शंकर पोखरेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शंकर पोखरेल नेपालको प्रदश नंवर पाँचका प्रथम मुख्य मन्त्री हुन् । दाङ जिल्ला, बिजौरी निवासी ४६ वर्षीय शंकर पोखरेल समानुपातिकतर्फ नेकपा-एमालेका सभासद समेत रहिसकेका छन् । कुनै धर्मविशेषमा नभई धर्मनिरपेक्षतामा विश्‍वास गर्ने पोखरेल २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी २०५६मा पनि सोही क्षेत्रबाट उम्मेदवार थिए । विद्यार्थी आन्दोलनका कारण २०३५ सालदेखि राजनीतिमा संलग्न उनी पहिलोपटक २०३७ सालमा जेल परेका थिए। पटकपटक गरी एक वर्ष जेल जीवन बिताएका पोखरेल एमालेका केन्द्रिय सदस्य तथा पार्टी सचिवालय सदस्य हुन् । उनले अनेरास्ववियु अध्यक्ष (२०४७-५०), पार्टीको राप्ती अञ्चल इन्चार्ज र उपत्यका कमिटी सचिवको जिम्मेदारी समेत निर्वाह गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गरेका सभासद पोखरेलका २ छोरी छन् । अध्ययन तथा लेखनमा उनको रुचि छ। उनका राजनीतिक लेख रचना विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। सबैको सहभागितामा बन्ने अग्रगामी संविधानले नै देशको भविष्य सुनिश्‍चित गर्ने विश्‍वास लिएका पोखरेलले संविधान सभामा राज्यको पुनः संरचना गर्ने र सङ्घीयताको खाका कोर्ने विषयमा आफ्ना प्रयासहरू केन्द्रित गर्ने अठोट गरेका थिए। [१]

राजनितीक पृष्ठभूमी[सम्पादन गर्ने]

दाङ जिल्लाको क्षेत्र नं २ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शंकर पोखरेल नेकपा एमालेका स्थायी समिति सदस्य हुन्। उनले सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका शंकर पोखरेल पार्टीभित्र बौद्धिक नेता भनेर चिनिन्छन् । विक्रम संवत २०१९ सालमा तुलसीपुर उपमहानगर वडा नंवर–१९ हाडिमेमा जन्मिएका शंकर पोखरेल २०५१ सालमा दाङ जिल्लाको क्षेत्र नंवर २ बाट निर्वाचित भई पहिलो पटक प्रतिनिधी सभाका सदस्य बनेका थिए । २०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ जिल्लाको क्षेत्र नंवर ४ बाट कांग्रसका नेता बुद्धिराम भण्डारीले भने उनलाई हराएका थिए । कुनै बेला जननेता स्वर्गिय मदनकुमार भण्डारीसँग निकट रहेर काम गरेका शंकर पोखरेलले अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका शंकर पोखरेलको वैचारिक तथा राजनीतिक क्षमता र संजठनात्मक कार्यकुशलता उदाहरणीय मानिन्छ। उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष समेत हुन्। माओवादी जनयुद्धको हिंसा अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उनले शान्ति पदयात्राको नेतृत्व समेत गरेका थिए। उनले संविधानसभामार्फत राज्यको पुनःसंरचना आवश्यक भन्दै पार्टीमा राज्य पुनःसंरचनासम्बन्धी लिखित दस्तावेजसमेत प्रस्तुत गरेका थिए। [२]

सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]