सामग्रीमा जानुहोस्

पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरेल/पोख्रेल
जम्मा जनसङ्ख्या
३ लाख []
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
अधिकारी, पौडेल, भट्टराई, थापा बगले

पोखरेल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । पोखरेल थर नेपाल तथा भारतका बाहुन तथा क्षेत्री परिवारमा पाइन्छ। पोखरेलहरू दुई कुलघरान; पानी पोखरेल र दुध पोखरेलमा विभाजन भएका छन् । पानी पोखरेलहरूको गोत्र आत्रेय गोत्र हो । उनीहरू आफू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। दूध पोखरेलहरूको गोत्र भारद्वाज गोत्र रहेको छ।

पानी पोखरेल

[सम्पादन गर्नुहोस्]

आजसम्म प्राप्त प्रामाणिक शास्त्रहरूमा वेदलाई सर्वप्राचीन ग्रन्थ मानिएको छ । वेदोखिलो धर्ममूलम् यो उपनिषदको उद्घोष हो । यसरी हेर्दा मानव सभ्यताको सर्वप्राचीन ऐतिहासिक ग्रन्थ वेद नै हो भन्ने कुरा प्रस्ट हुन्छ । संसारभरका इतिहास एवंं पुरातत्वविद्हरूको अध्ययन अनुसन्धान अनुसार सृष्टिदेखिको विश्वको इतिहास बताउने पहिलो ग्रन्थ वेद नै हो । कतिपय पश्चिमेली विद्वान्हरूले वेदको उद्भव र महत्त्वलाई स्विकारेका छन् । उनीहरू इसापूर्व ६००० देखि २००० सम्मको समयलाई वेदको रचना काल वा उद्भव काल मान्दछन् । प्रो. म्याक्समुलर, कीथ, ग्रासम्यान, मेकडोनेल आदि विद्वान्हरू यस मतका अनुयायी हुन् ।
आत्रेयगोत्रीय पोखरेलका आदि पुर्खाको उल्लेख भएको सबभन्दा पुरानो ग्रन्थ वेद हो । वेदमा अत्रि, आत्रेय, अर्चनानस, श्यावाश्व आदि ऋषिहरूको उल्लेख यत्रतत्र पाइन्छ । चार वेदमा त्यसैगरी यजुर्वेदमा पनि अत्रिभौम आत्रेय, अत्रिदुहिता आत्रेय, विश्ववारा आत्रेयी, इष आत्रेय, वसुयु आत्रेय, श्यावाश्व आत्रेय, स्वास्त्यात्रेय, बुध गविष्ठर आत्रेय, प्रतिक्षत्र आत्रेय, आदि नामहरू रहेका पाइन्छन् । त्यस्तै सामवेदमा बुधगविष्ठर आत्रेय, श्यावाश्व आत्रेय, अत्रिमौम आत्रेय, आदि नामहरू रहेका देखिन्छन् भने अथर्व वेदमा पनि आत्रेय”पिता अत्रिको नामोल्लेख भएको देखिन्छ ।
सबभन्दा पुरानो ऋग्वेद हो । यसको पञ्चम मण्डल पूर्णतः आत्रेयमण्डलकै रूपमा देखिन्छ । यस मण्डलका सूक्तहरूमा विभिन्न नामबाट आत्रेयहरूको उल्लेख भएको पाइन्छ । उदाहरणका लागि केही नाम लिन सकिन्छ, जस्तै बुधगविष्टर आत्रेय, कुमार आत्रेय, बसुश्रुत आत्रेय, प्रयस्वान् आत्रेय, अत्रिभौम आत्रेय, अर्चनानस आत्रेय, श्यावाश्व आत्रेय, आपाला आत्रेयी आदि । यी बाहेक अष्टममण्डलका केही सूक्तहरूमा पनि आत्रेयहरूको नामोल्लेख भएको पाउन सकिन्छ । []। त्यसैगरी यजुर्वेदमा पनि अत्रिभौम आत्रेय, अत्रिदुहिता आत्रेय, विश्ववारा आत्रेयी, इष आत्रेय, वसुयु आत्रेय, श्यावाश्व आत्रेय, स्वास्त्यात्रेय, बुध गविष्ठर आत्रेय, प्रतिक्षत्र आत्रेय, आदि नामहरू रहेका पाइन्छन् । त्यस्तै सामवेदमा बुधगविष्ठर आत्रेय, श्यावाश्व आत्रेय, अत्रिमौम आत्रेय, आदि नामहरू रहेका देखिन्छन् भने अथर्ववेदमा पनि आत्रेय”पिता अत्रिको नामोल्लेख भएको देखिन्छ । यसरी वेदमा यत्रतत्र आत्रेयहरूको नामोल्लेख हुनु र उनीहरू मन्त्रद्रष्टा ऋषिका रूपमा प्रतिष्ठापित हुनु हामी समस्त आत्रेयका निमित्त अत्यन्त गौरवको विषय हो, किनभने सर्वज्ञानमयो वेदः भनेर वेदलाई संस्कृति, धर्म, दर्शन, साहित्य, इतिहास आदि सम्पूर्ण ज्ञानको स्रोतका रूपमा मानेर त्यसको अनुशीलन गर्ने गरिएको छ । यसबाट के पनि थाहा पाउन सकिन्छ भने आत्रेयहरूको सर्वप्राचीन वंशावली वेद नै हो । त्यसैले वेदविहित कार्य गरी आफ्ना पूर्वजहरूको अनुसरण र अनुकरण गर्नु आत्रेयहरूको कर्तव्य हो भन्ने कुरा उनीहरूका व्यवहारले देखाउँदै आएको छ ।

पौराणिक आधार

[सम्पादन गर्नुहोस्]

पुराणहरू सम्यताको सूर्योदयदेखि नै ऐतिहासिक आख्यान भएका कारण विशेष प्रसिद्ध छन् । पुराणको अर्थ हुन्छ ‘पुरानो’ । पुराना आख्यानहरूको सङ्कलन गरिएको हुनाले यस्ता ग्रन्थको नाम पुराण रहेको हो । पुराना आख्यानहरू वैदिक कालमा पनि प्रचलित थिए यस कुरालाई ऋचः सामानि छन्दांसि पुराणं यजुषा सह भनेर अथर्ववेद संहिताले पुष्टि गरेको छ । ‘अथर्ववेद संहिता’को यस उक्तिबाट ऋग्वेद, सामवेद, यजुर्वेद र पुराणको आविर्भाव एकैसाथ भएको मान्न सकिन्छ । शतपथ ब्राह्मण, शाङ्करभाष्य र छान्दोग्योपनिषद् जस्ता ग्रन्थहरूमा पुराणको नामोल्लेख हुनुले पनि पुराणको प्राचीनता प्रमाणित भएको पाइन्छ ।
प्राचीन ग्रन्थहरूमा पुराण र इतिहासको घनिष्ठ सम्बन्ध रहेको कुरा उल्लेख भएको देखिन्छ । कतिपय आधुनिक विद्वान्हरू महाभारतलाई मात्र इतिहास मान्छन् तर कतिपय विद्वान्हरू र कौटिल्य समेतले पुराणलाई इतिहासको श्रेणीमा राखेको पाइन्छ । यसरी हेर्दा पुराण र इतिहासको क्षेत्र एउटै देखिन्छ । अतिरञ्जनात्मक प्रसङ्गलाई पन्छाउँदा पुराणले विश्वब्रह्माण्ड सृष्टिदेखि लिएर मानव सभ्यताका साथै प्राचीन आख्यान एवं घटनाहरूको वर्णन गर्ने हुँदा यिनलाई ‘प्राचीन इतिहास’ भन्नु उचित देखिन्छ । प्राचीन भारतवर्षको इतिवृत्त पुराणमा पाइने हुनाले यिनको सम्बन्ध आधुनिक इतिहाससँग पनि छ । यति हुँदाहुँदै पनि पौराणिक इतिहास र आधुनिक इतिहासलाई जोड्ने सेतु के हो र कहाँ छ भन्ने कुराको अध्ययन अनुसन्धान नहुनुले ‘पौराणिक इतिहास’ आधुनिक इतिहासबाट उपेक्षित देखिन्छ ।
अठार पुराण र अठार उपपुराणहरुका रचनाकार वेदव्यासद्वारा वेदलाई आधार मानेर रचना गरिएका पुराणहरूमा यत्रतत्र पानी पोखरेलका आदि पुरुष अत्रि र आत्रेयका बारेमा उल्लेख भएको पाइन्छ । श्रीमद् भागवत नवमस्कन्धको चौधौँ अध्यायको दोस्रो श्लोकले अत्रि ऋषिलाई ब्रह्माका मानसपुत्र मानेको छ भने गण्डकी महात्म्यको पृष्ठ १२२ मा पनि सो कुराको पुष्टि भएको छ । ब्रह्मर्षि वर्गमा पर्ने अत्रिलाई सप्तर्षिमध्ये एक मानिएको छ । प्रथम स्वायम्भुव मन्वन्तरमा यिनी सप्तर्षि गणमै प्रतिष्ठापित थिए भने वर्तमान वैवस्वत मन्वन्तरमा पनि यिनी सोही गणमै रहेका पाइन्छन् । यिनै अत्रिपुत्र आत्रेय हाम्रा गोत्र एवं वंश प्रवर्तक मूल पुरुष हुन् । ‘अत्रेः अपत्यं पुमान् आत्रेयः भन्ने विग्रहबाट ‘आत्रेय’ शब्दको व्युत्पति भएको छ । यस आधारमा हेर्दा ‘आत्रेय’ अत्रिकै पुत्र हुन्, अत्रिकै वंशज हुन् भन्ने देखिन्छ ।
आत्रेय’ ऋषिका सन्तान विभित्र थरबाट परिचित छन् । तिनमध्ये पानीपोखरेल पनि एक हो । प्रचलनमा आए अनुससार थरका अगाडि दुईवटा नामिक पद प्रयुक्त छन् ‘पानी’ र ‘दूध’ । पानी पोखरेलहरूको ‘आत्रेय गोत्र’ रहेको पाइन्छ भने ‘दूध पोखरेलको ‘भारद्वाज’ गोत्र’ । प्राः बालकृष्ण पोखरेलले पश्चिम नेपालतिर आत्रेयगोत्री दूध पोखरेल पनि पाइएको कुरा उल्लेख गरेका छन् । []
पुराणलाई आधार मान्दा आत्रेयहरु, मूलतः पानी पोखरेलहरूसंग ‘पानी’को नाता कति पुरानो छ भन्नेकुरा थाहा पाउन सकिन्छ —

अत्रेर्भार्यानसूया च पञ्चात्रेया नसूयत ।
कन्यका च श्रुतिंर्नाम माता शङ्खपदस्य च ।।
सत्यनेत्रश्च हव्यश्चआपोमूर्तिशनैश्चर’
सोमश्च पञ्चमस्त्वेते पञ्चात्रेयाः प्रकीर्तिता’’
तेषांं पुत्राश्च पौत्राश्च ह्यात्रेयाणांं महात्मनाम्’
स्वायम्मुवेन्तरेऽतीताः शतशोऽथ सहस्रशः। []


यसरी ‘शिवपुराण’लाई आधार मान्दा ‘अत्रि’ ऋषिका अनसूयातर्फका पुत्रहरूमध्ये ‘आपोमूर्ति आत्रेय’ ‘पानी पोखरेल’का वंशपुरुष ठहरिन्छन् । यिनका छोरा अर्चनानस र नाती श्यावाश्व हुन् ।

वंशावली तथा दाबी

[सम्पादन गर्नुहोस्]

आत्रेयहरूको ऐतिहासिकता पहिल्याउने क्रममा सोमनाथ आत्रेय (वि.स.५२०) लाई आत्रेहरुका ऐतिहासिक मूल पुरुष मानिएको छ । [][] अब आत्रेयहरू वंशावलीको सोपान चढ्दै सोमनाथसम्म पुग्नसक्ने भएका छन् । यस कार्यबाट पानी पोखरेललाई मात्र होइन आत्रेय गोत्र धारण गर्ने सबैलाई आआफ्नो वंशावलीमा जोड्न सरल भएकोछ ।
सोमनाथ आत्रेयको जन्म वि.स. ५२० तिर कर्णाटकको मैसुरमा भएको थियो । यिनी प्रतिहारवंशी गौर्जर ब्राह्मण थिए । यिनी निकै धनवान् थिए । यिनले गुजरातको सौराष्ट्रमा सोमनाथको भव्य मन्दिर बनाएका थिए र त्यसमा ज्योतिर्लिङ्गको स्थापना गरेका थिए । काबेरी नदीको बायाँ किनारमा ‘सोमनाथ पुरम्’ नामक नगर पनि यिनैले बसालेका थिए । यिनी ज्योतिर्लिङ्गको नित्य पूजा गर्ने गर्थे (पौडेल वंशावली २०६०ः १८) ।
यसरी ‘सोमनाथ’ आत्रेयहरूका ऐतिहासिक मूलपुरुष ठहरिएका छन् भने ‘पानी पोखरेल’का मूलपुरुष काशीदास/कुशभद्रा (वि.सं.९५०) ठहरिएका छन् । काशीदासको बारेमा केही टिपोटहरु निम्नानुसार छन्:

  • काशीदास कन्नौजका राजा भएको र अलाउद्दीन खिल्जीले गद्दीबाट हटाएपछि बाहुनको भेष लिएर नेपाल पसेका थिए (मल्ल, २०३५) ।[note १]
  • काशीदासका सन्तानले सोह्रवटा वाइसी राज्यमा राज्य गरेको पाइन्छ । केही चौबिसी राज्यमा पनि काशीदासका सन्तान राजा भएको प्रमाण भेटिएका छन् । ( सुवेदी, २०४५) ।
  • काशीदासको साइनो कन्नौजका राजा ‘सोमवंशी राइठुर’हरूसँग थियो (नरहरिनाथ, २.१ः३६४) ।
  • जाजरकोटे राजाको वंशावली, सोम वंशावली, सल्यानी राजाको वंशावली, अर्ज्याल वंशावली र गोतामे वंशावली अनुसार पनि नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने रैती र राजाका मूल पुर्खा कन्नौजबाट आएको पुष्टि हुन्छ (डा.पोखरेल, २०५७) ।
  • पानी पोखरेलका पुर्खा काशीदास नेपाल पस्नमा कन्नौजमा मुसलमानको आक्रमण नै कारण थियो (पोखरेल, कृषणचन्द्र, २०४२) ।
  • काशीदास कन्नौजबाट जुम्ला आएका हुन् । उनी षट्शास्त्रका ज्ञाता थिए (डा.सुवेदी, २०५४) ।
  • मुसलमान गजनवीको बनारससम्मको आक्रमणले जर्जरित भएर प्रतिहार साम्रज्य ध्वस्त हुँदा कन्नौजका राजकुमार हिमालयमा शरण लिन पुगे (सांकृत्यायन, १९४८ ई.) ।[note २]
  • नेपालमा अत्रि र आत्रेय गोत्रधारी बाहुन, क्षेत्री (ठकुरी समेत) मगर, चन्द्रवंशी, राजा आदि काशीदास कै सन्तान हुन् । []
  • काशीदास नेपाल आउँदा जुम्लामा आनन्द मल्ल र रिपु मल्लको शासन थियो, त्यसैले काशीदासले ती दुईमध्ये एकजना राजालाई भेटेको हुनुपर्छ र काशीदासको योग्यताबाट प्रभावित भएर राजाले उनलाई आफ्नी छोरी दिएर ठाकुरजी लेकदेखि दक्षिणतिर शासक बनादिए । []
  • चित्तौरका अन्तिम राजा रत्नसिंह राठौर वंशका थिए ।[note ३] मुसलमानको अत्याचार सहन नसकी रत्नसिंहले पनि आफ्नो नाम ‘काशीदास पाध्य’ राखेर आफूलाई देववर्मा पाध्यका वंशज भन्ने चिनाएर मानसरोवर कैशाल पर्वतको तीर्थयात्रा गर्न भनी हिंडे । यसरी उनी जुम्ला आइपुगे, त्यहाँका राजालाई भेटे, आफ्नो सबै कहानी सुनाए र प्रभावित बनाए । [११]
  • रन्तसिंह (रत्नज्योति वा काशीदास पाध्य) जुम्ला राज्यमा अचानक देखा परे, कैशाल पर्वत र मानसरोवरको दर्शन गरे, दूधपोखरी, पानीपोखरी भर्नमा आफ्नो प्रतिभा पनि देखाए र जुम्लाकी राजकुमारी बिहे पनि गरे । उनको रहस्यमय सफलताले गर्दा त्यस क्षेत्रको लोकपरम्पराले उनैलाई जालन्धरी वा औतारी राजा भन्न थाल्यो । [१२]
  • काशीदास नाउँका चन्द्रवंशी व्यक्ति षट्शास्त्रका ज्ञाता, वेदादिमा पारङ्गत र थु्प्रै चेलाहरूले सुशोभित थिए । उनी कन्नौज मुसलमानद्वारा आतंकित भएको देखेर यस ठाउँमा बस्न ठिक छैन भन्ने ठानी आफ्ना चेला साथ लगाएर साउन महिना लाग्दा सिजापति राजाका राज्यमा उल्मुख जात्रा चलिरहेको बेला त्यहाँ पुगेर राजाको मान र वृत्ती पाएर बसे । [१३]
  • १५. “काशीदास भट्ट पोखरेल थरका मूल पुरुष हुन्” । [१४]
  • ....मानव वंशको यस लामो यात्रालाई हाँक दिने शक्ति आफ्नो नभएको हुनाले मैले सोमनाथदेखि पुस्ताको गणना गरेको छु । उनको समयलाई सं ५२० देखि आरम्भ भएको स्वीकार गर्दै मैले आफ्नो वंशको प्रथम पुस्ताका पूर्वज उनलाई मानेको छु र आफूलाई उनको ४७ औँ पुस्ताको सन्तान मानेको छु । यसरी यस वंशावलीको सत्ययुग मैले सोमनाथको युगलाई र ब्रह्मा स्वयंं सोमनाथलाई स्विकारेको छु । उनी पानी पोखरेल,दुवाडी/द्विवेदी, अर्याल,पौडेल,सिग्देल पाहाडी,गोतामे, चापागाईं,खतिवडा,आत्रेय वस्थी, आत्रेय भट्ट, आत्रेय मिश्र, आदिका साझे पूर्वज हुन् ।” [१५]

पानी पोखरेलका पूर्वजहरू

[सम्पादन गर्नुहोस्]

विभिन्न वंशावली र एेतिहासिक अनुसन्धानका आधारमा आत्रेय गोत्रधारीहरूका, किंवा पोखरेलहरूका पूर्वज सोमनाथ भट्ट रहेका देखिन्छन् । सोमनाथदेखि काशीदास (कुशभद्रा) सम्मका पूर्वजहरूको नाम यसप्रकार रहेको पाइन्छ ः

क्र.सं.पूर्वजको नामविक्रम सम्बत्कैफियत
सोमनाथ५२०(आत्रेयहरूका मूल पुरुष)
रङ्गनाभ५५८
पुरनाभ५९४
ब्रह्मनाभ६३१
प्रसरनाभ६८०
भीमदेव७१८
पूर्णदेव७५६
देवदेव (देव शर्मा)७९१
कश्यपदेव८३५
१०विकुशभद्र प्रथम८५६
११हरिशङ्कर८७७
१२शिवशङ्कर८९७
१३विकुशभद्र द्वितीय९२०
१४काशीदास (कुशभद्रा)९५०पानी पोखरेलका मूल पुरूष

काशीदास(कुशभद्रा) देखि कपिलदेवसम्मका पूर्वजहरू ः

क्रं.सं.नामवि.सं.कैफियत
जयाकर९८०
शिवदास१००५
विष्णुदास१०३०
जयदास१०५५
दिवोदास१०७७
धर्मदास११००
देवाखर११२४
सेवाकर११५३
शेखर११८०
१०होमकार/इमुकर१२२०
११रघुनन्दन१२४२
१२भास्कर/सैगुणा१२६५
१३कपिलदेव१२९०

................. ....................... ........ . . .................. ............ .........

  • खडूपाध्याय
  • चाम्पाध्याय
  • बनारशी (बनारशीका ११ भाइ छोरा मध्ये जनकलाल साइला छोरा हुन्)
      • जनकलाल (जनकलाल का १ मात्र छोरा हुन् अगन्धर )
      • अगन्धर (अगन्धर का ६ भाइ छोरा र २ बहिनी छोरि हुन् )

कपिलदेव पोखरेल खार्पा, जफे, जतनपुर, सिमपानी र सालुकका पोखरेलहरूका पूर्वज (पुर्खा) हुन् ।

पानी पोखरेल वंशको आराधना:

आरध्यदेव वा ईष्ट देव: महादेव(शिवजी) र पार्वती

कुलदेवता: कालामष्ट

ईष्टदेवता : विन्धवासिनी

कुलायन: १, शिरपति २, राम हृदय ३, परशुराम ४, सुशिला ५, जानुका ६, कुण्डला ७, जेमावती

थानी देवताः ८, कालामष्ठ ९, कुलायन १०, बिन्ध्यबाशिनी ११, आशामुखी (अलग्गै पुजा गर्ने) १२, पुरन गिरी १३, कल्याण गिरी ।

पाञ्चायान देवताः शिव पाञ्चायान (गणेश , भगवती देवि , श्रीहरि विष्णु , सूर्य नारायण र विचमा शिवजी)

(लगायत सबै भगवान, ईश्वर वा तेत्तीसकोटि देविदेवताहरु, पितृदेवता, मातृदेवताहरुको पुजा गर्ने चलनछ ।)

दुध पोखरेलहरू भारद्वाज गोत्रका हुन्।

उल्लेखनीय पोख्रेल/पोखरेलहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तर खिल्जी वंशले मुसलमान तुर्की माम्लुक वंशबाट दिल्ली (कन्नौज सहित क्षेत्रहरू)को बागडोर लिएका थियो र वर्ष ईश्वी सन् १२९० थियो ।A. B. M. Habibullah (१९९२) [१९७०], "The Khaljis: Jalaluddin Khalji", in Mohammad Habib; Khaliq Ahmad Nizami, A Comprehensive History of India, 5: The Delhi Sultanat (A.D. 1206-1526), The Indian History Congress / People's Publishing House, ओसिएलसी 31870180
  2. तर महमुद गज्नवीले कन्नौजमा गुर्जर प्रतिहार वंशका राजा राज्यपाललाई हराएका मात्र थिए र वर्ष ईश्वी सन् १०१८ थियो ।[] उक्त विजयपछि गज्नवीले चन्देला राजाको विरुद्धमा कन्नौजका नयाँ राजा त्रिलोचनपालको समर्थन पनि गरेका थिए ।
  3. तर रत्नसिंह राठौर हैन गुहिल वंशका थिए र वर्ष ईश्वी सन् १३०२ थियो ।[१०] राठौर र गुहिल दुवै चन्द्रवंशी नभै सूर्यवंशको दाबी गर्छन् ।
  1. ढाँचा:Cite औweb
  2. सम्पादक मण्डल (२०६०), पौडेल वंशावली, चितवन : आत्रेयवंश अनुसन्धान प्रतिष्ठान
  3. पोखरेल, बालकृष्ण (२०६५), जतनपुरे पानी पोखरेलको वंशावली, विराटनगर  : लेखक ।
  4. शिवपुराण वायवीय संहिता पूर्वखण्ड (१७ : ३०,३१,३२,), गोरखपुर : गीताप्रेस

  5. (२०६५), जतनपुरे पानी पोखरेलको वंशावली, विराटनगर  : लेखक
  6. .... (२०६०), पौडेल वंशावली, चितवन : आत्रेयवंश अनुसन्धान प्रतिष्ठान
  7. Studies in the Geography of Ancient and Medieval India, पृ: १४६।
  8. पोखरेल, डा.माधवप्रसाद (२०५६), काशीदासको ऐतिहासिकता, काठमाडौँ  : मध्यमाञ्चल
  9. बज्राचार्य, धनबज्र (२०२८), कर्णाली प्रदेशको ऐतिहासिक रूपरेखा .
  10. Upendra Nath Day (१९७८), Mewar Under Maharana Kumbha, 1433 A.D.-1468 A.D., Rajesh, ओसिएलसी 4983676
  11. एेजन, एेजन (२०५६), काशीदासको ऐतिहासिकता, काठमाडौँ  : मध्यमाञ्चल
  12. नरहरिनाथ, योगी (२०१३), इतिहासप्रकाश, काठमाडौँ : इतिहासप्रकाश मण्डल ।
  13. पं.वाणीविलास ज्योतिर्विद, सल्यानी राजाको वंशावली
  14. एेजन एेजन (२०६०), पौडेल वंशावली, चितवन : आत्रेयवंश अनुसन्धान
  15. एेजन, एेजन (२०६५), जतनपुरे पानी पोखरेलको वंशावली, विराटनगर  : लेखक
  16. https://www.ndri.org.np/ourteam/prof-dr-madhav-prasad-pokhrel/

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]