ललित त्रिपुरा सुन्दरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्
ललित त्रिपुरा सुन्दरी देवी
सदा सौभाग्यवतीनाम
Queen Tripurasundari of Nepal.jpg
त्रिपुरेश्वर मन्दिरमा अवस्थित त्रिपुरा सुन्दरीको मूर्ति

नेपालको महारानी
कार्यकाल
वि.स. १८६२ – वि.स. १८८८
व्यक्तिगत जानकारी
जन्म वि.स. १८५०
मृत्यु वि.स. १८८८, चैत्र
धर्म हिन्दु

महारानी ललित त्रिपुरा सुन्दरी (१८५०-१८८८) लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा गिर्वाण युद्ध विक्रम शाह र नाति राजेन्द्र विक्रम शाहले पनि ३ ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरुले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। [१]

जन्म[सम्पादन गर्ने]

उनी वि.सं. १८५० सालमा बाबु काजी नयनसिँह थापा र उनकी पत्नीबाट जन्मेकी थिइन् । उनी बगाले थापाकी छोरी थिइन्। ललितत्रिपुरसुन्दरी मुख्तियार भीमसेन थापाकी भतिजी थिइन्। प्रधानमन्त्री माथवरसिंह थापा उनका सहोदर भाइ हुन्। थापा खलककी ललित त्रिपुरा सुन्दरीको विवाह राजा रणबहादुर शाहसंग गराएर भीमसेन थापाले सत्तामा आफ्नो पकड जमाउने बलियो अस्त्र बनाएको देखिन्छ। रणबहादुर शाह र उनका रानीहरुको मृत्युपछि १८६३ मा ललित त्रिपुरा सुन्दरी नाबालक राजा गिर्वाण युद्ध विक्रमकी संरक्षकका रुपमा नायब बनेकी थिईन्। १८ वर्ष नपुग्दै गिर्वाण युद्ध विक्रमको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी राजेन्द्र विक्रमकी पनि नायब बनेकी थिईन्। उनको लामो शासनकालमा भिमसेन थापाले आफ्नो शक्ति सुदृढ बनाएका थिए। [१]

जीवन[सम्पादन गर्ने]

ललितत्रिपुरसुन्दरीको विवाह श्री ५ रणबहादुर शाहसँग १८६२ साल फागुन २६ गते भएको थियो। त्यतिबेला रणबहादुर शाह भर्खर कासीबाट नेपाल फर्केका थिए । यिनको बिहेका प्रसङ्गमा इतिहासकारमध्ये कसैकसैले भनेका पनि छन् "रानी ललितत्रिपुरसुन्दरीको रजस्वला नहुँदै बिहे भएको थियो र रजस्वला नहुँदै यिनका पतिको निधन भएको थियो"।[१]

समाजसेवाहरू[सम्पादन गर्ने]

त्रिपुरेश्वर मन्दिर[सम्पादन गर्ने]

रानी ललितत्रिपुरसुन्दरीले काठमाडौंमा त्रिपुरेश्वर मन्दिरको स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरसुन्दरीले सो मन्दिर संवत् १८७४ देखि बनाउन लगाएकी थिइन् र १८७७ सालमा सो मन्दिरको निर्माण भएको थियो ।

वाग्मतीको पुल[सम्पादन गर्ने]

संवत् १८६७ मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्नचाहिँ संवत् १८६८ चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो ।

धरहरा[सम्पादन गर्ने]

ललितत्रिपुरसुन्दरीले १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन् । राजधर्म, जगदम्बा प्रकाशन -२०१९ का अनुसार ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।। शुभम्"

सुनधारा[सम्पादन गर्ने]

सुनधाराको निर्माण ललितत्रिपुरसुन्दरीले गराएकी हुन्। सुन्धाराको धातुको मकरमुखाकृतिमा यस्तो लेखिएको छः

स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरसुन्दरी देवीले यो धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम् ।

भाषा साहित्य[सम्पादन गर्ने]

ललितत्रिपुरसुन्दरीले संस्कृतनेपाली भाषामा कविता लेखिन् । नेपाली भाषा साहित्यकी प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीले महाभारतको शान्तिपर्वान्तर्गको राजधर्म अनुशासनपर्वलाई संस्कृतभाषाबाट १८८१ सालमा नेपालीभाषामा अनुवाद गरिन् । ललितत्रिपुरसुन्दरीद्वारा लिखित राजधर्म नइ प्रकाशनले पुन: प्रकाशनमा ल्याएको छ । 'राजधर्म' २०१९ सालमा जगदम्बा प्रकाशनले प्रकाशनमा ल्याएको थियो । तर त्यति बेला ग्रन्थलेखकको नाउँलाई प्रस्ट्याइएको थिएन । यस ग्रन्थलाई नइ प्रकाशनले २०६४ सालमा प्रकाशनमा ल्याएको हो । यो ग्रन्थ ७२६ पानामा आधारित छ । 'राजधर्म' नामक ग्रन्थमा प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पनि आबद्ध छ । ललितत्रिपुरसुन्दरीका व्यक्तित्वका विविध पाटाका विषयमा योगी नरहरिनाथ, मदनमणि दीक्षित, सत्यमोहन जोशी, श्यामदास वैष्णव, ईश्वरवल्लभ, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, बालकृष्ण पोखरेल, गणेशबहादुर प्रसाई, कुमारबहादुर जोशी, विष्णुराज आत्रेय, गार्गी शर्मा, देवीप्रसाद सुवेदी, प्रकाश ए. राज आदिले पनि लेखेका छन्। ईतिहासविद दिनेशराज पन्तले राजधर्मलाई ‘नेपाली भाषा साहित्यको गर्व’ भनेका छन्। उनी दरबारमा लेखक तथा कविहरुलाई निकै प्रश्रय दिन्थिन्।

अन्य[सम्पादन गर्ने]

(श्रोत् खुलाउन आवश्यक)

  • गोरखनाथलाई खुशी तुल्याउन संवत् १८६९मा गोरखास्थित गोरखनाथलाई घण्टा चढाएकी थिइन् ।
  • संवत् १८८०मा गुहृयेश्वरीको सिंहस्तम्भमा ललितत्रिपुरसुन्दरीको स्तम्भाभिलेख भएको बेहोराबाट उनले गुहृयेश्वरी मन्दिरमा 'सिंह' चढाएकी थिइन् भन्ने बुझिन्छ ।
  • संवत् १८८८मा श्रीपशुपति प्रीतिनिमित्त भनेर ३०० धार्नीको धातुको घण्टा चढाएकी थिइन् ।
  • ललितत्रिपुरसुन्दरीले रिडीमा 'सत्येश्वर महादेव'को मन्दिर बनाउन लगाएकी थिइन् ।
  • पशुपतिनाथको देवल गुठी र गोरखामा गोरखकाली गुठी स्थापना गरेकी थिइन् ।
  • भारतको बनारसमा ललिताघाट र नेपाली मन्दिर पनि निर्माण गरेकी थिइन्।

शृजनाहरू[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

वि सं १८८८ चैत १६ गते बिफरका कारण उनको मृत्यु भएको थियो ।

श्रोत[सम्पादन गर्ने]

अन्य जानकारीको लागि[सम्पादन गर्ने]

  • नरेन्द्रराज प्रसाईं, प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी, नई प्रकाशन - २०६४
  • बाबुराम आचार्य, अब यस्तो कहिल्यै नहोस्, श्रीकृष्ण आचार्य -२०५८
  • शमशेरबहादुर थापा, रणवीरसिंह थापा, जगदम्बा प्रकाशन -२०३०
  • बाबुराम आचार्य, अब यस्तो कहिल्यै नहोस्, श्रीकृष्ण आचार्य -२०५८
  • सुन्दरानन्द बाँडा, त्रिरत्न सौर्न्दर्य गाथा सं. धनवज्र वज्राचार्य, नेपाल सांस्कृतिक परिषद् -२०१९
  • मोदनाथ प्रश्रित, जनसत्ता -२०६३ माघ २१ गते
  • वाणीविलास पाण्डे, वाग्मतीपुल स्तम्भ अभिलेख -१८६८

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ नारीचुली। नरेन्द्रराज प्रसाईं। २००७। नई प्रकाशन।