सामग्रीमा जानुहोस्

तोरण शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तोरण शमशेर जबराबाट अनुप्रेषित)
तोरण शमशेर जङ्ग बहादुर राणा
नेपालको प्रधान सेनापति
नेपालका प्रधान सेनापतिहरू
पदमा
२०१३ जेष्ठ ७(सन् १९५६)  २०१७ जेष्ठ ७ (सन् १९६०)
पूर्वाधिकारीकिरण सम्शेर राणा
उतराधिकारीनीरशमशेर
नेपाल प्रहरीको प्रमुख
पदमा
२००७ चैत्र  २००७ चैत्र[]
पूर्वाधिकारीप्रथम
उतराधिकारीनर शमशेर
व्यक्तिगत विवरण
जन्मडिसेम्बर १९०४
दम्पतीरानी पद्मा कुमारी देवी []
आमाबुबा
  • इन्द्र शमशेर (बुबा)
विभूषण
त्रिशक्ति पट्ट-प्रथम
गोरखा दक्षिण बाहु-प्रथम
विशेष सेवा पदक
सैन्य सेवा
निष्ठा नेपाल
शाखा/सेवा नेपाली सेना
लडाइँ/युद्धहरूदोस्रो विश्व युद्ध

तोरण शम्शेर नेपाली सैन्य अधिकारी र सरकारी कर्मचारी थिए। उनले नेपाली सेना प्रधानसेनापति र नेपाल प्रहरीको प्रथम महानिरिक्षक भएर काम गरेका थिए।

नेपाली सेनाको ब्रिगेडियर जनरल पदबाट सदर पुलिस गोस्वाराको आईजीपी भएका तोरण शमशेर तीन दिने कार्यकालपछि फेरि मेजर जनरल पदमा बढुवा भई नेपाली सेनामा फर्किएर २०१७ मा प्रधान सेनापतिबाट अवकाश भएका थिए। यसर्थ तोरण शमशेर नेपाल प्रहरीको पहिलो आईजीपी हुन् तर संस्थागत आईजीपी चाही होइनन्। २०५१ सालसम्म पहिलो आईजीपीको रुपमा नरशमशेरलाई मानिदै आएको भएपनि २०५२ पछि भने तोरण शमशेर राणा पहिलो आईजीपी मानिन थाल्यो।[] उनको निधन बि.सं.२०५३ सालमा ९९ वर्षको उमेरमा भयो ।

तोरण शमशेर; वीर शमशेरका नाति र इन्द्र शमशेरका छोरा हुन्।[] चन्द्र शमशेरले बनाएको ए,बि,सी रोलक्रम अनुसार उनी सि क्लासका राणा थिए ।

उनी १९७६ सालमा मेजरमा भर्ना भएर २००७ सालमा ब्रिगेडिएर जनरल भएका थिए ।[]

२००७ सालको क्रान्ति

[सम्पादन गर्नुहोस्]

२००७ असोजमा इन्द्रजात्राको दिन शक्तिशाली बम पड्काएर प्रधानमन्त्रीसहित रोलवाला राणाहरूलाई एकै चिहान वनाउने योजनाको अन्तिम हुँदै गर्दा पक्राउ परेका मिसन टोलीका एक सदस्यले सूचना चुहाई दिए।[]

खानतलासीमा तोरणशमशेरबाट “वायरलेस सेट”, प्रतापविक्रमबाट “स्टेनगन” हरू बरामद भयो । २००७ असोज ८ राती कर्णेल तोरण शमशेर, कर्णेल प्रतापविक्रम शाह, महेन्द्रविक्रम शाह र नेपाली सेनाका अरूलाई पनि पक्राउ गरियो । साथै नोदविक्रम; मोहनविक्रम; अम्बरबहादुर; राजदासहरू समेत पक्राउ परे।[] पक्राउ परेका व्यक्तिहरू सबैलाई सिहदरबार भित्री गारतमा र बाहिरी गारतमा नेल हतकडीसमेत लगाई वन्दी बनाई राखे ।

श्री ३ र अरूहरूको हत्या गर्ने षड्यन्त्रमा लागेको, नेपाली सेनालाई भड्काउने प्रयत्न गरेको आदि कतिपय अभियोग मूलतः गणेशमान सिंह, सुन्दरराज, दिलमान सिंह थापा, कुलमान लामा र तोरण शमशेरसमेतलाई लगाइएको थियो । त्यसैले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाउने तयारीमा हरिशमशेरको नेतृत्वमा विशेष अदालत लागिरहेको थियो ।[][] सिंहसहितका राजबन्दीमाथिको मृत्युदण्डमाथि लालमोहर लगाउन प्रधानमन्त्रीले चर्को दबाब हालेका भए पनि राजा त्रिभुवनले आलटाल गरिरहेका थिए । कार्तिक २१ मा राजा त्रिभुवन भारतीय दुतावासम शरण लिएपछि मृत्युदण्ड टर्‍यो ।

प्रहरी महानिरिक्षक

[सम्पादन गर्नुहोस्]

राणा शासनको अन्त्य भएपछि आईजीपी पद सिर्जना भयो। राणा परिवारकै भए पनि उदार विचारधारा राख्ने तोरण शमशेर राजा त्रिभुवनका विश्वास पात्र व्यक्ति मध्येमै पर्दथे। राजा त्रिभुवनले उनलाई बोलाएर "तिमी आईजीपीमा बस" भने।[] राजाको बचन काट्न नसकी आईजीपीमा नियुक्ति भएर पद ग्रहण गरे। किशोर दाहालका अनुसार भरतशमशेरलाई गिरफ्तार गर्ने पूर्वतयारीस्वरुप गृहमन्त्री बीपी कोइरालाले तोरणशमशेरलाई प्रहरीको आईजी बनाएका थिए । [१०] त्रिभुवनले तोरण शमशेरलाई २००७ साल चैत्र २८ गते नेपाल पुलीसको आईजीपी पदमा नियुक्त गरेका थिए ।

२००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो।[११] तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए ।[१२]

उनको ३ दिने आइजिपी कार्याकाल यसप्रकार रह्यो।

  • चैत्र २८: आइजिपी नियुक्त
  • चैत्र २९: सार्वजनिक सुरक्षा ऐन लागु
  • चैत्र ३०: बिहान ५ बजे: गोरखा दलका सभापति रणधीर सुब्बा र महामन्त्री भरत शमशेर लगायत गिरफ्तार
  • चैत्र ३०: दिउँसो ३ बजे: गृहमन्त्री निवास तथा कार्यालयमा गोरखा दलका कार्यकर्ताद्वारा आक्रमण

उनी आइजीपी छँदा नै खुकुरी दलले गृहमन्त्री बिपी कोइरालाको निवासमा आक्रमण गर्‍यो।

३ दिनभित्रै उनको सोच बदलियो, नेपाली सेनातर्फ फर्कने निर्णय गरे । आईजीपी तोरण शमशेरले राजा त्रिभुवनलाई आफ्नो इच्छा सुनाए । तोरण शमशेरको चाहना बुझेर राजा त्रिभुवनले पनि उनलाई नेपाली सेनातर्फ फर्कने अनुमति दिएपछि मेजर जनरल (आर्क्टिङ लेफ्टिनेन्ट जनरल) पदमा बढुवा भएर पुनः तोरण शमशेर नेपाली सेनामा फर्किए । तोरण शमशेरको आईजीपी कार्यकाल मात्र ३ दिनको भयो। तोरण शमशेरले सदर पुलिस गोस्वारामा दिएको पद बहाली मन्तव्य गोरखापत्रमा चैत्र ३१ मा प्रकाशित हुँदा उनी उक्त पदबाट मुक्त भैसकेका थिए।

मन्तव्य

हाम्रो नयाँ प्रजातन्त्र स्थापित भएपछि यो नेपालको तथा कथित पुलीस विभागलाई नेपालका जनताको हितको लागि हाम्रो राष्ट्रपिता लोकप्रिय श्री ५ महाराजाधिराजबाट आई. जी. पी. अफिस खडागरी सो अफिसमा मलाई इन्स्पेक्टर जनरल नियुक्त गरि बक्सी मातहतमा नेपाल पहाड मधेश सबैमा डी. आई. जी. हरु र अरु चाहिनेको स्टाफ, रक्षादल समेत सोझै कमण्ड बहाली बक्सी नयाँ बन्दोवस्त गरिबक्सिएको छ । यसबाट गर्न नपुग अंगमा चाहिनेको थप बक्सने छ ।

पुलीसबाट मात्र राष्ट्र सुध्रन सक्तछ हरएक जनताले पूर्ण सहयोग दिएमा र पुलीसको वार्डर (अर्डर) लाई सरकारको अर्डर सम्झी पूर्ण डिसिप्लिनमा रहेमा हामी हरएक मुलुकसँग चाँडै हाजिर सक्नेछौं ।

म मुनिको हरेक अफिसर देखि लिएर सिपाही सम्मलाई सम्बोधन गरी भन्दछु कि पुलीस जनताको सेवक हो, तथा मित्र र रक्षक पनि हो। पुलीस सधैं इमान्दार, कत्र्तव्य परायण हुनुपर्दछ । अपराधीहरू पक्ने काम देखाई नाम कमाउने हुनुभन्दा देशभित्र कस्तो किसिमले हुन्छ अपराध हुन नदिने कोशीश गर्नु पुलीसको मुख्य कत्र्तव्य हो । हरएक पुलीस अफिसर र जवानहरूले अहर्निस कायम राख्नु पर्दछ

सेनामा फर्किए र दोस्रो महानिरीक्षकको रूपमा २००८ बैशाख १ मा नर शमशेर जबरा आए। नेपाल प्रहरीमा लामो समय सम्म पनि उनलाई आइजीपी मानिएको थिएन। नर शमशेरलाई नै पहिलो आइजीपी मानिदै आएको थियो।[१३]

उनी १९७६ सालमा मेजरमा भर्ना भएर २००७ सालमा ब्रिगेडिएर जनरल भएका थिए ।

पुलीस आइजिपि पद त्यागेर चैत्र ३० मा नेपाली सेनामा फर्कदा उनी मेजर जनरलमा बढुवा भए। २००८ चैत्र ५ मा राजपत्रमा प्रकाशित रक्षा मन्त्रालयको सुचना अनुसार चैत्र २९ मा उनलाई राजा त्रिभुवनले आर्क्टिङ लेफ्टिनेन्ट जनरल पद दिएका थिए। २००८ माघ १५मा स्थायी लेफ्टिनेन्ट जनरल नियुक्त भएका थिए।[१४] रथी (लेफ्टिनेन्ट जर्नेल)मा पदोन्नति भएदेखि नै उनी अन्य राणाजीहरू झैं श्रीपेच लगाउन चाहन्थे तर मातृकाप्रसाद कोइरालाले दिएनन्। राजा त्रिभुवनले उनको लागि विशेष टोपीको व्यवस्था गरेका थिए तर असन्तुष्ट रहेका तोरणले टोपी लगाउन मानेनन् र आफ्नो मुडुलो टाउको नै लिएर हिड्ने गर्थे ।

तोरण शमशेर २० मे १९५६ देखि २० मे १९६० सम्म प्रधानसेनापति रहे।

के आई सिंह प्रधानमन्त्री भएको बेला उनको र प्रधानमन्त्री निकै तनाव भयो। भैरहवा जेलबाट भागेका सिंहलाई समात्न तोरण शमशेरको भुमिका थियो। के आइ सिंहले उनलाई आफ्ना र कम्युनिस्ट कार्यकर्ता छुटाउन आदेश दिए। उनले राजाको अगाडि प्रधानमन्त्रीको बिरोध गरे।[१५]

४ वर्षे सेनापतिको कार्यकाल सकेर उनी बि.सं. २०१७ सालमा अवकाश भए।

निर्माण समिति

[सम्पादन गर्नुहोस्]

तोरण शम्शेर कान्ति राज पथ निर्माण समितिका अध्यक्ष थिए। र कान्ति राजपथको उत्घाटन समारोहमा उनले राजा महेन्द्रबाट ॐ राम पट्ट तक्मा पाएका थिए।[१६] उनी पूर्व पश्चिम राजमार्ग निर्माण समितिको समेत सदस्य थिए । [१७]

राजसभा स्थायी समिति सदस्य

[सम्पादन गर्नुहोस्]

२०३५ भदौ १५ मा राजसभा सदस्यमा उनको नियुक्ति भएको थियो।[१८]

  1. Police History अभिलेखिकरण २०१९-०८-२१ वेब्याक मेसिन
  2. http://www.royalark.net/Nepal/lamb4.htm
  3. प्रसाई, श्रीप्रसाद (२०२३-११-०१), "आईजीपी र प्रहरी दिवसवारे यथार्थ कुरा : RajdhaniDaily.com", राजधानी राष्ट्रिय दैनिक (ne-NPमा), अन्तिम पहुँच २०२६-०६-०४
  4. "Lamb4", www.royalark.net
  5. 1 2 प्रसाई, श्रीप्रसाद (२०८० आश्विन २४), "एकै व्यक्ति आईजीपी र सेनापति", राजधानी राष्ट्रिय दैनिक (ne-NPमा), अन्तिम पहुँच २०२६-०६-०३
  6. नेपाल, जगत (२०८२, साउन ३१), "ठोरीलाई क्रान्तिकारी पदमार्ग किन नबनाउने", KhabarMukam (नेपालमा)।
  7. शम्शेर ज ब राणा, पुरुषोत्तम (२०४७), श्री ३ हरुको तथ्य वृत्तान्त, पृ: 283।
  8. बस्नेत, पुरुषोत्तम (३० वैशाख २०७९), "लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक योगदान", गोरखापत्र
  9. पराजुली, लोकरञ्‍जन (२०२५-१२-१२), "राणा शासकहरूलाई मार्ने एक असफल उद्योग", मार्टिन चौतारी
  10. दाहाल, किशोर (पुस १६, २०८१), "गृहमन्त्री आफैंले गोली चलाएको त्यो घटना", Ekantipur (नेपालीमा)।
  11. "NEPAL POLICE: Looking back into the past", Celebrating 100 Years of Interpol: 17, २०८०-०७-२१।
  12. गृह मन्त्रालय, नेपाल सरकार, "नेपाल प्रहरी", वार्षिक प्रगति प्रतिवेदन, 2085/76: 10–12।
  13. "A Tribute to Our Peers", प्रहरी दर्पण 1984: 37–41, २०४१ असोज ३०।
  14. जोशी, विष्णु ध्वज (२००८ चैत्र ५), "नेपाल गजेट, रक्षा मन्त्रालयको सूचना", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२२-०५-२७
  15. गिरिलाल जैन (१९५९), India Meeta China in Nepal, Asia Publishing House, पृ: ६०।
  16. थापा, सोभागजंग, "रक्षा मन्त्रालयको सूचना, सैनिकहरुला तक्मा र पदक प्रदान", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२६-०७-२०
  17. नेपाल गजेट भाग ४ काठमाडौँ, खण्ड ११ काठमाडौँ, माघ ३ गते २०१८ साल अतिरिक्ताङ्क 58
  18. खनाल, रञ्जनराज, "श्री ५ महाराजाधिराजबाट राजसभाको सदस्यहरु थपघट गरिबक्सेको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२६-०७-१९