दिव्योपदेश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राजा पृथ्वीनारायण शाह

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह आफ्नो अन्तिम समयमा शेरा दरबार दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुर घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।[१] पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।[२]

पृष्ठभुमि[सम्पादन गर्ने]

पृथ्वीनारायण शाहको निधन वि.सं. ५२ वर्षको उमेरमा वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन नुवाकोटको त्रिशूली र तादीको दोभान देवीघाट मोहनतीर्थमा भएको थियो । निधन हुनुअघि केही महिनादेखि बिरामी परेका उनले आफ्ना अभिव्यक्तिहरू सम्भवतः मङ्सिर, पुस महिनामा टिपाएको हुनुपर्छ । लेखपढ गर्न जान्ने मानिसहरू औँलामा गन्न सकिने त्यसबेलामा उनका अभिव्यक्तिहरू लिपिबद्ध गर्ने कार्य गोर्खाली प्रथम सेनापति शिवरामसिंह बस्न्यातका सुपुत्र काजी अभिमानसिंह बस्न्यातले गरेका थिए भनी योगी नरहरिनाथले बृहद आध्यात्मिक परिषद् द्वारा प्रकाशित आफ्नो ‘दिव्य उपदेश पृथ्वीको अर्ति’ नामक पुस्तिकामा उल्लेख गर्नुभएको छ । कलाकार हरिप्रसाद शर्माले पृथ्वीनारायणले आफ्नो बिरामी शैयामा बसी बताइरहेका, उनको सामुन्ने शैयामुनी बसी काजी अभिमानसिंह बस्न्यातले टिपोट लेखिरहेका, शैयाको छेउमा भित्तातर्फ राजकुमार बहादुर शाह कुर्सीमा बसिरहेका, राजवैद्यले औषधि बनाइरहेका, अन्य भाइभारदारहरू वरिपरि बसेर पृथ्वीनारायणका अर्ति उपदेश ध्यानपूर्वक सुनिरहेका दृश्य आफ्नो एक तैल चित्रमा सजीव रूपमा चित्रण गर्नुभएको छ ।

दिव्योपदेशको पाण्डुलिपि अभिमानसिंहका सन्तति इतिहासविद् बखत्मानसिंह बस्न्यात (श्यामकाजी) को घरमा सुरक्षित रहेको पनि योगीले चर्चा गर्नुभएको छ । बखत्मानसिंहको जन्म अभिमानसिंहद्वारा निर्मित असन बालकुमारीस्थित तिलङ्गा घर (सिपाहीको फौजको चित्र लेखिएको घर) मा भएको थियो । अभिमानसिंहले आफूले टिपोट गरी तयार गरेका उक्त पाण्डुलिपि आफ्नै साथमा विशेष जतनका साथ राखेका र पछि उनका विभिन्न पुस्ताले पनि जतनले नै राखेका थिए । राणा शासनको अवस्थामा पृथ्वीनारायणको दिव्योपदेश जस्तो अमूल्य निधिलाई जतनसाथ लुकाएर राख्नु बाहेक बस्न्यात परिवारसँग अरू विकल्प थिएन ।

जर्मनीका कुनै एक अन्वेषकले बखतमानसिंहसँग दिव्योपदेशको पाण्डुलिपि छ भन्ने कतैबाट थाहा पाएपछि सो आफूलाई बेच्नका लागि निकै दबाब दिएको तर उनले राष्ट्रको सम्पत्ति विदेश पठाउनु हुँदैन भनी विदेशीलाई नबेची वि.सं. २०२४ मा तत्कालीन राजा श्री ५ महेन्द्रसमक्ष जाहेर गरेका थिए । राजा महेन्द्रको आदेशानुसार पुरातत्व विभागले दिव्योपदेशको पाण्डुलिपि जिम्मा लिई २०२५ साल पुस २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा दिव्योपदेशको पहिलो संस्करण प्रकाशित गर्‍यो । ‘दिव्यउपदेश’ नाम दिइएको ४१ पृष्ठको पुस्तिका पहिलो पटक तीन हजार प्रति छापी निःशुल्क वितरण गरिएको थियो । यसमा प्रयुक्त कतिपय शब्द प्रचलनबाट हटिसकेका हुनाले पाठक वर्गलाई बुझ्न सहज होस् भनी त्यस्ता शब्दका सही अर्थ खुलाई पादटिप्पणीसमेत पुस्तिकामा दिइएको छ । पादटिप्पणी तयार गर्ने महत्वपूर्ण कार्य योगी नरहरिनाथबाट भएको थियो ।

योगीले आफ्नो पुस्तिकामा वर्णन गरेअनुसार उक्त ऐतिहासिक पाण्डुलिपि बलियो नुवाकोटी कागजमा कालो पाको मसीले लेखिएको छ । करिब ११ इञ्च लम्बाइ, साढे आठ इञ्च चौडाइको १० पृष्ठ रहेको छ । तल्लो भागमा सानो भाग मुसाले काटेको भए पनि अक्षरमा क्षति पुगेको छैन । देवनागरी लिपिको पुरानो लेखन शैली नागराक्षरमा लेखिएको दिव्योपदेशमा पूर्णविरामका लागि अङ्ग्रेजीको जस्तो विन्दु प्रयोग भएका छन् । उक्त पाण्डुलिपि हाल पुरातत्व विभागमा विशेष सुरक्षाकासाथ राखिएको छ ।

दिव्योपदेशको पाण्डुलिपि विदेशीलाई नबेची राष्ट्रलाई नै सुम्पिएको कदर स्वरूप बखतमानसिंहलाई २०२५ सालदेखि २०३८ सालसम्म प्रत्येक वर्ष पृथ्वी जयन्तीको औपचारिक समारोहमा राष्ट्र निर्माताको पूर्णकदको तस्वीर राखिएको नेपाली सेनाको बग्गीमा नै ससम्मान राखी नगर परिक्रमामा सरिक गराइन्थ्यो । दिव्योपदेशको प्रथम संस्करणमा पनि सरकारका तर्फबाट उहाँप्रति धन्यवाद व्यक्त गरिएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीमा ४४ वर्षसम्म सेवा गर्नुभएका इतिहासविद् बखतमानसिंहको ७४ वर्षको आयुमा २०३९ सालमा बालाजु हाइटस्थित आफ्नै निवासमा निधन भयो । [३]

पाण्डुलिपि[सम्पादन गर्ने]

बालकृष्ण पोखरेलले दिव्योपदेशलाई पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको मृत्यु भइसकेपछि रणबहादुर शाहको पालामा लेखिएको तर्क गरेका छन्। २०२२ सालमा प्रकाशित 'इतिहास प्रकाश' मा योगी नरहरिनाथले विसं १८८२ तिर राजेन्द्रविक्रम शाहको समयको यसको सक्कली पाण्डुलिपि तयार पारिएको दाबी गरेका छन्। इतिहासकारको मत 'दिव्योपदेश' पृथ्वीनारायण शाहले बोल्दै गर्दा नलेखिएर त्यसको निकै पछि लेखिएको थियो । नयराज पन्तका अनुसार सुरुमा पाण्डुलिपि फेला पर्दा यसको कुनै नाम थिएन। इतिहासकार बाबुराम आचार्यले यसलाई 'पृथ्वीनारायण शाहको व्याख्यान' नाम दिएका थिए। 'दिव्योपदेश' भनी नामकरण गर्ने व्यक्ति योगी नरहरिनाथ हुन्। नयराज पन्तले भने 'श्री ५ पृथ्वीनारायण शाहको उपदेश' नामाकारण गरेका थिए । [४]

आर्थिक नीति[सम्पादन गर्ने]

  • खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।
  • कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु

सुरक्षा नीति[सम्पादन गर्ने]

विदेश नीति[सम्पादन गर्ने]

आन्तरिक नीति[सम्पादन गर्ने]

  • मेरा साना दुखले आर्ज्याको मुलुका होइन । यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो ।
  • राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगार्ने भन्याका घुस लिने र घुस खाने हुन्, यी दुबैको त धन र जिउ हरि लिए पनि पाप छैन । यी राजाका मह शतरु हुन् ।
  • अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू ।

साँस्कृतिक नीति[सम्पादन गर्ने]

आलोचना[सम्पादन गर्ने]

आलोचकहरूका अनुसार पृथ्वीनारायण शाहले त्यो समयमा त्य्स्तो उपदेश दिन सक्दैनथे । यो नयराज पन्त वा बाबुराम आचार्यले गरेको प्रचार उनीहरूले मान्ने गरेका छन्।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

पृथ्वीनारायण शाहको दिव्योपदेश

पृथ्वीनारायण शाहको दिव्योपदेश

सन्दर्भ[सम्पादन गर्ने]