सामग्रीमा जानुहोस्

विक्रम सम्वत्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बिक्रम संबतबाट अनुप्रेषित)

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो।[] विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ।[] यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ।[] यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ। नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ। विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। विक्रम सम्बत नेपालको आदि संवत् समेत हो।[]

विक्रम सम्बतको नेपालमा प्रचलन

[सम्पादन गर्नुहोस्]

नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरले प्रयोग गरे पनि रामशाहको पाला र त्यो भन्दा अगाडि प्रयोग भएका धेरै उदाहारहरू छन् ।

नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग पनि हुने गर्दथ्यो अनि शक सम्बत १८२३ मा त्यस शक सम्बतलाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम सम्बतको १९५८ औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो भन्ने कसै कसैको भनाइ छ तर लिछ्छवी, मल्ल काल, सेन वंश का कतिपय शिलालेखहरूमा तथा पृथ्वीनारायण शाह का प्रारम्भिक शिलालेखहरूमा विक्रम सम्बत रहेकोले यो कथन झुटो ठहरिन्छ । प्रमाणको लागि तल का अनुच्छेद हरू पढे थाहा हुन्छ ।

नेपाल अंग्रेज युद्द् ताका का अधिकांश कागज पत्रमा विक्रम सम्बत प्रयोग भएको यथार्थ लाई त्यतिकै छोप्न सकिन्न । पृथ्वीनारायण शाह देखि भीमसेन थापा हुदै कोतपर्व सम्म का अधिकांश कागजात हरू हेरे विक्रम सम्बतको व्यापक प्रयोग देख्न सकिन्छ|

राजा विक्रमादित्य

[सम्पादन गर्नुहोस्]

विक्रमादित्य राजाको बारेमा नेपालमा प्रचलित वंशावलीमा उल्लेख भेटिन्छ । तत्कालीन श्री ५ को सरकार पुरातत्व विभागबाट प्रकाशित श्री नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम सम्बत प्रचलनमा आएको भन्ने उल्लेख छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला को नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखुको बज्रयोगिनी मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यस क्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगेका र कासीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्ड पुस्तकमा उल्लेख छ ।

योगी नरहरिनाथले "श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः"भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्ने पाइन्छ भन्नुभएको छ । पशुपति पुराणमा उल्लेख छ- 'अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते' अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरू भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम सम्बत सुरू भएको मानिन्छ ।

विक्रम सम्बत, शाके सम्बत भन्दा १३५ वर्ष जेठो, नेपाल सम्बत भन्दा ९३६ वर्ष जेठो र ईस्वी सम्बत भन्दा ५७ वर्ष जेठो छ । विक्रम सम्बत भारतको उज्वैनबाट चलनमा आएको भन्रने पनि धेरै छ तर यसको कुनै पनि एतिहासिक पुष्टि भने छैन । प्राप्त प्रमाणको आधारमा नेपाल सम्बतको उठान नेपालमै भएको हो । वैदिककालदेखि तिथिको आधारमा चल्दै आएको विक्रम सम्बतमा तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठ्यारो हुने हुँदा ज्योतिषहरूको सल्लाह र सुझावमा सजिलोका लागि चन्द्रशमशेरले गतेमा लेख्ने चलन चलाएका हुन् । नेपाल सम्बत र शक सम्बतहरू अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम सम्बत १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका हुन् । मीन राशि समाप्त भई मेष राशि प्रारभ्भ हुनासाथ वैशाख महिना सुरू हुन्छ ।

विक्रम सम्बत हिमवत्खण्ड एकीकरण पूर्वका नेपालका विभिन्न साना राज्यहरूमा प्रचलित रहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम सम्बत नेपालको राष्ट्रिय सम्बतको रूपमा स्थापित भएको छ । पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम सम्बत १८२५ को वसन्तपुर दरबारको अभिलेखमा- 'राजा पृथ्वीनाराणको वंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्' उल्लेख गरेका थिए । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम सम्बत ७११ उल्लेख भएको वंशावली छ र विक्रम सम्बत ९४५ मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ । मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा विक्रम सम्बत १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम सम्बत १७८४ कार्तिक शुदी ७, विजयपुरमा बुद्धिकर्ण राईले विक्रम सम्बत १८२४ नेपाली भाषामा लेखिएका कैयौँ प्रमाणहरू भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातìव सङ्ग्रह -२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम सम्बत १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम सम्बत १६९३ उल्लेख छ । अछामको वरदादेवी मन्दिरमा विक्रम सम्बत १७७९ पौष उल्लेख छ ।

भक्तपुर दरबार नजीकैको गहिरो धाराको पश्चिम पटि्टको भित्तामा विक्रम सम्बत १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम सम्बत १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल सम्बत ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्बत १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नुभएको छ । राजा भूपतेन्द्र मल्लले विक्रम सम्बत १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख गर्नुभएको र जयप्रकाश मल्लले विक्रम सम्बत १८१४ मा पृथ्वीनारायणलाई खस नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेय'मा उल्लेख गर्नुभएको छ । विक्रम सम्बत नेपालको राष्ट्रिय सम्बतको रूपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम सम्बत १९१० मा सङ्ग्रह गरी विक्रम सम्बत नै उल्लेख गरेका छन् ।

कतिपय व्यक्तिले विक्रम सम्बत नेपालको सम्बत नै होइन भनेकाले यसबारेमा केही तथ्यहरू उजागर गरिनु अत्यावश्यक छ । विक्रम सम्बत १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित सम्बतहरूलाई विक्रम सम्बत ठहर्‍याएका थिए । त्यसै गरी कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- 'मानदेवको पालाको सम्बत ३८६ को चाँगुको अभिलेखको सम्बत 'विक्रम सम्बत हो । यसरी विक्रम सम्बत ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको सम्बत ४८९ सम्मका सम्बत विक्रम सम्बत हुन् । ' यसैगरी नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका सम्बतहरू शक सम्बत होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित सम्बतहरूलाई विक्रम सम्बत मानेका छन् तर कतिपय इतिहासकारहरूले मानदेव प्रथमको शासनकालमा उल्लेखित चाँगुनारायणलगायत लिच्छवि शासनकालका सम्पूर्ण सम्बत सम्बन्धित अभिलेखहरूलाई कार्तिकादि सम्बत हुन् भन्दै शक सम्बत भनेका छन् । यसले गर्दा इतिहास लेखनमा धेरै भ्रम सिर्जना भएको छ किनकि शक सम्बत कार्तिकादि नभएर चैत्र शुक्ल प्रतिपदाबाट मात्र प्रारम्भ हुने भएकाले शक सम्बतलाई जबरजस्त कार्तिकादि भन्न मिल्दैन । त्यसो भएकाले चाँगुनारायण लगायत लिच्छवि शासनकालका उल्लेखित सम्बतहरू विक्रम सम्बत नै मानिन्छन् ।

विक्रम सम्बत भारतको उज्जयनीबाटै उठान भएको भनेका छन् । यदि त्यसो हुँदो हो त त्यस्ता पराक्रमी राजाका बारेमा केही न केही प्रमाण त्यहाँ भेटिन्थे तर छैनन् । विक्रम सम्बत यस क्षेत्रको प्रचलित सम्बत भएको कुरो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम सम्बत १८२५ को वसन्तपुर दरबारमा लेखेका अभिलेखबाटै प्रमाणित हुन्छ । इतिहासकार दिनेशराज पन्तले 'राजीवलोचन जोशीका बराज्यू' नामक पुस्तकमा विक्रम सम्बत १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम सम्बत १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा थिए । केहरिनारायणका नाति वीरमर्दन शाह हुन् । विक्रम सम्बत १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूणराङ्क ३९) उल्लेख गर्दै विक्रम सम्बत १७२१ मा वीरमर्दन शाहका दरबारमा जोतिषी काम गरी रागिनासमा विर्ता पाईर् बस्याका सदानन जोशी हुन् भनेर त्यतिबेला विक्रम सम्बत चलनचल्तीमा लोकपि्रय भएको कुरा उल्लेख गर्नुभएको छ । इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्- 'विक्रम सम्बतको प्रचलन मध्यकालमा बाइसी, चौबीसी, सेन, मल्ल, शाह राजाहरूले चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरूमा विक्रम सम्बतको प्रयोग हुँदैआएको थियो । भक्तपुरमा नववर्ष प्रारम्भ हुँदा धूमधामसाथ बिस्केट जात्रा मनाइन्छ । तराईमा थारूहरू वैशाख सुरू हुने दिनदेखि नै सिरुवाजात्रा मनाउँछन् ।' त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्- 'सृष्टिको आरम्भमा सूर्य लगायतका ग्रह नक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम सम्बतको गणना पद्धति सुरू हुन्छ । विक्रम सम्बत विश्व ब्रहृमाण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ । नेपालमा विक्रम सम्बतले सबै जाति, भाषा, धर्म, संस्कृति र विविधतालाई समिटेको छ । '

ईस्वीपूर्व ३०० तिरका चन्द्रगुप्त मौर्यको विषयमा कौटिल्य जस्ता विद्वान र मेगस्थनीज तथा फाहियानको यात्रा वर्णनमा उल्लेख भएको पाइन्छ भने सन् ४०० तिर चन्द्रगुप्त राजाको विषयमा कालीदास जस्ता विद्वानहरूले आफ्ना कृतिहरूमा उल्लेख गरेका छन् । समुन्द्रगुप्तको विषयमा प्रयागको शिलालेख प्रसिद्ध छ, शक सम्बत उठान गर्ने कनिष्कको बारेमा पनि धेरै प्रमाण पाइन्छन् भने त्यहाँ विक्रमादित्य राजाको पनि अस्तित्व भएको भए कुनै न कुनै शिलालेख वा त्यसबेलाका कविहरूले लेखेका केही न केही प्रमाणहरू भेटिन्थे होलान् तर त्यस्ता प्रमाणहरू केही पाइँदैन । चौथो शताब्दितिर उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिई राजधानी बनाएपछि तामाका सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई 'विक्रमादित्य' अंकित गराएका थिए । त्यत्तिकै आधारमा उनी नै विक्रम सम्बतका प्रणेता थिए भन्न मिल्दैन ।

नेपालका लिच्छवि राजाहरूसँग मगदका गुप्त राजाहरू अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासँग वैवाहिक सम्बन्ध जोडेका हुनाले सन् ३३० तिर आफ्नो मुद्रामा 'लिच्छवयः' र 'लिच्छवि दौहित्री' अंकित गरेको कुराले नेपालका लिच्छवि राजाहरूको पराक्रमको प्रभावले चन्द्रगुप्त द्वितीयले 'विक्रमादित्य'को उपाधि पनि अवलम्बन् गरिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ तर चन्द्रगुप्त द्वितीयले चौथो शताब्दिमा आफूलाई विक्रमादित्य उपाधिबाट विभूषित गर्दैमा विक्रम सम्बत भारतबाटै उठान भएको थियो भन्न सकिँदैन । इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ- [['जुन समय ई.पू. ५८ वर्षमा यो सम्बत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन।|'जुन समय ई.पू. ५८ वर्षमा यो सम्बत उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन ।]] उज्जयनीका खण्डहरूको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन । ' फलतः विक्रम सम्बत हिमवत्खण्ड नेपालको आदि र मौलिक सम्बत भएकाले यसले युगौदेखि कुनै पनि प्रकारको औपनिवेसिक प्रभावमा पर्न परेको छैन । त्यसैले विक्रम सम्बत नेपालको गौरवमय पहिचान हो ।

सन् १९०३ अप्रिल १३ तारिखका दिन राणा प्रधानमन्त्री चन्द्र शमसेरले विक्रम सम्वत् १९६० बैशाख कृष्ण द्वितिया तिथिका दिन बैशाख १ गते सौर्यमानक पात्रो सुरु गरे । नेपालको औपचारिक कामकाजमा प्रयोग हुने सौर्यमानक विक्रम संवत् हो । यो संक्रान्तिमा आधारित छ ।

परम्परागत प्रचलनमा विक्रम संवत् चन्द्रमानक संवत् हो । विसं १९६० अघि विक्रम संवत् चन्द्रमानक मात्र थियो । यद्यपि अहिले पनि चाड पर्व, संस्कृति, संस्कार, रीतिथिति लगायतका धार्मिक एवं सांस्कृतिक गतिविधिका लागि चन्द्रमानक पात्रोकै प्रयोग गरिन्छ । भारतमा विक्रम संवत् नव वर्ष चैत्र शुक्ल प्रतिपदा तिथिका दिन मनाइने गरिन्छ ।

क्र.सं. नाम
आइतवार
सोमवार
मंगलवार
बुधवार
बिहीवार
शुक्रवार
शनिवार
क्र.सं. नाम अरु नाम दिनहरू
बैशाख - ३० / ३१
जेठ ज्येष्ठ ३१ / ३२
असार आशाढ, आषाड ३१ / ३२
साउन श्रावण ३१ / ३२
भदौ भाद्र, भाद्रपद ३०/३१ / ३२
असोज आश्विन, कुआर ३० / ३१
कात्तिक कार्तिक २९ / ३०
मंसिर मार्गशिर्ष, मार्ग, अग्रहायण, २९ / ३०
पुष पौष २९ / ३०
१० माघ - २९ / ३०
११ फागुन फाल्गुण २९ / ३०
१२ चैत चैत्र ३० / ३१

हाल विक्रम संवत्‌मा एक्काइसौँ शताब्दी चल्दैछ र एक्काइसौँ शतब्दीका वर्षहरू देहायका छन् ।

विसं २१०० - विसं २०९९ - विसं २०९८ - विसं २०९७ - विसं २०९६ - विसं २०९५ - विसं २०९४ - विसं २०९३ - विसं २०९२ - विसं २०९१
विसं २०९० - विसं २०८९ - विसं २०८८ - विसं २०८७ - विसं २०८६ - विसं २०८५ - विसं २०८४ - विसं २०८३ - विसं २०८२ - विसं २०८१
विसं २०८० - विसं २०७९ - विसं २०७८ - विसं २०७७ - विसं २०७६ - विसं २०७५ - विसं २०७४ - विसं २०७३ - विसं २०७२ - विसं २०७१
विसं २०७० - विसं २०६९ - विसं २०६८ - विसं २०६७ - विसं २०६६ - विसं २०६५ - विसं २०६४ - विसं २०६३ - विसं २०६२ - विसं २०६१
विसं २०६० - विसं २०५९ - विसं २०५८ - विसं २०५७ - विसं २०५६ - विसं २०५५ - विसं २०५४ - विसं २०५३ - विसं २०५२ - विसं २०५१
विसं २०५० - विसं २०४९ - विसं २०४८ - विसं २०४७ - विसं २०४६ - विसं २०४५ - विसं २०४४ - विसं २०४३ - विसं २०४२ - विसं २०४१
विसं २०४० - विसं २०३९ - विसं २०३८ - विसं २०३७ - विसं २०३६ - विसं २०३५ - विसं २०३४ - विसं २०३३ - विसं २०३२ - विसं २०३१
विसं २०३० - विसं २०२९ - विसं २०२८ - विसं २०२७ - विसं २०२६ - विसं २०२५ - विसं २०२४ - विसं २०२३ - विसं २०२२ - विसं २०२१
विसं २०२० - विसं २०१९ - विसं २०१८ - विसं २०१७ - विसं २०१६ - विसं २०१५ - विसं २०१४ - विसं २०१३ - विसं २०१२ - विसं २०११
विसं २०१० - विसं २००९ - विसं २००८ - विसं २००७ - विसं २००६ - विसं २००५ - विसं २००४ - विसं २००३ - विसं २००२ - विसं २००१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. भीमप्रसाद गुरागाँई। "विक्रम संवत् र नेपाली पात्रो" (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  2. रामप्रसाद धिताल। "नयाँ वर्षको सेरोफेरो"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  3. वेदराज पन्त। "संवत्सरको अनुक्रमिक परम्परा र वर्ष"नेपाली जापान (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  4. "यसरी सुरु भयो विक्रम संवत्"लोकान्तर (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१