शनि ग्रह (ज्योतिषशास्त्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शनि
संबद्धग्रह
ग्रहशनि ग्रह
मन्त्रOm Sham Shanaishcharaye Namah
दिनशनि बार
पत्नीNīladēvī
बहानगिद्द / काग

शनि (संस्कृत: शनि वा शनिश्चर, कन्नड: ಶನಿ Śani, तमिल: சனி, Caṉi, तेलगु: శని) ज्योतिषशास्त्र अशुभ ग्रह वा दुखको कारण मानिन्छ ।

आधुनिक दृष्टिकोणमा शनि ग्रह[सम्पादन गर्नुहोस्]

शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।

शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्‌ने हो भने पोखरीमा शनि तैरने छ।

शनिका धेरै उपग्रह छन्। ३० वटा उपग्रह हरूको नामाकरण गरीएको छ । बाँकीका उपग्रहका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका उपग्रह टाइटन, रिया, , डायोनी, टिथिस, एन्सेलडस, माइमस, हाइपेरियन, फिबीज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो उपग्रह हो। डिसेम्बर २००४ र जनवरी २००५मा शनिका नजीकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।

पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चर ग्रह(Saturn on Eastern Astrology)[सम्पादन गर्नुहोस्]

शनि ग्रह

पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ।ज्योतिषशास्त्रमा अरुणात्मज, अर्कज, असित, आदित्यसूनु, काल, नीलवसन, मन्दग, शनि, शनि ग्रह, शनिश्चर, शनैश्चर, सौरि, सूर्यपुत्र, छायासुत र मन्द नामबाट यसको वर्णन गरिएको पाइन्छ। शनिद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र अर्थात् कर्मजीवन सञ्चालित भएको मानिन्छ। कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ। त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ। त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ। वैज्ञानिक दृष्टिकोणमा खगोलशास्त्रअनुसार शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले १० किलोमिटर प्रति सेकेण्डको औसत गतिले सूर्यको परिक्रमा गर्दछ। सूर्यको यसको परिक्रमावृत्तको परिधि साढे एक अरब किलोमिटर छ, जुन दूरीलाई यसले करिब २९ वर्षमा पूरा गर्दछ। यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी छ। सौर्यमण्डलका ग्रहहरूमध्ये आकारमा बृहस्पति ग्रह मात्र यसभन्दा ठूलो छ, आफ्नो अक्षमा यस ग्रहले प्रत्येक नौ घण्टामा एकपटक यो ग्रहले परिक्रमा गर्दछ। पौराणिक मान्यताअनुसार शनि ग्रहको शिरमा स्वर्णमुकुट, घाँटीमा माला र शरीरमा नीलो रङ्गको वस्त्र धारण गरिएको हुन्छ एवं यिनको शरीर पनि इन्द्रनीलमणि समान नीलो छ। यिनको वाहन गिद्ध हो र यिनले हातमा धनुष, बाण, त्रिशूल लिएका हुन्छन्। शनिको दृष्टिलाई खराब हुन्छ भनिएको छ, देवीदेवताहरूको त के कुरा भयो र यिनका कारणले शिवजीले समेत साँढे बनेर जङ्गलजङ्गलमा भौंतारिनु परेको प्रसङ्ग पनि सुन्न पाइन्छ। रावणजस्तो शक्ति र सामर्थ्ययुक्त राजाले पनि शनिश्चरकै प्रभावकालमा मृत्युवरण गर्नु परेको प्रसङ्ग पनि यिनको महत्त्व बताउने क्रममा उल्लेख गरिन्छ। शनि भगवान् सूर्यका पुत्र हुन्, यमराज(काल) यिनका भाइ हुन् भने यमुनालाई यिनकी बहिनीका रूपमा लिइन्छ।

पुराणमा शनि ग्रहका बारेमा प्रशस्त कथाहरू प्राप्त हुन्छन्। ब्रह्मपुराणका अनुसार पिता सूर्यले यिनको विवाह चित्ररथ गन्धर्वकी छोरीसँग गरिदिए। यिनकी पत्नी परम तेजस्वी थिइन्। कुनै एकदिनको रात्रीकालमा उनी ऋतुदानको कामना गर्दै शनिसमीपमा पुगिन्, तर त्य्ससमयमा यिनी भगवान् श्रीकृष्णको आराधनामा ध्यानमग्न थिए। कामतुर पत्नीले धेरैबेर प्रतीक्षा गर्नुपर्यो र उनको ऋतुकाल निष्फल हुनपुग्यो। त्यसैले उनकी कामक्रुद्धा पत्नीले यिनलाई आफुतर्फ फर्कँदै नफर्की ध्यानमा एकोहोरिएको देखेर श्राप दिइन्- आजबाट तिमीले जसलाई हेर्नेछौ, तिम्रो दृष्टि पर्नासाथ त्यसको नाश हुनेछ। झ्वाँकमा आफ्ना पतिलाई उनले सराप्न त सरापिन् तर पछि आफुले गरेको गल्तीमा उनलाई पछुतो भयो। पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य र शक्ति शनिदेवमा थिएन, त्यसैले त्यसपछि भरिशक्य आफ्नो दृष्टि कसैमा नपरोस् भनेर उनी टाउको निहुर्याएर बस्नथाले। उनी आफ्नो कारणले कसैलाई पनि अनिष्ट नहोस् भन्ने चाहन्थे।[१]

शनि र राहु/केतु (Shani and Rahu/Ketu)[सम्पादन गर्नुहोस्]

शनि देव एक मन्दिरमा, कोलकाता, पश्चिम बंगाल, भारत

राहु र केतु एउटै शरीरका दुईभाग हुन् र यी दुबैलाई भिन्नाभिन्नै छाया ग्रह मान्ने गरिन्छ। राहु र केतु यी दुबैलाई अशुभ फलदायक ग्रहका रूपमा पनि लिइन्छ र शनि ग्रहजस्तै कष्टकारी र अशुभ फलप्रदाता मानिन्छ। जब शनिको युति वा दृष्टिसम्बन्ध यी ग्रहसँग हुन्छ, त्यस्तो अवस्थामा शनि ग्रह सामान्यभन्दा अझ कडा, क्रूर र दुष्प्रभावी ग्रहका रूपमा देखा पर्दछन्। जन्मकुण्डली वा गोचरकुण्डलीमा राहु र शनिका माझमा सम्बन्ध स्थापित हुने परिस्थितिमा त्यसको प्रभावले जातकको स्वास्थ्यमा अशुभ प्रभाव पर्दछ। शनिको सम्बन्ध कम्मरमुनिको खुट्टाको क्षेत्रमा र हड्डीमा हुन्छ, राहुले पेट र पाचनप्रणालीमा आफ्नो प्रभाव देखाउँछ भने केतुले जोर्नी र रक्तसञ्चार(स्नायुप्रणाली)मा आफ्नो अधिकार क्षेत्र मान्दछ। त्यसैले शनि र राहुको एउटई राशीमा उपस्थिति हुँदा मनुष्यमा तिनको लग्नकुण्डलीको प्रभावबमोजिम यी क्षेत्रसँग सम्बद्ध रोगले असाध्यै सताउँछ। जन्मकुण्डलीमा अन्य शुभ योगको अभाव हुँदा धेरैको मृत्युको सिकार पनि हुनु पर्ने हुन्छ। राज्यमा शनिको सम्बन्ध श्रमिक, मजदूर, किसान र निमुखा जनतासँग हुने गर्दछ। शनि र राहुको सामिप्य बढ्दै जाँदा यी वर्ग आन्दोलित भई शासकहरूलाई सम्हाल्न गाह्रो पनि हुन्छ। यस्तो संयोग प्राप्त हुँदा जनविरोधी र तानाशाह शासकहरूले सत्ता छाडी रातारात भाग्नु पर्ने स्थिति पनि आउँछ। सामान्यतया व्यक्तिको कुण्डलीमा लग्नदेखि सातौँ भावका बीचमा शनि र राहुको युति भएको अवस्थामा उसले कम्मरभन्दा मुनिको भागमा पीडा व्यहोर्नु पर्ने हुन्छ भने सातौँदेखि बाह्रौँभावमा युतिहुँदा शरीर उपल्लोभागमा प्रभाव देखिने छ। आर्थिक क्रियाकलापमा पनि कुण्डलीको अवस्थाबमोजिम असर पर्छ। यी दुबै ग्रह व्यक्तिको लग्न, सप्तम, दशम र एकादश भावमा रहँद यस्त व्यक्तिले मानसिक समस्या, सुस्त मनस्थिति, अपाङ्गता आदि व्यहोर्नु पर्दछ। कुण्डलीको योग गोचरमा समेत दोहोरिएको समयावधिमा यस्ता जातकमा नैराश्यता, नकात्मकता आदि देखिनुका साथै मृत्युसमेत हुन्छ वा मृत्युतुल्य कष्ट व्यहोर्नु पर्ने हुन्छ। शरीरमा हड्डीको, धातुमा फलामको र प्रविधिमा यन्त्रको अधिपति शनिलाई मान्ने गरिन्छ। जब वर्तमान पात्रोमा शनि र राहुको उपस्थिति एउटै राशीमा हुनेछ त्यस समयमा शनि र राहुको युतिका कारणले मोटर र जहाज दुर्घटनाको भय अत्यधिक हुन्छ। धेरै मानिस चोटपटक र हाडजोर्नीको समस्याबाट ग्रस्त हुने गर्छन्। अस्पतालहरूमा हाडजोर्नी विभागलाई सेवा पुर्याउन धौधौ हुने गर्दछ।

राहु र केतु यी दुबै ग्रहलाई एउटै ग्रह मानिन्छ। आकशमण्डलमा यी दुबै ग्रहको स्वतन्त्र भौतिक अस्तित्व छैन। सूर्य, चन्द्रमा र पृथ्वीका माझ उत्पन्न हुने दुईवटा छायालाई राहु र केतु भनिन्छ। फल र जीवनमा पर्ने कार्यका आधारमा शनि ग्रहले शुक्र र बुध् ग्रहको सहयोगमा एउटा मण्डलीको नेतृत्व गर्दछन् भने सूर्यले चन्द्रमा, मङ्गल र बृहस्पतिको सहयोगमा अर्को मण्डलीको नेतृत्व गर्दछन्। यी दुबै मण्डलीका माझमा रस्साकस्सी चलिरहन्छ, जसको प्रत्यक्ष प्रभाव मनुष्य र अन्य प्राणीको जीवनमा पर्ने कुरामा ज्योतिषशास्त्रीहरूको मतैक्य छ। यस प्रसङ्गमा राहु ग्रहको सम्बन्ध शनिको मण्डलीमा हुन्छ भने केतुको सम्बन्ध सूर्यको समूहसँग हुन्छ। त्यसैले शनिका धेरैजसो स्वभावहरू राहु ग्रहसँग मिल्दाजुल्दा हुन्छन् भन्ने ज्योतिषीहरूको विश्वास छ। ज्योतिषशास्त्रमा शनि र राहुलाई समान विचार र गुण भएका ग्रह भन्नुको तात्पर्य पनि यही हो। सामान्यतया यी दुबै ग्रहलाई दु:ख र कष्टको कारक मानिन्छ। यद्यपि यी दुबै ग्रह कुनै जातकको कुण्डलीमा बलवान हुँदा राजयोगसमान फल प्रदान गर्ने सामर्थ्य पनि यिनमा हुन्छ (Strong Rahu or Saturn give results of a Raja yoga)। राहु र केतुमा कुनै पक्षमा समानता पाइन्छ भने कुनै पक्षमा यी दुबै विपरीत ध्रुवमा पनि रहन्छन्, जस्तै यौनका मामिलामा राहुले जातकलाई उत्तेजक बनाउने काम गर्दछ भने शनि निस्क्रिय रहन्छ, यी दुबै ग्रहका समान र असमान पक्षलाई निम्नानुसार केलाउन सकिन्छ-

शनि र राहुको सम्बन्ध (Astrological Relationship between Rahu and Saturn)[सम्पादन गर्नुहोस्]

शनि र राहुमा समानता (Similarities between Saturn and Rahu)[सम्पादन गर्नुहोस्]

१) शनि र राहु दुबै ग्रहलाई कार्मिक ग्रह मानिन्छ (Saturn and Rahu give results according to the Karma)। कार्मिक शब्दको अर्थ हो कर्म-अनुरूप फल प्रदान गर्ने। नौवटै ग्रहमा शनिलाई दण्डनायक मान्ने गरिन्छ। त्यसैले यस ग्रहको पूर्वजन्म र वर्तमान जन्ममा आर्जित गरेको कर्ममुताबिक सजाय र पुरस्कार शनिको महादशाकालमा प्राप्त हुने विश्वास ज्योतिषशास्त्रीहरूको छ। राहुले पनि शनि जसरी नै सञ्चित कर्मअनुसारको राम्रो वा नराम्रो फल दिने काम गर्दछ।

२) शनि र राहु दुबै ग्रहले दु:ख, कष्ट, रोग र आर्थिक कठिनाइ सिर्जना गर्दछन्। तर जन्मपत्रिकामा यी दुबै ग्रह शुभ अवस्थितिमा भएमा यी दुई ग्रहले प्रदान गरेको फलसँग ठूलोभन्दा ठूलो राजयोगको फलको समेत तुलना गर्न सकिंदैन। यी दुबै ग्रहले जातकलाई प्रखर बुद्धि, चतुर्याइँ, प्राविधिक शीप र योग्यता प्रदान गरेर धन र वैभवले परिपूर्ण बनाइदिन्छ। उच्चपद, मानसम्मान र प्रतिष्ठा प्रदान गर्ने कारकत्व पनि यी दुबै ग्रहमा विद्यमान छ।

शनि र राहुमा भिन्नता (Differences between the nature of Saturn and Rahu)[सम्पादन गर्नुहोस्]

शनि र राहुका माझमा केही समानता देखिए पनि कुनैकुनै विषयमा यी असमान पनि छन्।

१) शनिको भौतिक अस्तित्व छ अर्थात् यो सौर्यपरिवारको सदस्य पिण्डका रूपमा आकाशगङ्गामा उपस्थित छ जबकि राहु एउटा काल्पनिक र आभाषीय बिन्दु मात्र हो, यसको कुनै भौतिक अस्तित्व छैन। २) राशिचक्रका बाह्रवटा घरमध्ये मकर र कुम्भ यी दुईवटा राशिको स्वामित्व शनि ग्रहले प्राप्त गरेको छ, तर राहु ग्रहको आफ्नो राशी छैन, यद्यपि राहु ग्रह व्यक्तिको कुण्डलीमा जुन राशीमा अवस्थित हुन्छ त्यही घरलाई आफ्नो अधिकार क्षेत्र मान्दछ।

३) शनि ग्रहको गति मन्द(ढिलो) छ, त्यसैले शनि ग्रहले प्रदान गर्ने वास्तविक फल जीवनको उत्तरार्द्धमा (सामन्यतया ३६ वर्षपछि) त्यो पनि धिमा गतिमा प्राप्त हुन्छ जबकि राहु ग्रहको व्यक्तिको जीवनमा किशोरवय (चञ्चले उमेर)देखि नै प्राप्त हुनथाल्छ। यसले शीघ्र फल प्रदान गर्दछ भने तुरुन्त हरण पनि गरिहाल्छ (Rahu gives quick results while Saturn gives delared results)। यसले एकै पलमा मानिसलाई रोडपतिबाट करोडपति बनाइदिन्छ भने कत्ति मान्छेलाई यसले करोडपतिको स्थितिबाट सडकमा ल्याएर उभ्याएको प्रसङ्ग पनि सुन्न पाइन्छ।

४) जसको कुण्डलीमा शनिश्चर ग्रह प्रभावशाली हुन्छ त्यसलाई शनिश्चरले इमानदारी र परिश्रम गर्दै जीवनका गोरेटाहरू पहिल्याउने प्रेरणा प्रदान गर्दछन् भने राहु ग्रहले चतुर्याइँ, धूर्तता र सजिला बाटाबाट धन कमाउन उक्साउने गर्दछ।

शनि ग्रहलाई शान्त तुल्याउने शास्त्रीय उपायहरू[सम्पादन गर्नुहोस्]

सामान्यतया यस दोषको निवारण निम्नानुसार गर्न सकिन्छ-

१) दैनिक रूपमा आफ्ना नित्यकर्मबाट निवृत्त भई मानसिक र शारीरिक रूपमा शुद्ध भई शुद्धवस्त्र धारण गरी शुद्धासनमा बसी भक्तिपूर्वक निम्न श्लोकको २३ पटक पाठ गर्ने -

नमस्ते कोणसंस्थाय पिङ्गलाय नमोस्तुते। नमस्ते विभुरूपाय कृष्णाय च नमोस्तुते॥

नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च। नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो॥

नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तुते। प्रसादं कुरु देवेश दीनस्य प्रणतस्य च॥

शनैश्चर नमस्तुभ्यं नमस्तेत्वथ राहवे। केतवेथ नमस्तुभ्यं सर्वशान्ति प्रदो भव।।

ॐ ऊर्ध्वकायं महाघोरं चण्डादित्यविमर्दनम्। सिहिंकाया: सुतं रौद्रं तं राहुं प्रणमाम्यहम्।

ॐ पातालधूमसङ्काशं ताराग्रहविमर्दनम्। रौद्रं रौद्रात्मकं क्रूरं तं केतुं प्रणमाम्यहम्।।

२) पितृदोषको विवेचना गर्ने क्रममा ज्योतिषशास्त्रमा मतैक्य नरहे पनि मनुष्यको जन्मकुण्डलीमा राहु वा केतु सूर्य, शनि र बृहस्पतिमध्ये कुनै ग्रहसँग एउटै राशीमा उपस्थित रहँदा त्यसलाई पितृदोष नै माने चलन छ। पितृदोषको प्रभावले परिवारका सदस्यहरू माझमा अन्तर्कलह, आर्थिक कष्ट, मतभेद, पितापुत्रमा मनोमालिन्य र उन्नतिमा अवरोध जस्ता कष्टहरू खेप्नु पर्दछ। त्यसैले व्यक्तिले शनि र राहुको संयोगले हुने यस अनिष्ट दोषको निवारण गर्नु आवश्यक हुन्छ। अमावस्या(औंसी) तिथिका स्वामी पितृदेवतालाई मान्ने गरिन्छ। यस दिन पितृलाई सम्झने दिन पनि हो। धार्मिक र सांस्कृतिक दृष्टिले यस तिथिलाई पितृदोष निवारण गर्ने विशेष दिनका रूपमा लिइन्छ। अमावस्या (औंसी) तिथिमा तीर्थस्नान गर्नु पर्छ। श्राद्धाधिकार भएमा तीर्थश्राद्धसमेत गर्नुपर्छ र त्यसपछि नदी, सरोवर वा पानीको स्रोत नजिकै बालुवा, माटो वा धातुको शनि, राहु र केतुको प्रतिमा बनाई ती प्रतिमालाई कालो कपडा, काला रङका पूजनसामग्री(चन्दनाक्षतादि) र कालो कमलको फूल वा कुनै फूल चढाएर श्रमिक, मजदूर, माग्ने(भिखारी वा याचक) वा गरीवगुरुबा (सकिन्छ भने २३ को सङ्ख्यामा)लाई आफ्नो गच्छेअनुसार भोजन, वस्त्र, आभूषण, दक्षिणा आदि बाँड्नु पर्दछ। त्यसरी मूर्तिको स्थापना गर्दा मध्यभागमा शनिलाई र शनिको दायाँतर्फ राहु तथा शनिको बायाँतर्फ केतुको प्रतिमा स्थापना गर्नुपर्दछ।

माथिका उपायमध्ये कुनै एउटा उपायको अवलम्बन गरेमा शनि ग्रहको पीडाबाट मुक्तिहुने कुरा ज्योतिशविदहरू बताउँदछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ज्यो. पं. कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, सुनसरी तथा निर्देशक, लोटस ज्योतिष तथा वास्तु परामर्श केन्द्र, इटहरी, सुनसरी

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]