पृष्ठ सुरक्षित

विकिपिडिया:लेख शीर्षकहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विकिपिडिया लेख शीर्षक लेख सामग्रीको शिर्ष भागमा प्रदर्शित हुने ठुलो वा मुख्य शीर्षक र लेखको पृष्ठको नाम तथा युआरएलको आधार हो। शीर्षकले लेख कुन विषयसँग सम्बन्धित छ भन्ने कुरा दर्शाउनुका साथै विकिपिडियामा रहेका अन्य लेखहरूसँग सो लेखलाई छुट्याउँछ। सामान्य अर्थमा भन्ने हो भने लेख शीर्षक विकिपिडियामा रहेका लेखहरूको मुख्य पहिचान हो।

साधारण भाषामा शीर्षक कुनैपनि लेखको विषयवस्तुको नाम, वा कुनै विषयवस्तुको विवरण हुन सक्छ। कुनैपनि दुईवटा लेखको शीर्षक एक समान हुन सक्दैन। यदि शीर्षक सामान हुने स्थिति आएमा लेखको शीर्षकलाई भिन्न बनाउनका निम्ति अरू लेखहरूबाट सो लेखलाई फरक जनाउने जानकारी शीर्षकमा राख्नुपर्ने हुन्छ। यसो गर्दा कोष्ठकभित्र () वा अल्पविराम चिन्ह (,) पछि सो शीर्षकको सम्बन्धमा सामान्य परिचय राख्नुपर्छ। सामान्यतया, लेख शीर्षकहरू आधारभूत तथा विश्वसनीय स्रोतहरूमा सो विषयवस्तुलाई के भनिएको छ सोही आधारमा राख्ने गरिन्छ। यदि विश्वसनीय स्रोतहरूले भिन्न भिन्न विकल्प दिने अवस्था आएको खण्डमा सम्पादनकर्ताले सक्दो सन्तुलन बनाउनुपर्छ र दिइएको सिद्धान्तहरूमाथि विचार गरेर उपयुक्त शीर्षक छनौट गर्नुपर्छ: आमबोलीचालीमा प्रयोगमा रहेको, सजिलै बुझ्न सकिने, पर्याप्त रूपले सङ्क्षिप्त, सटीक, तटस्थ र अन्य सम्बन्धित लेखहरूसँग र विकिपिडियामा स्थापित परम्परासँग एकरुपता राखेको हुनुपर्छ।

यस पृष्ठले लेख शीर्षक के कसरी राख्ने, नाम सम्बन्धी विभिन्न मापदण्ड तथा मान्यताहरू, र शीर्षक सम्बन्धी विभिन्न विकल्पहरू बारे चर्चा गर्दछ। यस पृष्ठले लेख शीर्षक बाहेकका अन्य नामपदमा रहेका पृष्ठहरू (जस्तैः श्रेणी)को शीर्षक कसरी राख्ने विषयमा चर्चा गर्दैन; त्यसको लागि सम्बन्धित मापदण्ड तथा नीतिहरू उपलब्ध हुनसक्छन्।

आवश्यक परेको खण्डमा लेखको शीर्षकलाई परिवर्तन गर्नको लागि त्यसलाई सार्न सकिन्छ। पृष्ठ स्थानान्तरण प्रक्रिया सम्बन्धमा जानकारीको लागि स्थानान्तरणअनुरोध गरिएका स्थानान्तरणहरू हेर्नुहोस्।

लेखको शीर्षक राख्नु पूर्व विचार गर्नुपर्ने कुराहरू

लेखको शीर्षक राख्नु पूर्व नेपाली भाषामा शीर्षकले उक्त विषयलाई सम्बोधित गरिरहेको छ या छैन भन्ने विषयलाई केलाइनुपर्छ। त्यसका लागि नेपालीमा लिखित सन्दर्भहरू (नेपाली वृहत् शब्दकोश), नेपालीमा लिखित पुरानो दस्तावेजहरू, नेपाल सरकारको आधिकारिक वेबसाइटहरू, विश्वसनीय सञ्चार माध्यमहरू (पत्रिका तथा अनलाइन दुवै) र नेपाली भाषाको चलनलाई ध्यानमा राखेर शीर्षक निर्धारण गर्नुपर्नेछ। कुनै विषयलाई एक वा सोभन्दा बढी तरिकाले शीर्षक लेख्न सकिने भएमा वा चलनमा रहेको छ भने त्यस्तो अवस्थामा विकिपिडिया सम्पादनकर्ताहरूले तर्क वा विवेकमा आधारित भई आपसी सहमतिद्वारा शीर्षक छनौट गर्न सक्नेछन् (भन्नुको अर्थ विकिपिडियाको आम सहमतिको पालना गर्नुपर्ने हुन्छ)। विवाद भएमा वा आम सहमतिमा पुग्न नसकेको खण्डमा यो निर्णय प्रबन्धकहरूको विवेकमाथि अन्तिम निर्णयको लागि छोड्न सकिनेछ।

एउटा उपयुक्त र सटीक शीर्षकमा तल दिइएको बुँदाहरूबीच सर्वोत्तम सन्तुलन हुनुपर्नेछ।

  • प्रचलित - शीर्षक हेर्नसाथ त्यससँग सम्बन्धित विषयको बारेमा जान्नबुझ्न सजिलो होस्।
  • तटस्थ - कुनै खास किसिमको पूर्वाग्रह वा झुकावमा आएर लेखिएको हुनुहुँदैन।
  • सटीक - जसले गर्दा निर्विवाद रूपले लेखको विषय पहिचान गर्न सजिलो हुनुका साथै अन्य मिल्दोजुल्दो विषयसँग फरक पहिचान सजिलै हुन सकोस्।
  • सङ्क्षिप्त - बिना कुनै कारण लामो शीर्षक राख्नुभन्दा उपरोक्त बुँदाहरूलाई ध्यानमा राखेर सम्भवत सानो वा लघु शीर्षक छनौट गर्नुपर्छ।
  • एकरूपता - बाँकीका विषय र अन्य शीर्षकसँग एकरूपता राख्नुपर्नेछ, नियमित हुनुपर्नेछ।

माथि दिइएको बुँदाहरू नियम नभई प्राप्त गर्नुपर्ने लक्ष्य हो। यसैमा आपसी सन्तुलन बनाई लेख शीर्षक निर्धारण गर्ने कोसिस गर्नुपर्नेछ। आवश्यकता देखिएको खण्डमा लेखलाई सही शीर्षकमा अनुप्रेषण गर्न सकिन्छ।

आम बोलीचालीमा प्रयुक्त हुने नाम

विकिपिडियाको लेख शीर्षकहरू सबै नेपाली भाषीले बुझ्ने अर्थात साधारण ज्ञान भएको पाठकले समेत बुझ्नेगरि आम प्राकृतिक भाषामा राख्नुपर्नेछ एवम् यस मामिलामा प्रचलनमा रहेको नामलाई ग्राह्यता दिँदा उपयुक्त हुन्छ। ध्यान दिनुपर्ने कुरा के छ भने विकिपिडियाले कुनै आधिकारिक नामलाई अनिवार्य रूपमा प्रयोग गर्नैपर्छ भन्ने छैन तसर्थ सबैभन्दा प्रचलित नामलाई (विश्वसनीय तथा मूल नेपाली समाजमा प्रचलनमा रहेको) शीर्षकको रूपमा प्रयोग गर्नुपर्छ। तथापि, कहिले एउटै विषयको लागि दुईभन्दा बढी नाम उतिकै प्रचलनमा रहेको स्थिति पनि आउने सम्भावना हुन्छ वा एकै नामको धेरै विषयपनि हुनसक्छ र सो को उपयुक्त शीर्षक तय गर्न अपठ्यारो पर्न सक्छ। कुन नाम निर्विवाद रूपले बढी प्रचलनमा छ वा कुन नाम कुनै विषयसँग मुख्य रूपले सम्बन्धित छ भन्ने कुरा शीर्षक छनोटमा भुमिका खेल्दछ। यस्तो परिस्थितिमा विकिपिडियाको आम सहमतिको प्रक्रिया पालन गर्नुपर्छ र सो प्रक्रियाबाट समेत निर्णय बाझिएमा वा सहमति हुन नसकेको खण्डमा प्रबन्धकहरूको विवेकमाथि शीर्षक निर्धारण गर्ने जिम्मा छोड्नुपर्छ।

तल केही उदाहरण दिइएको छ:

व्यक्ति
स्थान
वैज्ञानिक वा प्राविधिक विषयवस्तु
अन्य विषयवस्तुहरू
  • फिफा (न कि: अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घ)
  • म्युलर प्रतिवेदन (न कि: २०१६ को राष्ट्रपति चुनावमा रूसी हस्तक्षेप सम्बन्धी अनुसन्धान प्रतिवेदन)

विभिन्न वैकल्पिक नामहरूमा कुन बढी प्रयोग हुन्छन् भन्ने कुरा थाहा पाउनको लागि विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूमा प्रयोग, नेपाली भाषाका मुख्य सञ्चारमाध्यमहरू, स्तरीय ज्ञानकोशहरू, भौगोलिकनाम सर्भरहरू, मुख्य वैज्ञानिक निकायहरू, तथा प्रचलित वैज्ञानिक जर्नल प्रकाशनहरू हेर्नु उपयुक्त हुन्छ। यस सम्बन्धमा तथ्याङ्क सङ्कलनको लागि विभिन्न खोज उपकरण (सर्च इन्जिन)हरूको प्रयोग गर्न सकिन्छ। यस्तो खोजी गर्दा नेपाली भाषामा भएका सामग्रीहरूलाई प्राथमिकता दिनुपर्दछ। खोज उपकरणद्वारा खोजिएका सामग्रीहरू उपयुक्त वा प्रमाणिक स्रोत उल्लेख नभएका वा तटस्थ नभएका पनि हुनसक्दछन् तसर्थ यस्ता स्रोतहरूको प्रयोग गर्दा विशेष ध्यान दिनु जरुरी छ।

नाम सुधार

कहिलेकाहीँ लेखको विषयवस्तु शीर्षक परिवर्तनमा जान सक्छ। यदि यस्तो भएमा हामीले नाम परिवर्तन पछि लेखिएका भरपर्दो स्रोतहरूलाई बढी मान्यता दिन्छौँ। यदि परिवर्तन पछि लेखिएका भरपर्दो स्रोतहरूले नयाँ नाम नियमित रूपमा प्रयोग गरेमा विकिपिडियाले परिवर्तनको पालना गर्नुपर्दछ र प्रासङ्गिक शीर्षकहरूको मिलानको लागि नाम फेर्नुपर्दछ। तर नाम परिवर्तन पश्चात पनि विश्वसनीय स्रोतहरूले स्थापित नाम नै प्रयोग गरिरहेमा आम बोलीचालीमा प्रयुक्त हुने नाममा भनिए बमोजिम स्थापित नाम कै प्रयोगलाई निरन्तरता दिनुपर्दछ।

विकिपिडिया भविष्यवक्ता होइन। भविष्यमा कुन नाम वा कस्ता शब्दावलीहरू प्रयोग हुने छन् भन्ने कुरा हामीलाई थाहा हुँदैन तर अहिले के हो र के प्रयोगमा छ भन्ने कुरा थाहा हुन्छ, र यी शब्दावलीहरू पाठक माझ परिचित हुन्छन्। तैपनि कुनै विषयवस्तुको नाम परिवर्तन भएको खण्डमा मुलतः नेपाली भाषाका भरपर्दो स्रोतहरूमा यसको प्रयोगसँगै नाम परिवर्तन गर्नु उचित हुन्छ। यो नियम वर्णनात्मक शीर्षकको हिस्साको रूपमा प्रयोग भएका नामहरूमा समेत लागु हुन्छ।

लेख शीर्षकमा तटस्थता

लेख शीर्षक विकिपिडियाको तटस्थ दृष्टिकोणको नीति अनुसार छ वा छैन् भन्ने आधारमा विवादमा आउन सक्दछ। यस्तो विवादको समाधानको लागि उक्त शीर्षक भरपर्दो स्रोतबाट लिइएको हो वा सम्पादकको स्वविवेकले राखिएको हो भन्ने कुरालाई आधार बनाउन सकिनेछ।

परिशुद्धता र स्पष्टता

परिशुद्धता

लेखको शीर्षकले विषयवस्तुको दायरालाई स्पष्ट रूपमा दर्शाउनु पर्दछ तर त्यो भन्दा बढी सटीक वा विषयवस्तु केन्द्रीत हुनु हुँदैन। उदाहरणको लागि कलकत्ताकी सेन्ट टेरेसा धेरै नै सटीक हुन जान्छ, किनकि सोही विषयवस्तुलाई जनाउन मदर टेरेसा पर्याप्त छ। अर्को तर्फ, होरोविज स्पष्ट रूपमा प्रसिद्ध शास्त्रीय पियानोवादक भ्लादिमिर होरोविजलाई जनाउन अपर्याप्त छ। तथापि अन्य केही नामकरण मापदण्डको आधारमा प्राथमिक शीर्षक, भौगोलिक नामहरू, तथा उपन्यास र उच्चपदस्थ व्यक्तिहरूको नाम अपवादको रूपमा रहन सक्छन्। जस्तै: ऊर्जा पर्याप्त छैन् कि यसले स्पष्ट रूपमा भौतिक विशेषतालाई सङ्केत गरोस् (ऊर्जा (स्पष्टता) हेर्नुहोस्)। यद्यपि, यसलाई "ऊर्जा (भौतिकी)" लेख्न उचित मानिन्छ, किनकि यो अधिकांश व्यक्तिहरूले बुझ्न सक्ने हरी सङ्क्षिप्त र सटीक छ। एम-१८५ स्पष्ट शीर्षक हुन पर्याप्त छ तैपनि एम-१८५मा पुनर्निर्देश राखी शीर्षकलाई एम-१८५ (मिचिगन राजमार्ग) बनाउनु उपयुक्त हुन्छ।

स्पष्टता

कुनै पनि लेखको लागि आवश्यक सटीक शीर्षक सधैँ उपलब्ध नहुन सक्छ किनिकि एउटै शीर्षकको अरू अर्थ पनि हुनसक्दछ, त्यसैले अरू नै लेखमा पहिल्यै प्रयोग भइसकेको हुनसक्छ। माथि उल्लिखित परिशुद्धता मापदण्डमा भनिए बमोजिम कुनै एउटा लेखलाई अर्को लेखबाट अलग्याउन आवश्यक परेको उचित र पर्याप्त थप विवरणको मात्र प्रयोग गर्नुहोस्। उदाहरणको लागि, टर्की चरा सम्बन्धी लेख देश टर्कीबाट छुट्याउन वा स्पष्ट पार्न टर्की (चरा)मा राखिएको छ।

सामान्यतः एउटै शीर्षकले एकभन्दा बढी अर्थ दिने भएमा निम्नानुसारका बुँदाहरूलाई ध्यानमा राखी शीर्षकलाई स्पष्ट बनाउने मुद्दामा निर्णय लिन सकिने छ।

  1. प्राकृतिक स्पष्टता: यदि सो विषयवस्तुको वैकल्पिक नाम पनि विश्वसनीय स्रोतहरूमा आम रूपमा प्रयोगमा छ भने सो नामको प्रयोग गर्न सकिन्छ।
  2. अल्पविरामको प्रयोगद्वारा स्पष्टता: ठाउँको नामहरू, यदि स्पष्ट पार्नुपर्ने शब्दावली माथिल्लो तहको प्रशासनिक विभाजन हो भने त्यस्तो नामहरूलाई कोष्ठकद्वारा नभई अल्पविरामको प्रयोगद्वारा स्पष्ट पारिन्छ। जस्तै: पाटन, ललितपुर। यसै गरी शाही परिवारका व्यक्तिहरूको नाम र उपन्यासहरूको नाममा यही पद्धतिलाई अवलम्बन गरिन्छ।
  3. कोष्ठकद्वारा स्पष्टता: अन्य कुनै विकल्पहरूले काम नगरेमा त्यस बखत शीर्षकलाई स्पष्ट पार्न कोष्ठकको प्रयोग गरिन्छ। यसरी कोष्ठकको प्रयोग गर्दा नाम पछि कोष्ठक भित्र वर्णनात्मक शब्दावली राखिन्छ। उदाहरण: ऊर्जा (भौतिकी), ऊर्जा (मनोवैज्ञानिक), र अरस्तूको दर्शनमा ऊर्जा (अरस्तू)
  4. वर्णनात्मक शीर्षक: कुनै विषयवस्तुको स्वीकारयोग्य शीर्षक नामकरण नभएको भए आफ्नो स्वविवेक प्रयोग गरी वर्णनात्मक र अरूसँग नमिल्ने नाम राख्ने अनुमति छ। उदाहरण: नेपालका चराहरूको सूची
  5. माथिका बुँदाहरूको योग: अपवादको रूपमा प्रयोग गर्न सकिने, तर अधिकतर समयमा प्रयोग नगर्नको लागि सुझाव गरिएको। उदाहरण: "अल्पविरामको प्रयोगद्वारा स्पष्टता" + "कोष्ठकद्वारा स्पष्टता"

अल्पविराम र कोष्ठकहरू (सानो कोष्ठहरू) मात्र ती वर्णहरू हुन् जसको प्रयोग बिना कुनै रोकटोक लेखको शीर्षकलाई स्पष्ट पार्ने शब्दावलीलाई छुट्याउनको लागि प्रयोग गरिन्छ। अपूर्ण विराम (:) को प्रयोग एकदमै सीमित छ।

नेपाली-भाषामा शीर्षकहरू

यो नेपाली भाषा संस्करणको विकिपिडिया हो जसको भाषा नेपाली हो र लेखाई (लिपि) देवनागरी तथा अङ्कको प्रयोग पनि देवनागरी (०, १, २) मैँ गर्नुपर्छ। त्यसकारण लेखको शीर्षक जहिले पनि देवनागरी लिपिमैँ लेखिनुपर्छ।

विशेष चिह्नको प्रयोग

नुक्ता (़)

नेपाली भाषामा नुक्ता वा तलथोप्लीको प्रयोग गरिँदैन। खासगरि नुक्ताको प्रयोग नेपालभित्र बोलिने हिन्दी, उर्दु तथा मैथिली भाषामा रहेतापनि नेपालीमा यस्को प्रयोग देखिँदैन। उदाहरणको लागि

  • काकड़भिट्टा = काकडभिट्टा (नेपाली)
  • करोड़ = करोड (नेपाली)
  • गज़ल = गजल (नेपाली)
ड़ र ढ़

नेपाली भाषामा 'ड़' र 'ढ़' लाई 'ड' र 'ढ' कै परिपुरक वितरणमा आउने ध्वनि मानिएको हुँदा यी वर्णहरू 'ड' र 'ढ' कै संवर्ण हुन् र यस्तो परिवर्तनलाई मुक्तपरिवर्तन भनिएको छ। तसर्थ यी वर्णहरू ध्वन्यात्मक रूपमा भिन्न सुनिए पनि वर्णात्मक रूपमा फरक लेखिँदैनन्। तथापि दार्जीलिङ तथा सिक्किम तिरको नेपाली भाषामा 'ड़' र 'ढ़' प्रयोग गर्ने अभ्यास रहेको देखिन्छ। तसर्थ त्यस क्षेत्र विशेषको शब्दहरूमा 'ड़' र 'ढ़' को प्रयोग भए त्यसलाई अनुचित मानिने छैन्।

अवग्रह (ऽ)

अवग्रहको प्रयोग संस्कृत भाषामा व्यापक रूपले गरिएतापनि नेपालीमा यसलाई प्रयोग गर्नुहुँदैन। अवग्रहले सन्धि विशेषको कारण विलुप्त भएको 'अ' लाई प्रदर्शित गर्नको लागि प्रयोग गरिन्छ। उदाहरणको लागि

  • शिवोऽहम् (संस्कृत) - शिवोहम (नेपाली)

ॲ र ऑ

यी दुई वटा वर्णहरू मराठी र कोङ्कणीमा प्रयोग गरिन्छन् जसको ISO 15919 लिप्यन्तरण क्रमशः ê र ô हुन्छ। यी वर्णहरूको प्रयोग हिन्दी भाषामा मुलतः अङ्ग्रेजी मूल उच्चारणकै स्वरूपमा उच्चारणीय वर्ण लेखनको लागि गरिन्छ। जस्तै - डॉलर dôlar, "dollar", ऑस्ट्रेलिया aôstreliya australia । तथापि नेपाली भाषामा यी वर्णहरूको प्रयोग नहुने हुनाले त्यसको प्रयोग गर्नुहुँदैन।

विसर्ग (ः)

संस्कृत भाषामा बढी प्रयोग हुने विसर्ग स्वर अपवाद बाहेक नेपाली भाषामा यस चिह्नको प्रयोग न्यून रहेकोले यसलाई ती शब्दहरू बाहेकमा प्रयोग गर्नुहुँदैन। उदाहरणको लागि दुःख, वस्तुतः, अतः, क्रमशः, निःसन्देह, प्रायः

शीर्षकमा हलन्त (्) को प्रयोग

शब्दको अन्तमा व्यञ्जनवर्ण हलन्त रूपमा आएमा त्यहाँ हलन्त चिह्नको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको प्रयोग हुँदै आएको छ। जस्तै तत्सम शब्दहरू- श्रीमान्, विद्वान्, बृहत्, स्वागतम्, पृथक् आदि। सामान्यतया संस्कृत शब्दहरूको अन्तमा आउने हलन्तलाई छोड्न सकिन्छ जस्तै - ‘संसद्’को ठाउँमा संसद, ‘महान्’को ठाउँमा महान गर्न सकिन्छ। तर लेखको शीर्षक यदि शुद्ध रूपमा हलन्तयुक्त नै हो भने हलन्तरूप मैँ राख्नुहोस् जस्तै - रामेश्वरम् र हलन्त नभएको नामलाई हलन्त भएको नाममा पुनर्निर्देशित गर्नुहोस्।

अर्द्धविराम (;), पूर्णविराम (।), विकल्पबोधक चिह्न (/), प्रश्नवाचक चिह्न (?), विस्मयादिबोधक चिह्न वा उद्गार चिह्न (!), निर्देशन चिह्न (:-) र उद्धरण चिह्न (‘ ’ वा “ ”)

विशेष परिस्थिति बाहेक (कम्पनीको नाम- याहु!) नेपाली विकिपिडियाको शीर्षकमा उपरोक्त चिह्नहरूको प्रयोग गर्नुहुँदैन।

अनुस्वार वा शिरबिन्दु (ं)

'य' देखि 'ह' सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले नासिक्य वर्ण आएमा शिरविन्दु वा अनुस्वार (ं) को प्रयोग गरिन्छ। उदाहरणको लागि अंश शब्द हेरौँ; यसमा श वर्ण भन्दा अघि नासिक्य वर्ण म आउँछ तसर्थ यसलाई अम्श नलेखी अंश लेखिन्छ भन्नु को अर्थ प्रयुक्त नासिक्य वर्णलाई शिरबिन्दुको रूपमा लेखिन्छ। अझ गहिराइबाट हेर्दा अंश शब्दको उच्चारणमा पनि भिन्नता देखिन्छ; कसैले अम्श उच्चारण गर्दछन् भने कसैले अङ्श। अर्थात् उच्चारण सहजताको आधारमा ङ, ञ, ण, न तथा म मध्ये कुनै एक वर्णको प्रयोग गर्न सकिन्छ। अतः कुनै एक नासिक्य वर्णको प्रयोग नगरी शिरबिन्दुकै प्रयोग गर्नुपर्दछ।

शिरबिन्दुको प्रयोग हुने केही अन्य शब्दहरू - संयम, संविधान, संस्कृत, संस्कार, सिंह, संहार, संसार आदि।

अनुस्वारको उच्चारण पञ्चम वर्ण अनुसार हुन्छ। जुन वर्णमा अनुस्वार लागेको छ, त्यस वर्ण पछि जुन वर्गको व्यञ्जन छ, त्यसै वर्गको पञ्चम वर्णको उच्चारण हुन्छ। अर्थात्- कवर्गमा ‘ङ्’ को, चवर्गमा ‘ञ्’ को, टवर्गमा ‘ण्’ को, तवर्गमा ‘न्’ को तथा पवर्गमा ‘म्’ को उच्चारण हुन्छ। उदाहरणको लागि - शंख अर्थात् श + ङ् + ख = शङ्ख, चंचल अर्थात् च + ञ् + च + ल = चञ्चल, कंठ अर्थात् क + ण् + ठ = कण्ठ, संत अर्थात् स + न् + त = सन्त, कंबल अर्थात् क + म् + ब + ल = कम्बल, आदि। तसर्थ धेरै ठाउँमा पञ्चम वर्ण स्थानमा शिरबिन्दुको प्रयोग गरेको देखिन्छ। तथापि नेपाली भाषामा अन्य भाषाबाट आएका (आगन्तुक), तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइँदैन, उच्चारण अनुसार पञ्चम वर्ण नै लेखिन्छ । जस्तै - कञ्चन, भान्छा, सन्चो, लन्डन, टेन्डर, घण्टी आदि। नेपाली भाषामा उच्चारण सुविधाअनुसार पञ्चम वर्ण लेखिने हुँदा ‘ञ’, ‘ण’ वर्णको स्थानमा समेत ‘न’ लेख्ने गरिन्छ। उदाहरणको लागि - भान्छा, सन्चो, लन्डन, टेन्डर इत्यादि।

पुनश्च: चम्चा, गम्छा, चम्किलो, गम्कनु यी शब्दहरूमा पञ्चम वर्ण ‘म’ आए पनि ‘म’ पछिको वर्ण सोही वर्ग अथवा ‘प’ वर्गको नभएको हुनाले यस्ता शब्दहरूमा ‘म’ लाई जस्ताको त्यस्तै लेख्नुपर्छ। यस्तो अवस्थामा पञ्चम वर्णलाई शिरबिन्दुले बदल्न सकिँदैन; शिरबिन्दुले परिवर्तन गर्दा शब्दको उच्चारण नै फरक पर्न जान्छ। जस्तै - ‘चम्चा’ शब्दलाई ‘चंचा’ लेख्दा पञ्चम वर्ण अनुसार यसको उच्चारण ‘चञ्चा’ हुन जान्छ जुन गलत छ। तसर्थ यस्ता शब्दहरूमा उच्चारण अनुसार कै पञ्चम वर्णको प्रयोग गर्नुपर्दछ।

चन्द्रबिन्दु (ँ)

जुन स्वरहरूको उच्चारण मुख र नाक दुबै बाट गरिन्छ ती अनुनासिक कहलाइन्छन् र तिनै स्वरहरूलाई लेख्नको लागि अनुनासिकको चिह्न चन्द्रबिन्दु (ँ) को प्रयोग गरिन्छ। यो ध्वनि (अनुनासिक) वास्तवमा छुट्टै वर्ण नभई स्वरहरूको गुण हो। जस्तै- हाँस, काँगियो, चाहिँ, गरिनँ, थिएँ आदि। चन्द्रबिन्दुलाई कुनै पनि वर्णमा परिवर्तित गर्न सकिँदैन तर अनुस्वारलाई वर्णमा परिवर्तित गर्न सकिन्छ। यसरी मुख र नाकको सहायताले उच्चारण हुने अक्षरहरूमा चन्द्रबिन्दुको प्रयोग गर्नुपर्दछ।

अनुनासिक (ँ) को ठाउँमा अनुस्वार (ं) को प्रयोग

चन्द्रबिन्दु (ँ) को प्रयोग सम्बन्धी एक भिन्न धारणा पनि देखिन्छ। त्यो हो चन्द्रबिन्दुको साँटो शिरबिन्दुको प्रयोग। यस मान्यता अनुसार अ, आ, उ, ऊ, तथा ऋ स्वर भएका शब्दहरूमा अनुनासिक (चन्द्रबिन्दु) लाग्दछ भने डिकाभन्दा माथि मात्रा भएका स्वरवर्णहरू (इ, ई, ए, ऐ, ओ और औ) भएका शब्दहरूमा अनुनासिक (ँ) को ठाउँमा अनुस्वार (ं) को प्रयोग गरिन्छ। यसो गर्नुको पछाडिको मुख्य कारण यी स्वरहरूको मात्रा डिका माथि हुने र सो मात्रासँग चन्द्रबिन्दु लगाउँदा एकै ठाउँमा गुजमुजिएको देखिँदा कुनै-कुनै ठाउँमा अस्पष्ट देखिने हुँदा पुस्तक छपाईमा सजिलो पार्नु मात्र देखिन्छ। र यसको शुरुवात पनि प्रिन्टिङ प्रेसहरू बाटै भएको विश्वास गरिन्छ। र व्याकरण वा देवनागरी लेखन पद्धति अनुसार यस प्रयोगको कुनै विशेष व्यवस्था देखिँदैन। तैपनि यसको प्रयोग बढ्दो छ र यस नियमलाई हिन्दी भाषामा प्रयोग गरेको देखिन्छ। अनुनासिक (ँ) र अनुस्वार (ं) दुबै उच्चारणको आधारमा भिन्न भएको हुनाले यस विषयमा विभिन्न मतभेदहरू पनि पाइन्छन्।

लेखको शीर्षक (नाम) को शुद्ध उच्चारण तथा लेखनको दृष्टिबाट पञ्चमाक्षर मैँ राख्नुपर्छ, चाहे त्यो कुनै पनि विषयसँग सम्बन्धित नै किन नहोस्। खोज तथा पुनर्निर्देशनको लागि अनुस्वार (ं) प्रयोग गरी लेखिएको नामलाई पारम्परिक (शुद्ध) पञ्चमाक्षरको आधारमा लेखिएको शीर्षक (नाम) मा पुनर्निर्देशित गर्नुपर्दछ ताकि शुद्ध उच्चारण तथा लेखन रहोस्। उदाहरणको - लागि ‘पंडित’लाई ‘पण्डित’मा पुनर्निर्देशित गर्नु पर्दछ। त्यस्तै - ‘पशुपतिनाथ मंदिर’लाई ‘पशुपतिनाथ मन्दिर’मा पुनर्निर्देशित गर्नु पर्दछ। यसको अतिरिक्त आवश्यक परेमा लेखको शुरुवातमा कोष्ठकमा वैकल्पिक नामको रूपमा सो नामलाई दिन सकिन्छ।

र को विभिन्न रूप

नेपाली भाषाको वर्णमालामा रहेको 'र' वर्णलाई लेख्न निम्नलिखित तरिकाहरूको प्रयोग गरिन्छ।

रेफ

यदि 'र' वर्णको हलन्त रूप (र्) कुनै शब्दको मध्य भागमा आएमा त्यसभन्दा अघिल्लो व्यञ्चनवर्णमाथि रेफ लगाउने गरिन्छ। यसरी रेफ लगाउँदा अघिल्लो व्यञ्जनवर्ण हल् रूपमा आए त्यसपछिको पूर्ण रूपमा आउने व्यञ्जनवर्णमाथि रेफ लगाइन्छ (जस्तै - उर्ध्व, मर्त्स्य)। रेफ अरू केही नभई ‘र’ वर्णकै एक विशेष रूप हो। उदाहरणको लागि - ध + र् + म = धर्म क + ा + र् + य = कार्य उ + र् + ध् + व = उर्ध्व म + र् + त् + स् + य = मर्त्स्य

रेफ प्रयोग भएका अन्य केही शब्दहरू - पर्व, वर्ष, हर्ष, कर्क, कर्णाली, पर्खाल, झर्को, कर्कल्लो आदि।

पदेन (्र) रूपमा ‘र’ को प्रयोग

कुनै पनि शब्दमा स्वरहीन (हलन्त रूप) व्यञ्जन पछि ‘र’ वर्ण आएमा त्यस स्थानमा पदेन (्र) रूपमा ‘र’को प्रयोग गरिन्छ। ठाडो रेखा हुने र गोलाकार स्वरूप भएका वर्णको आधारमा ‘र’को पदेन रूप दुई प्रकारको देख्न सकिन्छ।

ठाडो रेखा अथवा पाई भएका व्यञ्जनसँग ‘र’ को प्रयोग

ठाडो रेखा भएका व्यञ्जनवर्ण (जस्तै - क, ग, प, झ)को हलन्त रूप पछि ‘र’ आएमा ‘र’लाई पाईको तल तेर्सो पारेर ठाडो रेखाको बायाँपट्टि लेखिन्छ। यसमा व्यञ्जन हलन्त रूपमा र ‘र’ हलन्त नभई स्वरयुक्त हुन्छ। उदाहरणको लागि - क्+र= क्र, क्रम, क्रान्ति, क्रोध, क्रमाङ्क प्+र= प्र, प्रकार, प्रश्न, प्रविधि, प्रकाश, प्रारब्ध, प्रारम्भ, प्रकोप

गोलाकार स्वरूप भएका वा पाई नभएका व्यञ्जनसँग ‘र’ को प्रयोग

गोलाकार स्वरूप भएका व्यञ्जनवर्ण (जस्तै - छ, ट, ठ, ड, ढ )को हलन्त रूप पछि ‘र’ आएमा ‘र’लाई वर्णको मुन्तिर पदेन (्र) स्वरूपमा लेखिन्छ। उदाहरणको लागि - छ्र, ट्र, ठ्र, ड्र, ढ्र। ड्+र= ड्र, ड्रामा ट्+र= ट्रक, ट्रेन

द् र ह् पछि 'र'को प्रयोग

‘द’ र ‘ह’ दुई वर्णहरूमा न त ठाडो रेखा प्रयोग भएको छ न त यी वर्णहरू पूर्णतया गोलाकार छन्। तसर्थ यसमा माथि भनिए भन्दा भिन्न तरिकाले ‘र’को पदेन रूपको प्रयोग गरिन्छ। 'द्' पछि 'र' को प्रयोग भएमा 'द्' को ठीक तल बायाँपट्टि तेर्सो पारेर लेखिन्छ भने 'ह्' पछि 'र' को प्रयोग भएमा 'ह' मै पदेन रूपमा प्रयोग गरिन्छ। उदाहरणको लागि- दरिद्र, द्रव्य, ह्रास, ह्रस्व।

त् र श् पछि 'र'को प्रयोग

‘त’ र ‘श’ ठाडो रेखा भएका वर्णहरू भएता पनि देवनागरीमा ‘र’ सँग यी वर्णहरूको योग हुँदा संयुक्ताक्षरको रूपमा लेखिन्छन्। त् र श् पछि 'र' को प्रयोग भएपछि क्रमशः 'त्' संयुक्ताक्षर 'त्र' बन्छ भने 'श्' संयुक्ताक्षर 'श्र' बन्छ। उदाहरणको लागि- त्रिशुल, त्रिनेत्र, श्रद्धा, श्रम।

(ऱ्) को प्रयोग

नेपाली वर्ण ‘य’ भन्दा पहिले (ऱ्) को प्रयोग गरिन्छ। उदाहरणको लागि - ऱ्याल, ऱ्याली, गऱ्यो, ऱ्यापर आदि।

विदेशी नाम तथा नेपालीकरण

थप जानकारीको लागि: विकिपिडिया:नामकरण परिपाटी (नेपाली प्रयोग गर्नुहोस्)

मूल रूपमा देवनागरी वर्णमा नभएका नामहरू (जस्तै – अङ्ग्रेजी, रूसी, चिनियाँ, अरबी) लाई लिप्यन्तरण गर्नै पर्दछ। यसरी लिप्यन्तरण गर्दा स्थापित परिपाटीलाई ध्यान दिनु पर्दछ। तर, कुनै विदेशी नामको नेपाली भाषाको रूप आम रूपमा प्रयोगमा रहेको भए सोही नामको प्रयोग गर्नु पर्छ, यद्यपि त्यो रूप प्रणालीगत रूपमा अशुद्ध नै किन नहोस्। उदाहरणको लागि -

  • बङ्गाली: मूल उच्चारण ‘बाङ्ला’ भए पनि नेपाली भाषामा ‘बङ्गाली’ शब्द प्रचलनमा रहेकोले यही रूपलाई लेख्नुपर्छ।
  • पेरिस: मूल उच्चारण ‘पारिस’ हुने भए पनि नेपाली भाषा लेखनमा ‘पेरिस’ शब्दको प्रयोग रहेकोले ‘पेरिस’ नै सही हो।
  • रियल म्याड्रिड: यस विश्वप्रसिद्ध स्पेनी क्लबको नामको उच्चारण स्पेनी भाषामा ‘रेआल माद्रिद’ हुने भए पनि नेपाली भाषा लेखनमा ‘रियल म्याड्रिड’ नै प्रचलनमा रहेको तथा नेपालीभाषी पाठकले बोल्दा जिब्रोलाई भाषागत सहजताको हिसाबले ‘रियल म्याड्रिड’ पढ्दा सजिलो लाग्ने हुँदा यही रूपको प्रयोग उपयुक्त हुन्छ।
  • क्रिस्टियानो रोनाल्डो: यी विश्वप्रसिद्ध फुटबल खेलाडीको नामको मूल उच्चारण ‘क्रिस्तिआनो रोनल्दो’ हुने भए पनि नेपाली भाषाको शब्द बनावट तथा उच्चारण सहजता अनुसार ‘क्रिस्तिआनो रोनल्दो’ भन्दा ‘क्रिस्टियानो रोनाल्डो’ नै सहज हुन्छ। साथै नेपाली भाषामा प्रकाशित विभिन्न प्रकाशनहरूमा ‘क्रिस्टियानो रोनाल्डो’ नै प्रचलनमा रहेकोले यही रूपलाई प्रयोगमा ल्याउनु पर्छ।
लिप्यन्तरण परिपाटी सम्बन्धी थप जानकारी लिप्यन्तरणमा हेर्नुहोस्।

विदेशी नामलाई नेपालीमा कसरी अनुवाद गर्ने भन्ने विषयमा निर्णय गर्दा नेपाली भाषाको प्रयोगको नियम, सिद्धान्त र परिपाटीलाई अवलम्बन गर्नुहोस्। यदि त्यस नामको लागि नेपाली-भाषाकरणको कुनै स्थापित नियम वा तरिका नभेटिए सो नामलाई शुद्धतामा ह्रास नआउने गरी र नेपालीभाषी पाठकले बुझ्न सक्ने तथा जनजिब्रोले सजिलै लिनसक्ने रूपमा नेपालीकरण गर्नुपर्दछ (जिब्रोले स्वतः विदेशी शब्द वा नामहरूलाई बोल्न सजिलोको लागि केही परिवर्तन गर्दछ जसकारण हामीले कुनै विदेशी शब्द उच्चारण गर्दा त्यस उच्चारणमा मूल उच्चारणको दाँजोमा स्पष्ट भिन्नता देख्न सक्तछौँ)।

संक्षिप्त नामको प्रयोग

विभिन्न सङ्घसंस्था वा व्यक्तिहरूको संक्षिप्त नामहरू प्रचलनमा पाइन्छन्। जस्तै - युएनओ र संयुक्त राष्ट्र सङ्घ। यस्तो अवस्थामा प्रचलित संक्षिप्त नामलाई वा पुरा रूप मध्ये कुनै एकलाई पुनर्निर्देशको रूपमा राख्न सकिन्छ। पुनर्निर्देशको रूपमा राख्दा कसलाई पुनर्निर्देश बनाउने भनी निर्णय गर्न त्यस नामको प्रयोगलाई लिन सकिन्छ। बढी प्रचलनमा रहेको नामलाई लेखको शीर्षक बनाउनुपर्दछ भने अर्को वैकल्पिक नामलाई पुनर्निर्देश बनाउनु पर्दछ।

नेपालीमा संक्षिप्त नामहरू लेख्दा त्यति राम्रो देखिँदैन तर पनि संक्षिप्त रूप नै बढी प्रचलनमा भए त्यही नामबाट लेख बनाउन सक्नुहुन्छ। लेखको नाममा यदि कुनै शब्दको संक्षिप्त रूप लेख्नु परेमा त्यसको लागि उपयुक्त चिह्न, संक्षिप्त/लाघव चिह्न (॰) को उपयोग गर्नु पर्दछ, न कि अङ्ग्रेजीको फुलस्टप (.) चिह्नको।

संक्षिप्त नाममा संक्षिप्त चिह्नको (॰) प्रयोग एक भन्दा बढी शब्दखण्ड भएमा मात्रै प्रयोग गर्नुहोस्। एउटा मात्र शब्दखण्ड भएमा संक्षिप्त चिह्नको प्रयोग बिना लेख्नुहोस्। उदाहरणको लागि -

  • एक शब्दखण्ड: UNO लाई ‘युएनओ’ लेख्नुहोस् न कि ‘यु॰एन॰ओ॰’
  • दुई शब्दखण्ड: M.Sc. को लागि एम॰एस्सी॰ लेख्नुहोस्

स्थान विशेषको आधारमा नेपाली भाषामा विविधता

यदि कुनै विषयले कुनै विशेष नेपाली भाषा बोलिने राष्ट्रसँग राम्रो सम्बन्ध राख्छ, भने त्यस लेखको शीर्षक त्यसै देशको नेपाली भाषाको विविधताको उपयोग गर्दा उपयुक्त हुने देखिन्छ (उदाहरणको लागि, भारतका ग्राम विकास समितिहरू न कि भारतका गाउँ विकास समितिहरू)। अन्यथा, लेखको शीर्षकमा नेपाली भाषाको सबै राष्ट्रिय प्रकार स्वीकार्य छन्; विकिपिडियाले कुनै एउटा राष्ट्रको नेपाली भाषालाई मात्रै विशेष रूपले मन पराउँदैन।

वैकल्पिक नामहरूको उपचार

विकिपिडिया चलाउन प्रयोग गरिने सफ्टवेयरको बनावट नै यसप्रकार गरिएको छ जसले गर्दा एउटा लेखको शीर्षक एउटा मात्र हुनसक्छ। मानौँ यदि शीर्षक एउटा नाम भएमा त्यस विषयको लागि महत्वपूर्ण वैकल्पिक नामहरूको उल्लेख सामान्यतया लेखको पहिलो वाक्य वा अनुच्छेदमा गर्नुपर्छ। यदि तीन वा सो भन्दा बढी वैकल्पिक नामहरू भएमा - जसमा वैकल्पिक शब्द, लामो वा सङ्क्षिप्त रूप, ऐतिहासिक नाम र अन्य भाषाहरूको महत्वपूर्ण नाम प्रयोग गरिएका छन् - वा स्वयं नामहरूकै बारेमा उल्लेखनीय छ भने एउटा छुट्टै नाम अनुभागको सिफारिश गर्ने गरिन्छ। वैकल्पिक नामको प्रयोग लेखको पाठभित्र गर्न सकिन्छ जब विश्वसनीय सन्दर्भद्वारा शीर्षकको रूपमा प्रयोग गरिने नाम बढी उपयुक्त देखिन्छ।

लेख शीर्षकको ढाँचा

लेखको शीर्षक राख्दा निम्नलिखित बुँदाहरूमा ध्यान दिनुपर्नेछ।

एकबचनको प्रयोग

लेखको नाम राख्दा विषयवस्तुको नामको एकबचनको रूप प्रयोग गर्नपर्दछ। जस्तै: घोडा न कि घोडाहरू। तर बहुबचनकै रूपमा रहेका नामपदहरू अपवादको रूपमा रहनेछन्।

अस्पष्ट सङ्क्षेपलाई प्रयोग नगर्नुहोस्

नामको सङ्क्षेप रूपहरू अस्पष्ट हुने हुँदा ती सङ्क्षेपहरू प्रचलित रहेको अवस्थामा (जस्तै: फिफा, युनिसेफ) बाहेक अन्य अवस्थामा प्रयोग नगर्ने। साथै नामसँगै सङ्क्षेप रूपको प्रयोग अनावश्यक मानिन्छ तर स्पष्टता आवश्यक भएको खण्डमा आवश्यक देखिएमा नामसँगै सङ्क्षिप्त रूप पनि राख्न सकिन्छ।

नामपदहरूको ‍प्रयोग

शीर्षक राख्दा नामपदहरूको प्रयोग गर्नुपर्दछ। विशेषण वा क्रिया रूपलाई पुनर्निर्देशको रूपमा राख्नु पर्दछ, कहिलेकाहीँ यस्ता पृष्ठहरू स्पष्टता पृष्ठको रूपमा हुन सक्दछन्।

शीर्षकलाई उद्धरण चिह्न भित्र नराख्ने

उद्धरण चिह्न लेख शीर्षकको अंश भएको बाहेक अन्य अवस्थामा शीर्षक उद्धरण चिह्न राख्नु हुँदैन्।

व्यक्तिविशेषको नामको लागि उचित सन्दर्भको प्रयोग

व्यक्तिविशेषको लेखको शीर्षक छनौट गर्दा प्रचलित नाम हो वा होइन भन्ने कुरा सुनिश्चित गर्न उचित सन्दर्भहरूको प्रयोग गर्नुहोस्। किनकि प्रचलनमा व्यक्तिको नाम फरक हुनसक्दछ; यसमा पहिलो वा बीचको नामको प्रयोग, उपनामको प्रयोग आदि पर्दछन्।

विशेष वर्णहरू

पृष्ठको शीर्षकमा केही वर्णहरूको प्रयोगमा प्राविधिक सीमाहरू रहेका छन्। यी सीमाहरू मिडियाविकिले शीर्षकहरू कसरी भण्डारण वा मिलान गर्दछ भन्ने कुरामा निर्भर गर्दछ। समग्रमा निम्नानुसारका वर्णहरूको प्रयोग गर्न सकिँदैन: # < > [ ] | { } _

प्राविधिक रूपमा माथिका बाहेकका सबै युनिकोड वर्णहरू प्रयोग गर्न सकिने भएता पनि केही वर्णहरूको प्रयोग नगर्नु राम्रो हुने वा विशेष ध्यान पुर्‍याउनु पर्ने हुनसक्छ:

  • मानक कुञ्जीपाटीमा नभएका वर्णहरूको प्रयोगबाट टाढा रहनुहोस्
  • सङ्केतहरू जस्तै: "♥" को प्रयोग नगर्नुहोस्
  • उद्धरण चिह्नको प्रयोग नगर्नुहोस्
  • ब्राउजरद्वारा असमर्थित वर्णहरूको प्रयोग सकेसम्म नगर्नुहोस्

प्रस्तावित नामकरण विधि र दिशानिर्देशन

नामकरण सम्बन्धी कुनै पनि नयाँ विधि वा दिशानिर्देश सम्बन्धी प्रस्ताव यस पृष्ठको वार्तालाप पृष्ठमा राख्नु पर्नेछ र चौतारीमा तथा अन्य सम्बन्धित पृष्ठहरूमा समेत राख्नु पर्नेछ। समुदायको आवश्यक समर्थनद्वारा नीति पारित भएमा सो प्रस्तावलाई नेपाली विकिपिडियामा नामकरण सम्बन्धी नियमहरू भित्र समावेश गरिनेछ।

यो पनि हेर्नुहोस्