दिनमा मल्ल रावललाई आफू भन्दा सानो सम्झने र बिबाह नगर्ने गरेको इतिहास देउवाहरूको छ । रैका मल्ल /शाही भन्दा फरक कुल मानिने डोटी बोगटानका मल्लको सम्बन्धमा इतिहास र देवता जे जस्तो भएपनि वोगटान क्षेत्रको वुढाकोट, घाङल, चवाला, विठाडा र पण्डौन क्षेत्रका मल्लहरु ठकुरी कहलिन्छन् । पण्डौनी मल्लहरु बोगटान क्षेत्रका अन्य मल्ल भन्दा आफू फरक रहेको बताउँछन् । वर्तमानमा माथि उल्लेखित सबै मल्लको बिबाह डोटी बोगटानका बम, बोगटानका बोगटी रजवार, अछामी शाह, बझांगी सिंह, बैतडी चन्द डाँगका शाह , रासकोटी शाही, कल्याल शाही, शाह, राठौर, देउवा, दार्चुलाका पाल, नेपालका राणाहरूसँग भएको भेटिन्छ । तर वैश्य मल्लहरू भने आफ्नै जात मिल्ने तिनकै स्तरकाहरूसँग बिबाह गर्दछन ।
सूर्यवंश र रघुवंश उल्लेखित मल्ल र देव थरसँग सम्बन्धित अभिलेख
[सम्पादन गर्नुहोस्]- जयानन्द राजारुद्रमल्ल
- १— “श्रियोअस्तु सम्वत ४३७ फाल्गुण वदि २ राजाधिराज श्री श्री श्री जयानन्द देववस्य धर्मविजंभवति रघुवंशावतार श्री श्री जयरुद्रमल्लस्य लब्धवरिष राज्य भवति“[४]
- राजाश्रयानन्ददेव
- १— भक्तपुर तौमढीटोलका नारायण चोकको शिलालेखमा ”श्रयानन्ददेव इति सूर्यकूलप्रदीप”े पंकित अंकित भएकोले राजाआनन्द देव सूर्यवंशी ठहरिन्छन् [५]
- राजायक्षमल्ल (वि.स.१४८५ मार्ग १८)
- १— “श्रीभक्तग्रामपटुटने राजाधिराजपरमेश्वरपरमभट्टारक रघुवंशावतारा श्रीश्रीजययक्षमल्ल देवस्य विजयराज्य“ पंक्ति लेखिएको । राष्ट्रिय अभिलेखालयमा सुरक्षित ”शुक्लयजुर्वेदसंहिता” काठमाण्डौ ठिमी महादेव मन्दिरको यक्षमल्ल र जीव मल्लको पालाको अभिलेख वि.स.१४८५ अनुसार[६]
- २—पशुपति मन्दिरको दिक्षिण तर्फको शिलालेखमा राजा यक्षमल्ललाई नेपाल मण्डलको राजाधिराज भनिएको छ । “श्रीसूर्यवंशनृपतिर्जययक्षमल्ल : प्रौढप्रतापभुवनैकमहाप्रवीण : । नेपालमण्डलविभुषितराजराजो भूयादिपक्षमथनो भूवि सुप्रसिद्ध : ।[७]“
राजानान्यदेव
- १— राजाप्रताप मल्लको कृष्णमन्दिर शिलालेखमा — सूर्यवंशी नान्यदेव र उनका वंशज गाँगदेव, नरसिहदेव र रामसिहदेव नाम क्रमश अंकितछन् ।[८] प्रतापमल्लको नेपाली संम्बत ७६९ (१६६९ ई.) को नारायणहिटी अभिलेखमा निम्न लिखित वंशावली भेटिन्छ । यस वंशावलीमा राजा नान्यदेवले नामको पछाडि रघुवंशी भनेर लेखेका छन् । जो यस प्रकार छ ।
- नान्य देव ( रघुवंशी )
- गङ्गा देव
- नरसिह देव
- रामसिह देव
- शक्तिसिह देव
- भुपालसिह देव
- हरिसिह देव ( हरयुन्सिंह)
- यक्ष मल्ल (इत्यादी)
शौनक गोत्रीय डोटी बोगटानका मल्ल ठकुरी वंशावली [९] अनुसार
[सम्पादन गर्नुहोस्]- राजा अर्जुन मल्लका छोरा मेघुमल्ल जोरायल डोटी आए ।
- राजा अर्जुनले शाही पदवी प्राप्त गर्नु पूर्वका छोराहरु
- मेघुमल्ल, उदयभानु, श्रीपति । यी मध्ये जेठा छोरा
- मेघुमल्लले जोरायल छोडी बोगटान मस्यासरी बसे,
- मूसी मल्ल वोगटानको देवानी लि बसे,
- कुमेरुका कान्छा भाइ उदैमल्ल विठारा चौवाला आई बसे उदैमल्लदेखि सातौँ पुस्ता सम्मको नामावली थाहा भएको छैन, खोजी हुँदै छ ।
- महिपति मल्ल, जुडामल्ल, पठान मल्ल समेत ३ भाइ भए । त्यसमध्ये पठानको अपुताली भयो । जुडाका सन्तान सुव्वा दिलिपसिह समेत हुन । महिपतिको सन्तान यस प्रकार छ । *मन्दिर मल्ल,
- प्रीतिसिह मल्ल र
- रामसिह मल्ल । रामसिहका
- तिलकसिह र अमरसिह २ भाइ तिलकसिहका
- डम्मरबहादुर मल्ल, खुमबहादुर मल्ल हुन । भजनी र बसुरियामा बस्तछन् ।
- प्रतिसिहका तारासिह, बालासिह, लालसिह, ज्योतिसिह र भजनसिह समेत ५ भाइ हुन् । भजनको अपुताली भयो ।
- तारासिहका देवबहादुर मल्ल, बमबहादुर मल्ल, इमानसिह मल्ल, भक्तबहादुर मल्ल, हिक्मतबहादुर मल्ल समेत ५ भाइ कैलालीको निमावोजी र डोटी बोगटान घाँगलमा बस्तछन् ।
- बालासिहका भीमबहादुर मल्ल, लालसिहका बुद्धिसिह, क्षेत्रबहादुर, भीमबहादुर, हर्षराज समेत चारभाइ घाँगल र कैलाली धनौरामा बस्छन् । ज्योतिसिहका सूर्यबहादुर, दीर्घसिह,
- मानबहादुर, कृष्णबहादुर र वीरबहादुर समेत घाँगल र कैलाली वसुरियामा बस्तछन ।
- सुव्वा दिलिपसिहबाट प्राप्त वंशावली अनुसार
- चिरबुँगलबाट फाटेर बोगटान हुँदै
- जोरायल (जोरायल डोटी)हूँदै मल्लो बोगटान बुढाकोट आउने मुसुमल्ल ।
- मुसुका दुई छोरा कुमेरु मल्ल र उदैसिह मल्ल ।
- कुमेरुका सन्तान बुढाकोटै बसे, कान्छा उदैसिका पैलु पनि भन्दथे ।
- पैलु चौमाला विथाडामा आएर बसे । पैलुका छोराहरु ३ भाइ महिपति, जुडा, पठान ।
- महिपतिका सन्तान निमावोजीका देवबहादुर मल्ल हुन । जुडाका तीन छोरा हरिभानसिह, जमानसिह र धनसिह मल्ल हुन् ।
- अव यिनको और सन्तान जगा जगा पाँजिएर बस्यो । तेसमा धेरैले चौमाला विथाडा छोडेर तल्ली वोगटान पण्डौनमा आए ।
- सम्वत १९४८ साल तिरको कुरा हो । धनसिहको निःसन्तान ।
- हरिभानका मेघसिह, जमानसिहबाट हरिभानसिह र अजवसिह भए ।
- यी तीनै भाइ पण्डौनबाट उठेर मलवार आई बसे । त्यसबेला यहाँको जग्गा आवाद गरेबापत सयकडा पाँचले जग्गानै पाउने चलन थियो ।
- मल्लवारका वीर्तावार हिरण्यसमशेरबाट २०० विगाहा जग्गा विर्ता पाईयो । त्यसपछि मेघसिहको अपुताली भयो ।
- हरिभानसिहका दिलिपसिह र दीर्घराजसिह भए । अजवसिहबाट पहलवानसिह, कुँवरसिह, हिक्मतसिह र उपेन्द्रसिह मल्ल भए ।
- दिलिपका चार छोराहरु टेकबहादुर, देवबहादुर, मोहनबहादुर र मदनबहादुर भए । दीर्घराज सिहका ३ छोराहरु चक्रबहादुर, पुष्पबहादुर, र कृष्णराज मल्ल । पहलवानसिहका छोरा
- पदमबहादुर मल्ल, कुँवरसिहका ध्वजबहादुर मल्ल । हिक्मतसिहका तेजबहादुर मल्ल समेत ४ भाइ । उपेन्द्रबहादुर मल्लका वरुण समेत ४ भाइ ।
मल्ल थर लेख्ने वैश्यहरु
[सम्पादन गर्नुहोस्]बैतडी डेमाडोको देउको भनिने बोरो महेन्द्रनगर बजारमा गर्ग गोत्र बताउने र मल्ल थर लेखेर बसेको छ । डोटी जिल्ला बासुदेवी गाउँ विकास समितिको देउकांडे बोरो (बोहरा) पनि मल्ल थर लेख्छन । यी बोहराका मल्ल थर लेख्नेहरु कौसिल्ला(कौशिक) गोत्र बताउने र मल्ल थर लेख्ने कैलाली जिल्ला अतरिया नगरपालिका दुर्गा लक्ष्मी उच्च मा.बि नजिक बस्छन ।
संख्या
[सम्पादन गर्नुहोस्]मल्लले मान्ने विशेष पर्वहरू
[सम्पादन गर्नुहोस्]- दशै
- तिहार
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ जोरायलबाट गएको भन्नेकुरा सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९/२९०मा हेर्दा र पढदा पनि स्पष्ट हुन्छ ।
- ↑ हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली २०६० साल, पेज १५९, मा उल्लेख भए अनुसार समैजी मल्लहरुका कुलदेवता हुन । इनको स्थान घाँघल जमनचौकामा छ । पेज १६० अनुसार
- ↑ डा.सूर्यमणि अधिकारीद्वारा लेखिएको (भुँडीपुराण प्रकाशनबाट प्रकाशित, वि.स.२०६०) बाइसे राज्यको इतिहास, पृष्ठ २९ र ३० मा लेखिए अनुसार वलिराजलाई पनि रावल पद दिइएको पाईन्छ । खश राज्यको पछिल्लो अवधिमा यो पद राजपरिवारका सम्बन्धित र सामन्त रजौटाहरूले ग्रह्रण गर्ने गरेको देखिन्छ ।
- ↑ प्रमाण–प्रमेय भाग । पृ.२३४, नेपाल सम्वत ४३७ वि.स.१३७३ को पशुपति देउपाटनको अभिलेखमा जयानन्ददेव र राजा रुद्रमल्लको नाम अगाडि प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१३६बाट
- ↑ प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज १२४ वाट
- ↑ प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६२बाट
- ↑ प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६३बाट
- ↑ प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज– १५४
- ↑ सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९÷२९०मा हेर्दा र पढ्दा पनि स्पष्ट हुन्छ । जस अनुसार निमावोजी देवबहादुर मल्लसित भएको प्रतिलिपि अनुसार