रणबहादुर शाह
रणबहादुर शाह | |
---|---|
नेपालका राजा | |
शासनकाल | १८३४ मंसिर ४ – १८५५ फाल्गुण २६ |
राज्याभिषेक | १८३४ पौष[१] |
पूर्वाधिकारी | प्रतापसिंह शाह |
उत्तराधिकारी | गीर्वाणयुद्ध विक्रम शाह |
जन्म | १८३२ जेठ १३ वसन्तपुर, नेपाल |
मृत्यु | १८६३ बैशाख १४ (३० वर्ष) वसन्तपुर, नेपाल |
जीवनसाथी | कान्तवती |
वंश | शाह वंश |
बाबु | प्रतापसिंह शाह |
आमा | राजेन्द्र लक्ष्मी देवी शाह |
धर्म | हिन्दु |
रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गरे। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो।[२] १८६३ साल वैशाख महिनामा आफ्नै सहोदर भाइ शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो।
नेपालको इतिहासमा बढ्ता भूल गर्ने राजा रणबहादुर शाह नै मानिन्छन् । उनको कार्यकालमा नेपालले लामो समयसम्म पीडा भोग्नुपर्यो । परराष्ट्र सम्बन्धको सन्तुलन बिग्रन गयो, नेपालको निर्माण गर्ने वीरहरूले कुनै सारपूर्ण कामबिना ज्यान गुमाउनु परेको थियो ।[२]
जीवन
[सम्पादन गर्नुहोस्]बडा महाराजाधिराज पृथ्वीनारायण शाहका नाती तथा राजा प्रताप सिँह शाहका छोरा राजा रणबहादुर शाह सानैमा नेपालको राजा भएका थिए भने अत्यन्तै सन्की स्वभावका थिए।
राजेन्द्र लक्ष्मीको नायवी
[सम्पादन गर्नुहोस्]यिनको बाल्यकालमा यिनकी माता रानी राजेन्द्र लक्ष्मीले यिनको नायबी ग्रहण गरी पश्चिममा तनहू, लम्जुङ तथा कास्कीको एकिकरण अभियान सञ्चालन गरेकी थिइन।
बहादुर शाहको नायवी
[सम्पादन गर्नुहोस्]रानी राजेन्द्रलक्ष्मीको देहान्त पछि रणबहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गर्दै नेपालको एकिकरण अगाडि बढाए। राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजाकी बहिनी सँग वैवाहिक संबन्ध बनाइ पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउँ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए। नेपाल एकिकरणको अभियानमा बहादुर शाहको नेतृत्वकाललाई स्वर्ण काल मानिन्छ। वि.सं १८४९ मा नेपाल –तिब्बत /चीन युद्ध भयो।
पछि बहदुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएका राजकुमारको रण बहादुर शाहको लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो।
स्वतन्त्र राजा रणबहादुर
[सम्पादन गर्नुहोस्]बहादुर शाहको हत्या पछि शासन आफ्नो हातमा लिएका रणबहादुरले शासन गर्न जानेनन् । उनी चञ्चल मतिका थिए। उनले कान्तिमति तर्फबाट जन्मने छोरालाई राजा बनाउने बाचा गरेर कान्तिमतिसँग विवाह गरेका थिए। कान्तिमतिबाटै गीर्वाणयुद्ध को जन्म भयो। कान्तिमतिलाई त्यतिबेला बिफर रोगले समात्यो। उनले आफू जीवित छँदै आफ्नो छोरा गीर्वाणलाई राजा बनाउन जोड दिन थालिन्। सो कामको लागि पाल्पाका राजा पृथ्वीपाल सेनलाई काठमाडौं बोलाई गीर्वाणयुद्धको राज्याभिषेक गराए। जेठा छोरा रणोद्योत शाह हुँदाहुँदै वि.सं. १८५५ माघ सुदि १५ रोज ४ मा त्यस विषयको ताम्रपत्रमा ९४ जना प्रतिष्ठित भारदारहरूको सही गराएर रणबहादुर शाहले राजपाट त्यागे। छोरा गीर्वाणयुद्ध विक्रमलाई राजा बनाई जोगी बनेर हिंडे । जोगी बने पनि यिनी राजनीतिबाट अलग हुन् सकेनन् ।
रानी कान्तिमतिको स्वास्थ्य अवस्था बिग्रदै गएकाले उपचारार्थ देवीदेवताको भाकल, दान, स्वस्तिशान्ती गराउन थालियो। त्यसैबेला कान्तिमतिलाई शीतला (बिफर) रोगले आक्रान्त पार्यो। त्यो रोगलाई निको पार्न विभिन्न भाकल गरि देवदेवीको पूजामा बढी समय र खर्च लाग्न थाल्यो।
मुख्तियार रणबहादुर शाह
[सम्पादन गर्नुहोस्]बनारसबाट फर्केर रणबहादुर शाहले आफूलाई छोरा राजा गीर्वाणयुद्ध विक्रमको मुख्तियार घोषित गरेर राजपाट चलाउन थाले। उनले आफूलाई बनारसमै कैद गर्न खोज्ने दामोदर पाण्डे लगायतको हत्या गरे।
बि.सं १८६२ फागुन १७ गते रणबहादुर शाहले राजा गीर्वाणयुद्धविक्रम शाहको लालमोहर लगाई विधिपूर्वक मुख्तियार वा राजप्रतिनिधिकको पदभार ग्रहण गरे। बनारस बाट फर्किएको दुई वर्षसम्म सर्वाधिकार सम्पन्न भएर पनि औपचारिक रुपमा कुनै पद पनि ग्रहण नगरी राज्य सत्ता बाट बाहिरै रहिरहेका रणबहादुर शाहलाई अहिले औपचारिक रुपमा मुख्तियारको पदभार ग्रहण गर्न प्रेरित गरियो।
रानीहरु
[सम्पादन गर्नुहोस्]रणबहादुर शाहका पाँच जना रानीहरु थिए । जेठी पत्नी राजराजेश्वरी, माइली पत्नी सुवर्णप्रभा, साइँली पत्नी कान्तिमति, काइँली पत्नी चन्द्रवती र कान्छी पत्नी ललितत्रिपुरसुन्दरी । ब्राह्मणकि छोरी कान्तिमति प्रती यिनको बढी प्रेम भएकोले यिनकै इच्छा अनुसार वि.सं. १८५५ आश्विन १९ गते गिर्वाणयुद्द विक्रम शाहलाई राजा घोषित गरी आफू धर्मकर्मतिर लागे ।
मृत्यु
[सम्पादन गर्नुहोस्]१८६३ वैशाख १४ गते शुक्ल सप्तमी बिहीबारका दिन रातको १० बजे आर्थिक हिनामिना गरेको विषयमा भारदारी कचहरी त्रिभुवन खवासको घरमा राती बसेको थियो । रणबहादुरले दोषी देखिएका त्रिभुवन खवासलाई काट्न र आफ्नै भाइ शेरबहादुर शाहको आँखा फोर्न आदेश दिए ।[३] रिसको झोकमा रणबहादुर शाह उनकै भाइ शेरबहादुर शाहबाट काटिए भने शेरबहादुर शाहलाई तत्कालै रणबहादुर शाहका अंगरक्षक बम शाह र काजी बालनरसिंह कुँवरले ढाले र घिच्रो रेटे। त्यसै बेला भीमसेन थापा भात खाएर आइपुगे।
रणबहादुर शाहको लाससँगै १४ जना र पछि २ जना सती गए ।
निर्माण
[सम्पादन गर्नुहोस्]उनले टुँडिखेल नजिकै जगन्नाथ मन्दिर निर्माण गरे ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Royal Ark
- ↑ २.० २.१ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १९०
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २०२
- ↑ दीक्षित, कमल (साउन २, २०७२), "मजलिसको आँखा– १७ जगन्नाथ मन्दिर", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९।