सामग्रीमा जानुहोस्

दही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दूध जमाएर बनाएको र त्यसबाट नौनी, घिउ आदि बनाइने बाक्लो खाद्य पदार्थलाई दही भनिन्छ । यो पञ्चगव्यमध्येको एक पदार्थ हो । दहीलाई अंग्रेजीमा Yogurt वा Curd भनिन्छ ।

संस्कृत पर्यायवाची नामहरू

[सम्पादन गर्नुहोस्]

तद्रूप्य, दधि, विरल र क्षीरज ।

नेपाली समाजमा प्रचलित दहीका प्रकार

[सम्पादन गर्नुहोस्]
  • एकराते: एक रात मात्र बितेको वा अघिल्लो दिन मात्र जमाइएको वा  एक रातको दहीलाई एकराते दही भनिन्छ ।
  • चोक्रा: राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने दहीको ढिकालाई चोक्रा भनिन्छ ।
  • जुजुधौ: बेसरी तताएका दूधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको भादगाउँले दहीलाई जुजुधौ भनिन्छ ।
  • लहरे दही: जमेको बाक्लो दहीलाई लहरे दही भनिन्छ ।

Dahi, jujudhau

आयुर्वेदमा बताइएका दहीका प्रकार र गुण

[सम्पादन गर्नुहोस्]
  1. अत्यम्ल दही: जुन दही खाँदा दाँत र रौँ सिरिङ्ङ हुन्छ तथा घाँटी आदि पोल्दछ त्यस्तो दहीलाई “अत्यम्ल दही” भनिन्छ । यस्तो दहीले पाचनशक्ति मात्र नभई रक्तविकार, वातविकार र पित्तविकारलाई पनि धेरै नै बढाउँदछ ।
  2. अम्ल दही: गुलियो स्वाद लुकेको र अमिलो स्वाद मात्र थाहा पाइने दहीलाई “अम्ल दही” भनिन्छ । यस्तो दही पाचनशक्ति, पित्तविकार, रक्तविकार र कफविकार बढाउने गुणको हुन्छ ।
  3. मन्द दही: दूधजस्तै (राम्ररी नजमेको), स्वाद थाहा नहुने र केही बाक्लो दहीलाई “मन्द दही” भनिन्छ । यसले दिसापिसाब लगाउँदछ तथा त्रिदोष र डाह उत्पन्न गर्दछ ।
  4. स्वादम्ल दही: बाक्लो, गुलियो र खाँदा अन्तमा टर्रो हुने दहीलाई “स्वाद्वम्ल दही” भनिन्छ । यो सामान्य दही सरह गुनिलो हुन्छ ।
  5. स्वादु दही: राम्ररी जमेको, गुलियो स्वाद प्रष्ट थाहा हुने र अमिलो भइनसकेको (अमिलो थाहा नहुने) दहीलाई “स्वादु दही” भनिन्छ । यो अति नै अभिष्यन्दि,  वीर्यवर्धक, बोसो उत्पादक, कफ उत्पादक, वातविकार नाशक, पचेपछि गुलियो र रक्तपित्तलाई ठिक गर्ने गुणको हुन्छ ।

दूध, दही आदि हाल्न प्रयोग हुने भाँडाकुँडा

[सम्पादन गर्नुहोस्]
  • कर्पर: दही राख्ने माटाको आरी, कहतारो ।
  • कहतारो: आरीका छाँटको दही जमाइने माटाको भाँडो ।
  • कागेठेकी: बिहामा दुलापट्टिबाट दुलहीकहाँ पठाइने लग्नपत्रिका र मङ्गलका निमित्तको दही–ठेकी, साइपाटो ।
  • कोसी: दही, मही, अचार आदि राख्ने काममा प्रयोग हुने धातु, काठ वा माटाको भाँडो,  सानो आरी ।
  • गर्गरी: दही जमाउने ठेको ।
  • ठेका: दहीमही राखिने काठको भाँडो ।
  • ठेकाभाँडा: गोठ वा गोशाला आदिमा दूधदही राखिने भाँडाकुँडाको समूह ।
  • ठेकी: दही, मही घिउ, तेल आदि राखिने काठको भाँडो, सानो ठेको ।
  • ठेको: दही, मही आदि हालिने काठको ठूलो ठेकी ।
  • डेली: पहिलेपहिले दही, मही आदि हालेर बोकिने बाँस वा बेतका चोयाबाट बुनेको भाँडो ।
  • दहीठेको: विवाहमा जन्तीका साथ दुलाहातर्फबाट लगिने दहीको ठेकी, कागेठेकी ।
  • फाम: दूध, दही, मोही आदि राख्ने भाँडो, काठको गबुवा, काठे ढुङ्ग्रो ।
  • मन्थनी: दही मथ्ने ठेको ।

मोही पार्न प्रयोग हुने साधन

[सम्पादन गर्नुहोस्]
  • कोइलो: मही पार्ने मधानीमा बेर्ने डोरीका टुप्पामा लगाइने काठको हत्ता, नेतीको टुप्पामा लगाइने मसिनु काठको टुक्रो ।
  • घुर्रा: मही पार्दा मदानीको सर छिराएर अड्याइरहने काठको प्वाल भएको चक्का, घुर्रो ।
  • तरो: मदानीको डोरी छिराउने प्वाल ।
  • तार्की: मदानीको टुप्पामा जडिएको तार ।
  • नाइटो: मदानीको मथ्नेतिरको तल्लो छेउ, सूर्यदर्शन गराउनु हुँदैन भन्ने विश्वासले मदानी कोठाबाहिर लग्नुपरेमा पातले छोपेर मात्र बाहिर ल्याइने मदानीको सोही भाग ।
  • नेती: दही मथेर नौनी वा घिउ निकाल्दा मधानी घुमाउने डोरी, दही, दूध आदि मथ्दा चाहिने रस्सी ।
  • पोरो: चारपाटा परेको, मथ्ने, मधानीको तल्लो भाग, फोरो ।
  • मधानी: प्रायः बाँसको सरोमा चारैतिर छेडिएको च्याप्टा चारपाटे पोरा राखी नेतीले तान्दा ठेकीको दही मथ्ने साधन, मही पार्ने उपकरण, मन्थनी, मदानी, मन्थन, मन्थान, मन्थानी, गर्गरी ।
  • शर: नेती बेरिने पोरा लाइएको मधानीको सोठो ।


Madani (2)Madani (1)

दहीको स्वाद

[सम्पादन गर्नुहोस्]

दही थोरै टर्रो, अमिलो र गुलियो हुन्छ । यो पचेपछि अमिलो हुन्छ ।

  • खाएको कुरा पचेर बनेको रस (आम) लाई पचाउँदछ ।
  • पाचकाग्निलाई बाल्दछ ।
  • चिल्लो हुन्छ ।
  • गर्मीकारक हुनाले गर्दा जलले पैदा गर्ने कफ आदि दोष र मललाई सोस्दछ ।
  • मूत्रकृच्छ्र (पिसाबले च्याप्ने तर गर्न खोज्दा थोपा थोपा मात्र हुने रोग), पिनास, चिसोले हुने विषमज्वर, अतिसार (खाएका कुरा नपची पातलो दुर्गन्धी दिसा भइरहने रोग, आउँको रोग । यसका कफजन्य, वातजन्य, पित्तजन्य, आमजन्य, सन्निपातजन्य र शोकजन्य गरी छ किसिम हुन्छन् । यो रोगमा सामान्यतः आमाशय सुन्निएर खाएको कुरा नपची पातलो दिसा र डकार आइरहन्छ, अमन हुन्छ र शरीर लखतरान भएर गल्दछ ।) र अरुचीले हुने दुब्लोपनमा दही उत्तम हुन्छ ।
  • बल, बोसो, रगत र शुक्र वृद्धि गर्दछ ।
  • वातविकारलाई, रुचीलाई र पाचनशक्तिलाई शान्त पार्दछ ।
  • पिसाब खुलाउँदछ ।
  • खोकी, दम, पिनास, अमन, विषमज्वर, कमजोर पाचनशक्ति हुने रोग र शीतज्वरमा हितकर हुन्छ ।
  • रगतलाई निरन्तर सक्रिय बनाउँदछ ।
  • अमिलो र गुलियो वा गुलियो–अमिलो दही लाभदायक हुन्छ । जबसम्म दहीमा गुलियोपन हुन्छ तबसम्म यो हितकारी हुन्छ ।
  • दहीले शरीरलाई मोटो बनाउँदछ ।

दहीका अवगुण

[सम्पादन गर्नुहोस्]
  • दही पचाउन कठिन हुन्छ ।
  • गर्मीकारक हुनाले गर्दा धातुलाई सोस्दछ ।
  • पित्त, रक्तविकार, सुजन र कफ बढाउँदछ ।
  • गर्मी गर्दछ ।
  • शरीरको रस सुकाउँदछ ।
  • अमिलो दही पचेपछि पनि भारी हुन्छ ।

राम्ररी तताइएको दूधको दही

[सम्पादन गर्नुहोस्]

राम्ररी उमालिएको दूधको दही रुचिकर, चिल्लो, उत्तम गुणको, पित्तविकार नाशक, वातविकार नाशक तथा सबै धातु, पाचनशक्ति र बल बढाउने गुणको हुन्छ ।

तर निकालिएको दही

[सम्पादन गर्नुहोस्]

तर निकालिएको दही शीतल गर्ने, पचाउन सहज, पाचनशक्ति बढाउने, रुचिकर र ग्रहणीरोग नाशक हुन्छ । तर यस्तोे दही कब्जियत गर्ने, वातविकार बढाउने र दिसा रोक्ने गुणको हुन्छ । सार नभएको (चिल्लोपन निकालिएको ?) दही रुखो, शरीरको जलीय मात्रा सुकाउने, कब्जियत गराउने र वातविकार बढाउने गुणको हुन्छ ।

कपडाले छानिएको दही

[सम्पादन गर्नुहोस्]

कपडाले छानिएको (गालित) दही अति चिल्लो, वातविकार नाशक, कफविकार गर्ने, पचाउन कठिन, बलदायक, पौष्टिक, रुचिकर, मिठो र धेरै पित्तविकार पनि नगर्ने गुणको हुन्छ ।

सखर आदि मिसाइएको दही

[सम्पादन गर्नुहोस्]

चिनी मिसाइएको दही उत्तम हुन्छ । यसले तिर्खा, पित्तविकार, रक्तविकार र डाह नाश गर्दछ । सखर मिसाइएको दही वातविकार नाशक, वीर्यवर्धक, पौष्टिक, तृप्तिदायक र पचाउन कठिन हुन्छ ।

ऋतु अनुसार दही सेवनका नियम

[सम्पादन गर्नुहोस्]

सधैं र सबै ऋतुमा दही खान हुन्न । हेमन्त, शिशिर र वर्षा ऋतुमा दही खानु उत्तम, स्वस्थ्यकर र अति नै पथ्य हुन्छ । यसबेला खाइएको दहीले मानिसको शरीरलाई बलियो र चम्किलो बनाउँदछ । घिउ, सखर, अमला, मुगी वा अन्य कुनै टर्रो स्वादका पदार्थसँग मिसाएर हेमन्त, शिशिर र वर्षा ऋतुमा दही खाने गर्नु पर्दछ ।  

शरद्, ग्रीष्म र वसन्त ऋतुमा दोष (रोग) उत्पन्न गर्ने हुनाले सामान्यतः दही खानु हितकर हुँदैन । शरद ऋतुमा दही खान रुचाउने मानिस चाँडै रोगी हुन्छ ।  यसबेला दही अमिलो छैन, मिठो छ भनेपनि नखानू । शरद ऋतुमा शरीरमा पित्तविकार बढिरहेको हुन्छ, त्यसबेला दही पनि पित्तवर्धक नै हुने हुनाले  हानिकारक हुन पुग्दछ । वसन्तमा कफविकार बढिरहेको हुन्छ त्यसबेला दही खाँदा यसले कफविकार बढाउने हुँदा नखानु । ग्रीष्ममा धेरै गर्मी हुन्छ, दहीमा अम्लीयता हुन्छ, अम्लीयतामा उष्णवीर्यको गुण हुन्छ अर्थात् गर्मी गर्ने गुण हुन्छ, त्यसैले यो ऋतुमा पनि दही खान हुँदैन ।

रातमा दही सेवन

[सम्पादन गर्नुहोस्]

दहीले आफ्नो चिल्लो र रसिलो गुण मार्फत गह्रौँ गर्दै शरीरका रस बहने चौबीस शिरालाई रोकी शरीरलाई भारी बनाउने हुनाले शरीर सव्रिmय हुँदा वा दिउस मात्र दही खानू, रातमा नखानू । रक्तविकार, पित्तविकार र कफविकार हुनेले यसरी पनि रातमा दही नखानू ।  

दही खाने नियम

[सम्पादन गर्नुहोस्]
  • दहीलाई तताएर कहिल्यै खान ।
  • राम्ररी नजमेको (मन्द) दही खान हुँदैन । शरीर भित्र दोष (रोग) बढाउने र पचाउन कठिन हुने हुनाले यो अति नै हानिकारक हुन्छ । राम्ररी पच्यो भने चाहीँ यो बलकारी, अति वीर्यवर्धक, बोसो बढाउने र पाचनशक्ति वर्धक हुन्छ । यो कफ नाशक, वायु नाशक हुनुका साथै यसले धेरै पित्त पनि बढाउँदैन ।
  • सधैं मिठो दही नै खानू, अमिलो नखानू । धेरै अमिलो दही कहिल्यै नखानू । मिठो दहीले रोगनाश गर्दछ भने अमिलो दहीले रोग जन्माउँदछ ।
  • बुद्धिमान मानिसहरू नुन, मरिच, सर्सिउँ, चिनी, मुगी, अमला वा पूmलको रस (मह आदि) नहाली दिनहुँ दही खाने गर्दैनन् ।
  • त्रिकटु वा रायोको धुलो मिसाएर खाइने दहीले कफविकार र वातविकार नाश गर्दछ तथा पाचनशक्ति बढाउँदछ ।
  • दहीले गर्ने विकारलाई नौनीले रोक्दछ ।
  • सिधेनुन, कालो मरीच, घिउ, चिनी (मिश्री वा सखर), मुँगी, अमला र कुसुमरस (मह) सँग दहीको मेल राम्रो हुन्छ । यसकारण यिमध्ये कुनै एक वा सबैकुरा मिसाएर दही पिउने गर्नुपर्दछ । दही मात्र खानुभन्दा यिमध्ये कुनै कुरा मिसाएर दही खानु लाभदायक हुन्छ ।  
  • अलैंची, सिधेनुन, चिनी वा मिश्री, कालो मरीच, अमला, सखर र घिउसँग दही खानु पथ्यकारी हुन्छ ।
  • मुगीको दालसँग दही खानु पनि हितकारी हुन्छ ।
  • त्रिकटु (सुठो, मरीच र पिप्ला) र रायो वा सर्सिउँको धुलो मिसाइएको दही कफनाशक, वातविकार नाशक र पाचकाग्नि बाल्ने गुणको हुन्छ । हेमन्त र शिशिर ऋतुमा यसरी मिसाएर दही खानु पथ्य हुन्छ । यसरी खाँदा शरीर बलियो, सुन्दर र फुर्तिलो हुन्छ ।
  • सखर मिसाएर राम्ररी फिटिएको दहीलाई स्वच्छ वस्त्रले कपडछान गरी सुगन्धित पार्नू । सुठो वा जीराको धुलो हालेर दिगमिग नलाग्ने व्यक्तिका हातबाट बनाइएको यस्तो दही पिउनाले अनेक थरी रोग नाश हुन्छन् ।
  • कफविकार हुँदा र पित्तविकार हुँदा पनि दही नखानू ।
  • कुष्ठरोगीले दही खान हुँदैन ।
  • कफजन्य रोग (खोकी आदि) मा वा पित्तजन्य रोग (कमलपित्त आदि)मा दही पिउनु हानिकारक हुन्छ ।
  • दूध र दही सँगै खान हुँदैन ।
  • दही वा तक्रसँग केरा खान हुँदैन ।  
  • दही र दूधसँग मूला खान हुँदैन ।
  • बासी खानेकुरालाई दहीमा मुछेर वा दहीसँग नखानू ।
  • दूधभात खाँदा दही र तक्र खानु विष खानु समान हुन्छ ।
  • यसैगरी दहीभात वा तक्रभात खाँदा दूध पिउनु विष पिउनु सरह हुन्छ ।
  • तक्र र भात खानाले मोटो बनाउँदछ, यसबेला दही खानु पथ्य हुन्छ ।
  • दही भात खाँदा तक्र अति नै पथ्य हुन्छ ।

नियम मिचेर दही खाँदाका बेफाइदा

[सम्पादन गर्नुहोस्]

दही मन पर्ने मानिस यदि खाने विधि नमानेर सधैं दही खाने गर्दछ भने उसलाई जरो, रक्तपित्त, विसर्प (सुकेलुतो), कुष्ठ, रिँगटा लाग्ने, पाण्डु र भ्रम तथा कडा खालको कमलपित्त रोग हुन सक्दछ ।

दहीका केही ओखती

[सम्पादन गर्नुहोस्]
  • ज्वानु, सिमलको खोटो, अदुवा र धँयेराको पूmलको धुलो पानी नहाली जमाइएको गाईको दहीमा मिसाएर खानाले गङ्गासमान वेगिलो छेरपटी पनि निको हुन्छ ।
  • ओखती विशेषकै कारण दिसा लागे भाङलाई हलुका भुटी दहीमा मिसाएर खानू, ठिक हुन्छ ।
  • त्रिदोषजन्य अतिसार हुँदा गाईको दही वा मोहीसँग भात खानु पथ्य हुन्छ ।
  • रुखो शरीर भएको थाहा पाउना साथ तुरुन्त दहीको सारमा तिलको धुलो मिसाएर फिटी खानु पर्दछ ।
  • जुन मानिसलाई बान्ता गराउनु छ उसलाई पहिले पेटभरी दही पिउन दिनू ।
  • आँपको रुखको बोक्रा गाईको दहीमा अथवा काँजीमा पिसी लेप बनाएर दिसा रोक्नुपर्ने रोगीको नाइटोभन्दा माथितिर दल्नू, लागिरहेको दिसा बन्द हुन्छ ।
  • नाकमा नस हालेपछि भैँसीको दही आदि अभिष्यन्दी वा कफवर्धक पदार्थ नखानू ।

(अन्य पदार्थसँग दही मिसाएर बनाइने ओखती धेरै थरी भएकोले समावेश गर्न सकिएन)

  • गाईको दही गुलियो, अमिलो, पचेपछि गुलियो, रुचिकर, पवित्र, पाचनशक्ति वर्धक, मुटुका लागि लाभदायक, पौष्टिक, वातविकार नाशक, अति शीतवीर्यको, चिल्लो, दीपनी (खाएको कुरा पचेर बनेको रसलाई पचाउँदैन तर पाचकाग्निलाई बाल्दछ), बलदायक, आकर्षक र सबै दहीमध्येमा बढी गुनिलो हुन्छ ।
  • पिनासमा, मूत्रकृच्छ्र (पिसाबले च्याप्ने तर गर्न खोज्दा थोपा थोपा मात्र हुने रोग) मा, मलेरिया वा औलोको जरोमा, लागछोड हुने जरोमा, अल्काईमा र ग्रहणी (खाएको अन्नजल नपची निस्कने अथवा पचे पनि धेरै पटक गरी निस्कने पेटको रोग) मा गाईको दही लाभदायक हुन्छ ।
  • यसले पित्त धेरै बढाउँदैन तर कफ बढाउँदछ ।
  • यो ग्राही (जुन औषधीले पेटभित्रको अग्निलाई बाल्दछ, “आम” आदिलाई पचाउँदछ, गर्मीकारक हुनाले गर्दा जलले पैदा गर्ने कफ आदि दोष, धातु र मललाई सोस्दछ त्यसलाई वा त्यस्तो गुणलाई “ग्राही” भनिन्छ) हुन्छ ।

भैँसीको दही

[सम्पादन गर्नुहोस्]
  • भैँसीको दही शुरुमा र पचेपछि गुलियो, मिठो र स्वादिलो हुन्छ ।
  • यो चिल्लो, थकाई नाशक, धातु प्रशोधक र शीतल गर्ने गुणको हुन्छ ।
  • यसले वातविकार र पित्तविकार ठिक गर्ने, रक्तपित्तलाई जित्ने, शरीरको वर्णमा निखारता लेराउने, दिसासपसाब खुलाउने र पुष्टि दिने काम गर्दछ ।
  • यो बलियो पाचनशक्ति हुनेका लागि पथ्य मानिन्छ ।
  • यसमा कफविकार र रक्तविकार गर्ने, आउँ बढाउने तथा अभिष्यन्दि गुण (थलथले गुणले गरुङ्गोपनबाट रस निकाल्ने चौबीस थरी शिरा नामका नसाहरू थुनेर शरीरलाई भारी (गरुङ्गो) बनाउने द्रव्यलाई अभिष्यन्दी द्रव्य र द्रव्यमा हुने त्यस्तो गुणलाई अभिष्यन्दि भनिन्छ) हुन्छ ।
  • यसले वीर्य, बल, रगत, बोसो र कान्ति बढाउँदछ ।
  • पचाउने कठिन हुने हुनाले यसले पाचनशक्तिलाई पनि मन्द पार्दछ । तर व्योष (त्रिकटु अर्थात् कालोमरीच, सुठो र पिप्लाको धुलो) र सिधे नुन मिसाएर खाए यो सजिलैसँग पच्दछ ।

बाख्रीको दही

[सम्पादन गर्नुहोस्]
  • यो दही उत्तम, पचाउन सहज, रुचिप्रद, खाएको कुरा पचेर बनेको रसलाई पचाउने, पाचकाग्निलाई बाल्ने र पौष्टिक गुणको हुन्छ ।
  • यो दही त्रिदोष, अल्काई, दम, खोकी, क्षयरोग आदि सबै रोग नाशक हुन्छ ।
  • दुब्लोपनमा र आउँ पर्दा यो दही विशेष हितकर हुन्छ ।
  • साना जातका बाख्राको दही दम र खोकी ठिक गर्ने, रुचिकर, सुन्निएको बसाउने र आउँ ठिक गर्ने गुणको हुन्छ । यो दहीमा अग्निगुण प्रधान हुन्छ ।  यो आँखाका रोग नाशक पनि हुन्छ ।
  • बाख्रीको दहीले वीर्य, कान्ति, बल र पाचनशक्ति बढाउँदछ ।
  • बाख्रीको दही कब्जियत गर्ने र उष्णवीर्य (गर्मी गर्ने) को हुन्छ ।
  • यो दही अति चिल्लो, मिठो तथा वातविकार र रक्तवातमा पथ्य हुन्छ ।
  • भेडीको दही कफविकार र पित्तविकार गर्ने, पचाउन कठिन तथा लुतो, कुष्ठरोग, वातरोग, पित्तरोग र कफरोगलाई चाँडै बढाउने गुणको हुन्छ । समग्रमा भन्नुपर्दा भेडीको दहीले सबैखाले दोष बढाउँदछ ।
  • यो दही सुजन र घाउखटिरा नाशक हुन्छ । अल्काई, क्षयरोग र निर्बलतामा पनि यो उपयोगी मानिन्छ । विशेषत यो दही वातरोग वा वातरोगले शरीर सुन्निने रोगमा मात्र उपयोगी हुन्छ । पेटका कीरा मार्ने, अल्काई रोग ठिक गर्ने र स्वादिलो हुने भएपनि यो दहीलाई निन्दनीय दही मानिन्छ ।
  • ढोइको दही शुरुमा खाँदा र पचेपछि पनि टर्रो हुन्छ ।
  • यो दही पचाउन कठिन, उष्णवीर्यको, पुरानो शूलरोग शान्त पार्ने, रुचिप्रद, शरीरमा चमक दिने, कफविकार नाशक, वीर्यवर्धक र बलदायक हुन्छ ।
  • यो पक्तिशूल (खाएको पच्ने बेलामा पेटमा हुने दुःख) नाशक, दिसा बढाउने र मूत्र विकार नाशक पनि हुन्छ ।
  • घोडीको दही गुलियो र टर्रो स्वादको हुन्छ ।
  • यसले कफविकार, बेहोसीपना, पसिना, डाह र मूत्ररोग नाश गर्दछ ।
  • यो दही रुखो, थोरै वातविकार गर्ने, आँखाको लागि अहितकर, पचाउन कठिन र गर्मी गर्ने गुणको हुन्छ ।
  • यो दही दीपनी, बलदायक र वर्णमा निखार लेराउने गुणको हुन्छ ।

पोथी गधाको दही

[सम्पादन गर्नुहोस्]

गधाको दही रुखो, उष्णवीर्यको, पचाउन सहज, दीपनी, पाचनी, गुलियो, अमिलो, रुचिप्रद तथा वातविकार नाशक हुन्छ ।

पोथी उँटको दही

[सम्पादन गर्नुहोस्]
  • उँटको दहीले अल्काई, कुष्ठ, पेटका कीरा, वातविकार, शूल र पेटका रोग नाश गर्दछ । यो दही पिरो, गुलियो तथा थोरै अमिलो र नुनिलो हुन्छ ।
  • यो पचेपछि तितो, बलदायक र चाँडै तृप्त पार्ने गुणको हुन्छ ।

महिलाको दही

[सम्पादन गर्नुहोस्]

स्त्रीको दही शुरुमा अमिलो र खाएपछि गुलियो हुन्छ । यो बलदायक, चिल्लो, तृप्तिदायक, आँखाका लागि हितकर, रोग नाशक र ग्रहबाधा नाशक हुन्छ । यो सबै दही मध्ये उत्तम हुन्छ।

दहीबाट बनाइने केही परिकार

[सम्पादन गर्नुहोस्]

छान्ना : दहीमा पानी हालेर मथेको तरल पदार्थ, पखाले, राइता, सिकर्नी, लस्सी ।

पखालपुखुल : दहीमा पानी हालेर बनाइएको महीजस्तो पातलो वस्तु, पखाले, दहीमहीको अवशेष ।

पखाले : दहीमा पानी हालेर पातलो पारिएको पेय, विनामसलाको राइता ।

पनिर : पानी निचोरिएको दही ।

मट्ठा : पानी, चिनी आदि मिसाएर दहीलाई मन्थन गरी तयार पारिएको पेय पदार्थ ।

लस्सी : दहीबाट तयार पारिएको एक प्रकारको स्वादिलो सर्बत वा पेय वस्तु ।

दही सम्बन्धी अन्य केही शब्द

[सम्पादन गर्नुहोस्]

खतखत : सानो मुख भएका भाँडाबाट दही आदि बाक्लो लेदो पदार्थ खन्याउँदा आवाज आउने किसिम ।

गोराखिलो : धेरै दहीदूध खाएको, खाइलाग्दो ।

छिप्पिनु : ठेकीमा राखिएको दही धेरै दिनको हुनु वा पुरानो बन्नु ।

जम्नु: दूध दहीजस्तो सारो हुनु, ठोस हुनु ।

ढुँडी: दही, मही आदि वस्तु सड्दा नीलो वा हरियो देखिने विकारयुक्त झुस, ढुसी ।

पग्लिँदो: पीतल, तामा आदिका भाँडामा राखिएको दही, मही आदि ज्यादै अमिलो भएर बिग्रँदो, तमतमिँदो ।

बिउ: दहीको जोरन, दही जमाउँदा दूधमा हाल्ने बीउ, जोडन, दही जमाउनका निम्ति दूधमा हालिने दहीको अंश, दहीको बीउ, जोरन ।

मथ्नु: नौनी आदि सारतत्व निस्कने गरी दही, दूध आदि हुँडल्नु, मन्थन गर्नु ।

मथन: दही आदि मथ्ने वा हुँडल्ने काम, आलोडन, आवर्तन ।

मन्थन: मधानी चलाएर दही मथ्ने र नौनी निकाल्ने काम ।

दहीको तर वा छाली

[सम्पादन गर्नुहोस्]

दूध, दही आदिमा मास्तिर लागेको बाक्लो र चिल्लो पानीसहितको भागलाई छाली वा तर भनिन्छ ।

छालीका पर्यायवाची शब्द

[सम्पादन गर्नुहोस्]

छाली, तर, सर, सार र सारतत्व ।

स्वादिलो दहीको तर बलवर्धक, वीर्यवर्धक तथा वातविकार नाशक हुन्छ । यदि यो अमिलो छ भने यसले तल्लोपेट (मूत्राशय) का रोग शान्त पार्दछ तथा सफा गर्दछ ।

स्वादिलो दहीको तर पचाउन कठिन र पाचनशक्ति नाशक हुन्छ । यदि यो अमिलो छ भने यसले पित्तविकार र कफविकार बढाउँदछ ।

दहीको पानी वा मस्तु

[सम्पादन गर्नुहोस्]

दहीको तल तल हुने पानीलाई मस्तु भनिन्छ ।

मस्तु टर्रो, अमिलो र गुलियो मिसिएको तथा स्वादिलो हुन्छ ।

मस्तुका फाइदा

[सम्पादन गर्नुहोस्]
  • बल दिन्छ ।
  • पचाउन हलुका हुन्छ ।
  • खानमा रुचि, पाचनशक्ति र थोरै वीर्य बढाउँदछ ।
  • रस बहने नसा र ग्रन्थीहरूलाई प्रशोधन गर्दछ ।
  • मन प्रसन्न पार्दछ ।
  • कफविकार, तिर्खा, पेटका रोग, फियोका रोग, कब्जियत, विषको प्रभाव, सुजन, शूल,  बिना परिश्रमको थकाई (मानसिक थकाई), गानुगोला, अल्काई र वातविकार नाश गर्दछ ।
  • थुप्रिएको दिसालाई तुरुन्त खुकुलो बनाउँदछ ।
  • मलमूत्रलाई तलतिर सार्दछ ।
  • खाएको कुरालाई टुक्रा पार्दछ ।
  • पाण्डु, दम र गुल्मलाई शान्त पार्दछ ।
  • यसले सन्तोष दिन्छ ।
  • मल (दिसा)लाई शुद्धिकरण गर्दै अचम्मसँग खाएको अन्नलाई चाँडै पचाउँदछ ।
  • पिसाब रोकिने रोगमा अति नै लाभदायक हुन्छ ।
  • मस्तुलाई तक्रभन्दा उत्तम पेयपदार्थ मानिएको छ ।

तक्रका प्रकार

[सम्पादन गर्नुहोस्]

फरक फरक लक्षण अनुसार तक्रका घोल, मथित, तक्र, उदश्वित् र छच्छिका गरी पाँच भेद हुन्छन् ।

घोलको परिभाषा

[सम्पादन गर्नुहोस्]

पानी नमिसाई दहीलाई यसमा भएको तर सहित घोल्दा हुने पेयलाई घोल भनिन्छ ।

घोलका फाइदा

[सम्पादन गर्नुहोस्]

घोलमा सखर वा चिनी मिसाए यो रसाल वा सिखर्नी समान गुनिलो हुन्छ । यसले वातविकार र पित्तविकार नाश गर्दछ तथा मनलाई आनन्द पार्दछ । फुराइएको हिङ, भुटिएको जीरा र सिधेनुनको धुलो हालि बनाइएको घोलले वातविकार धेरै नै ठिक गर्दछ । यसले धेरै मात्रा अल्काई र अतिसारलाई पनि नाश गर्दछ । यस्तो घोलले रुचि बढाउँदछ, पुष्टि दिन्छ, बल दिन्छ र तल्लो पेटको शूल नाश गर्दछ । चिनी हालेर बनाइएको घोलले मूत्रकृच्छ्रमा र चितू मिसाइएको घोलले पाण्डुरोगमा फाइदा गर्दछ । कफविकार, थकाई, वातविकार र वाकवाकी लाग्दा घोल लाभदायक हुन्छ ।

मथितको परिभाषा

[सम्पादन गर्नुहोस्]

सामान्य तरिकाले मथिएको दहीलाई वा तर निकालेर मथ्दा हुने दहीको पेयलाई मथित भनिन्छ ।

मथितका फाइदा

[सम्पादन गर्नुहोस्]

मथितले कफविकार, वातविकार र पित्तविकार नाश गर्दछ ।

तक्रको परिभाषा

[सम्पादन गर्नुहोस्]

दहीलाई एक चौथाई पानी हालेर मथ्दा हुने पेयलाई तक्र भनिन्छ । यसको अंग्रेजी नाम Butter-milk हो ।

तक्रका संस्कृत पर्यायवाची नामहरू

[सम्पादन गर्नुहोस्]

अम्ल, अरिष्ट, उदश्वित्, कालशेय, गोरसज, घोल, तक्र, दण्डाहत, द्रव, मथित र विलोडित ।

तक्रको स्वाद

[सम्पादन गर्नुहोस्]

यसको स्वाद केही टर्रो र केही अमिलो हुन्छ । पचेपछिको यसको रस गुलियो हुन्छ ।

तक्रका फाइदा

[सम्पादन गर्नुहोस्]
  • तक्रले पेटभित्रको अग्निलाई बाल्दछ ।
  • आम आदिलाई पचाउँदछ ।
  • ग्राही हुन्छ ।  
  • सजिलै पच्दछ ।
  • यसले वीर्य बढाउँदछ ।
  • तृप्ति दिन्छ ।
  • वातविकार नाश गर्दछ । यसले ग्रहणी आदि रोग हुनेलाई फाइदा गर्दछ ।
  • पचेपछि गुलियो हुनाले यसले पित्तविकार पनि गर्दैन ।
  • यसले नपच्दै शरीरका सबै बन्धनलाई खुकुलो पार्ने र रसादि धातुका तेजलाई त्यो धातुबाट सोस्ने (विकाशी) काम गर्दछ ।
  • रुखो हुनाले यसले कफविकार पनि नाश गर्दछ ।
  • नियमित तक्र पिउने व्यक्ति कहिल्यै बिरामी पर्दैन ।
  • तक्र पिउनाले निको भएका रोग पुनः बल्झिन सक्दैनन् ।
  • जसरी देवताका लागि सुखकारी पेय अमृत हुन्छ त्यसरी नै पृथ्वीमा बस्ने मानिसका लागि सुखकारी पेय तक्र हुन्छ भनी ऋषिहरूले बताएका छन् ।
  • पेटका सबै रोग नाशक हुन्छ ।
  • जाडो याममा, पाचनशक्ति कमजोर हुँदा, वातविकार हुँदा, अरुचि हुँदा र नसा अवरुद्ध हुँदा तक्र अमृतसमान हुन्छ ।
  • तक्रले संयोगजन्य विषविकार, वाकवाकी, कफविकारले हुने राल आदि चुहिने रोग, विषमज्वर, पाण्डुरोग, बोसोविकार, अल्काई, पिसाब बन्द हुने रोग, भगन्दर, प्रमेह, गानुगोला, अतीसार, शूल, फियोका रोग, पेटका रोग, अरुचि, सेतो कुष्ठरोग, पेटमा हुने रोग, कुष्ठरोग, सुजन, तिर्खा र पेटका कीरा नाश गर्दछ ।
  • तक्रले त्रिदोषलाई शान्त पार्दछ  र खानमा रुची प्रदान गर्दछ ।
  • यो दीपनी र रुचिकर हुन्छ ।
  • तक्रमा हुने अमिलोले वातविकार, गुलियोले पित्तविकार र टर्रोले कफविकार तुरुन्त नाश गर्दछ ।
  • आमजन्य अतिसार, विसूचिका, वातज्वर, पाण्डु, कमलपित्त, प्रमेह, गुल्म, पेटका रोग, वातविकार, शूल र अरुची हुँदा दिनहुँ तक्र पिउने गर्नू ।
  • जाडो याममा, पाचनशक्ति कमजोर हुँदा, कफविकार हुँदा, पाण्डुरोगमा, शरीरमा स्रोतग्रन्थीहरू अवरुद्ध हुँदा र कुष्ठ आदि हुँदा तक्र पिउनु उपयुक्त हुन्छ ।

तक्रका बेफाइदा

[सम्पादन गर्नुहोस्]

तक्रले गर्मी गर्दछ ।

तक्र बनाउने विधि

[सम्पादन गर्नुहोस्]

भैंँसीको बाक्लो र अमिलो दहीमा दहीको एक चौथाई पानी हाली घोलेर कपडाले छानी एउटा माटाको भाँडामा राख्नू । यसमा मात्राअनुसार फुराएको हिङ, जीरा, सिधेनुन आदिको धूलो तथा थोरै रायोका गेढा पनि पिँधेर हाल्नू । यस्तो तक्र कसलाई पो नमिठो होला र ?

घिउ निकालेको र ननिकालेको तक्र

[सम्पादन गर्नुहोस्]

घिउ निकालिएको तक्र पथ्य अर्थात् रोगीका लागि पनि उत्तम र पचाउन सहज हुन्छ । आधा घिउ निकालिएको तक्र पूरै घिउ निकालिएको तक्रभन्दा पचाउन कठिन, वीर्यवर्धक र कफविकार नाशक हुन्छ । यसते तक्रलाई सामान्य तक्र भनिन्छ । घिउ ननिकालिएको बाक्लो तक्र पचाउन कठिन, पौष्टिक र कफविकार गर्ने गुणको हुन्छ । पूरा चिल्लो सहितको तक्रले पेट, निद्रा र लाटोपन बढाउँदछ ।

तक्र खाने विधि

[सम्पादन गर्नुहोस्]
  • शरीरमा वातविकार बढी भए अमिलो तक्रमा सुठो र सिधेनुन हालेर खानु हितकर हुन्छ अथवा पिप्ला र सिधेनुनको धुलो मिसाएर तक्र पिउनू ।
  • शरीरमा पित्तविकार बढी भए गुलियो तक्रमा चिनी हालेर खानु हितकर हुन्छ अथवा चिनी र मरिचको धुलो मिसाएर तक्र पिउनू ।
  • शरीरमा कफविकार बढी भए सुठो, मरिच र पिप्ला हालेर तक्र खानु हितकर हुन्छ अथवा ज्वानु, सिधेनुन, जीरा र त्रिकटुको धुलो मिसाएर तक्र पिउनू ।
  • सन्निपात (तीन वटै दोष) हुँदा त्रिकटुको क्षार र सिँधेनुनको धुलो मिसाएर तक्र पिउनू ।

काँचो र पकाएको तक्र

[सम्पादन गर्नुहोस्]

काँचो तक्रले पेटको कफ नाश गर्दछ तर घाँटीमा कफ जम्मा गर्दछ । यसैले पकाएको तक्र नै पिनास, दम, खोकी आदिमा प्रयोग गर्नु उचित र लाभदायक हुन्छ ।

तक्रखान नहुने अवस्था

[सम्पादन गर्नुहोस्]

क्षयरोगमा, ग्रीष्म ऋतुमा, कमजोर व्यक्तिलाई, बेहोसीमा, घाउ वा चोटपटक लागेका अस्थामा, डाह हुँदा, रक्तपित्त हुँदा, तिर्खा लाग्दा, बेहोस हुँदा, भ्रम हुँदा र विशेष गरी सुत्केरी महिलालाई तव्रm पिउन नदिनू ।

दही अनुसार तक्रमा हुने गुण

[सम्पादन गर्नुहोस्]

दहीबाट बनाइने तक्रमा पनि दहीकै गुण हुन्छ ।

मस्तु नामक तक्रको परिभाषा

[सम्पादन गर्नुहोस्]

पानीभन्दा दोब्बर दही मिसाइएको पेयलाई (पनि) मस्तु भनिन्छ ।

मस्तुका फाइदा

[सम्पादन गर्नुहोस्]

मस्तु तक्रले कमजोर पाचनशक्तिलाई बलियो बनाउँदछ । यसले डाह, विषविकार, दम र खोकी पनि नाश गर्दछ । मस्तु वाकवाकी, थकाई र मानसिक थकाई नाशक समेत हुन्छ ।

उदश्वित्को परिभाषा

[सम्पादन गर्नुहोस्]

आधा पानी हालेर मथिएको दहीलाई उदश्वित् भनिन्छ ।  तक्रको माथितिरको पानीलाई उदश्वित् भनिन्छ पनि भनिएको छ ।

उदश्वित्का फाइदा

[सम्पादन गर्नुहोस्]

यसले रुची, बल बढाउँदछ र आमविकार, त्रिदोष धेरै हदसम्म नाश गर्दछ ।

उदश्वित्का बेफाइदा

[सम्पादन गर्नुहोस्]

उदश्वित्ले कफविकार बढाउँदछ ।

मोही (छच्छिका) को परिभाषा

[सम्पादन गर्नुहोस्]
  1. छाई: दही मथेर नौनी झिकी बनाइएको तरल पेय पदार्थ, मही ।
  2. मट्ठा: नौनी झिकिसकेपछि बचेको तरल वस्तु, मही ।
  3. मही: दही, नौनी झिकिसकेपछि रहन गएको तरल पेय पदार्थ, मोही, छान्ना, मट्ठा ।
  4. छच्छिका: दहीलाई मथेर नौनी निकाली त्यसैमा पुनः पानी हालेर मथेको पेयलाई छच्छिका (मोही) भनिन्छ ।

मोही (छच्छिका) का गुण

[सम्पादन गर्नुहोस्]

मोहीले शीतल गर्दछ । यो पचाउन हलुका हुन्छ । यसले पित्तविकार, थकाई र तिर्खा नाश गर्दछ । मोहीले वातविकार नाश गर्दछ । मोहीमा सिधेनुन हालेर पिउने गरे यसले पाचनशक्ति बढाउँदछ । मोहीले कफविकार गर्दछ ।  

सन्दर्भ ग्रन्थहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]


"https://ne.wikipedia.org/w/index.php?title=दही&oldid=1218250" बाट अनुप्रेषित