रामप्रसाद खनाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामप्रसाद खनाल
रामप्रसाद
रामप्रसाद खनाल
जन्महार्दिनेटा, मैनडाँडा, गुल्मी नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातकोत्तर (समाजशास्त्र)
पेशालोक गायक, साहित्य, पत्रकारिता, व्यवसाय
कार्यकालवि.सं. २०४४ देखि
चिनारीको कारणगायक, साहित्य, पत्रकारिता
उल्लेखनीय कार्य
देश हराएको मान्छे, मूर्दाहरूको बस्ती, तीता मिठा अनुभूतिहरू
गृहनगरगुल्मी
जीवनसाथीतीर्था पौडेल
सन्तानज्ञानेन्द्र खनाल र सुस्मा खनाल [१]
मातापिताभविश्वर खनाल र रुन्दता देवी खनाल
पुरस्कारगोरखा दक्षिण बाहु वि.सं. २०५९
त्रिशक्ति पट्ट वि.सं. २०६०
म्यान अफ दि इयर २००४' सन् २००४
वेबसाइटरामप्रसादखनाल डटकम

रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको विकास र प्रवर्धनका एक अभियन्ता,[१] अग्रज लोक तथा दोहोरी गायक, पत्रकार[२] लेखक एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष हुन् ।[३]उनी कलाकार,[४] पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजन प्रस्तोता तथा कार्यक्रम उत्पादक,[५] लेखक सबै क्षेत्रमा उत्तिकै चर्चित छन्।

खनाल एक दशकदेखि अमेरिकामा[६] विभिन्न व्यापारिक प्रतिस्थानहरू र त्यसबाहेक रियलस्टेट व्यवसायमा पनि संलग्न छन्। रेडियो नेपालको विशिष्ठ श्रेणीका लोक तथा दोहरी गायक खनालले २०५५ सालमा नेपाल टेलिभिजनबाट प्रसारण आरम्भ भएको र नयाँ इतिहास कायम गरेको 'लोक दोहोरी' कार्यक्रम सञ्चालन गरी नेपाली लोकगीत र दोहोरी गीतलाई पुनर्जीवित गर्ने कार्य गरेका थिए।[७] ग्रिनकार्ड[८] लिएर हाल अमेरिकामा बसोबास गरिरहे पनि उनी लोकगीत, दोहोरी गीत, लोक संस्कृति, नेपाली भाषा, साहित्य, कलाको क्षेत्रमा उत्तिकै योगदान पुर्‍याइरहेका छन्।[९] उनका कविता तथा गजलका गरी १७ वटा सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् भने उनले करिब १५०० वटा कविता तथा गजलहरू लेखिसकेका छन्। हालसम्म ४८ वटा एल्बम प्रकाशन गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु प्रकाशित, प्रसारित छन्। लोकगीत, दोहोरीगीत र समग्र गीत, सङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत् प्रवल गोरखा दक्षिण बाहु तथा पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्यानएवापत् प्रख्यात त्रिशक्ति पट्टबाट विभूषित भइसकेका उनले चारसय पचासभन्दा बढी अन्य पुरस्कार, सम्मान तथा विभूषण प्राप्त गरिसकेका छन्।[१०][११] लोकगीत तथा दोहोरी गीतको उत्थानमा समर्पित उनी अमेरिकीस्थित अमेरिकन वायोग्राफिकल इष्टिच्युट 'एविआइ' नामक अन्तराष्ट्रिय संस्थाबाट 'म्यान अफ दि इयर २००४' अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि पुरस्कृत भइसकेका छन्। उनका 'देश हराएको मान्छे'[१२] र 'मूर्दाहरूको बस्ती'[१३] कविता सङ्ग्रह, 'तीता मिठा अनुभूतिहरू' आत्मवृत्तान्त, 'गुल्मीदेखि अमेरिकासम्म' जीवनयात्रा चर्चित कृतिहरू हुन्।

बाल्यकाल तथा शिक्षादीक्षा[सम्पादन गर्नुहोस्]

पिता भविश्वर खनाल र माता रुन्दता देवी खनालको माइलो छोराको रूपमा जन्मिएका उनका ४ दाजुभाइ र ३ दिदीबहिनीहरू छन्। मध्यमवर्गीय परिवारमा जन्मिएका उनको पिता आसाम राइफल, भारतमा कार्यरत् थिए भने दाजु ठेकेदारका रूपमा कार्यरत थिए। उनको प्रारम्भिक शिक्षा हर्दिनेटा, धरम्पानी श्री मैनडाँडा निम्न माध्यमिक विद्यालय र माध्यमिक शिक्षा श्री आदर्श माध्यमिक विद्यालय, दिगाम, गुल्मीमा भयो। उनले त्यसै विद्यालयबाट एसएलसी पास गरेपछि बुटवल बहुमुखी क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरे।

वैवाहिक जीवन[सम्पादन गर्नुहोस्]

वि.सं. २०५० मा गुल्मी रिमुवाको तीर्था पौडेलसँग [२] वैवाहिक जीवन सुरू गरेका रामप्रसाद खनालको वि.सं. २०५१ मा छोरा ज्ञानेन्द्र खनाल [३] र वि.सं. २०५४ सालमा छोरी सुष्मा खनालको[४] जन्म भयो। हाल उनी सपरिवार अमेरिकाको भर्जिनियामा बसोबास गर्द्छन् भने नेपाल आएको बेला नयाँ बानेश्वर, काठमाडौँस्थित घरमा बसोबास गर्छन्।

गीत-सङ्गीत यात्रा[सम्पादन गर्नुहोस्]

सानैदेखि गीत संगीतप्रति अभिरुचि राख्ने उनी स्कुल पढ्दा नै कैयौँ पटक आयोजित जिल्ला, क्षेत्रीय, अञ्चलस्तरीय गीति प्रतियोगीतामा प्रथम हुने गर्दथे। त्यतिबेला उनको गीतसङ्गीतका अतिरिक्त नृत्यमा पनि रूची थियो। तीन दशकअघि रेडियो नेपालबाट लोकगीत र आधुनिक गीततर्फ स्वर परीक्षा पास गरेपश्चात् उनको गीत-सङ्गीत यात्रा व्यवस्थित भएर गयो। हाल उनको ४८ वटा गीती क्यासेट, सिडी., भिसिडीहरू बजारमा आइसकेका छन्।[१४] 'देउरालीमा पीपल छायाले', 'छाता ओझेल पारिदेऊ बर्खे झरीमा', 'विशाल बजारमा मन पर्‍यो मायालाई एकै नजरमा', 'रेल पुग्यो बम्बैमा' लोकदोहरी तथा 'मेरो बूढो झर्के', 'कस्ता भए होलान ती गाउँघर', 'सय काटेकी हजुरआमा', 'गुल्मी झरेर, रिडी तरेर', 'जुनतारा', 'एकै नजरमा', 'चिठ्ठी लेखेर', 'छैन यो मन थिर', 'बहिरबाट रेखादेख गर्ने', दशैँ गीत, देउसी-भैलो, तीजका गीतहरू 'हेर हेर सगरमाथा'लगायत दर्जनौँ गीतहरू[१५] र उनको पछिल्लो पटक बजारमा आएको पञ्चेबाजाको लोकगीत 'दुलाहादुलही'[१६] र 'घरघरको कहानी'[१७] पनि त्यत्तिकै चर्चित र लोकप्रिय छन्।

पत्रकारिता यात्रा[सम्पादन गर्नुहोस्]

उनको पत्रकारिता अध्ययनकै क्रममा वि.सं. २०४४ देखि सुरू भयो। उनले पाल्पा तानसेनबाट प्रकाशित 'सत्य साप्ताहिक' र बुटवलबाट प्रकाशित 'एक्सरे साप्ताहिक'लाई समाचार पठाउने, गीत, कविता, लेखहरू लेखेर पत्रकारितामा पाइला राखे। वि.सं. २०४६ सालको जनआन्दोलनसँगै बुटवलबाट 'जनसंघर्ष दैनिक'[१८] पत्रिका प्रकाशन सुरू भयो। उक्त पत्रिकामा उनले समाचार लेखनको मात्र काम गरेनन्, पत्रिका दर्ता गर्नेदेखि बजार व्यवस्थापनको कार्यसमेत गरे। यसका अतिरिक्त उनले काठमाडौँबाट प्रकाशित हुने राष्ट्र पुकार (पत्रिका), 'नेपालवाणी', नेपाल पत्र (पत्रिका), नेपाल टाइम्स (पत्रिका), 'गोरखा एक्सप्रेस', 'लोकपत्र'लगायत कयौँ पत्रपत्रिकामा रिपोर्टिङ्देखि सम्पादनसम्मको काम गरे। उनले 'लोकपत्र दैनिक'मा उत्कृष्ठ रिपोर्टरको पुरस्कार पनि पाए। उनले भैरहवाबाट प्रकाशित हुने 'सन्देसा' दैनिक, साप्ताहिक 'जनआवाज', 'एक्सरे' साप्ताहिक, 'सत्य' साप्ताहिकमा समाचारदातादेखि सम्पादकको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। वि.सं. २०४९ देखि 'निष्पक्ष' साप्ताहिक पत्रिका प्रकाशन गरे जसको सम्पादक उनी आफै थिए। यो पत्रिका उनी अमेरिका नजाँदासम्म प्रिन्ट भर्सनमा छापियो। उनी अमेरिका गएपछि वि.सं. २०६४ सालदेखि भने यो अनलाइन पत्रिकाको रूपमा 'नेपालमदर डटकम'[१९] को रूपमा प्रकाशन भइरहेको छ जसमा उनी प्रकाशक र प्रधानसम्पादकको रूपमा कार्यरत् छन्। यो अनलाइन पत्रिका विदेशमा बस्ने नेपालीहरूका बीचमा स्थापित र लोकप्रिय 'डिजिटल' पत्रिका बनेको छ।

रेडियोमा प्रवेश[सम्पादन गर्नुहोस्]

नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् रेडियो नेपालबाट प्रसारण हुने 'घटना र विचार' कार्यक्रम अत्यन्त लोकप्रिय थियो। उनले सो कार्यक्रममा वुटवलबाट लुम्बिनी अञ्चलको प्रतिनिधि भएर काम गरे। वि.सं. २०५५ मा रेडियो नेपालमा कार्यक्रम 'नेपालको सेरोफेरो' सञ्चालक, निर्माता र निर्देशकको रूपमा प्रवेश गरे। बीबीसी रेडियोमा वि.सं. २०४८ देखि २०५२ सम्म काम गरेको अनुभव पनि उनलाई छ।

नेपाल टेलिभिजनमा प्रवेश[सम्पादन गर्नुहोस्]

पत्रकार केदार खड्काद्वारा सञ्चालित कार्यक्रम 'एक-आपास' कार्यक्रममार्फत उनी पहिलोपटक टेलिभिजनको पर्दामा देखापरेका हुन्। सन्तोष पन्तले निर्देशन गरेको 'हिजो आजको कुरा'मा वि.सं. २०५३ देखि २०५६ सालसम्म अभिनय गरे। वि.सं. २०५६ मा 'नेपालको सेरोफेरो', वि.सं. २०५७ मा 'विद्युत' र वि. सं २०५६ मा 'लोकदोहोरी' कार्यक्रम निर्माता, निर्देशक, सञ्चालकको रूपमा काम गरे। उनले सञ्चालन गरेको 'लोकदोहरी' कार्यक्रम त्यतिबेलाको सर्वाधिक लोकप्रिय कार्यक्रम थियो। त्यतिबेला लोकगीत अहिले जति लोकप्रिय थिएन। नेपाली सङ्गीत क्षेत्रमा लोकगीत ओझेल परेको अबस्थामा थियो। पपगीतको बाहुल्यता थियो। उनको कार्यक्रमले लोकगीतलाई पुनर्जीवन मात्र दिएन थुप्रै नयाँ कलाकार जन्माउनुका साथै पुराना लोकगायकहरूलाई स्थापित गराउने कार्य गर्योद। नेपालको सबै क्षेत्रबाट लोकगीत फेरि जुर्मुराएर उठ्यो। अहिले आधुनिक गीत होस् या फिल्मको गीत होस् सबै प्रकारको गीतमा लोक फ्लेवरका सङ्गीतहरू राख्ने र श्रोताहरूले रूचाएको पाइन्छ। यति मात्र हैन त्यतिबेला राजधानी र राजधानीबाहिर रेष्टुरेन्टहरूमा दोहोरी साँझहरू खोल्ने अभियान नै सुरू भयो। नेपाल टेलिभिजनमा मात्र हैन अन्य टेलिभिजनमा पनि लोकगीतका कार्यक्रमहरू सञ्चालन हुनुमा पनि 'लोकदोहरी' कार्यक्रमको योगदान छ भन्दा फरक पर्दैन।

अमेरिका यात्रा[सम्पादन गर्नुहोस्]

१३ पटक विभिन्न कार्यक्रमहरूमा अमेरिका पुगिसकेका रामप्रसाद खनाल सन् २००६ मा १४ औँ पटक पुगेपछि स्थायीरूपमा बसोबास गर्न थाले। उनले सन् २००७ देखि असाधारण क्षमता, खुवी भएका व्यक्तिहरूलाई दिने 'एक्स्ट्रा ओर्डिनरी एविलिटी ईवि-१' अन्तर्गत ग्रीनकार्ड लिएर अमेरिकामा बसोबास गरिरहेका छन्। सुरूमा 'वालमार्ट कम्पनी'मा 'कष्टुमर सर्भिस म्यानेजर'को रूपमा साढे २ वर्ष काम गरेपश्चात् सन् २०१० देखि 'ग्रोसरी' स्टोरहरू, 'ग्यास स्टेशन'हरू, 'रियल स्टेट' व्यवसायमा संलग्न छन्। अमेरिकामा पनि उनले गीत, सङ्गीत, पत्रकारिता र साहित्य लेखनलाई निरन्तरता दिइरहेका छन्। उनी अमेरिकामा बसोबास गरेपश्चात् वासिङ्टन डिसीमा हरेक वर्ष तीज महोत्सव, दशैँमा सामुहिक टीका लगाउने, तिहारमा देउसी भैलोको कार्यक्रम हुने गरेको छ। यस्तै विभिन्न चाडपर्वहरूमा तथा समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रमहरू तथा भजन कीर्तन हुने गरेको छ। उनी अमेरिकामा बसोबास गरेपश्चात् त्यहाँका साहित्यिक गतिविधि, कला तथा साँस्कृतिक कार्यक्रमहरूले निरन्तरता पाउनुका साथै व्यवस्थितरूपमा आयोजना हुन थालेका छन्।[२०]

सामाजिक संघसंस्थामा संलग्नता[सम्पादन गर्नुहोस्]

गीत, सङ्गीत, कला संस्कृति, साहित्यका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ रामप्रसाद खनालको सक्रियतामा सन् २००८ मा अन्तराष्ट्रिय कलाकार मञ्चको गठन भयो। हाल ३५ देशका कलाकार, साहित्यकार, गायकगायिकाहरू संलग्न रहेको यो संस्थाका उनी संस्थापक अध्यक्ष हुन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको अध्यक्ष भएर दुई कार्यकाल काम गरेका उनी रेयुकाइ, रेडक्रस, लायन्स क्लवलगायत विभिन्न सङ्घ संस्थाका नेतृत्वतहमा रही काम गरिसकेका अनुभव पनि छ। हाल अमेरिकास्थित इन्टरनेशनल मेडिया एण्ड इन्टरटेन्टमेन्ट हाउसका अध्यक्ष, खनाल विजनेश ग्रुप एण्ड अमेरिकन सुपरमार्केटको अध्यक्ष छन्। यसका अतिरिक्त उनी अन्य दर्जनौँ संघसंस्थामा पनि संलग्न छन्। उनी 'नेपाल मदर डटकम'को प्रकाशक तथा प्रधान सम्पादक पनि हुन्।

पुरस्कार तथा विभूषण[सम्पादन गर्नुहोस्]

  • गोरखा दक्षिण बाहु, नेपाल सरकार, वि. सं. २०५९
  • प्रख्यात त्रिशक्ति पट्ट, नेपाल सरकार, वि. सं. २०६०
  • 'म्यान अफ दि इयर २००४'- अमेरिकन वायोग्राफिकल इष्टिच्युट 'एविआइ' - सन २००४
  • नेपाल स्काउट पत्रकारिता पुरस्कार, नेपाल स्काउट, सन् २००४
  • लोक तथा दोहोरी हिरो, खनाल सेवा समाज, सन् २००४
  • उत्कृष्ठ लोकदोहोरी पुरस्कार संयुक्त राष्ट्र सङ्घ सन् २००३
  • शिक्षा पत्रकारिता तथा गायक पुरस्कार विश्व स्वास्थ संस्था (डब्लुएचओ-युएन) सन् १९९५
  • करिब चार सयभन्दा बढी राष्ट्रिय, क्षेत्रिय पुरस्कार तथा अन्य अभिनन्दन, सम्मान

अनुभव[सम्पादन गर्नुहोस्]

  • सञ्चालक समिति सदस्य, नेपाल टेलिभिजन
  • कार्यक्रम निर्माता/निर्देशक/सञ्चालक नेपाल टेलिभिजन (सन् १९९७-२००७)
  • अध्यक्ष-सुरताल म्युजिक इण्डष्ट्रिज प्रा.लि. (सन् २००३-२००५)
  • प्रशिक्षक-नेपाल प्रेस इष्टिच्युट (इनपीआइ)
  • कार्यक्रम निर्माता/निर्देशक/सञ्चालक, रेडयो नेपाल (सन् १९९७-१९९९)
  • कलाकार-हिजो आजको कुरा, नेपाल टेलिभिजन
  • प्रधान सम्पादक/प्रकाशक, नेपालमदर डटकम र निष्पक्ष राष्ट्रिय साप्ताहिक (सन् १९९२ देखि)
  • सम्वाददाता/सम्पादक-जन सङ्घर्ष, लोकपत्र, नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार, नेपाल वाणी, एक्सरे, सत्य, जन आवाज, गोरखा एक्सप्रेस आदि
  • केन्द्रीय पार्सद- नेपाल पत्रकार महासङ्घ (सन् १९९२-२००६)
  • सल्लाहकार- नेपाल पत्रकार महासङ्घ (सन् १९९२-२००६)
  • महासचिव- राष्ट्रिय पत्रकार महासङ्घ (सन् २००४-२००५)
  • महासचिव-दक्षिण एसियाली पत्रकार महासङ्घ (सन् १९९८-२००७)

संलग्नता[सम्पादन गर्नुहोस्]

  • अध्यक्ष-अन्तराष्ट्रिय कलाकार मञ्च, अमेरिका
  • अध्यक्ष-अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी (सन् २०१५ देखि २०१९ सम्म)
  • अध्यक्ष तथा कार्यकारी निर्देशक- खनाल विजनेश ग्रुप र अमेरिकन सुपर मार्केट
  • रियल्टर- क्यापिटल एरिया रियल्टर्स (रियल स्टेट कम्पनी)
  • नोटरी पब्लिक/विजनेश इन्टरप्रेनर
  • फ्रेन्चाइजी/प्रबन्धक- सेभेन-एलेभन स्टोर्स, ग्यास स्टेशन र ट्रक सप

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. राष्ट्रियता तब मात्र बुझिन्छ जब देशबाहिर बसिन्छ-न्युजअफनेपाल डटकम
  2. लोकदोहोरी गायक एवं पत्रकार उनकाका चार कृति अमेरिकामा विमोचित-नेपालीकोरिया डटकम
  3. अन्तराष्ट्रिय कलाकार मञ्च पुनर्गठन-रातोपाटी डटकम
  4. नेपालमा के के गरेर अमेरिका फर्किए रामप्रसाद खनाल?-इनेपलिज डटकम
  5. रामप्रसाद खनालले गरे एनआरएनए अमेरिकाको निर्वाचनमा उम्मेदवारीको घोषणा-नेपालीजनता डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१५ मिति
  6. यी हुन् अमेरिकी ‘ग्रिनकार्ड’ भएका ५०० नेपाली कलाकार-लोकपाटी डटकम
  7. सोमबारबाट बद्रीको 'लाइभ दोहोरी' टेलिभिजनमा-आर्टिष्टखवर डटकम
  8. नेपालमै बसेर अमेरिकी ग्रिनकार्ड पाउने हैन?-लण्डननेपालन्युज डटकम
  9. डिसीमा रामप्रसाद खनाल र प्रेमराजा महतले गाउने, कोमल वली नाच्ने-विआरटीनेपाल डटकम
  10. गायक रामप्रसाद खनाल सम्मानित-बाह्रखरी डटकम
  11. मुर्दाहरूको बस्ती लिएर आउँदै रामप्रसाद खनाल-खसोखास डटकम
  12. अमेरिकामा राम प्रसाद खनालको “देश हराएको मान्छे” बिमोचन-इनेप्लिज डटकम
  13. मुर्दाहरूको बस्ती र रामप्रसाद खनालको सदावहार गीतहरू विमोचित
  14. रामप्रसादको ‘दुलहा दुलही’ले स्रोता दर्शकको मन जित्दै-मिलापन्युज डटकम
  15. रामप्रसाद खनालको युट्युव
  16. रामप्रसाद खनालको ‘दुलाहा दुलही’ गीत सार्वजनिक-समाचार दैनिक डटकम
  17. हरेक घर परिवारको कहानीलाई गीत बनाएर गाए, मान्छे पनि रुवाए रामप्रसाद खनालले-विआरटीनेपाल डटकम
  18. जनसंघर्ष पत्रिकाको तस्बीर
  19. नेपालमदर डटकम
  20. अमेरिका बसेर लोकभाका जोगाउँदै-अन्नपूर्णपोष्ट डटकम

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]