नाम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(नाम, व्याकरण बाट पठाईएको)
Jump to navigation Jump to search

नाम भनेको कुनै वस्तु, पदार्थ तथा यिनीहरूमा हुने गुण वा भाव बुझाउने शब्द हो । नाम शब्द 'को, के' भन्ने प्रश्नको उत्तरका रूपमा आउँछ, जस्तै :

को ? रबिना, भाउजू, मामा आदि
के ? घर, बथान, माया, सुख, गाई, हिरा आदि

नामलाई संज्ञा पनि भनिन्छ ।

नामको वर्गीकरण[सम्पादन गर्ने]

परम्परागत आधारमा नाम व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचकभाववाचक गरी पाँच प्रकारका छन् :

व्यक्तिवाचक नाम[सम्पादन गर्ने]

एउटै वस्तु वा पदार्थलाई किटेर बुझाउने नामलाई व्यक्तिवाचक नाम भनिन्छ, जस्तै :

व्यक्ति बुझाउने डोल्मा, स्वप्निल, प्रमिला, मनोहर
स्थान बुझाउने नेपाल, एसिया, जनकपुर, पृथ्वी
वस्तु बुझाउने कलम, रामायण, सिंहदरबार
चाडपर्व बुझाउने दशैँ, तिहार, क्रिसमस, लोसार, छठ
नदी बुझाउने मेची, गण्डकी, राप्ती, महाकाली
हिमाल तथा पहाड बुझाउने सगरमाथा, माछापुच्छ्रे, चुरे, कञ्चनजङ्घा

व्यक्तिवाचक नामलाई विशेष नाम पनि भनिन्छ ।

जातिवाचक नाम[सम्पादन गर्ने]

एउटा मात्र वस्तु वा पदार्थलाई मात्र किटेर नबुझाई एउटा सिङ्गै जातिलाई बुझाउने नामलाई जातिवाचक नाम भनिन्छ, जस्तै:

मानिस, महादेश, देश, सहर, गाउँ, किताब, घर, दरबार, चाड, नदी, पहाड ।

जातिवाचक नामलाई सामान्य नाम पनि भनिन्छ ।

एउटै जातिवाचक नाम भित्र पनि थुप्रै व्यक्तिवाचक नामहरू पर्दछन्, जस्तै :

जातिवाचक नाम व्यक्तिवाचक नाम
मानिस राम, पाल्देन, सेमिका, गीता
महादेश एसिया, अफ्रिका, युरोप, अन्टार्कटिका
महासागर प्रशान्त, हिन्द, उत्तरध्रुवीय, आन्ध्र
देश नेपाल, चिली, क्यानडा, इथियोपिया, बेलायत
नदी मेची, गण्डकी, सिन्धु, गङ्गा, नाइल
चाड दशैँ, छठ, शिवरात्रि, क्रिसमस, लोसार
हिमाल सगरमाथा, ल्होत्से, माछापुच्छ्रे, सैपाल

समूहवाचक नाम[सम्पादन गर्ने]

दुईभन्दा बढी वस्तुको समूह बुझाउने नामलाई समूहवाचक नाम भनिन्छ, जस्तै :

दुई ओटाको समूह बुझाउने जोडा, जोर, युगल, द्वय
मानिस वा प्राणीको समूह बुझाउने गण, वृन्द सङ्घ, हुल, जमात, फौज, वर्ग, मेला
वस्तु, चार तथा किरा आदिको समूह बुझाउने बथान, गोलो, पोलो, बागल, झुन्ड
निर्जीव वस्तुको समूह बुझाउने पुञ्ज, रास, थुप्रो, डङ्गुर, झुप्पो

द्रव्यवाचक नाम[सम्पादन गर्ने]

गनेर अर्थात् यति ओटा भनेर नछुट्टयाई नापतौलद्वारा परिणाम छुट्टयाइने नामलाई द्रव्यवाचक नाम भनिन्छ, जस्तै :

ठोस पदार्थ बुझाउने सुन, चाँदी, फलाम, हिरा, माटो, ढुङ्गा
मानिस वा प्राणीको समूह बुझाउने पानी, दूध, पेट्रोल, मट्टितेल
वस्तु, चार तथा किरा आदिको समूह बुझाउने धान, चामल, पिठो, मासु, नुन
निर्जीव वस्तुको समूह बुझाउने हावा, नाइट्रोजन, हाइड्रोजन, धुवाँ, अक्सिजन

भाववाचक नाम[सम्पादन गर्ने]

पदार्थमा रहने भाव, गुण, अवस्था, कार्य आदि बुझाउने नामलाई भाववाचक नाम भनिन्छ, जस्तै :

माया, दया, प्रेम, घृणा, रिस, सुख, दुःख, बुद्धि, शिक्षा, शान्ति, सुन्दरता, धैर्य, कामना, कातरपन आदि ।

जातिवाचक नाम, गुणबोधक विशेषण तथा धातुबाट पनि भाववाचक नाम बन्दछन्, जस्तै :

जातिवाचक नामबाट मानवता, बाँदरपन, राष्ट्रियता
गुणबोधक विशेषणबाट वीरता, सौन्दर्य, धैर्य, गरिबी, विद्वत्ता, गहिराइ
धातुबाट पढाइ, लेखाइ, हिँड्नु, हिँडाइ, रुवाइ, लेखोट

नामलाई वर्गीकरण गर्ने अन्य आधार[सम्पादन गर्ने]

मूर्त र अमूर्त नाम[सम्पादन गर्ने]

बाह्य जगतमा भौतिक अस्तित्व हुने र नहुने आधारमा नामलाई दुई भागमा बाँडिएको पाइन्छ : मूर्त नामअमूर्त नाम

मूर्त नाम[सम्पादन गर्ने]

जुन नामलाई देख्न वा छाम्न सकिन्छ, त्यसलाई मूर्त नाम भनिन्छ, जस्तै : मान्छे, घर, चन्द्रमा, आगो, हिमाल, गाई, हावा आदि ।

अमूर्त नाम[सम्पादन गर्ने]

जुन नामलाई देख्न वा छाम्न सकिन्न, त्यसलाई अमूर्त नाम' भनिन्छ, जस्तै : माया, दया, घृणा, मानवता, प्रेम आदि ।

गणनीय र अगणनीय नाम[सम्पादन गर्ने]

गन्न सकिने र नसकिने आधारमा नामलाई दुई भागमा बाँडिन्छ : गणनीय (सङ्ख्यात्मक) नामअगणनीय (असङ्ख्यात्मक) नाम

गणनीय नाम[सम्पादन गर्ने]

जुन नामलाई सङ्ख्यामा गनेर परिमाण बताइन्छ, त्यसलाई गणनीय नाम भनिन्छ, जस्तै : मान्छे, कलम, कापी, घर, गाउँ, शहर, ढोका, झ्याल आदि ।

अगणनीय नाम[सम्पादन गर्ने]

जुन नामलाई गन्न सकिँदैन वा गनेर परिमाण नबताएर नापतौलद्वारा बताइन्छ, त्यसलाई अगणनीय नाम भनिन्छ, जस्तै : चामल, काठ, पानि, मट्टीतेल आदि ।

सजीव र निर्जीव नाम[सम्पादन गर्ने]

प्राण वा जीवन भएका र नभएका आधारमा नामलाई दुई भागमा छुट्टयाइन्छ : सजीवनिर्जीव

सजीव नाम[सम्पादन गर्ने]

जीवन भएको नामलाई सजीव नाम भनिन्छ, जस्तै : श्याम, मानिस, दाजु, पशु, मृग, चारो, ढुकुर, मौरी, साङ्लो आदि ।

निर्जीव नाम[सम्पादन गर्ने]

जीवन नभएको नामलाई निर्जीव नाम भनिन्छ, जस्तै : गाउँ, झ्याल, ढोका, घर, कथा, हिमाल, किताब, तारा, पृथ्वी आदि ।

मानवीय र अमानवीय नाम[सम्पादन गर्ने]

मानिस र मानिसबाहेकका प्राणी बुझाउने आधारमा नामलाई दुई भागमा बाँडिएको पाइन्छ : मानवीय नामअमानवीय वा मानवेतर नाम

मानवीय नाम[सम्पादन गर्ने]

मानिस बुझाउने नामलाई मानवीय नाम भनिन्छ, जस्तै : रमेश, गीता, बुबा, दाजु, आमा, दिदी, सम्धी, ज्वाइँ, विद्यार्थी आदि ।

अमानवीय नाम[सम्पादन गर्ने]

मानिसदेखि बाहेकका अन्य प्राणी बुझाउने नामलाई अमानवीय नाम वा मानवेतर नाम भनिन्छ, जस्तै : गोरु, गाई, भैँसी, पाडो, परेवा, कुखुरा, सिंह, छावा, ढोई, पाठो, बाख्रो आदि ।

माथिका आधारमा नाम छुट्टयाउने तरिका यस प्रकारको हुन्छ :

केटो कुकुर्नी
मूर्त मूर्त
गणनीय गणनीय
सजीव सजीव
मानवीय अमानवीय

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, सरल माध्यमिक व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-9937-535-46-5 
  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, तलेजु नेपाली व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-99933-45-46-6 

बाह्य कडी[सम्पादन गर्ने]

"https://ne.wikipedia.org/w/index.php?title=नाम&oldid=922483" बाट अनुप्रेषित