अमेरिकी गृहयुद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकी गृहयुद्ध
मिति१२ अप्रिल १८६१ – ९ अप्रिल, १८६५
स्थान
अमेरिका, आन्ध्र महासागर, र प्रशान्त महासागर
परिणाम

सङ्घ विजयी

  • अमेरिकाको भौगोलिक अखण्डता सुरक्षित भयो
  • देशको पुनर्गठन सुरु भयो
  • देशबाट दासत्व वा दासप्रथा हटाइयो
योद्धा
संयुक्त राज्य अमेरिका (सङ्घ)  परिसङ्घीय राज्य
सेनापतिहरू

संयुक्त राज्य अमेरिका अब्राहम लिङ्कन
संयुक्त राज्य अमेरिका विनफिल्ड स्कट
संयुक्त राज्य अमेरिका जर्ज बि म्याकलेलान
संयुक्त राज्य अमेरिका हेनरी वेजर हलेक
संयुक्त राज्य अमेरिका विलिसिस एस ग्रान्ट
संयुक्त राज्य अमेरिका विलियम टि सरम्यान
संयुक्त राज्य अमेरिका गाइडिओन वेल्स

अन्य

 परिसङ्घीय राज्य जेफरसन डेभिस
 परिसङ्घीय राज्य पिजिटी ब्युरेगार्ड
 परिसङ्घीय राज्य जोसेफ इ जोनस्टोन
 परिसङ्घीय राज्य रोबर्ट इ ली
 परिसङ्घीय राज्य स्टिफन म्यालोरी

अन्य
शक्ति
२१,००,००० १०,६४,०००
मृत्यु र क्षति
युद्धमा मृत्यु: १,१०,०००
कुल मृतकको सङ्ख्या: ३,६०,०००
घाइते: २,७५,२००
युद्धमा मृत्यु: ९३,०००
कुल मृतकको सङ्ख्या: २,६०,०००
घाइते: १,३७,०००+

अमेरिकी गृहयुद्ध (अङ्ग्रेजी: American Civil War अमेरिकन सिभिल वार) सन् १८६१ देखि १८६५ सम्म संयुक्त राज्य अमेरिकाको उत्तरी राज्य र दक्षिणी राज्यबीच भएको एक गृहयुद्ध थियो। यस युद्धमा उत्तरी राज्यले विजयी प्राप्त गरेको थियो।

यस युद्धमा उत्तरी राज्यले अमेरिकालाई सङ्घीय एकता बनाउन र पुरै देशबाट दासप्रथा हटाउन चाहन्थे। अमेरिकी इतिहासमा यस पक्षलाई औपचारिक रूपमा 'सङ्घ' भनिन्छ र अनौपचारिक रूपमा 'याङ्की' भनेर चिनिन्छ। दक्षिणी राज्यले भने अमेरिकाबाट छुट्टिएर परिसङ्घीय राज्य अमेरिका नामक एक नयाँ राष्ट्र बनाउन चाहन्थे जसमा युरोपेली मूलका श्वेत वर्णीय (गोरा) जातिका मानिसहरू अफ्रिकी मूलका काला जातिका मानिसलाई दास बनाएर किनबेच गर्ने अधिकार हुन्थ्यो। दक्षिणी पक्षलाई औपचारिक रूपमा परिसङ्घीय र अनौपचारिक रूपमा 'विद्रोही' भनेर चिनिन्छ। यस युद्धमा ६ लाख भन्दा बढी अमेरिकी सैनिक मारिएको हुनसक्ने (वास्तविक सङ्ख्या ६,२०,०००) अनुमान गरिएको छ।[१]

परिचय[सम्पादन गर्नुहोस्]

अमेरिकी गृहयुद्ध दासप्रथाको कारणले मात्र भएको थिएन। यो विभिन्न विचारधाराहरूमा पारस्परिक विरोधको परिणाम थियो। उत्तरी राज्यका निवासी भौगोलिक परिस्थिति, यातायात साधन तथा औद्योगिक सफलताको फलस्वरूप निकै सन्तुष्ट तथा सम्पन्न थिए। कृषि-प्रधान दक्षिणी राज्यमा १७औँ र १८औँ शताब्दीमा अफ्रिकाबाट धेरै दासहरू ल्याइएका थिए। दासहरूलाई कृषिमा मजदुरी गराइन्थ्यो। त्यसकारण दक्षिणी राज्य यी काला वर्णका दासहरूलाई मुक्त गर्ने चाहना थिएन। अमेरिकाको सबै उत्तरी राज्यहरूले सन् १८०४ सम्ममा दासप्रथालाई बिस्तारै बिस्तारै अन्त्य गर्नको लागि कानून बनाएका थिए। मेसिन युगको विस्तारसँगै उत्तर र दक्षिण राज्यवीच अन्तर बढाएको थियो। उत्तरी राज्यका निवासीहरू मेसिनको प्रयोगद्वारा आर्थिक क्षेत्रमा प्रगति गर्न लागिपरेको थियो। उनीहरूले कोइलाफलामको उत्पादन बढाए र त्यहाँ थुप्रै कारखानाको स्थापना गरेर त्यहि काम गर्न थालेका थिए। त्यस क्षेत्रको जनसङ्ख्या तीव्र गतिले बढेको थियो। यसको तुलनामा दक्षिणी राज्यका मानिसहरू अझै पनि कृषि क्षेत्रमा आधारित थिए र उनीहरूले युग अनुसार प्रगति गर्न सकेका थिएनन्। यहाँको जनसङ्ख्या समेत तुल्नात्मक रूपले बढ्न सकेको थिएन। अमेरिकाको व्यापारिक नीति उत्तरी राज्यहरूको लागि फाइदाजनक थियो तर दक्षिणी राज्यले त्यस्को फाइदा उठाउन सकेका थिएनन्। व्यापारिक नीतिको दक्षिणमा विरोध भयो र दक्षिणी यसलाई अवैध ठहराउन थालेका थिए। उनीहरू स्वतन्त्र व्यापारको अनुयायी थिए, जसले गर्दा उनीहरू आफ्नो कच्चा माल बिना नियन्त्रण विदेश पठाउन र आफ्नो आवश्यकता अनुसार बनेको बस्तुहरू खरिद गर्न सकोस्। दक्षिण क्यारोलाइनाले जन कुल्हनको मतानुसार प्रत्येक राज्यले संयुक्त राज्यको कुनै पनि नीतिलाई मान्न वा नमान्न पूर्ण अधिकार थियो। सङ्घर्ष बढ्दै गर्दा संविधानको व्याख्या गर्दै उत्तर र दक्षिणका राज्यहरू आफ्नो-आफ्नो तर्कको पुष्टि गर्न पूर्ण प्रयास गर्न थालेका थिए।

गृहयुद्धको कारण[सम्पादन गर्नुहोस्]

अमेरिकी स्वतन्त्रता युद्ध पश्चात् अमेरिका एक स्वतन्त्र राष्ट्रको रूपमा विश्वको मानचित्रमा स्थापित भएको थियो भने अमेरिकाले नै विश्वको पहिलो लिखित संविधान बनाएर सङ्घीय शासन प्रणालीको स्थापना गरेको थियो। यस स्वतन्त्रता युद्धमा सबै अमेरिकी राज्यहरू एकजुट भएर उपनिवेशवाद विरुद्ध सङ्घर्ष गरेका थिए तर सन् १८६० पछिको समयमा अमेरिकी राज्यहरू बीच नै गृह-युद्ध सुरु भएको थियो।

केही इतिहासकारहरूका अनुसार अमेरिकी स्वतन्त्रता युद्धमा नै गृहयुद्धको बीउ रोपिएको थियो भने केहीका अनुसार गृहयुद्धलाई पूँजीवादी आदोलन मान्छन्। केही इतिहासकारहरू दास प्रथालाई गृहयुद्धको लागि कारक ठान्दछन्।

अमेरिकी गृहयुद्धको निम्नलिखित कारण थिए-

उत्तरी तथा दक्षिणी राज्य बिचको आर्थिक भिन्नता[सम्पादन गर्नुहोस्]

सङ्घको ३४ राज्यहरूमध्ये २३ राज्य उत्तरमा सम्मिलित थिए र देशको कुल जनसङ्ख्याको दुई तिहाई मानिस उत्तरी राज्यमा बस्थे र यसमा दासको सङ्ख्या निकै कम थियो। उत्तरी राज्यमा प्रचुर मात्रामा उद्योग कलकारखानाको विकास भएको थियो। उद्योगमा कपास, उनको लुगा, छालाको सामान आदि उत्पादन हुन्थ्यो। यी कारखानाहरूमा मजदुरद्वारा मेसिनबाट काम गरिन्थ्यो र त्यसैले यहाँ दासहरूको विशेष आवश्यकता थिएन।

अर्को तर्फ अमेरिकाको दक्षिणी राज्यहरूको आर्थिक जीवन कृषिमा आधारित थियो र कृषिमा यान्त्रिक उपयोग निकै कम थियो। त्यसैले यी राज्यका किसान खेतीको लागि दासको श्रममा निर्भर थिए। दक्षिणमा कपास, सुर्तीको खेती ठूलो स्तरमा हुन्थ्यो र यसमा दास मजदूरको रूपमा काम गर्ने गरेका थिए। त्यसैले दक्षिणी राज्यको समाज पूर्ण रूपमा दास माथि निर्भर थियो। दक्षिणी राज्य प्रचलित दासप्रथा र बागान व्यवस्थाको कारणले उत्तरी एवम् पश्चिमी भागभन्दा फरक थियो। दक्षिणी राज्य-भर्जिनिया देखि दक्षिणी क्यारोलिना हुँदै जार्जियासम्म एक पट्टीको रूपमा फैलिएको थियो। यस प्रकार आर्थिक भिन्नताको कारण उत्तरी एवं दक्षिणी राज्यको आर्थिक जीवन राजनीतिक विचारधारा र सामाजिक स्तरमा निकै ठूलो मतभेद थियो।

संरक्षणको प्रश्न[सम्पादन गर्नुहोस्]

उत्तरी अमेरिकी राज्य उद्योगमुखी थिए जसको फलस्वरूप त्यहाँ नयाँ उदयीमान उद्योगपतिहरूले विदेशी प्रतिस्पर्धाबाट बच्नको लागि संरक्षणको माग गरेका थिए। उनीहरूको हितलाई ध्यानमा राख्दै अमेरिकी सङ्घद्वारा उद्योगहरूलाई संरक्षण दिइएको थियो। तर यस कदमबाट दक्षिणी राज्यहरूलाई आपत्ति थियो जसको मुख्य कारण संरक्षणवादको नीतिको कारण आवश्यक वस्तुको आपूर्ति कम भइ मूल्यवृद्धि भएको थियो। दक्षिणी भेगका मानिसहरूले दक्षिणी राज्यहरूको हितलाई उपेक्षाको दृष्टिले हेरिन्छ भन्ने महसुस गरेका थिए

दास प्रथाको मुद्दा[सम्पादन गर्नुहोस्]

दासप्रथासँग सम्बन्धित संवैधानिक मुद्दा[सम्पादन गर्नुहोस्]

उत्तरी अमेरिकामा दास व्यापारको अन्त्य गरिएको थियो र दास प्रथा उत्तरमा पेन्सिलभेनियाको दक्षिणी सीमा सम्म बन्द भैसकेको थियो। यस सिमा रेखालाई “मेसम-डिक्सन” सीमा भनिन्थ्यो।

संविधानमा सङ्घीय व्यवस्थापिकामा दासको गणना गर्न स्वीकार गरिएको थियो तर दासको जनसङ्ख्याको ३/५ को औसतमा मात्र प्रतिनिधित्व दिइन्थ्यो। यसप्रकार दास राज्यको सङ्ख्या बढेर व्यवस्थापिकामा दास राज्यको बर्च्स्व बढ्ने खतरा पनि थियो। अन्ततः सन् १८२० मा हेनरी क्लेको (प्रतिनिधि सभाको अध्यक्ष) मध्यस्थताबाट मिसौरी-समझौता सम्पन्न भएको थियो। यस अनुसार मिसौरीलाई दास राज्यको रूपमा सङ्घमा सम्मिलित गरिएको थियो। यसपछि सङ्घमा टेक्ससको विलयको प्रस्ताव आएको थियो। अन्त्यमा टेक्ससलाई पनि दास राज्यको रूपमा सन् १८४५ मा सङ्घमा सम्मिलित गरिएको थियो। त्यसपछि क्यालिफोर्नियालाई सन् १८५० मा स्वतन्त्र राज्यको रूपमा सम्मिलित गरिएको थियो। दक्षिणी राज्यहरूमा यसको उग्र विरोध भएको थियो। सन् १८५४ मा क्यान्सस र नेब्रास्काको विलयलाई लिएर फेरि विवाद उत्पन्न भएको थियो। यी दुवै राज्य ३६ डिग्री ३० मिनेटको उत्तरमा अवस्थित थिए र मिसौरी समझौता अनुसार यिनीहरू स्वतन्त्र राज्यको रूपमा सङ्घमा सम्मिलित गरिनु पर्थ्यो तर स्टिफन डगलस नामक एक राजनीतिज्ञको प्रयासबाट यी राज्यलाई दास राज्यको रूपमा सम्मिलित गरिएको थियो। यसप्रकार राज्यहरूको विलयको प्रश्नले उत्तरी र दक्षिणी राजहरू बीच तनाव सुरु भएको थियो।

अब्राहम लिङ्कनको निर्वाचन[सम्पादन गर्नुहोस्]

सन् १८६० मा रिपब्लिकन उम्मेदवार अब्राहम लिङ्कनको विजय पश्चात् सन् १८६१ मा उनी राष्ट्रपतिको पदमा आसीन भएका थिए। रिपब्लिकन पार्टीले दासप्रथाको आलोचना गरेका थिए र यस पार्टीले स्वतन्त्र श्रम विचारधारामा विश्वास राख्थ्यो। उनीहरूलाई लङ्कनको जीत दक्षिणको आर्थिक हितको प्रतिकुल छ भन्ने लागेेेेको थियो। दक्षिणी राज्यहरूमा पहिलो प्रतिक्रिया क्यारोलिना राज्यद्वारा गरिएको थियो। दक्षिणी क्यारोलिनाले सङ्घबाट अलग हुने घोषणा गरेपछि सन् १८६१ कोफेब्रुअरीसम्ममा मिसससिपी, फ्लोरिडा, अलबामा, जर्जिया, लुलसियाना र टेक्ससले पनि सङ्घसँग सम्बन्ध विच्छेद गरि जेफरसन डेभिसलाई आफ्नो राष्ट्रपति नियुक्त गरेका थिए। यसै समयबीच गृहयुद्धको सुरुवात भएको थियो। दक्षिणी क्यारोलिनाबाट सुम्टरको किल्लामा बम प्रहार भएपछि सङ्घ विरुद्धको युद्ध सुरु भएको थियो।

युद्धको लागि प्रस्तावना[सम्पादन गर्नुहोस्]

सन् १८६० राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीको नेतृत्व अब्राहम लिङ्कनले गरेका थिए। सबै अमेरिकी क्षेत्रहरूले दासत्व अन्त्य गर्न समर्थन गरेका थिए। दक्षिणी राज्यहरूले यसलाई उनीहरूको संवैधानिक अधिकारको उल्लङ्घनको रूपमा हेरेका थिए।

विभेदको कारण[सम्पादन गर्नुहोस्]

दासत्वले सन् १८५० को दशकमा राजनीतिक तनाव बढाउनको मुख्य स्रोत थियो। रिपब्लिकन पार्टीले दासत्वलाई फैलिनबाट रोक्ने तयारी गरेको थियो र रिपब्लिकन उम्मेदवार लिङ्कनले सन् १८६० चुनाव जितेपछि थुप्रै दक्षिणी नेताहरूले विद्रोह गरेका थिए।

दासप्रथा[सम्पादन गर्नुहोस्]

Map of U.S. showing two kinds of Union states, two phases of secession and territories
सन् १८६१ मा राज्यको अवस्था
  सन् १८६१ अप्रिल १५ सम्म सदस्यता फिर्ता लिएका राज्यहरू
  सन् १८६१ अप्रिल १५ पश्चात सदस्यता फिर्ता लिएका राज्यहरू
  दाशत्व खुला भएका संयुक्त राज्यहरू
  दाशत्व मुक्त भएका संयुक्त राज्यहरू
  क्षेत्रहरू
सन् १८६४ मा अब्राहम लिङ्कन

गृहयुद्धको परिणाम तथा प्रभाव[सम्पादन गर्नुहोस्]

बलियो राजनीतिक संरचनाको निर्माण[सम्पादन गर्नुहोस्]

गृहयुद्धले राष्ट्रिय र क्षेत्रीय शक्ति सम्बन्धमा परिवर्तन ल्याएको थियो। लामो समयदेखि चलिआएको प्रान्तीय एवम् सङ्घीय राज्यको अधिकारको विवाद समाधान भएको थियो। दक्षिणी राज्यहरूको आत्मसमर्पण पछि उनीहरूलाई फेरि सङ्घमा मिलाइएको थियो।

सामाजिक मूल्य र मान्यतामा परिवर्तन[सम्पादन गर्नुहोस्]

सामाजिक क्षेत्रमा गृहयुद्धको एक महत्वपूर्ण उपलब्धि अमेरिकाबाट दास प्रथाको समाप्ति थियो। युद्ध पश्चात् दासहरूलाई स्वतन्त्र गराई उनीहरूलाई मताधिकार दिइएको थियो। यस गृहयुद्धले अमेरिकालाई एक प्रमुख औद्योगिक राष्ट्र बनाउने सामाजिक-आर्थिक उत्प्रेरकको भूमिका निर्वाह गरेको थियो। यस सम्दर्भमा चार्ल्स र म्यानी बियर्डले यस गृहयुद्धलाई अमेरिकाको "दोस्रो क्रान्ति"को रूपमा वर्णन गरेका थिए।

यस गृहयुद्ध पश्चात् अस्वेत मानिस प्रती गोराहरूको दुर्व्यवहारको घटना बढेको थियो भने हाल पनि अमेरिकी समाजमा श्वेत र अस्वेत बीच मतभेदको समस्या विद्यमान रहेको छ। लामो समय युद्ध चलेकाले अव्यवस्था उत्पन्न भएपछि चाँडै धनी बन्ने प्रवृतिको विकास भएको थियो। यसको फलस्वरूप भ्रष्टाचारमा वृद्धि हुँदै केही अंशमा समाजको नैतिक स्तर तर खस्किएको थियो।

अमेरिकाको एक औद्योगिक राष्ट्रको रूपमा उदय[सम्पादन गर्नुहोस्]

गृहयुद्धलाई अमेरिका एक प्रमुख औद्योगिक राष्ट्र बन्न सामाजिक तथा आर्थिक उत्प्रेरक शक्तिको रूपमा हेरिन्छ। यस सम्दर्भमा चार्ल्स र म्यानी बियर्डले यस गृहयुद्धलाई अमेरिकाको "दोस्रो क्रान्ति"को रूपमा वर्णन गरेका थिए। पूँजीपतिले युद्धामा धन लगाएर सेनाका लागि माल सामान आपूर्तिको ठेक्का लिएर अपार लाभ कमाएका थिए। उनीहरूले यस धनको सदुपयोग राष्ट्रको प्राकृतिक सम्पदा दोहनमा गरेका थिए। युद्धको कारणले सामाजिक तथा आर्थिक रूपमा परिवर्तन आएको थियो भने ती सबै अमेरिकाको औद्योगिक विकासमा सहायक सिद्ध भएका थिए।

महिलाको भूमिका विस्तार[सम्पादन गर्नुहोस्]

व्यापक औद्योगीकरण तथा शहरीकरणद्वारा महिलाहरूको भूमिकाको विस्तार भएको थियो। महिला शिक्षालाई बढावा दिँइदा उनीहरूको जीवन स्तरमा सुधार आएको थियो। यसप्रकार महिला अधिकारको विषयमा विचार विमर्श बढेेेेेेेेेेेेको थियो।

प्रथम आधुनिक युद्ध[सम्पादन गर्नुहोस्]

अमेरिकी गृहयुद्धलाई विश्वको प्रथम आधुनिक युद्ध मानिन्छ। इतिहासमा बख्तरबन्द युद्धपोतबाट सङ्घर्ष गरिएको यो पहिलो युद्ध थियो। यस युद्धमा पहिलोपटक व्यापक रूपमा तोपखाना तथा गोला बारुदको प्रयोग गरिएको थियो। समाचार पत्रले युद्धको गतिविधिको विस्तृत विवरण दिएका थिए र जनमतलाई प्रभावित गर्ने सक्ने क्षमता देखाएका थिए। पहिलो पटक घाइते सैनिकको उपचारको सु-व्यवस्थित ढङ्गको प्रबन्धन गरिएको थियो। भूमिगत तथा जलगत सुरुङ बिछ्याइएको थियो र युद्धपोतलाई डुबाउने पनडुब्बीको प्रयोग भएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Civil War Facts", American Battlefield Trust, American Battlefield Trust, अगस्ट १६, २०११, अन्तिम पहुँच अक्टोबर ७, २०१८