नेपालका उपत्यकाहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उदयपुर उपत्यका र पृष्ठभूमिमा सुनकोशी नदी

चारै तिर पहाडले घेरिएको तथा बिचमा समतल भएको भूभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यकाहरू रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यकालाई उपत्यका भनिए पनि साना पहाडी उपत्यकाहरूलाई टार, पाटन, बेसी र माढी पनि भनिन्छ ।[१][२][३] कतिपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठूलो क्षेत्रफलसमेत भएका र विविधताले भरिपूर्ण रहेका छन् । नेपालका पहाडी क्षेत्रमा रहेका प्रमुख तथा ठुला उपत्यकाहरूमा काठमाडौं उपत्यका, पोखरा उपत्यका, सुर्खेत उपत्यकासिंजा उपत्यका रहेका छन् भने पहाडी क्षेत्रका माढी तथा टार तथा पाटन भनिने प्रमुख उपत्यकाहरूमा पाल्पा माढी, बनेपा, पाँचखाल, भकुन्डे बेसी, पाटन (बैतडी), तुम्लिङटार, रूम्जाटार, कर्पुटार, बिजुवार, धादिङ बेसी, चुत्राबेसी, रामपुर (पाल्पा) र चौरजाहारी रहेका छन् । यसै प्रकार भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचका प्रमुख उपत्यकाहरूमा जोगबुढा उपत्यका, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, सिन्धुली उपत्यकाउदयपुर उपत्यका रहेका छन् ।[४][५]

विषयसूची

पहाडी क्षेत्रका मुख्य ठूला उपत्यकाहरू

काठमाडौं उपत्यका

नेपालको राजधानी लगायत पाँचवटा महत्वपूर्ण नगरहरू काठमाडौं, ललितपुर, भक्तपुर, मध्यपुर तथा कीर्तिपुर यस उपत्यकाभित्र रहेका छन् ।[६] अत्यन्त उब्जाउ माटो रहेको यो उपत्यकालाई बाग्मती उपत्यका पनि भनिन्छ ।[७] यो पहाडी क्षेत्रको सबैभन्दा ठूलो उपत्यका हो । यस उपत्यकाको पहाडी क्षेत्रमा उत्पति भई बागमती, बिष्णुमती, इक्षुमती, धोबीखोला, हनुमन्ते, मनोहरा, कोडकुखोला र टुकुचा लगायत खोलाहरू बागमतीको जलधारामा मिसिदै चोभारको गल्छीबाट उपत्यका बाहिर निस्केका छन् । सभ्यताको प्रतीकको रूपमा विकास भएको काठमाडौं वर्तमान नेपालको राजधानी मात्र नभई देशको मुख्य शहरी क्षेत्र पनि हो ।[८] गोपाल वंश तथा महिसपाल वंशहरू समेतको इतिहास बोकेको काठमाडौं उपत्यकामा किराँत काल, लिच्छवी काल, मल्ल काल हुँदै सङ्घीय लोकतन्त्रिक गणतन्त्रको स्थापना भएको हो । काठमाडौं उपत्यकामा झन्डै २५ लाखको हाराहारीमा मानव बसोबास रहेको छ । देशको केन्द्रीय सचिवालय सिंहदरवार, नारायणहिटी दरवार, मन्त्रालयहरू बिभिन्न केन्द्रीय कार्यालयहरू यसै उपत्यकामा रहेका छन् । काठमाडौं नेपालको प्रमुख वाणिज्य केन्द्र पनि हो, पर्यटन स्थलको रूपमा पुराना सम्पदा बसन्तपुर दरबार, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर, स्वयम्भूनाथ तथा बौद्धनाथ यसै उपत्यकामा रहेका छन् ।[९]

पोखरा उपत्यका

मध्य नेपालमा पर्ने पोखरा उपत्यकालाई सेती उपत्यका पनि भन्ने गरिन्छ ।[१०] नेपालकै दोस्रो ठुलो पोखरा लेखनाथ महानगरपालिका रहेको यस उपत्यकाबाट बिजयपुर र कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत्यका बाहिर निस्कन्छन् । पोखरा उपत्यका तालहरूका लागि धनी उपत्यका हो । यहाँ फेवा ताल, बेगनास ताल, रुपा ताल तथा खास्टे लगायतका ठूला तथा मैदी, दिपाङ, कमलपोखरी लगायत साना तालहरू यो उपत्यका भित्रै रहेका छन् ।[११]

वर्तमान नेपालको एकीकरण हुनुपूर्व पोखरा कास्की राज्य अन्तर्गत थियो । ऐतिहासिक कास्कीकोट यसै उपत्यकाको उत्तरी छेउमा रहेको छ । पृथ्वी नारायण शाहका माहिला पुत्र नायव वाहादुर शाहको समयमा पोखरा उपत्यका वर्तमान नेपालमा गाभिएको हो । यस उपत्यकाका शहर तथा गाउँहरूमा अनुमानित ३,५०,००० जनसङ्ख्या रहेको छ । यहाँका रमणीय तालहरू र सेती नदी हिमाली छायाँ तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन् । फेवा तालमा पर्ने माछापुच्छ्रे हिमालको छायाँ तथा बेगनासमा गरिने डुङगा सवारी अत्यन्तै मनमोहक छन् । साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यसै उपत्यकाबाट शुरू हुन्छ ।

पृथ्वी राजमार्गका माध्यमले पोखरा उपत्यका पूर्वमा मध्य पहाडी क्षेत्र, काठमाडौं उपत्यका मध्य दक्षिणको चितवन उपत्यका तथा पूर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिद्दार्थ राजमार्गले पोखरालाई पश्चिम तराई र केही पहाडी जिल्लासँग तथा धवलागीरी राजमार्गले पश्चिम उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोडेका छन् ।

सुर्खेत उपत्यका

पश्चिम नेपालको पहाडी क्षेत्रमा पर्ने सुर्खेत उपत्यका पहाडी क्षेत्रको काठमाडौं र पोखरा उपत्यका पछि क्षेत्रफलमा तेस्रो ठूलो मानिन्छ । विरन्द्रनगर शहरी क्षेत्र लगायत गाउँपालिका रहेको सुर्खेत उपत्यकाबाट झुप्रा, निकास खोला, अदी खोला प्रवाहित छन् । यहाँ रहेका खोलाहरू उपत्यका बाहिर निस्केर भेरी नदीमा मिसिन्छन् । सुर्खेतमा बुलबुल ताल, कार्के दह लगायत साना ठूला ताल पोखरी समेत रहेका छन् ।

सुर्खेत उपत्यका वर्तमान नेपाल एकीकरण हुनु अगाडी लामो समय जुम्लाको सिंजा राज्य तथा जाजरकोट राज्यद्वारा शासित थियो । ऐतिहासिक लाटिकोइली, देउतीबज्यै तथा काँक्रे विहारले सुर्खेतको ऐतिहासिकता प्रमाणित गर्दछन् । झन्डै ४०,००० हजार जनसङ्ख्या रहेको वीरेन्द्रनगर मुख्य शहरी क्षेत्र रहेको यस उपत्यकाको अन्य नगर तथा ग्रामीणक्षेत्रमा समेत गरी झन्डै दुई लाख जनसङ्ख्या रहेको छ । यो उपत्यकालाई नेपालका अन्य स्थानहरूसँग रत्न राजमार्गले तथा सिंजा उपत्यकासँग कर्णाली राजमार्गले र दाङ उपत्यकाको त्रिभुवननगरसँग एक कच्ची सडक मार्गले जोडेको छ। उपत्यकाको वीरेन्द्रनगर शहरी क्षेत्र तथा अन्य गाउँहरू स्थानीय सडक सञ्जालले जोडिएका छन् ।

सिंजा उपत्यका

कर्णाली प्रदेशमा पर्ने यो उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा जुम्ला जिल्लाको सदरमुकाम हो । अत्यन्तै विकट पहाडी तथा हिमाली क्षेत्रको मध्यभागमा रहेको यो उपत्यकाको भूगोल अनुपम छ । तिला नदीले यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ । ऐतिहासिक बजार रहेतापनि हवाई सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यकासँग कर्णाली राजमार्ग मार्फत जोडिएको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ ।

पहाडी क्षेत्रका माढी तथा टार तथा पाटन भनीने केही प्रमुख उपत्यकाहरू

पाल्पा माढी

पाल्पा जिल्लाको तानसेन नगरको केही भूभाग समेत पर्ने माडी उपत्यका पाल्पा जिल्ला तथा सम्पूर्ण पहाडी क्षेत्रको सबैभन्दा ठूलो अन्न भण्डार हो । ढापिलो जमीन भएका हुनाले यस उपत्यकामा मानव बसोवास न्यून रहेको छ । यहाँको जल निकास भएर झुम्साखोलामा मिसिन्छ ।

बनेपा

काठमाडौं उपत्यको पूर्वको साङ्गा भञ्ज्याङ चढेर झरेपछी बनेपा उपत्यका पुगिन्छ । काभ्रेपलाञ्चोक जिल्लामा पर्ने यो उपत्यका राजधानी काठमाडौंको नजीकै रहेको र साना साना तीन वटा नगर पनौती, बनेपाधुलीखेल समेत यसै भित्र पर्ने हुनाले यो उपत्यका मध्यपूर्वमा रहेका पहाडी बस्तीहरूका लागि व्यापारिक केन्द्र पनि हो । नेपाल र चीनलाई जोडने अरनिको राजमार्ग यसै उपत्यका भएर उत्तर तिर झरेको छ । साथै बिपी राजमार्गले यस उपत्यकालाई सिन्धुली, रामेछाप, महोत्तरी जिल्ला लगायत पूर्वी तराईसँग जोडेको छ ।

पाँचखाल

पाँचखाल उपत्यका

काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाँचखाल उपत्यका अत्यन्त उब्जाउ माटोले बनेको छ । यो उपत्यका बनेपा उपत्यकाको उत्तरमा अवस्थित छ । यस उपत्यकाको मध्य भागमा पाँचखाल नगरपालिकामा पर्छ भने केही आसपासका अन्य गाउँपालिकाहरू पनि यसै उपत्यकामा समाहित छन् । नेपालमा कमै मात्र दुई खेती धान हुने ठाउँहरू मध्ये यो उपत्यका नेपालकै एक प्रमुख कृषि क्षेत्र हो । अरनिको राजमार्गले यस उपत्यकालाई पनि चिर्दै उत्तर तर्फ गएको छ । नेपालको मुख्य शान्ति सेना तालिम केन्द्र यसै उपत्यकामा रहेको छ भने प्राकृतिक रूपमा पनि थुप्रै सम्भावना पाँचखाल उपत्यकामा देखिएका छन् । यस उपत्यकाको मध्य भाग भएर बग्ने झीगु खोलाले यहाँको मध्यभागमा रहेका कृषियोग्य जमीनलाई सिंचाई उपलब्ध गराएको छ ।

भकुन्डे बेसी

भकुन्डे बेसी

भकुन्डे बेसी काभ्रेपलाञ्चोक जिल्लाकै अर्को सानो उपत्यका हो । वरिपरि दाप्चा, मेथिनकोट र बेलागाउँ लगायतका डाँडाहरूले घेरिएको यो उपत्यका कृषि उत्पादनका लागि उर्वर मानिन्छ ।

पाटन (बैतडी)

बैतडी जिल्लामा पर्ने पाटन उपत्यका बैतडी जिल्लाको दोस्रो सदरमुकाम तथा सबैभन्दा उब्जाउ फांटको रूपमा रहेको छ । यस उपत्यकाको दक्षिणमा महाभारत पर्वत श्रृङ्खला पारी पट्टी जोगबुढा उपत्यका रहेको छ ।

तुम्लिङटार

तुम्लिङटार सङ्खुवासभा जिल्लामा पर्दछ । सभाखोला र अरूण नदीको दोभनमा रहेकाले यसलाई सभा उपत्यका समेत भनिन्छ भने यसलाई समग्रमा अरुण उपत्यकाको एक अंश पनि भन्ने गरिन्छ । खाँदबारी नगरपालिका रहेको यो उपत्यकामा नेपालको पहाडी क्षेत्रमै सबैभन्दा ठूलो घांसे विमानस्थल रहेको छ ।

रूम्जाटार

रूम्जाटार ओखलढुङ्गा जिल्लामा र सुनकोसी नदीको किनारमा अवस्थित छ । ओखलढुङ्गा जिल्लाको हवाइद्वार रूम्जाटारमा विमानस्थल र सानो बजार समेत रहेको छ ।

कर्पुटार

कर्पुटार कास्की जिल्लाको सिमानामा लमजुङ जिल्लामा पर्दछ । कर्पुटारको ईशानेश्वर महादेवको मन्दिर निकै प्रसिद्ध रहेको छ । शिवरात्रीमा यहाँ ठुलो मेला लाग्ने गरेको छ ।

बिजुवार

प्युठान जिल्लामा पर्ने बिजुवार सानो तर अत्यन्त उर्वर उपत्यका हो । यो प्युठान जिल्लाको सबैभन्दा ठूलो बजारहरू मध्ये एक पनि हो ।

धादिङ बेसी

धादिङ जिल्ला सदरमुकाम रहेको यो सानो उपत्यका धादिङ जिल्लामा पर्दछ र जिल्लाको उत्तरी क्षेत्रका लागि आवश्यक सरसामानहरू यसै उपत्यकाको बजारबाट पठाइन्छ ।

चुत्राबेसी

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्क बजार तथा ऐतिहासिक चुतरावेसी बजार समेत पर्ने यो उपत्यका अर्घाखाँची जिल्लाको मुख्य अन्न भण्डार हो । ऐतिहासिक चुतरा वेसी तथा जिल्ला सदरमुकाम समेत यसै उपत्यकामा रहेकाले यो उपत्यका द्रुततर विकास भइरहेको छ । प्रशासनिक, शैक्षिक, स्वास्थ्य तथा वाणिज्य विकासको प्रचुर सम्भावना यो सानो उपत्यकामा देखिन्छ ।

रामपुर (पाल्पा)

पूर्वी पाल्पामा काली नदीको किनारमा पर्ने रामपुर उपत्यका रातो माटोको सतहले बनेको छ । यसै उपत्यकामा पाल्पा जिल्लाको दोस्रो वाणिज्य केन्द्र रामपुर रहेको छ । हाल सिंचाइ नहरको निर्माण पछि यो उपत्यका उत्पादनशील बनेको छ । यस उपत्यकालाई यस क्षेत्रको केन्द्रको रूपमा समेत विकास गर्दै लागिएको छ ।

चौरजाहारी

रुकुम जिल्लामा भेरी नदीको किनारमा अवस्थित यो उपत्यका जाजरकोट र रूकुम जिल्लाको प्रमुख अन्न भण्डारका साथै शिक्षा र स्वास्थ्यको केन्द्र पनि हो ।

भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचका उपत्यकाहरू

जोगबुढा उपत्यका

डडेलधुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षिणमा प्रसिद्ध शुक्लाफाँट वन्यजन्तु आरक्ष रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेलधुरा जिल्लाको मुख्य अन्न भण्डार हो । विकासका दृष्टीले केही पछि परेको भए तापनि क्रमश: यो क्षेत्र विकसित हुँदैछ । जोगबुढा नदीले सिंचित यस उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।

दाङ उपत्यका (बबई उपत्यका)

दाङ उपत्यकाको मुख्य नदी बबई भएकोले दाङ उपत्यकालाई बबई उत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठूला खोला नदीहरू पनि यो उपत्यकामा प्रवाहित हुँदै बहने गर्दछन् । दाङ जिल्लामा पर्ने यो उपत्यका अन्न भण्डारको रूपमा रहेको छ । यस उपत्यकामा दुई नगरपालिका (त्रिभुवननगरतुल्सीपुर) रहेका छन् । वाणिज्य केन्द्रहरू समेत विकास भइसकेको यस उपत्यकाबाट सम्पूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गरिन्छ । शैक्षिक दृष्टिकोणले नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत विश्वविद्यालय) विश्वविद्यालय, महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका छन् ।

विकासशील भएर पनि प्रदेश नं. ५ र पश्चिम नेपालको विकसित जिल्लाका रूपमा दाङलाई गनिन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थित महेन्द्र राजमार्गसँग एक पक्की सहायक राजर्मागले जोड्दै त्रिभुवन नगर देखि तुल्सीपुरसम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवाले जोडेको छ । रोल्पा, रुकुम, सल्यानसँग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ ।

देउखुरी उपत्यका (राप्ती उपत्यका)

राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यकाको मुख्य नदी राप्ती नदी नै हो । यस उपत्यकामा रहेका अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती नदीमै मिसिने गरेको छ । दाङ उपत्यकाको पूर्व तथा दक्षिणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनिएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यकालाई नेपालको सबैभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काटेर गएको छ । यातायातको सुविधा भएको हुनाले यहाँ शिक्षा र स्वास्थ्यको पनि विकास हुँदै गइरहेको छ । यहाँ रहेको लमही, भालुवाङ तथा कुसुम जस्ता साना बजारहरू हाल आएर वाणिज्य केन्द्रको रूपमा विकास हुँदै गइरहेको छ ।

चितवन उपत्यका (नरायणी पूर्वी राप्ती उपत्यका)

नेपालको मध्यभागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ । पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमा माडी उपत्यका छुट्याउने चुरे श्रृङखला सम्म फैलिएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने, राप्ती पूर्वबाट मध्यभाग हुँदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहित भई राप्ती नदीमा मिसिएका छन्, त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहित हुँदै राप्ती नदीमा मिसिएका छन् । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसिएको छ भने भरतपुर नगर क्षेत्रको जङ्गलबाट निस्केर नारायणगढ बजार हुदै पुङ्गी खोला नारायणी नदीमा मिसिएको छ । जुगेडी खोला तथा लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन् । राम्रै जल प्रवाह भएका विनयी खोला, अरूण खोला, गीरवारी खोला साथै साना खोला जयश्री, झरे, बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन् । चितवन उपत्यकामा नन्द भाउजु, विस हजारी ताल लगायतका साना ठूला थुप्रै ताल तथा पोखरी समेत रहेका छन् । यहाँको बिसहजारी ताल विश्व प्रसिद्ध सिमसार क्षेत्र समेत हो । ठूलो भूभाग जङ्गलै जङ्गलले ढाकिएको चितवन उपत्यका जैविक विविधतामा धनी मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य संरक्षित क्षेत्र समेत यसै उपत्यकामा रहेकाले यो चितवन, काठमाडौं र पोखरा पछि नेपालकै तेस्रो ठूलो पर्यटक गन्तव्य हो ।

माडी उपत्यका (रिउ उपत्यका)

मध्य नेपालको चितवन उपत्यकाको दक्षिणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पनि भनिन्छ । यस उपत्यकाको प्रमुख नदी रिउ हो । क्षेत्रफलमा सारै सानो यस उपत्यकाको ठूलो भूभाग चितवन राष्ट्रिय निकुञ्जमा पर्दछ । पूर्व उत्तर तथा पश्चिममा चुरे पहाड, दक्षिणमा सोमेश्वर पहाडले घेरिएको माडी उपत्यका प्रशासनिक संरचनामा चितवन जिल्ला अन्तर्गत पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यकाको समुचित विकास हुनसकेको छैन । केही विद्यालय, उच्च माध्यमिक विद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यकाको केन्द्र बसन्तपुर बजार हो । भरतपुरलाई जोड्ने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछि यो उपत्यकाको यातायात केही सहज भएको छ भने रिउ नदीमा निर्माणधीन पुल अझै बन्न सकिएको छैन भने अन्य साना ठूला खोलामा पनि पुल बनाउन बाँकी नै छ । यस उपत्यकालाई पूर्व दक्षिण तर्फ जीतपुर ठोरी तथा भारतीय सिमासम्म जोड्ने अर्को एक कच्ची सडक समेत रहेको छ ।

सिन्धुली उपत्यका (मरिनखोला उपत्यका )

सिन्धुली उपत्यकालाई मरिनखोला खोला उपत्यका पनि भनिन्छ। बागमती नदी काटेपछिको पहाडी क्षेत्रको पूर्व पट्टी मरिन खोला उपत्यका शुरू हुन्छ । मरिन खोलाले बनाएको यो साङ्गुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यकाका डाँडासम्म पुगेको छ । अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका मकवानपुर जिल्ला (पश्चिम) तथा सिन्धुली जिल्ला (पूर्व)मा विभाजित छ ।

उदयपुर उपत्यका (कमला उपत्यका)

कमला नदीबाट सिंचित हुने यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो, तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहित छन् । उत्तरमा महाभारत तथा दक्षिणमा चुरे पहाडको सबैभन्दा होचो खण्डले घेरिएको यो उपत्यका प्रदेश नं. १प्रदेश नं. २ तथा सिन्धुलीउदयपुर दुई जिल्लाको प्रशासनिक संरचनामा रहेको छ । सिन्धुली (कमलामाई नगरपालिका) तथा गाइघाट (त्रियुगा नगरपालिका) जस्ता नगरपालिका भएको यस उपत्यकामा कटारी, घुर्मी र भिमान लगायतका बजार समेत छन् । महेन्द्र राजमार्गको लाहानबाट गाइघाट हुँदै माथि जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खण्डमा काठमाडौं जोड्ने बिपी राजमार्ग (वर्दिवास धुलीखेलराजमार्ग)ले उपत्यकाको यातायत सुचारू राखेको छ ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

  1. (नेपालीमा) isbn:9937259908 - Google Search. https://books.google.com.np/books?isbn=9937259908. 
  2. (नेपालीमा) Mecīdekhi mahākālī. Śrī 5 ko Sarakāra Sañcāra Mantrālaya, Sūcanā Vibhāga. 1975. https://books.google.com.np/books?id=fy9GAQAAIAAJ. 
  3. (नेपालीमा) Viśva sampadā sūcīmā Nepālakā sampadāharū. Śrī 5 ko Sarakāra, Sūcanā tathā Sañcāra Mantrālaya, Sūcanā Vibhāga. 2000. https://books.google.com.np/books?id=iZFPAQAAMAAJ. 
  4. Thapa, Netra Bahadur (1970) (नेपालीमा). Nepālako bhūgola. Ratna Pustaka Bhaṇḍāra. https://books.google.com.np/books?id=-NcGAQAAIAAJ. 
  5. Śreshṭha, Pradyumnalālā (1969) (नेपालीमा). Nepāla adhirājyako bhūgola: Geography of the Kingdom of Nepal. Āśā Pustaka Bhaṇḍāra. https://books.google.com.np/books?id=xLMGAQAAIAAJ. 
  6. Rajendra S. Khadka Travelers' Tales Nepal
  7. von Furer-Haimendorf, Christoph (१९५६), "Elements of Newar Social Structure", Journal of the Royal Anthropological Institute (Royal Anthropological Institute of Great Britain and Ireland) 86: १५, जेएसटिओआर 2843991, डिओआई:10.2307/2843991 
  8. Slusser, Mary (1982). Nepal Mandala: A Cultural Study of the Kathmandu Valley. Princeton University. ढाँचा:ISBN. Page vii.
  9. Centre, UNESCO World Heritage, "Kathmandu Valley", whc.unesco.org (अङ्ग्रेजीमा), अभिगमन मिति २०१८-०५-३० 
  10. नागरिक, "‘उपत्यकाको मौसम अमूल्य छ’" (नेपालीमा), अभिगमन मिति २०१८-०५-३१ 
  11. "पोखरा उपत्यका भित्रका नौ ताल एकिकृत व्यवस्थापन सम्वन्धी गोष्ठी सम्पन्न : कास्की जि.स.स", ddckaski.gov.np (नेपालीमा), अभिगमन मिति २०१८-०५-३१ 

बाह्य लिङ्कहरू