रागिनी उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
रागिनी उपाध्याय
रागिनी उपाध्याय
Ragini.jpg
रागिनी उपाध्याय
जन्म (१९५९-११-०९) नोभेम्बर ९, १९५९ (उमेर ६१)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातकोत्तर (ललितकला)
पेशाललितकला, गीतकार, साहित्य
कार्यकालसन् १९७९ देखि वर्तमान
चिनारीको कारणचित्रकला, गीतकार, समाजसेवा
उल्लेखनीय कार्य
'सुँगुरको मुखमा स्याउ', 'भ्रष्टाचारको साङ्लो', 'देवी र महिला', 'पौराणिक र वस्तविकता', 'प्रकृति आफैँ बोल्छ', 'गाईजात्रा', 'रङ्ग रागिनी'
गृहनगरबालकोट, भक्तपुर
जीवनसाथीअल्बर्ट ग्रेला[१]
सन्तानशिवाता
मातापिताकान्तप्रसाद उपाध्याय (बुवा) र सुशीला उपाध्याय (आमा)
पुरस्कार'बीरेन्द्र-ऐश्वर्या स्मृति पदक', (सन् २००२, नेपाल)
'केट एन्ड रोबर्ट विल्सन पुरस्कार', (सन् १९८६, ब्राडफोर्ड, युके)
'ग्लापेव सम्मान २०१९ आर्टिस्ट अफ द इअर', (भारत निर्माण फाउन्डेसन, भारत)
वेबसाइटरागिनी-आर्ट डटकम

रागिनी उपाध्याय (जन्म: सन् १९५९ नोभेम्बर ९) नेपाली चित्रकार, गीतकारसमाजसेवी हुन्।[२][३]काठमाडौँको ब्राह्मण परिवारमा बुवा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ सन्तानका रूपमा जन्मिएकी उनी कान्छी छोरी हुन्।[४] पौराणिक पात्रलाई आधुनिकतासँग जोडेर समयचेत बोल्ने उनको चित्रकलामा परम्परा र आधुनिकताको 'फ्युजन' पाइन्छ। [५] सन् १९७९ मा पहिलोपटक एकल चित्रकलामार्फत् नेपाली कला आकाशमा उदाएकी रागिनीको जीवनको 'टर्निङ् पोइन्ट' भने सन् १९८६ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवको अवसरमा तत्कालीन महारानी ऐश्वर्य शाहद्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी रहेको थियो।[६]

रागिनीले बुबाको सहयोग र प्रेरणाबाट[१] आफूलाई चित्रकलाको क्षेत्रमा स्थापित गर्न सकिन्। उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा ६५ वटा भन्दा बढी एकल तथा दर्जनौँ संयुक्त कला प्रदर्शनी गरिसकेकी छिन्।[७] उनको कलाको प्रसंशा बालकृष्ण सम, बीपी कोइरालादेखि अभि सुवेदीसम्मले गरिसकेका छन्।[८]

प्रतीकात्मक कलाकार भएको कारणले उनी निधारमा कहिले सर्प अङ्कित, कहिले त्रिशूल अङ्कित त कहिले उदाउँदो सूर्य अङ्कित टीका लगाउने गरेकी छिन्।[९] नेपालमा एउटा आधुनिक र सुविधा सम्पन्न ललितकला सङ्ग्राहलय स्थापना गर्ने[१०] उद्देश्यका साथ उनी[११] नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो महिला कुलपति बनेकी थिइन्।[१२]

एकै विषयलाई आधार मानेर चित्र कोर्ने प्रयोगलाई स्थापित[१३] गर्न सफल रागिनीले कला क्षेत्रमा आफ्नो योगदानको कारण विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन्। उनी महिला कलाकार समूहकी संस्थापक अध्यक्ष[१४], विपी कोइराला फाउन्डेसन र बार्बारा पिस फाउन्डेसनको कार्यसमिति सदस्य तथा शिवाता लभ फाउन्डेसनकी अध्यक्षसमेत हुन्।[१५] स्थापित कलाकर्मीको रूपमा पहिचान बनाइसकेकी रागिनीले 'छोरीका लागि शिक्षा' कार्यक्रमबाट सामाजिक क्षेत्रमा हात हाल्नुका साथै [१६][१७] 'रङ रागिनी' नामक गीती एल्बम[१][१८] प्रकाशित गरिसकेकी छिन्। यस बाहेक उनले नेपालको विभिन्न राष्ट्रिय पत्रपत्रिकाको लागि समय समयमा लेखहरू लेख्दै आएकी छिन्।[१९]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

रागिनी उपाध्यायको जन्म बुबा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ तथा कान्छी सन्तानका रूपमा सन् १९५९ नोभेम्बर ९ का दिन काठमाडौँमा भएको थियो।[३] पुर्ख्यौली घर तनहुँको चुँदी, रम्घा भए पनि उनको बाजे पण्डित देवीप्रसाद उपाध्यायले बच्चाहरूको शिक्षादीक्षा तथा तराईमा खेतीपाती पनि राम्रो हुने भएकोले परिवार साहित रामनगर झरेका थिए। रामनगर सुगौली सन्धिअघि नेपालमा भए पनि अहिले त्यो भूभाग भारतमा पर्दछ। संयुक्त परिवारमा रहेका उनको परिवारका केही सदस्य भारतको वाराणसीमा व्यापार गरी बसेका छन्। चित्रकार उपाध्यायको जन्म काठमाडौँमा भए पनि उनको बाल्यकाल भारतको बेतिया, इलाहाबादमा बितेको थियो।[४][२०]

शिक्षा[सम्पादन गर्ने]

पारम्परिक नेपाली समाजमा जन्मेकी तथा छोरीहरूलाई पढाउन हुन्न भन्ने मान्यता व्याप्त रहेको समयमा पनि उनको परिवारले भने उनलाई सानै उमेरमा औपचारिक शिक्षा प्राप्तिको लागि भारतको बेतियास्थित क्याथोलिक स्कुलमा भर्ना गरिदिए।[३] रगिनीले क्याथोलिक स्कुलबाट प्राथमिक शिक्षा प्राप्त गरेपछि कक्षा ९ देखि प्रमाणपत्र तहसम्मको शिक्षा इलाहाबादको क्रस्थवेट गर्ल्स इन्टर कलेजबाट पुरा गरिन्। त्यसपछि उनी भारतको लखनऊस्थित लखनउ कला तथा शिल्प महाविद्यालयमा भर्ना भइन् र उनले सन् १९८२ मा ललितकला विषयमा स्नातक तह पुरा गरिन्। परिवारको अस्वीकृति भएतापनि रागिनीले नयाँ दिल्लीस्थित गढी आर्ट भिलेजबाट तीनवर्षे मुद्रणकला विषयको अध्ययन गरिन्। सन् १९८६ मा नेपाल फर्केपछि रागिनीले कला सम्बन्धी थप अध्ययन गर्न सन् १९८७ मा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा अवेर्दिन स्कटल्याण्डको 'पिकक प्रिन्टमेकर' र 'अक्सफोर्ड प्रिन्ट मेकर्स इन्स्टिट्युट' गइन् र प्रिन्ट मेकिङमा डिप्लोमा गरिन्। यसै गरी सन् १९८९ मा उनले स्टुगार्ड, जर्मनीको 'कुन्स्त एकेडेमी'मा छात्रवृत्ति पाएर ललितकला सम्बन्धी अध्ययन सन् १९८९ मा पूरा गरिन्।[४]

चित्रकला यात्रा[सम्पादन गर्ने]

विद्यार्थी जीवन[सम्पादन गर्ने]

सानै उमेरदेखि चित्रकलामा रुचि राख्ने रागिनीको बुबाले उनलाई जन्मदिनको अवसरमा रङ्गहरू उपहारमा दिने गर्दथे। इलाहाबादस्थित क्रस्थवेट गर्ल्स इन्टर कलेजमा अध्ययन गर्दै गर्दा २५ वटा विद्यालयहरू सहभागी भएको चित्रकला प्रतियोगितामा प्रथम भएर शिल्ड ल्याएपछि विद्यालय प्रशासन र विद्यार्थीको नजरमा परिन्।[३] सोही कलेजमा पढाउने एक जना कपुर भन्ने शिक्षिकाले रागिनीको कलाप्रतिको झुकाव बुझेर उनलाई ललित कला पढ्न सल्लाह दिएकी थिइन्।[३]

चित्रकलाप्रतिको मोहकै कारण परिवारसँग सङ्घर्ष गरी परिवारलाई मनाएर ललितकला विषयमा स्नातक अध्ययन गर्न उनी लखनउ गएकी थिइन्। उनले आफ्नो चित्रकलाको शीपलाई थप नयाँपन र स्तरीय बनाउनको लागि मुद्रणकला विषयको अध्ययन गरिन्।

कलाकारको रूपमा[सम्पादन गर्ने]

नेपाल फर्केपछि उनले आफ्नो बुवाको आर्थिक सहयोगमा थापाथलीमा स्टुडियो खोलिन्। कामको लागि उनले तत्कालीन रानी ऐश्वर्यलाई पत्र लेखेकी थिइन्। उनकै सिफारिसमा रागिनीलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति लैनसिंह बाङ्देलले बोलाएर नाफामा प्रदर्शनीका लागि तयारी गर्न भनेका थिए।[२१] सन् १९८६ डिसेम्बर २८ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवको उपलक्ष्यमा उनको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)मा ४९ वटा तैलचित्र (ओइल पेन्टिङ) प्रदर्शन गरिएको थियो। तत्कालीन रानीद्वारा प्रदर्शनी उद्घाटन हुने सूचना एक हप्ताअघिदेखि रेडियो नेपालबाट प्रसारण गरिएको थियो।[२१] १५ दिनसम्म चलेको उक्त प्रदर्शनीमा उनको सबै चित्रहरू बिक्री भयो भने यो प्रदर्शनी रागिनीको लागि कोशेढुङ्गा सावित भएको थियो। उक्त प्रदर्शनीमा सबैजसो देशका नेपालस्थित राजदूतहरूहरूको उपस्थिति रहेको थियो।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

रागिनीको कला सङ्ग्राहलय ब्लु वर्डमा थियो। त्यहीँ उनको भेट बेल्जियमका नागरिक अल्बर्ट ग्रेलासँग भयो। अल्बर्टसँग उनी प्रेममा परिन्। यसैबिच उनी ३ महिना जापानको चित्रकला प्रदर्शनीमा गएकी थिइन्। त्यहाँबाट फर्केपछि सन् १९९१ मा उनीहरूले अदालत विवहा गर्दै सन् १९९२ मा उनीहरू बेल्जियम गएका थिए। बेल्जियमबाट फर्किएपछि सन् १९९५ अप्रिल २२ मा पाटन अस्पताल, ललितपुरमा उनको छोरी शिवाताको जन्म भएको थियो। २० वर्षकै कलिलो उमेरमा दुर्लभ 'मेनेन्जाइटिस बी'ले गर्दा उनकी छोरी शिवाताको मृत्युु भएको थियो।[२२]

टीकाको रहस्य[सम्पादन गर्ने]

जीवनको लालशालाई प्रतिबिम्बित गर्ने भएकोले उनले सबैभन्दा पहिले सर्प अङ्कित टीका लगाउँथिन्। सर्पलाई इच्छाको प्रतीकको रूपमा मानिने गरिन्छ। अध्ययन, चित्रकला र विवाह गर्नसमेत सङ्घर्ष गरेकी रागिनी विद्रोही स्वभावकी छिन्। वंश कर्मले चल्छ जन्मले चल्दैन भन्ने सोचकी उनी समानताका लागि शिक्षा अनिवार्य हुन्छ भन्छिन्।[२३] शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ भन्ने मान्यताकी उनी सरस्वती भएपछि लक्ष्मी आफैँ आउने बताउँछिन्। महिलाहरूले गर्नुपरेको सङ्घर्ष र उनीहरूमाथिको विभेदका विरूद्धमा उनले त्यसपछि प्रतीकात्मक रूपमा त्रिशूलको टीका लगाइन्। त्रिशूललाई न्यायको प्रतीक, सङ्घर्षको प्रतीक र महिला शक्तिको प्रतीक मानिन्छ।[२४] उनको छोरी शिवताको अचानक मृत्यु भएपछि ज्ञानको ज्योति नै जीवनको पर्याय भएको निष्कर्ष निकालेर प्रतिकात्मक अर्थमा उदाउँदो सूर्यको टीका लगाउन थालिन्। सूर्यलाई प्रकाश, ज्ञान, शिक्षा र आत्मसचेतनाको प्रतीक मानिन्छ।[२५]

कलायात्राको कोशेढुङ्गा[सम्पादन गर्ने]

सन् १९७९ मा नाफामा भएको प्रदर्शनीमा उनको चित्र हेर्न विश्वेश्वरप्रसाद कोइरालाबालकृष्ण सम आएका थिए। त्यसले उनको चित्रकलाको यात्रालाई थप हौसला थप्यो।[२६] त्यो घटना उनी जीवनमा कहिल्यै बिर्सिनन्। सन् १९८६ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवमा भएको प्रदर्शनीमा रानी ऐश्वर्याले उद्घाटन गर्नु र त्यसैको प्रभावले उनले इङ्ग्ल्याण्डको छात्रवृत्ति पाउनु पनि उनको चित्रकला यात्राको सम्झनलायक मोड हुन्।[२७] उनको कलायात्रालाई विवाहले पनि सकारात्मक मोड दियो। उनको श्रीमान्‌बाट यो क्षेत्रमा लाग्न थप उत्प्रेरणा र साथ पाइन्। उनको जीवनमा हृदयविदारक एउटा दूर्घटनाले पनि परिवर्तनको अर्को मोडमा पुर्या यो। त्यो कारूणिक घटना थियो उनको छोरीको असामयिक देहावसान। त्यस दुःखद क्षणले उनको चित्रकलाको पाटो नै परिवर्तन गरिदियो। छोरीको चित्रकलाबाट प्रभावित भएर उनी शिव रागिनी बनिन् र छोरीबाट धेरै प्रेरणा लिइन्।

साहित्यमा रागिनी[सम्पादन गर्ने]

उनको सिर्जना चित्रकलामा मात्र सिमित छैन। उनी नेपालका विभिन्न राष्ट्रिय पत्रपत्रिकामा लेखहरू लेख्छिन् र गीतहरू सिर्जना गर्छिन्। उनको 'धर्ती' गीतको भिडियो सार्वजनिक भइसकेको छ।[१८] उनको गीती एल्बम 'रङ्ग रागिनी' पनि बजारमा आइसकेको छ।[२८]

समाजसेवामा रागिनी[सम्पादन गर्ने]

रागिनी उपाध्यायले दिवंगत छोरी शिवाताको स्मृतिमा सन् २०१६ मा 'शिवाता लभ फाउन्डेसन' नामको संस्था खोलेकी छिन्। उनी अध्यक्ष रहेको सो संस्थाले चित्रकला प्रदर्शनीबाट सङ्कलित रकमले नेपालका अभावग्रस्त छोरीहरूका शिक्षाको क्षेत्रमा लगानी गर्ने गर्दछ।[२९]

सम्प्रति[सम्पादन गर्ने]

  • पूर्व कुलपति- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान[३०]
  • सदस्य- बीपी कोइराला भारत-नेपाल प्रतिष्ठान [३१]
  • सदस्य- बारबारा फाउन्डेसन[३२]
  • निर्देशक- आर्टिस्ट प्रुफ ग्यालेरी, नेपाल[३३]
  • संस्थापक सभापति- महिला कलाकार समूह नेपाल[३४]
  • संस्थापक सभापति- शिवता लभ फाउन्डेसन[३५]

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

  • राष्ट्रिय प्रर्दशनी पुरस्कार, सन् १९७९, नेपाल
  • राष्ट्रिय प्रर्दशनी पुरस्कार, सन् १९८५, नेपाल
  • राष्ट्रिय प्रर्दशनी पुरस्कार, सन् १९८८, नेपाल
  • केट एण्ड रोवर्ट विल्सन पुरस्कार, सन् १९८६, ब्राडफोर्ड, बेलायत[३६]
  • बीरेन्द्र-ऐश्वर्या स्मृति पदक, सन् २००२, नेपाल[३७]
  • नेपालका ५० प्रतिभाशाली महिला, सन् २००५, द बोस, नेपाल
  • संकल्प सम्मान, संकल्प नेपाल कल्याणकारी समाज, नेपाल
  • 'बेष्ट स्टुडेन्ट अवार्ड इन १०० इयर्स अफ लखनउ कलेज अफ आर्ट एण्ड क्राफ्ट्स', लखनऊ, भारत
  • तोरण कुमारी कला संस्कृति पुरस्कार, नेपाल
  • वरिष्ठ कलाकार सम्मान, नेपाल वाणिज्य कलाकार सङ्घ, नेपाल
  • भद्रकुमारी सेवा सदन सम्मान, नेपाल
  • सामाजिक कार्यका लागि सहमति सम्मान, नेपाल
  • मानार्थ आजीवन सदस्य, आर्ट सर्कल, यु.पि. लखनऊ, भारत
  • ग्लापेव सम्मान २०१९ आर्टिष्ट अफ दि इयर, भारत निर्माण फाउन्डेसन, भारत
  • शब्दयात्रा महिला प्रतिभा सम्मान, २०७६, शब्दयात्रा प्रकाशन, बनेपा, काभ्रेपलाञ्चोक

तस्बिर सङ्ग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "रागिनी रङ", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  2. "अब पुस्तकमा कलाकार रागिनी", स्क्रिन नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ कोइराला, अच्युत, "रागिनीका रङहरु", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  4. ४.० ४.१ ४.२ "रागिनी उपाध्याय ग्रेला", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  5. "पृथ्वीका सम्पुर्ण आमा र छोरीहरूलाई समर्पित गरेर चित्रकला प्रदर्शनी", हङ्गगामा टुडे (नेपालीमा), २०१९-०३-१३, अन्तिम पहुँच २०२०-०८-११ 
  6. "१०१ प्रभावशाली महिला", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  7. "पीडा भुल्दै, घर भित्रै सृजना फुलाउँदै कलाकार", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  8. "बीपीले नारीभाव सजिलै बुझ्नुभयो", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  9. "टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  10. "रागिनी उपाध्याय", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  11. "'लीडर' महिला", हिमाल खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  12. "बजेटले नदेखेको कला संघर्ष", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  13. "कथा कला र कलाकारको", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  14. "पेन्टिङमा महिला", हिमाल खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  15. "Shivata Love Foundation – Love is our key to prevent humanity's collapse" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  16. "‘अभावमा बाँचेका’ छोरीलाई सहयोग गर्न वरिष्ठ भारतीय कलाकारद्वारा ‘चित्र प्रदर्शनी’", नयाँविश्व (नेपालीमा), २०१८-०५-२६, अन्तिम पहुँच २०२०-०८-११ 
  17. "रागिनी उपाध्यायकी छोरीको सम्झना लोक कला प्रवर्धनका लागि", SBS Your Language (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  18. १८.० १८.१ "रागिनीको ‘धर्ती’ सार्वजनिक", सामचार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  19. "रागिनी उपाध्याय", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  20. "काठमाडौँ सहर थिएन : रागिनी उपाध्याय", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  21. २१.० २१.१ "रागिनीले रोजेका तीन किताब", नेपाल म्याग (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  22. "छोरीको शोकमा रुन्छन् अचेल रागिनीका चित्रहरू", चक्रपथ डटकम (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  23. "सोचमा परिवर्तन गरौं", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१२ 
  24. "टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१२ 
  25. "छोरी सम्झिँदै रागिनी", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१२ 
  26. बीपीले नारीभाव सजिलै बुझ्नुभयो- इकान्तिपुर डटकम
  27. बेपत्ताः दरबारका कलाकृति-साहित्यसङ्ग्रह डटकम
  28. "रागिनीको ‘रङ्गरागिनी’ लोकार्पण", लाइक नेपाल (नेपालीमा), २०१७-०४-२४, अन्तिम पहुँच २०२०-०८-१२ 
  29. "छोरीको सम्झनामा रागिनीको सामाजिक काम", हङ्गामाटुडे (नेपालीमा), २०१९-०४-२४, अन्तिम पहुँच २०२०-०८-१२ 
  30. "नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पूर्व पदाधिकारी", अन्तिम पहुँच २०२०-०८-१२ 
  31. "बीपी कोइराला भारत-नेपाल प्रतिष्ठानको कार्यसमिति", New Delhi, India - Embassy of Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१२ 
  32. "Ragini Upadhyay, Member", बारबारा फाउन्डेसन (अङ्ग्रेजीमा), २०१७-१२-२१, अन्तिम पहुँच २०२०-०८-१२ 
  33. "आर्टिस्ट प्रुफ ग्यालेरी", the Nepal NOW project (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१२ 
  34. "विमिन आर्टिस्ट ग्रुप अफ नेपाल", www.findglocal.com, अन्तिम पहुँच २०२०-०८-१२ 
  35. "शिवता लभ फाउन्डेसन" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१२ 
  36. NAFA will die in its childhood if it is merged with other academies-द राइजिङ नेपाल डटओआरजी
  37. रागिनी उपाध्याय ग्रेला -सागडट आर्टमान्डु डटओआरजी

बाह्य कडीहरू[सम्पादन गर्ने]