स्वच्छन्दतावाद
स्वच्छन्दतावाद (अङ्ग्रेजी: Romanticism), अन्य नाम: रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौँ शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ ।
परिचय
[सम्पादन गर्नुहोस्]Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलाई रोमान्स भानिन्थियो । यस्ता कृतिहरू हल्का, घटिया, असत्य र काल्पनिक हुन्थे । त्यसपछि प्रचीन फ्रान्सेली भाषामा romanz शब्दको प्रयोग पल्पित, असम्भव, वीरतापूर्ण, प्रेमविषयक उपन्यास वा कलाका लागि गर्न थालिएको देखिन्छ । सत्रौ शताब्दीको बेलायतमा पनि यसको प्रयोग कल्पनाप्रधान, हीन तथा असत्यकै सन्दर्भमा भएको पाइन्छ । अठारौ शताब्दीमा प्रथम पटक यसको अर्थ भावुकता, चारुत्व, रमणीयता, रोचकता तथा कल्पनाले युक्त रचनाहरूका लागि गरिएको देखिन्छ । स्वच्छन्दतावादका अनेक परिभाषा पाइन्छन् । तिनमध्ये केही परिभाषा यसप्रकार छन् :
- अङ्ग्रेजी साहित्यका आधुनिक इतिहासकार एमिल लेगुर्इ तथा कजामिया - परम्परावादी कलाका विरुद्ध नवान्मेषकारी सौन्दर्य शास्त्रीय सिद्धान्त नै स्वच्छन्दतावाद हो ।
- वाल्टरपेटर - अद्भूत र सुन्दरताको भव्य मिश्रण स्वच्छन्दतावाद हो ।
- एवरक्रम्बे - स्वच्छन्दतावाद भनेको बाह्य अनुभवबाट आन्तरिक अनुभूतितर्फको प्रयाण हो ।
प्रवर्तन र विकास
[सम्पादन गर्नुहोस्]स्वच्छदतावादमा जर्मन आत्मवादि तथा भाववादी दर्शनको गहिरा प्रभाव परेको देखिन्छ । यस दर्शनका प्रवर्तक हिगेल र सिलर मानिन्छन् । हिगेलका अनुसार साहित्य सिर्जनाको प्रक्रिया जडबाट चेतनतिरको यात्रा हो र चेतन वा बुद्धि अमूर्त, सार्वभौम, विशुद्ध र परम चैतन्यमय हुन्छ । हेगेलले स्वछन्दतालाई भौतिकवादमाथि आत्मवादको विजय मानेका छन् ।
स्वच्छन्दतावादमा फ्रान्सेली क्रान्ति (१७८९) को पनि उत्तिकै गहिरो प्रभाव परेको छ । ज्याँ ज्याक रुसोका विचारधाराले एकातिर क्रान्तिका लागि सहयोगी वातावरण तयार पार्न सक्रिय भूमिका निर्वाह गरेको पाइन्छ भने अर्कातिर स्वच्छन्दतावादी सर्जकहरूलाई बौद्धिक, सैद्धान्तिक र भावनात्मक रूपमा प्रभाव पारेको देखिन्छ । अमेरिका र बेलायतमा यसको विकास तीव्र रूपमा भएको छ । बेलायतमा स्वच्छन्दतावादी कविहरूको दुर्इ पुस्ताले यस विचार धाराको संवर्द्धन गरेको देखिन्छ । पहिलो पुस्ताका विलियम ब्लेक, विलियम वर्डस्वर्थ, कलरिज, समालोचक चार्ल्स ल्याम्ब उपन्यासकार जेन अस्टिन, वाल्टर स्कट आदि र दोस्रो पुस्ताका लर्ड वाइन, जर्ज गर्डन, सेली, जोन किट्स तथा गद्य लेखक विलियम ह्याज्लिट आदिको महत्त्वपूर्ण भूमिका रहेको छ ।
विकासका चरणहरू
[सम्पादन गर्नुहोस्]स्वच्छन्दतावाद मुख्य रूपमा सन् १७९८बाट सुरु भर्इ सन् १८३० तिर समाप्त हुन पुगेको देखिन्छ । लगभग तिन दशकको यसको समयावधिलाई निम्नलिखित दुर्इ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ः
पहिलो चरण
[सम्पादन गर्नुहोस्]यस चरणलाई पूर्व स्वच्छन्दतावादी युग पनि भनिन्छ । अठारौँ शताब्दीको मध्यतिर अङ्ग्रेजी कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएको मानिन्छ । यस अवधिका वर्न्स, पर्सी, वार्टन आदिका कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएको छ ।
दोस्रो चरण
[सम्पादन गर्नुहोस्]साहित्यमा स्वच्छन्दतावादको खास प्रवर्तन Lyrical Ballads (१७९८)बाट सुरु भएको देखिन्छ । सन् १८०० मा प्रकाशित यसको भूमिकालाई स्वच्छन्दतावादको घोषणा पत्र मानिन्छ । यस धाराको प्रतिनिधित्व बेलायतमा विलियम ब्लेक, वर्डस्वर्थ, कलरिज आदिले गरेको देखिन्छ भने अमेरिकामा राल्फ वाल्डो, इमरसन, एडगर एलेन पो आदिले गरेको पाइन्छ । त्यस्तै रुसमा अलेक्जेन्डर पुस्किन समेतले यस वादको प्रतिनिधित्व गरेका छन् । यसरी हेर्दा पश्चिमी साहित्यमा स्वच्छन्दतावादको अधिक प्रभाव कवितामा परेको देखिन्छ ।
प्रमुख मान्यता
[सम्पादन गर्नुहोस्]स्वच्छन्दतावादका प्रमुख मान्यतालाई मोटामोटी रूपमा निम्नानुसार अध्ययन गर्न सकिन्छ ः
- वैयक्तिकता : (स्वको अभिव्यञ्जना, व्यक्तिवादी काव्य चिन्तन, रचनामा निजी विषयवस्तुको अभिव्यक्ति) ।
- काल्पनिकता : (यथार्थ जगत्बाट पलायन, काल्पनिक जगतको विचरण, सौन्दर्य प्रेम, प्रकृति प्रेम, प्रकृतिमा र्इश्वरीय सत्ताको अवलोकन आदि) ।
- विद्रोहात्मकता : (अभिजात्य विषय, व्यक्ति परम्परा, शास्त्रीयता आदिको विरोध) ।
- भावुकता : (कृतिमा भावनाको प्रधानता) ।
- अद्भूतता : ( विशेष गरी कृतिमा प्राकृतिक अद्भूतताको चित्रण) ।
- कृत्रिमताबाट मुक्ति ।
- साङ्गीतिकता ।
- मानवतावादी दृष्टिकोण
नेपाली साहित्यमा स्वच्छन्दतावादको प्रयोग
[सम्पादन गर्नुहोस्]नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको प्रवेश वि.सं.१९९१ मा भएको हो । परिष्कारवादको विपरित रूपमा आएको यो प्रवृत्ति नेपाली साहित्यमा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेको देखिन्छ । यसको प्रथम प्रयोग नेपाली कविताबाट भएको पाइन्छ । यसका प्रथम प्रयोक्ता लक्ष्मीप्रसाद देवकोटा हुन्, त्यसैले उनलाई नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको प्रवर्तक मानिन्छ ।
यस प्रवृत्तिलाई अँगाली महाकाव्य, खण्डकाव्य, प्रगीतात्मक संरचनायुक्त काव्यकृतिहरू सिर्जना गर्नेहरूमा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, केदारमान व्यथित, हरिभक्त कटुवाल, अमरसिंह गिरी आदी कविहरू महत्त्वपूर्ण मानिन्छन् ।
साहित्यको गद्य विधातर्फ विशेष गरी आख्यानमा स्वच्छन्दतावादले स्थान पाएको देखिन्छ । रूपनारायण सिंहको भ्रमर उपन्यास (१९९३) को प्रकाशन पछि स्वच्छन्दतावाद एउटा मुख्य धाराका रूपमा देखा परेको हो । यस प्रवृत्तिलाई अंगाली उपन्यास तथा कथा लेख्ने अन्य लेखकहरूमा अच्छा राई रसिक, शिवकुमार राई, कृष्णसिंह मोक्तान, रवीन्द्र मोक्तान, भवानी भिक्षु आदि प्रमुख रूपमा रहेका खेखिन्छन् ।
परिष्कारवादी नियमको कठोर बन्धनलाई पन्छाएर अघि बढेको स्वच्छन्दतावादी अवधिलाई नेपाली साहित्यको स्वर्णयुग मानिन्छ । [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाण्डौ : साझा प्रकाशन