एङ्गलो-नेपाल युद्ध (१८१४–१६)
नेपाल र अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) भनिन्छ। यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ्ग, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहान, जैथक, मलाउँ, देउथल तथा नालापनीमा आक्रमण गरेको थियो।
भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालीम प्राप्त सैन्य नभएपनि बहादुरी पूर्वक लडेको थियो। नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टरलोनी, जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले धेरै शब्दले प्रशंसा गरेका छन्। यस युद्धमा नेपालसङ्ग लडेर जितेर भन्दा नेपालसङ्ग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पूर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पा मकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो। यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो। यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमर सिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ती थापा, रामकृष्ण कुंवर, काजी उजीर सिंह थापा, काजी बंसराज गुरूङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ। यो युद्धको समाप्ती पछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरूभएको)मा लहौर देखि शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो। गोर्खालीहरूलाई भर्ती गरेपछी अङ्ग्रेजले त्यस यताका प्राय सबै युद्धमा गोरखाली सेनाको धेरै या थोरै प्रयोग गरिरहेको छ।
उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिम क्षेत्रमा हालको भारतको उतरान्चल राज्य, हिमन्चल राज्य तथा पन्जावका पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भूभाग ब्रिटिश इस्ट इण्डिया कम्पनी कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो। तर ब्रिटिशले नेपाललाई १८२२मा मेचीदेखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गवहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखि माहाकाली बिचको तराई भूभाग १८६०मा फर्काएका थिए।