बाइसे राज्यहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बाइसेबाट अनुप्रेषित)

पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपाल विभिन्न राज्य रजौटामा विभक्त भएको इतिहासले बताउँछ। यो राज्य सन् १४०५ मा बिघटित भयो। यि राज्य मध्ये पश्चिमका बाइसे राज्यचौबीसी राज्यहरू उल्लेखनीय थिए । पश्चिमी नेपालको खस राज्य इशाको चौधौँ शताव्दीको उत्तरार्द्धतिर विखण्डित भई ठाउँ ठाउँमा सामन्तहरू स्वतन्त्र हुन थाले। यस प्रकारसँग नेपालको गण्डकी क्षेत्रमा चौबिसे र कर्णाली क्षेत्रमा बाइसे राज्यहरू बनेका थिए। [१]

बाइसे राज्य भनिएको कारण[सम्पादन गर्नुहोस्]

जुम्ला राज्यमा ११ वटा पर्वत र ११ वटा नदी भएकाले पहिले पनि जुम्लालाई बाइस पाखा भनिन्थ्यो भने जुम्ली जनतालाई बाइस पख्याली भनिन्थ्यो। यस कुरालाई वि.सं. १८०२-१८०८ मा जुम्लाका राजा सुदर्शन शाहको ताम्रपत्र, वि.सं. १८५५ मा सुब्बा भयहरण थापाको आज्ञापत्र र वि.सं. १८७८ मा लेखिएको कल्याल वंशावलीमा उल्लेख गरिएको छ। [२] त्यस कारण जुम्ला राज्यको प्रभावमा रहेको र जुम्ला राज्यलाई वार्षिक कर (सिर्तो) बुझाउने सम्पूर्ण कर्णाली क्षेत्रका राज्यहरूलाई बाइसे राज्य भनियो। यसरी रहेका बाइसी राज्यहरूमा विद्वान भेन्सिटार्टले २२ वटा, कर्कप्याट्रिकले १८ वटा, बुचानन ह्यामिल्टनले २१ वटा, ओल्डफिल्डले १८ वटा र प्रा. डा. राजाराम सुवेदीले ३० वटा नामहरू प्रकाशन गरेका छन्।[२]

२२ से र २४ से राज्यका नाम[सम्पादन गर्नुहोस्]

नेपालमा हाल सम्म प्रकाशन भएका विभिन्न पुस्तकहरूमा बाइसे र चौबिसे राज्यहरूका नाम कतिपएमा फरक फरक पाइएका छन् । यि सबै पुस्तकमा भएका नामहरूका राज्यहरू कुनै न कुनै बेला एक पटक स्थापना भएकै थिए । त्यो बेलामा राज्यहरू फुट्ने र जुट्ने काम चलिरहन्थ्यो । बाइसे राज्य भनिएता पनि कर्णाली क्षेत्रका राज्यहरूको सङ्ख्या घटेर कुनै बेला अठार वटा सम्म पुगेको छ भने कुनै बेला बढेर तिसवटा सम्म पनि पुगेको पनि देखिन्छ । त्यही नियम चौबिसे राज्यहरूमा पनि लागु भएको छ ।[२] विभिन्न पुस्तकहरूमा लेखकहरूले प्रकाशित बाइसे र चौबिसे राज्यहरूका नामहरू यस प्रकार रहेका छन् ।


जनपद प्रहरी प्रतियोगिता सोपान[सम्पादन गर्नुहोस्]

२२ से राज्यहरू

१—जुम्ला, २– जाजरकोट, ३— सल्यान, ४— अछाम, ५— रुकुम, ६— विलासपुर, ७— दुल्लु, ८— डोटी, ९— दैलेख, १०— आठबीस, ११— सान्नी, १२— दर्ना (अछाम) १३— विमकोट, १४—बोगटान, १५— गजुल (रोल्पा) १६— खुम्म्री (रोल्पा) १७— बाजुरा, १८— मालनेटा, १९— बझाङ, २०— दाङ, २१— जहरी, २२— थलार [४]

२४ से राज्यहरू

बाइसे राज्यहरू: १– अछाम, २– खुम्री, ३– जुम्ला, ४–डोटी, ५–छिल्ली, ६–जहारी, ७–वर्मा, ८–थलरा, ९ –दैलेख, १०– दुल्लु, ११–सल्यान, १२– सान्नी, १३ – बझाङ, १४– बाजुरा, १५– हामकोट, १६– रुकुम, १७– रोल्पा, १८– विमकोट,१९–विलासपुर, २० – बोगटान, २१– गुमकोट, २२– मालनेटा[५]

चौबिसे राज्यहरू

१— पाल्पा, २— घिरिङ, ३— सतहुँ,४—लमजुङ, ५—रिसिङ्,६—अर्घा, ७— इस्मा, ८—जाजरकोट, ९—कास्की, १०—खाँची, ११—गलकोट, १२—गरहुँ, १३— गोरखा,१४— गुल्मी, १५— ढोर, १६— तनहुँ, १७— धुरकोट, १८— नुवाकोट, १९— पर्वत, २०— पैयुँ, २१— प्युठान, २२— भिरकोट, २३— ताकी, २४– मुसीकोट[५]

बाइसे राज्यहरूका नाम तथा स्थापना[सम्पादन गर्नुहोस्]

अभय मल्लको शासनकालमा खसमल्ल साम्राज्यको पतनअगावै कुमाउँ, गढवाल, खारी प्रदेश र डोटी प्रदेश स्वतन्त्र भइसकेका थिए। अभय मल्लकै समयमा मलैबम्मले कालीकोटको मान्मा खाँडाचक्रमा आफ्नो छुट्टै राज्य स्थापना गरिसकेका थिए। वि. सं. १८४६ को आसपासदेखि अलग-अलग राज्यको रूपमा टुक्रिँदै गएको विशाल खसमण्डलको भु-भाग पृथ्वीनारायण शाहको एकिकरण अभियान अगाडिसम्म पनि टुक्रिने र जुट्ने क्रम चलिनै रहेको थियो।[२]

विशाल सिञ्जा साम्राज्यको पतन भएपछि वि.सं. १४४६ मा सान्नी,

वि.सं. १४५३ मा दुल्लुगोताम राज्य बने।

वि.सं. १४५५ मा जुम्ला, जाजरकोट (जक्तिपुर) र रुकुम राज्य स्थापना भए।

वि.सं. १४६५ मा धुर्कोट राज्य बन्यो।

वि.सं. १४७५ मा विलासपुर, जहारी, पल्लो मुसीकोट, बाफिकोट र सल्यान राज्य स्थापना भए।

वि.सं. १४८५ मा अछाम र दर्ना राज्य बने।

वि.सं. १४९० मा अर्घा राज्यको स्थापना भयो।

वि. सं. १४९२ मा खाँची राज्य बन्यो।

यसैगरी वि.सं. १४९३ मा पर्वत र गुल्मी राज्य स्थापना भए।

वि.सं. १५०० मा भिरकोट राज्य स्थापना भयो।

वि.सं. १५०२ मा पैयुँ राज्यको स्थापना भयो भने

वि.सं. १५०३ मा बझाङ र थलारा राज्य स्थापना भए।

वि.सं. १५०७ मा दार्मा र थुनी बोसाकोट राज्य स्थापना भए भने

वि.सं १५१० मा ढोर, सतहुँ, गह्रौं र नुवाकोट राज्य स्थापना भए। यसैगरि

वि.सं. १५२४ मा कास्की राज्य स्थापना भयो।

वि.सं. १५५० मा दाङ, गजुल, लमजुङ जिल्ला, पाल्पा, इस्मा र वल्लो मुसीकोट राज्य स्थापना भए। यसै क्रममा

वि.सं. १५५५ मा बाजुरा राज्य,

वि.सं. १५६० मा प्युठान राज्य,

वि.सं. १६०० मा घिरिङ राज्य क्रमैसँग स्थापना भए।

यसैगरि वि.सं १६१० मा तनहुँ, रिसिङ, दर्छा रामपुर र बुटवल राज्य स्थापना भए भने

वि.सं. १६१६ मा गोरखा राज्य,

वि.सं. १६२५ मा धुलीकोट राज्य,

१६३१ मा गलकोट र पालाकोट राज्य,

वि.सं. १७३० मा छिल्ली राज्य,

वि.सं. १७५० मा खुङ्ग्री राज्य र

वि.सं. १७९० मा माल्नेटा राज्य बन्न पुगे। डोटी राज्य त वि.सं. १४०९ मा नै स्वतन्त्र राज्यको रूपमा स्थापित भइसकेको थियो। बन्दै र टुक्रिंदै जाने क्रममा राप्तीमाडी नदीको पश्चिम भेगमा बनेका बाइसी राज्यहरूको सङ्ख्या ३१ सम्म पुगेको थियो भने राप्ती र माडी नदीको पूर्वी भेगमा चौबिसी राज्यहरूको सङ्ख्या २९ सम्म पुगेको थियो।[२]

बाइसे राज्यहरू सथापनाको कारण[सम्पादन गर्नुहोस्]

डोटी राज्य सिञ्जा साम्राज्यको केन्दिय शासनप्रणालीसँग ससैन्य युद्ध गरेर नै छुट्टिएको थियो भने अन्य बाइसी चौबिसी राज्यहरू सन्तान दरसन्तानमा अंश वितरण गरिएझैं राज्य बाँडफाडकै प्रक्रियामा स्थापित हुँदै गएका थिए। मुस्ताङबलिहाङ राज्य पहिलेदेखि नै छुट्टै अस्तित्वमा रहेका थिए। मलय वर्माले आफ्नो जीवनकालमै आफ्ना छोराहरू सुमेरू वर्मालाई सल्यान, मेदिनी वर्मा (जक्तिसिंह)लाई जाजरकोटको जक्तिपुर, पिताम्बर (पर्वता वा पृथ्वीवर्मा)लाई रुकुम र संसारी वर्मालाई दुल्लु र अछाम भेकका महा मण्डलेश्वरको रूपमा नियुक्त गरी आफू सयं खाँडाचक्रबाट महाराजाधिराजको हैसियतामा शासन गरिरहेका थिए। मलै वर्माको मृत्यु पश्चात ती सबै छोराहरूले आफ्नो आफ्नो क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरी राजा बन्न पुगेको थिए। यसै क्रममा अभय मल्लको पलायनपश्चात वि.सं. १४५३ मा संसारी वर्माले आफू महामण्डलेश्वर भएको दुल्लुक्षेत्रलाई नै सर्वप्रथम दुल्लु राज्यको रूपमा घोषणा गरी आफू त्यहाँका राजा बने, तर मलय वर्माका सबै छोराहरू सँगसँगै राज्य टुक्राउँदै राजा भएका थिएनन् र सिञ्जा साम्राज्यलाई टुक्राउँदै बाइसे चौबिसे राज्य बनाउने उनीहरू मात्र थिएनन्। वि.सं. १४५३ मा दुल्लु राज्य मात्र नभएर गोताम राज्य पनि अलग भइसकेको थियो। त्यसैगरी वि.सं. १४५५ मा जुम्ला, जाजरकोट (जक्तिपुर) र रुकुम राज्य स्वतन्त्र भएका थिए। वि.सं. १४६५ मा धुर्कोट राज्य, वि.सं. १४७५ मा विलासपुर, जहारी, पल्लो मुसीकोट, बाँफी र सल्यान राज्य स्वतन्त्र भएका थिए। त्यस कारण बाइसे र चौबिसे राज्यको जग मलय वर्मा र उनका छोराहरूले बसालेका थिए भन्नु पनि न्यायसङ्गत देखिदैन। सबै भुरे टाकुरे सामन्तहरू सिञ्जा साम्राज्यको अधिनताबाट मुक्त भएर स्वतन्त्र राजा बन्न चाहन्थे। [२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आधारभूत सामान्यज्ञान २०६०, मकालु बुक्स एण्ड स्टेशनर्स
  2. २.० २.१ २.२ २.३ २.४ २.५ कीर्तिखम्ब पहिलो संस्करण पृष्ठ सङ्ख्या २४- २९ लेखक विश्व के.सी. (पोखरेल)
  3. खगेन्द्र निरौला रत्न पुस्तक भण्डार भोटाहिटी काठमाण्डौ द्वारा प्रकाशित प्रथम संस्करण २०४८ को नेपाल परिचय , पृष्ठ सङ्ख्या ३५
  4. ४.० ४.१ जनपद प्रहरी जवान प्रतियोगिता सोपान, पृष्ठ—२६७ , २०६९ साल , नविनतम संस्करण, प्रकाशक शिक्षा—परीक्षा सामग्री केन्द्र बागबजार, काठमाण्डौका
  5. ५.० ५.१ जनपद प्रहरी जवान परीक्षा दिग्दर्शन पृष्ठ–२५६, संस्करण २०६९÷७०, प्रकाशक : आशिष बुक्स हाउस प्रा.लि. बागबजार काठमाण्डौ