भद्रपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चन्द्रगढीबाट अनुप्रेषित)
भद्रपुर
चन्द्रगढी
'घडीको दिशामा शीर्षदेखि': भद्रपुर विमानस्थल, मुख्य बजार क्षेत्र, भद्रपुर विद्यालयमा एक समारोह हुँदै र बजार क्षेत्रमा रहेको एक पक्की घर (सबै तस्विर सन् १९६० को दशकमा)
आदर्श वाक्य(हरू): 
पूर्वी क्षेत्रको व्यापारिक द्वार, शान्ति र सम्बृद्धिसहितको भद्रपुर नगर
भद्रपुर is located in कोशी प्रदेश
भद्रपुर
भद्रपुर
नेपालको नक्सामा भद्रपुर नगरपालिकाको अवस्थिति
भद्रपुर is located in नेपाल
भद्रपुर
भद्रपुर
भद्रपुर (नेपाल)
निर्देशाङ्क: २६°३२′४०″N ८८°०५′४०″E / २६.५४४४°N ८८.०९४४°E / 26.5444; 88.0944निर्देशाङ्कहरू: २६°३२′४०″N ८८°०५′४०″E / २६.५४४४°N ८८.०९४४°E / 26.5444; 88.0944
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
नगरपालिकावि.सं. २००८[२]
विस्तार तथा समावेश गाविसहरूमहेशपुरचन्द्रगढी
सम्मिलित (मिति)वि.सं. २०७१ मङ्सिर १६[३]
समावेश गाविसहरूपृथ्वीनगर
सम्मिलित (मिति)वि.सं. २०७३ फागुन २७[४]
सरकार
 • नगरप्रमुखगणेश पोखरेल (नेपाली कांग्रेस)[५]
 • उप मेयरराधा कार्की (राप्रपा)[५]
क्षेत्रफल
 • जम्मा९६.३५ किमी (३७.२० वर्ग माइल)
उच्चतम उचाई
११३ मिटर (३७१ फिट)
न्यूनतम उचाई
६८ मिटर (२२३ फिट)
जनसङ्ख्या
 • जम्मा७०९१३[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी सङ्केत
५७२००
क्षेत्रीय सङ्केत०९१
वेबसाइटbhadrapurmun.gov.np

भद्रपुर वा चन्द्रगढी पूर्वी नेपालको कोशी प्रदेशमा पर्ने झापा जिल्लाको एक नगरपालिका हो। यो नगरपालिका काठमाडौँ उपत्यकाको काठमाडौँ, ललितपुरभक्तपुर नगरपालिका र पूर्वी नेपालकै विराटनगरपछि वि.सं. २००८ सालमा स्थापना भएको नेपालको पाँचौ पुरानो[६]झापा जिल्लाको पहिलो नगरपालिका हो।[७][८] भारतको बिहारपश्चिम बङ्गालसँग सिमाना साझा गर्ने भद्रपुर तत्कालीन राणा शासनकालमा नै बजारको स्वरूप लिइसकेको थियो।[९] भद्रपुरलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन महेशपुरचन्द्रगढी गाविसलाई समावेश गरेर यो नगरपालिकाको क्षेत्र विस्तार गरेको थियो।[३] नगरपालिका क्षेत्र विस्तारपछि झापा जिल्लाको सदरमुकाम चन्द्रगढी[१०] यसै नगरपालिकाभित्रको एक केन्द्रीय स्थल हो।

यस नगरपालिकाभित्र सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भद्रपुरमा साविकको पृथ्वीनगर गाउँ विकास समितिलाई यसमा गाभिएको थियो।[४] कुल १० वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०७८ सालको जनगणना अनुसार ७०,९१३ रहेको छ।[१] भद्रपुर नगरपालिकाको पूर्वमा भारत, पश्चिममा हल्दीबारी गाउँपालिका, उतरमा मेचीनगर नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका रहेका छन्। यो नगरपालिकामा एउटा विमानस्थल भद्रपुर विमानस्थल रहेको छ जहाँबाट राजधानी काठमाडौंको लागि दैनिक उडानको सुविधा रहेको छ। यसलाई नेपालको चिया सहर पनि भन्ने गरिन्छ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

राणा शासनकालमै तत्कालीन भद्रपुर बजार भारतको बिहार राज्यमा पर्ने गलगलियासँग जोडिएकोले यहाँबाट पश्चिम बङ्गाल र पूर्वी बङ्गाल (वर्तमान बङ्गलादेश)सँग व्यापार गर्न सहज रहेको थियो। विस्तारै भद्रपुरमा चामल मिलहरू खुल्नुका साथै बिँडी, चिया, गार्मेन्ट आदिका कारखानाहरू खुलेका थिए। पञ्चायत कालको मध्यतिर भद्रपुर पूर्वी नेपालको विराटनगरपछि ठूलो व्यापारिक नगर बन्न पुगेको थियो। देशमा प्रजातन्त्रको स्थापना भएपछि यस बजार क्षेत्रलाई तत्कालीन सरकारले वि.सं. २००८ मा चारकिल्ला खोली भद्रपुर नगरपालिका घोषणा गरेको थियो। यो नगरपालिका देशका पुराना नगरपालिकाहरू मध्येको एक हो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते[११] नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि भद्रपुर नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'भद्रपुर नगर पञ्चायत' भएको थियो।[१२][१३]

पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[१४] नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरे पछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले भद्रपुर स्वतः आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो।[१५]

भूगोल[सम्पादन गर्नुहोस्]

यस नगरपालिको पूर्वी सिमाना भारतको बिहार राज्यको किशनगञ्ज जिल्लाको गलगलिया र पश्चिम बङ्गालसँग जोडिएको छ भने यसको पश्चिममा बिर्तामोड नगरपालिकाहल्दीबारी गाउँपालिका, उतरमा मेचीनगर नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका रहेका छन्। भौगोलिक विविधता, जातीय तथा सामाजिक सद्भाव कायम रहेको यस नगरपालिकाभित्र ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरू रहेका छन्। यस नगर क्षेत्रभित्र द्वापर युगकालीन किच्चक वध, ऐतिहासिक चन्द्रगढ र कमलधाप जस्ता सांस्कृतिक धरोहरहरू रहेका छन्।

नगर प्रशासन इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल अधिराज्यको मानचित्रमा वर्तमान कोशी प्रदेश अन्तर्गत तत्कालीन भद्रपुर नगरपालिकाको वि.सं. २००८ सालमा नगरपालिकाको रूपमा स्थापना गरिएको थियो। उक्त समयमा यस नगरपालिकालाई कुल १० वटा वडामा निर्धारण गरिएको थियो। पञ्चायती व्यवस्था कालमा नगर पञ्चायत, प्रजातन्त्रको पुनर्बहाली पश्चात् नगरपालिका बनेको यो नगरलाई सो कालखण्डमा विभिन्न व्यक्तिद्वारा नेतृत्व प्रदान गरिएको थियो। भद्रपुर नगरपालिकाको पहिलो निर्वाचनमा विजयी भएका वडा सदस्यहरूले सत्यनारायण अग्रवाललाई सभापति छानेका थिए। अग्रवालले दुई कार्यकाल अर्थात् वि.सं. २००८ देखि वि.सं. २०१४ सम्म नगरपालिकाको बागडोर सम्हालेका थिए।[१६] त्यसपछि वि.सं. २०१४ सालमा भएको निर्वाचनमा पदमबहादुर गिरी सभापति चयन भएका थिए।[१७] देशमा पञ्चायती व्यवस्था लागु हुनुभन्दा ठिक अगाडि वि.सं. २०१८ सालमा मोहनलाल अग्रवाल सभापति भएर काम गरेका थिए।[१८][१९] वि.सं. २०१९ सालको निर्वाचनमा प्रधानपञ्चमा तुलसीप्रसाद आचार्य निर्वाचित भएका थिए।[२०] त्यस्तै वि.सं. २०२१ सालमा डा. ऋषिकेश उपाध्याय प्रधानपञ्चको जिम्मेवारी निभाएका थिए।[२१] वि.सं. २०२३ मा स्वयम्भूलाल श्रेष्ठ र चेतनाथ शर्मा क्रमशः प्रधानपञ्च र उप-प्रधानपञ्च निर्वाचित भएका थिए। वि.सं. २०२६ सालमा पुनः एक पटक प्रधानपञ्चको जिम्मेवारी डा. ऋषिकेश उपाध्यायले सम्हालेका थिए भने चेतनाथ शर्माले उप–प्रधानपञ्च भएर काम गरेका थिए। वि.सं. २०२९ को माघ र फागुन महिनामा ओमप्रकाश सरावगी निर्विरोध प्रधानपञ्च बनेर उक्त भूमिकामा काम गरेका थिए।[२२] सरावगीमाथि मुद्दा लागिसकेपछि उप–प्रधानपञ्च रहेका रामचन्द्र शर्माले वि.सं. २०२९ को चैत्रदेखि वि.सं. २०३३ सम्म कार्यवाहक प्रधानपञ्च भएर कामकाज चलाएका थिए। वि.सं. २०३४ मा सम्पन्न निर्वाचनमा भक्तिमान देवान र ओमप्रकाश सरावगी क्रमशः प्रधानपञ्च र उप–प्रधानपञ्च भएर पूर्ण कार्यकालको लागि काम गरेका थिए। वि.सं. २०३९ सालमा भएको स्थानीय निर्वाचनमा ओमप्रकाश सरावगी प्रधानपञ्च र गोविन्दचन्द्र क्षेत्री उप–प्रधानपञ्चमा निर्वाचित भएका थिए।[२३] वि.सं. २०४५ देखि वि.सं. २०४७ सालसम्म पुनः ओमप्रकाश सरावगी प्रधानपञ्च र भक्त खवास उप-प्रधानपञ्च भएका थिए।[२४] वि.सं. २०४७ सालको राजनीतिक परिवर्तनपछि वि.सं. २०४९ सालको स्थानीय निर्वाचनमा एमालेका पुष्पराज पोखरेल नगर प्रमुख पदमा र सद्भावना पार्टीबाट भारतेन्दुकुमार मल्लिक उप नगर प्रमुख पदमा विजयी भएका थिए।[२५][२६]

वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा सद्भावना पार्टीका भारतेन्दुकमार मल्लिक र एमालेका जीवनकुमार श्रेष्ठ क्रमशः नगर प्रमुख र नगर उप प्रमुख पदमा विजयी भएका थिए।[२७] शाही शासनकालमा पूर्व राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६२ सालमा गराएको स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र भएर चुनावमा होमिएका भारतेन्दुकमार मल्लिक नगर प्रमुख र गोपाल धमला नगर उपप्रमुख पदमा विजयी भएका थिए। यी दुवै निर्वाचित जनप्रतिनिधिले छोटो समयको लागि मात्र नगर चलाउन पाएका थिए।

देशमा सङ्घीयता लागू भएपछि सम्पन्न वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टीका जीवनकुमार श्रेष्ठ र उप नगरप्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टीकी चन्द्रामाया श्रेष्ठ विजयी भएका थिए[२८] भने वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार नगरपालिकाको नगर प्रमुख पदमा इतिहासमा पहिलो पटक नेपाली कांग्रेसका गणेश पोखरेल र उप नगर प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी भएका थिए।[२९][३०]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

वि.सं. २०७१ सालमा झापा जिल्लाका साविक महेशपुरचन्द्रगढी गाउँ विकास समितिहरू तथा वि.सं. २०७३ सालमा पृथ्वीनगर गाउँ विकास समितिलाई यस नगरपालिका सम्मिलित गरी यसको क्षेत्र विस्तार गरिएको थियो। यसैको फलस्वरूप नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भद्रपुर नगरपालिकाको जनसङ्ख्या ६५,५३३[३१] रहेको थियो[३२] भने राष्ट्रिय जनगणना २०७८ अनुसार यो नगरपालिकाको जनसङ्ख्या ७०,९१३[१] रहेको छ र यहाँको जनघनत्व ७३६ प्रति वर्ग किलोमिटर रहेको छ।[१]

यातायात[सम्पादन गर्नुहोस्]

भद्रपुर नगरमा स्थानीय यातायात बस वा निजी सवारी साधनबाट चल्ने गरेको छ। बसहरू सहरको केन्द्र वरपरको गोलाकार सडकमा बारम्बार गुड्छन्। नेपालका अन्य विकासशील सहरहरू जस्तै भद्रपुर पनि वरपरका नयाँ बासस्थानका साथ विस्तार हुँदै गएको छ। यी क्षेत्रहरूमा यातायात सेवा पनि द्रुत रूपमा विस्तार भइरहेको छ। स्थानीयहरू सामान्यतया पैदल हिड्ने गर्छन्। नेपालका अन्य सहरमा जस्तै अटो रिक्सा पनि यहाँ सामान्य रहेको छ।

सडक[सम्पादन गर्नुहोस्]

पूर्वपश्चिम राजमार्गमा पर्ने बिर्तामोडबाट भद्रपुर सडक सञ्जालबाट जोडिएको छ।[३३] चार लेनको प्रस्तावित सडकको वि.सं. २०७९ सालको अन्त्यसम्म पूर्ण काम सकिएको छैन।[३४] पूर्वाञ्चल संयुक्त यातायात र अन्य निजी बस एजेन्सीहरूले उपत्यका र पूर्वी नेपालका विभिन्न क्षेत्र वरपर व्यापक यातायात सेवा प्रदान गर्दछ। सडक यातायात मार्फत यो सहर नेपालका अन्य प्रमुख सहरहरूसँग जोडिएको छ।[३५] यो सहरमा हालसम्म सरकारी सवारी साधनहरू उपलब्ध छैनन्।

हवाई[सम्पादन गर्नुहोस्]

भद्रपुर विमानस्थल जसलाई चन्द्रगढी विमानस्थल[३६] भन्ने गरिन्छ भद्रपुर नगरपालिकाको वडा नं. ८ मा रहेको छ।[३७][३८] यो विमानस्थल चन्द्रगढीमा अवस्थित छ।[३९] विमानस्थलबाट काठमाडौँको लागि दैनिक उडान हुने गरेको छ।[४०] पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपछि त्यहाँबाट भद्रपुरको लागि बुद्ध एयरले सीधा उडान आरम्भ गरेको थियो तर हाल उक्त सेवा प्रभावित भइसकेको छ।[४१] यो विमानस्थलबाट भारतको बागडोगरा विमानस्थल मात्र ४० किलोमिटर टाढा रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "नेपालको जनगणना २०७८" (PDF), राष्ट्रिय तथ्याङ्क विभाग, नेपाल, अन्तिम पहुँच वि.सं. २०७९ चैत १७ 
  2. नेपाल, उत्तम, "नेपालकै दोस्रो भद्रपुर नगरपालिका पुनः उदाउने प्रयासमा", न्युज अफ नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०४ 
  3. ३.० ३.१ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पुस २८, अन्तिम पहुँच वि.सं. २०७९ चैत्र २१ 
  4. ४.० ४.१ "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फागुन २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  5. ५.० ५.१ "भद्रपुर नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०३ 
  6. "ओझेलमा पुराना सहर", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०४ 
  7. दर्पण छपाइ.pdf "नगर दर्पण" (PDF), भद्रपुर नगरपालिका, अन्तिम पहुँच वि.सं. २०७९ चैत २१ [dead link]
  8. "भद्रपुर नगर परिचय", भद्रपुर नगरपालिका आधिकारिक वेबसाइट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०४ 
  9. मैनाली, सुजित (२०१९-१२-०९), "६६ वर्षे आन्दोलनले जन्माएको मेची पुलको कथा", साउथ एसिया चेक (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०४ 
  10. "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  11. "पञ्‍चायतले छोडेको लिगेसी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  12. सामाजिक शिक्षा पञ्चायत, कक्षा ८ (pdf) (नेपालीमा), जनक शिक्षा सामग्री केन्द्र, पृ: १५, अन्तिम पहुँच २०२२-०२-१० 
  13. प्रधान, पुष्कर (२००३), Manual for Urban Rural Linkage and Rural Development Analysis [शहरी ग्रामीण अन्तरसम्बन्ध र ग्रामीण विकास विश्लेषणको लागि पुस्तिका] (अङ्ग्रेजीमा), न्यु हिरा बुक इन्टरप्राइजेज, पृ: २२२, आइएसबिएन 978-99933-685-2-6 
  14. "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १० 
  15. "ईलाम समेतका क्षेत्रलाई नगर क्षेत्र घोषणा गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ ३०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १० 
  16. मण्डल, पार्थ, "भद्रपुर नगरपालिका : सात दशकको इतिहासमा को-को भए नगर प्रमुख ?", टाइम्स अफ प्रदेश (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  17. खनाल, राधा, "कांग्रेस–कम्युनिस्ट गठबन्धन भएको त्यो चुनाव", अन्नपूर्ण पोस्ट (Nepaliमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  18. गडतौला, गोपाल, "मेचीपुल बन्यो तर फर्किएन दरबार पसेको जनताको २३ लाख", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  19. लम्साल, गणेश, "​जसले पूर्वबाट देश हल्लाए", जन आस्था (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  20. नेपाल, उत्तम, "७० वर्ष पुरानो पुस्तकालय बन्द, भद्रपुर नगरपालिका बेखबर", ब्लास्ट खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  21. पोर्तेल, पर्वत, "'निर्भीक' पत्रकार - कान्तिपुर समाचार", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  22. ढुङ्गाना, राजेश (२०२३-०३-२८), "समाजसेवामा सक्रिय ओमप्रकाश सरावगी", पूर्वाञ्चल दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  23. "पहिलो बैठकका नायक सरावगी", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  24. मण्डल, पार्थ, "मेची पुलमाथिबाट गाडी पनि चल्छ, व्यापारिक कारोबार पनि फस्टाउँछ : प्रधानमन्त्री", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  25. "झापा २ (१)बाट प्रदेशसभा सदस्यको उम्मेदवार पुष्पराज पोखरेल", प्रतिदिन डेली (नेपालीमा), २०२२-१०-०८, अन्तिम पहुँच २०२३-०४-०५ 
  26. "शालिन र बेदाग ब्यक्तित्वका रुपमा परिचित नेता पुष्पराज पोखरेल", शब्दपत्र (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  27. "भद्रपुरका पूर्व मेयर भारतेन्दु मल्लिक कांग्रेस", खबर समाचार (नेपालीमा), २०२२-१०-१९, अन्तिम पहुँच २०२३-०४-०५ 
  28. "झापाको भद्रपुरमा एमालेका जीवन श्रेष्ठ विजयी, उपमेयर एमालेकै चन्द्रा श्रेष्ठ", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ [dead link]
  29. घिमिरे, चिरञ्जीवी, "भद्रपुर नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपा विजयी", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  30. श्रेष्ठ, विगम (२०२२-०५-२०), "भद्रपुरको मत परिणाम मिश्रित ˸ भद्रपुरमा काँग्रेसबाट पहिलो नगर प्रमुख बने पोखरेल » नयाँ सन्दर्भ", नयाँ सन्दर्भ (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  31. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  32. थापा, सूर्य (वि.सं. २०७१ माघ १), "सात प्रदेशको राज्य पुन: संरचना प्रस्ताव", अनलाइनखबर, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १ 
  33. दाहाल, चिन्तामणि (२०२०-११-२५), "भद्रपुरमाथि अन्यायका छ दशक", पूर्वाञ्चल डेली (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  34. चम्लागाईँ, मनिषा, "अस्ताउँदै झापाभित्रको ‘झापा’", कारोबार डेली (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  35. "काठमाडौँबाट पूर्वी क्षेत्रमा सञ्चालन हुने यातायात एउटै व्यवस्थापनमा", खबर हब (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  36. "चन्द्रगढी विमानस्थल" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  37. "नेपाली उडानको गर्विलो इतिहास", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  38. "भद्रपुर विमानस्थलमा स्तर वृद्धिपछि दैनिक आठ वटासम्म जहाजले उडान भर्दै", गाउँ संसार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  39. "दमकल छैन भद्रपुर विमानस्थलमा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  40. "नियमित रात्रिकालीन उडान : हवाई सञ्जालमा जोडिए पोखरा-भद्रपुर", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  41. गौतम, बिमल, "पोखरा-भद्रपुर उडान चार दिनमै स्थगित", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]