महत, पूर्वी रुकुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महत, पूर्वी रुकुम
पूर्व गाविस
महत, पूर्वी रुकुम is located in लुम्बिनी प्रदेश
महत, पूर्वी रुकुम
नेपालको नक्सामा महतको अवस्थिति
महत, पूर्वी रुकुम is located in नेपाल
महत, पूर्वी रुकुम
महत, पूर्वी रुकुम (नेपाल)
निर्देशाङ्क: २८°३८′N ८२°५५′E / २८.६३°N ८२.९१°E / 28.63; 82.91निर्देशाङ्कहरू: २८°३८′N ८२°५५′E / २८.६३°N ८२.९१°E / 28.63; 82.91
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम जिल्ला
जनसङ्ख्या
 • जम्मा४,६२१
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

महत नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६२१ रहेको थियो जसमध्ये २१०० पुरुष र २५२१ महिला रहेका थिए भने यहाँ ९३७ घरधुरी रहेको थियो।[१]

सदरमुकाम मुसिकोट (खलङ्गा) देखि १५ कोष टाढा उत्तर पूर्वमा रहेको महत गाविस भौगोलिक अवस्थिति अनुसार २८ डिग्री ३० मिनेट १५ सेकेन्ड देखि २८ डिग्री ३० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश र ८२ डिग्री ३७ मिनेट ३० सेकेन्ड देखि ८२ डिग्री ४२ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तर भित्र पर्दछ।
नापी शाखा रुकुमको रेकर्ड अनुसार यस गाविसको क्षेत्रफल ४ हजार ४ सय ७४ दशमलव ४७ हेक्टर रहेको छ। महत गाविस रुकुम जिल्लाको राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं. १ र इलाका नं. ४मा पर्दछ। पहाडी भेगमा रहेको महत गविस आफ्नै खालको ऐतिहासिक भौगोलिक धार्मीक राजनीतिक सामाजिक महत्त्व र विशेषता बोकेर रहेको छ।
महत गाविसको पूर्वमा रोल्पा जिल्लाको थवाङ गाविस पश्चिममा रुकुमकोट गाविस उत्तरमा मोरावाङ गाविस र दक्षिणमा चुन्वाङ गाविस र रोल्पा जिल्लाको मिरुल गाविसको विचमा पर्दछ।
यस गाविसको ऐतिहासिक पृष्ठ भूमिलाई खोतल्दा महत गाविसका बुढापाकाका अनुसार महत गाउँका पूर्वजहरू परापूर्व कालमा पूर्वी जिल्ला वाग्लुङमा रहेको गिँजा भन्ने ठाउँबाट तकसेराहुँदै यस गाउँमा बसोबास गर्न आएको र बस्ती बस्नु भन्दा पहिले यस गाविसमा ठूला-ठूला बाँझका रुखहरूलाई खाम भाषमा मै भनिन्छ। त्यही मै भन्ने शब्दको अपभ्रशं हुँदै गएर यस गाविसको नाम महत रहन गएको भन्ने भनाई रहेको छ।
२०५८ सालको जनगनना अनुसार यस गाविसमा महिला दुई हजार तीन सय ७५ जना र पुरुष दुई हजार दुई सय ७२ जना गरी चार हजार ६ सय ४७ जना जनसङ्ख्या रहेको छ।
महत गाविसमा मगर समुदायको बाहुल्यता रहेता पनि क्षेत्री, कामी, सुनुवार, दमाई, नेवार लगायतका दजनौँ जात जातीहरूको बसोवास रहेको छ। खाद्यान्न उत्पादनको दृष्टीले यस गाविसका मानिसहरू कृषि पेशाबाट नै आत्म निर्भर बन्न खोजेका यहाँका स्थानीयवासीहरूले मुख्य रूपमा मकै, गहुँ, जोँ, कोदो, फापर, आलु, सिमी जस्ता खाद्यान्न बालीहरू उत्पादन गरेर जीविका निर्वाह गर्ने गर्दछन्।
यस गाविसको वडा नं. १ र २ मा पर्ने महत गाउँ वडा नं. ४मा पर्ने धर्मशाला वडा नं. ३मा पर्ने लावाङ जस्ता ठाउँहरू यस गाविसका मुख्य तथा घना बस्तीहरू हुन्। महत गाविसको थोरै भाग फाँट र ज्युलामा पर्दछ भने अन्य भाग पहाडी र लेकाली भागमा पर्दछ। कोइचालेक खाम्दै छहराखोला लेक चैतेलेक यस गाविसमा पर्ने अग्ला पहाडहरू हुन्।
महत गाविसमा करिब ८४ हेक्टर वन क्षेत्रले ओगटेको छ भने २ सय २२ हेक्टर जमीन चरण क्षेत्रले ओगटेको छ। महत गाविसमा समशितोष्ण कोणधारी र पतझर जंगल पाइन्छ। यहाँ वाँझ, रइज, फलाँट, लालीगुँरास, ओखर, पाँगर, काफल, सल्लो, उत्तिस, कटुस, बाँस, निगालो, अल्लो आदि बनस्पतिहरू पाइने गर्दछन्।
महत गाविसमा भालु, स्याल, घोरल, थार, राते, दुम्सी, बँदेल आदि बन्य जन्तुहरू पाइन्छन् भने डाँफे, कालिज, तित्रा, चाकुरा, काँडे भ्याकुर आदि पन्छीहरू यस गाविसका गहनाहरू हुन्। महत गाविस पहाडी भेगमा पर्ने भएका कारण कुरीलो टीमुर दालचिनी हर्रो पाँचऔले चिराइतो जटामसी बोझो भलायो आदि जडीबुटीहरू पाइने गर्दछन्।
ब्राह मन्दिर महत गाविसको प्रमुख धार्मिक स्थल हो भने पाथि हाल्ना छहरा खोलो धुरी र ढाटे झरणा यस गाविसका प्रमुख पर्यटकीय स्थलहरूको रूपमा चिनिन्छन्। महत गाविसमा रहेका दामै खोला र रतुवा मारे खोला विद्युत उत्पादनका लागि राम्रो सम्भावना बोकेका खोलाहरू हुन्। २०१९ सालमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना भई औपचारीक रूपमा शिक्षाको सुरुवात भएको यस गाविसमा हाल उच्च माविसम्म कक्षा सञ्चालन हुने गर्दछ। २०५८ सालको तथ्यांक अनुसार महत गाविसको कुल साक्षरता प्रतिशत ३४ दशमलव १४ रहेको छ।
साक्षरता प्रतिशतको अनुपातमा यहाँका मानिसहरू न्युन रूपमा सरकारी पेशामा लागेको पाइन्छ। रोजी रोटीका लागि सहायक पेशाको रूपमा महत गाविसका धेरै जसो मानिसहरू छिमेकी मुलुक लगायतका विश्वका विभिन्न ठाउँमा जाने गरेको पाइन्छ। विकासका आधारभूत पूर्वाधारहरू मध्ये सडकले महत गाविलाई भर्खरै छोएको भएता पनि जति विकास हुनु पर्ने हो त्यति हुन सकिरहेको छैन।
समग्रमा हेर्दा महत गाविस अन्य गाउँ ठाउँको भन्दा विकासको दृष्टिकोणले पछाडी नै परेको छ। विकासका आधारभूत पूर्वाधारहरू शिक्षा स्वास्थ्य साचार यातायात विद्युतले अझैँ पनि यो गाविस भोको नै रहेको छ। यि विकासका पूर्वाधारहरूले छोएमा मात्रै यस गाविसमा विकास भएको भन्न सकिन्छ।
महत गाविसको खोलाहरूको उचित प्रयोग गरेर सिंचाई तथा विद्युत उत्पादन गर्ने र त्यहाँका जडिबुटीहरूलाई सङ्कलन गरेर प्रशोधन गर्न सकेमा मात्रै महत गाविसका मानिसहरू आत्मनिर्भर वन्न सक्ने सम्भावना रहेको पाइन्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "गाविस सूची", रुकुम जिल्ला विकास समिति