भगवान् बुद्ध र उनका धम्म
लेखक | बाबासाहेब आम्बेडकर |
---|---|
मूल शीर्षक | The Buddha and His Dhamma |
देश | भारत |
भाषा | अङ्ग्रेजी |
प्रकार | बौद्धवाद |
प्रकाशक | सिद्धार्थ महाविद्यालय, मुम्बई[१] |
प्रकाशित मिति | सन् १९५७ |
पृष्ठ | ५९९ |
भगवान् बुद्ध र उनका धम्म (अङ्ग्रेजी: The Buddha and His Dhamma) बाबासाहेब आम्बेडकरद्वारा लिखित प्रसिद्ध पुस्तक हो । बाबासाहेब आम्बेडकरद्वारा लेखिएको यस अन्तिम ग्रन्थमा उनले गौतम बुद्धका विचारहरूलाई व्याख्या गरी बौद्ध धर्मका सिद्धान्तहरूमा प्रकाश पारेका छन् । नवयानमा धर्म ग्रन्थको रूपमा प्रयोग गरिने पुस्तक बौद्ध धर्मावलम्बीका साथै संसारकै सबैभन्दा महत्त्वपूर्ण पुस्तकहरू मध्ये एक मानिन्छ ।[२]
मूलतः अङ्ग्रेजी भाषामा द बुद्ध एन्ड हिज धम्म (अङ्ग्रेजी: The Buddha and His Dhamma) नाममा प्रकाशन गरिएको यस पुस्तकलाई भदन्त आनन्द कौसल्यायनले हिन्दीमा अनुवाद गरेका थिए । यसका अतिरिक्त यस पुस्तकलाई कन्नड, गुजराती, जापानी, तमिल, तेलुगु, मराठी र मलयालम लगायत अन्य भाषाहरूमा पनि अनुवाद गरिएको छ ।
बाबासाहेब आम्बेडकरद्वारा उल्लेख गरेअनुसार बौद्ध धर्म प्रति उनको सोच जान्नका लागि उनका तीन पुस्तकहरू पढ्नु आवश्यक छ: भगवान् बुद्ध र उनका धम्म, बुद्ध र कार्ल मार्क्स र प्राचीन भारतमा क्रान्ति र प्रतिक्रान्ति ।[३]
बेलायतमा अवस्थित एक बौद्ध विहारमा बाबासाहेब आम्बेडकरले भगवान् बुद्ध र उनका धम्म पुस्तक बोकेको सालिक खडा गरिएको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]बाबासाहेब आम्बेडकरको ६ डिसेम्बर १९५६ मा मृत्यु भएपछि सन् १९५७ मा यस पुस्तकको प्रकाशन गरिएको थियो । सन् १९७९ मा भारत सरकारको शिक्षा विभागले "डा. आम्बेडकरका सम्पूर्ण लेख र भाषण" भनी यस पुस्तकलाई एघार भागमा विभाजन गरी प्रकाशन गरिएको थियो ।[४]
यो किताब लेख्ने इच्छा जाग्नुको कथा भने अरूभन्दा फरक छ । सन् १९५१ मा कलकत्ता महाबोधी सोसाइटीका जर्नलका सम्पादकले मलाई वैशाख अङ्कको लागि लेख लेख्ने आग्रह गरेका थिए । उक्त लेखमा मैले बुद्धको धर्म एक मात्र धर्म हो जसलाई वैज्ञानिक समाजले पनि सहजै स्वीकार गर्न सक्छ भन्ने तर्क प्रस्तुत गरेको थिएँ । बौद्ध धर्मको अभावमा समाज खण्डित हुन्छ । मैले प्रस्तुत गरेको अर्को तर्क चाहिँ बौद्ध धर्मले आधुनिक समाजमा आफैँलाई बचाउनुपर्छ भन्ने थियो । बौद्ध धर्मको साहित्य अत्यन्तै विशाल छ, असङ्ख्य छ, यसलाई एउटा जीवनमा कसैले पढ्न सक्दैन । त्यसैले पनि बौद्ध धर्मको प्रगति ढिलो गतिमा भइरहेको छ । यसको दोस्रो प्रमुख कारण भनेको इसाई धर्मको बाइबलझैँ बौद्धमार्गीका लागि कुनै धर्म ग्रन्थ छैन । मेरो लेख प्रकाशित भएपछि मलाई धेरैले मौखिक र लिखित रूपमा बौद्धवादमा आधारित भई पुस्तक लेख्ने अनुरोध गरेका थिए । त्यसकै उत्तरको रूपमा मैले यो कार्यको सुरुवात र समाप्तिको उत्तरदायित्व लिएको हुँ ।
— बाबासाहेब आम्बेडकरको पुस्तक लेख्ने उद्देश्य[३]
चार प्रश्न
[सम्पादन गर्नुहोस्]बाबासाहेब आम्बेडकरले आधुनिक बौद्धवादमा लागेका नयाँ धर्मावलम्बीहरूले प्रायः सोध्ने प्रश्नहरूको उत्तरको रूपमा यस पुस्तकको रचना गरेका हुन् । यस पुस्तकको प्रस्तावनामा लेखकले चार प्रश्न प्रस्तुत गरेका छन्:[५]
प्रथम प्रश्न बुद्धका जीवनको प्रमुख घटना, जसलाई परिव्राज भनिन्छ, सँग सम्बन्धित छ । बुद्धले किन परिव्राज ग्रहण गरे ? यसको परम्परागत उत्तर भनेको उनले मृत शरीर, रोगी व्यक्ति तथा बुढेसकालका मानिस देखे । यद्यपि, यो उत्तर हास्यास्पद छ । बुद्धले २९ वर्षको उमेरमा परिव्राज ग्रहण गरे । यदि बुद्धले यी तीन दृश्य देखेपछि मात्रै परिव्राज ग्रहण गरेको भए के उनले यी दृश्यहरू कहिल्यै देखेका थिएनन् ? यी सबै सामान्य घटना हुन्, जुन एक दिनमा नै सयको दरले घटिरहेका हुन्छन् र बुद्धले आफ्नो २९ वर्षको जीवनमा एक चोटी पनि यस्तो घटनाको साक्षी नबस्नु असम्भव छ । बुद्धले ती घटनाहरू प्रथम पटक देखेको भनेर पत्याउनु नै असम्भव छ । यो स्पष्टिकरण न त विश्वसनीय छ न त बौद्धिक छ । तर परम्परागत उत्तर ठीक छैन भने यसको सही उत्तर चाहिँ के हो ?
दोस्रो प्रश्न चार आर्यसत्यको विषयसँग सम्बन्धित छ । के यिनीहरूलाई बुद्धको मूल उपदेश र शिक्षामा समावेश गरिएको छ ? यस सूत्रले बौद्ध धर्मको जडलाई नै आघात गर्छ । यदि जीवन, मृत्यु र पुनर्जन्म सबै नै दुःख हुन् भने अन्य केही कुराको कुनै अर्थ नै रहँदैन । धर्म अथवा दर्शन मानव जीवनमा प्रसन्नता ल्याउनका लागि कहिल्यै पनि उपयोगी हुँदैन । दुःखबाट मुक्त हुन सकिँदैन भने धर्मले के चाहिँ गर्न सक्छ ? जन्म देखि नै भोग्नुपर्ने दुःखको मोचन गर्न बुद्धले के गर्न सक्छन् ? यी चार आर्यसत्य नै नव बौद्धमार्गी वा अन्य धर्ममा लागेका व्यक्तिका लागि सबैभन्दा ठूलो चुनौती हुन् । यी आर्यसत्यले मानिसमा भएको आशा पनि मेटाउँछन् । यी आर्यसत्यले बुद्धका नैतिकतालाई निराशावादी बनाउँछन् । के यी आर्यसत्यहरू बुद्धको मूल उपदेशमा नै समावेश गरिएका छन् कि यिनीहरूलाई पछिल्ला संस्करणहरूमा भिक्षुहरूले थपेका हुन् ?
तेस्रो प्रश्न आत्मा, कर्म र पुनर्जन्मका सिद्धान्तसँग सम्बन्धित छन् । बुद्धले आत्माको अस्तित्वलाई नकारे तापनि कर्म र पुनर्जन्मका सिद्धान्तका प्रतिपादन भने गरेका छन् । यसले गर्दा पनि तुरुन्तै एउटा प्रश्न उठ्छ । यदि आत्मा हुँदैन भने कर्म कसरी हुन्छ ? यदि आत्मा हुँदैन भने पुनर्जन्म कसरी हुन्छ ? यी प्रश्नहरू भ्रामक छन् । भगवान् बुद्धले कुन अर्थमा कर्म र पुनर्जन्म शब्दका प्रयोग गरेका थिए ? के उनले भनेको अर्थ र ब्राह्मणले प्रयोग गर्ने अर्थमा भिन्नता छ ? छन् भने कसरी भिन्न छन् ? के ब्राह्मणले प्रयोग गर्ने अर्थ र बुद्धले प्रयोग गरेका अर्थ समान छन् ? छन् भने आत्माको अस्तित्व नकारी कर्म र पुनर्जन्मको दृढ प्रतिपादन गर्नु नै भयानक विसङ्गति होइन ? यो विसङ्गतिको समाधान गर्नु आवश्यक छ ।
चौथो प्रश्न भिक्षुहरूसँग सम्बन्धित छ । भिक्षुको निर्माण गर्नमा बुद्धको के उद्देश्य थियो ? के यो एक परिपूर्ण मानिस तयार गर्न गरिएको थियो ? कि यो आफ्नो जीवन सेवा गर्न समर्पित गर्ने समाजसेवीको तयारी गर्न गरिएको थियो ? एक यस्तो व्यक्तिको तयारी जो मानवका साथी, मार्गदर्शक र दार्शनिकका भूमिका निर्वाह गर्छन् ? यो एक महत्त्वपूर्ण प्रश्न हो । बौद्ध धर्मको भविष्य यस प्रश्नमा भर पर्छ । यदि एक भिक्षु एक परिपूर्ण मानिस हुन् भने उनले बौद्ध धर्मको प्रवर्तन गर्नु आवश्यक पर्दैन, गरे भने उनी परिपूर्ण भएपनि स्वार्थी कहालाउँछन् । यो सिद्धान्तको विपरीत अर्को सिद्धान्त अनुसार यदि एक भिक्षु समाजसेवी हुन् भने उनी बौद्ध धर्मका लागि नवीन आशा हुन सक्छन् । यस प्रश्नको निर्णयलाई दार्शनिक सिद्धान्त भन्दा पनि बौद्ध धर्मको भविष्यको चासोको विषयको रूपमा हेर्नु आवश्यक छ ।
विषयसूची
[सम्पादन गर्नुहोस्]प्रथम काण्ड: सिद्धार्थ गौतम
[सम्पादन गर्नुहोस्]- जन्म देखि गृहत्यागसम्म
- सधैँको लागि अधिनिष्क्रमण
- नयाँ प्रकारको खोजमा
- ज्ञानप्राप्ति र नयाँ मार्गको दर्शन
- बुद्ध र उनका पुर्खा
- बुद्ध र उनका समकालीन
- समानता तथा विषमता
द्वितीय काण्ड: धम्म दीक्षाहरूको आन्दोलन
[सम्पादन गर्नुहोस्]- बुद्ध र उनका विषाद योग
- परिव्राजकहरूको दीक्षा
- कुलीन तथा धार्मिकहरूको धम्म दीक्षा
- जन्मभूमिको आह्वान
- धम्म दीक्षाको पुनारारम्भ
- निम्नस्तरका मानिसहरूको धम्म दीक्षा
- महिलाहरूको धम्म दीक्षा
- पतित तथा अपराधीहरूको धम्म दीक्षा
तृतीय काण्ड: बुद्धले के सिकाए ?
[सम्पादन गर्नुहोस्]- धम्ममा भगवान् बुद्धको स्थान
- बुद्धको धम्मको बारेमा विभिन्न विचार
- धम्म के हो ?
- अधम्म के हो ?
- सद्धम्म के हो ?
चतुर्थ काण्ड: धर्म (मजहब) र धम्म
[सम्पादन गर्नुहोस्]- मजहब र धम्म
- शाब्दिक समानताले कुन प्रकारले तात्विक भेदलाई लुकाएर राख्छ
- बौद्ध जीवनको मार्ग
- बुद्धको उपदेश
पञ्चम काण्ड: सङ्घ
[सम्पादन गर्नुहोस्]- सङ्घ
- भिक्षु: भगवान् बुद्धको कल्पना
- भिक्षुको कर्तव्य
- भिक्षु र गृहस्थ समाज
- गृहस्थ धर्मावलम्बीका लागि विनय
षष्ठ काण्ड: भगवान् बुद्ध र उनका समकालीन
[सम्पादन गर्नुहोस्]- बुद्धका समर्थक
- बुद्धका विरोधी
- धम्मको आलोचक
- समर्थक र प्रशंसक
सप्तम काण्ड: महान् परिव्राजकको अन्तिम चारिका
[सम्पादन गर्नुहोस्]- निकटस्थ जनहरूसँग भेट
- वैशालीसँग विदाइ
- महापरिनिर्वाण
अष्टम काण्ड: महामानव सिद्धार्थ गौतम
[सम्पादन गर्नुहोस्]- उनको व्यक्तित्व
- उनको मानवता
- उनलाई के मन पर्दैनथ्यो र के मन पर्थ्यो ?
समाप्ति
[सम्पादन गर्नुहोस्]नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ आम्बेडकर, बी. आर., "The Buddha and His Dhamma" [भगवान् बुद्ध र उनका धम्म], कोलम्बिया विश्वविद्यालय, अन्तिम पहुँच २७ डिसेम्बर २००८।
- ↑ आम्बेडकर, बी. आर. (सन् १९५७), The Buddha and His Dhamma [भगवान् बुद्ध र उनका धम्म] (अङ्ग्रेजीमा), मुम्बई: सिद्धार्थ महाविद्यालय, पृ: ५९९।
- ↑ ३.० ३.१ "Unpublished Preface" [अप्रकाशित प्रस्तावना], कोलम्बिया विश्वविद्यालय, मूलबाट २ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०२ मिति
- ↑ "Welcome to Open Library | Open Library" [ओपन लाइब्रेरीमा स्वागत छ], ओपन लाइब्रेरी, मूलबाट १९ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०१९।
- ↑ प्रिचेट, फ्रान्सिस, "The Buddha and His Dhamma, by Dr. B. R. Ambedkar" [भगवान् बुद्ध र उनका धम्म, बी. आर. आम्बेडकर], कोलम्बिया विश्वविद्यालय, अन्तिम पहुँच १५ अप्रिल २०१८।