आम्बेडकरवादी आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

आम्बेडकरवादी आन्दोलन वा आम्बेडकरी आन्दोलन (अङ्ग्रेजी: Ambedkarite movement, मराठी: आंबेडकरी चळवळ) बाबासाहेब आम्बेडकरद्वारा आम्बेडकरवादको सिद्धान्तमा आधारित भई जाति प्रथाको निर्मूलन गर्ने उद्देश्यले सुरु गरेको आन्दोलन हो । यस आन्दोलनले सामाजिक बदलाव, परिवर्तन र क्रान्तिको कुनै एक सिद्धान्तको प्रतिनिधित्व गर्नुको साटो समग्र संस्कृतिक, राजनीतिक, आर्थिक तथा बौद्धिक परिवर्तनको प्रतिनिधित्व गरेको थियो ।[१]

इतिहास[सम्पादन गर्ने]

सन् १८९८ मा मराठा समराज्यको पेशवाको शासनको अन्त्य भई ब्रिटिस राजको सुरुवात भएको थियो । यसले गर्दा ब्राह्मण समुदायले भारतमा सत्ता हासिल गरे जसकारण शास्त्र, वेदपुराणलाई विशेष महत्त्व दिइन थालियो । सन् १९१३ मा ब्रिटिस शासकले भारतमा बालबालिकालाई शिक्षा प्रदान गर्न विभिन्न शिक्षण संस्थानको स्थापना गर्न थाले जसलाई ब्राह्मण समुदायले विरोध गरेका थिए । समय बित्दै जाँदा हिन्दु समाजले आफ्ना बालबालिका तथा विभिन्न जातका मानिसलाई शिक्षा प्रदान गर्नुको महत्त्वको आभास गरे । शिक्षा प्रदान गरेपनि उच्च वर्गका व्यक्तिले तल्लो जातका व्यक्तिलाई कसरी उत्पीडित गर्न भने छोडेका थिएनन् ।

सामाजिक पक्ष[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकर आफैँ अस्पृश्य परिवारमा जन्मेका थिए । सानो उमेरको हुँदा देखि नै उनले सामाजिक बहिष्कार सहन गर्नुपरेको थियो । यसको विरोधमा बाबासाहेब आम्बेडकरले अन्य दलित तथा पिछडिएका वर्गका कार्यकर्तासँग मिलेर ब्रिटिस राजको बेलामा नै हिन्दु वर्ण व्यवस्थाको विरोधमा आन्दोलनको सुरुवात गरेका थिए ।

सन् १९४६ देखि सन् १९४९ को समयावधिमा बाबासाहेब आम्बेडकरले भारतीय संविधानको मस्यौदा तयार पारेका थिए जसमा उनले पिछडिएका वर्गलाई पनि समावेश गरेका थिए । त्यसैले उनलाई भारतीय संविधानको जनक पनि भनिन्छ ।[२][३][४][५]

बौद्ध धर्म समानता र बन्धुत्वको सिद्धान्तमा आधारित भएको हुनाले १४ अक्टोबर १९५४ मा आम्बेडकरले आफ्नो धर्म परिवर्तन गरी बौद्धमार्गी बने । उनका साथै उनका लाखौँ अनुयायीले पनि बौद्धमार्ग अँगालेका थिए ।[६]

राजनीतिक पक्ष[सम्पादन गर्ने]

भारतको स्वतन्त्रता भन्दा अगाडि बाबासाहेब आम्बेडकरले सन् १९३६ मा स्वतन्त्र मजदूर पार्टी र सन् १९४२ मा शेड्युल्ड कास्ट फेडेरेसनको स्थापना गरेका थिए । सन् १९३७ मा स्वतन्त्र मजदूर पार्टीका २१ उम्मेदवारको चुनाव गरिएको थियो । मूलगामी, उपयुक्ततावादी र अन्तर्ज्ञानी भनेर वर्णन गरिएका यी संस्थाको स्थापनाको मूल उद्देश्य सामाजिक र आर्थिक सुधार ल्याउने थियो ।[७] सन् १९४६ मा शेतकर मजदूर फेडेरेसनको नेतृत्त्वमा दलित महिलाले पुणे सम्झौता रद्द गर्ने माग गर्दै सत्याग्रहको आयोजना गरेका थिए । भारतको स्वतन्त्रता पछि मराठवाडा विश्वविद्यालयको नाम परिवर्तन गर्ने क्रममा दलित समुदायका राजनीतिक दलले सक्रिय सहभागिता जनाएका थिए ।

संस्कृतिक पक्ष[सम्पादन गर्ने]

१ मार्च १९०१ मा शिवराम जानबा काम्बलेले सोमवंशी पत्रिकामा युवतीलाई देवदासी बनाउने नमिल्ने व्यवस्था मिलाउने आवेदन प्रस्तुत गरेका थिए । मुरललाई विवाह गर्न चाहने व्यक्तिले जात पञ्चायतबाट विशेष स्वीकृति लिएर सबैलाई जानकारी गराउनुपर्ने कुरा उक्त आवेदनमा लेखिएको थियो । अन्ततः सरकारले आइपिसी ३७३ अनुसार १६ वर्ष मुनिको युवतीलाई चाकरी वा यौनकर्मको लागि बेचियो भने उक्त युवतीलाई १० वर्षको कडा सजायको व्यवस्था गरिएको थियो । १८ अप्रिल १९०९ मा सोमवंशी मित्रका गणपतराव हनुमन्तराव गायकवाडले अस्पृश्य समुदाय (महार, मङ्ग, ढोर, चाम्भार) को सहमति र स्वीकृतिमा मुरली शिवूबाईसँग विवाह गरेका थिए । १३ जून १९३६ मा आम्बेडकरवादी अधिवक्ता गणले देवदासी र मुरली प्रथासँग सम्बन्धित सम्मेलनको आयोजना गरी ती प्रथाको विरोधमा आवेदन शोषित वर्ग समक्ष गरेका थिए । बालकृष्ण जानोजी देवरुखकर जस्ता कार्यकर्ताले अस्पृश्य वर्गको महिलाको उत्थानका लागि विभिन्न अभियान सुरु गरेका थिए ।[८]

वैचारिक पक्ष[सम्पादन गर्ने]

दलित समुदायले भोग्नुपरेको समस्या र सहनुपरेको अन्यायमा प्रकाश पारी दलित समुदायको उत्थान गर्नु आम्बेडकरवादी आन्दोलनको प्रमुख उद्देश्य थियो । बाबासाहेब आम्बेडकरको विचार प्रणालीबाट प्रभावित भई विभिन्न कार्यकर्ताले आम्बेडकरवादी आन्दोलनको चलनचल्तीको समयमा नै विभिन्न पुस्तक, पत्रिका तथा भाषण सार्वजनिक गरेका थिए । दलित समुदायको उत्थान तथा अभिवृद्धिका लागि विभिन्न पहल गरिएको थियो । बाबासाहेब आम्बेडकरले एक प्रकाशको वृत्त निर्माण गरेका थिए जसको किरणले विभिन्न लेखक, समीक्षक तथा विचारकको उत्पत्ति भएको थियो । यी साहित्यकारबाट धेरैले दलित र बौद्ध इतिहासको सम्बन्धमा लेख प्रकाशन गरे भने अन्यले प्रकाशन गृहको स्थापना गरे ।

कलात्मक पक्ष[सम्पादन गर्ने]

गीत-सङ्गीत जस्ता कलात्मक माध्यमबाट समाजमा विद्यमान दलन, शोषण र उत्पीडनको विरोधबाट दलित पहिचान, आत्मसम्मान र शक्ति सङ्घर्षको आरम्भ हुन्छ । गीत-सङ्गीतको माध्यमबाट विभिन्न ऐतिहासिक घटनालाई सम्झनु दलित सङ्घर्षमा शक्तिको महत्त्वपूर्ण स्रोत बनेको छ । आम्बेडकरी जलसा यसको प्रमुख उदाहरण हो । दलित समुदायमा सामाजिक र संस्कृतिक पुनर्निर्माणको क्षेत्रमा आम्बेडकरवादी दलित नाट्यशालाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आम्बेडकर सम्मेलनबाट सुरु भएको यस नाट्यशालाले पछि मात्रै लोकनाटक प्रदर्शन गर्न थालेको हो । बी. एस. शिन्दे अनुसार दलित नाटकको मूल उद्देश्य भनेको दलित समुदायमा एकताको भावना जगाउनु हो र वर्तमानमा चलचित्रमा पनि जाति प्रथाको चित्रण गर्न थालिएको छ ।[९]

विख्यात लोकशाहीर वामनदादा कर्डकले लेखेका थिए, "हामी आँधीमा रहेका दीप मात्रै हौँ, दीप मात्रै हौँ ।"

वामनदादा कर्डकका पङ्क्ति सुन्नमा साधारण भएपनि शक्तिशाली छन् । यद्यपि, संस्कृतिको क्षेत्रमा उच्च वर्गको व्यापकता रहेको हुनाले उनका पङ्क्ति खासै लोकप्रिय छैनन् । यसको अर्थ यो होइन कि उनका पङ्क्ति प्रभावकारी छैनन् । यद्यपि, उनका पङ्क्तिले महाराष्ट्रमा निकै प्रभाव पारेको छ । उनका पङ्क्तिको माध्यमबाट शाहीरले ब्राह्मण दर्शनले अस्वीकार गरेको वर्गलाई आशा दिलाएको छ । शाहीर भीमराव कर्डकको जलसा पढी बाबासाहेब आम्बेडकरले भनेका थिए, "मैले आयोजना गरेका दस सम्मेलन र शाहीरको एक जलसा समान छन् ।"

बहुजन समुदायका कलाकारले पनि जलसाको माध्यमले बहुजन जनताको चेतनास्तर अभिवृद्धि गर्थे । जलसा सार्वजनिक शिक्षा र मनोरञ्जनको रूपमा सामाजिक अवस्थाको वर्णन गर्ने उत्कृष्ट साधन हो । जमीनदार र ब्राह्मण समुदायको शोषण सहेर बसेका बहुजन समुदायको उत्थानमा आम्बेडकरवादी आन्दोलनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

थप लेख[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. ढाँचा:Cite interview
  2. "Do we really respect Dr Ambedkar or is it mere lip service?", डिएनए इन्डिया, ६ डिसेम्बर २०१४, मूलबाट १७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  3. "Ambedkar in Modi's quiver, says Gandhi's insulted father of Indian Constitution", डेक्कन क्रोनिकल, मूलबाट १६ जून २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  4. "Home for Ambedkar 'house' - Maharashtra to buy UK bungalow where Dalit icon lived", टेलिग्राफ इन्डिया, मूलबाट ५ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  5. डेस्क (११ अप्रिल २०१६), "Milestones achieved by Dr. Babasaheb Ambedkar", मूलबाट ६ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  6. पाटिल, कृष्णमकुमार (सन् २०१४), समाजशास्त्र (१२ वी) (मराठीमा), पुणे, महाराष्ट्र: महाराष्ट्र राज्य माध्यमिक एवम् उच्च माध्यमिक शिक्षण मण्डल, पृ: १४५। 
  7. कुमार, डा. पी. केशव, Political philosophy of B.R. Ambedkar: A critical Understanding 
  8. पवार, उर्मिला; मून, मीनाक्षी (सन् २००८), We Also Made History: Women in the Ambedkarite Movement (अङ्ग्रेजीमा), जुबान, पृ: ९२–१०२, आइएसबिएन 9788189013127 
  9. "Dalit Theatre and Ambedkar", फारवर्ड प्रेस (अमेरिकी अङ्ग्रेजीमा), १५ अगस्ट २०१७, अन्तिम पहुँच १६ जुलाई २०१८