मोलुङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओखलढुंगा जिल्ला को मोलुङ गाउँपालिका स्थानीय मोलुङ खोलाको नामबाट नामाकरण गरिएको गाउँपालिका हो । यो गाउँपालिकामा साविकका कुन्तादेवी, वरुणेश्वर, हर्कपुर, प्राप्चा, श्रीचौर तथा राँगादीपका पूरै भाग र पात्ले गाविसका १, २, ७ र ९ वडा मिलाइएको छ । यस गाउँपालिकाको पूर्वमा सिद्धिचरण नगरपालिका, पश्चिममा खिजीदेम्बा गाउँपालिका र चम्पादेवी गाउँपालिका, उत्तरमा सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिका तथा दक्षिणमा सुनकोसी गाउँपालिका र सिद्धिचरण नगरपालिका रहेको छ ।

भूगोलका हिसाबले ११२ वर्ग किलोमिटर रहेको यस गाउँपालिकाको जनसङ्ख्या १५ हजार ८ सय ६२ जना रहेको छ । ८ वटा वडामा विभाजित यस गाउँपालिका धर्म, संस्कृति, पर्यटन, राजनीति, उद्यमलगायतका क्षेत्रमा धनी मानिन्छ । तीमध्ये प्रमुख सम्भावना बोकेका क्षेत्रहरु यहाँ उल्लेख गरिएको छ ।

मोलुङ खोला[सम्पादन गर्नुहोस्]

शिवदूतिका नामले समेत चिनिने मोलुङ खोला देम्बा डाँडालाई शीर बनाएर यो गाउँपालिकाको मध्य भाग हुँदै बहन्छ । यो खोला समग्र गाउँपालिकाकै समृद्धिको ढोकाको रूपमा चिनिन्छ । किनकि जिल्लाका अरु स्थानीय तहसँग यति ठूलो र चटक्क मिलेको खोला नै छैन । मोलुङ खोलाको पानी यहाँका खेतीयोग्य जमिन सिंचित गर्नका लागि किसानले प्रयोग गर्दै आइरहेका छन् । मोलुङ खोला समग्र गाउँपालिकाकै गहनाको रूपमा रहेको छ भन्दा फरक नपर्ला । यही खोलाको पानीले गाउँपालिकाका आधा दर्जन गाउँहरु झलमल भएका छन् । हालै ७ मेघावाटको मोलुङ हाइड्रो जलविद्युत् आयोजना सम्पन्न भएर सञ्चालनमा आएको छ । अन्य विद्युत् आयोजनाहरु अध्ययनको चरणमा छन् ।

जरायोटार[सम्पादन गर्नुहोस्]

ओखलढुंगा जिल्लाका प्रमुख टारहरुमध्येको एक मानिने जरायोटार अन्नबाली उब्जनीमा समेत अब्बल मानिन्छ । मोलुङ र सोलुङ खोलाको बीचमा रहेको यो टारमा सिंचाइको राम्रो सुविधा छ । किंवदन्ती अनुसार जरायोटारमा मोलुङ खोलाको पानी ल्याउनका लागि बेली चमेली नामका दुई देवीले मसान प्रयोग गरेर अक्करे पहरो फोरेर कुलो निर्माण गरेका थिए । कुलो कहिले निर्माण भएको भन्ने थाहा नभएपनि कुलोको नाम निर्माण गर्ने देवीकै नामबाट बेलीचमेली रहेको स्थानीय बताउँछन् ।

वरुणेश्वर उमावि[सम्पादन गर्नुहोस्]

मोलुङ गाउँपालिकाको अर्को गहना भनेको वरुणेश्वर उमावि पनि हो । यो विद्यालय प्रदेश नं. १ कै सर्बोत्कृष्ट सामुदायिक विद्यालय हो । शिक्षा मन्त्रालयले शिक्षा दिवसको अवसरमा प्रदान गर्दै आएको उत्कृष्ट विद्यालय पुरस्कार पछिल्ला वर्षहरूमा प्रदेश नं. १बाट यस विद्यालयले आफ्नो पोल्टामा पार्दै आएको छ । विद्यालयले तत्कालीन शिक्षा कार्यालयले चलाएको मिसन ७३ भिजन ७५ अभियान लागु गरेरपछि प्रगति हाँसिल गर्न सफल भएको हो । विद्यालयलाई हरेक वर्ष उत्कृष्ट बनाउनका लागि यहाँका शिक्षक, अभिभावक र विद्यार्थीको उत्तिकै पसिना बहेको छ ।

सेप्ली झरना[सम्पादन गर्नुहोस्]

साविकको रागादीप गाविसमा पर्ने सेप्ली झरना पर्यटकीय सम्भावना बोकेको झरना हो । सेप्ली खोलामा अग्लो पहराबाट झर्ने यो झरनासँग प्रकृतिप्रेमीहरूलाई लोभ्याउने कला छ । पर्यटकलक्षित संरचना तयार गर्ने हो भने ओखलढुंगा सदरमुकाम नजिक रहेको यो झरनामा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने निश्चित छ । झरना क्षेत्रसम्म पुग्ने व्यवस्थित बाटो, झरना क्षेत्रमा संरचना निर्माण, खानपानको राम्रो व्यवस्था र प्रचारप्रसारलाई मात्रै ध्यान दिने हो भने पनि स्थानीयको जीविकोपार्जनको माध्यम र गाउँपालिकाको आम्दानीको स्रोत बन्न सक्छ । यहाँको सेप्ली र चिशंखुगढी गाउँपालिकाको रातमाटे झरनालाई लिखु गाउँपालिकामा रहेको पोकली झरनापछिको ओखलढुंगा जिल्लाभित्र भएका संभावित पर्यटकीय गन्तव्य रूपमा समेत चिनिन्छ ।

शहीद पार्क[सम्पादन गर्नुहोस्]

वरुणेश्वरस्थित रामपुरमा रहेको शहीद पार्क प्रजातन्त्र प्राप्तिको संघर्षमा २०३१ सालमा मारिएका एकै गाउँका पाँच जना शहीदको सम्झनामा स्थापना गरिएको हो । यो पार्कमा लीलानाथ दाहाल, खगेनद्र दाहाल, ठगीराज दाहाल, गोकर्ण कार्की र पेशल दाहालको अर्धकदको प्रतिमा राखिएको छ । शहीद पार्कले नेपाली राजनीति र व्यवस्था परिवर्तनमा गाउँपालिका क्षेत्रको कति योगदान छ भन्ने कुरा झल्काउँछ ।