जोरायल गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जोरायल
—  गाउँपालिका  —
Jorayal village.jpgजोरायल क्षेत्र
जोरायल Nepal-এ অবস্থিত
जोरायल
जोरायल
नेपालको नक्सामा जोरायल गाउँपालिका
निर्देशाङ्क (सरस्वतीनगर): २९°०९′उत्तर ८०°४३′पूर्व / २९.१५° उत्तर ८०.७२° पूर्व / 29.15; 80.72निर्देशाङ्क: २९°०९′उत्तर ८०°४३′पूर्व / २९.१५° उत्तर ८०.७२° पूर्व / 29.15; 80.72
देश  नेपाल
प्रदेश सुदूरपश्चिम
जिल्ला डोटी
स्थापना २७ फागुन २०७३
सरकार
 - प्रकार स्थानीय तह
 - अङ्ग गाउँपालिका
 - अध्यक्ष दुर्गादत्त ओझा [१] (नेकपा)
 - उपाध्यक्ष जमुनाकुमारी बोहरा रोकाया (नेकपा)[१]
 - कार्यकारी -
क्षेत्रफल
 - जम्मा ४१९.०९ किमी (१६१.८ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २०,८२४
 जनघनत्व ४९.७/किमी (१२८.७/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-५७
केन्द्र साविकको सरस्वतीनगर गाविसको कार्यालय
वेबसाइट jorayalmun.gov.np

जोरायल डोटी जिल्लामा पर्ने नेपालकोे एक गाउँपालिका हो। डोटी जिल्लाको सदरमुकाम सिलगढी बाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो । यसै उपत्यकाको नामबाट यस गाउँपालिकाको नामाङ्कन गरिएको हो । चौतर्फी अग्ला होचा बृक्ष वनस्पति युक्त डाडाँ–काडाँहरूको बीचमा देखिने एउटा सुन्दर क्षेत्र जोरायल हो । नेपालको संविधान २०७२ लागु भएपछि नेपाल सरकारको निर्णय अनुरुप स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानिय तहहरू बनाउने क्रममा डोटी जिल्लाका सरस्वतीनगर,लक्ष्मीनगर, घण्टेश्वर, छतिवन, गडसेरानिरौली गाविसहरूका क्षेत्रलाई जोडेर जोरायल गाउँपालिका बनाइएको हो । महाभारतका प्रमुख पात्र पाण्डवहरूका भिमसेनले मगधराज जरासन्धसँग युद्ध गरेर जरासन्धको शरीर च्यातेर दुई फ्याक बनाएर फालेका दुई वटा चिराहरू मध्ये एक चिरा यसै ठाउँमा परेको हुनाले यस क्षेत्रको नाम जोरायल रहन गएको हो भन्ने स्थानिय जनमत रहेको छ । चारै तिर पहाडले घेरिएको बिचमा चिटिक्क परेको फाँट जोरायल क्षेत्र निकै रमणिय उपत्यका हो । तराई र भित्री मधेशको सङ्गम मानिने यो जोरायल गाउँपालिका धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय स्थल पनि हो । जोरायलका सुन्दर फाँटहरूमा वासमती आदि उन्नत जातका धानको उत्पादन हुन्छ । त्यस्तै यहाँको संस्कृती पनि निकै लोभलाग्दो छ । गाउँपालिका घोषणा गरिनु पूर्व पनि यस गाउँपालिकामा समावेश गरिएको क्षेत्रलाई जोरायल भनिन्थ्यो । यस गाउँपालिका भित्र कर्मनासा नदी, गोमती गाड आदि पौराणिक महत्व बोकेका नदीहरू बग्दछन् । यस्तै फलपर्वत, घण्टापर्वत आदि पौराणिक महत्व बोकेका रमणिय पहाडि चुचुराहरू रहेका छन् । यहाँ भएका भिम छेदन शिला, द्रौपदी चौतारो, विष्णु पादुका, आदि स्थानहरूले यस क्षेत्रमा वनवासमा रहेका बेला पाण्डवहरू घुमेका थिए भन्ने प्रमाणित गरेका छन् । चण्डेश्वर मन्दिर, घण्टेश्वर मन्दिर, आदि स्थानहरू यस क्षेत्रमा पर्ने धार्मिक स्थलहरू हुन् ।

नामाकरण तथा परिचय[सम्पादन गर्ने]

यस क्षेत्रको नामाकरण जोरायल कसरी रहन गयो भन्ने कुरामा एक मत त छैन तर सबै भन्दा बलियो तर्क अनुसार यस क्षेत्रको सम्बन्ध महाभारतमा उल्लेख भएको जरासन्धसँग रहेको देखिन्छ[२] जसरी दीप + आलय = दीपालय अथवा (नेपालीमा बत्तीको निवास भएको क्षेत्र) शब्द (वर्णविपर्यय हुँदै = दीपालय = दिपायल भएको हो । त्यसै गरेर जोरायल शब्द पनि :- जरासन्धस्य +आलय = जरालय वा जरा + आलय = जरालय भयो । यसको अर्थ जरासन्ध वा जरादेवीको, आलय भनेको संस्कृतमा निवास हुन्छ । पछि त्यही शब्द जरालय = वर्णविपर्यय हुदै = जरा + यल = जरायल = बाट अप्रभंस हुदै ‘ओ’ कारको थप आगमन भएर जोरायल रहन गएको हो । यसको क्षेत्र पूर्वमा डोटी जिल्लाकै गड्सेरा तथा निरौली गा.वि.स., पश्चिममा छतिवन गा.वि.स., उत्तरमा डडेलधुरा जिल्लाको महाभारत पर्वत भित्र पर्ने घण्टेश्वर पर्वत एवं असिग्राम गा.वि.स.को रुवाखोला र दक्षिणमा कैलाली जिल्लाको सहजपुर गा.वि.स पर्दछन् । समथर भूभागको बीच भएर बग्ने यहाँको नदीको नाम कर्मनासा (कर्नासा) हो । जसले यहाँको भू–भागलाइ सिंचन गरेको छ । कर्मनासा नदीको उद्गमस्थल भन्दा माथि बाट दुइवटा नदीहरू जलादेवि पर्वतको आसपास भएर बगेका छन् । जसको नाम गोमतीगाड र काफली गाड हो । यी दुबै नदीहरूको संगम वा (दोभान) भन्दा तलको नदीको नाम कर्मनासा रहन गएको छ । जो जरासन्ध बध गरेको इतिहास सित संबद्ध छ । वरिपरी सम्म फाँट बीचमा कर्मनासा नदी एवं छेउछाउमा रहेका गाउँ बस्तीहरूले जोरायलको भौगोलिक दृष्यावलीलाइ मनमोहक बनाएको छ । यो जोरायल क्षेत्र निकट समयमै नगरपालिका घोषणा हुने सम्भावनामा रहेको छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यहाँको जनसङ्ख्या २०,८२४ रहेको छ । जसमध्ये ब्राह्मण १० प्रतिसत ,क्षेत्रि, ७५ प्रतिसत दलित १० प्रतिसत , र मगर तथा अन्य जातका ५ प्रतिसत मानिसहरू छन् । यसक्षेत्रमा एउटा बहुमुखी क्याम्पस पनि छ । जसको नाम सेती महाकाली बहुमुखी क्याम्पस हो । विभिन्न देवी देवताहरूको बास भएको यो जोरायल क्षेत्र बास्मती धान फल्ने यौटा प्रसिद्ध ठाउँ पनि हो । यस क्षेत्रका प्रमुख देवी–देवता घण्टेश्वर, जलादेवी मालिका भगवती, चण्डेश्वर र गुफाकेदार हुन् ।

जोरायलको भस्सो संस्कृति[सम्पादन गर्ने]

चड्यौली स्थान परिसर

हाम्रो देश नेपाल धेरै विविधता र संस्कृति भएको देश हो । अनेकतामा एकता हामी नेपालीहरूको प्रमुख विशेषता हो । यहाँका प्रायः सबै जिल्लाहरूका आ–आफ्ना भेषभूषा, रीतिस्थिति,भाषा र संस्कृतिहरू छन् । तिनै संस्कृतिहरू मध्येको एक अनौठो संस्कृति डोटी जिल्लाको जोरायल क्षेत्रमा हुने प्रमुख जात्रा मा भाईटीकाका दिन हुने भोस्सो जात्रा पर्दछ । यो खास गरेर यहाँको शक्तिशाली देवता चडयौलीथानको प्रसन्नताको लागि गरिने जात्रा हो । महाभारत कथामा जरासन्ध लाइ राक्षस भनेर सम्बोधन गरिए पनि डोटी जोरायलको संस्कृतिमा यिनलाई देवता भनेर पुज्ने गरीन्छ । यो जात्रा गरिएन भने ती देवता रिसाई जोरायलमा विविध अनिष्ट गराउन सक्ने विश्वास यहाँको जनमानसमा प्रवल रूपमा रहेको छ । यो जात्रा प्राचीन युद्धको लागि मोर्चाबन्दी सहित युद्घमा जान तयार सेनाको जुलुस जस्तै हुन्छ । भाइटीकाका दिन त्यहाँका सबै मानिसहरू बिहान आआफ्ना दिदी–बहिनीहरूका हातबाट टिका लगाइसकेपछि खानाखाएर लक्ष्मीनगर गा.वि.स.मा पर्ने सिलंगीबाग बजारको मेलामा जान्छन् , जुन मेलालाई त्यहाँको स्थानीय भाषामा दुत्तेको मेला भन्छन् । त्यहीं प्रसिद्ध चडयौंलीथान भन्ने स्थानीय देवताको थान पनि छ । त्यहाँको स्थानीय भाषामा चडयौंलो भन्ने एउटा स्थानिय जातको रुख हुन्छ , त्योे थान मा त्यै चडयौंलाको रुख भएकाले थानमा भएका देवतालाई प्रत्यक्ष इंगित नगरी रुखको नामबाट देवस्थान को नामकरण भएको पाइन्छ । न्याय दाताका रूपमा चिनिने यी चडयौलीथान देवताको मन्दिर छैन, स्थापना मात्रै छ । भक्तजनहरू आफ्नो भाकल पुरा भए पछी त्यही रुखमुनीको स्थानमा बोकाको बलिका साथै घण्टा, त्रिशूल र ध्वजापताका चढाउँदछन् । बोका मंसिर कृष्ण पक्ष , जेष्ठ कृष्ण पक्ष र श्रावण कृष्ण पक्षको रात्रिमा मंगलवार, बिहीवार वा शनिवार पारेर चढाइन्छ ।

जात्राहुने दिन[सम्पादन गर्ने]

प्रत्येक वर्ष भाइटीका दिन यस चुडयौलीथान परिसरमा मेला लाग्ने गर्दछ । दिउसो १ बजे सैगडा ,रावतकट्टे र धन्रास गाँउ बाट दाइना ,दमाहा र भोक्कर सहितको भोस्सो जात्रा आउँछ । यो रात्रिको जात्राको लागि अभ्यास (रिहर्सल) जस्तै हो । दिउँसोको जात्रामा खुकुरी वा तरवारको सामूहिक चौलो खेल पनि खेलिन्छ । साँझ ५ बजेतिर मानिसहरू रात्रिको तयारिको लागि घरतिर फर्कन्छन् । राती लगभग १० बजेतिर खानापिना खाई त्यसै मेला केन्द्र वरिपरिका सेगुनी गाँउ, अवस्थीगाँउ, साहनीगाँउ, ओझागाँउ आरा सेला, कोला, रिठारा , सुङ्गाल ,बेलटुक्रा, कोटेली, राउतकट्टे भाडी, लस्कर, फलेडी, भजना, सैगडा, विनोडा, धनरास, काफली, जिजिकोट, खैरीखोला, पिपलकन्डे र नकु गाँउबाट दाइन दमाहा र चौलो नृत्यकासाथ भोस्सो जात्रा निस्कन्छ । पहिले–पहिले निरौली गाँउबाट पनि जात्रा जुलुस आउथ्यो रे भन्ने भनाई छ । जात्रा अगाडि बढ्दैजान्छ । बाटामा पर्ने गाउँका मानिसहरू पनि थपिदै जान्छन् र भोस्सोजात्राको आकार झन्झन् ठुलो हुँदै जान्छ । त्यो जात्रामा वयस्क लोग्ने मानिस मात्रै हुन्छन् । रात्रिको भोस्सो जुलुसमा महीलाहरूको सहभागिता हुँदैन । जात्रामा चडयौलीथानका देवतालाई खुसी पार्न अश्लील नाराहरू पनि लगाउने गरिन्छ । यो धेरेै पुरानो संस्कृतिहो । जुलुसमा एकजना मानिस नारा लगाउँछ बाँकी ‘भोस्सी रे भोस्से’ भन्दछन् । जात्रा विस्तारै अगाडि बड्दछ । राती लगभग ३ बजेतिर त्यही चडयौंलीथानको रुख वरपर चारैतिर बाट आएका जात्राका फौजहरूको लडाईको शैलीमा जस्तै ब्यूह रचना बन्दछ । अगाडिका बलिया मानिसहरूले लामो काठ लहरैसंग समाएर आफ्नो ब्यूह नफुट्ने गरी बलियो बनाएका हुन्छन् भने पछाडि अलि कमजोर र बुढाहरूलाई राखिएको हुन्छ । जुलुस बिस्तारै अगाडि बड्छ । राती ३/३० बजेदेखि ४ बजेको बिचमा चारैतिरबाट आएका भोस्सी जात्राहरू २ खेमामा विभाजित हुन्छन् । एउटा देउताको थान भन्दामाथिबाट आउने खेमा र अर्काे तलबाट आउने खेमा हुन्छ । लगत्तै एक–अर्काको ब्युहरचना फुटाउने प्रतियोगिता जस्तै सांकेतिक घमासान लडाई नै चल्दछ । त्यो लडाई समाप्त भइसकेपछि दाइन,दमाउ (दमाहा) जुझाउने प्रतियोगिता हुन्छ । सबैगाँउबाट आएका दाइनहरूलाई क्रमैसंग एक जना निर्णायक मानिसले जोर–जोरले बजाए पछि जुन गाँउको दाइन ठुलो आवाजमा बोल्यो त्यही गाउँको दाइन लाई निर्णायक जीतका रूपमा माथि आकाशतिर उचालेर फलानो गाँउको दाइनको जीतभयो भनि ठुलो स्वरमा घोषणा गरिन्छ । बिहान ४ बजेबाट भोस्सी जात्रा वापस घरफिर्ता हुन सुरु हुन्छ । यहाँको जनमानसमा ४ बजेभन्दा पछिसम्म त्यहाँ (मेलास्थलमा) रहे वाण पर्दछ भन्ने विश्वास छ । वाण पड्नु भनेको मिर्गी लागे जस्तै भुईमा पछारिनु र मुखबाट झाग आउनु हो ।

जरासन्ध र जोरायलको सम्बन्ध[सम्पादन गर्ने]

द्वापर युगमा जरासन्ध भन्ने एक प्रतापी र बलवान राक्षस राजा थियो । उसको राज्य मगध (हालको बिहार राज्य भारत) मा थियो । मथुराका राजा कंस जरासन्धका ज्वाँई थिए । कंसलाई भगवान श्री कृष्णले मारि सकेपछि जरासन्धको भगवान श्रीकृष्णसंग कट्टर दुस्मनी भयो । श्री कृष्णले उसो त कंससंगै धेरै राक्षसहरूको बध गरिसकेका थिए तर जरासन्धलाई भने मार्न पाएका थिएनन् । कारण जरासंध त्यतिबेलाका महान तपस्वीऋषि चण्ड कौशिकका वरदानले जन्मेको थियो । उसमाथि दिव्य अस्त्र–शस्त्रहरूको प्रभाव पर्दैनथ्यो । ऋषि चण्डकौशिकले बृहद्रथ नाम गरेका कुनै एक पुत्रहीन राजालाई उसको भक्तीभाव बाट खुसी भई निजकै इच्छा अनुसार एउटा शिवभक्त , प्रतापशाली पुत्र हुनेछ भनी वरदान स्वरुप एउटा आँपको फल रानीलाई खुवाउन भनीदिएका थिए । त्यो फल एउटै रानीलाईमात्र खुवाउनु थियो । तर ती राजाकी २ वटी रानी थिइन् । काशिराज की ती दुबै राजकन्याहरू संग बिवाह गर्नुभन्दा अगाडि राजा बृहद्रथले विवाहपछी दुबै रानी संग समान प्रेमराख्नेछु भन्ने वाचा गरेकाथिए । त्यसैले त्यो फल राजाले पक्षपात नगरी दुबै रानीलाई बराबर बाँडी खान भनी दिए । जब जरासन्ध जन्मीयो, ती दुबै रानीहरू बाट शरीरका दुईवटा चिरा अलग–अलग गरी जन्मेको थियो । एउटा चिरामा क्रमै संग एउटा आँखा, एउटा कान, आधा नाक, आधामुख एउटा हात, आधापेट र एउटाखुट्टा थियो । रानीहरूले ती सजिव चिराहरू देखी डराई काम नलाग्ने ठानी फालि दिएका थिए । पछि जरा नामगरेकी एक राक्षसिले ती फालिएका दुबैचिरा एक–आपसमा मिलाउदा बच्चा जिवीत हुन गएको थियो । उनले जिवीत बच्चा राजालाई फिर्ता बुझाइ दिएकी थिइन् । राजाले खुसी भई तिनै जरा नाम की राक्षसिको नामबाट त्यसबच्चाको नाम जरासन्ध राखिदिएका थिए । जरासन्ध जुन प्रक्रियाबाट जन्मेको थियो त्यै प्रक्रियाबाट मात्रै मर्न सक्दथ्यो , अर्थात उसलाई मार्न उसका शरीरका दुई चिरा गर्नु पर्दथ्यो । अन्य कुनै अस्त्र–शस्त्रको प्रभाव उसमाथि पर्दैनथ्यो । जरासन्धको हातमा १० हजार हात्ती बराबरको बल थियो । श्रीकृष्णले उसका ज्वाई कंसको बध गरिसकेपछि कंसबध लाई उचित ठहराउने र श्रीकृष्णसंग लड्न नचाहने आफ्ना राज्य वरपरका हजारौं राजाहरूलाई जरासन्धले पक्री बन्दी बनाई कैद गरिसकेकोे थियो । ऊ ती कैदी राजाहरूलाई पालैपालो देवीमा बलि चढाइरहेको थियो । भगवान श्रीकृष्णलाई उसको सबै रहस्य र कुकृत्य थाहा थियो तर उसलाई समाप्त पार्ने उचित अवसर नपाएकाले प्रतिरक्षा स्वरूप उनले आफ्नो राज्य मथुरा छाडी हजारौं मिल दुर (हालको गुजरात राज्य भारत) मा एक द्वारिका नामको समुद्री टापुमा स्वर्गका बास्तुविद् विश्वकर्मालाई बोलाई आफ्नो राज्यनगरी बनाउन लगाए । नगर निर्माण भैसकेपछि श्रीकृष्णले आफ्नो योगमायाको बलले आफ्ना सबै प्रजाहरूलाई उतै स्थानान्तरण गरे ।[३]

महाराजा युधिष्टरको राजसुय यज्ञ[सम्पादन गर्ने]

हस्तिनापुरका राजा युधिष्ठिरले जरासन्धले सयकडौं निर्दोष राजाहरूलाई बन्दि बनाई पालै–पालो देविलाई बलि दिइरहेको र प्रजाहरूलाई पनि दिनु दुःख दिइरहेको समाचार पाए । मथुरा नगरमा पनि उसले सत्र पटक आक्रमण गरीसकेको थियो । तर बारम्वार श्रीकृष्ण संग हार खाइ रहेको थियो । निकट भविष्यमै उनको राजसूय यज्ञ गर्ने योजना थियो । त्यो यज्ञ सफल पार्नमा ति बन्दी राजाहरूको सहयोग पनि आवश्यक थियो । उनले यज्ञ गर्नु भन्दा अगाडि राक्षसराज जरासन्ध लाई समाप्त पारी ति बन्दी राजाहरूलाई छुटाउने योजनामा काम गर्न थाले । यसै विषयमा सरसल्लाह गर्न उनले श्री कृष्णलाई पनि द्वारकाबाट बोलाउन लगाए । युधिष्टरकी आमा कुन्ती श्री कृष्णकी फूपु थिइन् । त्यसैले श्री कृष्ण उनका नाताका भाई पनि पर्दथे । भगवान श्री कृष्णले क्षत्रियहरूको एकमात्र कर्तब्य अन्यायि र दुष्टहरूको नाश गर्नु भएको भन्दै जरासन्ध नाशको अभियानमा आफुपनि सहभागी हुने बचन दिए पछि जरासन्ध बध गर्ने योजना लाई अन्तिम रुप दिइयो । प्रतक्ष युद्धमा जरासन्ध लाई जित्न कठिन थियो, साथै धेरै निर्दोष सेनाहरूको रक्त बग्ने सम्भावना पनि थियो । यो देखेर भगवान श्री कृष्णले राजा युधिष्टरका बलवान भाईहरू भीमअर्जुन को सहयोगमा जरासन्ध लाई छल/बल दुबै प्रयोग गरेर मार्ने योजना बनाए ।

कृष्ण भिम र अर्जुनको मगध प्रस्थान[सम्पादन गर्ने]

हस्तिनापुरका राजा युधिष्ठिरले आफ्ना भाई भिमसेन र अर्जुनलाई जरासन्ध लाई बध गर्ने अभियानका लागी भगवान श्री कृष्णका जिम्मा लगाए । पूर्व नियोजित योजना अनुसार तीनै जना ब्राह्मणको भेषमा जरासन्धको राजधानीमा प्रवेश गरे । भिमसेम गदायुद्ध र मल्लयुद्धमा पोख्त थिए । उनका दुबैहातमा ५/५ हजार हात्ती बराबरको बलथियो भने अर्जुन दिब्य अस्त्र–शस्त्रका ज्ञाता थिए । उनि ब्रह्मास्त्र ( त्यतिबेलाको परमाणु बम जस्तै ) चलाउन र खिच्न सक्दथे । भगवान श्री कृष्ण दिब्य अस्त्र–शस्त्रका ज्ञाता हुनुका साथै जरासन्धका सबै गोप्य र प्रकट रहस्य समेत जान्दथे । जरासन्धको राजधानिमा प्रवेश गरिसके पछि श्रीकृष्णको आज्ञा अनुसार भिमसेनले नगरको एक मूलढोका भत्काई दिए । यो खबर तुरन्तै जरासन्ध कहाँ पुग्यो । जरासन्ध भगवान शिवका अनन्य भक्त थिए । प्रतेक सोमबार उनि विशेष शिवपूजा गर्दथे । पुजापछी गरिव, अनाथ र ब्राह्मणहरूलाई दान गर्ने गर्र्दर्थे । त्यो खबर सुन्ने बेला उनि दान गरीरहेका थिए । जरासन्ध अचम्ममा परे । मेरो राजधानिमा तोडफोड गर्ने हिम्मत कस्ले गर्यो होला ? त्यस बेलासम्म भिम अर्जुन र श्री कृष्ण पनि दरवार अगाडि पुगिसकेका थिए । प्रतिहारले मुलद्वार भत्काउने यिनै हुन् भनि ईसारा गर्यो । तर उनिहरूलाई जरासन्धले चिन्न सकेन । जरासन्धले भन्यो “ ए ब्राह्मणहरू ! के तिमिहररू साच्चैका ब्राह्मण हौ र ? तिमिहरूको चालमाल त ठिक छैन ।” तिमिहरू के चाहन्छौ भन त ? जरासन्धको कुरा सुनेपछि भगवान श्री कृष्णले भने :- “महाराज ! तपाईंले भनेको कुरा ठिक हो । हामि तपाईंको यज्ञमा दान लिन आएका होइनौं । हामि त तिम्रो मृत्यु यज्ञमा सहभागी बन्न आएका हौं । शत्रुको घरमा पस्दा केहि संकेत दिएर पस्नुपर्ने भएकोले तपाईंलाई जनाउ मात्रै दिएका हौं ।” हामि तपाई संग के चाहन्छौ भन्ने कुरा यो भन्दा बढी भन्न नपर्ला भनी श्रीकृष्ण चुपलागे । भगवान् श्रीकृष्णको कुरा सुनेपछि जरासन्ध छक्क पर्यो । उसले भन्यो “ए ब्राह्मणहरू ! तिमीहरूसंग मेरो शत्रुता त केही छैन, म कसरी तिमिहरूको शत्रु भएँ ? लुगा ब्राह्मणका जस्ता छन् व्यवहार दुष्टको जस्तो गर्दैछौ । एउटा शान्त सभ्य र धर्मात्मा व्यक्तिलाई शत्रु भनेर सम्बोधन गर्दछौ भने यो संसारमा तिमिहरू भन्दा बढि पापी को होला ?” यो सुनेर भगवान श्री कृष्णले भन्नुभयो “महाराज यो संसारमा पापी को हो ? र धर्मात्मा को हो ? यो सबैले राम्ररी बुझेका छन् , तिमी बलको धाक लगाउछौ । आफ्नो बलको घमण्डले सारा राजाहरूलाई बन्दि बनायौ । बिनाकारण बली दिने नाममा उनिहरूलाई काटिरहेका छौ, यहि हो तिम्रो धर्म ? यहि हो तिम्रो सभ्यता ? हामि त तिमीसंग मल्ल युद्घ गर्न आएका हौं ,यात हाम्रा अधिनमा आऊ ,यात लडाईका लागि तयार होऊ, बेकारमा बलको धाक नदेखाऊ सभ्यता र शान्तीको खिसी नकाट ”भनि चुप लागे । जरासन्ध पनि कम्तिको थिएन । उ त्यसै पनि चुप लाग्ने स्वभावको थिएन । उसलाई आफ्नोबलको धैरै घमण्ड थियो । जरासन्धले भन्यो “हे ब्राह्मणहरू ! तिमिहरू जो भएपनि यस्तो भेषमा आएकाले मार्नु उचित त होइन, तर के गर्नु भूसुनाले निहुखोजेर दुःख दिएपछि कसको के लाग्छ र ? ल भैगो म संग लड्ने को हो ? आउ, म तयार छु” उसलाई लडाई होला जस्तो लाग्दैलागेन । उ कत्तीपनि संकित भएन । जरासन्ध लडाईको लागी तयार भयो । राजमुकुट उतारेर कवच पहिरी, लङ्गौंटी लगाई, रौंहरू कसेर बाँधी, आफ्ना मान्यजनको खुट्टा छोई आशिर्बाद लिई मैदान मा उत्रियो ।[४]

जरासन्ध बध[सम्पादन गर्ने]

भगवान श्री कृष्णले जरासन्ध लाई “राजन् हामि तिन जना मध्येमा तपाईं कोसंग लड्न चाहनुहुन्छ ?” भनी प्रश्न गरे । जरासन्धले अर्जुन र श्रीकृष्ण दुब्लो भएकाले भिमसंग मात्रै लड्ने सकिने कुरा व्यक्त गरे । यता भीम लड्न तयार भए । जरासन्धले भिमलाई “महान् बलशाली संग लड्दा हारखाए पनि इज्जत कम हुँदैन ” भनि आफ्नो बलको घमण्ड गरे । दुबैजना मैदानमा उत्रीए । घमासान मल्लयुद्ध सुरु भयो । दर्शकहरूको पनी घुइचो लाग्यो । कहिले जरासन्ध भीमलाई आच्छु–आच्छु पार्थे भने कहिले भीम जरासन्ध लाइ पछार्थे । साँझ सम्म पनि लडाईको टुङ्गो नलागे पछि जरासन्धलाई शंका लाग्यो यी मसंग लड्न आएका कुनै ब्राह्मणहरू नभएर बिरहरू हुन् । युद्ध चलिनै रह्यो । चौंधौं दिनमा जरासन्ध अलि थाकेका जस्ता देखिए । भगवान श्री कृष्णले यो चालपाए पछि भिमसेनलाई हौस्याउदै भन्नुभयो “हे भिम युद्घमा अलि थकित देखिनु भनेको मृत्यु लाई निम्त्याउनुहो , मल्लयुद्धमा बल मात्रै होइन बुद्धिको प्रयोग पनि उत्तीकै आवश्यक हुन्छ ”भनि सम्झाए । भगवान श्री कृष्णको भनाई भिमसेनले बुझे । उनले आफ्नो शक्ती बढाए । भगवान श्री कृष्णले एउटा परालको त्यान्द्रो लिएर भिमसेनलाई देखाई च्यातेर फाले । यो संकेत भिमसेनले बुझे । यसको अर्थ जरासन्धलाई लडाएर तिघ्रा च्यात्नु थियो । तर जरासन्ध लाई लडाएर तिघ्रा च्यात्नु भनेको त्यति सहज थिएन । उ पनि कम्तिको बलवान थिएन । बिस्तारै–बिस्तारै भिमसेनले जरासन्ध लाई थकाउदै लगे । उ गलिसके पछि उसलाई भीमले भुईमा उठ्नै नसक्नेगरी जोरले पछारे । त्यसै अवस्थाको मौका छोपि भिमसेनले उसको एउटा खुट्टा आफ्नो खुट्टाले टेकि एउटा खुट्टा दुबैहातले पक्री उसको शरिर लाई तलबाट च्यातेर जरासन्धको शरीर लाई दुई चिरामा विभाजन गरे । मृत शरीरका ति चिराहरू धैरै बेरसम्म पनि काटिएको सर्प जस्तै सजिव रहेकाले भगवान श्री कृष्णको आज्ञानुसार महाबलि भिमसेनले दाहिने तर्फको चिरा हिमालयतिर उत्तर दिशामा र बायाँ तर्फको चिरा दक्षिण दिशामा मा आफ्नो सम्पूर्ण शक्ती लगाएर फ्याके । दक्षिण तिरको चिरा कहाँ पर्यो त्यो थाहा भएन , तर उत्तरतिर फालिएको चिरा यसै जोरायल क्षेत्रमा पर्न गएको स्कन्द पुराणको मानस खण्डमा उल्लेख गरीएको छ । त्यो चिरा हेर्न भनि भगवान श्री कृष्ण पनि यहाँ आएका थिए । फर्किने बेलामा उनले यहाँ का केहि शिलाहरूमा आफ्ना खुट्टाको छाप छोडेर जानु गएका थिए । जुन हालसम्म पनि देख्न सकिन्छ । जरासन्धको मृत्यु पछि सबै बन्दी राजाहरूलाई जेल मुक्त गरियो । सबैले भगवान श्री कृष्ण कै भक्त बनी उनकै इच्छा अनुसार चल्ने बचन दिए । भगवान श्री कृष्णले सबै राजाहरूलाई महाराज युधिष्ठिरको राजसुय यज्ञको लागी सहयोग गर्न अनुरोध गरे । सबैले उनको आज्ञा सहर्श स्वीकार गरे । यसै अवसरमा जरासन्धका पुत्र सहदेब उपहार लिएर भगवान श्री कृष्णलाई भेट्न आए । उनको उपहार पनि स्वीकार गरियो । उनलाई हस्तिनापुर राज्यको अधिनमा रहने गरी मगधदेशको नयाँ राजा बनाइयो ।[५]

पाण्डवहरूको वनवास र जोरायल क्षेत्रमा प्रवेश[सम्पादन गर्ने]

कालान्तरमा पाण्डवहरू वनवासको क्रममा यसै जोरायलको उत्तर दिशामा पर्ने तेलेकोलेकमा आए । जसलाइ पुराणहरूमा यज्ञ पर्वत भनिएको छ । जरासन्धको शरिरको चीरा लाइ भगवान श्री कृष्णले आफ्नो खुट्टाले छोएर पत्थर बनाइ दिनु भएको थियो भन्ने आसयको श्लोक स्कन्द पुराणको मानसखण्डमा छ । डोटी जिल्लाको जोरायल क्षेत्रमा पर्ने सरस्वति नगर गा.वि.स. ५ चनकट्टे भन्ने बजारमा पुगेपछि बजारको शिरानिमा एउटा लगभग १० टनको ठोश ढुङ्गो छ ,। त्यो ढुङ्गो लाइ महाबलि भिमसेनले तरवार लिई आफ्नो सम्पूर्ण शक्ती लगाएर त्यो पुरै ढुङ्गा लाई एकै प्रहारमा दुई टुक्रा पारेका हुन् भनेर यहाँको जन जिब्रो बाट सुन्न सकिन्छ ।[६] त्यसै शिलालाइ भिमले काटेको हुनाले भिमछेदन शिला भनेर यहाँका सबै स्थानीयहरूले चीन्दछन् । यसको विस्तृत वर्णन तल गरीएको छ । (यो ऐतिहासिक ढुङ्गा अझै पनि विद्यमान छ । यो शिला चक्कुले काव्रो लाइ एकैचोटमा छिनालेकोे जस्तो देखिन्छ । सडक निर्माणले गर्दा माथिबाट माटो पर्न गई केहि ढाकिएको थियो तर यसक्षेत्रका निर्वाचित सभासद माननिय प्रेम आलेले आफ्नो संसदिय कोशबाट यसढुङ्गाको संरक्षणार्थ केहि रकम आ.व.०७२ मा विनियोजित गरेकाले यो ऐतिहासिक ढुङ्गाको संरक्षणमा ठुलो टेवा पुगेको छ ।) कर्नाशा र गोमति नदीको संगम समैज भन्ने ठाउँमामा राक्षस जरासन्धको अर्ध शरिरको चिरा परेको थियो । त्यसै दिन देखि यहाँको जनमानसमा जरासन्ध काटिएको ठाउँ समैजि दोभान देखि उसको रक्त बगेर अपवित्र भएको मानिएको क्षेत्र ऐ.लक्ष्मीनगर गा.वि.स.नकु गाँउ सम्मको कर्नासा नदीको पानि यहाँका स्थानीयहरूले कुनै पनि शुभकाममस स्नान, तर्पण इत्यादीमा प्रयोग गर्दैनन् । कहाँसम्म भने दिपायल सडक खुल्नु भन्दा अगाडि बझाङ,जुम्ला, अछाम,र दिपायल तिर जाने बटुवाहरू पनि यस नदिको पानि पिउँन त परै जाओस् खुट्टा डुवाउन पनि मन गर्दैनथे भनेर बुढा–पाकाहरू भन्ने गर्दछन् । [७]

जोरायल क्षेत्रको बारेमा पौराणिक वर्णन[सम्पादन गर्ने]

नेपाल अधिराज्यको डोटी जिल्ला भित्र पर्ने विषेश पौराणिक महत्व बोकेका पर्वतहरू मध्ये फलाद्रि पर्वत पनि एक हो । (यसको क्षेत्र भनेको डोटी जिल्लाको घण्टेश्वर गा.वि.स. गैरा बजारदेखी कैलाली जिल्लाको सहजपुर गा.वि.स. गोदाबरी नदीको उद्गम क्षेत्र माथिको शिखर सम्म हो) यस पर्वतका विषयमा स्कन्द पुराण अन्तरगत मानसखण्डको १५७ र १५८ औं अध्यायमा विस्तृत व्याख्या गरिएको छ । [८] स्कन्दपुराण अन्तरगत मानसखण्डको १५७ औं अध्यायमा लेखिएको छ :-

ऋषय ऊचु :-
घण्टापर्वतसंलग्नो यज्ञाद्रिर्यस्त्वयेरितः ।
तस्मिन्क्षेत्राणि पुण्यानि कानि सन्ति तपोधन ।।१।।
तत्र के पर्वता लग्नाः सन्ति पुण्यास्तपोधन ।
का नद्यः कानि पुण्यानि लिङ्गानि वद विस्तरात् ।।२।।[९]

सौनकादि ऋषिहूले वेदव्यासलाई प्रश्न गरे :- हे तपोधन ! हजुरले घण्टा पर्वत (घण्टेश्वर धुरा) सित जोडिएको यज्ञ पर्वत (चौडेथल ,जगत्तडी) का बारेमा हामीलाई बताउनु भयो । त्यो पर्वत मा अरु पवित्र ठाऊँ के–के छन्, त्यस संग संलग्न अरु पवित्र कुन–कुन पर्वत नदी र शिव लिङ्गहरू छन् तिनिहरु सबैको विस्तारले वर्णन गरिदिनु हवस् । (१–२ ) डोटी र डडेलधुरा जिल्लाको सीमानामा पर्ने धनगढी डडेलधुरा राजमार्गको हगुल्टेखान देखि उत्तरपूर्व माथि उकालो हिडेर लगभग १ घण्टामा पुगिने ठाउँमा घण्टेश्वर देवताको प्राचीन मन्दिर छ । महर्षि वेदव्यासले यस पर्वतका बिषयमा स्कन्दपुराण अन्तरगत मानसखण्डको १५७ र १५८ औं अध्यायमा विस्तृत रुपमा उल्लेख गरेका छन् । भगवान वेदव्याशले नै यस पर्वतमा घण्टाकर्ण देवता विराजमान छन् भनि यसपर्वतलाइ घण्टाकर्ण पर्वत नामाकरण गरेका थिए । २०१४ सालमा राजा श्री ५ महेन्द्र आफ्नो सवारीको सिलसिलामा यस स्थानबाट भएर डडेलधुरा जाँदै गर्दा यो शिखरमा पुगेपछि उनलाइ अद्भुत र दिव्य अनुभव भयो । त्यसपछि राजा महेन्द्रले स्थानीय जानकार भक्त करनसिंह बम लाइ बोलाउन लगाई करनसिंह बम संग श्रीघण्टेश्वरको विषयमा आवश्यक सोधपुछ गरेका थिए । त्यसै दिन देखि राजा महेन्द्रले घण्टेश्वर देवताकोे नित्यपूजा गर्नु भनि हुकुम दिदै नेपाल सरकारबाट दैनिक रु १/– प्राप्त हुने व्यवस्था मिलाएका थिए । जो हाल सम्म समय सापेक्ष केही बृद्धि भई निरन्तर रहि आएको छ । हालको मन्दिर बन्नु अघि त्यहाँ कलात्मक ढुङ्गाहरू बाट बनेको माण्डौं थियो । तिनै माण्डौका ढुङ्गाहरू बाट २०२४ सालमा हालको मन्दिर बनाइएको थियो ।

व्यास उवाच :-
घण्टापर्वतसंलग्नो यःपुण्यो यज्ञपर्वतः ।
तस्मात्तु पूर्वभागे वै पुण्यो बन्धूकपर्वतः।।३।।
तस्मिन् पुण्ये महादेवी स्थाने स्थाने प्रपूज्यते ।
तस्मात्तु भार्गवी नामा भार्गवाश्रमसम्भवा ।।४।।
सम्भूता सरयूं पुण्यां सङ्गता मुनिसत्तमाः।
तां स्नात्वा च मनुजः कविवज्जायते भुवि ।।५।।[१०]

व्यासजी भन्नुहुन्छ :- हे तपस्वीहरु हो ! घण्टापर्वत (घण्टेश्वर धुरा) संगै जोडिएको यज्ञ पर्वतका पूर्वभागमा पुण्यदायी बन्धूक पर्वत छ । त्यस पर्वतका प्रत्यक स्थान–स्थानमा महादेवीको पूजा हुन्छ । जो ज्यादै पुण्यशिल हुनुहुन्छ । त्याहाँ भार्गवाश्रम बाट सुरु भएर बग्ने भागर्वी नदी पनि छिन् । यी पुण्यदायिक नदी पछि गएर सरयूँ नदीमा गएर मिल्दछन् । (यस क्षेत्रका अधिकांश नदीहरू कर्णाली नदीमा गएर मिल्दछन् । कर्णाली नदीलाइ भारतमा घाँघरा नामले चिनिन्छ । यी घाँघरा नदी अयोध्यामा गएर सरयुमा मिसिन्छन् । त्यसमा स्नान गर्नाले मानव कवि का समान प्रतिभा सम्पन्न हुन्छ । (३–४–५)

तत्मात्सङ्गमसम्भूता सूत्रा नामास्ति वै सरित् ।
तत्र मध्ये सुरवरं शिलायां पूजयेद् गणम् ।।६।।
तत्र यज्ञगिरिः पुण्यो मध्ये यज्ञं प्रजापतिः ।
कृत्वा सन्तर्पयामास सप्तर्षीन्सप्तमानवान् ।।७।।

त्यसै भार्गर्वी नदीका संगममा अर्की सुत्रा नाउँकी नदी निक्लेकी छन् । त्यस नदीका मध्य शिलाका उध्र्व भागमा देवगणहरूको पूजन विहित छ । त्यस पवित्र यज्ञ पर्वतमा प्रजापतीले सप्तर्षि सहित भएर लामो समय सम्म यज्ञ गरेका थिए । (६–७) (डोटी जिल्लाको सरस्वतिनगर गा.वि.स. नौकुडा, गडाखर्क, सेगुनी र अल्याडी गाउँ देखी माथि महाभारत पर्वतको विस्तृत भूभाग जसलाई स्थानीय भाषामा चौडेथल ,जगत्तडी भनिन्छ । त्यहाँ हज्जारौ बर्ष पहिले बनाइएको राजमार्ग को अवशेष, अद्भुत शिलाहरू, तरवार इत्यादि अझै पनि देख्न सकिन्छ यसै क्षेत्र लाइ यज्ञपर्वत भनिएको हो )

तत्रैव यूपा दृश्यन्ते प्रजापतिविरोपिताः ।
यथा जलमयं पुण्यं स्थलं तत्र तपोधनाः ।।८।।
तत्र स्नात्वा मृता वापि यान्ति विष्णोः परं पदम् ।
ततस्तस्मानमहाभागाः पश्चिमे फलपर्वतः ।।९।।

हे तपोधन ! त्यति बेला प्रजापति ब्रह्माजी द्वारा बनाएका यज्ञ स्तम्भहरू आज सम्म पनि देख्न सकिन्छ । त्यसै ठाउँमा पवित्र जलाशय पनि छ । (यसको अर्थ प्रसिद्ध गन्यापताल पनि हुनसक्दछ जो, यसै क्षेत्र भित्रपर्दछ) त्यसमा स्नान गर्यो भने मृत्यु पछि विष्णु लोक प्राप्त हुन्छ । हे महाभाग ! त्यसै स्थानका पश्चिम पट्टि फल नामको पर्वत छ । ( डोटी जिल्लाको छतिवन गा.वि.स.फल्टुडे बजार देखी कैलाली जिल्लाको सहजपुर गा.वि.स.बुडेतोला सम्मको क्षेत्र र विषेस गरेर गोदावरी नदीको उद्गम क्षेत्र लाइ फलपर्वत भनिएको हो ) (८–९)

यत्र कृष्णस्य पादाङ्कौं शिलायां विद्येते शुभौ ।
यौ दृष्ट्वा भीमसेनस्य यशो गायन्ति मानवाः ।।१०।।

यहाँ एक ढुङ्गामा श्री कृष्ण भगवानका पाउको छाप पनि छ । त्यो शिलाको दर्शन गरेर मानिसहरू भीमसेनको गुणगान गाउँने गर्दछन् । (१०) (यो डोटी जिल्लाको लक्ष्मीनगर गा.वि.स.बाँजीलेकका खान भन्दा दक्षिण तर्फ तल र कैलाली जिल्लाको सहजपुर गा.वि.स. खसरेगाँउ भन्दा माथि सत्चोरा भन्ने जंगलको मूल बाटोमा पर्दछ । फल्टुडे बजार नजीक किला लौडा भन्ने ठाउँमा पनि अर्को पाद चिन्ह छ । जसलाइ विष्णु पादुका भनेर यहाँका सबै स्थानीयहरूले चिन्दछन् )

ऋषय ऊचु :-
कथं हि भीमसेनस्य हरेश्चरणपङ्कजौ ।
दृष्ट्वा भूमण्डले विप्राः कीर्ति कुवंन्ति मानवाः।।११।।

सौनकादि ऋषिहरू फेरी प्रश्न गर्छन् :- हे विप्रवर ! भगवान कृष्णका पाऊका छापको दर्शन गरी मानिसहरू किन भीमसेनको गुणगान गाउने गर्दछन् ? (११)

व्यास उवाच :-
युधिष्ठिरस्य राजर्षे राजसूय उपस्थिते ।
जराऽसुरं तु राजानं ज्ञात्वा राजगृहेश्वरम् ।।१२।।
कृष्णश्च भीमसेनश्च तथान्यैर्बलिभिः सह ।
योद्धुं तेऽतिथिरुपेण ययुर्मागधपालिताम् ।।१३।।

व्यासजी भन्छन् :- ऋषिवर हो ! युधिष्ठिरले शुभारम्भ गर्नै लागेको राजसूय यज्ञमा जरासुर वा (जरासन्ध) आउने चाल पाई भगवान श्री कृष्ण तुरन्त भीमसेन र अन्य वलवान पुरुषहरूका साथ युद्धको उद्देश्य राखि राक्षस जरासन्धको मगध राज्यमा अतिथिका रुपमा प्रवेश गरे । (१२–१३) ( यहाँ स्मरणीय के छ भने माथी उल्लेखित यज्ञको तयारी हुँदा सम्म भगवान श्रीकृृष्णले कंसको बध गरी सकेका थिए । कंस जरासंधको ज्वाँई थियो । त्यसकारण जरासंधको भगवान श्री कृष्णसंग परमवैर थियो । जरासंधको बध नगरी त्यो यज्ञ सहजरुपमा सम्पन्न हुन सक्दैनथ्यो । शिवजी द्वारा बरदान प्राप्त जरासंध लाइ मार्न त्यती सहज पनि थिएन । जरासंधकै कारण भगवान श्री कृष्णले मथुरा छोडी हजारौ किलोमिटर दूर द्वारका जानु परेको र पछि आजीवन त्यही बस्नु परेको थियो ।

नगरीं मगधेशस्य गत्वा युद्धं ययाचिरे ।
भीमसेनं पुरस्कृत्य पाण्डवं भीमविक्रमम् ।।१४।।
ततस्तु प्रददौ राजा भीमसेनाय भीमवत् ।
गदायुद्धं महाघोरं भीरुणां भयवर्धनम् ।।१५।।

मगधेसको नगरीमा युद्धको उद्देश्य राखी प्रवेस गरीसके पछि उनले पाँचभाई पाण्डव मध्येका अति बलवान भीमसेनलाई अगाडि लगाएर गदायुद्धका लागि हौसला भरे । (भीमसेनका हातमा दसहजार हात्ती बराबरको बल थियो भनेर महाभारत मा उल्लेख गरीएको छ ) त्यहाँका भीमसेनका जस्तै शरिर भएका राजा जरासन्धले युद्धको याचना स्वीकार गरे पछि उनको भीमसेन संग महाघोर गदायुद्ध सुरु भयो, जो डरपोकहरूका लागी अत्यन्तै भयकारक थियो । (१४–१५)

स तेन युयुधा विप्रा भीमो भीमपराक्रमः
नियुद्धकुशलो युद्धे नानागतिविशारद ।।१६।।
युध्यमानं ततो भीमं प्रोवाच भगवान् हरिः ।
दारयित्वाऽस्य देहं वै श्रेयस्ते सम्भविष्यति ।।१७।।

हे बिप्रवर ! गदायुद्धमा विशारद, मल्ल युद्धको सबै रहस्य जान्ने, महापराक्रमी भीमसेनले सयकडौ दाऊँ–पेच लगाउदै जरासंधसंग गदायुद्ध गरे, युद्धमा डटी रहेका भीमसित भगवान कृष्णले राक्षस जरासन्धको शरीर चिर्न सक्यो भने धैरै फाइदा पुग्ने कुरा बताए पछि (१६–१७)

दारयित्वा न चैवात्र कर्तव्यं चिन्तयन्त्वयम् ।
प्रहृष्य भीमसेनस्तु प्रतिगृह्य च तद्वचः।।१८।।
युध्यतस्तस्य देहं वै विदार्य च ततो युधि ।
भीमो हिमाद्रौ चिक्षेप गदावेगं विधाय वै ।।१९।।

भगवान श्री कृष्णको वचनलाई शिरोधार्य गरी, भीमले खुसी हुँदै लड्दा लड्दै सावधानीका साथ अकस्मात जरासंधको पुरै शरीर चिरेर दुइ चिरा बनाई (दाहिने तर्फको चिरा) गदावेगले हिमालय तिर मिल्काइ दिए । (१८–१९)

ततो देवाः सगन्धर्वाः साधु साध्विति तं ब्रुवन् ।
ऊचुहिमाद्रौ भीमेन जरासन्धस्य दक्षिणम् ।।२०।।
समुत्पाट्य विनिक्षिप्तं देहं सर्वे समागताः ।
तं न श्रद्दधिरे लोकाः कथितं दैवतैरपि ।।२१।।

त्यसपछि देवता, गन्धर्व,आदिले महाबली भीमसेनलाइ धन्य–धन्य भन्दै भीमसेनले त्यस जरासन्ध राक्षसको दाहिना अंग चिरे भनेर प्रचार–प्रसार गरे । त्यो चिरिएको शरिरको चीरा देखे पछि देवगणहरूले वाह–वाही गरेपनि अन्य जन मानिसहरूलाई जरासंध बध भएको पूर्ण विश्वास भएन । (२०–२१) (किनभने जरासंध जन्मदा कारणबस दुई अलग–अलग रानीहरूमा दुई चिरामा जन्मेको थियो । जन्मदाका ती दुबै चिराहरू काम नलाग्ने भनी ठानेर राजाले फ्ँयाकिदिए पछि जरा नामकी राक्षसीले ती दुबै चिराहरू आपसमा जोडी जरासंधलाई जीवित गराइ दिएकी थिइन् । त्यसैले तिनै जरा नामगरेकी राक्षसिको नाम बाट उसको नाम जरासंध रहन गयो । भीमसेन संगको लडाईको क्रममा भीमले कैयौं पटक त्यसको शरीर लाई चिरेर अलग–अलग गरे पनि त्यसका ती दुबै चिराहरू फेरि आफै नजिक आई आपसमा मिल्दथे र जरासंध पुनः जिवीत हुन्थ्यो । अन्तमा भगवान श्री कृष्णको आज्ञा अनुसार भीमले दायाँ पट्टीको चीरा बायाँ पट्टी र बायाँ पट्टीको चिरा दायाँ पट्टी जोरले घुमाएर हजारौ किलोमिटर दूर फ्याँकिदिए पछि उसका शरीरका चिराहरू फेरी नजीक आइ आपसमा जोडिन सकेनन् । तर सर्वसाधारणहरूलाई भने फेरी जोडिएर जीवित हुने हो की भन्ने शंका लागिरह्यो ।)

जानन्नपि महाभागा हरिः संसारभावविद्
कौतूहलेन महता हिमवन्तं गिरिं ययौ ।।२२।।
वज्रन्मध्याह्समये स्नात्वा गोदावरी शुभाम् ।
फलाद्रिप्रान्तसम्भुतां सिद्धगन्धर्वसेविताम ।।२३।।

सारा संसारका अन्तर्यामी भगवान श्रीकृष्णले यो कुरा थाहा पाएपछि उनी पनि कौतुहल वस त्यो चिरा मिल्काइएको स्थान हिमालय पर्वत तिर आए । उनले दोपहरका बेला पवित्र फलाद्री पर्वतका छेउ बाट भएर बग्ने सिद्ध – गन्धर्व बाट सेवित गोदावरी नदीमा स्नान गरे । (२२–२३)

तस्या नद्या महाभागाः स वामे यदुनन्दनः ।
देवीं स्वर्णाख्यरौप्याख्यां व्रर्जेस्तत्र ददर्श ह ।।२४।।
तत्र स्वर्णमयीं देवीं सम्भाव्य जगदीश्वरः
ब्रजन्ददर्श कालिन्दीं समाहूतां महर्षिभिः।।२५।।

यदुनन्दन श्री कृष्ण भगवानले त्यस नदीका बाँया पट्टिका भागमा स्वर्णा र रौप्या नाम गरेकी देवीलाई देख्नु भयो । त्यहाँ श्रीकृष्ण भगवानले ती स्वर्णको जस्तै आभा भएकी स्वर्णेश्वरी देवीको पूजा समेत गर्नु भयो । फेरी महर्षि हरू बाट बोलाईएकी कालिन्दी नदी (कमलानदी) नदीको पनि दर्शन गर्नु भयोे । (२४–२५)

फलपर्वतसम्भूतां सिद्धगन्धर्वसेविताम् ।
तत्र सिद्धगणाः सर्वे तस्यास्टनिवासिनः ।।२६।।
शङ्खचक्रगदापाणिं ददृशुयंदुनन्दनम् ।
समर्चितंः सिद्धगणैर्भगवान् जगदीश्वरः
प्रोवाव सिद्धान् धर्मज्ञःकालिन्दीतटसंस्थिातान् ।।२७।।

फलपर्वतबाट उत्पन्न भएकी, सिद्घ–गन्धर्वहरू बाट सेवित, ती कालिन्दी नदीका तटमा निवाश गर्ने सबै सिद्धगणहरूले भगवान कृष्णलाइ आएको देखे पछि उहाँको दर्शन गर्दै शङ्ख,चक्र, गदा तथा पद्म धारीे उहाँको दिव्य विष्णु स्वरुपको पूजा गरेका थिए । तिनीहरू बाट पूजित भएपछि धर्मज्ञ भगवान श्री कृष्णले कालिन्दीका तटमा रहेका सबै सिद्धगणहरू सित वार्तालाप गर्नुभयो । (२६–२७)

श्रीकृष्ण उवाच :-
किमप्यत्र महाच्चित्रं भवद्भिः कारणं शुभम् ।
दृष्टं वा किं न दृष्टं हि तद् ब्रुवन्तु तपोधनाः ।।२८।।

भगवान श्री कृष्ण भन्नुहुन्छ – हे ! तपस्वीजनहरु ! तपाईंहरुले यहाँ केही आश्चर्य जनक घटना घटेको अनुभव गर्नु भयो कि भएन ? केही विचित्र दृष्य देखेको वा नदेखेको भए भन्नुहोस् ? (२८)

सिद्धा उचु :-
न चास्माभिर्महच्चित्रं प्रदुष्टं यदुनन्दन ।
एकमेव महच्चित्रं दृष्टमत्र सुशोभनम् ।।२९।।
यमाश्रित्य वयं सर्वे तिष्ठामोऽत्र नदीं शुभाम् ।
अस्या मूले महादेवः फलाद्रेः कन्दरां शुभाम् ।।३०।।

सिद्धगणहरूले उत्तर दिए :- हे यदुनन्दन ! हामीले यहाँ त्यस्तो केही विचित्र घटना त देखेका छैनौं । हामी यो पवित्र नदीका किनारमा बस्नुको एउटै कारण के हो भने , यो नदीका मूलमा अवस्थित फलाद्री पर्वतको कन्दरामा (गोदावरी नदीको उद्गमस्थान माथिको पर्वतमा) साक्षात महादेव शिव विराजमान हुनुहुन्छ । (२९–३०)

समाश्रित्य महच्चित्रं करोति जगदीश्वरः ।
करोति ताण्डव नित्यं पश्यन्ति त्रिदिवालयाः ।।३१।।
इदमेव महच्चित्रं प्रदृष्टं यदुनन्दन ।
द्वितीयं ये समर्चन्ति स्नात्वा चैतां सरिद्वराम् ।।३२।।

हे जगदीश्वर कृष्ण ! पहिलो विचित्रता यो छ कि उहाँ ताण्डव नृत्य गर्नुहुन्छ । उहाँको त्यो नृत्य यहाँका सबै सिद्धहरू र देवगणले देख्न सक्दछन् । त्यही आश्चर्य जनक कुरा हामीले यहाँ देखेका छौं । हे यदुनन्दन ! दोश्रो विषेशता यो छ कि, यो नदीमा स्नान गरी जो शिव पूजा गर्दछन् ....(३१–३२)

भूत्वा ताण्डवनीतिज्ञा यान्ति शिवपुरं प्रति ।
तृतीयं च महच्चित्रं दृष्टमत्र जगत्पते ।।३३।।
जरासन्धस्य देहं वै भीमेन च विदारितम् ।
यान्तं फलाद्रिमुल्लङ्ध्य प्रसादात्तव यादव ।।३४।।

तिनीहरू पनि ताण्डव नृत्यमा निपुण हुन्छन् र आखिरमा शिवलोकमा प्रतिष्ठित हुन्छन् । हे जगत्पते ! तेश्रो ठूलो आश्चर्य यो छ की यहाँ बाट हामीले हजुरका कृपाले महाबली भीमसेन द्वारा च्यातिएर फालिएको जरासन्ध कोे शरीरको एउटा चिरा लाइ यसै फलाद्रि पर्वत माथी बाट नाघेर गएको देखेका छौं । (३३–३४)

श्रीकृष्ण उवाचः–
फलाद्रिरिति यः ख्यातो भवद्भिः पर्वतोत्तमः।
कथं पर्वतमुख्योऽस्ति कथ्यतां तत्तपोधनाः।।३५।।

यो सुनी श्रीकृष्ण फेरी प्रश्न गर्नु हुन्छ – हे तपोधनः ! तपाइहरूले जुन फलाद्रि पर्वतका विषयमा बताउनुभयो त्यहाँ अरु के–के छ ? (३५)

सिद्धा ऊचुः–
योऽस्मानवति वैकुण्ठ घण्टापर्वतसम्भवः ।
गुहासु चातिरम्यासु सुरसिद्धनिषेवितः।।३६।।
स एष फलसंज्ञो वै तवाग्रे मधुसुदन ।
पर्वतोऽस्ति सुविस्तीर्णः पश्यतां यदि रोचते ।।३७

सिद्धगणहरू उत्तर दिन्छन् :- हे बैकुण्ठबासी भगवान श्री कृष्ण ! घण्टापर्वत संगै जोडिएकोे जो फलाद्री पर्वत हाम्रो रक्षा गरिरहेको छ , यसमा देवता र सिद्धहररू बाट सेवित धेरै राम्रा गुफाहरू पनि छन् । त्यो सुविस्तृत फलाद्रि पर्वत तपाईंकै सामुन्नेमा विद्यमान छ । हे मधुसूदन ! यदि हजुरको इच्छा भए यसलाइ विस्तारले हेरी वक्सियोस् (३६–३७) यो फलाद्री पर्बतको गोदावरी नदीको उद्गम क्षेत्र आसपासमा बसेका स्थानीयहरू भन्दछन्:- “योदुर्गम र निर्जन क्षेत्रमा बर्षमा कैयौँ पटक बिषेस गरेर नवरात्रीको समयमा राति तिर पञ्चेबाजा बजेको आवाज आउँछ । जसलाइ यहाँको स्थानीय भाषामा देवताकी घाई भनिन्छ । राती तिर आगोका राँकाहरू बलेको जस्तो देखिनु , विस्फोट इत्यादीको आवाज आउँनु पनि भइ रहन्छन् ।” यो अत्यन्तै पवित्र र रहस्यमय क्षत्रमा त्यहाँ निवास गर्ने सिद्घ वा देवताको आज्ञा विना सर्बसाधारणले जानु हुँदैन भन्ने भनाइ पनि छ । जबरजस्ती गए त्यस्को नकारात्मक प्रभाव पर्ने स्थानीय जनजिब्रो बाट सुन्न सकिन्छ । यो क्षेत्र सिद्धहरू र देवताहरूको लागी मात्रै गम्य हो । यहाँ खप्तड बाबायोगी नरहरिनाथ २ दिन सम्म बसेर आउनु भएकोे थियो भनेर स्थानीयहरू बताउछन् ।

व्यास उवाच :-
तथेत्युक्त्वा स भगवान् आरुरोहाद्रिमुत्तम् ।
सिद्धैः सह महापुण्यैः कृष्णो दारुकसारथिः ।।३८।।
विलङ्ध्य फलाद्रिं तं तस्याभ्यासे तपोधनः।
जरासन्धार्धंदेहं हि पतितं प्रददर्श ह ।।३९।।

व्यासजी भन्नुहुन्छ :- हे तपोधन ! ती सिद्धहरूकस सबै कुराहरू सुनिसके पछि दारुक सारथी भएका भगवान श्री कृष्ण ‘तथास्तु’ भन्दै ती सबै सिद्द्धहरूका साथ फलाद्रि पर्वतको भ्रमणका लागि जानु भयो । त्यो फलाद्री पर्वत पार गरिसके पछि उहाँले फलाद्रिपर्वत र यज्ञपर्वतका वीचमा राक्षस जरासन्धको ढलेकोे आधा शरिरको चिरा पनि देख्नु भयोे । (३८–३९)

फलाद्रि–यज्ञयोर्मध्ये दृष्ट्वा तं मधुसूदनः ।
देहार्ध तस्य नृपतेः पादलक्ष्मेण वै शिलाम् ।।४०।।
विधाय चिह्नितां तत्र इन्द्रप्रस्थं समाययौ ।
विसज्र्य सिद्धाँस्तत्रैव तत्रस्थानृषिसत्तमा ः।।४१।।

भगवान श्री कृष्णले फलाद्रीपर्वत र यज्ञपर्वका वीच त्यो जरासंधको ढलेको आधा शरीरको चिरा देखेर त्यसलाई आफ्नो खुट्टाले छोई योगबलले शिलामा परिवर्तन गरि दिनुभयो । अथवा भविष्यमा फेरी जरासंध जीवित हुने संम्भावना समाप्त गरिदिनु भयो । यसै शिला लाई कालान्तर पछि बाह्र बर्षे बनवासका क्रममा भ्रमण गर्दा–गर्दै यस क्षेत्रमा आएका भिमसेनले काटेको हुन सक्छ । तर त्यसको शास्त्रीय प्रमाण भने पाइदैन । स्थानीयजन जिब्रोमा भने यो शिलालाइ भिमछेदन शिला भनेर भनिदै आइएको छ । यो शिला डोटी जिल्लाको सरस्वतिनगर गा.वि.स. वडा नं ५ चन्कट्टे बजारको उत्तर तीर नजिकै छ । यसको वजन लगभग १० टन जति होला ।) फर्किने बेलामा देवता र सिद्धहरूको अनुनय–विनय लाई स्वीकार गर्दै त्यहीँ भगवान श्रीकृष्णले एक ढुङ्गामा आफ्ना पैतालाको छाप पनि लगाई दिनु भयो र इन्द्रप्रस्थ फर्किनु भयो । (४०–४१)

फलाद्रौ कृष्णदेवस्थ पद्भ्यां चिह्नविनिर्मिता ।
दृश्यतेऽद्यापि पुण्याख्या सुरसिद्धनिषेविता ।।४२।।
ततःपरं सिद्धगणस्तुष्टवुः पाण्डुनन्दनम् ।
यस्म प्रसादात्कृष्णस्य ददृश्चरणोत्तमौं ।।४३।।
यथा स्तुवन्ति मनुजा भीमसेनं महाबलम् ।
दृष्ट्वा कृष्णस्य चराणौ तथा सर्व मयोदितम् ।।४४।।
इति श्री स्कन्दपुराणेमानसखण्ड संहितायां फलपर्वतमाहात्म्ये सप्तपञ्चाशच्छततमोऽध्यायः

त्यही फलाद्रि पर्वतमा भगवान श्री कृष्णको चरणको छाप भएको पुण्यशिला आज पनि देख्न सकिन्छ । (यो डोटी जिल्लाको लक्ष्मीनगर गा.वि.स.बाँजीलेकका खान भन्दा दक्षिण तर्फ तल र कैलाली जिल्ला सहजपुर गा.वि.स.खसरेगाँउ भन्दा माथि सत्चोरा भन्ने जंगलको मूल बाटोमा पर्दछ । डोटी जिल्लाको फल्टुडे बजार नजिक किलालौडा भन्ने ठाउँमा पनि अर्को पादचिन्ह छ । जसलाइ विष्णु पादुका भनेर यहाँका सबै स्थानीयहरूले चिन्दछन् ) त्यस पछि सबै सिद्धगणहरूले पाण्डुनन्दन भीमको स्तुति गर्न थाल्नु भयो । जसका कारणले गर्दा साक्षात भगवान श्री कृष्ण यस ठाउँमा आउनु भयो र यो भूमिमा आफ्ना पवित्र पद चिन्ह छोडेर जानु भयो । उनकै (भीमकै) कृपाले नै ती सिद्धहरूले भगवानका पदकमलको दर्शन गर्न पाएका थिए । हे तपस्वीजन हो ! यस कारणले त्यहाँका मानिसहरू भीमसेनको गुणगान गर्ने गर्दछन् । भगवान कृष्णका चरण चिन्हको दर्शन भएको सबै कुरा मैलै तपाईंहरूलाई विस्तारले वर्णन गरें (४२–४४)

स्कन्दपुराण मानसखण्डको अध्याय १५८[सम्पादन गर्ने]

व्यास उवाच :-
तत्र ये कृष्णचरणौ समर्चन्ति शुभप्रदौ ।
दर्शनादेव लक्षाणां पातकानां विनाशकौ ।।१।।।
कुलानां कौटिमुत्तायं भुक्त्वा भोगान् यथेप्सितान् ।
प्राप्नुवन्ति महाभागाः श्वेतद्वीपपतेगृंहम् ।।२।।

व्यासजी भन्नुहुन्छ :- हे तपस्वीजन हो ! त्यो स्थानमा जो मानव असंख्य पापको नाश गरिदने श्री कृष्णका चरणको दर्शन गर्दछन् , तिनिहरू आफ्ना करोडौ कुुल सम्म लाई तारी आफ्नो अभीष्ट फल भोगी भगवान बिष्णुको लोक वैकुण्ठ प्राप्त गर्दछन् । (१–२)

यः कृष्णचरणौं दिव्यै फलाद्रौ गव्य पञ्चकैंः
जलैः शुद्धैश्च पुष्पैश्च समर्चति वरप्रदौ ।।३।।
तावत्तिष्ठति वैकुण्ठे यावदाहुतसंल्पवम् ।
ततो वीर्यवती नामा तेभ्यः पूर्वे तपोधनाः।।४।।

जो मान्छे फलाद्रि पर्वतमा प्रतिष्ठित भगवान कृष्णका चरणको बिष्णुपादुकाको पूजा पञ्चगव्य, शुद्धजल र फूलले गर्दछन् , तिनीहरू महाप्रलय पछि पनि बैकुुण्ठ धाममा आरामका साथ बस्न पाउँने छन् । हे तपोधन ! ती बिष्णुपादुका का पूर्व पट्टि विर्यवती नाम गरेकी नदी छन् । (३–४)

विद्यते च सरितायां स्नात्वा वै याति शाश्वतिम्।
जरासन्धस्योरुमध्ये ततो यज्ञाद्रिसम्भवा ।।५।।
विद्यते यज्ञगा नामा सर्व पापप्रणाशिनी ।
मूले तस्या विद्यातव्यं स्नानदानादिकं तथा ।।६।।

ती नदीमा स्नान गर्नाले मानव लाई सद्गति प्राप्त हुनेछ । जरासन्धका जाङ्का मध्यमा यज्ञ पर्वत बाट निस्किने यज्ञगा (गोमती गाड) नदी छ । यद्यपी त्यो नदी सबै प्रकारका पापहरू नाश गर्न सक्षम छ , तथापी त्यसको मूल तिर मात्रै स्नान–दान गर्नु विहित गरिएको छ । (यसको अर्थ सरस्वतिनगर गा.वि.स. वडा नं ४ आरा गाऊँ देखी ऐ. चन्कट्टे खेतको दोभान समैज सम्म मात्रै हुनसक्छ । ) (५–६)

ततस्तु न विघातव्यं स्नानं तस्यां तपोधनाः ।
कर्मनाशां यथा पोत्वा नरः पापं समश्नुते ।।७।।
तथा तस्योरुमध्ये वें तां स्नात्वा नात्र सयंशः ।
जरासन्धोरुमध्ये वै जरां देवी प्रपूजयेत् ।।८।। [११]

यज्ञगा गोमती गाड नदीका केही अरु भागमा समेत स्नान गर्नु निषेध गरीएको छ । कर्मनाशा नदीको पानी पिउनु भनेको पाप पिउनु बराबर हो । ( यहाँको स्थानीय मान्यता अनुसार डोटी जिल्लाको सरस्वती नगर गा.वि.स. वार्ड नं ५ चन्कट्टे बजार भन्दा तल समैजी दोभान देखी कर्मनासा नदी सुरु भएर त्यसको क्षेत्र ऐ.लक्ष्मीनगर गा.वि.स. स्थित काफली गाउँको पारी पट्टी भीमसेनले पीठो मुछेर रोटी पकाएको ढुङ्गा सम्म रहन्छ । यो पिठो मुछेको ढुङ्गा अझै पनि विद्यमान छ । जुन प्रकारले कर्मनाशा (कर्नासा) नदीको जल पिउनु निषेध गरिएको छ , त्यसै किसिमले जरासन्धका जाँघका मध्यमा रहेकी ती नदीमा स्नान गर्नाले पनि पाप लाग्दछ । तर जरासन्धका जंघाका मध्यमा रहेकी ती नदिमा स्नान गरी जरादेवी (जला देवी) को पूजा गर्नाले पाप दूर हुनेछ । (७–८) चित्रमा देखिने दायाँ पट्टीकी नदी यज्ञगा वा यज्ञवती हुन् भने बायाँ पट्टी चनकट्टे बजार बाट निक्लीएर चण्डेश्वर शिवमन्दिर नजिकै भएर बगिरहेकी नदी कर्मनासा हुन् । ई दुबै नदिको संगम वा समैज पनि यस चित्रमा देख्न सकिन्छ । त्यहि संगम भन्दा तलतिरको पानी स्नान ,पान इत्यादिमा पूर्ण बर्जित छ । भिनसेनले काटेको भनिएको ढुङ्गा जसको चित्र यसै लेखमा माथि दिइएको छ त्यो पनि यसै चित्रमा देखिने यज्ञगा नदि ( स्थानीय भाषामा गोमतिगाडको सानो तलाउ जस्तै देखिने कुलाको बाँध भन्दा ठिक माथि सडकतिर पर्दछ ।

जरा–यज्ञवती मध्ये श्मशाननिलयं शुभम् ।
तस्यास्तु स्नानजं पापं तं समच्र्य प्रणश्यति ।।९।।
फलाद्रि–यज्ञयोः पुण्यं महात्म्यं कथितं मया ।
यःश्रृणोति समग्र हि प्राप्नोति परमां गतिम् ।।१०।।
इति श्री स्कन्दपुराणे मानसखण्ड संहितायां फलयज्ञादि माहात्म्येऽष्टपञ्चाशच्छततमोऽध्यायः

जरादेवी र यज्ञवती (यज्ञगा) नदीको मध्यमा जो शमशान छ, (आरा गाउँ नजिकै को बजगडी स्मशान) त्यो अत्यन्तै शुभ र मोक्षदायक छ । त्यसमा (मृतात्माहरूको दाहगरी सके पछि) स्नान गर्नाले निस्चित रुपमा पाप नास हुनेछ । ऋषिवर ! मैले फलद्रिपर्वत र यज्ञादिपर्वतको महात्म्य यहाँहरूलाइ सुनाए । जो यो माहात्म्य सुन्दछन र अरुहरूलाइ पनि सुनाउछन् तिनिहरू परमगति प्राप्त गर्नेछन् (९–१०)

जोरायलको नामाकरण सम्बन्धी अर्को वृत्तान्त[सम्पादन गर्ने]

एकातर्फ सदाबहार वनका–अग्ला महाभारत,
अर्कातर्फ छ रम्य फाँट धरणी –भू–भाग विस्तारित–
बग्छिन् कल्कल ‘कर्मनास सरिता’ –क्या नागबेली सरी,
जोरायेल छ ऐतिहासिक थलो –भू–स्वर्ग जस्तो पुरी ।

एक अर्को किंवदन्ती अनुसार अघि द्वापर युगको अन्त एवं कलि युगको आरम्भमा वर्तमान डोटी जिल्लाको सरस्वतीनगर एवं लक्ष्मीनगर गा.वि.स.कोसमतल भू–परिधि भित्र रहेको यो जोरायल उपत्यका जलमग्न अवस्थामा रहेको थियो । अतः यहाँको भू–धरातलमा कुनै जनवस्ती थिएन ,केही भएको भए पनि यसको बेंसीमा नभएर यसको धरातलमा भन्दा अग्ला पर्वतको ओंच–खोंच र अज्ञात कन्दराहरूमा मात्र सीमीत थियो भन्ने जनश्रुति छ । कालान्तरमा १२ बर्षको वनबासकालमा विभिन्नस्थानको भूगोल भ्रमण गर्नेक्रममा पाण्डवहरू घुम्दैफिर्दै जोरायलको उत्तरी भागमा पर्ने चौडेथल महाभारत पर्वततिर आइपुग्दा जोरायललाई जलमग्न अवस्थामा देखे । परोपकारी र धर्मपरायण भावना भएका पाण्डवहरूलाई जोरायलको जलनिकास गरी यस ठाउँलाई वस्ती योग्य स्थान बनाइदिने मनसाय अनुसार जलनिकास मार्गको अनुन्धान गर्न उनिहरू यसठाउँको जलप्रवाह क्षेत्र बेत्थिखोला निकट रहेको नङ्गेउठी भन्ने डाँडा नजिक गए जहाँ दुइटा डाँडाहरू एकआपसमा केही फरक दुरीमा मिलेजस्ता देखिन्थे । सहजरूपमा एक डाँडाबाट अर्को डाँडामा जङ्घारबाट उफ्रेर पार गर्न सकिने भएकोले नै त्यसठाउँको नाम नङ्गेउठी भनिएको रहेछ । ती डाँडाहरूको धेरै माथिबाट पानी बग्दा जोरायलले सदियौं देखि जलमग्न अवस्थामा रहनु परेको परिणतिलाई हृदयंगम गरे । पाण्डव भ्राताहरू वीर–साहसी र शौर्यवान भएकोले त्यतिखेरका हतियार विशेषले आफ्नो बाहुबल द्वारा एकापसमा जोडीएका ती दुई डाँडाहरूको बीच भागलाई काटेर जलनिकास मार्ग बनाउन थाले । यो काम त्यहीं बसेर धेरै दिन सम्म उनीहरूले गरेर जलनिकासमार्ग बनाउन सफल भए । यसरी निकासमार्ग पाएर सदियौं देखि जम्मा भएर रहेको पानी बेगले बग्दै–बग्दै गर्दा जलमग्न जोरायल एक रिक्त एवं विस्तृत भूमिमा परिणत भयो । जोरायल क्षेत्रको उद्धारको निम्ति पाण्डवहरूले देखाएको वीरता–सौर्यता र साहसको यो नै पहिलो आयाम हो । स्मरण रहोस् जलमग्न जोरायलको जलनिकास मार्ग बनाउन दुई डाँडाहरू जोडीएर वार–पार गर्न सकिने त्यो ठाउँको पुरातन नामनै नङ्गयौठी हो जो हालमा लक्ष्मीनगर गा.वि.स. को भूगोल भित्र पर्दछ । क्रमागतमा–जलनिकास भइसके पछिको जोरायलको भूभागलाई क्रमशः स्वयंनिरीक्षण गर्ने क्रममा नङ्गयौठी देखि झण्डै ६/७ किलोमिटर उत्तरस्थित सिलङ्गीबाग भन्ने ठाउँमा राक्षस जरासन्ध सित पाण्डवहरूको जम्काभेटहुँदा भयाक्रान्त अवस्थामा समेत त्यसलाई लखेट्ने क्रममा सिलङ्गीबाग देखि उत्तर दिशा तिर पर्ने चनकट्टेमा फेलापारे र त्यसलाई तलतिर फर्काउन तर्साउने क्रममा त्यहि बाटो छेउनिरको यौटा कठोर ढुंङ्गेशिलामा आफ्ना हतियारले हिर्काउने क्रममा त्यस ढुंङ्गे शिलाबाट निस्केको भयानक आवाजले राक्षस जरासन्ध त्यहाँबाट मोडीएर पुनः तलतिर फर्क्यो भने राक्षस तर्साउन हतियार हानेको त्यो ढुंङ्गेशिला कुभिण्डो काटिए झैं दुई टुक्रामा परिणत भएको प्रमाणस्वरुप उक्तशिला सरस्वतीनगर स्थित चनकट्टे बजारको पाश्र्व उत्तरतिर बाटोको तल्लो छेउमै भीम छेदनशीलाको नामले सुरक्षित रहेकोछ । यसरी जरासन्धलाई लखेट्नेक्रममा चनकट्टे बजार क्षेत्रको नजिकै दक्षिणतिर पर्ने दुई नदीको दोभानमा पाण्डव सखा भीमले राक्षस जरासन्धलाई मारे । नदीको दोभानमा राक्षस जरासन्धको शिरच्छेदन गरी मार्दा त्यसदेखी तलको नदीको जलप्रवाह रक्तरंजित भयो भने राक्षस जरासन्धको इहलौकिक जीवन लीला तथा उसका दुष्कर्महरूको त्यहीनिर समूल नाश भएकोले त्यस दोभान देखि तलको प्रस्रवण क्षेत्रलाई कर्मनाशा भनिन थालियो । जहाँको पानी देवपुजन,स्नान, सन्ध्या तथा श्राद्ध तर्पणादि कार्यका लागि अद्यपि अपवित्र सावित भैदिएको छ । जसको भू–परिधि लक्ष्मीनगर गा.वि.स.को छेपण्णा(काफली) सम्म रहेकोछ भनिन्छ । किनभने लक्ष्मीनगरको काफली निकटमा रहेको छेपण्णाको पश्चिम तर्फको नदी तटमा पाण्डवहरूले त्यहीनदीको पानी प्रयोगगरी स्नान भोजन आदि गरेका हुनाले त्यहाँ देखि तलको जल–प्रवाह क्षेत्र पवित्र मानिएको हो भने त्यहीनदीको किनारामा रहेको यौटा ढुङ्गामा भीमले पीठो मुछ्दा उनका दुई मुट्की र दुई घुँडाका निशाना छापहरू भएको ढुङ्गा विगतमा त्यही नदी किनारमा देख्न सकिन्थ्यो । तर हालमा नदीको भेलबाढको कारण उक्तढुङ्गा त्यहीठाउँमा तल–माथि वर–पर कतै स्थानान्तरित भएको हुनसक्छ । यसरी जलमग्न जोरायल क्षेत्रको जलनिकास गरी राक्षस जरासन्धलाई बध गरेर कर्मनाशा लाई शुद्ध पार्दै आफ्नो अमीट सम्झना स्वरुप जोरायल लक्ष्मीनगरको हाट भन्नेठाउँकोे मूलबाटोको छेउमै यौटा ढुङ्गे चौतारो निर्माण गरी द्रौपदीको आग्रहमा त्यो चौतारोको नाम द्रौपदी चौतारो नामाकरण गरी कार्यसफलता स्वरुप आधार शिविर चौडेथल पर्वतमा ठूलो हवन यज्ञ गर्दा त्यसको पूर्णाहुति गर्ने बेलाको अग्निज्वालाबाट उत्पन्न भएकी शक्ति स्वरुपा ज्वालादेवी भगवतीलाई चनकट्टेको शिरस्थानमा रहेको सुन्दर सल्लेरी डाँडाको टापुमा विराजमान गराएर पाण्डवहरू जोरायलबाट स्थानान्तर भएका थिए भन्ने जनश्रुति यहाँको जनजिब्रोमा जीवन्तछ । समग्रमा–राक्षस जरासन्धले सदियौंदेखि यस जोरायलको जलमग्न स्थानमा लुकेर बसेकोले उसको वासस्थान भएको नामानुसार जरालयबाट शब्दान्तरित हुँदै जोरायल रहन गएको कुरा निर्विवाद छ । जेहोस् जोरायल समग्रमा त्यो ऐतिहासिक विरासत बोकेको ठाउँ हो जहाँको रम्य भूगोलले सबैलाई यौटा नयाँ प्रेरणा र सृजनात्मक पथ दिन्छ । वर्तमान समय अनुसारका विविध सुविधाहरूको पहुँच र प्राप्तिबाट जोरायल टाढा रहेको भएपनि यहाँको सभ्यता, संस्कृति, प्रकृति एवं पर्यावरणले सबैलाई लोभ्याउँछ । जोरायल नामाकरणको विशेषताका पछाडि यहाँको कर्मनाशा सभ्यता एवं राक्षस जरासन्ध वधको कृयाकलापले अँझै विशेष भूमिका राख्दछ । अतएवःजोरायल लाई कर्मनाशा सभ्यताको मूलधरोहर एवं दुष्चिन्तक राक्षस जरासन्धको गुप्तनिवास भूमि तथा भौगोलिक रुपमा कर्मनाशा प्रवाहक्षेत्र पनि हो भन्दा अतिशयोक्ति हुदैन ।[१२]

चण्डेश्वरको उत्पत्ति कथा[सम्पादन गर्ने]

चण्डेश्वर मन्दिर

लनिकास पश्चात जोरायलमा क्रमशः यत्रतत्र बाट जनबस्ती बस्ने क्रम चलिसके पछि यसको शिरस्थान चनकट्टे वरपर पनि जन बस्तीहरू बसे । विगतको जलमग्नस्थान जोरायल अब सुन्दर गाउँबस्ती र खेत–फाँटमा परिणत भै सु–शोभित भयो । यहाँका फाँट बेसीमा नामूद बासमती र हंशराज धानका सुनौला बालाहरू झुल्नथाले । जोरायल स्थित महाभारतपर्वत बाट मुहान भएर बग्ने दुई नदीहरू (गोमती र काफली) का पावन जलले सिंचित यो भूगोल–हराभरा, श्यामला र गुल्जार भयो । नयाँ धर्तीमा नयाँ बस्ती र नयाँ जन जीवन प्रतिष्ठापन भयो । चौतर्फी कतै अग्ला ,कतै होचा बृक्ष वनस्पतिले परिवेष्ठित पर्वत श्रृंखला , बीचमा समथरफाँट एवं सो मैदानी फाँटको कतै बीच र कतै छेउ हुँदै नागबेली आकारमा बगेकी कर्मनाशाले साँच्चै जोरायल लाई बेग्लै भूस्वर्ग सावित गरेकोछ । यसै गुप्त भूस्वर्गको सिरस्थानमा रहेको चनकट्टे भन्नेठाउँको खेतमा अघि द्वापरयुगको अन्त्य र वर्तमान कलियुगको आरम्भ कालमा त्यहीँकै निकट बस्ती बेल्टुक्रा गाउँको त्यो खेतको स्वामित्व किसान सधै झैं जेठमहिनाको विहानीपख खेत जोतीरहेको थियो । उक्त खेत जोतीरहने क्रममा अचानक उसको जोत्ने हलोको फाली जमीन भित्रको यौटा कठोर ढुङ्गामा ठोकिन पुग्यो र उसका हलगोरुहरू त्यहीं निर टक्क अडिए । [१३] के रहेछ भनि त्यो किसानले आफ्ना हातले खेतगडाको माटो पसारेर हेर्दा त्यहाँ यौटा ढुङ्गाबाट भल्भल्ती रक्तप्रवाह भईरहेको देखे । त्यो दृश्य देखेर उसलाई आश्चर्य लाग्दा त्यहीँ वरपर खेत जोती रहेका अरु हलिया किसानहरूलाई बोलाएर उक्त परिदृश्यको अवलोकन गरायो । नभन्दै त्यहाँ धैरै मानिसको भीडभाड भयो । खेतमा भएको त्यो घटनाको खबर हरेक गाउँ वस्ती र मानिस सम्म पुग्यो । त्यस बिषयमा थप ज्योतिष–जोखना हेरियो, धामीहरू बसाएर रहस्यबारे सोधियो । विज्ञहरूको ठम्याई अनुसार त्यहाँ यौटा देवशक्तिको प्रादुर्भाव भएको प्रमाणितभयो ।[१४] देवशक्ति पनि शिवशक्तिको रुपमा प्रदुर्भाव भएकाले त्यसको संरक्षणको कार्य गर्नुपर्ने भए अनुसार अर्कोदिन देखि त्यस वरपरका सबै बासिन्दाले त्यो स्फूटलिङ्ग वरपर ढुङ्गाको बार–पर्खाल सहित यौटा अर्धाकार मन्दिरजस्तो संरचना तयार पारे । चनकट्टेको भूगोलमा स्फूट लिङ्गको रुपमा उत्पन्न उक्त देवशक्तिको नाम श्री चण्डेश्वर महादेव राखे । जहाँ एउटै स्फूटलिङ्गमा शिवपार्वती एवं गणेशको प्रतीकात्मक स्वरुप समाहित छ । यसरी त्यसठाउँमा शिवशक्तिको प्रादुर्भाव भइसकेपछि हरेक बर्षको शिवरात्री, तीज, जनैपूर्णिमा तथा चैत्रमसान्तको राती यहाँ पूजा–आजा र मेलापर्व आदि मनाइन्छ । एक अर्को किम्बदन्ती अनुसार – राक्षस जरासन्धको दुष्प्रभावलाई दमनगर्न जोरायलको शिरस्थान चनकट्टेमा चण्डेश्वर रुपी शिवशक्तिको उत्पत्ति भएको हुनसक्छ । एवं प्रकारले एक अर्को पौराणिक प्रसंगअनुसार विगतमा यहाँ चण्डकौशिक ऋषिले तपस्या गरेको हुनाले पनि यी देवशक्तिको पौराणिक प्रसंग अनुसारको नाम चण्डेश्वर भएको भन्नेकुरा मानस खण्डमा वर्णित छ । जेहोस् चण्डेश्वर महादेव कुनै कृत्रिम देवमुर्ति नभई प्राकृतिक स्फुटलिङ्गको रुपमा प्रादुर्भूत यसक्षेत्रको त्योे सांस्कृतिक धरोहर हो ; जसले जोरायल लाई हरेक विपदाका विभीषिका बाट बचाएकोछ । यसको अर्को यौटा विशेषता केछ भने–जव–जव यसक्षेत्रमा सुख्खा – खडेरी परेर खेतवारी सुक्ने सम्भावना रहन्छ एवं जनजीवन आक्रान्त र त्राही–त्राही हुन्छ ;त्यतिबेला यस स्फुटलिङ्गमा त्यहाँ दायाँ–बायाँ तिर रहेका दुबै नदी हरुबाट समान संख्यामा यथोक्त शिवपूजन एवं रुद्राभिषेक पूर्वक १०८ वा १००८ घडा द्वारा शुद्ध सात्विक पूर्वक जलधारा गरेमा जलघडाको संख्या पूरा नहुँदै जस्तो सुकै प्रचण्ड खडेरीको अवस्थामा पनि भीषण बर्षा भएको प्रस्तुत पंक्तिकारको दृश्यानुभूतिमा रहेकोछ । अतःजे–जस्तो मनकामना गरेर भगवान चण्डेश्वरको पूजा आराधना गरिन्छ त्यो अवस्य पूर्णहुन्छ भन्ने प्रमाणित जनधारणा र विश्वास छ । यस विषयमा आफ्ना प्रष्ट अभिमतमा विगतमा यहाँ तपस्यारत कुनै सन्तले यसो भनेका थिए ः–

[१५]

श्री चण्डेश्वर स्वामि साधुहरुका – वाचा सम्हाली दिन्या,
सेवकका सब पाप–ताप गरिदुर् – झट्पट् शरणमा लिन्या–
शक्ती श्री गणनाथले सहित भै – आनन्द रुपी बनी,
जोरायेल विशे विराजित प्रभू ! दिन्छन् मनोरथ यिनी”

कविता[सम्पादन गर्ने]

जोरायल डोटी (शार्दूलविक्रीडित छन्द)
यो हो द्वापर कालको शिव शिला – फुट्लिङ्ग प्राकृतिक,
गर्थे प्राचिन चण्डकौशिक ऋषी – आफ्नो तपस्यादिक–
यी हुन् रक्षक लोकका सकलका – संहारकर्ता पनि,
छन् है साम्ब र पार्वती सहितका – ती सिद्घि दाता यिनी–
जोरायेल हुँदा जलाशय अघी – क्यै थ्यैन बस्ती जव,
खोले पाण्डवले जलाम्य नगरी – ठूलै गरी पौरख–
बस्ती योग्य भयो धरातल यहाँ – मारी जरासन्ध त्यो,
साँक्षी स्कन्द पुराण बोल्छ अघिको – घट्ना सवै सत्य हो–
चन्कट्टे निर खेत जोति रहँदा – फाली हलाको गड्यो,
जम्मै रक्त प्रवाहभै धरणिमा – राताम्यता झन् बढ्यो–
सोध्दा ज्योतिष देवताहरु सवै – भन्थे नि चण्डेश्वर,
यिन्को शक्ति अपारनै छ – यसमा शङ्का नमान्नू नर–
ज्वालादेवि बसेकि छिन् शिखरमा – दुर्गा भवानी यिनी,
श्री चण्डेश्वर छन् त्यही सतहमा – यी सौम्यताका धनी–
जोरायल सदाछ रक्षित यहाँ – चण्डेश्वरैका सित,
बग्छन् कर्म निकृष्ट मानव भने – यै कर्मनाशा सित–

फोटो सङ्ग्रह[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Jorayal "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ 
  2. संक्षिप्त परिचय
  3. महाभारत कथाबाट साभार गरीएको
  4. महाभारत कथाबाट साभार गरीएको
  5. महाभारत कथाबाट साभार गरीएको
  6. किंवदन्ती अनुसार
  7. किंवदन्ती अनुसार
  8. स्कन्द पुराण, मानसखण्डको (अध्याय १५७)।
  9. स्कन्द पुराण, मानसखण्डको (अध्याय १५७)।
  10. स्कन्द पुराण, मानसखण्डको (अध्याय १५७)।
  11. स्कन्दपुराण मानसखण्डको अध्याय १५८
  12. किंवदन्ती अनुसार
  13. किंवदन्ती अनुसार
  14. किंवदन्ती अनुसार
  15. किंवदन्ती अनुसार

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]