सामग्रीमा जानुहोस्

स्यालापाखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्यालापाखा
पूर्व गाविस
स्यालापाखा is located in लुम्बिनी प्रदेश
स्यालापाखा
नेपालको नक्सामा स्यालापाखाको अवस्थिति
स्यालापाखा is located in नेपाल
स्यालापाखा
स्यालापाखा (नेपाल)
निर्देशाङ्क: २८°३८′N ८२°५५′E / २८.६३°N ८२.९१°E / 28.63; 82.91निर्देशाङ्कहरू: २८°३८′N ८२°५५′E / २८.६३°N ८२.९१°E / 28.63; 82.91
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम जिल्ला
जनसङ्ख्या
 • जम्मा५,४३३
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

स्यालापाखा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४३३ रहेको थियो जसमध्ये २५३० पुरुष र २९०३ महिला रहेका थिए भने यहाँ ११६० घरधुरी रहेको थियो।[] यसको साविकका (१,२,५,६,७,८,९) वडाहरू हाल सिस्ने गाउँपालिकामा पर्दछ भने ३ र ४ नम्बर वडाहरू मुसिकोट नगरपालिकामा पर्दछ।

पहाडी भू-भागमा रहेको स्यालापाखा गाविस आफ्नै ऐतिहासिक भौगोलिक धार्मीक राजनीतिक तथा सामाजिक महत्त्व र विशेषता बोकेर रहेको छ।

नेपालको नक्साजस्तै लाम्चो आकारमा फैलिएर स्यालापाखा गाविस विचैमा अटल र अचल अवस्थामा रहेको छ। यस गाविसको सिमाना हुँदै सानीभेरी नदी बगिरहेको छ। स्यालापाखा गाविसको पूर्वको अन्तिम विन्दु नाथिगाडदेखि परिश्चमको अन्तिम विन्दू कैलदेउ खोलासम्मको करिव पाँच किलो मिटरको दुरीमा सानीभरी नदी बगेको कारणले यस गाविसलाई थप शोभायमान बनाएको छ।

स्यालापाखा गाविसको नामाकरणलाई नियाल्ने प्रयास गर्दा कुनै ऐतिहासिक आधार नभई भौगोलिक अवस्थितिअनुसार नामाकरण गरिएको पाइन्छ। यस गाविस उत्तरतिर फर्कीएको कारण हिउँदमा ज्यादै मात्रमा कम घाम लाग्ने र ओसिलो भइराख्ने भएकाले स्थानीय भाषा अनुसार स्याला भन्ने गरेको पाइन्छ। यसैलाई भाषाको विकास क्रमसँगै स्यालापाखा नाम राखिएको स्थानीय वुढापाकाहरूले भन्ने गरेको भनाई पाउन सकिन्छ।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

मनोरम पहाडी गाविस स्यालापाखा, भौगोलिक अवस्थिति अनुसार २८ डिग्री ४० मिनेट ३६ सेकेन्ड देखि २८ डिग्री ३७ मिनेट २० सेकेन्ड उत्तरी अक्षांस र २८ सेकेन्ड ३४ मिनेट ३८ सेकेन्ड देखि २८ डिग्री २७ मिनेट २४ सेकेन्ड पूर्वी देशान्तर भित्र पर्दछ। स्यालापाखा गाविसको पूर्वमा शोभा, पश्चिममा झुला, उत्तरमा बाफिकोट, पिपल, पोखरा र दक्षिणमा मुसीकोट, खलङ्गासाँख गाविस रहेका छन। नापी शाखा रुकुमको रेकर्ड अनुसार यो गविसको क्षेत्रफल तीन हजार दुई सय ९३ हेक्टर रहेको छ। यस गाविसको भू-धरातलीय स्थिति समुन्द्र सतहबाट करिब एक हजार मिटरदेखि दुई हजार ६ सय १४ मिटर जन्ती बस्ने लेकसम्मको उचाईमा रहेको छ।

राजनीतिक विभाजन

[सम्पादन गर्नुहोस्]

राजनीतिक विभाजन अनुसार यो गाविस निर्वाचन क्षेत्र नम्बर १ इलाका नम्बर २मा पर्दछ। यस गाविसको भौगोलिक स्वरूपलाई हेर्दा लेक मध्य भूमि र ज्यूला गरी तीन भागमा बाँडीएको छ।

२०५८ सालको जनगनणा अनुसार १ हजार १ सय ३६ घरधुरी सङ्ख्या रहेको छ भने ३ हजार ६ सय महिला र ३ हजार ३ सय ६८ पुरुष गरी ६ हजार ९ सय ६८ जनसङ्ख्या रहेको छ। यस गाविस अधिकांश परिवार कृषि पेशामा आधारित रहेका छन् भने युवाहरू रोजगारीको शिलशिलामा अन्य मुलकमा गएको पाइन्छ। फलफूलको लागि अत्याधिक उपयुक्त यस गाविसमा सुन्तला, मौसम, कागती, अमिला लगायतका फलफुलका विरुवाहरूको उत्पादन गरिन्छ। जिल्लाको सवैभन्दा राम्रो सुन्तला उत्पादन हुने गाविस भनेर पनि स्यालापाखा गाविसलाई नै चिनिन्छ।

स्यालापाखा गाविसको विच भागबाट सडक पूर्वतर्फ गएको छ भने जीटीजेट(GTZ)को आर्थिक सहयोगमा गएको मंसिर महिना देखि हरेक महिनाको २४ गते हाट बजार गर्ने प्रथाको सुरुवात पनि भएको छ। महिना-महिनामा आफुले उत्पादन गरेका नयाँ चिज बस्तुको प्रदर्शन र सुपथ मुल्यमा ब्यापार गर्नका लागि हाटबजारको सुरुवात गरिएको हो। मकै, धान, गहुँ, कोदो, जौ आदि यस गाविसमा उत्पादन हुने प्रमुख कृषि बाली हुन भने खुर्सानी, तोरी, अदुवा, बेसार, अलैँची जस्ता नगदे बाली उत्पादन हुनेगर्दछ। यसरी नै ताजा तरकारी काउली, बन्दागोभी, आलु, पींडालु, सीमी, बोडी, फर्सी, मूला, लसुन, प्याज आदी उत्पादन हुने गर्दछ। सुन्तला, कागती, आरु, आरुवखडा, जुनार, मेवा, सखरखण्ड, स्याउ, बदाम, केरा यस क्षेत्रमा उत्पादन हुने मुख्य फलफूल तथा कन्दमुलहरू हुन। स्यालापाखा गाविसमा विभिन्न जातजातीहरू बसोवास गरेको भएपनि यिनीहरूको भेषभुषा लवाइ-खवाई, रिति-रिवाज, चाल-चलन र परम्परामा समानता रहेको पाइन्छ। यस गाविसको मध्य भागमा रहेको ब्रह्मा थान र यहाँका सवैभन्दा उच्चस्थानमा रहेको बराह थान यस गाविसका प्रमुख धार्मीक स्थलहरू हुन। भलखोला, छिङ, कैलदेऊ, सानचौर र नाथीगाडमा लाग्ने यस गाविसका प्रमुख जात्राहरू हुन्। समशितोष्ण हावा पानी रहेको यस गाविसमा विभिन्न खालका बोटविरुवा तथा कुरीलो, टीमुर, भलायो, रिठा, पाखनवेत, असुरो, शिल्पु, सिल्पारो, दालचिनी, पदमचाल, तिते, सेतेवा, पाङर, कुट्की, सुगन्धवाल र समायो जस्ता महत्त्वपूर्ण जडिबुटीहरू पनि पाइने गर्दछन।

स्यालापाखा गाविसमा केही ऐतिहासिक तथा पर्यटकीय महत्त्वका स्थानहरू पनि लुकेर रहेका छन् जो राज्यको नजरमा पुग्नुपर्ने हो पुग्न सकिरहेको छैन्। नौ ओटा मूलबाट छुट्टाछुटै झरना झरेर एउटै खोलामा झर्ने मनोरम पर्यटकीय स्थल नौधारीलेक यस गाविसको उच्च स्थान जन्ती बस्ने लेकमा रहेको बराह थान पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानहरू हुन्।

२०२२ सालमा प्राथमिक विद्यालय छिङको रूपमा स्थापना भई औपचारिक शिक्षाको सुरुवात भएको यस गाविसमा हाल उच्च माद्यामिकसम्मको विद्यालयको निर्माण भएको छ। समग्रमा हेर्दा यो गाविस सदरमुकाम खलङ्गादेखि नजीकै भएपनि विकासको दृष्टिले अलिक पछि परेको छ। यद्यपी यस गाविसमा अन्तर्राष्ट्रिय संस्था जीटीजेट(GTZ)ले यहाँको विकासको लागि धेरै लगानी गरेको छ तर सरकारी निकायबाट जति विकास हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन। पर्यटकीय महोत्सव फलफूल तरकारी खेतिको लागि बलियो सम्भावना बोकेको यस गाविस शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत जस्ता आधारभूत आवश्यक्ताबाट बन्चित छ। स्यालापाखा गाविस हुँदै खलङ्गा सम्म विद्युत लाईन पुगेको छ तर स्यालापाखा गाविस भने बत्ति मुनिको अँध्यारोमा बस्न बाध्य भएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "गाविस सूची", रुकुम जिल्ला विकास समिति