सिन्जा उपत्यका
सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ। ऐतिहासिक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यकासँग कर्णाली राजमार्ग मार्फत जोडीएको छ। स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ।
कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेको सिंजा नराकोटका प्रमुख मधुशंकर उपाध्याय बताउँछन्।
कर्णालीका राजाहरूको मुख्य योगदान भनेको अहिले बोलीचालीमा रहेको खस भाषाको उद्गमस्थल हो। सिंजा उपत्यकामा इसाको १३औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो। १२औँ शताब्दीदेखि इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ।
सिंजा उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जन बढी साना-ठुला देवी देउताका मन्दिरहरू वर्तमान अवस्थामा जीर्ण भएका छन्।
त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवशेषसमेत भेटिन मुस्किल पर्न थालेको छ। खस राज्य सञ्चालनको समयमा बनाइएको यी मठ मन्दिर, सिंजा, सिहु बाघ, ठुलाठुला ढुङ्गामा कुँदिएका चित्रकला, सङ्केत अक्षर र अङ्कहरू लेखिएका शिलालेखहरूसमेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा रहेको जुम्लाका इन्जिनियर नरेशदत्त रावलले बताए।
भूगोल
[सम्पादन गर्नुहोस्]नेपालको हालको कर्णाली प्रदेश पर्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]आजभन्दा ३४६१ वर्षअघि अर्थात् इशापूर्व १४४४ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति भेटिन्छ ।
जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ। यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ ।
खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास भेटिएको छ ।
यस्तै गरी बली राजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ। जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.सं. १८१६ मा राज्याभिषेक गरेका थिए। नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थियो। चौथो शताब्दीमा शुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]https://ekantipur.com/pradesh-6/2018/09/14/15369020338827998.html
https://thahakhabar.com/news/51588