पदम सुन्दास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पदम सुन्दास
जन्मपदम सुन्दास
वि.सं. २००२ साल असार ३२ गते
भोजपुर, भोजपुर, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशासमाजसेवा
चिनारीको कारणदलित जनउत्थान
गृहनगरभोजपुर, नेपाल
राजनीतिक कृयाकलाप
  • सिद्धकाली मन्दिर प्रवेश (वि.सं. २०२१)
  • सिपापोखरी पानी उबाउ (वि.सं. २०५७)
  • गोरखकाली मन्दिर प्रवेश (वि.सं. २०५७)
  • गैँडाकोट दूध भराउ (वि.सं. २०५९)
जीवनसाथी
  • अमिना सुन्दास (वि. २०२१, मृ. २०५६)
  • अमृता सुन्दास (वि. २०५८)
सन्तान
मातापिता
  • हस्तवीर सुन्दास
  • रत्नमाया सुन्दास
पुरस्कार
  • जनउत्थान राष्ट्रिय पुरस्कार (वि.सं. २०५७)
  • भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार (वि.सं. २०७३)

पदम सुन्दास (जन्म: वि.सं. २००२ साल असार ३२ गते) दलित समुदायको हक हित संरक्षण गर्न र उनीहरूमा शिक्षा र चेतनास्तर अभिवृद्धि गर्न सक्रिय रूपमा कार्यरत अगुवा सामाजिक कार्यकर्ता हुन् ।[१] "दलितका अभिभावक" भनेर चिनिने सुन्दासका फुटकर कथा, कविता र लेखहरू विभिन्न पत्रपत्रिकामा छापिएका छन् । उनका दुई वटा आफ्नै लेखनका पुस्तक प्रकाशित छन् र २५ भन्दा बढी पुस्तकहरू उनी ट्रस्टी भएका रत्नमाया दलित साहित्य संरक्षण समितिद्वारा प्रकाशित भएका छन् ।[२] नेपाली साहित्य जगतमा पनि पदम सुन्दास एक परिचित नाम हुन् ।

बाल्यकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

सुन्दास भोजपुर जिल्लाको भोजपुर बजारमा जन्मेका थिए। उनको पिताको नाम हस्तवीर सुन्दास र माताको नाम रत्नमाया सुन्दास थियो । ३ छोरा र २ छोरी भएको परिवारमा उनी सबैभन्दा कान्छा थिए । उनले भोजपुर सदरमुकाममा नै अवस्थित विद्योदय हाइ स्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेर उच्च शिक्षाका लागि काठमाडौँ आएका थिए ।[३] वि.सं. २०२० सालमा ललितपुरको जावलाखेलस्थित इन्जिनियरिङ स्कुलबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा तह उत्तीर्ण गरेका थिए ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सुन्दासको विवाह वि.सं. २०२१ साल भाद्र ४ गते भोजपुरको सिद्धकाली मन्दिरको प्राङ्गणमा अमिना मोतेसँग टिकाटाला गरी सम्पन्न भएको थियो ।[४] वि.सं. २०५६ साल वैशाख २४ गते अमिना सुन्दासको निधनपश्चात् वि.सं. २०५८ साल भाद्र ३ गते उनको विवाह अमृता तिखत्रीसँग भयो । उनका एकजना छोरा र दुई छोरीहरू छन् ।[३][५]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

वि.सं. २०२० तिर सङ्खुवासभा जिल्लाको खाँदबारी र भोजपुरमा उनले ओभरसियरको पदमा काम गर्न थाले । पन्ध्र वर्ष पछि सरकारी जागिर छोडी निर्माण व्यवसायीको रूपमा आफ्नो जीविकोपार्जनलाई अगाडि बढाए । वि.सं. २०६४ सम्म सुन्दास कन्स्ट्रक्शन प्रा. लि. को अध्यक्ष र अमृत निर्माण सेवा प्रा. लि. को उपाध्यक्ष भई नेपालमा भवन निर्माण क्षेत्रमा काम गरे । साठीको दशक तिर निर्माण व्यवसाय छोडेर उनी सामाजिक कार्यमा तल्लिन भए ।[३]

एकताबद्ध सफल सङ्घर्षले दलित एकताको अपरिहार्यताको पुष्टि गरेको छ । एकतामै सङ्घर्ष सम्भव छ, सम्भव छ सुखद परिणाम पनि ।

— पदम सुन्दास[४]

नेपाली समाजमा व्याप्त जातीय भेदभाव विरुद्धको सङ्घर्ष र दलित समुदायको शैक्षिक, आर्थिक र सामाजिक स्तरोन्नतिका लागि पदम सुन्दासको योगदान अविस्मरणीय छ । भोजपुरको सिद्धकाली मन्दिर प्रवेश (वि.सं. २०२१), सिन्धुपाल्चोकको सिपापोखरी पानी उबाउ (वि.सं. २०५७), गोरखाको गोरखकाली मन्दिर प्रवेश (वि.सं. २०५७), नवलपरासीको गैँडाकोट दूध भराउ (वि.सं. २०५९) जस्ता आन्दोलनहरूमा सुन्दासको सक्रिय सहभागिता र अगुवाइ भूमिका रहेको थियो ।[४] पेसाले इन्जिनियर भएर पनि सुन्दासले दलित मुक्ति आन्दोलन र छुवाछुत प्रथा विरोधी अभियानलाई लामो समय देखि सहयोग पुर्याएका छन् । नयाँ र पुराना दुबै पुस्तासँग काम गर्दा अनुभव हासिल गरेका सुन्दासलाई दलित आन्दोलनमा लाग्ने धेरैले "दाजु" भन्छन् किनभने उनी दलित आन्दोलनका पुराना र शीर्षस्थ नेता नै हुन् ।[६]

आबद्ध सामाजिक सङ्घसंस्थाहरू र पदीय दायित्व[सम्पादन गर्नुहोस्]

क्र.सं. संस्था पद वर्ष सन्दर्भ
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान अध्यक्ष वि.सं. २०५२
नेपाल राष्ट्रिय दलित जन विकास परिषद उपाध्यक्ष वि.सं. २०३९ - वि.सं. २०४९
नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज उपाध्यक्ष वि.सं. २०६३ सम्म
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा उपाध्यक्ष वि.सं. २०६८ सम्म
रोटरी क्लब अफ धरान सभापति
सदस्य
वि.सं. २०६२ - वि.सं. २०६३
वि.सं. २०६३ - अहिलेसम्म
दलित नागरिक समाज संयोजक वि.सं. २०७२ - वि.सं. २०७३
पं. छविलाल पोखरेल स्मृति प्रतिष्ठान सदस्य वि.सं. २०६५ - वि.सं. २०६७
समाज विकास छात्रावास, काठमाडौँ सदस्य वि.सं. २०४६ - वि.सं. २०६६
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहयोग समिति सदस्य वि.सं. २०६१
१०
असहाय बाल अनाथालय, इटहरी आजीवन सदस्य वि.सं. २०६१ - वि.सं. २०६२
११
सुनसरी साहित्य प्रतिष्ठान, धरान आजीवन सदस्य वि.सं. २०५७
१२
अर्बुद रोग निवारण सङ्घ, धरान आजीवन सदस्य वि.सं. २०६०

सुन्दास नेपाली मञ्च मासिक, दलित सन्देश मासिक र परिश्रमी त्रैमासिक पत्रिकाका संरक्षक र जनउत्थान मासिकका विशेष सल्लाहकार हुन्। जागरण मिडिया सेन्टरका सल्लाहकार सुन्दासले वि.सं. २०६० सालसम्म साथी मासिक पत्रिका र वि.सं. २०६४ सालसम्म शब्द संयोजन मासिक पत्रिकाका लागि पनि सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।[७]

समाजसेवा[सम्पादन गर्नुहोस्]

पदम सुन्दासले धरानको शारदा बालिका नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दलित छात्राका लागि दिवङ्गत श्रीमती अमिनाको स्मृतिमा अमिना छात्रवृत्ति कोष स्थापना गरेका छन् । यसैगरी धरान क्याम्पसमा अध्ययनरत सुनसरी जिल्लाका दलित विद्यार्थीका लागि अमिना सुन्दास दलित छात्रवृत्ति कोष स्थापना गरेका सुन्दासले दलित उत्थानको छोटो बाटो शिक्षा नै हो भनेका छन् ।[७] वि.सं. २०६४ मा तत्कालको स्थानीय विकास मन्त्रालय अन्तर्गतको दलित विकास समितिमा उपाध्यक्षको पदमा काम गरे ।[१] वि.सं. २०६७ देखि वि.सं. २०७१ सम्मको अवधिमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत जातीय विभेद उन्मूलन र दलितको अधिकार प्रवर्धनका लागि बनेको राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य भई काम गरेका थिए ।[१] समाज रूपान्तरणको लागि भविष्यको नेतृत्त्व गर्ने युवाहरूलाई ज्ञानमा आधारित विशेषज्ञ तयार गर्ने उद्देश्यले विचारक समूहको रूपमा स्थापित समता फाउण्डेशनको वि.सं. २०६६ देखि वि.सं. २०७४ सम्म संस्थापक अध्यक्ष समेत भई दलित समुदायको अधिकार, समानता र न्यायका लागि वहस र पैरवी गर्नका निम्ति उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनारहरूमा भाग लिएका छन् ।[८][९] यसै क्रममा उनले भारत, बङ्गलादेश, थाइल्यान्ड, स्विट्जरल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका आदि मुलुकका भ्रमण गरेका छन् ।[१]

कूटनीतिक सेवा[सम्पादन गर्नुहोस्]

वि.सं. २०७४ साल असार १४ गते सुन्दासलाई बहराइन अधिराज्यका लागि नेपाली राजदूतको पदमा नियुक्त गरिएको थियो ।[१०] हाल उनी बहराइनमा नेपाली राजदूतको रूपमा कूटनीतिक सेवामा कार्यरत छन् ।[११]

कृति[सम्पादन गर्नुहोस्]

  • चोरिएका रात (कथा सङ्ग्रह, वि.सं. २०२५)
  • भोजपुरको चिनारी (वि.सं. २०२५)
  • पदम सुन्दासका पुराना कथा कविता (प्रकाशोन्मुख)[७]
  • परम्परा, पुर्पुरो र पुन्की - दलित जातीय सङ्घर्षको विवेचना (प्रकाशोन्मुख)
  • फर्केर हेर्दा; जीवनका आफ्ना अनुभवहरू (प्रकाशोन्मुख)

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार (वि.सं. २०७३)[१]
  • उत्पीडित, उपेक्षित तथा दलित वर्ग उत्थान विकास समितिबाट सम्मान (वि.सं. २०६६)[१]
  • बुद्ध बिहार, धरानबाट अभिनन्दन (वि.सं. २०५८)[१]
  • जनउत्थान राष्ट्रिय पुरस्कार (वि.सं. २०५७)[१]
  • भारतीय दलित साहित्य एकेडमी सम्मान (वि.सं. २०५४)[१]
  • इन्जिनियरिङ स्कुल सांस्कृतिक पदक (वि.सं. २०१९)[३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ "राजदूत - नेपाली दूतावास - मनामा, बहराइन", नेपाली दूतावास, मनामा, बहराइन, अन्तिम पहुँच वि.सं. २०७७ साल भाद्र ११ गते 
  2. विश्वकर्मा, बाबुराम (वि.सं. २०६६ साल वैशाख १-१५ गते), "लाखौँमा एक तीस नमुना नागरिक", हिमाल खबरपत्रिका (कनकमणि दीक्षित): ८७। 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ सिलवाल, प्रकाश (वि.सं. २०६६ साल कार्तिक-मंसिर), "कला-जीवन: जातीय मुक्तिको सेरोफेरोमा", मूल्याङ्कन, २७ (हरिगोविन्द लुइटेल): ३०-३१। 
  4. ४.० ४.१ ४.२ महर्जन, राजेन्द्र; किसान, यामबहादुर, सम्पादकहरू (वि.सं. २०७०), दलनविरुद्ध प्रतिरोध: नेपाली दलितहरूको सङ्घर्षगाथा, समता फाउण्डेशन, आइएसबिएन 978-9937-8372-5-5 
  5. सुन्दास, पदम, व्यक्तिगत विवरण 
  6. विश्वकर्मा, बाबुराम (वि.सं. २०६१ साल साउन), "दलितका दस हस्ती", दलित खबर, २ (जनउत्थान प्रतिष्ठान): ८-१०। 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ ७.७ ७.८ वाग्ले, त्रिभुवनचन्द्र (वि.सं. २०६६ साल कार्तिक-मंसिर), "दलित आन्दोलनका नायक", युवामञ्च, ७ (इन्दिरा प्रसाई): ५८। 
  8. "हाम्रो बारेमा - समता फाउण्डेशन", समता फाउण्डेशन (अङ्ग्रेजीमा), अन्तिम पहुँच वि.सं. २०७७ साल भाद्र १४ गते 
  9. "टोली - समता फाउण्डेशन", समता फाउण्डेशन (अङ्ग्रेजीमा), अन्तिम पहुँच वि.सं. २०७७ साल भाद्र १४ गते  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१० मिति
  10. "पदम सुन्दास बहराइनका लागि नेपाली राजदूतको पदमा नियुक्त", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), वि.सं. २०७४ साल असार १४ गते, अन्तिम पहुँच वि.सं. २०७७ साल भाद्र ११ गते 
  11. "महामहिम पदम सुन्दास, राजदूत (नेपाल) गल्फ इन्साइडरसँग बातचित गर्छन्", गल्फ इन्साइडर (अङ्ग्रेजीमा), वि.सं. २०७६ साल पुष ६ गते, अन्तिम पहुँच वि.सं. २०७७ साल भाद्र ११ गते  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२६ मिति