सामग्रीमा जानुहोस्

गर्भाधान संस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संस्कार संस्कृत शब्द हो। यसको अङ्ग्रेजी पर्यायवाची शब्दका रूपमा अंगेजीको sacrament, correctness, purification, purity आदि शब्दहरूलाई लिन सकिन्छ भने संस्कृतमा पवित्र, परिपूत, मेध्य, शुचि आदि शब्दहरूलाई लिन सकिन्छ । संस्कारको सामान्य अर्थ हुन्छ कुनै वस्तु वा व्यक्तिलाई संस्कृत बनाउनु अर्थात् शुद्ध पार्नु । सागलाई केलाएर पखाल्नु, चामलमा रहेका बियाँ टिपेर पखाल्नु वस्तु संस्कारको एउटा उदाहरण हो । त्यसैगरी मानिसका मन, वचन, कर्म तथा शरीरलाई पवित्र बनाउनु पनि संस्कार हो । प्रत्येक सुसंस्कृत कार्यको धार्मिक महत्त्वका साथै वैज्ञानिक महत्त्व पनि हुन्छ । शिशुको जन्मदेखि मृत्युसम्मका संस्कारले मानिसका मानसिक, शारीरिक बौद्धिक एवं मनोवैज्ञानिक शुद्धीकरण गर्दछ ।

महिलाले गर्भ धारण गर्नु अघि गरिने संस्कारलाई संस्कृत भाषामा गर्भाधान संस्कार भनिन्छ भने अङ्ग्रेजी भाषामा impregnation-rite, fertilization-rite, impregnation-rite, conception-rite भनिन्छ । कुनै पनि अन्नको बिउबिजन खेतबारीमा छर्नु अघि शुद्धीकरण गर्नु पनि गर्भाधान संस्कार जस्तै हो । गर्भ रहनका लागि कुनै बाधा व्यवधान नहोस् भनेर यो कार्य गरिन्छ । हाम्रो हिन्दुवैदिक १६ संस्कारमध्ये गर्भाधान संस्कार पहिलो हो । गृहस्थ जीवनमा प्रवेश गरेपछिको प्रथम कर्तव्यका रूपमा यसलाई लिने गरेको पाइन्छ ।

गार्हस्थ जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन हो, त्यसैले यस संस्कारलाई हाम्रा धर्मशास्त्रले महत्त्व दिएको हुनुपर्छ । उत्तम सन्तानको इच्छा राख्ने मातापिताले गर्भाधान हुनु अघि आफ्नो तन र मनको पवित्रताका लागि गर्भाधान संस्कार गर्नुपर्ने शास्त्रीय विधान छ । वर्तमान समयमा यो संस्कार लोप हुदै गएको देखिन्छ । प्राचीन कालमा जनसङ्ख्या बढाउने उद्देश्य रहेका कारण यो अनिवार्य थियो भने वर्तमान समयमा जनसङ्ख्याको चापले पनि यसको महत्त्व घट्दै गएको हुनसक्छ ।

संस्कार विधि

[सम्पादन गर्नुहोस्]

शास्त्रले गर्भाधानका निमित्त उत्तम तिथि, बार, नक्षत्रको निर्देश गरेकोछ । यसमा मघा, रेवती, ज्येष्ठा नक्षत्रलाई वर्जित गरेको छ । पूर्वाङ्गका रूपमा गर्भाधान पूर्व दीप, कलश, गणेश पूजन तथा मातृका पूजन, नान्दी श्राद्ध, आदि गर्नुपर्ने प्रावधान पनि रहेको छ । [] [१]

सन्दर्भ स्रोत

[सम्पादन गर्नुहोस्]
  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर : शिक्षा तथा खेलकुद मन्त्रालय, [[पाठ्यक्रम विकास केन्द्र]]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]