वेटिङ फर अ भिसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
वेटिङ फर अ भिसा
लेखकबाबासाहेब आम्बेडकर
मूल शीर्षकWaiting for a Visa
देशभारत
भाषाअङ्ग्रेजी
विधाआत्मकथा, दलित साहित्य
प्रकाशककोलम्बिया विश्वविद्यालय पुस्तकालय
प्रकाशन मिति
सन् १९३५ - सन् १९३६
पृष्ठहरू२०

वेटिङ फर अ भिसा (अङ्ग्रेजी: Waiting for a Visa, अनुवाद:प्रवेशाज्ञाको पर्खाइमा) सन् १९३५ देखि सन् १९३६ को बीचमा प्रकाशित बाबासाहेब आम्बेडकरको २० पृष्ठको आत्मकथा हो ।[१] कोलम्बिया विश्वविद्यालयमा पाठ्यपुस्तकको रूपमा प्रयोग गरिने यस पुस्तकमा बाबासाहेबले आफ्नै हस्तलेखनमा तल्लो जात भएको हुनाले भोग्नुपरेको छुवाछुत तथा जातीय भेदभावका अनुभवहरूलाई याद गरेका छन् ।[१][२][३][४]

सामग्री[सम्पादन गर्ने]

यस पुस्तकलाई छोटो परिचयपछि छ खण्डमा विभाजन गरिएको छ जसमा आम्बेडकरले छुवाछुतको सम्बन्धमा आफ्नो अनुभवमा प्रकाश पार्छन् । पहिलो चार खण्डमा आम्बेडकरले आफ्नै अनुभवको व्याख्या गरेका छन् भने बाँकीका दुई खण्डमा अन्य दलितका अनुभवको वर्णन गरिएको छ ।

छोटो परिचय[सम्पादन गर्ने]

एक छोटो अनुच्छेदमा आम्बेडकरले विदेशी पाठक वा छुवाछुतको कुरासँग अपरिचित पाठकका लागि पुस्तकको विषयवस्तुको वर्णन गर्छन् ।

प्रथम खण्ड: बाल्यकालमा कोरेगाँवमा प्रवास बन्यो एक दुःस्वप्न[सम्पादन गर्ने]

प्रथम खण्डमा आम्बेडकरले सन् १९०१ मा आफू १० वर्षको उमेर हुँदा दाजुभाइ दिदीबहिनीका साथ आफ्नो बुबालाई भेट्न सातारादेखि कोरेगाँवको बाटो लागेको बेला मसूरमा भोग्नुपरेको भेदभावले गर्दा यात्रा पूरा गर्नु असम्भव लागेको लेखेका छन् ।

द्वितीय खण्ड: पश्चिमबाट फर्काइ, बडोदामा बस्न असमर्थ[सम्पादन गर्ने]

यस खण्डमा आम्बेडकरले त्यस बेलामा बडोदामा व्याप्त जातीय तथा धार्मिक विभेदको वर्णन गरेका छन् । ३ वर्ष संयुक्त राज्य अमेरिका र १ वर्ष संयुक्त अधिराज्यमा बसेर फर्केका आम्बेडकर सन् १९१८ मा महालेखा परीक्षकको कार्यालयमा उम्मेदवारको पदमा छानिएपछि बडोदा गएका थिए । यद्यपि, त्यहाँ पुगेपछि उनको जातले गर्दा उनलाई कुनै पनि हिन्दु होटेलमा बस्ने अनुमति दिइएन । उनले एक पारसी सराय त पाए तर त्यहाँ गैरपारसी व्यक्तिलाई बस्ने अनुमति थिएन । आम्बेडकरले आफू पारसी भएको ढोङ गरी त्यो सरायमा बस्ने ठाउँ पाए । यद्यपि, उनको बसाइको एघारौँ दिनमा उनको असल पहिचान थाहा पाएपछि उनलाई उक्त सरायबाट निकालियो । अन्ततः उनले बडोदा छोडी काम खोज्न बम्बई फर्कनुपर्यो ।

तृतीय खण्ड: चालीसगाँवमा गौरव, अप्ठ्यारोपन र भयावह दुर्घटना[सम्पादन गर्ने]

यस खण्डमा आम्बेडकरले सन् १९२९ मा महाराष्ट्रको चालीसगाँवमा भएको लाजमर्दो दुर्घटनाको बारेमा वर्णन गरेका छन् । उनलाई अछुत वर्गले भोग्नुपर्ने शोषण र उत्पीडनको जाँचपर्ताल गर्न बम्बई सरकारद्वारा निर्मित समितिको सदस्य बनाइएको थियो । खानदेश जिल्लामा अछुत वर्गको अवस्थाको अध्ययन अनुसन्धान गरी बम्बई फर्कने बाटोमा उनी चालीसगाँवमा हिन्दु धर्मावलम्बीद्वारा अछुत वर्गको बहिष्कार गरेको मुद्दाको जाँच गर्न रोकेका थिए । त्यहाँको अछुत वर्गले उनलाई एक रात त्यहाँ बिताउने अनुरोध गरे । यद्यपि, त्यहाँका टाँगा चलाउने सारथीहरूले उनीहरूको जातको कारणले उनीहरूलाई आफ्नो सेवा प्रदान गर्न मानेनन् । उनीहरूले आफैँ नै टाँगा भाडामा लिई आफैँ नै सो टाँगा चलाउनुपर्यो । यसो गर्दा कसैलाई पनि राम्ररी टाँगा चलाउन नआएको हुनाले पुल पार गरिरहेको बेलामा उनी दुर्घटनामा परे । आम्बेडकरले टाँगाबाट फालिएको हुनाले धेरै चोट सहनुपर्यो । उक्त टाँगा भने घोडासँगै पानीमा खस्यो ।

गाउँका अछुत वर्गले उनीहरूको अतिथिको सुरक्षा सुनिश्चित गर्न लिएका कदम देखी आम्बेडकरलाई गर्व महसुस भएको थियो । यद्यपि, टाँगा चलाउने अदक्ष कर्मीले पनि अछुत वकिललाई आफू भन्दा तल्लो स्तरको मान्दो रहेछन् भन्ने अनुभूति भएपछि उनले एक प्रकारको अप्ठ्यारोपन महसुस गरे ।[५]

चतुर्थ खण्ड: दौलताबाद गढीको पानी प्रदूषित छ[सम्पादन गर्ने]

सन् १९३४ मा लेखिएको यस खण्डमा आम्बेडकरले इस्लाम धर्ममा व्याप्त जातीय भेदभावलाई औँल्याउँछन् ।

आम्बेडकर र उनको दौतरी समूह औरङ्गाबाद गएको बेला दौलाताबाद गढीको भ्रमण गर्न गएका थिए । गढीको प्रवेशद्वारमा उनी र उनका साथीहरूले नजिकै राखिएको पानीले आफ्नो शरीर धोएको केही क्षण पछि एक जना बुढा मोहम्मदीले अछुत वर्गले उनीहरूको पानी प्रदूषित गरेको भन्दै कराउन थाले । नजिकै भएका सबैजनाले आम्बेडकर, उनको दौतरी समूह र अन्य अछुत वर्गका मानिसलाई गोली हान्न तयार भए । आम्बेडकरले इस्लाम धर्ममा हालै परिणत भएको अछुत व्यक्तिले पानी छोएको भए नि यस्तै प्रकारको व्यवहार गरिन्थ्यो कि गरिँदैनथ्यो भनेर सोधेपछि मात्रै त्यहाँ हुन लागेको द्वन्द्वको निरूपण भएको थियो ।

पञ्चम खण्ड: डाक्टरले उपचार गर्न नमानेपछि महिलाको मृत्यु[सम्पादन गर्ने]

यस खण्डमा महात्मा गान्धीद्वारा सुरु गरिएको यङ्ग इन्डिया जर्नलमा १२ डिसेम्बर १९२९ मा प्रकाशित पत्र समावेश गरिएको छ । उक्त पत्रमा काठियावाडमा बस्ने एक हरिजन, जसकी श्रीमतीले बच्चा जन्माएपछि बिरामी भइन्, को दुःखद अनुभव बताइएको छ । उनीहरू तल्लो जातको भएको हुनाले ब्राह्मण डाक्टरले उनीहरूको घरमा पसेर उनकी श्रीमतीको उपचार गर्न मानेनन् । पछि डाक्टरले श्रीमतीलाई हरिजन समुदाय बस्ने ठाउँ बाहिर ल्याएर मुस्लिमको माध्यमले तापमापी गर्न माने । श्रीमतीलाई औषधि त दिइयो तर पछि उनको अवस्था झनै नराम्रो भएपछि डाक्टरले उपचार गर्न नमानेपछि उनको मृत्यु भयो ।

षष्ठ खण्ड: काम नछोड्नुसम्म तरुण कर्मचारी अपहेलित[सम्पादन गर्ने]

यस खण्डमा ६ मार्च १९३८ मा बम्बईको दादरमा आयोजित भाङ्गी सम्मेलनमा वाल्मीकि जातिका युवाले सुनाएको आत्मकथा समावेश गरिएको छ । वर्तमानमा गुजरातमा रहेको खेडामा अवस्थित बोरसदमा उक्त युवाले लेखपालको काम पाएका थिए । यद्यपि, अछुत वर्ग भएको हुनाले उनलाई त्यहाँ बस्ने व्यवस्था अस्वीकार गरिएको थियो । त्यहाँ बस्ने अछुत वर्गले पनि ब्राह्मणको डरले गर्दा ती युवालाई बस्ने ठाउँ दिन मानेनन् ।

सरकारी कार्यालयमा पनि उनका सहकर्मीले उनलाई जातिको आधारमा भेदभाव गरे । उनले छोएको पानी अशुद्ध हुन्छ भनी उनलाई पानी समेत पिउन दिइएन । समय बित्दै जाँदा उनलाई मर्ने धम्की समेत दिइयो । अन्ततः उनले आफ्नो काम छोडी घर फर्कनुपर्यो ।

प्रथम प्रकाशन र पछिल्ला संस्करण[सम्पादन गर्ने]

सन् १९९० मा पीपल्स एजुकेसन सोसाइटीले यस कृतिलाई पुस्तिकाको रूपमा प्रकाशित गरेको थियो । सन् १९९३ मा महाराष्ट्र सरकार शिक्षा विभागले यसलाई डा. बाबासाहेब आम्बेडकर: लेख र भाषण, भाग १२, खण्ड १ मा समावेश गरी प्रकाशन गर्यो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ आम्बेडकर, डा. बी. आर., "Waiting for a Visa" [वेटिङ फर अ भिसा], कोलम्बिया विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालय, अन्तिम पहुँच १५ अप्रिल २०१५ 
  2. मून, वसन्त (सन् १९९३), Dr. Babasaheb Ambedkar: Writings and Speeches, Vol. 12 [डा. बाबासाहेब आम्बेडकर: लेख र भाषण, भाग १२], मुम्बई: बम्बई शिक्षा विभाग, महाराष्ट्र सरकार। 
  3. आम्बेडकर, डा., "डॉ. आंबेडकर की आत्मकथा" [डा. आम्बेडकरको आत्मकथा], फारवर्ड प्रेस, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२० 
  4. "Columbia University teaches Ambedkar’s biography, but few in India have even read it" [कोलम्बिया विश्वविद्यालयमा आम्बेडकरको जीवन चरित पढाइन्छ तर भारतमा नै धेरैले उक्त जीवनी पढेका छैनन्], द प्रिन्ट डट इन, १४ अप्रिल २०१९। 
  5. Selected works of B.R.Ambedkar [बी. आर. आम्बेडकरका छानिएका कृतिहरू], पृ: ४०७२–४०९०, अन्तिम पहुँच १५ अप्रिल २०१५