इपिल इपिल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इपिल इपिल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति
(श्रेणीविहीन): युडिकोट्स
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
उपकुल: Mimosoideae
वंश: Mimoseae
वंश: Leucaena
प्रजाति: L. leucocephala
वैज्ञानिक नाम
Leucaena leucocephala
(लेमार्क) दे वित[१]
पर्याय

Leucaena glauca (कार्लस लिनियस) जर्ज बेन्थम[२]
Mimosa glauca L.
Acacia glauca Willd.

मे महिनामा ‍इपिल‍ इपिलको फल।
इपिल इपिलको कोसा र बीउ।

इपिल इपिल काँडा नहुने बहुवर्षीय कोसे डालेघाँस प्रजातिको वनस्पति हो।[३] यो बिरुवा छिटो बढ्ने वनस्पतिको रूपमा पनि परिचित छ। यस वनस्पतिलाई विश्वव्यापी रूपमा डाले घाँसको रूपमा मात्र प्रयोग नगरी काठ, दाउरा, हरियो मल, छहारी र भू-संरक्षणको लागि प्रयोग गरिनुकासाथै यस वनस्पतिबाट विभिन्न औषधिहरू पनि बनाउने गरिन्छ।[४] यसको खेती नेपालको तराईदेखि मध्य पहाडी क्षेत्रसम्म गरिन्छ। यो धेरै छिटो बढ्ने र अत्यन्त पोषिलो घाँस भएकोले लहरे रोपणको रूपमा पनि लगाइएको पाइन्छ। यसको स्याउला प्रत्येक महिना जस्तो काट्न सकिन्छ।[५] यस वनस्पतिको उत्पत्ति दक्षिण अमेरिका तथा मेक्सिकोबाट भएको हो। यस प्रजातिको वनस्पतिलाई मुख्यतया घरपालुवा जनावरहरूको आहाराको लागि लगाइने गरिन्छ।[६] यस प्रजातिको वनस्पतिलाई कफी उत्पादन हुने क्षेत्रहरूमा छहारीको रूपमा पनि लगाइएको पाइन्छ।

यस प्रजातिको वनस्पतिको काँडा हुँदैन र यसले वर्षौँसम्म डाले घाँस उत्पादन गर्दछ। यस वनस्पतिको उचाइ ५ देखि २० मिटर सम्म हुन्छ भने यसको औसत मोटाइ (व्यास) १० देखि ५० सेन्टिमिटर हुन्छ।[७][८] यसका पातहरू मसिना तथा फूल क्रीम रङको गोलो भुवा निस्केको हुन्छन् तथा झुप्पाका झुप्पा कोसा फल्ने गर्दछन्। यसको रूखमा फल्ने कोसाहरू १३ देखि १८ सेन्टिमिटर लामा हुन्छन् भने प्रत्येक कोसामा १५-३० वटासम्म दाना हुन्छन्।[९] इपिल इपिलको १४ वटा उपप्रजातिहरू पाइएका छन्। इपिल इपिलको जात अनुसार रूख, फुलको रङ, पात र कोसाको आकार फरक हुन्छ। यसको घाँस कोसे परिवार अन्तर्गत पर्दछ।[१०] यस प्रजातिको वनस्पतिलाई कम खेती वा उत्पादनमा कमी भएको कारण सन् २०१३ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले आफ्नो रातो सूचीमा कम चासोका वनस्पतिको रूपमा वर्गीकरण गरेको छ।[११][१२]

वितरण

इपिल इपिलको उत्पत्ति दक्षिण अमेरिकी देश मेक्सिकोग्वातेमालाबाट भएको हो।[१३]यसलाई १६औँ शताब्दीमा दक्षिण पूर्वी एसियाको देश फिलिपिन्समा भित्र्याएर त्यहाँबाट यसको वितरण पुरै एसियामा भएको थियो। त्यस्तै १९औँ शताब्दीमा यसलाई अस्ट्रेलियामा पनि भित्र्याई रोपण गर्न सुरु गरिएको थियो जसकारण यसलाई सबै महादेशहरूमा विभिन्न उपयोगका लगि लगाइने गरिन्छ। यस प्रजातिको वृक्ष ३० डिग्री उत्तर देखि ३० डिग्री दक्षिणसम्म फैलिएको छ भने वार्षिक ६५० देखि ३००० मिलिमिटर वर्षा हुने क्षेत्र र २५ देखि ३० डिग्री सेल्सियस तापक्रममा यसको उत्पादन अधिक हुने गरेको छ।[१४]

उपयोगिता

इपिल इपिल बहुपयोगी डाले घाँस हो। इपिल इपिलको पात उग्राउने पशुको लागि अत्यन्तै पोसिलो आहार मानिन्छ। भिरालो जग्गामा माटो संरक्षण गर्न पनि यसलाई रोप्ने गरिन्छ। डाले घाँस पशुहरूलाई खुवाएपछि यसको हाँगा तथा काठ दाउराको लागि प्रयोग गरिन्छ। लहरे खेतीका लागि पनि इपिल इपिल उपयुक्त मानिन्छ।[१५] यो घाँस पशुहरूको कुल खुराकको २० देखि ३० प्रतिशत मिश्रण गरी खुवाउन सकिन्छ। नउग्राउने पशुहरूका लागि १० प्रतिशतभन्दा बढी मिसाउनु हुँदैन। इपिल इपिल विशेषगरी यसको बलियो काठको लागि लोकप्रिय छ भने यसको प्रयोगबाट गुणस्तरीय कोइला, काठका घरेलु सामग्री तथा कागज बनाउन सकिन्छ। यस वनस्पतिको मुना, पात र बीउलाई मानिसहरूले तरकारीको रूपमा प्रयोग गरेको पनि पाइन्छ। यसको बीउ कफीको विकल्पको रूपमा वा गहनाको निर्माणमा पनि काम लाग्ने गर्दछ।[१६] यस प्रजातिको वनस्तपतिको रूखलाई अग्लो हुने बित्तिकै काट्ने वा गाईवस्तु चराउने गरेतापनि यसले दशकौँसम्म उत्पादन दिइरहन्छ। यसले गर्मीयाममा भेडा, बाख्रा तथा गाईहरूका लागि पोसिलो आहारा प्रदान गर्दछ। इपिल इपिलको रूख वर्षैभरि फुल्ने र बढ्ने गर्दछ।

खेती विवरण तथा उत्पादन

इपिल इफिल गर्मी हावापानीमा हुने प्रजातिको घाँस हो। यसको रासायनिक बनावट लुर्सन घाँसको जस्तै हुन्छ। इपिल इपिलको घाँसमा सोडियमआयोडिन जस्ता तत्व न्यून मात्रामा पाइन्छन् भने यसमा विटा क्यारोटिनको मात्रा बढी हुन्छ। इपिल इपिलमा अन्य खनिजको रूपमा क्रु प्रोटिन २६ प्रतिशत, क्याल्सियम २.३६ प्रतिशत, फस्फोरस ०.२३ प्रतिशत पाइन्छ। यस वनस्पतिको वृद्धिको लागि दिनको तापक्रम २५-३० डिग्री सेल्सियस हुनु आवश्यक छ। यस प्रजातिका रूखहरू समुद्री सतहबाट १५०० मिटरको उचाइसम्म देख्न सकिन्छ भने २,१०० मिटरभन्दा माथिको उचाइमा सामान्यतया पाइँदैन। धेरै उचाई भएको ठाउँमा इपिल इपिल राम्रोसँग बढ्दैन तथा तुषारो पर्ने स्थानमा यसको वृद्धि राम्रोसँग हुँदैन। तुषारोका कारण पातहरू सबै मरेर झर्दछ र बढी तुषारो पर्ने ठाउँमा जमिनमाथि पुरै बोटनै सुक्दछ। मध्य पहाडी क्षेत्रमा इपिल इपिल रूखको वृद्धि सामान्य हुने गर्दछ भने यस प्रजातिको रूख चिसो मौसममा ढिला बढ्ने गर्दछ तर गर्मीयाममा भने यसको उत्पादनमा अधिक वृद्धि हुन जान्छ। अरू रूखको छहारीमा यसको वृद्धि त्यति राम्रो हुँदैन। इपिल इपिल ६५०-३००० मिलिमिटर वार्षिक वर्षा हुने ठाउँसम्म राम्रोसँग हुर्केको पाइन्छ भने सुख्खा मौसममा यसको उत्पादन कमी आउँछ। इपिल इपिलको जरा जमिन मुनी ५ मिटर तलसम्म जाने हुँदा यसले खडेरी सहन गर्न सक्छ। निकासको प्रबन्ध नभएको ठाउँमा वनस्पतिहरू त्यति राम्रोसँग सप्रदैन। इपिल इपिल गहिरो माटो, राम्रो निकास भएको ठाउँमा सप्रिन्छ। यस डाले घाँसको खेती विविध प्रकारको माटोमा गर्न सकिन्छ। चिम्टाइलो माटोमा यसको खेती राम्रो हुन्छ। बढी उत्पादनको लागि यसलाई क्यालसियम र फस्फोरसको मात्रा बढी आवश्यक पर्दछ। इपिल इपिलको बोटलाई सानो बेर्नामैं सार्नु पर्दछ। बीउ रोपण वर्षातको सुरुवातसँगै वा केही समय अगाडिनै गर्नु पर्दछ। इपिल इपिल रोपण गरेको क्षेत्रमा झारको प्रकोप बढी हुने हुँदा गोडमेल गरी वनस्पतिलाई जोगाउनु पर्दछ। वनस्पतिको वृद्धिको लागि झार नियन्त्रणमा विशेष ध्यान दिनु पर्दछ।[१७][१८]

वनस्पतिहरूको द्रुत वृद्धिको लागि रासायनिक मलको प्रयोग गरिएको पाइन्छ। रुखोमाटोमा इपिल इपिल रोप्दा मलको प्रयोग गर्नु जरुरी पर्दछ। इपिल इपिलमा फस्फोरस तथा क्याल्सियमको कमी भएमा राम्रो वृद्धि हुँदैन। क्याल्सियमको मात्रा कमी भएको अवस्थामा यस विरूवाको जरामा गिर्खाहरूको मात्रा घट्दछ जसका कारण माटोमा नाइट्रोजन स्थिरीकरणमा कमी आउँछ। माटोमा अन्य पोषक तत्वहरूको कमी भएमा सो अनुसार मल खादको प्रयोग गर्नु पर्दछ। अम्लीय माटो जहाँ माटोको पि.एच. ५ भन्दा कम हुन्छ त्यहाँ चुनको प्रयोग गर्न आवश्यक पर्दछ। सुरुको अवस्थामा वातावरणीय नाइट्रोजन सञ्चित नगरुञ्जेल वनस्पतिको लागि थोरै मात्रमा नाइट्रोजनयुक्त मलको प्रयोग गर्न सकिन्छ। इपिल इपिलको सुख्खा पदार्थ उत्पादन हुनुमा जमिनको उर्वरा शक्ति र वर्षामा भर पर्दछ। गहिरो मलिलो प्रकारको माटो र १५०० मि.मि. भन्दा बढी वार्षिक समान रूपको वर्षा हुने स्थानमा इपिल इपिलको अधिकतम उत्पादन हुन्छ। उष्णकटिबन्धीय क्षेत्रमा हिउँदमा तापक्रम कम हुने हुँदा उत्पादनमा कमी आउँछ।[१९]

विषाक्तता तथा रोगहरू

इपिल इपिलको कलिलो पात र कोसामा विषाक्त एमिनो अम्ल मिमोसिन सुख्खा पदार्थको आधारमा १२ प्रतिशत पाइन्छ तर घाँस छिप्पिदै गएपछि यसको मात्रा घट्दै जान्छ। पछि यसको मात्रा ३-५ प्रतिशत सुख्खा पदार्थको आधारमा पाइन्छ। खास गरी सानो उमेरका बाच्छा, पाठापाठी र नउग्राउने जनावरहरूका लागि यो विषाक्त हुन्छ। उग्राउने पशुहरूको रुमेनमा भएको सुक्ष्म जीवले विषलाई नष्ट पार्दछ।[२०]

मिमोसिन नामक एक तत्व इपिल इपिलमा भएका कारण यस वृक्षमा कमै मात्रामा कीराहरू लाग्छन तथापि सन् १९८५ देखि १९८६ सम्म गरिएको एक अनुसन्धानले इपिल इपिललाई सिलिड नामक एक प्रजातिको जीवले आक्रमण गरी ठूलो मात्रामा क्षति पुर्‍याएको अनुसन्धानबाट खुल्न आएको थियो जसले नयाँ पातको मुनालाई नष्ट पार्ने गरेको देखिन्छ। यो कीराले दक्षिण पूर्व क्विन्सल्यान्डमा इपिल इपिललाई ६९ प्रतिशतसम्म नष्ट पारेको थियो। सिलिड नियन्त्रणका लागि कीरा नलाग्ने खालका विकासी जातका इपिल इपिल विकास गरिएको छ।[२१][२२]

चित्र दीर्घा

सन्दर्भ सामग्री

  1. "Leucaena leucocephala (Lam.) de Wit", Germplasm Resources Information Network, United States Department of Agriculture, १९९५-०३-२४, मूलबाट २००९-०२-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०१-१८ 
  2. "Leucaena leucocephala (tree)", Global Invasive Species Database, Invasive Species Specialist Group, अन्तिम पहुँच २०१०-०१-१८ 
  3. "Leucena (Leucaena spp)", old.cnpgc.embrapa.br, Haroldo Pires de, अन्तिम पहुँच २०१७-११-३० 
  4. "Leucena", lideragronomia, अन्तिम पहुँच २०१७-०७-२७ 
  5. "Banco de proteína de Leucena, mais uma alternativa interessante - Radar Técnico - Nutrição - MilkPoint", milkpoint, अन्तिम पहुँच २०१७-०७-२७ 
  6. "Banco de proteína de Leucena, mais uma alternativa interessante - Radar Técnico - Nutrição - MilkPoint", milkpoint, अन्तिम पहुँच २०१७-०७-२७ 
  7. ந. குப்பன் (३० செப்டம்பர் २०१०), "பண்ணை அமைத்து கறவை மாடு வளர்த்தால் லாபம்", தினமணி, अन्तिम पहुँच ४ மார்ச் २०१६ 
  8. டாக்டர் கு. சௌந்தரபாண்டியன் (२३ நவம்பர் २०११), "சின்னச்சின்ன செய்திகள்", தினமலர், अन्तिम पहुँच ४ மார்ச் २०१६ 
  9. டாக்டர் கு. சௌந்தரபாண்டியன் (२२ சனவரி २०१३), "மரபு சாரா தீவனங்கள் - நவீன தொழில்நுட்பம்", தினமலர்-விவசாய மலர் 
  10. "தீவன உற்பத்தி: மரவகை தீவனப் பயிர்கள்", தமிழ்நாடு வேளாண்மை பல்கலைக்கழகம், अन्तिम पहुँच ४ மார்ச் २०१६ 
  11. "Leucaena leucocephala", AgroForestryTree Database, World Agroforestry Centre, अन्तिम पहुँच २०१०-०१-१८ 
  12. "Leucaena leucocephala (tree)" (अङ्ग्रेजीमा), Global invasive species database, १६ d'agust del २०१०। 
  13. इपिल इपिल वृक्षको जानकारी
  14. "Leucaena (Leucaena leucocephala)", The State of Queensland (Department of Agriculture, Fisheries and Forestry), १८.५.२०१४। 
  15. "JIRCAS : Leucaena leucocephala : Local Vegetables of Thailand : Color illustrated", www.jircas.affrc.go.jp, अन्तिम पहुँच २०१६-०७-२६ 
  16. "2.1 Leucaena leucocephala - the Most Widely Used Forage Tree Legume", www.fao.org, अन्तिम पहुँच २०१६-०७-२६ 
  17. "Leucaena_leucocephala" (अङ्ग्रेजीमा), Lucid Key Server, Australian Tropical Rainforest Plants, AU, मूलबाट २०१९-०६-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९.०५.२०१९ 
  18. "Global Invasive Species Database: Leucaena leucocephala" (अङ्ग्रेजीमा), ISSG (Invasive Species Specialist Group), SSC (Species Survival Commission), IUCN (International Union for Conservation of Nature), १६.०८.२०१०, अन्तिम पहुँच २९.०५.२०१९ 
  19. Heike (२९.०५.२०१९), "Leucaena leucocephala" (स्पेनीमा), CONABIO Comisión Nacional Biodiversidad Mexicana, Mexico City, Mexico। 
  20. "Species profiles: Leucaena leucocephala" (अङ्ग्रेजीमा), World Agroforestry Centre, Nairobi, Kenya, २९.०५.२०१९। 
  21. "Dendrologie.cz: Leucaena leucocephala" (csमा), Petr Horáček a J. Mencl, २९.०५.२०१९, अन्तिम पहुँच २६.०१.२००७ 
  22. Li jméno Shugang (२९.०५.२०१९), "Flora of China: Leucaena leucocephala" (अङ्ग्रेजीमा), Missouri Botanical Garden, St. Louis, MO & Harvard University Herbaria, Cambridge, MA, USA। 

बाह्य सूत्रहरू