अरिङ्गाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अरिङ्गाल

अरिङ्गाल एक प्रकारको विषालु कीरा हो। यो एक समुहमा बस्ने किरा हो। यसको देख्नसक्ने क्षमता धेरै हुन्छ यो किराले सिजन अनुसार अाफ्नो घर फेर्ने गर्दछ। यो किरा जमिन मुनि र अग्ला अग्ला रुखको हागामा गोलो बनाएर बस्ने गर्दछ ।

अरिङ्गालको जीवन चक्र[सम्पादन गर्ने]

अरिङ्गालको जीवन चक्र मौरी, पुतली, झिँगा जस्तै फुल बाट लार्भा, लार्भा बाट प्युपा र प्युपा बाट वयस्क बन्ने गर्दछ । सबै भन्दा पहिले एक अरिङ्गालले आफु मात्र अट्ने सानो चाका बनाएर दुई चारवटा फुल पारी बाहिर पट्टी रुखका बोक्राको धुलोको लेप बनाएर टाल्छ । फुलबाट विभिन्न अवस्थाहरू पार गरेर पन्ध्र देखि बीस दिनमा दुई चारवटा अरु वयस्क अरिङ्गाल थपिन्छन् । यसै गरि जति जति अरिङ्गालको सङ्ख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठुलो हुँदै जान्छ । अरिङ्गालको गोलोको आकार हेरेर यो भित्र बस्ने अरिङ्गालहरू धेरै छन् अथवा थोरै छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ । अरिङ्गालहरू एक गोलोमा एक वर्ष सम्म बस्छन् । पुस माघमा चिसो मौसमका कारण यिनीहरू गोलो छोडेर अलग अलग जान्छन् । कति त मर्छन् पनि । गर्मि सुरु भए लगत्तै बचेका अरिङ्गालले छुट्टा छुट्टै गोला बनाउँछन् । यिनीहरू मौरी, झिङ्गा आदि किराहरूलाई आफ्नो आहार बनाउछन् ।

वास स्थान[सम्पादन गर्ने]

अरिङ्गाल भिन्न जातअनुसार ठूला रुखका टुप्पा, भीर पहरा, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर बस्ने गर्छ । विशेषतः कालो अरिङ्गाल, रातो अरिङ्गाल र लाटा अरिङ्गाल रुखमा गोला बनाएर बस्छन् भने अत्छ्युँ र बछ्युँले भीर पहरा, टोड्का, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर गोला लगाउने गर्छन् ।पहाडी जिल्लाहरूमा जंगल र खेतबारी वरपर रुख, ओडार, भीरपहरा ठूला भवनहरूमा वर्षायामसँगै अरिङ्गालले गोलो लगाउने गर्दछन् । पहाडी भेकमा बिशेषगरी दुई खालका अरिङ्गाल हुन्छन् रातो र कालो । राता अरिङ्गालहरू सिधा हुन्छन्, जो गोलोनजिकै गएर चलाउँदा पनि हत्तपत्त चिल्दैनन् भने अर्को काला अरिङ्गाल जो देख्नमा हल्का रातो कालो हुन्छन्, यिनीहरूलाई चलाउनु त के आफ्नो गोला भएको रुखको वरपर आएर हल्ला गर्नेसम्मलाई पनि टोकी हाल्छन् । यसैले त ज्यादा रिस भएको र झनक्कै रिसाउने मान्छेलाई कालो अरिङ्गगालको जस्तो रिस भन्ने समेत गरिन्छ । अरिङ्गाल कालो हो कि रातो भनी थाहा पाउन यसको गोलोको रङ्गबाट पनि थाहा पाउन सकिन्छ । राता अरिङ्गालका गोलाहरू खैरो र फुस्रो रंगका हुन्छन् भने कालो अरिङ्गालका गोला घर पोत्ने रातो माटोजस्तै चहकिलो राता हुन्छन् । अरिङ्गालले आफ्नो गोला बनाउन लाली गुराँसअयाँरको नरम बोक्रा प्रयोग गर्दछन् । देशभरबाट हरेक वर्ष अरिंगालको टोकाईबाट मृत्युका समाचार आइरहन्छन् ।[१]

अरिङ्गालको प्रयोग[सम्पादन गर्ने]

विषालु अरिङ्गाल, वछ्युँ, बारुलोको मह त हुँदैन तर लार्भा खान वस्तीका युवाहरू अरिङ्गालको गोलो देख्नै हुन्न ज्यान जानेसम्मकै जोखिम मोलेर पनि गोलो नियन्त्रणमा लिन्छन् अरिङ्गालको गोलो कतिपय स्थानमा सजिलै स्थान वा रुखमा हुन्छ भने कतिपय स्थानमा गाह्रो र ज्यानै जान सक्ने खतरा हुन्छ । लामो लौरीमा कपडा वेरेर मट्टितेल छर्केर आगो सल्काई अरिङ्गाल पोल्ने वा सजिलो स्थान भए ठूलो थैली लिएर गोलो थैलीमा झरेर तातोपानीमा डुबाउने समेत गरिन्छ । यदि लार्भाहरू जिउँदै भए मकैको पिठोमा रातभर राखे लार्भाले मकैको पिठो खाई पेटको फोहर सबै दिसा गर्छन् र अघाएर बसेपछि पनि परिकार बनाइन्छ । अबका दिनमा अरिङ्गालका लार्भाको व्यापार पनि गर्ने गरेको देखिन्छ । विशेषगरी अरिङ्गालका लार्भा मगरचेपाङ समुदायको मनपर्ने खाना हो । धादिङ तथा गोरखाका युवाहरूको जमात जंगल चाहार्ने र अरिङ्गालका गोला खोज्ने अनी राती गएर आगो लगाई गोलै कब्जामा लिएर लार्भा र उड्न नसकेका बच्चा राजमार्गका होटलहरूमा बेच्ने काम गर्दछन् । एउटा गोलाबाट ६ हजारसम्म कमाई हुने गरेको अरिङ्गालको लार्भा उनिहरूले आँवुखैरेनी, मुग्लिन, जोगीमारा, मलेखु लगायतका होटलहरूमा १ केजीका प्याकेट बनाएर बेच्ने गर्छन् । प्रति किलो २ हजार रुपैयाँसम्म र मानाको १२ सय सम्ममा बिक्री हुने गरेको छ भने पकाएर बेचे प्रति प्लेट १ हजारसम्म असुल्छन् । । अरिङ्गालका लार्भा काठमाडौंमा साथीभाइलाई नासो लिने परिकार बनेको छ । अरिङ्गाल र बारुलोका लार्भाले भियाग्रा जस्तै यौनक्षमता वृद्धि गर्ने विश्वासले युवाहरू पुर्खाले नखाएका खानातर्फ आकिर्षत भएका हुन् । [१]

ब्रिटिश सेनालाई हराउने अरिङ्गालको इतिहास[सम्पादन गर्ने]

ब्रिटिशको इस्ट इन्डिया कम्पनी सेनाले पहिलो पल्ट सिन्धुलीगढीमा हमला गर्न आउादा नेपाली सेनाका कमान्डर बंशु गुरुङको नेतृत्वमा गोर्खालीले गढी आउने बाटो वरपर सयौं अरिङ्गालका गोला पहिचान गरिराखेका थिए र बाटो वरपर सयौं सिस्नोका झ्याङ लगाएर राखेका थिए । जब ब्रिटिश सेनाहरू गढी आक्रमण गर्न जंगलको बाटो हुँदै आए, गोर्खाली सेनाले एकै पटकमा धनु काँडले सयौं राता र काला अरिङ्गालका गोला झारिदिए । यसपश्चात् रिसाएका ति अरिङ्गालहरूले टोकेर सयौं ब्रिटिश सेना बाटो वरपर मरे भने सिस्नुको पोलाई र अरिङ्गालबाट आत्तिएर कैयौं अंग्रेज सेना ज्यान जोगाएर भागे । चौबीस सयको संख्यामा आएका ब्रिटिश सेनामाथि यसरी ८०० गोर्खालीले बिजय प्राप्त गरेका थिए । एसियामा ब्रिटिश सेनाको यो नै पहिलो हार थियो । यसपश्चात् ४०/५० वर्षसम्म ब्रिटिश सेनाले नेपाललाई आक्रमण गर्ने हिम्मत गरेनन् । [१]

अरिङ्गालको शिकार[सम्पादन गर्ने]

अरिङ्गालको शिकारका लागि राईहरू मरिहत्ते गर्छन् । अरिङ्गालको शिकार किराँत राई जातिमा निकै लोकप्रिय मानिन्छ । किराँत राई जातिमा लोकप्रिय परिकारमा पर्ने अरिङ्गाल, तरकारीको वा सितनको रूपमा खाने चलन छ । यति मात्र होइन उनीहरूले माङ (देवता) लाई पनि चढाउने गर्छन् । माङलाई अरिङगाल चढाउनु उत्तम मानिन्छ । किराँत राई जातिका माङ भनेको आफ्ना मृतात्मा पुर्खा अर्थात् पितृहरू हुन् । माङ (पृतात्मा देवता) पुज्दा शिकारका विभिन्न परिकार चढाउने क्रममा मुत्दुम अर्थात् मुन्धुममार्फत अरिङ्गाल चढाएको समेत बखान्ने गर्छन् । यस अर्थमा किराँत राई जातिमा अरिङगालको महत्व रहेको प्रस्ट छ तर बारुला, लाटा अरिङ्गाल जाति भने माङमा चल्दैनन् । अरिङ्गालका जातहरूमा सावा, सक्वा, भावा र धिवाका बारेमा राई जातिले ज्ञान राखेको पाइन्छ । यिनीहरूलाई क्रमशः नेपालीमा कालो अरिङ्गाल, रातो अरिङ्गाल, अत्छ्युँ र बछ्युँ नामले चिनिन्छ । यीबाहेकका अरू बारुला जातमा पर्छन् । बारुला जातमा बारुला, ठूलो बारुला, भुसुने बारुला, रातो बारुला, सेतो बारुला, कन्धने बारुला, तुने बारुला पर्छन् । बारुला पनि खाने चलन छ तर बारुला काढ्ने कार्यले अरिङ्गालको जस्तो महत्व राख्दैन ।[२]

अरिङ्गाल काढ्ने[सम्पादन गर्ने]

सामान्यतः अरिङ्गाल काढ्ने समय पनि निश्चित हुन्छ । साउन वा भदौ महिनामा नुवागी पुजेपछि मात्र अरिङ्गाल काढ्ने चलन छ । त्योभन्दा अगाडि अरिङ्गाल काढ्न मिल्दैन, काढेमा पितृहरू रिसाइ सुब्बेफाब्बे हुँदैन भन्ने विश्वास रहेको छ । अरूको बारी वा खेतको अरिङ्गाल विना अनुमति काढ्न मिल्दैन । अनुमति नलिई कसैले अरिङ्गाल काढेमा सम्पत्ति चोरे सरह चोरी गरेको ठहरिन्छ र समाज मिलेर चोरीको कारवाहीस्वरूप दण्ड जरिवाना गर्ने वा माफी मगाइ आउने दिनमा नदोहरायाउने वाचा गराइन्छ । सामान्यतः साउन अन्तिमबाट सुरु गरेर भदौ, असोज महिनादेखि कात्तिक महिनासम्म अरिङ्गाल काढ्ने चलन छ । यसमा पनि असोज महिनाको पूर्णिमा तिथि पारेर काढ्न सकेमा बढी बच्चा हुन्छ भन्ने विस्वाश छ । कहिले काढ्ने भन्ने कुरा निजी बारी, खेत वा सार्वजनिक जङ्गल के हो त्यसमा भर पर्दछ । निजी बारी वा खेतको भए जग्गा धनीको निर्णयमा भर पर्छ तर जङ्गलको भएमा जसले पहिला देखेर अरिङ्गाल काढ्छ, उसैको हुन्छ । ‘मैले सानो गोला लगाउन थालेबाट देखेको हुँ’ भनेर दाबी गर्न मिल्दैन । अरिङ्गाल काढ्ने विधि हुन्छ । यसका लागि एकदमै बल्ने राँको वा पुल्ठो चाहिन्छ । राँको वा पुल्ठोले माउहरू उम्कन नमिल्ने गरी गोलामा पोल्ने गरिन्छ । आगोले भेट्ने बित्तिकै गोला सल्किन थाल्छ । राईहरूको व्यावहारिक अनुभवमा कालो अरिङ्गाल लाटो हुन्छ भने रातो अरिङ्गाल चलाख हुन्छ । कालो अरिङ्गालको माउ फुत्कियो भने शत्रुको खोजीमा गोला वरपर घुम्न थाल्छ भने रातो अरिङ्गाल भने सिधै गोला भएको रुखको फेदतिर झर्छ । रातो अरिङ्गालले शत्रुलाई पानीभित्र छिरे पनि पर्खिबस्छ भन्ने भनाइ छ । सकेसम्म रातो अरिङ्गाल काढ्दा अन्य रुखबाट काढ्न पाएमा उत्तम मानिन्छ । अरिङ्गाल काढ्दा भयङ्कर सावधानी अपनाउनु पर्छ । नत्र ज्यान पनि जान सक्छ । अरिङ्गालले चिलेमा बिरामी हुनुको साथै मृत्यु हुने सम्भावना पनि रहन्छ । कालो अरिङ्गाल र अत्छ्युँ कम विषालु हुने र रातो अरिङ्गाल र बछ्युँ बढी विषालु हुने व्यावहारिक अनुभव छ तर किराँत राई जातिसँग अरिङ्गालको विष झार्ने अचुकको औषधि पनि छन् । चिलेको ठाउँमा चोखो जाँडको छोक्रा दल्ने वा टिमुरको गेडा छिपछिप पानी हाल्दै पिसेर दल्ने गरिन्छ । यसले अरिङ्गालको विष मर्ने अनुभव छ । अरिङ्गाल पोल्दा गोलाको बाहिरी कुट जलेर नष्ट भएपछि चाका मात्र बाँकी रहन्छ । चाकालाई झोलामा राखेर घर ल्याएपछि पोल्ने वा उमाल्ने गरिन्छ । पोल्दा वा उसिन्दा बच्चा ढाडिनुका साथै बच्चा छोप्ने ढक्कन डढेर नष्ट भई चाकाबाट बच्चा निकाल्न सजिलो हुन्छ । बच्चा निकालेर भित्रको फोहोर वस्तु फालिन्छ र तेलमा भुटेर खाइन्छ । अरिङ्गाल काढेपछि छिमेकमा बाँडेर खाने चलन छ । पहिला त गाउँलेले मान्ने राईबूढाको समेत अनिवार्य भाग पुरायाउने रीति रहेको थियो । अहिले राईबूढाको चलन हराएकोले त्यो रीति पनि हराएको छ ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]