सामग्रीमा जानुहोस्

स्याङ्जा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्याङ्जाबाट अनुप्रेषित)
स्याङ्जा
स्याङ्जा जिल्लाका स्थानीय तहहरू
स्याङ्जा जिल्लाका स्थानीय तहहरू
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्ला समन्वय समितिपुतलीबजार
क्षेत्रफल
 • जम्मा१,०३७.४६ किमी (४००.५७ वर्ग माइल)
उच्चतम उचाई
२,५१२ मिटर (८२४१ फिट)
न्यूनतम उचाई
३६६ मिटर (१२०१ फिट)
जनसङ्ख्या
 • जम्मा२८९,१४८
 • घनत्व२८०/किमी (७२०/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयतामगर, गुरुङ, नेवार, बाहुन, क्षेत्री
भाषा
 • मुख्य भाषाहरूनेपाली, मगर, गुरुङ
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
स्थानीय तह११ वटा
नगरपालिका५ वटा नगरपालिकाहरू
गाउँपालिका६ वटा गाउँपालिकाहरू
वेबसाइटwww.ddcsyangja.gov.np

स्याङ्जा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम स्याङ्जा हो ।[] राजनीतिक विभाजनका आधारमा यस स्याङ्जा जिल्लामा विगतका ६० गा.वि.स सहित समायोजन गरी ५ नगरपालिका र ६ गाउँपालिका छन्।्याङजा जिल्ला, बिश्व प्रसिद्दस्थल लुम्विनी र पर्यटकिय नगरी पोखराको बिचमा पर्ने सुन्दर र रमणिय स्थलहरूले भरिपूर्ण जिल्ला हो । जम्मा १,१६४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्लालाई कोटै कोटको जिल्ला समेत भन्ने गरिन्छ । नुवाकोट, सतौंकोट, भिरकोट, गह्रौकोट, कालिकाकोट, बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन् । यस जिल्लामा नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारे, पुरूषोत्तम भगवान रामका पिता दशरथसंग जोडिएको अन्धाअन्धी दह र आधीखोला, संसारकै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमशः गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट पर्दछन् । यस जिल्लामा विभिन्न धर्म (#हिन्दु #बौद्ध #इस्लाम #इसाइ अन्य ) तथा जातजातिका विविध संस्कृति भएका मानिसहरूको बसोबास छ । ३ नगरपालिका र ५७ गाविसमा बिभाजित स्याङजा जिल्लाको प्रमूख खोला आँधीखोला हो भने प्रमूख नदि कालीगण्डकी हो । ब्यापारीक हिसावले ठूलो र घनावस्ती रहेका ठाउँहरु स्याङ्जा बजार र वालिङ बजार हुन् । यस जिल्लाको मध्य भागबाट सिद्दार्थ राजमार्ग निर्माण गरिएको छ भने हाल आएर प्रत्येक गाउँ सम्म पुग्नका लागि कच्ची सडक खनिएको छ। यो जिल्ला सुन्तला, अदुवा, अलैंची तथा कफी जस्ता नगदेबालीका लागि प्रसिद्ध छ र यहाँ उत्पादित कृषिजन्य वस्तुहरु देश बिदेशमा समेत निर्यात हुने गरेको पाईन्छ । यस जिल्लालाई देशकै शिक्षित जिल्लाको रूपमा चिनिन्छ । यहाँका अधिकाँश शिक्षित वासिन्दाहरु नेपाल सरकारको निजामति सेवा अन्तर्गतका उच्च ओहोदामा पुगी देश सेवामा जुटेका भेटिन्छन् भने युवाहरु देश बिदेश पुगी रोजगारीमा संलग्न रहेका छन् । स्याङजा जिल्ला विविध जाती, धर्म र समुदायको संगमस्थल पनि हो ।[]

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको नाम स्याङ्जा रहनूमा विभिन्न कथनहरू पाइएका छन। तिनीहरूमा निम्न कथनहरू प्रनुख छन :-

  • अठारौ शताब्दी तिर आँधीखोला उर्लदै बढेर आए पछि ठेलिएछ। यसरी ठेलिएको देखेपछि मानिसहरूमा हाहाकार मच्चिन थाल्यो। एक जना सज्जन बृद्धाले भगवानलाई पूकार्दै खोलो "स्यांइय जा" भन्ने कामना गरेछन । बृढाको कामना सगै ठेलिएको खोलो "स्यांइय" खूलेर गए पछि "स्यांइय जा"को अपभ्रंस भएर स्याङ्जा हुन गएको हो भनाई रहेको छ ।
  • एकीकरण पुर्ब सेन बंशीय चौबीसे राज्य अन्तर्गत सतौ गह्रौ, नूवाकोट र भीरकोट राज्यमा बिभक्त भै "सेन जा" भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको हो भन्ने भनाई पाइन्छ ।
  • यस जिल्लामा सिंजाली मगरहरूको ठूलो बस्ती भएकोले उनीहरूकै थरबाट अपभ्रंस भएर यस जिल्लाको नाम स्याङ्जा हून गएको हो भन्ने भनाई पनि छ ।

यी कथनहरूको आधारमा हाल जिल्ला सदरमूकाम रहेको स्थानको नाम स्याङ्जा रहन गएको र तत्कालिन अवस्थामा यो ठाउँ जिल्लाको प्रमूख ब्यापारिक केन्द्र हूनूको साथै पर्वत बाग्लूङ, म्याग्दी मूस्ताङ र तनहूँ जिल्लाको प्रमूख ब्यापारिक नाकाको रूपमा पनि परिचित नाम भएकोले नै जिल्लाको नाम पनि स्याङ्जा नामाकरण गरिएको अनूमान गर्न सकिन्छ।

राजनीतिक विभाजन

[सम्पादन गर्नुहोस्]

राजनीतिक विभाजनका आधारमा स्याङ्जा जिल्लामा विगतका ६० गा.वि.स सहित समायोजन गरी ५ नगरपालिका र ६ गाउँपालिका छन्।

यद्यपि जिल्लाको ऐतिहासिक रूपरेखा र नामांकन सम्बन्धमा कूनै आधिकारिक एवं भरपर्दो अभिलेख प्राप्त भएको छैन तापनि हाल सम्म प्राप्त विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरूको कथन समेतको आधारमा स्याङ्जा जिल्लालाई प्रागः ऐतिहासिक कालमा भृगू ऋषिको तपस्या स्थल (हालको चण्डीभज्याङ् गाविसको भृगतूम) श्रवण कूमार र अन्धाअन्धीको किंवदन्तीसँग जोडिएको आधीखोलाको उदगमस्थल अन्धाअन्धी दह र स्वस्थानी ब्रतकथामा उल्लेख भए अनूसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलिक स्वरूपमा लिन सकिन्छ ।

प्राचिन कालमा हालको स्याङ्जा जिल्लाको भुबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मिक नदी कालीगण्की किनारका सेतीबेणीको रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट छाँया क्षेत्र हूदैं उत्तर पञ्चासे धाम (बालाचतूर्दशीका दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरूमा उल्लेख भएको पाइन्छ । प्राकृतिक सांस्कृतिक र मनोरम दृश्यहरूबाट सौन्दर्यित स्याङ्जा जिल्लामा नेपाल एकिकरण पूर्व २४ से राज्य अन्तर्गत ६ टुक्रे रजौटाहरू गह्रौ, भीरकोट् सतौं, नूवाकोट, ढोर र पैंयू अस्तित्वमा थिए। ढोर र पैंयूको धेरै जसो भाग क्रमशः तनहूँ र पर्वतमा विलय भए पछि बांकी ४ रजौटाहरूले नै आधूनिक स्याङ्जा जिल्लाको पहिचान बोकेको छ ।

राष्ट्रिय जनगणना २०५८ अनुसार स्याङ्जा जिल्लाको कूल जनसङ्ख्या ३,१७,२११ जना मध्ये पुरुष १,४३,५९२ जना र महिला १,६३,६१४ रहेका छन् । भने राष्ट्रिय जनगणना २०६८ अनुसार स्याङ्जा जिल्लाको कूल जनसङ्ख्या २,८९,१४८ जना मध्ये पुरुष १,२५,८३३ जना र महिला १,६३,३१५ रहेका छन् ।[][] जिल्लाभरी ६८,८८१ घर तथा ६४,८८८ परिवार रहेका र ब्राह्रमण ३२.९%, मगर २१.२%, क्षेत्री ११.२%, गुरुङ् १०%, कामी ६.५%, सार्की ३.२%, दमैं ३.२%, नेवार २.९%, ठकूरी २.७%, र्घर्ति २.२ %, सन्यासी ०.७ %, मुस्लिम ०.६ %, कूमाल ०.३ % र अन्य २.४ %मा विभाजित रहेका छन । यी विभिन्न जातजातिहरू परापूर्वकालदेखि नै आपसी सौहादर्रता र मित्रता कायम राखि बसोबास गरेका र जातिय विविधता अगाल्दै नेपाली भाषा प्रायः सबैले बुझ्ने गर्दछन ।[]

धर्मालम्बीहरूको विवरण[]

स्याङ्जा जिल्लाका बासिन्दाहरूको धर्म बिबरण
धर्म प्रतिशत (%)
हिन्दू
८६.०७%
इस्लाम
०.५८%
बुद्ध
१२.४७%
क्रिश्चियन
०.०७%
जैन
०.०१%
धर्म को विभाजन
समावेश छन अन्य (0.08%).

भौगोलिक अवस्था

[सम्पादन गर्नुहोस्]

नेपाल अधिराज्यको पश्‍चिमाञ्‍चल विकास क्षेत्र अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम स्याङजा पुतलीबजार न.पा. ८५० मिटर उचाइमा आँधिखोलाको किनारमा रहेको छ । यस जिल्लाका छिमेकी तथा किल्लाकारूपमा कास्की, पर्वत, तनहुँ, गुल्मीपाल्पा जिल्लाहरू रहेका छन । स्याङ्जा जिल्ला समुन्द्री सतहबाट ३६६ मिटर देखि २,५१२ मिटरसम्मको उचाईमा अवस्थित छ। भौगोलिक विवरण अनुसार कुल ११६४ वर्ग कि.मी.मा फैलिएको यस जिल्ला ८३', २७" देखि ८४' पूर्व ४६" देशान्तर र २७' ५२" देखि २८' १३" उत्तरी अक्षांशभित्र फैलिएको छ। जिल्ला भित्र ५७ वटा गा.वि.स., ३ वटा नगरपालिका, ३ वटा निर्वाचन क्षेत्र र १५ वटा इलाका रहेका छन ।[][]

भूगोल र जलवायु

[सम्पादन गर्नुहोस्]
जलवायु क्षेत्र[] उचाई सीमा क्षेत्र (%)मा
उष्ण प्रदेशिय ३०० देखि १,००० मिटर
१,००० देखि ३,३०० फिट
१५%
समशीतोष्णिय १,००० देखि २,००० मिटर
३,३०० देखि ६,६०० फिट
७०%
शीतोष्ण २,००० देखि ३,००० मिटर
६,४०० देखि ९,८०० फिट
१५%

आर्थिक अवस्था

[सम्पादन गर्नुहोस्]

स्याङ्जा जिल्लाको जम्मा १,०२,०८७ हेक्टर जमीन रहेकोमा कृषिका लागि खेतियोग्य जमीन ७६,५२० हेक्टर रहेकोमा जम्मा ४७,९४२ हेक्टरर जमीनमा मात्र खेती गरिएको छ, जसमध्ये खेततर्फ १६,१७८ हे. र पाखो तर्फ ३१,७६४ हे. रहेको छ। फलफूल तर्फ सुन्तला, मौसमी र वेमौसमी तरकारी उत्पादन, कफी खेती, सदन बाली विकास कार्यक्रम, मौरीपालन तथा रेशम खेती विकास कार्यक्रम, दिगो भू-वयवस्थापन र साना सिंचाई कार्यक्रम प्रमुख रूपमा संञ्चालनमा ल्याइएकोछ । सुन्तला, उखु, कफी, गोलभेंडा, अदुवा र दुग्ध उत्पादन यहाँका कृषकहरूको आयआर्जनको प्रमुख स्रोतको रूपमा रहेको छ ।[]

स्याङ्जा जिल्लाको करिब करिब मध्य भागमा उत्तर दक्षिण भएर सिद्धार्थ राजमार्ग अवस्थित छ। उक्त रामजार्गको सबैभन्दा धेरै अंश, ७० कि.मि. यसै जिल्लामा पर्दछ। सिद्धार्थ राजमार्गमा जोडिने गरी विभिन्न जिल्ला तथा ग्रामीण सडकहरू निर्माण भएका छन्। यस जिल्लाको ५८७ कि.मि. स्थानीय सडक मध्ये करिब ४४५ कि.मि. सडकमा कात्तिक महिनादेखि जेठ महिनासम्म यातायत सञ्चालन हुन्छ ।[]

सञ्चारका विविध साधनहरू मध्ये यस जिल्लामा हुलाक, टेलिफोन, आकाशवाणी, टि.भि., रेडियो तथा निजी क्षेत्रका पत्रपत्रिका पनि प्रकाशनमा छन्, हुलाक तर्फ जिल्ला हुलाक १, १२ वटा इलाका हुलाक, टेलिफोन तर्फ सदरमुकाममा ४०० लाईन, ५१२ लाईन क्षमताको एक्सचेन्जबाट,वालिङमा २११ लाईन र गल्याङ्‍मा ११६ लाईन वितरण भएकाछन्।जिल्लाका ३१ वटा गा.वि.समा मार्टस प्रणाली उपलव्ध छ । वालिङको गह्रौंसुरस्थित टेलिफोन टावरमा माओवादीबाट आक्रमण भएका कारण केही समयदेखि सञ्चार सुविधा अवरुद्ध भई वालिङ् क्षेत्रमा लोकल टेलिफोन कलको व्यवस्था सञ्चालित छ। अत्यावश्यकिय सेवाकोरूपमा ती क्षेत्रका लागि १२ लाईन टेलिफोन पाल्पाबाट STD/ISD सेवा उपलव्ध गराईएको छ । आकासवाणी, टि.भि., रेडियोका हकमा घरघरमा आवश्यकतानुसार सञ्चालनमा आएका छन । पत्रिका तर्फ विचार साप्ताहिक, समय साप्ताहिक, स्याङ्जा सन्देश पाक्षिक,स्याङ्जा एक्सप्रेस, सत्यदुत साप्ताहिक जस्ता स्थानीय पत्रपत्रिका प्रकाशनमा आएका छन। हाल आएर कम्प्युटर तथा ईन्टरनेट सेवामा पनि उल्लेखनिय बृद्धि भएको छ ।[]

हाल यस जिल्लामा र्सार्वजानिक र नीजि गरी प्रा.वि. ५६०, नि.मा.वि. १५८, मा.वि. ९० उच्च मा.वि./क्याम्पस २४० वटा गरी जम्मा ८३२ संस्थामा १,०८,१११ विद्यार्थीहरू लाभान्वित हुन पुगेका छन् भने निरक्षरता घटाउने, लैंगिक विभेद हटाउने, शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने, विद्यालयहरूको भौतिक सुधार गर्ने, निःशुल्क पाठ्य पुस्तक वितरण गर्ने, राष्ट्रिय छात्रावृत्ति उपलब्ध गराउने, महिला शिक्षा कार्यक्रम र सामुदायिक वितरण गर्ने, राष्ट्रिय छात्रावृत्ति उपलब्ध गराउने, महिला शिक्षा कार्यक्रम र सामुदायिक विद्यालय सहयोग कार्यक्रम जस्ता क्षेत्रहरूमा कार्यक्रम केन्द्रीत गरी सञ्चालनमा ल्याइएको देखिएको छ ।[]

जिल्लाका २ न.पा. र ६० गा.वि.स. हरूमध्ये आँधीखोला जलविद्युत केन्द्र (बुटवल पावर कं.प्रा.लि.)बाट १ न.पा. र १९ गा.वि.स.मा र नेपाल विद्युत प्राधिकरण स्याङ्जाले १ न.पा. र २० गा.वि.स.मा गरी जम्मा २ न.पा. र ३९ गा.वि.स. का साढे सत्र हजार ग्राहकहरूलाई मात्र सुविधा पुर्‍याई आएका छन्। यसरी जिल्लाका कूल घरधुरीको ५३.३२%ले मात्र विद्युत सेवा उपभोग गर्न पाएका छन ।[]

धार्मिक तथा पर्यटकीय स्थलहरू

[सम्पादन गर्नुहोस्]

दरौसिरुबारी

[सम्पादन गर्नुहोस्]
भालुपहाड

स्याङजाको पर्याटकीय तथा मनोरम ठाउँ हो भालु पहाड । यो ठाउँको दृश्यावलकनको लागि दैनिक सयौँ पर्यटक यहाँ आउने गर्दछन् । जिल्लाको आन्तरिक तथा शिदार्थ राजमार्गमा यात्रा गर्ने पर्यटक बसेर फोटो खिच्ने तथा पहाडको दृश्यको मजा लिने ठाउँ हो भालु पहाड ।यहाँ नेपाली चलचित्रका गित तथा म्युजिक भिडियोहरु यहाँ सुटिङ हुने गर्दछ ।

छाङ्गछाङ्गदी

[सम्पादन गर्नुहोस्]
स्याङ्जा बजारको तस्बिर
छाङ्छाङ्दीको वातावरण

श्री स्वस्थानी ब्रतकथामा आधारित सतीदेवीको अङ्ग पतन भएको स्थल, छायां क्षेत्रको रूपमा समेत परिचित पवित्र तीर्थ स्थल जिल्ला सदरमुकाम बाट १८ किलो मीटर दक्षिण सिर्द्धार्थ राजमार्गमा नै पर्छ । सुन्दर अनी मनमोहक , सितल बातावरण यहाँको विशेषता हो। []

पन्चासेको लेक

[सम्पादन गर्नुहोस्]

समुद्र सतहबाट २५१२ मीटरको उचाईमा रहेको जिल्लाको अग्लो स्थान र बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा पर्छ । यो स्थान स्याङ्जा कास्कीपर्वत जिल्लाको सीमामा एक पर्यटकीय स्थानको रूपमा रहेको छ ।[]

अन्धाअन्धी दह

[सम्पादन गर्नुहोस्]
आँधीखोलाको मुहान अन्धाअन्धी दह

चिलाउनेबास गा.वि.स.मा पर्ने प्रसिद्ध दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ। त्रेतायुगमा श्रवणकुमारले आफना अन्धा बाबु आमालाई तीर्थ घुमाउने क्रममा यस ठाउँमा आई पुगे पछि बाबु आमालाई चिलाउनेवास अन्तर्गतको अन्धाअन्धी क्षेत्रमा राखि पानी खोज्न जाँदा दशरथले शिकारको लागि जताततैको पानी सुकाई श्रवणकुमार समाधि क्षेत्रमा मात्र पानी राखेकोमा बाबुआमालाई पानी खुवाउन पानी खोज्दै जाँदा श्रवणकुमार स्याङ्जा जिल्लाको बाङ्गसिङ्ग गावि स को हाल वडा नं ८ मा पर्ने घ्याङ्गसिरी भन्ने ठाउँमा पुगी पानी फेला पारी पानी भर्न गाग्रो डुवाउँदा निस्किएको आवाजलाई दशरथले मृगको आवाज सम्झी बाण हान्दा बाणले श्रवणकुमारलाई लागि श्रवणकुमारको मृत्यु भएको र राजा दशरथ पानी लिएर जादां श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुबै जना त्यहीं रुँदारुँदै मरेका हुँदा उनीहरूको आँसुबाट दहको उत्पति भएकोले त्यस दहको नाम अन्धाअन्धी दह रहन गएको किम्बदन्ती रहेको छ। यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ ।[]

श्रवणकुमार समाधि क्षेत्र

[सम्पादन गर्नुहोस्]

स्याङ्जा जिल्लाको बाङ्गसिङ्ग गावि स को वडा नं ८ को घ्याङ्गसिरीमा श्रवणकुमार समाधि क्षेत्र रहेको र यस क्षेत्रमा त्रेता युगमा अन्धा बाबुआमालाई बोकी घुम्न आउने क्रममा श्रवण कुमारले चिलाउनेवास अन्तर्गतको अन्धाअन्धी क्षेत्रमा बाबुआमालाई राखि तिर्ख्याएका बाबुआमाको प्यास मेटाउन पानी खोज्दै जाँदा श्रवणकुमार स्याङ्जा जिल्लाको बाङ्गसिङ्ग गावि स को हाल वडा नं ८ मा पर्ने घ्याङ्गसिरी भन्ने ठाउँमा पुगी पानी फेला पारी पानी भर्न गाग्रो डुवाउँदा निस्किएको आवाजलाई दशरथले मृगको आवाज सम्झी बाण हान्दा बाणले श्रवणकुमारलाई लागि श्रवणकुमारको मृत्यु भएको हो, राजा दशरथ पानी लिएर जादां श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुबै जना त्यहीं रुँदारुँदै मरेका हुन, पछि दशरथले भाञ्जा मारिएको र अण्धाअन्धीको श्रापको दोश मेटाउन उक्त घ्याङ्गसिरीमा यज्ञ समेत गरेको भन्ने भनाई रहेको छ । बाण लागि श्रवणकुमारको मृत्यु भएको ठाउँमा निजको घोप्टो परेको आकारमा मुर्ती रहेको छ । भने पानी भरेको ठाउँमा हाल पनि पानीको रङ्ग रातो रहेको र दशरथ बाण हान्न लुकेर बसेको पहरा समेत बाङ्गसिङ्ग गा वि स वडा नं ८ को घ्याङ्गसिरीमा रहेको र उक्त स्थानमा हाल बाला चतुर्दशीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त क्षेत्रमा मन्दिर समेत निर्माण गरिएको छ । पञ्चासे र श्रवणकुमार समाधि क्षेत्रमा समेत हाल संयुक्त रूपमा पर्यटकीय स्थलको रूपमा विकास गर्ने कार्य भई रहेको छ ।[]

धार्मिक स्थलहरू

[सम्पादन गर्नुहोस्]

स्याङ्जा नुवाकोट 

[सम्पादन गर्नुहोस्]
कालिका मन्दिर , वली दियिदै

नुवाकोट स्याङ्जा जिल्लाको उच्च मध्य पहाडी भुभागमा हो । यो समुन्द्र सतहबाट १९०० मि को उचाइमा रहेको यो ठाउँ स्याङ्जा जिल्लाको पुरानो सदर्मुकाम पनि हो। चौबिसे राज्य मध्यको एक शक्तिशाली राज्य नुवाकोट प्रकृतिक सुन्दरताले भरिपूर्ण छ। माछापुछ्रे ,अन्नपूर्ण, धवलागिरी ,मनास्लु जस्ता हिमालको सुन्दर अवलोकन गर्न पाइने अनी हरियाली बातावरणले घेरियको यो ठाउँ स्याङ्जा जिल्लाको एक महत्तोपूर्ण पर्यटक स्थल पनि हो। यो एक धार्मिक स्थल पनि हो। यहाँ रहेको चण्डी माइको मन्दिरलाई देउताहरूको पूजाको बिसर्जन गर्ने मन्दिर को रूपमा बुझिन्छ। यहाँ दशैको बेलामा भाकल अनी पूजाका लागि आयका भक्तजनहरूको विशेष घुइचो हुने गर्छ। देवी कालिकाको मन्दिर पनि यहाँको विशेष मन्दिर हो जहाँ दशैको नवमी अनी चैते दशैको बेला कालिकालाई खुशी पार्न बली दियर पूजा गरिन्छ। यस मन्दिरका मुख्य तथा परम्परागत पूजारी रेग्मी थरका रहेका छन। भैरबनाथ मन्दिर सबै भन्दा टुप्पोमा रहेको छ। भैरवनाथको मन्दिरका पनि आफ्नै विशेषता छन। स्याङ्जाको नयाँ सदरमुकाम अनी स्याङ्जा जिल्लाका विभिन्न ठाउँहरु यहाँबाट देख्न सकिन्छ। पर्यटकिय हेतुले स्थापना गरियको प्याराग्लाइडिङ अहिले बन्द गरियको छ। पोखराबाट पनि नजिक पर्ने यो ठाउँ निकै महत्त्वपूर्ण पर्यटकिय स्थल  बन्न सक्छ। 

राधा दामोदर आश्रम

[सम्पादन गर्नुहोस्]

साँखर गा.वि.स.मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ ।[]

चण्डीकालीका

[सम्पादन गर्नुहोस्]

पुतलीवजार न.पा. वडा नं. ८ को संतौमा पर्छ यो मन्दिर । यो स्याङ्जाबाट करीब डेढ घण्टा पैदल हिंडेर या गाडीमा पनि जान सकिन्छ । हाल संतौ सम्म जाने बाटो कालो पत्रे भएको छ । यहाँ विभिन्न तिथिहरूमा श्रद्धालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ । यस मन्दिर रमणिय ठाँउमा छ । यहाँबाट स्याङ्जा लगाएत विभिन्न ठाँउहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ ।[]

स्याङ्जा पाल्पा सिमानामा रहेको कालिगण्डकी पुल नजिकै  एक  भुगर्भशास्त्रको विद्यार्थी

काली गण्डकीको किनारमा रहेको प्रसिद्ध धार्मिक स्थल सदरमुकामबाट ५२ किलोमिटर दक्षिणमा पर्छ ।[]

रामनदी धामको नाम बाट समेत प्रसिद्ध यस ठाउँमा राम भगवान बनबास जाने क्रममा यस स्थानमा आइ कालीगन्डकी स्नान गरेको कारण रामनदी धाम नामाकरण भएको र पछि अपभ्रंस हुँदै राम्दी रहन गएको किंवदन्ती रहेको छ। स्याङ्जा र पाल्पाको सिमानामा रहेको यस क्षेत्रमा पाल्पा तर्फ हालको बगनासकाली गाउँपालिका र स्याङ्जा तर्फ गल्याङ नगरपालिका को वडा नं १ रहेको छ। यहाँ स्याङ्जा पाल्पा रुपन्देही लगायतका जिल्लाहरुबाट दाहासंस्कार को लागि शवहरु ल्याइने गर्दछन भने। यस क्षेत्रमा सिद्धबाबा मन्दिर, राधाकृष्ण मन्दिर, आदि थुप्रै धार्मिक मन्दिर हरु रहेका छन। गुरुकुल, गौशाला, बृद्धाश्रम आदि यस क्षेत्रको स्याङ्जा तर्फ रहेकाछन।

शाहवंशका कुलदेवीका रूपमा रहेकी आलम देवी देशकै महत्त्वपूर्ण धार्मिक स्थल सदरमुकामबाट किलो मीटर दक्षिण पश्चिममा पर्छ।यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रूपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वराहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्ग गा.वि.स.मा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिइन्छ ।[] आलमदेबी नेपाली राजाहरूको कल पूजा गरने स्थल पनि हो।

स्याङ्जा जिल्लाको सबैभन्दा अग्लो पहाड बुढाकोट हो । गुरुङको बस्ति रहेको यस पहाडको टुप्पोबाट स्याङ्जाको अधिकाङ्श ठाउँ, पाल्पापोखरा हेर्न सकिन्छ। पहाडको टुप्पोमा एक मन्दिर छ जहा दशैमा विशेष भिड हुन्छ ।[] एलादी र मझाकोत गा बि स मा पर्न यो दादाएक पर्यटन आकर्षण केन्द्र हो

यो गूफा बहाकोट गाविसमा पर्दछ । किम्बदन्ती अनुसार पौराणीक कालमा भगवान महादेव यसै गुफामा आएर बसेको पाइन्छ । यस गूफामा जाने २ वटा प्रवेश मार्गहरु छन । त्यी दुबै करीव ३०० मिटर भित्र पसे पछि भेट हुन्छ भने एउटा मार्ग अझै अगाडि बढिरहेको छ त्यसको अन्त्य कहाँ हुन्छ ठ्याक्कै एकिन छैन । स्थानिय भनाई अनुसार यहाँबाट एउटा कुकुर प्रवेस गरी राङभाङ गएर निस्किएको थियो । यस गूफा भित्र आर्कषक देवी देवता र गाई को मुख लगाएत भित्र एउटा छ्याङ छ्याङ गर्ने पोखरी पनि छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "ग्रामीण पहुँच सुधार र विकेन्द्रीकरण परियोजना", डिटिएमपी, डिसेम्बर २०१२, अन्तिम पहुँच ६ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
  3. ३.० ३.१ "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html 
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ ४.१४ ४.१५ ४.१६ ४.१७ "जिल्ला विकास समिति, स्याङ्जा (सांख्यिकीय रिपोर्टहरू)", जिल्ला विकास समिति, स्याङ्जा, http://ddcsyangja.gov.np/page-Statistical_reports। 
  5. "धर्मालम्बीहरूको विवरण", तथ्याङ्कीय जानकारी 
  6. नेपालको संभावित वनस्पती को मानचित्र - वन विज्ञान कृषि विज्ञान तथा जैविक विविधता वर्गीकरण प्रणाली, वन र ल्याण्डस्केप विकास र पर्यावरण शृङ्खला २-२००५ र CFC-TIS दस्तावेज शृङ्खला नं.११०, २००५, आइएसबिएन 87-7803-210-9, अन्तिम पहुँच Nov २२, २०१३  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ३, २०१३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]