न्याउली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

न्याउली
नेपालको गोदावरीमा पाइएको न्याउली
न्याउलीको आवाज, भक्तपुरको सूर्यविनायक वनमा रेकर्ड गरिएको
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
M. virens
वैज्ञानिक नाम
Megalaima virens
(बोडाएर्ट, 1783)

न्याउली अथवा न्याउली चरी (वैज्ञानिक नाम: Megalaima virens हाल: Psilopogon virens)[२][३][४] नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ग्रेट बार्बेट (Great Barbet) भनिन्छ । यो फागुन चैत्र महिनामा उजाड मौसम भएको बेला निरन्तर रूपमा कराउने हुँदा यसले मानिसलाई बिरह लगाउँछ भन्ने जनविश्वास छ ।

न्याउलीको "विरह"[सम्पादन गर्ने]

नेपालमा पाइएको न्याउली

न्याउली चरीको स्वर फागुन, चैतबैसाख महिनामा मुख्यतया सुन्न सकिन्छ। तर माघ र कहिलेकाही पुसको अन्त्यमा पनि न्याउलीलाई सुन्न सकिन्छ। विरही बिम्बको रूपमा न्याउली चरा नेपाली समाजमा परिचित छ। न्याउलीको विरहपूर्ण स्वरको प्रसङ्ग विभिन्न लोकगीत, कविता र समकालीन गीतहरुमा पाइन्छ। फागनु, चैत र वैशाख महिनाको उजाड मौसममा न्याउली चराको विरही धुन सुनिन्छ। रोल्पा, रुकुमजस्तै पहाडी जिल्लामा फागुन, चैत महिनामा गहुँ, जौ बाली भित्र्याउने चटारो हुन्छ। उजाड र टन्टलापुर घाममा बारीको गहुँ, जौ स्याहार्दै गर्दा वल्लो पखेरा र पल्लो पखेराका अग्ला रूखमा न्याउली चराको धुन सुनिन्छ।जो निकै विरही खालको हुन्छ।

रोल्पाका ज्यष्ठहरुमा न्याउली चरीको स्वरमा लुकेको विरह र दुखको लोककथामा पाइन्छ[५]। कथा अनुसार सत्य युगमा एक परिवारमा सासू बुहारी थिए। सासूआमा कडा स्वभावकी थिइन्। बुहारीको एक छोरा पनि थियो।

फागुन, चैत महिनाको उराठलाग्दो मौसममा बुहारीलाई ती सासूआमाले बारीको काममा पठाइन्। बारीको सबै काम सकाएर मात्र फर्किनू भन्ने सासूआमाले उर्दी लगाइन्। दूधे छोरालाई घरकै झोलुङ्गोमा सुताएर बुहारी बारीको काममा निस्किन्। यता बारीको काम सकाउन बुहारीलाई हम्मेहम्मे परेको थियो, उता बोली नफुकेको दूधेछोरा भोकले रुन रुन थाल्यो । बारीमा व्यस्त आमाले पर्ख, पर्ख भन्दै कामकै मेलोमा तल्लीन रहिन्। भोकले लखतरान परेको छोराको अन्ततः शरीरमा चराको पखेटा उम्रिन थाल्यो। सुताएको झोलुङ्गोबाट उडेर ‘न्या हुँ, न्या हुँ’ भन्दै उडेर टाढा गयो।

बारीको काममा व्यस्त आमाको कानमा छोराको रुवाइको मधुर स्वर सुनियो। आमाको मन झन झस्कियो। यसो हेर्दा, छोरा त उड्दै रूखको डालीडालीमा पुगिरहेको छ ! हतासमा आमाले पनि शरीरमा पखेटा हालेर छोरालाई पछ्याउन पुगिन्। तर, छोरा भेट्टाउन सकिनन्। समयमै आमाले दूध चुसाउन नआएको पीरमा जन्मिदादेखि आमाले चुसाएको दस धारा दूध फिर्ता गर्ने निँहुमा छोरा पुगेको थियो। दुधिलोको हाँगामा बसेर छोराले एकधारा दूध खन्यायो। भुरुरु उडेर खिर्राको रूखमा अर्को धारा दूध खनायो। यसैगरि छोराले तिमला, बिरौला लगायतका रूखका हाँगामा गएर दस धारा दूध खनायो। छोराको त्यो तरिका देखेर आमाको मन भक्कानियो। आमाले छोरालाई ‘पर्ख पर्ख’ भन्दै गए पनि अन्ततः छोराले आमालाई सराप्न पुग्यो।

रुँदै भोकले अलापविलाप गर्दा पनि दूध नचुसाउएको झोंकमा छोराले दूध मात्र फिर्ता गरेन्, गर्भदेखि नै आफ्नो शरीरमा आएको आमाको रगत खन्ने रूखको हांगामा गएर खनायो। त्यसपछि छोराले आमालाई सराप दियोे, ‘आमा अब तपाई र मेरो जिन्दगीमा देखादेख होस्। तर, भेट कहिल्यै नहोस् !’

यसरी आमा छोरा न्याउली चरा बन्न पुगे। त्यसैले अहिले पनि छोरा न्याउली चराले दूध खुवाउन आउनलाई आग्रह गर्दै, ‘न्या हुँ, न्या हुँ ! शब्द धुन निकाल्ने गरेको जनविश्वास छ। त्यस्तै अर्को रूखको हाँगामा बसेर आमा न्याउली चरीले ‘पर्ख पर्ख’ भनिरहेको बूढापाका बताउँछन्। यहीँ वियोगान्त लोककथाले न्याउली चरा विरही बिम्ब बन्न पुगेको मान्न सकिन्छ।

जुनजुन रूखमा पखेटा हालेर उडेको छोराले दूध खनायो तिनै रूखको चोप दूध जस्तै हुने जनविश्वास छ। रगत खन्याएकाले खन्ने रूखको चोप रगतजस्तै रातो भएको विश्वास गरिन्छ। त्यहीँ सरापले न्याउली चरी र चरा कहिल्यै भेट हुँदैनन् भनिन्छ। एउटै रूखमा उनीहरू देखिन्नन् पनि। वल्लो र पल्लो पखेराको रूखमा धुन (स्वर) निकालेको पाइन्छ। सरापकै कारण आमा न्याउली चरी र छोरा न्याउली चराको कहिल्यै भेट नहुने जनविश्वास रहिआएको छ।

नेपालमा पाइने न्याउली चरासँग सायद कोही अनविज्ञ छैनन् होला। अंगे्रजीमा गे्रट बार्बेट भनिने चरासँगको वियोगान्त लोककथाले पक्कै एउटा युग र मानिसको विश्वास बोकेको छ। उल्लिखित लोककथा सुनेरै होला न्याउली चराको धुन एकहोरो ‘न्या हुँ, न्या हुँ’ र न्याउली आमा चरीको धुन ‘पख, पख’ सुनिन्छ।

न्याउली चरीको फैलावट[सम्पादन गर्ने]

भारतको उत्तराखण्डमा पाइएको न्याउली

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अनुसार न्याउली बङ्गलादेश, भुटान, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान, भियतनामनेपालमा पाइन्छ[२]। यसैगरि न्याउली अहिले सम्म ३००० मिटरको उचाइसम्म पाइएको छ। धेरै मुलुकहरुमा न्याउलीको वासस्थान भएतापनि वनक्षेत्रको फडानीका कारण जनसंख्या घट्दै गएको छ।

तस्विर सङ्ग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. BirdLife International (२०१२), "Megalaima virens", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२ 
  2. २.० २.१ BirdLife International (२०१८), "Psilopogon virens", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१८।
  3. Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names
  4. (2005) , website, Zoonomen - Zoological Nomenclature Resource, 2005.12.06
  5. खेमबहादुर बुढा, अन्रपूर्ण पोष्ट(नेपालीमा): न्याउली चरीको विरह अन्तिम पहुँच ०२ भदौ २०७६ १२:२३:००

बाह्य कडीहरू[सम्पादन गर्ने]