बृहत हिमालय पदमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल
नेपाल
सामान्य विवरण
राष्ट्रनेपाल
वेबसाइट
http://thegreathimalayatrail.org

बृहत हिमालय पदमार्ग संसारकै लामो र अग्लो पदमार्गहरू मध्ये एक हो। नेपालको सुदुर पूर्वको जिल्ला ताप्लेजुङ देखि सुदूर पश्चिमको जिल्ला दार्चुलासम्मको भूभाग ओगटेको बृहत हिम शिखरहरु रहेको स्थानलाई बृहत हिमालय क्षेत्र भनिन्छ। यो पदमार्गले नेपालका हिमाली जिल्लाहरू छोएको छ। यस पदमार्गको दुईवटा रुट मध्ये एउटा पूर्वको ताप्लेजुङ देखी पश्चिमको हुम्ला र अर्को दार्चुला सम्म पुग्दछ। त्यस्तै यो पदमार्ग तिब्बत, भारत, म्यानमार, पाकिस्तान सम्म फैलिएको छ। यो पदमार्गको विकासले पर्यटकहरूलाई नयाँ अनुभूति दिन्छ र साथै गरीबी निवारण र विकास सहितको पर्यटनलाई झल्काउँछ। यस पदमार्गलाई १० भागमा बिभाजन गरिएको छ जस अन्तर्गत पाँच हिमाली जिल्लामा कार्यरत द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले पर्यटन अभिवृद्धिका लागि योगदान दिन्छ। यो पदमार्ग निर्माणको अर्को उद्देश्य अविकसित जिल्लाको विकास, रोजगारी सिर्जना र हिमाली क्षेत्रका समुदायका लागि अवसर प्रदान गर्नु रहेको छ।[१]

परिचय

बृहत हिमालय पदमार्ग नेपालको कञ्चनजङगादेखि दार्चुला र हुम्लासम्म फैलिई नेपालका सम्पूर्ण पहाडी जिल्लाहरू छोएको लामो दुरीको पदयात्रा मार्ग हो। यो पैदल मार्गले अन्नपूर्ण, सगरमाथा, डोल्पा, मनास्लु तथा लाङ्टाङजस्ता पदयात्रा क्षेत्रहरूलाई पनि समेटेको छ। यो पूर्ण रूपमा नयाँ होइन, यस पदमार्गमा पुरानो र नयाँ दुवै पदमार्गलाई समायोजन गरिएको छ। केही पुराना रुटलाई समावेश गरिए पनि यसले पदयात्रीलाई छुट्टै र रोमाञ्चक अनुभव प्रदान गर्नेछ। [२] बृहत हिमालय पदमार्गका पदयात्रीहरु पुन: नेपाल आउन उत्साहित हुन्छन्। धेरै जस्तो पदयात्रा मार्गका बारेमा जानकारी भएपछि समय-समयमा पदयात्रा मार्गका खण्डहरूमा पुन: आउन सक्छन्। यसरी विभिन्न जिल्लाहरूमा पदयात्रा गर्न आउँदा स्थानीय वासिन्दाहरूलाई पनि फाइदा हुन्छ। [३]

इतिहास

हिमालय पदयात्राको बारेमा धेरै चर्चा नभएपनि नेपालमा यस किसिमको पदयात्राको सम्भावना निकै उच्च रहेको छ। नेपालको पदयात्राको सुरुवात सन् १९८० मा तोरु नकानोद्वारा लिखित किताब ट्रेकिङ इन नेपाल मा लेखिए अनुसार सिरहाता नामका व्यक्तिले नेपालको पूर्व देखि पश्चिम सम्मको यात्रा तय गरेको भनिएको छ। नेपालमा यस पदयात्राको सुरुवात विभिन्न समयमा विभिन्न मुलुकका नागरिकहरूले तय गरेका छन् जसलाई विभिन्न किताबद्वारा प्रमाणित गरेको छ।

सन् १९८३ मा दुई बेलायती नागरिक रिचार्ड र अडरियनले कञ्चनजङ्गादेखि नागा पर्वत सम्मको दूरि १०० दिनमा पार गरेका थिए। यसैगरि समयको विभिन्न अन्तरालमा नेपालको पहिचानको रूपमा रहेको हिमालहरूले यसको महिमा अझै उच्च बनाएको छ। हिमालय पदयात्रालाई अघि लैजाने क्रममा सन् १९९४ मा दुई फ्रेन्च नागरिक पउल एरिक बोनेउ र ब्रुनो परियोर ले ४२ दिनमा यात्रा तय गरेका थिए र त्यस यात्रालाई `ट्रान्स नेपाल हिमालय’ पनि भनिन्छ। यस यात्राको मार्ग नेपालको पूर्वी क्षेत्र (पशुपतिनगर) देखि पश्चिमी क्षेत्र (महाकाली) सम्म रहेको थियो जसमा सगरमाथा बेस क्याप पनि पर्दछ। बृहत हिमालय पदमार्गको आधिकारिक सुरुवात सन् २००९ मा भएको थियो।

बृहत हिमालय पदमार्ग सुरुवात हुनु भन्दाको ५ वर्ष अघिसम्म यस पदमार्गको बिषयमा खोज, प्रक्षेपण गरी यस पदमार्गको आधिकारिक सुरुवात सन् २००९ मा गरिएको थियो। यस सुरुवात सर्वप्रथम सन् २००८-२००९ मा रबिन बोउस्टेडको समूहले १६२ दिनमा यात्रा तय गरेको थियो। [४]

पदमार्गले समेट्ने क्षेत्र

बृहत हिमालय पदमार्गलाई पर्यटकीय र भूभागको आधारमा १० वटा भागमा बाँडिएको छ। यसरी १० वटा भागमा विभाजन हुँदा काम गर्न सजिलो हुने र सबै क्षेत्रमा पर्यटन विकास हुन्छ। पूर्वी नेपालको कञ्चनजङ्घा देखि पश्चिमको फारवेष्ट दार्चुला सम्मका यी सम्भावित पर्यटकीय स्थललाई समेटिएको छ। उक्त १० वटा भाग अन्तर्गत कञ्चनजङ्घा क्षेत्र, मकालु–बरुण, एभरेष्ट–रोलवालिङ, हेलम्बु–लाम्टाङ, गणेश हिमाल–मनास्लु, अन्नपूर्ण र मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला र फारवेष्ट नेपाल रहेका छन् ।[५] सामान्यता २ देखि ३ हप्तामा यो ट्रेलको एउटा भागमा पदयात्रा गर्न सकिन्छ। यी सबै भागहरूमा एक पछि अर्को गर्दै यात्रा गर्न पनि हुन्छ अथवा भाग-भाग गर्दै छुट्टाछुट्टै यात्रा गर्न पनि सकिन्छ।

कञ्चनजङ्घा क्षेत्र

कञ्चनजङ्घा हिमाल

कञ्चनजङ्घा क्षेत्र नेपालको पूर्वमा पर्छ। यस क्षेत्रमा कञ्चनजङ्घा हिमाल रहेको छ जुन ८५८६ मि अग्लो छ र यो संसारकै तेस्रो अग्लो हिमाल हो। कञ्चनजङ्घा हिमाल नेपाल र सिक्किमको सिमानामा रहेको छ। नेपालको पूर्वी क्षेत्र अन्य क्षेत्र विकसित भए तापनि बृहत हिमालय पदमार्गको पदमार्ग यस क्षेत्रको निकै नै बिकट र दुर्गम ठाउँबाट जान्छ। कञ्चनजङ्घा क्षेत्र साहसिक पदयात्राका लागि महत्त्वपूर्ण गन्त्व्यको रूपमा रहेको छ।[६] प्राकृतिक विविधताले भरिपूर्ण यो क्षेत्र जैविक विविधताको लागि पनि महत्त्वपूर्ण रहेको छ भने उत्तरी क्षेत्र शेर्पा संस्कृतिको महत्त्वपूर्ण गन्तव्य पनि हो। शेर्पा, लिम्बु, राई, र लोहमि जातिको बाहुल्यता रहेको यस क्षेत्रमा अतिथिको स्वागत-संस्कारमा कुनै कमी हुदैंन।

यो क्षेत्रले धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक महत्त्व बोकेको छ। साथै यो क्षेत्र अद्वितिय भू-प्राकृतिक बनोट,जैविक विविधता भएको उदाहरणीय स्थान हो। यस क्षेत्रमा विश्वमै दुर्लभ हिउं चितुवा र हाब्रेका साथसाथै हिमाली कालो भालु, कस्तुरी मृग, पहरे बाँदर जस्ता संरक्षित एवं संकटापन्न जनावरहरू र कुटकी जटामसी, सुगन्धवाल लौठसल्ला पाँचऔंले तालिसपत्र जस्ता बोटविरुवाहरू संरक्षित छन्। यसको अलावा यहाँ ठिंग्रे सल्लाको मात्र उल्लेखनीय क्षेत्रमा फैलिएको वन, २४ प्रजातिका गुराँस, ४८ प्रजातिका सुनगाभाका साथै कैयौ अमूल्य जडीबुटीहरू पनि पाइन्छ। [७]

मकालु–बरुण

मकालु हिमाल

मकालु–बरुण क्षेत्र मकालु हिमालको नामबाट रहेको हो । ८४६३ मि अग्लो यो हिमाल संसारकै पाचौँ अग्लो हिमाल हो। यस क्षेत्रमा पदयात्रा अलि कठिन छ त्यसकारण विदेशी पर्यटकहरु बिरलै यस क्षेत्रमा पदयात्राका लागि जान्छन्। बाटो सानो र अप्ठ्यारो भएकोले पर्यटकहरूलाई पैदलयात्रा गर्न कठिन हुन्छ। नदीहरूमा पुल नभएर पैदल हिँड्न निकै समस्या रहेको छ। प्रस्सत सम्भावना भएर पनि पूर्वाधारको विकास नहुँदा यस मकालु-बरुण क्षेत्रले धेरै पर्यटकहरूको ध्यान तानेर आकर्षक गर्न सकिरहेको छैन।[८] यस क्षेत्रमा निकै पानी पर्छ, हिँउ पर्छ र निकै मनमोहक हिमनदीहरू पनि छन्। यहाँ पदयात्राको लागि जाने उचित समय असोज-कार्तिक हो। यो बेला मौसम राम्रो हुन्छ र पानी पनि निकै नै कम पर्छ।

यस क्षेत्रमा मकालु-बरुण राष्ट्रिय निकुञ्ज रहेको छ । मकालु-बरूण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण पनि मकालु हिमालकै नामबाट गरिएको हो । यहाँ करिब ४४० जातका चरा, १५० जातका पुतली, २५ जातका गुराँस, ४७ जातका अर्किड-सुनाखरी) ६७ जातका औषधी जन्य जडिबुटी- यार्सा गुम्बा, पाँचऔले, कुडकी, चिराइतो आदि) ७५ भन्दा बढी जातका स्तनधारी जनावर पाईन्छ । रातो पाण्डा, कस्तुरी, हिमाली भालु, हिउँ चितुवा, घोरल, बँदेल, थार जस्ता जनावरहरु पाइन्छन् ।

एभरेष्ट–रोलवालिङ

सगरमाथा

एभरेष्टलाई नेपालमा सगरमाथातिब्बतमा चोमोलुङ्गमा भनिन्छ साथै यो पुरै एभरेष्ट क्षेत्रलाई खुम्बु भनिन्छ। यस खुम्बु क्षेत्रमा संसारकै अग्ला चुचुरा मध्ये ३ वटा रहेका छन्। जसमा सगरमाथा ८८४८ मि. (संसारकै अग्लो), ल्होत्से ८५१६ मि.(संसारकै अग्लो मध्य शिर्ष ४ को) र चोयु ८२०१ मि. (संसारकै अग्लो मध्ये शिर्ष ६ को) पर्दछन्। त्यसका साथै आमा दबलम् (६८१२ मि.)लाई खुम्बु क्षेत्रको गहनाको रूपमा लिईन्छ। सगरमाथा भन्ने बित्तिकै नेपालीहरूको शिर गर्वले उच्च हुन्छ। यसको सुन्दरताले हरेकको मन लोभ्याउँछ त्यसैले सगरमाथालाई संसारका ७ आश्चर्य मध्ये एक को रूपमा लिईन्छ।

रोल्वालिङ हिमाल वरपर तामाङ, शेर्पा, गुरुङ्ग र थामी जातिका मानिसहरु बढि बसोबास गर्छन्। रोलवालिङ हिमालमा कुनै पनि संरक्षित क्षेत्र नभएता पनि यस हिमाल वरपर थुप्रै बोटविरुवाहरू र जडिबुटी, चराहरु र जनवारमा रातो पाण्डा, भालु, हिमचितुवा पाईन्छन्।

यस एभरेष्ट–रोलवालिङको क्षेत्रमा पदयात्राको क्रममा धेरै अग्ला अग्ला आकाश छुने हिमालहरु देखिनुका साथै शेर्पा जातिको स्वागत र संस्कार पनि देखिन्छ। यस क्षेत्रले पर्यटकलाई सुन्दर सुन्दर मनै लोभ्याउने हिमालका दृश्य र यस क्षेत्रको रीति-रिवाज, धर्म र संस्कृति पनि अवलोकन गर्ने अवसर दिन्छ।

हेलम्बु–लाङ्गटाङ्

लाम्टाङ

हेलम्बु नेपालको उत्तरी भाग अन्तरगत लाङ्गटाङ् क्षेत्रमा पर्दछ्। यस क्षेत्रमा विभिन्न चर्चित हिमालहरु जस्तै लाङ्गटाङ् लिरुङ्ग(७२४६ मि.), गाङ्ग छेन्पो(६३८८ मि.), नयाँ काङ्ग्री(५८४६ मि.), दोर्जे लाक्पा (६९६६ मि.) रहेका छन्। साथै यस क्षेत्रमा पवित्र धर्मस्थल गोसाईंकुण्ड(४००० मि.) पनि रहेको छ। लाङ्गटाङ् राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने हेलम्बु सुन्दर पर्यटकीय गाउँ हो। यो पदयात्राका लागि चर्चित छ। भदौदेखि पुस पहिलो साता हेलम्बु पदयात्राको मुख्य सिजन हो। जाडो सकिएपछि फागुन-जेठसम्म पर्यटकको उपस्थिति बाक्लै रहन्छ।

बृहत हिमालय पदमार्गको मार्ग ५३०८ मि.मा रहेको तिलमान पासबाट लाङ्गटाङ् प्रबेश गर्छ जहाँबाट तिब्बत मज्जाले देख्न सकिन्छ। यहाँबाट विभिन्न हिमनदी, खोलाहरु, मन लोभ्याउने हरिया खेतबारी र चिज कारखाना पनि देखिन्छ। यस हेलम्बु–लाम्टाङको धेरै जस्तो भु-भागमा तामाङ् जातिको बाहुल्यता रहेको भएता पनि शेर्पा र नेवार जातिको पनि उपस्थिति रहेको छ। यो क्षेत्र विभिन्न जातजाति, धर्म, रिति-रिवाज र सम्प्रदायका मानिसको सम्मिस्रणले बनेको छ।

गणेश हिमाल–मनास्लु

मनास्लु हिमाल

गणेश हिमाल नेपालको नुवाकोट, धादिङ र गोरखा गरी तीनवटा जिल्लामा फैलिएको छ। यो हिमाल नेपाल र तिब्बतबीचको प्राकृतिक सिमाना पनि हो। गणेश हिमाल (७४०६ मि) को नामाकरण हिन्दु देवता गणेशको नाममा गरिएको हो। यसैगरी मनास्लु हिमाल (८१५६ मि) विश्वकै आठौँ उच्च हिमालहरूको सूचीमा पर्दछ र यसको नामाकरण संस्कृतको ‘मनसा’ भन्ने शब्दबाट साभार गरिएको हो। मनास्लु हिमाल सन् १९५६ को मे महिनामा पहिलो पल्ट चढिएको थियो। यस क्षेत्रमा रहेका दुबै हिमालले पर्यटकलाई लालायित गर्ने मनोरम वातावरणको सृजना गर्दछ।

यस क्षेत्रको एउटा मुख्य हेर्नै पर्ने गन्तब्य चुम उपत्यका हो। यस क्षेत्रमा पदयात्राको क्रममा विभिन्न जातजाति, धर्म र सम्प्रदाय झल्काउने संस्कृति हेर्न पाईन्छ। त्यसका साथै पदयात्राको क्रममा धेरै थरिको सालको रूख र जङ्गली जनावरहरूमा लोप हुन लागेका हिम चितुवा र रातो पाण्डा पनि देख्न सकिन्छ।

अन्नपुर्ण र मुस्ताङ

अन्नपुर्ण क्षेत्र

अन्नपुर्ण क्षेत्र नेपालकै चर्चित पदयात्राको गन्तब्य हो। यहाँ हिमाली क्षेत्रमा देखिने मनोरम दृश्य र वातावरणको आनन्द लिन सकिन्छ। यस क्षेत्रमा धौलागिरी हिमाल (८१६८ मि) र अन्नपुर्ण हिमाल-१ (८०९१ मि) रहेका छन्। करीब ७,६२९ बर्ग किलोमिटर क्षेत्रफल ओगेटेको अन्नपुर्ण संरक्षण क्षेत्र बिश्वकै उत्कृष्ट पदयात्रा मध्ये एक हो। त्यहाँ १२ सय बनस्पति, १ सय स्तनधरी प्राणीहरु, ४८८ प्रजातिका चराचुरुङगी पाईएको संरक्षण क्षेत्रको अभिलेखमा उल्लेख गरिएको छ। संरक्षण क्षेत्र भित्र रहेका बनमा डाँफे, मुनाल, कालिज, चीर, कोकलास जस्ता चराचुरुङगी देख्न सकिन्छ।

बृहत हिमालय पदमार्ग मार्ग अन्नपुर्ण संरक्षण क्षेत्र हुदैं अघि बढ्छ र मुक्तिनाथ सम्म पुग्दछ। मुक्तिनाथ नेपालकै तेस्रो प्रसिद्ध धार्मिक स्थल मानिन्छ। यस क्षेत्रमा पर्ने काली गण्डकी संसारकै गहिरो गल्छि हो जुन संसारकै २ वटा अग्ला चुचुराको बीचमा रहेको छ । घान्द्रक, घोरेपानी, अन्नपुर्ण आधार शिबिर, जोमसोम, मुक्तिनाथ र मनाङ यहाँका मुख्य पर्यटकीय गन्तब्य हुन्। जानको लागि अप्ठेरो हुने तिलिचे ताल, नरफु गाउँ र उपल्लो मुस्ताङमा भने कम संख्यामा मात्र पदयात्रीहरु जाने गरेका छन्।

डोल्पा

शे-फोक्सुन्डो

डोल्पा मध्यपश्चिम नेपालको विकट र दुर्गम हिमाली जिल्ला हो। सन् १९८९ मा मात्र विदेशी पर्यटकका लागिको डोल्पा क्षेत्रमा खुल्ला गरिएको हो। यसको केन्द्रमा शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज छ भने पूर्व र दक्षिणमा धौलागिरी हिमशृंखला रहेको छ। हिमशृंखलाले घेरिएको सुन्दर डोल्पा पदयात्राका लागि निकै चर्चित छ। डोल्पा क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल हो। डोल्पामा रहेको सबै भन्दा अग्लो हिमाल चुरेन हिमाल (७३८१ मि) हो।

धौलागिरी हिमालको पछाडी रहेको यस डोल्पा क्षेत्रमा तिब्बतीहरूको संस्कृति सुरक्षित छ। जनश्रुति अनुसार गुरु रिम्पोछेले डोल्पामा बुद्धमार्गीको पवित्र धार्मिक स्थलका रूपमा यसको सिर्जना गरेका थिए। तिब्बतको इतिहाससँग जोडिएको क्षेत्र भएकाले यहाँका अधिकांश मानिसले बौद्ध धर्म मान्छन्। यहाँ आउने पर्यटकको गन्तव्य शे गुम्बा हो। आकर्षक, अनौठा, आनन्ददायक, सुन्दर एवं मनमोहक हिमाली गाउँहरू नै डोल्पाको पदयात्राको विशेषता हो।

रारा र जुम्ला

रारा ताल

मुगुको आकर्षणको रूपमा रहेको रारा ताल नेपालकै सबै भन्दा ठुलो ताल हो र यो समुन्द्री सतहबाट २९७२ मिटर उचाइमा रहेको छ। तालको लम्बाई ५ किलोमिटर, चौडाई ३ किलोमिटर र गहिराई १६७ मिटर छ। तालको क्षेत्रफल करिब ११ किलोमिटर छ । रारातालको अर्को एक विशेषता भनेको यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। यस क्षेत्रमा विस्तारित रारा राष्ट्रिय निकुञ्ज पनि रहेको छ जुन १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो निकुञ्ज इ.सं. १९७६ मा स्थापापना गरिएको हो। यो निकुञ्ज १८०० मिटर देखि ४०४८ मिटर सम्मको उचाईमा रहेको छ। यहाँ मनोरम हरियाली दृश्य संगसंगै कस्तुरी, रतुवा जस्ता जन्तुहरू राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूको समेत अवलोकन गर्ने अवसर मिल्छ। यस क्षेत्रमा औषधी जन्य जडिबुटी र विशेष गरी यार्सागुम्बा पाईन्छ जसको नेपाल लगायत अन्य देशहरूमा एकदमै माग छ।

जुम्लको सिन्जा उपत्यकामा खस (नेपाली) भाषाको उत्पत्ति भएको मानिन्छ।[९] तिला खोलाको किनारमा रहेको यस ठाउँलाई संसारकै धान फल्ने उच्च स्थानको रूपमा पनि चिनिन्छ। यहाँ “काला मर्सि” नाम गरेको रातो धान फल्छ जुन आफ्नो छुट्टै स्वादको लागि प्रसिद्ध छ। [१०] बृहत हिमालय पदमार्ग अन्तरगतको दुईवटै रुट अर्थात माथिल्लो रुट (अप्पर ट्रेल) र तल्लो रुट (लोअर ट्रेल) रारा ताललाई छुन्छन्। यस क्षेत्रको भिन्न रिति-रिवाज, सांस्कृति, वातावरण र मनोरम दृश्यले गर्दा नै यो क्षेत्रको पदयात्रा सधैको लागि मिठो सम्झना रहन्छ।

हुम्ला

सिमिकोट,हुम्ला

प्राकृतिक दृष्टिका हिसाबले हुम्ला निकै धनी भएपनि नेपालको विकट ठाउँको रूपमा रहेको यस ठाउँले पर्यटनलाई प्रवर्द्धन गरिरहेको छ। पदयात्राको क्रममा यस क्षेत्र पनि पर्ने गरेको छ तर भौतिक सुबिधा र विकासको अभावले गर्दा यहाँ बस्नुको साटो पर्यटकहरु यहाँको सिमाना हुदै तिब्बतको कैलाश पर्वत पुग्छन्। यस क्षेत्रका अग्ला हिमालमा माउन्ट अपि (७१३२ मि) र माउन्ट साइपाल (७०३१ मि) रहेक छन्।

बृहत हिमालय पदमार्गको मार्ग हुम्लाको सदरमुकाम सिमिकोट हुदै पूरानो साल्ट ट्रेडिङ् रुट हुदै अघि बढ्छ। यस पदयात्राकै क्रममा नेपालकै सबैभन्दा लामो नदी कर्णाली पनि यस बाटोमा पर्दछ। यसका अतिरिक्त नेपालका कला, संस्कृति झल्काउने घरहरु नयाँ परिवेशको अनुभुति लिन सकिन्छ। हुम्लाको उत्तरी सिमानामा हिल्सा भन्ने ठाउँ पर्दछ जहाबाट हिल्लामे बाटोबाट छुट्कारा पाई सजिलोसगँ यात्रा जारी राख्न सकिन्छ। त्यस ठाउँबाट दक्षिणपूर्वी दिशामा पनि फर्किन सकिन्छ जुन लिमी उपत्यकामा गएर टुङ्गिन्छ।

हुम्ला विभिन्न जातजाति, धर्म, सम्प्रदायका मानिसको सम्मिस्रणले बनेको छ। यहाँका ५६,००० जनसङ्ख्यामा ८०% प्रतिशत जनसङ्ख्या हिन्दुहरूको रहेको छ भने अरू बौद्ध धर्मावलम्बी, ठकुरी, राजपूतहरूको पनि बाहुल्यता रहेको छ।

फारवेष्ट नेपाल (सुदूर पश्चिम )

कर्णाली नदी,सुदूर पश्चिम

नेपालको सुदूर पश्चिम विकास क्षेत्र पुर्वमा तिब्बतको माउन्ट कैलाश हुँदै बग्ने कर्णाली नदीले घेरिएको छ। यो क्षेत्र आधुनिक नेपालको पिछडिएको विकास क्षेत्र मानिन्छ। हुन त देशको कूल क्षेत्रफलको करिब ४२ प्रतिशत क्षेत्रफल मध्य र सुदूर पश्चिमाञ्चल क्षेत्रले ओगटे तापनि विकासमा भने यो क्षेत्र अझै पनि पछि नै छ। नेपाल घुम्न आउनेमध्ये केवल दुई प्रतिशत पर्यटक मात्रै यस क्षेत्रमा पुग्छन्। [११]

यो क्षेत्रका बासिन्दाहरू आफ्नै मौलिक भाषा, भेषभुषा र लवाइ खवाइले धनी मानिन्छन्। सुदूर पश्चिम विकास क्षेत्रमा पर्ने महत्तवपूर्ण स्थान भनेको खप्तड राष्ट्रिय निकुञ्ज हो। यो निकुञ्ज खप्तड स्वामीको नामवाट नामकरण गरिएको हो। निकुञ्जमा खप्तड स्वामी आज भन्दा ११० वर्ष पहिले देखि बस्दै आएका थिए। यो राष्ट्रिय निकुञ्जमा विभिन्न वन्यजन्तूहरू पाइन्छ। यो निकुञ्जमा गुफा अवस्थित छ जुन खप्तड स्वामीको नाममा चिनिन्छ।

बृहत हिमालय पदमार्गमा पदयात्राको क्रममा देखिने मौलिक शैलीले गर्दा यस क्षेत्रमा पदयात्राको लागि थप आकर्षित गर्दछ। आजभोलि त्यस क्षेत्रमा पदयात्रा आगमन बढ्दै गएको छ।

आर्थिक तथा पर्यटकीय महत्त्व

यो पदयात्रा मार्ग निमार्ण हुनुमा धेरै कारणहरु छन्। प्रमुख कारण भनेको संसारभरिका पर्यटकहरूलाई नेपालको प्राकृतिक सैन्दर्य अनुभूति गराई नेपालमा पर्यटकहरूको सङ्ख्यामा वृद्धि गर्नु नै हो। पर्यटकहरूको आगमनले आर्थिक फाइदाका साथै रोजगारी सिर्जना र दुर्गम क्षेत्रको दिगो विकासका लागि पनि महत्त्वपूर्ण भूमिका निभाउने गर्छ र यो पदयात्रा मार्गको निमार्णले विश्वमा नेपालको भौगोलिक र वातावरणीय अवस्थाबारे जानकारी गराउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ। [१२]

यसका साथै बृहत हिमालय पदमार्ग सबैभन्दा अग्लो हिमाली पदयात्रा मार्ग भएका कारण र संसारका धेरै जसो अग्ला हिमालहरु यही पदयात्रा मार्गबाट देखिने भएका कारण पदयात्रा गर्न इच्छुकहरुका लागि यो आकर्षक छ। यो पदमार्ग अन्तरगत पर्ने गाउँहरूमा विकासको सम्भावना छ। पर्यटकको आगमनले होटल, लजहरु तथा होम स्टेहरु संचालनमा आउँछन्। जसले गर्दा अतिरिक्त आयआर्जनमा वृद्धि हुन्छ र गरिवी निवारणमा सहयोग पुग्छ। साथै धेरैले गाइड (पथप्रदर्शक)को काम पनि गर्छन् जसले गर्दा देशमा रहेको रोजगारीको समस्या थोरै भएपनि कम गर्न सकिन्छ। [१३]

पदयात्रा मार्गहरू

यस पदमार्गमा यात्रीहरूले २ वटा रुट छान्न सक्छन्। बृहत हिमालय पदमार्ग अन्तरगतको माथिल्लो रुट नेपालको हिमाली भेगको माझबाट जान्छ र यसको उच्चत्व ३००० देखि ५००० मिटर बिच रहेकोछ। यस रुटको यात्राको क्रममा मनमोहक हिमालको दृश्य देख्न पाईन्छ। त्यसका साथै बृहत हिमालय पदमार्ग अन्तरगतको तल्लो रुटलाई नेपालको साँस्कृतिक रुटको रूपमा पनि लिईन्छ। यस रुटको यात्राको क्रममा विदेशी पर्यटकहरूले नेपालका मध्य पहाडि भेगका स-साना गाउँ देख्न पाउँछन् साथै त्यस गाउँका रीति-रिवाज र संस्कृति पनि निकै नजिकबाट नियाल्न पाउँछन्।

माथिल्लो रुट

बृहत हिमालय पदमार्गको माथिल्लो रुटमा पदयात्रा गर्दा निकै नै आनन्द र मनमोहक दृश्य हेर्न पाइन्छ। धेरैको लागि यो पदयात्रा जिन्दगीभरको लागि सम्झन लायक पदयात्रा हुन्छ। यो माथिल्लो रुट नेपालको कन्चनजंगा वेश क्याम्पको दक्षिण भागबाट सुरु भएर नेपाल र टिबेटको सिमामा रहेको हुम्ला जिल्लाको हिल्सामा गएर टुङ्गिन्छ। माथिल्लो रुट १७०० कि.मि दुरीमा फैलिएको छ र यसको उच्चत्व ३००० देखि ५००० मिटर बिच रहेको छ। यो माथिल्लो रुटको पदयात्राको लागि सामान्यता १५० दिन लाग्ने गर्छ।

बृहत हिमालय पदमार्ग अन्तरगतको माथिल्लो रुटमा पदयात्राको क्रममा हाम्रो देशको हिमाली भेगको उच्च हिमालय रेन्ज देख्न सकिन्छ साथै संसारकै दुर्गम गाउँ पनि देख्न सकिन्छ जहाँ अझै पनि जीवन आज भन्दा शताब्दीयौँ पुरानो छ। माथिल्लो रुटको पदयात्राको लागि पर्वतीय आरोहणको अनुभव, दक्षता र जानकारी हुनु आवश्यक छ साथै पर्वतीय आरोहणको सामग्रीहरू पनि साथमा लानु पर्छ। यो ट्रेलमा पदयात्राका लागि स्थानिय ट्रेकिङमा अनुभव भएको व्यक्ति साथमा लानु उचित हुन्छ।

यस माथिल्लो रुट हाम्रो देशको निकै नै पिछडिएको भागबाट जान्छ, त्यसकारण त्यँहा खान र बस्नको राम्रो वेवस्था छैन। आफ्नो लागि चाहिने खाने सामग्री, खाना बनाउने सामाग्री, बस्नको लागि टेन्ट र अरु यात्राको क्रममा चाहिने सामग्रीहरू आफैले बोक्नु पर्ने हुन्छ।

तल्लो रुट

बृहत हिमालय पदमार्ग अन्तरगतको तल्लो रुटमा हाम्रो देश नेपालको मध्य पहाडी भागको जनजिवन र संस्कृति नियाल्न पाइन्छ। त्यसकारण यस रुटलाई सांस्कृतिक रुट भनेर पनि चिनिन्छ। तल्लो रुट(लोअर ट्रेल) १५०० किलो मिटरमा फैलिएको छ र यस रुटको सामान्यता उच्चत्व २००० मिटर रहेको छ। तर पनि एक-दुई स्थानमा अलि उच्च भाग पनि छ, जसमा ढोरपाटन र पश्चिम नेपालमा पर्ने डोल्पाको बिचमा भएको जाङ् ला पास ४५१९ मिटर रहेकोछ। यो तल्लो रुट को पदयात्रालाई सामान्यता ९५ दिन लाग्ने गर्छ।

बृहत हिमालय पदमार्ग अन्तरगतको तल्लो रुटको पदयात्राको क्रममा हाम्रो देशको घना जङ्गल, हरियो खेतबारी, धानका बाली लागेको खेतहरु र साथै हाम्रो देशको रिति-रिवाज, धर्म र सांस्कृतिक पनि देख्न पाइन्छ। नेपालको सांस्कृतिक विभिद्धता झल्काउने गाँउहरूको पनि अवलोकनको अवसर मिल्छ।

यस तल्लो रुटको यात्रामा बस्नको लागि ठाउँ ठाउँमा स-साना लज, होटल र होम स्टेको समेत वेवस्था छ तर पनि आफ्नो पुर्ण सुरक्षाको लागि आफ्नो टेन्ट बोकेर हिँड्नु बेश हुन्छ। यो तल्लो रुटमा स्थानिय स्थरका खाना पाइने ठाँउ पनि थुप्रै छन्।

पदमार्गका प्रवर्द्धकहरू

बृहत हिमालय पदमार्गका मुख्य प्रवर्द्धकहरूमा युके एड एसएनभी नेपाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानिय स्तरमा रहेका पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाहरु रहेका छन्।

विश्वकै लामो पदयात्रा मार्ग बृहत हिमालय पदमार्ग को प्रवद्र्धनका लागि पर्यटकीय प्याकेज बनाइने तयारी भईरहेको छ। यस प्याकेजका लागि टानले प्रस्ताव गरेको र पर्यटन मन्त्रालयले समन्वय गरिरहेको छ। नेपालको नमूना पर्यटन प्रडक्टका रूपमा चिनिएको यस मार्गको प्रवद्र्धनमार्फत विदेशी पर्यटक भित्र्याउन सहज हुने भएकाले पनि प्याकेज बनाउने तयारी गरिएको हो। नेपालको पर्यटन, पूर्वाधार विकास र व्यावसायिक क्षेत्रको दायरा बढाउन पनि यो पदयात्रा मार्गलाई प्याकेजमार्फत प्रवद्र्धन गर्नु जरुरी रहेको छ।[३]

पदयात्रीका लागि महत्त्वपुर्ण जानकारी

पदयात्राका लागि उचित समय

पदयात्रीहरूको यात्रा सफल र सरल बनाउनका निम्ति उचित समयको छनोट गरेर यात्रा गर्नुपर्छ। उपयुक्त वातावरण र मौसमले पनि यात्रामा ठूलो भूमिका खेल्छ। नेपालको मौसम अनुसार वर्षमा ६ ऋतू वर्गीकरण गरिएको छ । ती हुन् वसन्त (फाल्गुन, चैत), ग्रीष्म (वैशाख, जेष्ठ), वर्षा (असार, श्रावण), शरद (भाद्र, असोज), हेमन्त (कार्तिक, मंसिर) र शिशिर (पुष, माघ)।
१. वसन्त ऋतुमा न गर्मी न चिसो ठिकै को मौसम हुन्छ्। यो ऋतुमा नेपालको राष्ट्रिय फुल लालीगुराँस फुल्ने हुनाले प्राक्रितीक सौन्दर्य हेर्दै वन जङ्गल हुँदै यात्रा गर्न निकै रमाइलो र आनन्द आउँछ। यो मौसम यात्राको लागि निकै राम्रो हुन्छ।
२. ग्रीष्म ऋतुमा यात्रा गर्न उचित भएता पनि अलि गर्मी हुन सक्छ। हिमाली भेग मुस्ताङ, हुम्ला र डोल्पामा भने ट्रेकिङ गर्नका लागि ग्रीष्म ऋतु उचित हुन्छ।
३. वर्षा ऋतुमा पानी धेरै पर्ने हुनाले यात्रा कठिन हुनसक्छ तर यो ऋतुमा मौसम निकै रमणीय हुन्छ, उच्च पहाडी भेगमा हरियाली छाएको हुन्छ र निकै राम्रा दिृश्य देख्न सकिन्छ।
४. शरद ऋतु भने यात्रा गर्नकोलाई एकदम उचित सनय हो। यो मौसममा चिसोको सुरुवात हुन्छ, आकाश पनि सफा हुन्छ र हिम श्रीङ्खलाहरुपनि सजिलै देख्न सकिन्छ। यो मौसम ट्रेकिङ गर्नका लागि निकै राम्रो मानिन्छ।
५. हेमन्त ऋतुमा मौसम चिसो हुने भएकोले पदयात्रा गर्न निकै सहज हुन्छ। यो ऋतुमा हिलो, धुलो र धुवाँ केहि नहुने हुनाले वातावरण स्वच्छ हुन्छ।
६. शिशिर ऋतुमा धेरै जाडो हुने हुनाले माथी हिमाली भाग हिउँले ढाकिएको हुन्छ। यात्रा गर्न अलि कष्ट भएपनि धेरै पर्यटकहरू हिउँमा रमाउन र सुन्दर हिम श्रीङ्खलाको दिृश्यहरू कैद गर्न आउँछन्।

कुनै ऋतुहरूमा केही कष्ट भएता पनि सबै ऋतुमा आ-आफ्नै विशेषताले गर्दा पदयात्रा गर्नका लागि ६ वटै ऋतुहरू उचित छन्।

पदयात्राको प्रवेशआज्ञा र अनुमति

नेपालमा पदयात्राको लागि निर्रधारित शुल्क तिरी विभिन्न प्रवेशआज्ञा र अनुमति लिनुपर्छ । ठाउँ ठाउँ अनुसार प्रवेशआज्ञा र अनुमतिको प्रकार र शुल्क फरक हुन्छ । कुनै ठाउँ वा क्षेत्रको प्रवेशआज्ञा र अनुमति यात्रा सुरु गर्नु अगाडि नै लिनु पर्ने हुन्छ र कुनै ठाउँ वा क्षेत्रको प्रवेशआज्ञा र अनुमति यात्राकै क्रममा लिने प्रावधान हुन्छ । सामान्यता ३ प्रकारका प्रवेशआज्ञा र अनुमति हुन्छन् ।

  1. टिम्स कार्ड (TIMS Card)।
  2. राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रको शुल्क ।
  3. प्रतिबन्धित क्षेत्रमा पदयात्राको अनुमति गृह मन्त्रालयबाट लिनुपर्छ ।[१४]

पदयात्राका बेला स्वास्थ र सुरक्षा

हिमालय पदयात्राका क्षणहरु अबिस्मरणीय हुन्छन् । नयाँ ठाउँ मा यात्रा गर्न जति रमाईलो र मनोरम हुन्छ त्यतिनै कठिन पनि र यहि कठिन यात्रालई सहज बनाउन आफ्नो स्वास्थ स्थिति को ख्याल राख्नु एकदमै जरुरी छ। यात्राको क्रममा वातावरणमा आएको परिवर्तन वा कुनै दुर्घटनाको स्थितिमा उपचार सजिलै उपलब्ध नहुन सक्छ। त्यसैले पदयात्रा का लागि जानु भन्दा अघि निम्न कुराहरु ध्यानमा राख्न जरुरी छ -
१. आफू जाने गन्तव्यको बारेमा पूर्व जानकारी लिईमात्र यात्रामा जानुपर्छ ।
२. वातावरण तथा मौसम सुहाउदो लुगा बोकेर मात्र यात्रामा जानु पर्दछ ।
३. यात्राका क्रममा चाहिने अत्यावश्यक सामग्री बोकेर हिड्नु पर्छ।
४. प्राथमिक उपचारका सामग्रीहरू आफूसँगै राख्न्नुपर्छ , ती सामग्री आपतकालिन अवस्थाका लागि चाहिन सक्छ।
५. मोबाइल फोन लिई हिडे यात्रामा सजिलो हुन्छ ।
६. सकेसम्म यस्तो यात्रामा एक्लै नगई साथी वा गाईडको साथमा जानुपर्छ ।
७. यात्राको पूर्वजानकारी लिई सजिलो बाटो चयन गरी यात्रा गर्नुपर्छ।
८. यस्तो यात्राको बेला लेक लाग्ने समस्या पनि हुन्छ र यसको बारेमा राम्ररी थाहा पाई गएमा यस समस्या को सजिलो निवारण गर्न सकिन्छ।

लेक लाग्ने समस्या एक साधारण समस्या हो जुन १०,००० फिट र सो भन्दा बढी उचाईमा लाग्ने गर्दछ । यस समस्या का लक्षणहरूमा टाउको दुख्ने, खान मन नलाग्ने, वान्ता हुने रहेको छ। यस्तो अवस्थामा सकेसम्म आफू भएको उचाई भन्दा तल झर्नुपर्छ । [४]

द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम

बृहत हिमालय पदमार्ग सफलताको लागि दुई वर्षे "द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम" नामक कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यो कार्यक्रम सन् २०११ देखि सन् २०१३ सम्म चल्ने हो। यो कार्यक्रम सन् २०१३ मा सकिए तापनि दिगो पर्यटनका लागि ग्रेट हिमालय ट्रेलभित्र पर्यटन अभिवृद्धिका लागि कार्यक्रम भने सञ्चालन भई रहनेछ।

युके एड द्वारा आर्थिक सहयोग प्रदान गरिएको "द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम" पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, टान द्वारा सञ्चालनमा ल्याइएको हो।

यो विकास कार्यक्रमका दुई पक्षहरु छन्। एउटा पक्षले बृहत हिमालय पदमार्ग बारेमा विज्ञापनहरूबाट जनचेतना जगाउने काम गर्दछ। यस्ता पदयात्रा मार्गहरु अमेरिका, क्यानडा र युरोपमा पनि प्रचलित छन्। अर्को पक्ष भनेको आर्थिक रूपमा पिछडिएका नेपालमा निश्चित जिल्लाहरूमा पर्यटनको विकास गर्नु हो।

यसका साथै "द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम" ले स्थानीय संस्था र स्थानीय वासिन्दा सँग मिलेर पर्यटनमार्फत् बढि भन्दा बढि फाईदा लिन र पिछडिएका जिल्लाहरूको विकास गर्ने कार्यमा मद्दत गर्छ। साथै "द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम" ले स्थानिय संस्थाको मार्फत निजीस्तरका स्थानिय व्यक्तिहरूलाई तालिम दिनको लागि कार्यक्रम आयोजना गर्छ, जस्तै होटल व्यवसाय गर्न, खाना पकाउन वा स्थानीय पथ प्रदर्शक(गाइड), इत्यादि।

सन्दर्भ सामग्रीहरू

  1. "‘ग्रेट हिमालयन ट्रेल’ को उद्घाटन", welovenepal.com, लब नेपाल नेटवर्क, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१३ 
  2. "विश्वकै लामो पदमार्ग 'ग्रेट हिमालयन ट्रेल'", ekantipur.com, kantipur publication, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ९ सेप्टेम्बर २०१० मिति
  3. ३.० ३.१ "द ग्रेट हिमालय ट्रेलको पर्यटकीय प्याकेज बनाइँदै", abhiyan.com, abhiyan publication, अन्तिम पहुँच १९ डिसेम्बर २०१२ 
  4. ४.० ४.१ "ग्रेट हिमालय ट्रेल", अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३ 
  5. "ग्रेट हिमालय ट्रेल विकासले पर्यटन प्रवद्र्धनका १० वटा क्लष्टर url=http://www.khabarpati.com/2013/08/great.html", Nepali Digital Patrika खबरपाटी। 
  6. "ताप्लेजुङ्ग", Tourism Office Kakarvitta -, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २० अप्रिल २०१४ मिति
  7. "कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सुधारका प्रयास", Gorkhapatra Sansthan, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३ [dead link]
  8. "मकालुले लोभ्यायो पर्यटकलाई", Gorkhapatra, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३ [dead link]
  9. "Sinja Valley", UNESCO, (UNESCO) and the World Heritage Centre, अन्तिम पहुँच ९ नोभेम्बर २०१३ 
  10. "hotels in Jumla", hotelnepal.com, hotelnepal.com, अन्तिम पहुँच ९ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १४ सेप्टेम्बर २०१३ मिति
  11. "किन जाँदैनन् सुदूर पश्चिममा पर्यटक", ujyaloonline.com, jun ०२, २०१३, अन्तिम पहुँच १० नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१३ मिति
  12. "ग्रेट हिमालयन ट्रेल खुला", Shila pandey, ekantipur, अन्तिम पहुँच ९ नोभेम्बर २०१३ 
  13. "गरीबी निवारण र विकाससहितको पर्यटन", bijay raj khanal, Abhiyan, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३ 
  14. "पर्यटन शुल्कमा एकद्वार प्रणालीको माग", Abhiyan newspaper, Abhiyan Daily newspaper, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१३ 

बाह्य कडीहरू