जङ्गली चौरी
जङ्गली चाैरी सामयिक शृङ्खला: Early Pliocene – Recent | |
---|---|
स्तेलभियो राष्ट्रिय निकुञ्जमा जङ्गली चाैरी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | Artiodactyla |
परिवार: | Bovidae |
उपपरिवार: | गोवंश |
वंश: | Bos Przewalski, सन् १८८३ |
प्रजाति: | B. mutus
|
वैज्ञानिक नाम | |
Bos mutus Przewalski, सन् १८८३ | |
जङ्गली चाैरीको वितरण क्षेत्र |
जङ्गली चाैरी अथवा जङ्गली चाैरी गाई हिमालयमा पाइने एक ठूलो चाैपाया हो। यसलाई घरपालुवा चाैरी गाईको पुर्खा मानिन्छ। यसको वैज्ञानिक नाम Bos mutus हो। यो आफ्नो वासस्थानकै सबैभन्दा ठूलो जनावर हो। तिब्बती बाैद्ध धर्म र संस्कृतिमा जङ्गली चाैरीको एकदम महत्व छ। पहिले-पहिले जङ्गली चाैरी र घरेलु चाैरीलाई एउटै प्रजाति मानिन्थ्यो तर आजभोलि भने यसलाई आफ्नै छुट्टै प्रजाति मानिन्छ।
वितरण
[सम्पादन गर्नुहोस्]जङ्गली चाैरी गाई मुख्यतया उत्तरी तिब्बत र चीनको पश्चिमी चिनहाईमा पाइन्छन्, केही जनसङ्ख्या भारतको लद्दाखसम्म फैलिएको छ। ऐतिहासिक समयमा, जङ्गली चाैरीगाईहरू भुटानमा पनि भेटिन्थे, तर तिनीहरूलाई अब त्यहाँ विलुप्त मानिन्छ। जङ्गली चाैरीको प्राथमिक वासस्थान ३०००-५००० मिटरमा रहेको रूखबिहिन घाँसे मैदान हो। घाँस बढी भएका ठाँउमा यो बस्ने गर्छ।
जङ्गली चाैरीगाई नेपालबाट हराइसकेको अनुमान थियो। दशकौँको अध्ययन-अनुसन्धानले पनि नेपालमा यसको उपस्थितिलाई पुष्टि गर्न सकेन। तर वि.सं. २०७१ (सन् २०१४ साल)मा हुम्लाको सदरमुकाम सिमिकोटबाट आठ दिन हिडेर पुगिने लिमि उपत्यकामा ६ वटा जङ्गली चाैरीगाई भेट्टिएको 'फ्रेन्ड्स अफ नेचर' नामक गैरसरकारी संस्थाले बताएको थियो। वि.सं. २०७० र वि.सं. २०७१ सालमा सय दिनको खोजीपछि उक्त संस्थाले लिमि उपत्यकामा जङ्गली चाैरीको तस्विर र भिडियो खिच्न सफल भएको थियो।[२][३] जङ्गली जीव जन्तुको पहिचान गर्ने आधिकारिक संस्था त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयले कैद गरिएको तस्विर र भिडियोमा रहेको जनावर जङ्गली चाैरीगाई नै रहेको पुष्टि गरिदियो। थप अनुसन्धानले जङ्गली चाैरी अवैध सिकारबाट बच्न नेपालतर्फ आउने र मनसुनको बेला स्थानीयले आफ्नो वस्तु चराउन लेक लाग्ने बेला तिब्बत जाने गरेको देखाएको छ।
जङ्गली चाैरीगाई र घरपालुवा चाैरीगाई बीच भिन्नता
[सम्पादन गर्नुहोस्]घरपालुवा चाैरी गाई र जङ्गली चाैरी गाई बीचको मुख्य भिन्नता आकार हो। जङ्गली चाैरी घरको चाैरी भन्दा दुई गुणा ठूलो हुन्छ। जङ्गली चाैरीको सिङ अगाडि फर्केको हुन्छ तर घरमा पालेको चाैरीको त्यसो हुँदैन। जङ्गली चाैरीको थुतुनोमा सेतो रङ्ग हुन्छ तर घरको चाैरी गाईको हुँदैन। यसैगरि सिङको पछाडिको जुरोको भाग घरको चाैरी गाईको सानो हुन्छ भने वनको चाैरीको ठूलो हुन्छ।
खतरा र स्थिति
[सम्पादन गर्नुहोस्]आयुसिएनले जङ्गली चाैरीको संख्या ७५००-१०,००० सम्म हुनसक्ने अनुमान गरेको छ। | यसमाथि पनि जनसंख्या घट्दै गएकाेले जङ्गली चाैरीलाई अझ दुर्लभ बनाउने खतरा छ। यो जनावरको मुल वासस्थान चीन नै हो र अनुमान लगाइएको दसहजार जनसंख्यामध्य १०० मात्र भारतको लद्दाखमा पाइएको छ। भारतमा पाइने जङ्गली चाैरी पनि चीनबाट नै आउने विज्ञहरूको विचार छ। नेपालमा भने जनसंख्या पत्ता लगाउन एकदमै कठिन छ। विज्ञहरूले हुम्लामा मात्र जङ्गली चाैरी पत्ता लगाए पनि मनाङ र डोल्पाका स्थानियले जङ्गली चाैरीलाई देख्ने गरेको बताउँछन् तर स्थानियहरूका भनाईलाई पुष्टि गर्न भने सकिएको छैन।
मासुको लागि व्यावसायिक शिकार र अवैध शिकार जङ्गली चाैरीको लागि सबैभन्दा गम्भीर खतराको रूपमा लिइएको छ। यसका मासु खासगरि सम्भ्रान्त मानिसहरूमा लोकप्रिय छ। एउटा अध्ययनले शिकारीहरूबाट पोथीहरू भन्दा भालेहरू बढी जोखिमपूर्ण हुने देखाएको छ। तर चीनले निर्शस्त्रीकरणलाई प्राथमिकता दिन थालेसँगै जङ्गली चाैरीको शिकार घट्दै गएको छ। जङ्गली चाैरीहरू मानिस र उनीहरूका वस्तुहरूबाट टाढा बस्न रुचाउँछन्। तर हिमाली क्षेत्रहरूमा पाईने घाँसे मैदान चरन भूमिमा परिणत हुँदै गए सँगै जङ्गली चाैरी अझै दुर्लभ हुँदै गएको छ। अर्को खतरा घरपालुवा चाैरी गाईसँगको प्रजनन् हो। मानिस र उनीहरू वस्तुसँग अझै नजिक बस्नु परेकोले जङ्गली चाैरी मानव वस्ती भित्र पस्ने घटनाहरू बढ्दै छन्। खासगरि जङ्गली चाैरीको जनसंख्या बढेका चीनका केही निकुञ्जहरूमा मानव वस्ती भित्र पस्ने र घरवारमा क्षति पुर्याउने घटनाहरू बढ्दै छन्। यो सँगै केही जङ्गली चाैरीले घरपालुवा चाैरी गाईहरूलाई आफ्नो बथानमा समावेश गराएको घटनाहरू छन्।
नेपाल सरकारले जङ्गली चाैरी भेट्टिएको खबर पाएपछि यसको संरक्षणका लागि स्थानियलाई संरक्षणमा जोड दिने र जनचेतना फैलाउने जस्ता कामहरू थालेका छन्। संरक्षणकर्मीहरूले जङ्गली चाैरी भेट्टिएको लिमि उपत्याकालाई संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने प्रस्ताव राखेका छन् तर हालसम्म कुनै आधिकारिक निर्णय भने बाहिरिएको छैन। यसैगरि जङ्गली चाैरीको बारेमा थप जनचेतना फैला राष्ट्र बैँकले पाँच रूपैयाँको नोटमा हुम्लामा कैद गरिएको जङ्गली चाैरीको तस्विर प्रयोग गरेको छ।
शारीरिक विवरण
[सम्पादन गर्नुहोस्]जङ्गली चाैरीको भाले( गोरु) पोथी( गाई) भन्दा तीन गुणा ठूला हुन्छन्। यसको औसत ताैल ३०५-१२०० किलोग्राम हुन्छ भने खुट्टादेखि जिऊसम्मको उचाई ५.२-७.२ फिटको हुन्छ। हिमाली भेगको कठ्याङ्ग्रिने जाडो सहनको लागि जङ्गली चाैरीको बाक्लो राैँ हुन्छ। जाडोबाट बच्नको लागि पोथी चाैरीको दुधको फाचोमा समेत राैँ हुन्छ। दुवै भाले र पोथीसँग बाक्लो, ऊनी राैँ हुन्छ र खासगरि भालेहरूमा यो राैँ शरीरभन्दा तल 'फ्रक' जस्तै झुन्दिन आउँछ र यो झुन्दिएको राैँले भूईलाई छुन सक्ने गरि लामो हुनसक्छ। यसको पुच्छर गाई या भैंसी जस्तै नभई घोडाको जस्तै हुन्छ। यसको राैँ सामान्यतया कालो वा गाढा खैरो हुन्छ तर केही सुनाैलो-खैरो रङ्गका चाैरी भेट्टिएको दावी छ। त्यस्ता चाैरीलाई चिनियाँ भाषामा 金色野牦牛 (jīnsèyě máoniú) ( अनुवाद:सुनाैलो जङ्गली चाैरी) भनिन्छ। जङ्गली चाैरीहरू सामान्य घरपालुवा चाैरी भन्दा फरक हुनुको मुख्यकारण प्रकृतिमा जीवन निर्वाह गर्दा आइपर्ने अनेकन समस्याबाट बच्नका लागि स्वतह जन्मजाति रुपमा भद्दा र क्षमतावान बनाएका हुन्।
पारिस्थितिकी र बानीव्यहोरा
[सम्पादन गर्नुहोस्]जङ्गली चाैरीको आहारामा घाँस, झ्याउ र कहिलेकाही हिमाली जडीबुटी पर्दछ। जङ्गली चाैरीको मुख्य सिकारी ब्वाँसो हो भने आजभाेलि हिमाली ब्वाँसो दुर्लभ हुँदै गएसँगै भालु र हिउँ चितुवा यसका मुख्य सिकारी भएका छन्।
बानीव्यहोरा
[सम्पादन गर्नुहोस्]जङ्गली चाैरी बथानमा बस्ने जनावर हो। बथानमा सयजनासम्म चाैरी हुनसक्छन् तर धेरै बथानमा कममात्रै सदस्य हुन्छन्। बथानमा मुख्यतया पोथी ,उनीहरूका बाच्छा र केही मात्रामा वयस्क भाले हुन्छन्। बाँकी भालेहरू एक्लै अथवा सानो बथानमा ( औसतमा ६ जना चाैरी ) बस्छन्। जङ्गली चाैरी सामान्यतया मानिससँग डराउँछन् र नजिक आएमा भाग्छन्। तर आफ्नो बाच्छोलाई बचाउनका लागि भने हमला गर्न सक्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Buzzard, P.; Berger, J. (२०१६), "Bos mutus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२८९२A१०१२९३५२८।
|name-list-style=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "हुम्लामा लोपोन्मुख चौँरीगाई र तिब्बतीयन लार्क चरा भेटियो", काठमाडौँ टुडे (नेपालीमा), अन्तिम पहुँच २०२०-११-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-१३ मिति
- ↑ Khabar, Nonstop (२०२०-०९-१७), "खुला प्राकृतिक संग्राहलय हो हुम्लाको लिमी", ननस्टप खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-०६।