चैत

नेपाली विकिपीडियाबाट
(चैत्र बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

चैत्र (चैत) १२ महिनाहरू अन्तर्गत पर्ने एक महिना हो । प्राचिण ज्योतिषी तथ्यको चन्द्रमास अनुसार यो महिनाको सुरुवात फाल्गुन पूर्णिमाको भोलि पल्ट बाट मानिन्छ भने सौर्यमास अनुसार यो महिनाको सुरुवात मिन सक्रांतीको दिनबाट भएको मानिन्छ । शाक्य संवत्सरका अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको पाँच दिन पछाडी हुन्छ । साधारणतया यो महिनालाई सौर्यमासको नीतिलाई नै व्यवहारमा ल्याएको पाइन्छ । यो महिना बसन्त ऋतुको पहिलो महिना हो । अङ्ग्रजी महिनाको आधा मार्च र आधा अप्रेल गरी चैतको महिना पुरा हुन्छ ।

यो महिनाका प्रमूख पर्वहरू[सम्पादन गर्ने]

यो महिनामा विभिन्न पर्व, राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरू पर्दछन् । हिन्दूहरूको महान चाड चैते दशैंराम नवमी यसै महिना भित्र पर्दछन् । चैत्र कृष्ण पक्षको औंशी तिथीमा काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।

यो महिनामा गर्न हुने र नहुने कार्यहरू[सम्पादन गर्ने]

हिन्दू मान्यता अनुसार यस महिनामा विवाहादी शुभ कार्यहरू गर्नु हुँदैन भन्ने रहेको छ । यो महिनामा जती सक्दो दान गर्नु पर्छ भन्ने मान्यता पनि रहेको छ ।

यस महिनाको बारेमा रहेका भनाईहरू[सम्पादन गर्ने]

कतिपय ठाउँमा यस महिनालाई रित्तो महिना पनि भनेको सुनिन्छ । प्रायः चैतको महिनामा घर बनमा रित्तो महसुस गरिन्छ । गरिबहरूको घरमा अन्नको अभाव, वन पाखामा घाँसको अभाव, खोला नालामा पानीको अभाव, आदी कुराहरूलाई ध्यान दिने हो भने यो महिना एक रित्तो देखिन्छ । कतिपय ठाउँमा यस महिनालाई "लमकोल्थे" भन्ने गरेको पनि सुनिन्छ । यो समयमा लामो दिन सुरु हुने र भोकमारीले सताउने भएकाले "लमकोल्थे आयो केटा-केटी रुहायो" भन्ने उखान विद्यान रहेको छ । यस सम्बन्धमा पश्चिम नेपालको खस सभ्यतामा आधारीत एक दन्त्य कथा विद्यमान रहेको छ ।[१]

" एक किसानले आफ्नी नयाँ बुहारीलाई यो महिनामा अन्न अभाव हुने जानकारी दिंदै बुहारीलाई- "लम्कोल्थे आयो केटा-केटी रुहायो" भन्छन्, त्यसैले अन्नको थमनी गर्नु ।" बुहारी सिधा र सोझी थिइ तसर्थ उसले ससुराको भनाईलाई राम्ररी बुझ्न सकि रहेकी थिइन । ससुरा बुहारीको त्यो कुरालाई एक जना अर्को मान्छेले राम्ररी सुनेको थियो । एक दिन त्यो मान्छे लामो कोल्थो (बोरा) बोकेर बुहारी एक्लै भएको मौका छोपी त्यो घरमा गएर बुहारीलाई कोल्थो देखाउँदै भन्छ - "तिम्रा ससुराले भनेको लम कोल्थे मै हुँ । मसँग लामो कोल्थो भएकोले मलाई लमकोल्थे भनिएको हो ।" उसको कुरा सुनेर सोझी बुहारीले आफ्नो केटा-केटीलाई लमकोल्थेले नरुहाओस् भनेर उससँग "तिमी के गर्न आएका हौ ?" भनेर प्रश्न गरी । लमकोल्थेले लामो कोल्थो देखाउँदै भन्यो- " तिमी मेरो यो कोल्थो अन्नले भर म अहिलै जान्छु ।" त्यो सुनेर किसानकी बुहारीले भित्रबाट अन्न झिकेर लमकोल्थेको कोल्थो भरिदिइ । लमकोल्थे गएको केही दिन पछि ससुराले फेरी "लमकोल्थे आयो केटा-केटी रुहायो" भन्ने कुराको प्रसंग निकाल्यो । त्यो सुनेर बुहारीले ससुरालाई भनी- " ससुरा अब लमकोल्थेको धन्दा नमान्नुहोस् मैले लमकोल्थेलाई पठाइ सकें ।" त्यस पछि ससुराले बुहारीबाट लमकोल्थेको पुरा वृतान्त सुनेर जिल्ल पर्यो ।

सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]

  1. नेपालको मध्य तथा सूदूर पश्चमका विभिन्न क्षेत्रमा प्रचलित भनाईहरू

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]