नारायणमान बिजुक्छे
नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन्। रोहित उपनामले पनि चिनिने उनी संविधानसभा निर्वाचन, २०६४ र संविधानसभा निर्वाचन २०७० मा भक्तपुर क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सांसद थिए। उनले 'हरिबहादुर श्रेष्ठ' उपनाममा लेखहरू लेख्ने गर्दछन्।
वाल्यकाल तथा परिवार
[सम्पादन गर्नुहोस्]नारायणमानको जन्म वि.सं. १९९६ साल फागुन २६ गते बागमती अञ्चल, भक्तपुर जिल्लाको सुकुलढोका-५ मा भएको थियो। पिता गणेशमान बिजुक्छे र माता सूर्यमाया बिजुक्छेका एघार सन्तान (पाँच भाइ, छ दिदी-बहिनी) मध्ये उनी जेठा हुन्। उनले भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढे। युवा अवस्थामै सक्रिय राजनीतिमा होमिएका बिजुक्छेले औपचारिक शिक्षाको रूपमा मानविकी शास्त्रको स्नातक परीक्षामा सम्मिलित भए तर स्नातक पुरा गरेनन्। राजनीति शास्त्र र अर्थशास्त्र दुवै विषयमा उनको चाख भएकाले उनले यी दुवै विषयमा अध्ययन गरे। उनको जन्म हिन्दू परिवारमा भएपनि उनी भौतिकवादी मान्यता राख्छन्। उनको विवाह रामेछाप जिल्लामा घर भएकी एक शिक्षककी छोरी शोभा प्रधानसँग २०४० सालमा भयो। रोहितका दुई छोराहरू छन्- सुवेग र सुवान ।
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]वि.सं. २०१०-११ सालमा गौरमा नेत्रदान कार्यक्रममा स्वयंसेवक भई काम गरेका उनले २०१२ सालमा रौतहट जिल्लाका बाढी पीडितहरूको सहायताका लागि कम्युनिष्ट पार्टीको र्यालीमा सहभागिता जनाएका थिए। यसबाट कम्युनिष्ट विचार प्रति आकर्षित भएका उनले २०१३ सालमा विद्यार्थी फेडरेशनको सदस्यता लिए र वि.सं. २०१७-१८मा युनियन (कलेज)को अध्यक्ष पदमा चुनिए। २०१५ सालताका मार्क्सवादी अध्ययनसर्कलमा संलग्न रही २०१६-१७मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष भए। वि.सं. २०१६ सालमा प्रतिकुल स्वास्थ्यस्थितिका कारण झण्डै १ वर्ष उनी उपचारार्थ चीनमा रहे । वि.सं. २०२१-२२ सालतिर पञ्चायती व्यवस्थाले चलाएको भूमिसुधार कार्यक्रम अन्तर्गत मोहीहरूले पाउनु पर्ने मोहीयानी हक दिलाउन बिजुक्छे र उनका कार्यकर्ताहरूले भक्तपुरमा निकै मेहनत गरेको थिए। वि.सं. २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पुर्वी पाकिस्तान (बङ्गलादेश)माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलाल श्रेष्ठसँग मतभेद भएपछि २०३१ सालमा पुष्पलाल समूहबाट अलग भई २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन्। पञ्चायती व्यवस्था विरुद्ध सङ्घर्षरत रहँदै उनले झन्डै १० वर्ष उच्च भूमिगत जीवन बिताए र विं.स. २०३६ सालको जनमतसङ्ग्रह पश्चात नेपालमा आएर राजनीतिक यात्रा जारी राखे। भारतमा भूमिगत जीवन बिताउँदा उनले प्रवासी नेपाली विद्यार्थीहरू मार्फत कर्णाली अञ्चलमा बलियो सङ्गठन बनाएका थिए। २०४५ सालमा पञ्चायती सरकारले ह्योजू काण्डमा बिजुक्छे लगायत नेपाल मजदुर किसान पार्टी (तत्कालिन नेमकिसङ्घ)का ६५ जना नेता-कार्यकर्ताहरूमाथि फाँसीको सजाय माग गर्दै ज्यान-मुद्दा चलाएको थियो। देशमा बहुदलीय व्यवस्थाको बहाली पश्चात सो मुद्दा खारेज भई करिब २० महिनाको जेल जीवन पछि उनी लगायत सबै रिहा भए। बिजुक्छे वि.सं. २०४८को आम निर्वाचन, २०५१को मध्यावधि र २०५६को आम निर्वाचनमा भक्तपुर क्षेत्र नं १बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। वि.सं. २०६४ र २०7० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएर उनी हाल व्यवस्थापिका सदस्यका रूपमा कार्यरत छन्। भक्तपुर शहरलाई सफा, पर्यटकीय बनाउन बिजुक्छे नेतृत्वको टिमको महत्त्वपूर्ण योगदान रहेको तथा ख्वपः कलेजको निर्माण,सञ्चालन जस्तो कामले दिएको जशका कारण भक्तपुरको मुख्य शहरमा नेपाल मजदुर किसान पार्टीको पकड देखिँदै आएको छ ।
लेखन
[सम्पादन गर्नुहोस्]बिजुक्छेका प्रकाशित कृतिहरू निम्न प्रकार छन् :
- नेपालको कम्युनिष्ट आन्दोलनमा खोटा विचारहरूको खण्डन
- विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू
- नेपाल-भारतसम्बन्ध र भारत
- चार रचना
- आत्मनिर्भरताको प्रश्न र नेपालको आर्थिक विकास
- कोरिया भ्रमण
- चीन भ्रमण
- भियतनाम परिचय र
- सय वर्ष पछिको भक्तपुर
उनका दुई पुस्तकहरू चीन भ्रमण र भियतनाम परिचय नामका दुई पुस्तकहरू पञ्चायती व्यवस्थाको समयमा छापाखानाबाटै जफत भएको थिए। उनी नेपाली, हिन्दी, अङ्ग्रेजी र नेवारी राम्ररी लेख्ने तथा बोल्ने गर्छन्।
उत्तर कोरिया, क्यूबा, लाओस, भियतनाम, कम्बोडिया र चीन उहाँका मनपर्ने ठाउँहरु हुन्। कार्ल मार्क्स, फ्रेडरिख एंगेल्स, लेनिन, स्टालिन, माओ त्से तुङ, हो चि मिन्ह र किम इल सुङलाई उहाँ आदर्श मान्नुहुन्छ। नेपाली, हिन्दी र अङ्ग्रेजीका साथसाथै आफ्नो मातृभाषा नेवारी राम्ररी लेख्न र बोल्न सक्नु हुन्छ।