कालाराम मन्दिर सत्याग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

कालाराम मन्दिर सत्याग्रह (मराठी: काळाराम मंदिर सत्याग्रह) महाराष्ट्रको नासिकमा अवस्थित कालाराम मन्दिरमा प्रवेश गर्ने माग गर्दै अछुत वर्गद्वारा बाबासाहेब आम्बेडकरको नेतृत्त्वमा २ मार्च १९३० देखि आयोजित सत्याग्रह थियो ।[१][२] ५ वर्ष ११ महिना एवम् ७ दिन चलेको यस सत्याग्रहमा महार, माङ्गचमार जातका हजारौँ पुरुष र महिलाले भाग लिएका थिए ।[३] यस सत्याग्रह र सङ्घर्षमा ईश्वर सबैका हुन् भने मन्दिरमा किन सबैलाई प्रवेश गर्न दिइँदैन भन्ने प्रश्न उठाइएको थियो । यस आन्दोलनमा बाबासाहेब आम्बेडकरको साथमा दादासाहेब गायकवाड, सहस्रबुद्धे, देवराव नाईक, डी. भी. प्रधान, बालासाहेब खरे र स्वामी आनन्द पनि सहभागी भएका थिए ।

"हिन्दु, मैले भन्न लागेका कुराहरूमा विचार पुर्याउनुहोला । के मन्दिरमा प्रवेश सुनिश्चित गर्नु हिन्दु समाजमा दलित समुदायको सामाजिक स्तरोन्नतिको अन्तिम उद्देश्य हो ? कि यो उनीहरूको उत्थानको दिशामा पहिलो चाल हो ? यदि यो पहिलो चाल हो भने अन्तिम लक्ष्य के हो ? यदि मन्दिर प्रवेश अन्तिम लक्ष्य हो भने दलित वर्गका जनताले उक्त तर्कको कहिल्यै समर्थन गर्ने छैनन् । दलितहरूको अन्तिम लक्ष्य हो सत्तामा सहभागिता ।"

— बाबासाहेब आम्बेडकर[४]

यस सत्याग्रहमा सहभागी हुन सम्पूर्ण नासिकबाट धेरै जना नासिक पुगेका थिए । २ मार्च १९३० मा बाबासाहेब आम्बेडकरलाई अध्यक्षको पदमा राखेर एउटा सभाको आयोजना भएको थियो जसमा मन्दिर प्रवेश आन्दोलन कुन प्रकारले गर्ने भन्नेबारे छलफल गरिएको थियो । अन्ततः अहिंसाको मार्गमा लागी सत्याग्रह गर्ने निर्णय गरिएको थियो । अर्को दिन, ३ मार्च १९३० मा सत्याग्रही गणलाई चार भागमा विभाजन गरिएको थियो । प्रत्येक समूहलाई मन्दिरको एक प्रवेशद्वारको अगाडि बस्ने आदेश दिइएको थियो । प्रहरी गण र मन्दिरका पुजारीले भने सत्याग्रही गणको मागलाई अस्वीकार गरी मन्दिरको ढोका बन्द गरेका थिए । प्रहरी गणले मन्दिरमा अछुत वर्गले प्रवेश नगरुन् भन्ने उद्देश्यले मन्दिरको परिसर र प्रवेशद्वारमा कडा सुरक्षाको व्यवस्था गरेका थिए । सहरका सुवर्ण हिन्दु वर्गले सत्याग्रही गण माथि ढुङ्गा र लट्ठीले प्रहार गरेका थिए । सङ्ख्याको हिसाबले सत्याग्रही गण सुवर्ण गणको तुलनामा दोब्बर भएपनि उनीहरूले अहिंसाको मार्गमा चले । छ वर्ष सम्म यो सत्याग्रह चलेपनि कालाराम मन्दिरमा दलित वर्गलाई प्रवेश गर्न दिइएन । हिन्दु धर्मको अपरिवर्तनीयता देखेर बाबासाहेब आम्बेडकरले अन्ततः हिन्दु धर्मको परित्याग गर्ने घोषणा गरेका थिए ।[५]

थप लेख[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. रामचन्द्र क्षीरसागर (१ जनवरी १९९४), Dalit Movement in India and Its Leaders, 1857-1956 (अङ्ग्रेजीमा), एम. डी. प्रकाशन, पृ: १२३, आइएसबिएन 978-81-85880-43-3 
  2. के. एन. जाधव (१ जनवरी २००५), Dr. Ambedkar and the Significance of His Movement (अङ्ग्रेजीमा), पप्युलर प्रकाशन, पृ: ९३, आइएसबिएन 978-81-7154-329-8 
  3. कीर, धनन्जय (सन् १९९०), Dr. Ambedkar: Life and Mission (तेस्रो संस्करण), मुम्बई: पप्युलर प्रकाशन, पृ: १३६–१४०, आइएसबिएन 8171542379 
  4. "रामकुंडात उडी घेणारा म्हणाला होता, 'माझे जामीनदार डॉ. बाबासाहेब आंबेडकर इंग्लंडमध्ये आहेत'", दिव्यमराठी, २ मार्च २०१५, मूलबाट १४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मे २०१९ 
  5. "काळाराम सत्याग्रह आणि डॉ. आंबेडकर", महाराष्ट्र टाइम्स, १४ अप्रिल २०१८, मूलबाट २० मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मे २०१९