नेपाली चलचित्र उद्योगका लागि कुनै निश्चित बक्स अफिसको तथ्याङ्क नभए तापनि नेपालमा सबैभन्दा बढी कमाइ गरेका चलचित्रहरू निर्माता, वितरक र केही समाचार वेबसाइटहरूले उपलब्ध गराएको तथ्याङ्कमा आधारित छन्।
नेपाली चलचित्र उद्योग तुलनात्मक रूपमा नयाँ जस्तै छ। सरकारका लागि शाही नेपाल चलचित्र निगमले वि.सं २०२७ साल देखि धेरै प्रारम्भिक चलचित्र निर्माण गरेको थियो। यो व्यावसायिक सफलताभन्दा पनि मुलुकको सांस्कृतिक सम्पदाप्रति बढी चिन्तित थियो। यसले बिस्तारै चलचित्र उद्योगको आधारभूत संरचना निर्माण गर्नका साथै निजी उत्पादनहरूलाई सक्षम बनाएको थियो। चलचित्र विकास बोर्डले २०७५ साउन २ गते काठमाडौँ उपत्यकाका चलचित्र भवनमा र त्यसको करिब एक वर्षपछि उपत्यका बाहिरका सिनेमाहलमा डिजिटल बक्स अफिस प्रणाली लागू गरेको थियो।[१] त्यसपछि प्रदर्शन भएका चलचित्रहरूको बक्स अफिस आँकडा बोर्ड अन्तर्गतको केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीद्वारा प्रदान गरिएको आधिकारिक प्रतिवेदनमा आधारित छ। देशभर पूर्ण बक्स अफिस प्रणाली सञ्चालनमा भए तापनि वितरक र चलचित्र विकास बोर्डबीच बक्स अफिसको तथ्याङ्कमा अझै पनि केही असङ्गतता रहेको छ।[२]
कुसुम रुमालले (प्रदर्शन मिति: २०४२ असोज २९) ले सर्वाधिक कमाइको कीर्तिमानी कायम गर्न सफल भएको थियो जहाँ यसको कीर्तिमान २०५७ जेठ १ मा, प्रदर्शनमा आएको चलचित्र दर्पण छायाँले तोडेको थियो। २०६८ सालमा प्रदर्शनमा आएको चलचित्र लुटले विश्वभरबाट ५ करोड भन्दा बढीको व्यापार गर्न सफल भएको थियो र यस चलचित्र तात्कालिक समयमा नेपालकै सबैभन्दा ठूलो ब्लकबस्टर चलचित्र मानिएको थियो।
बाहुबली २: द कन्क्लुजनले २३ करोड नेपाली रुपैयाँ कुल आम्दानी गर्दै नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्रको किर्तिमानी बनाएको छ। विदेशी चलचित्र भएता पनि यसको किर्तिमानी हालसम्म पनि भङ्ग भएको छैन। नेपालमा सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र कबाडी ४ः द फाइनल म्याच हो, जसले २१.३९ करोड कुल आम्दानी गरेको छ। नेपालमा सबैभन्दा बढी कमाइ गर्ने हलिउड चलचित्र अवतारः द वे अफ वाटर हो, जसको कुल आम्दानी ८.३१ करोड रुपैयाँ रहेको छ।
वि.सं २०७१ सालमा प्रदर्शन आएको कोहिनुरले लुटको कीर्तिमानी भङ्ग गर्न सफल भएको थियो जसले विश्वभर १० करोड भन्दा बढीको व्यापार गरेको थियो।[३] यो कीर्तिमानलाई त्यसपछि हास्य चलचित्र छक्का पञ्जा (२०७३) र छक्का पञ्जा ३ (२०७५) द्वारा तोडिएको थियो। छक्क पञ्जा चलचित्रको शृङ्खलाले २०८० सम्म विश्वव्यापी रूपमा ६३ करोड भन्दा बढी व्यापार गरेको छ। २०७९ मा, मा कबड्डी ४: द फाइनल म्याचले नेपाली चलचित्र इतिहासको हरेक कीर्तिमान तोड्दै नेपालको सर्वाधिक कमाइ चलचित्र बन्न सफल भएको थियो यसले सर्वाधिक २१.३९ करोड कमाइ गर्न सफल भएको छ।[४]