मूकनायक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
मूकनायकको मुखपृष्ठ, पहिलो अङ्क

मूकनायक समाजमा विद्यमान वेदना र विद्रोह प्रकट गर्ने उद्देश्यले सन् १९२० देखि बाबासाहेब आम्बेडकरद्वारा पाक्षिक रूपमा प्रकाशित मराठी पत्रिका थियो ।[१] यसको पहिलो अङ्क ३१ जनवरी १९२० मा प्रकाशन गरिएको थियो । आम्बेडकर आफैँ व्यस्त भएको हुनाले उनले छानेका महार जातका पाण्डुरङ्ग नन्दराम भटकरको सम्पादन र ज्ञानदेव ध्रुवनाथ घोलपको प्रबन्धनमा मूकनायकलाई पाक्षिक रूपमा मुम्बईबाट सञ्चालन गरिन्थ्यो । यसको पहिलो अङ्कको अग्रलेख "मनोगत" आम्बेडकरले स्वयम् लेखेका थिए र पत्रिकाका तेह्र अङ्कका लागि पनि विभिन्न लेख लेखेका थिए । छत्रपति राजर्षि शाहू महाराजले मूकनायकलाई ₹२,५०० दान गरी मूकनायकलाई आर्थिक सहयोग गरेका थिए । आम्बेडकरको तत्कालीन कर्मभूमि महाराष्ट्रमा मराठीलाई आधिकारिक भाषाको दर्जा दिइनुका साथै दलित समुदायमा साक्षरता दर कम भएको हुनाले आम्बेडकरले मूकनायकलाई अङ्ग्रेजीको साटो मराठीमा प्रकाशन गरेका थिए ।[२][३]

यस पाक्षिकको प्रमुख उद्देश्य दलित, गरिब र शोषित जनताको आवाज सरकार र अन्य जनताको समक्ष पुर्याउनु थियो । यसका लागि बाबासाहेब आम्बेडकरले आफ्ना लेखहरूमा बहिष्कृत अस्पृश्य समुदायले भोग्नुपरेका अन्यायमा प्रकाश पारी उक्त समुदायको अभिवृद्धि र उन्नतिका लागि तत्कालीन ब्रिटिस सरकारले चाल्न सक्ने कदमको सुझाव दिन्थे । अस्पृश्य समुदायको विकास र उत्थानका लागि राजकीय सत्ता र शैक्षणिक ज्ञान आवश्यक छ भन्ने आम्बेडकरको मान्यता थियो । ५ जुलाई १९२० मा आम्बेडकर उच्च शिक्षाका लागि लन्डनतर्फ लागेपछि ३१ जुलाई १९२० देखि ज्ञानेश्वर ध्रुवनाथ घोलपलाई पत्रिकाको सम्पादकको पदमा नियुक्त गरिएको थियो ।[४]

हालसम्म मूकनायकका १९ अङ्क प्रकाशन भएका छन्, जसमा आम्बेडकरले वैचारिक लेख लेखेका छन् ।[५] मूकनायकमा प्रकाशित पत्रमा विविध विचार, समसामयिक घटना, चुनावित पत्रका सार, क्षेम, समाचार तथा कुशल पत्र समावेश गरिएको हुन्थ्यो । अप्रिल १९२३ मा यसको प्रकाशन बन्द भयो ।[६]

पहिलो अङ्क[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकरद्वारा प्रकाशित मूकनायकबहिष्कृत भारत

बाबासाहेब आम्बेडकरले भनेका थिए, "कुनै पनि आन्दोलन सफल हुनका लागि उक्त आन्दोलनको सम्बन्धमा एक पत्रिका हुन आवश्यक छ । पत्रिका नभएको आन्दोलन पखेटा नभएको चरा समान हुन्छ ।" यस पाक्षिकले बहिष्कृत अछुत समुदायको चेतना अभिवृद्धि गरी उनीहरूलाई आफ्नो अधिकारको बारेमा सचेत गरायो । मूकनायकको उद्देश्यको स्पष्टिकरण गर्नका लागि सन्त तुकारामका यी शब्द पर्याप्त छन्:

के गरिरहेका छौ अहिले ?
निसन्देह तोडेका छन् उनले ।।१।।
फरक पर्दैन संसारमा जो रहेपनि ।
सार्थक हुन्छ लाजोनी, हुँदैन रुचि ।।२।।

पहिलो अङ्कको सम्पादकीयमा उनले निम्न जन्मप्रतिज्ञा व्यक्त गरेका थिए,

"पिछडिएका वर्गले सहन गर्नुपरेका अन्यायमा प्रकाश पर्न र ती समस्याको समाधान गर्न चालिनुपर्ने कदमको बारेमा छलफल गर्नका लागि पत्रिका भन्दा राम्रो कुनै माध्यम छैन । यद्यपि, केही पत्रिका पढ्दा कुनै एक जातिको मात्रै प्रतिनिधित्व गरेको स्पष्ट हुन्छ । अन्तर्निहित रूपमा भन्ने हो भने यसमा कुनै समस्या छैन । तर, जब एउटा जातिको उत्थानका लागि अरू जातिलाई नराम्रो भनिन्छ, तब समस्या उत्पन्न हुन्छ । समाजलाई एउटा डुङ्गासँग तुलना गर्न सकिन्छ । जलमग्न डुङ्गामा एउटा व्यक्तिले अर्को व्यक्तिलाई हानि पुर्याई आफू राम्रो बन्न चाहेपनि अन्ततः दुबै पक्षले नोक्सान व्यहोर्नुपर्छ नै । यसरी नै अरूलाई हानि पुर्याउने व्यक्तिले स्वयम् पनि परिणाम भोग्नुपर्छ । तसर्थ, आफ्नो हितको लागि अरूलाई नराम्रो गर्नु भने हुँदैन ।"[७]

मूकनायकको पहिलो अङ्कमा छापिएको लेख निम्न प्रस्तुत छ:

हिन्दु समाज एक मिनार हो र जाति व्यवस्था उक्त मिनारको तल्ला तर ध्यानमा राख्नुपर्ने कुरा के हो भने यो मिनारमा तल माथि गर्नका लागि कुनै सिढी राखिएको छैन । कुनै पनि व्यक्ति जुन तल्लामा जन्म्यो, त्यही तल्लामा मर्नुपर्छ । भुइँ तल्लामा रहेको मान्छे जति सक्षम भएपनि ऊ माथिल्लो तलामा पुग्न सक्दैन । त्यसैगरी माथिल्लो तल्लाको मान्छे जति असक्षम भएपनि उसलाई भुइँ तल्लामा झारिँदैन ।[८]

प्रचलित संस्कृतिमा मूकनायक[सम्पादन गर्ने]

गङ्गाधर पानतावणेले मूकनायक शीर्षकमा आम्बेडकरको जीवनी लेखेका थिए ।[९]

थप लेख[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "‘मूकनायका’च्या हाकेची शंभर वर्षे !", महाराष्ट्र टाइम्स, १४ अप्रिल २०१९। 
  2. "Dr. Ambedkar as a Journalist", वेलिवाडा (अमेरिकी अङ्ग्रेजीमा), २८ मार्च २०१८, अन्तिम पहुँच २७ डिसेम्बर २०१८ 
  3. चौबे, कृपाशङ्कर (२८ मार्च २०१८), "वर्तमान के सन्दर्भ में आंबेडकर की पत्रकारिता का महत्त्व", फारवर्ड प्रेस (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ डिसेम्बर २०१८ 
  4. गायकवाड, डा. ज्ञानराज काशीनाथ (सन् २०१६), Mahamanav Dr. Bhimrao Ramji Ambedkar (मराठीमा), रिया प्रकाशन, पृ: १०२। 
  5. "Mahanews", महान्यूज, अन्तिम पहुँच २७ डिसेम्बर २०१८ 
  6. "Beed Live", बीड लाइभ, अन्तिम पहुँच २७ डिसेम्बर २०१८ 
  7. गाठल, डा. एस. एस. (सन् २०१७), आधुनिक महाराष्ट्राचा इतिहास (मराठीमा), औरङ्गापुर, औरङ्गाबाद, महाराष्ट्र: कैलाश प्रकाशन, पृ: ४२४–४२५। 
  8. राज बहादुर (१० फेब्रुअरी २०१७), "बाबासाहेब डा. आंबेडकर का सृजनात्मक साहित्य", फारवर्ड प्रेस, अन्तिम पहुँच २७ डिसेम्बर २०१८ 
  9. पानतावणे, गङ्गाधर (१ जनवरी २०१०), "मूकनायक", अमेजन 

बाह्य कडी[सम्पादन गर्ने]