नेपालको झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
नेपाल
Flag of Nepal.svg
नाम त्रिभुज झण्डा, चन्द्र सूर्य, जङ्गी निशान
प्रयोग राष्ट्रिय झण्डा
अनुपात नेपालको संविधान, २०७२ को अनुसूची १ मा विस्तृत रूपमा वर्णन[१]

अङ्गीकरण गरिएको

२०१९ पुष १ (हालको संस्करण, नेपालको संविधानमा उल्लेखित)
डिजाइन दुई रातो अर्ध-त्रिकोणको वरिपरि ठुलो नीलो किनारा भएको अधिव्यापी दायाँ फर्किएका त्रिकोणहरूको अद्वितीय आकारको संयोजन:। सानो माथिल्लो त्रिकोणमा सेतो शैलीकृत चन्द्रमा (तेर्सो अर्ध चन्द्रमा मा उदाउँदो सूर्य) र ठूलो तल्लो त्रिकोणमा सेतो बाह्र-सूचक सूर्य रहेका छन्।

नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो। यो चारकुने आकार नभएको मात्र दुई सरकारी झण्डा (अर्को झण्डा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो) मध्येको एक हो।[२] नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउँछ। निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।[३]

इतिहास[सम्पादन गर्ने]

हिन्दू धर्मको मान्यता अनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका छन्।[४] राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। उनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झण्डाको भन्दा राजछत्रको बढी महत्त्व हुने गरेको छनक पाइन्छ।

इस्वीको ६०० को मानाङ्कमा (लिच्छविकालीन मूद्रा) नेपाली झण्डा देखिएको कुरा एन. जी. रोड के. ग्यावर्स र सी भदेत्रोले 'क्वाइनेज् अफ नेपाल' मा तथा त्यसमाथि चन्द्र पनि भएको इस्वीको ६०५-६१५ मा ढालिएका मुद्रा नेपाल राष्ट्रिय मूद्रा सङ्ग्रहालयमा भेटिने कुरा ज्ञानमणि नेपालले लेखिसकेका छन्।[५] इस्वीको ६०५ कै अर्को मुद्रामा पछाडि सूर्य र ६४१ कोमा अगाडि पछाडि सूर्य र चन्द्र भएको कुरा ग्यावर्स र भदेत्रोकै किताबमा उल्लेख छ। [६]

नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि सुरु भयो भन्ने बारेमा निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएको छ[७]। वि.सं. ७९२ (संवत् १५९)मा राजा जयदेव (द्वितीय) ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन्।

लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झण्डामा पनि सूर्यको आकृति नै अङ्कित गराएको मानिन्छ। त्यतिवेलाका भारतीय राजाहरूले आफ्ना झण्डाहरूमा उच्चताको प्रतीकका रूपमा गरुड वा हनुमानका चित्रहरू अङ्कित गराउँथे। त्यसैले उनीहरू हनुमद्-ध्वज वा गरुड-ध्वज भनेर चिनिन्थे। लिच्छविकालमै नेपालको राजसत्तामा आएका आभीरवंशी अधिनायकहरूले आफ्नो वंशलाई सोम-वंश वा चन्द्र-वंशको रूपमा चिनाउँथे। आभीर अधिनायक विष्णुगुप्तद्वारा वि.सं. ६९० (संवत् ५७) मा प्रसारित अभिलेखमा आफूलाई सोमान्वय-भूषणः अर्थात् चन्द्रमाको वंशका गहनाजस्ता भएर रहेको उल्लेख गरेका छन्। मल्ल राजाहरू पनि लिच्छविजस्तै आफ्नो राजवंशलाई सूर्य-वंश मान्ने हुनाले उनीहरूले पनि ध्वजमा सूर्यलाई नै अङ्कित गरे होलान्।

प्राचीन नेपालका राष्ट्रिय ध्वजाहरूको आकृति र रङबारे पनि निश्चित भन्न सकिँदैन, राजाहरू प्रायः देवीका उपासक हुने गरेकाले झण्डामा रातो रङ नै प्रयोग गरे होलान् भनेर अनुमान गर्न चाहिँ सकिन्छ। मल्लकालका भवन र मन्दिरका ढोकाहरूमा दुईतर्फ दुई पताका भएका धातुका केतु वा झ्ण्डा टाँगिएका पाइन्छन् जसले नेपालका प्राचीन झण्डाहरूको आकार सङ्केत गर्छन्। यस्ता झ्ण्डामध्ये केहीको माथिल्लो पताकामा राष्ट्रको प्रतीक सूर्य वा चन्द्रमा र तल्लो पताकामा सम्बद्ध देव वा देवीका प्रतीक-चिह्नहरू पाइन्छन्।

वर्तमान नेपालको राष्ट्रिय-झण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन। गोर्खाली राजाहरू आफूलाई चन्द्रवंशीय सम्झ्न्थे। गोर्खालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी नेपाल-अधिराज्य बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय-झ्ण्डाको परिकल्पना गरिएको थियो। मुद्रा र छापहरूमा रातो रङ प्रयोग हुने भएकाले त्यस्ता छापहरूलाई लालमोहर भनियो। पृथ्वीनारायणले प्रचलनमा ल्याएको चन्द्र-सूर्याङ्कित झ्ण्डा पनि रातो नै थियो होला। चन्द्रमाको ज्योति मलिनो र सूर्यको प्रकाश चर्को हुने भएकाले पौराणिक मान्यताअनुसार आकाशमा चन्द्रमा माथि र सूर्य तल मानिँदै आएका छन्। नेपालको राष्ट्रिय झ्ण्डामा त्यही मान्यता कायम भएको हो। पृथ्वीनारायण शाहका अनुयायीहरू यही झण्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिए। सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध) मा हजारौ नेपालीले यहि झण्डा को शान बचाउनको लागि बलिदान गरेका थिए । पृथ्वीनारायणदेखि सुरेन्द्र विक्रम शाहको राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झण्डा नै फहराइन्थे। प्रधानमन्त्री जङ्गबहादुर राणाले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिए। उनका भाइ प्रधानमन्त्री रणोद्दीप सिंह कुँवर राणाको प्रशासनकालसम्म राणा प्रधानमन्त्रीका महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।

राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्य विक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वी वीर विक्रम शाहलाई सुरक्षाको बहानामा प्रधानमन्त्री रणोद्दीप सिंहले नारायणहिटी नजीकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्रधानमन्त्री वीर शमशेर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।

वि.सं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झण्डा विशिष्ट सानका साथ फहराइरहेको छ।[८]

नेपाली राष्ट्रिय झण्डाको पुनरावलोकन[सम्पादन गर्ने]

विसं २०१९ पूर्व नेपालको झण्डामा एकरूपता थिएन। झण्डाको स्वरूप भने यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढङ्गले झन्डा बनाउँथे।[९] सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। लम्बाइ, चौडाइ र उचाइमा पनि एकरूपता थिएन। त्यतिबेलासम्म यो झण्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झण्डा राष्ट्रिय झण्डाको रूपमा प्रयोग भइरहेको थियो।[१०]

वि.सं २०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ।[११] चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखिएको थियो। त्यसैले पनि नेपालको झण्डा अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ।[१२] यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढङ्गले विचार पुर्‍याइएको थियो।

पहिले चन्द्रमा तल र सूर्य माथि राखिएको थियो। शाहवंश आफू चन्द्रवंशी भएकाले चन्द्रमा माथि र सूर्य तल राखे भन्ने भनाइ पनि पाइन्छ। कतैकतै यो लिखित रूपमा पनि रहेको छ। तर यो कुरो हास्यास्पद प्रतीत हुन्छ। किनभने, नेपालको झण्डामा चन्द्र र सूर्य राख्न थालेको सूर्य र चन्द्रवंशीका पालामा होइन। ती वंशको अस्तित्व हुनु अगावै नेपाली झन्डामा सूर्य र चन्द्र अङ्कित थिए।।[१२] कतिपय इस्लामी देशका झण्डामा चन्द्रमा देख्न सकिन्छ। त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढङ्गले व्याख्या गरेको छ।[१३]

काठमाडौँको माइतीघर मण्डलामा फहराई रहेको नेपालको झण्डा

विविध[सम्पादन गर्ने]

भदौ २०७१ मा, काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा ३५ हजार भन्दा बढी मानिसहरू उपस्थित भएर विश्व किर्तिमान कायम गर्ने उद्देशका साथ मानव निर्मित नेपालको सबैभन्दा ठूलो झण्डाको आकृति बनाइएको थियो जसलाई शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले सञ्चालन गरेको थियो।[१४] यसअघि २८ हजार भन्दा बढी मानि उपस्थित गराई पाकिस्तानले मानव निर्मित झण्डाको आकृति बनाएको थियो जुन किर्तिमानलाई नेपालले तोड्न सफल भएको थियो।[१५]

३ भदौ २०७७ मा, एक साङ्गीतिक भिडियोमा नेपाली झण्डा जलाएको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले ९ जनालाई पक्राउ गरेको थियो।[१६] पछि उक्त समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको थियो।[१७]

अन्य झण्डाहरू[सम्पादन गर्ने]

नेपालको झण्डा (१९औँँ शताब्दी–१९८४) 
नेपालको झण्डा (वि.सं १९८४–अन्दाजी १९८६) 
नेपालको झण्डा (अन्दाजी १९८६–२०१८) 
स्वयम्भूमा पुरानो नेपाल (नेवार) झण्डा 
कालचक्र समावेश नेपालको झण्डा 
मुस्ताङको झण्डा 
राणा शासनको शाही मानक झण्डा 
शाह वंशको शाही मानक झण्डा 
नेपालको तेर्सो झण्डा 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "अनुसूची-१ नेपालको राष्ट्रिय झण्डा", कानुन आयोग, अन्तिम पहुँच २७ जनवरी २०२१ 
  2. "नेपालको झण्डा संसारमै विशेष आकर्षक, यस्तो छ विश्वमा राष्ट्रिय झण्डाको इतिहास"अनलाइन दर्पण (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  3. "नेपालको झण्डाको विशेषता !!" (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  4. "संसारकै पुरानो झण्डाः नेपालको राष्ट्रिय झण्डा र यसको ऐतिहासिक महत्व"इताजा खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  5. "प्रत्येक नेपालीकाे साझा चिन्ह : राष्ट्रिय झण्डा"जनता समाचार (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  6. पेज ६०, 'असहमति' - सौरभ
  7. "बिश्वकै खराब १० झण्डा, नेपालको पनि (भिडियो)" (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  8. राष्ट्रिय-झण्डा प्रा. श्रीकृष्ण आचार्य
  9. "राष्ट्रिय झण्डाको उपयोग कि दुरुपयोग?"माई संसार (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  10. "राष्ट्रिय झण्डा प्रयोगको कार्यविधिविपरीत व्यापारिक विज्ञापनमा प्रयोग"न्युज अभियान (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  11. "नेपाली झन्डाको विरासत"नेपाल पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  12. १२.० १२.१ "यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  13. यसरी बन्यो राष्ट्रिय झण्डाको मानक -शंकरनाथ रिमाल
  14. "बिश्व किर्तिमान राख्न ३५ हजार नेपाली भेला भएर मानव झण्डा बनाए (फोटो फिचर)"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  15. "राष्ट्रिय झण्डाको कीर्तिमानको तयारी" (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  16. "नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेकालाई ८ वर्षसम्म कैद सजाय !"नेपाल पाना (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  17. "राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 


बाह्य कडीहरू[सम्पादन गर्ने]