भगवान् बुद्ध र उनका धम्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान् बुद्ध र उनका धम्म
लेखकबाबासाहेब आम्बेडकर
मूल शीर्षकThe Buddha and His Dhamma
देशभारत
भाषाअङ्ग्रेजी
प्रकारबौद्धवाद
प्रकाशकसिद्धार्थ महाविद्यालय, मुम्बई[१]
प्रकाशित मिति
सन् १९५७
पृष्ठ५९९

भगवान् बुद्ध र उनका धम्म (अङ्ग्रेजी: The Buddha and His Dhamma) बाबासाहेब आम्बेडकरद्वारा लिखित प्रसिद्ध पुस्तक हो । बाबासाहेब आम्बेडकरद्वारा लेखिएको यस अन्तिम ग्रन्थमा उनले गौतम बुद्धका विचारहरूलाई व्याख्या गरी बौद्ध धर्मका सिद्धान्तहरूमा प्रकाश पारेका छन् । नवयानमा धर्म ग्रन्थको रूपमा प्रयोग गरिने पुस्तक बौद्ध धर्मावलम्बीका साथै संसारकै सबैभन्दा महत्त्वपूर्ण पुस्तकहरू मध्ये एक मानिन्छ ।[२]

मूलतः अङ्ग्रेजी भाषामा द बुद्ध एन्ड हिज धम्म (अङ्ग्रेजी: The Buddha and His Dhamma) नाममा प्रकाशन गरिएको यस पुस्तकलाई भदन्त आनन्द कौसल्यायनले हिन्दीमा अनुवाद गरेका थिए । यसका अतिरिक्त यस पुस्तकलाई कन्नड, गुजराती, जापानी, तमिल, तेलुगु, मराठीमलयालम लगायत अन्य भाषाहरूमा पनि अनुवाद गरिएको छ ।

बाबासाहेब आम्बेडकरद्वारा उल्लेख गरेअनुसार बौद्ध धर्म प्रति उनको सोच जान्नका लागि उनका तीन पुस्तकहरू पढ्नु आवश्यक छ: भगवान् बुद्ध र उनका धम्म, बुद्धकार्ल मार्क्सप्राचीन भारतमा क्रान्ति र प्रतिक्रान्ति[३]

बेलायतमा अवस्थित एक बौद्ध विहारमा बाबासाहेब आम्बेडकरले भगवान् बुद्ध र उनका धम्म पुस्तक बोकेको सालिक खडा गरिएको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

बाबासाहेब आम्बेडकरको ६ डिसेम्बर १९५६ मा मृत्यु भएपछि सन् १९५७ मा यस पुस्तकको प्रकाशन गरिएको थियो । सन् १९७९ मा भारत सरकारको शिक्षा विभागले "डा. आम्बेडकरका सम्पूर्ण लेख र भाषण" भनी यस पुस्तकलाई एघार भागमा विभाजन गरी प्रकाशन गरिएको थियो ।[४]

यो किताब लेख्ने इच्छा जाग्नुको कथा भने अरूभन्दा फरक छ । सन् १९५१ मा कलकत्ता महाबोधी सोसाइटीका जर्नलका सम्पादकले मलाई वैशाख अङ्कको लागि लेख लेख्ने आग्रह गरेका थिए । उक्त लेखमा मैले बुद्धको धर्म एक मात्र धर्म हो जसलाई वैज्ञानिक समाजले पनि सहजै स्वीकार गर्न सक्छ भन्ने तर्क प्रस्तुत गरेको थिएँ । बौद्ध धर्मको अभावमा समाज खण्डित हुन्छ । मैले प्रस्तुत गरेको अर्को तर्क चाहिँ बौद्ध धर्मले आधुनिक समाजमा आफैँलाई बचाउनुपर्छ भन्ने थियो । बौद्ध धर्मको साहित्य अत्यन्तै विशाल छ, असङ्ख्य छ, यसलाई एउटा जीवनमा कसैले पढ्न सक्दैन । त्यसैले पनि बौद्ध धर्मको प्रगति ढिलो गतिमा भइरहेको छ । यसको दोस्रो प्रमुख कारण भनेको इसाई धर्मको बाइबलझैँ बौद्धमार्गीका लागि कुनै धर्म ग्रन्थ छैन । मेरो लेख प्रकाशित भएपछि मलाई धेरैले मौखिक र लिखित रूपमा बौद्धवादमा आधारित भई पुस्तक लेख्ने अनुरोध गरेका थिए । त्यसकै उत्तरको रूपमा मैले यो कार्यको सुरुवात र समाप्तिको उत्तरदायित्व लिएको हुँ ।

— बाबासाहेब आम्बेडकरको पुस्तक लेख्ने उद्देश्य[३]

चार प्रश्न[सम्पादन गर्नुहोस्]

बाबासाहेब आम्बेडकरले आधुनिक बौद्धवादमा लागेका नयाँ धर्मावलम्बीहरूले प्रायः सोध्ने प्रश्नहरूको उत्तरको रूपमा यस पुस्तकको रचना गरेका हुन् । यस पुस्तकको प्रस्तावनामा लेखकले चार प्रश्न प्रस्तुत गरेका छन्:[५]

प्रथम प्रश्न बुद्धका जीवनको प्रमुख घटना, जसलाई परिव्राज भनिन्छ, सँग सम्बन्धित छ । बुद्धले किन परिव्राज ग्रहण गरे ? यसको परम्परागत उत्तर भनेको उनले मृत शरीर, रोगी व्यक्ति तथा बुढेसकालका मानिस देखे । यद्यपि, यो उत्तर हास्यास्पद छ । बुद्धले २९ वर्षको उमेरमा परिव्राज ग्रहण गरे । यदि बुद्धले यी तीन दृश्य देखेपछि मात्रै परिव्राज ग्रहण गरेको भए के उनले यी दृश्यहरू कहिल्यै देखेका थिएनन् ? यी सबै सामान्य घटना हुन्, जुन एक दिनमा नै सयको दरले घटिरहेका हुन्छन् र बुद्धले आफ्नो २९ वर्षको जीवनमा एक चोटी पनि यस्तो घटनाको साक्षी नबस्नु असम्भव छ । बुद्धले ती घटनाहरू प्रथम पटक देखेको भनेर पत्याउनु नै असम्भव छ । यो स्पष्टिकरण न त विश्वसनीय छ न त बौद्धिक छ । तर परम्परागत उत्तर ठीक छैन भने यसको सही उत्तर चाहिँ के हो ?

दोस्रो प्रश्न चार आर्यसत्यको विषयसँग सम्बन्धित छ । के यिनीहरूलाई बुद्धको मूल उपदेश र शिक्षामा समावेश गरिएको छ ? यस सूत्रले बौद्ध धर्मको जडलाई नै आघात गर्छ । यदि जीवन, मृत्यु र पुनर्जन्म सबै नै दुःख हुन् भने अन्य केही कुराको कुनै अर्थ नै रहँदैन । धर्म अथवा दर्शन मानव जीवनमा प्रसन्नता ल्याउनका लागि कहिल्यै पनि उपयोगी हुँदैन । दुःखबाट मुक्त हुन सकिँदैन भने धर्मले के चाहिँ गर्न सक्छ ? जन्म देखि नै भोग्नुपर्ने दुःखको मोचन गर्न बुद्धले के गर्न सक्छन् ? यी चार आर्यसत्य नै नव बौद्धमार्गी वा अन्य धर्ममा लागेका व्यक्तिका लागि सबैभन्दा ठूलो चुनौती हुन् । यी आर्यसत्यले मानिसमा भएको आशा पनि मेटाउँछन् । यी आर्यसत्यले बुद्धका नैतिकतालाई निराशावादी बनाउँछन् । के यी आर्यसत्यहरू बुद्धको मूल उपदेशमा नै समावेश गरिएका छन् कि यिनीहरूलाई पछिल्ला संस्करणहरूमा भिक्षुहरूले थपेका हुन् ?

तेस्रो प्रश्न आत्मा, कर्मपुनर्जन्मका सिद्धान्तसँग सम्बन्धित छन् । बुद्धले आत्माको अस्तित्वलाई नकारे तापनि कर्म र पुनर्जन्मका सिद्धान्तका प्रतिपादन भने गरेका छन् । यसले गर्दा पनि तुरुन्तै एउटा प्रश्न उठ्छ । यदि आत्मा हुँदैन भने कर्म कसरी हुन्छ ? यदि आत्मा हुँदैन भने पुनर्जन्म कसरी हुन्छ ? यी प्रश्नहरू भ्रामक छन् । भगवान् बुद्धले कुन अर्थमा कर्म र पुनर्जन्म शब्दका प्रयोग गरेका थिए ? के उनले भनेको अर्थ र ब्राह्मणले प्रयोग गर्ने अर्थमा भिन्नता छ ? छन् भने कसरी भिन्न छन् ? के ब्राह्मणले प्रयोग गर्ने अर्थ र बुद्धले प्रयोग गरेका अर्थ समान छन् ? छन् भने आत्माको अस्तित्व नकारी कर्म र पुनर्जन्मको दृढ प्रतिपादन गर्नु नै भयानक विसङ्गति होइन ? यो विसङ्गतिको समाधान गर्नु आवश्यक छ ।

चौथो प्रश्न भिक्षुहरूसँग सम्बन्धित छ । भिक्षुको निर्माण गर्नमा बुद्धको के उद्देश्य थियो ? के यो एक परिपूर्ण मानिस तयार गर्न गरिएको थियो ? कि यो आफ्नो जीवन सेवा गर्न समर्पित गर्ने समाजसेवीको तयारी गर्न गरिएको थियो ? एक यस्तो व्यक्तिको तयारी जो मानवका साथी, मार्गदर्शक र दार्शनिकका भूमिका निर्वाह गर्छन् ? यो एक महत्त्वपूर्ण प्रश्न हो । बौद्ध धर्मको भविष्य यस प्रश्नमा भर पर्छ । यदि एक भिक्षु एक परिपूर्ण मानिस हुन् भने उनले बौद्ध धर्मको प्रवर्तन गर्नु आवश्यक पर्दैन, गरे भने उनी परिपूर्ण भएपनि स्वार्थी कहालाउँछन् । यो सिद्धान्तको विपरीत अर्को सिद्धान्त अनुसार यदि एक भिक्षु समाजसेवी हुन् भने उनी बौद्ध धर्मका लागि नवीन आशा हुन सक्छन् । यस प्रश्नको निर्णयलाई दार्शनिक सिद्धान्त भन्दा पनि बौद्ध धर्मको भविष्यको चासोको विषयको रूपमा हेर्नु आवश्यक छ ।

विषयसूची[सम्पादन गर्नुहोस्]

प्रथम काण्ड: सिद्धार्थ गौतम[सम्पादन गर्नुहोस्]

  1. जन्म देखि गृहत्यागसम्म
  2. सधैँको लागि अधिनिष्क्रमण
  3. नयाँ प्रकारको खोजमा
  4. ज्ञानप्राप्ति र नयाँ मार्गको दर्शन
  5. बुद्ध र उनका पुर्खा
  6. बुद्ध र उनका समकालीन
  7. समानता तथा विषमता

द्वितीय काण्ड: धम्म दीक्षाहरूको आन्दोलन[सम्पादन गर्नुहोस्]

  1. बुद्ध र उनका विषाद योग
  2. परिव्राजकहरूको दीक्षा
  3. कुलीन तथा धार्मिकहरूको धम्म दीक्षा
  4. जन्मभूमिको आह्वान
  5. धम्म दीक्षाको पुनारारम्भ
  6. निम्नस्तरका मानिसहरूको धम्म दीक्षा
  7. महिलाहरूको धम्म दीक्षा
  8. पतित तथा अपराधीहरूको धम्म दीक्षा

तृतीय काण्ड: बुद्धले के सिकाए ?[सम्पादन गर्नुहोस्]

  1. धम्ममा भगवान् बुद्धको स्थान
  2. बुद्धको धम्मको बारेमा विभिन्न विचार
  3. धम्म के हो ?
  4. अधम्म के हो ?
  5. सद्धम्म के हो ?

चतुर्थ काण्ड: धर्म (मजहब) र धम्म[सम्पादन गर्नुहोस्]

  1. मजहब र धम्म
  2. शाब्दिक समानताले कुन प्रकारले तात्विक भेदलाई लुकाएर राख्छ
  3. बौद्ध जीवनको मार्ग
  4. बुद्धको उपदेश

पञ्चम काण्ड: सङ्घ[सम्पादन गर्नुहोस्]

  1. सङ्घ
  2. भिक्षु: भगवान् बुद्धको कल्पना
  3. भिक्षुको कर्तव्य
  4. भिक्षु र गृहस्थ समाज
  5. गृहस्थ धर्मावलम्बीका लागि विनय

षष्ठ काण्ड: भगवान् बुद्ध र उनका समकालीन[सम्पादन गर्नुहोस्]

  1. बुद्धका समर्थक
  2. बुद्धका विरोधी
  3. धम्मको आलोचक
  4. समर्थक र प्रशंसक

सप्तम काण्ड: महान् परिव्राजकको अन्तिम चारिका[सम्पादन गर्नुहोस्]

  1. निकटस्थ जनहरूसँग भेट
  2. वैशालीसँग विदाइ
  3. महापरिनिर्वाण

अष्टम काण्ड: महामानव सिद्धार्थ गौतम[सम्पादन गर्नुहोस्]

  1. उनको व्यक्तित्व
  2. उनको मानवता
  3. उनलाई के मन पर्दैनथ्यो र के मन पर्थ्यो ?

समाप्ति[सम्पादन गर्नुहोस्]

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आम्बेडकर, बी. आर., "The Buddha and His Dhamma" [भगवान् बुद्ध र उनका धम्म], कोलम्बिया विश्वविद्यालय, अन्तिम पहुँच २७ डिसेम्बर २००८ 
  2. आम्बेडकर, बी. आर. (सन् १९५७), The Buddha and His Dhamma [भगवान् बुद्ध र उनका धम्म] (अङ्ग्रेजीमा), मुम्बई: सिद्धार्थ महाविद्यालय, पृ: ५९९। 
  3. ३.० ३.१ "Unpublished Preface" [अप्रकाशित प्रस्तावना], कोलम्बिया विश्वविद्यालय, मूलबाट २ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०२ मिति
  4. "Welcome to Open Library | Open Library" [ओपन लाइब्रेरीमा स्वागत छ], ओपन लाइब्रेरी, मूलबाट १९ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०१९ 
  5. प्रिचेट, फ्रान्सिस, "The Buddha and His Dhamma, by Dr. B. R. Ambedkar" [भगवान् बुद्ध र उनका धम्म, बी. आर. आम्बेडकर], कोलम्बिया विश्वविद्यालय, अन्तिम पहुँच १५ अप्रिल २०१८ 

बाह्य कडी[सम्पादन गर्नुहोस्]